मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

आफैलाई पुनः आविष्कार गर्ने अवसर हो विजया दशमी।

नारायण घिमिरे

 

प्रकृति, हाम्रो आफ्नै दैनिक अवस्था र हामी वरपरको वातावरणको नियमित परिवर्तनका कारण दिने अनुभव र अनुभूतिका कारण हाम्रो शरीर, मनोविज्ञान तथा मान्यताहरूमा आउने थोरै थोरै परिवर्तन वर्ष दिन पुग्दा ठुलो परिवर्तन हुन्छ भने दस वर्षमा बौद्धिक कुशलता, सोच, मान्यता र आचरणको हिसाबमा हामी सम्पूर्ण रूपको अर्कै मानिसको नयाँ मानव बन्ने गर्दछौ।

 

नव रात्रि र विजय दशमीका दस दिन हामीमा हरेक वर्ष शारीरिक, मानसिक र आत्मिक बलको हिसाबमा दैविक कायाकल्प थपिदिने नौ जादु पूर्ण दिन तथा त्यसमा नियमित कायम रहने एक दृढ निश्चय लिने अवसरको रूपमा मनाइन्छ। उत्सव लाई सकारात्मक पक्ष ग्रहण गर्न पाउने अवसरको रूपमा लिइने हुँदा नवरात्री र दसेरा हाम्रा उत्कृष्ट उत्सव हुन्।

 

खगोल विज्ञानको हिसाब वाट नवरात्री र दशैँको समयलाई हेर्नु हुन्छ भने यो समयमा हाम्रो भौगोलिक वातावरणमा प्रचुर मात्रामा हामीमा सकारात्मकता रोपिदिने सहयोग गर्ने ब्रह्माण्डीय कस्मिक ऊर्जा भेटिने गर्दछ। हामी उक्त अवसरको समेत सदुपयोग गरी विजय दशमीको सबै उत्सवहरू मनाउने गर्दछौ।

 

आयुर्वेदिक पक्ष वाट गरिने सूक्ष्म अध्ययन वाट यो अवधिमा हाम्रो आध्यात्मिक शक्ति अधिक रहने देखिएकोले पाचन शक्ति  कमजोर हुन्छ। त्यसैले दिनको महत्त्व अनुरूप एकादशीमा उपवास बस्ने तथा अन्य समयमा औषधीय गुणको खानपान गर्न, स्वास्थ्य रहन, आध्यात्मिक ऊर्जाको लागि तैयारी रहन र भौतिक रूपमा कायाकल्पको सम्भावित अवसरको खोजी गरी दशैँको समयमा लाभ उठाउन आयुर्विज्ञान सिफारिस गर्ने गरिन्छ।

 

हाम्रा उपनिषदहरूको सन्देश अनुरूप हाम्रा ऋषिहरूले समाजको विकास र उत्थानको नाममा भौतिक धन सम्पत्तिको मागमा आफूलाई सीमित गरेको देखिँदैन।

 

तैत्तिरीयोपनिषदका मन्त्रहरूमा प्रस्ट गरिए अनुरूप जब सम्म मानिसमा मानवतामा हुनुपर्ने सबै महान् गुणहरूको पूर्ण रूपमा विकसित गर्न सकिँदैन तब सम्म समाजमा स्थायी शान्ति र वैभव कायम हुन सक्दैन। हे भगवान् पहिला मलाई पुण्य प्राप्त गर्ने अवसर दिनुहोस् त्यस पछि मात्र मलाइ वैभवशाली बनाउनुहोस् भन्ने कामना गरिएको छ।

पुण्य प्राप्त गर्ने अवसरको अर्थ म मा पहिला मानवता प्राप्ति होस् भनिएको हो। मानवीयता प्राप्ति पछिको वैभवले मात्र तपाइको सम्पन्नताले तपाईँ मात्र नभएर सम्पूर्ण चराचर हरुको कल्याण गर्दछ भनिएको हो।

व्यक्त ऋषिहरूको सन्देशको चुरो पक्ष के हो भने कुनै पनि ज्ञान, वस्तु र सेवा विशेषको मूल्य त्यति वेला सदुपयोगमा आउन सम्भव हुन्छ जब त्यो प्राप्त गर्ने व्यक्तिमा कम्तीमा हुनुपर्ने मानवीयताको विकास भएको हुन्छ। अन्यथा उपलब्ध  ज्ञान, वस्तु र सेवा विशेषको मूल्य व्यक्ति लाई पाठ भ्रष्ट गर्ने, समाज र सम्पूर्ण चराचर जगतको वरवादी  निम्त्याउन उपयोग हुन्छ। हाम्रो वरपर यसका अनगिन्ती उदाहरणहरू हामी नियमित देख्ने गर्दछौ।

त्यसैले नवरात्री हामीमा मानवताको विकास गर्ने नौ दिन हो भने दसरा प्राप्त मानवीय गुणबाट आफूलाई विचलित हुन नदिने दृढ संकल्प लिने उत्सव हो।

 

“नब’ भनेको सङ्ख्या ‘नौ’ हो । ‘र’  तथा ‘त्रि’  मिलेर बनेको शब्द ‘रात्रि’ को ‘र’ को अर्थ ‘रात’ तथा ‘त्रि’ को अर्थ जीवनका तीन वटा पक्ष – शरीर, मन र आत्मा लाई जनाउँदछ। ‘रात’ को समयमा तपाइ  शारीरिक, मानसिक र आध्यात्मिक कष्ट वा समस्याहरू वाट मुक्त हुने र तपाइको जीवन सहज बन्ने आशा गरिन्छ। तिन कठिनाइबाट मुक्ति दिने क्षण ‘रात्रि’ भनेर चिनिन्छ।

प्रकृतिले हरेक चौबिस घण्टाको एक दिनको रातको प्रहर आफ्ना जीवनका खुसी वा दुख दुवै भुलेर आनन्दित रूपमा समयको व्यतीत गर्नको लागि व्यवस्था गरेको हो।  जुन समयमा मानिस दुख वाट गुज्रिरहेको हुन् वा सुख वाट सबै नै आरामले  निदाएर सुतुन् भन्ने लक्ष रहेको हुन्छ। तर पनि यो कुरा सबैको हकमा सबै रातहरूमा लागु नहुन सक्दछ।

 

त्यसैले वैदिक परम्पराका नवरात्रिका नौ रातहरू बिताउने क्रममा तपाईँलाई तपाइको दुःखबाट कसरी मुक्त भएर सुखी र आनन्दित जीवन पहिल्याउने भन्ने सम्बन्धको व्यवहारिक तालिम दिएर त्यसको उपायहरू उपलब्ध गराउने गरिन्छ। जसले तपाइलाई जीवनमा एक धार्मिक व्यक्तिले अनुभूति गर्न हक राख्ने  वास्तविक आराम कस्तो हुन्छ भन्ने कुराको अनुभूति गर्ने अवसर प्राप्ति हुन्छ। नबरात्रिका नौ रातहरू तपाईँलाई तपाइका तिनै तिन प्रकारका कष्ट वा समस्याहरू वाट मुक्त हुन सहयोगी हुने उपाय सुझाउनको लागि खर्च गरिन्छ।

 

यो अर्थमा नवरात्रि आत्मा वा प्राणको कल्याण गर्ने  उत्सव हो। उक्त समयमा मानिस आफ्नो आत्मा बलको उपयोग वाट महिषासुर (जडता), शुम्भ-निशुम्भ (अहङ्कार र लज्जा) तथा मधु-कैताभ (तृष्णा र घृणाको चरम रूप) लाई नष्ट गर्न सफल बन्दछ। मानिसलाई आफ्नो जीवनका एक अर्काका पूरक रहेता पनि पूर्णतया विपरीत गुणका समस्याहरूको सामना गर्न र त्यसको समाधान पहिल्याउन सम्भव तुल्याउने गर्दछ।

 

जीवनका सकारात्मक र नकारात्मक गुणहरूले हामीलाई असर गर्छ। नवरात्रिमा एक व्यक्तिमा निहित सकारात्मक गुणहरूले उसमा निहित नकारात्मकता लाई पराजित गर्न उसमा  ईश्वरीय गुण उभारिन्छ। जसरी हामी जन्मनु अघि आमाको गर्भमा नौ महिना लिन्छौँ र पूर्ण मानव बन्छौ त्यसरी नै यी नौ दिनहरूमा हामीमा निहित नकारात्मकता मुक्त बनेर हिजोको आफै भन्दा उत्तम गुणको आफू जन्माउने गर्दछौ।

जीवनका नकारात्मक पक्ष लाई सकारात्मकताले विस्थापन गर्दा अव्यक्त अभिव्यक्त भएर सिर्जना गर्न जरुरी हुने शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्द माता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धि दात्री जस्ता नौ गुणका शक्तिहरूको नवरात्रिमा पूजा र आराधना गर्ने गरिन्छ।

 

पृथ्वीको प्रतीक रूपकी देवी दुर्गाको गुण तमस (अर्थात् जडता) युक्त हुन्छ। जडताको गुणले निम्त्याउने समस्या पहिचान गर्न र त्यस वाट मुक्ति लिने प्रयासमा नव रात्रिको पहिलो तीन दिन खर्च गरिन्छ।

 

विशेष गरी चिन्ताबाट ग्रसित रहनु, आफैँमा शङ्का लाग्ने, कमजोर आत्मबल, आफ्नै क्षमतामा विश्वास नहुने, अल्प चेतना, शत्रुता र नकारात्मकता आदि बाट डरको महसुस हुने जस्ता मानिसका मानसिक प्रकृतिका रोगहरु  तमस गुणले निम्त्याउने समस्याहरु हुन। नव रात्रिको पहिलो तीन दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी र चन्द्रघण्टा गुणयुक्त शक्तिको पहिचान गर्ने र त्यसको मूल कारकको निर्मूल गर्ने उत्सवको रूपमा मनाइन्छ।

 

दोस्रो तीन दिनको समय देवी लक्ष्मीको समय हो। दैविक शक्ति लक्ष्मी लाई  धन र समृद्धिकी प्रतीकको रूपमा लिने गरिन्छ। जीवनको  नियमित सञ्चालन र निरन्तरताको लागि जरुरत हुने पालन-पोषण, औषध उपचार र उत्थानको  नियमित  आपूर्ति गर्ने आर्थिक, मनोवैज्ञानिक, सामाजिक र आध्यात्मिक श्रोत साधन लाई धन र समृद्धि अन्तर्गत राखिन्छ।

 

लक्ष्मी वास्तवमा पैसा नभएर दैविक ऊर्जाको निश्चित प्रकारको गुण हो जसले मानव ज्ञान, सीप र प्रतिभामा प्रशस्तता ल्याउने काम गर्दछ। समग्रमा महालक्ष्मी भनेर चिनिने लक्ष्मी शक्तिका आठ पक्षहरू देखिन्छ। स्मृतिको निर्माण गर्ने शक्ति लाई आदि लक्ष्मी भनिन्छ। भौतिक धन जम्मा गर्ने बुद्धिमत्ता धन लक्ष्मीको हो। ज्ञान, सीप र प्रतिभाको पक्ष विद्या लक्ष्मीको गुण हो। धान्य लक्ष्मी खान-पानको रूपमा अस्तित्वमा भेटिन्छ। जसको लालन पालनमा मुख्य भूमिका रहन्छ। सन्तान र रचनात्मकताको रूपमा सन्तान लक्ष्मी प्रकट हुन्छिन्। सृजनशीलताले भरिपूर्ण, प्रतिभाशाली र कलामा दक्ष व्यक्तिहरूमा सन्तान लक्ष्मीको गुण अधिक हुन्छ। धैर्य लक्ष्मी साहसको रूपमा अस्तित्वमा देखिन्छिन्। विजया लक्ष्मी विजयको सन्दर्भमा भेटिन्छिन् । भाग्य लक्ष्मी सौभाग्य र समृद्धि ल्याउने गुणकी हुन्छिन्।

 

सूर्यको प्रतीक मानिने लक्ष्मी रजस गुणको व्यक्तिको आध्यात्मिक, मनोवैज्ञानिक र भौतिक सबलतामा पूर्णता दिने दैवी शक्ति हो। व्यक्ति धनवान र समृद्धिशाली हुन समेत लक्ष्मीको भूमिका रहन्छ। सूर्यको प्रकाशको किरण वाट प्राप्त हुने उर्जाले निर्माण गर्ने उत्साह वर्द्धक सक्रिय जीवनको गुण सँग सम्बन्धित रज गुणी लक्ष्मी शक्तिको कुष्माण्डा, स्कन्द-माता र कात्यायनी नामका फरक फरक तिन रुपका गुणहरू देखिने गर्दछ।

 

धन र समृद्धिकी देवी लक्ष्मी हाम्रो जीवनको नियमित सञ्चालनमा जरुरी हुने मर्मत संहार र प्रगतिको एक महत्त्वपूर्ण घटक हो।

 

समग्रमा शक्ति देवी दुर्गा नौ रूपहरूमा प्रकट हुन्छिन्। नौ रूपले उनको विभिन्न पवित्र गुणहरूको प्रतिनिधित्व गर्दछ। शैलपुत्री स्थिरता प्रदान गर्ने हिमालयकी छोरी हुन्। ब्रह्मचारिणी पवित्रता, गहिरो प्रेम र श्रद्धा कि खानि।

 

चन्द्रघण्टा चन्द्रमाको जस्तै शक्ति र सोम धारण गर्दछिन्। आनन्द, खुसी र कल्याण प्रकट गर्दछिन्। स्कन्दकी माता स्कन्द माता अनन्त अग्निको रूप धारण गर्छिन्। कात्यायनी महाकालीको रूपको परिवर्तनको संवाहक शक्ति हुन्। कालरात्रि अन्धकार र अज्ञानताको विनाशक हुन् भने महागौरी पवित्रता र अनन्त गुणहरूको दाता हुन्। सिद्धि दात्री सिद्धिका रहस्यका श्रोत  हुन्। कलात्मकता, उपलब्धि र आध्यात्मिक शक्तिको ज्ञान प्रदायक हुन्।

 

माता देवी दुर्गाको नौ दिनको आराधना, ऊर्जाको स्रोतले हामीलाई हाम्रो आफ्नै जीवनका १० खराबीहरूबाट छुटकारा पाउन मद्दत गर्दछ। १० औ दिन विजया दशमी उत्सव हामी आफैमा अन्तर निहित १० दुष्टताहरू वाट मुक्ति प्राप्त गरि सकारात्मक सोच लिने र कायम रहने सङ्कल्पको उत्सव हो।

१० खराबी / दुष्टता:

मद (Pride): नशाले उत्पन्न गरिदिने घमन्ड र मानसिक अस्थिरता। निर्दिष्ट कमी कमजोरी र गलत व्यवहारमा आफ्नो दोष वा जिम्मेवारी महसुस गर्ने क्षमता वाट च्युत हुनु।

लोभ (Greed): कुनै चीज  विशेष गरी धन, शक्ति र खानाको प्राप्ति उन्मुख अप्राकृतिक, अनैतिक र स्वार्थ युक्त तीव्र इच्छाको लोभ पाप कर्म हो।

क्रोध (Anger): क्रोध वा रिसले दिने असन्तुष्टि र तीव्र शत्रुता पूर्ण भावना मानवीय खराबी हो।

वासना (काम वासना Lust): अर्को पक्ष लाई पिडा दिने अनैतिक यौन तृष्णा युक्त काम वासनाले दिने कामुकताको भोक पाप-पूर्ण कार्य। वैवाहिक सम्बन्धमा रहेका पति-पत्नी बिचको आपसी सहमति र सहभागिता बिना हुने कतिपय अवस्थाको कानुनी रूपमा लगभग वैध तर परपीडक वैवाहिक बलात्कार समेत लाई वैदिक मान्यतामा पापको दर्जामा राखिएको छ।

माया (मोह Delusion / Attachment): कसै प्रति वा कुनै चिज प्रतिको अधिक स्नेह, लगाव, सहानुभूति, मोह, सम्बन्धमा जकडिनु समेत मानवीय खराबी हो।

ईर्ष्या (Jealousy): ईर्ष्या भावले दिने बेचैन अवस्था र भावना।

जडता (नकारात्मकता Inertia / Negativity): बर्तमानको प्रवृति, सोच, अवस्था वा विचारमै अडिग रहने वा अपरिवर्तित रहने प्रवृत्ति।

स्वार्थपरता (डर Selfishness / Fear): आफ्नो स्वार्थ सिद्धिको लागि समाज वा अन्य व्यक्तिमा डर वा डर भाव मार्फत पैदा गरिने पीडा वा हानिको खतराको महसुस।जसले उत्पन्न गर्ने असुरक्षाले वा सुनौलो भविष्यको आशाले आफू वा आफ्नो समूहको हित हुने गरी अर्काको मनोभावमा श्रद्धा र भक्तिको मिश्रित भावना विकास गरिदिन्छ।

घृणा (Hatred): तीव्र तिरस्कार, आलोचना र दुर्व्यवहार युक्त भावना।

अहङ्कार (Ego): आफ्नो आत्म-महत्त्व कायम गर्ने नियत युक्त पहिचान र आत्म सम्मान केन्द्रित  भावना र  चासो युक्त कर्म।

 

आत्मा अनादि काल देखि अस्तित्वमा रहेको चिज हो। हाम्रो शरीरमा ब्रह्माण्डको  असीम र शाश्वत ऊर्जाको स्रोतको प्रतिनिधित्व आत्माले गर्ने गर्दछ। नवरात्रिको समयको वातावरण ब्रह्माण्डको सूक्ष्म ऊर्जाहरू लाई हाम्रो आत्माको ऊर्जा सँगै जोड्ने संयोजनकारी भूमिका खेल्न प्राकृतिक रूपमा समेत सकारात्मक हुने हुँदा यसले हाम्रो भावनामा सकारात्मक अनुभवको अनुभूति गर्ने प्रक्रियालाई बढवा दिने हाम्रो विश्वास रहेको छ।

 

मानिसको सबै भन्दा ठुलो मित्र उसको आफ्नो आफ्नै बुद्धिमत्ता लाई ठानिन्छ। बुद्धिमत्ताले उसको विचारहरू पैदा गर्दछ। सोचमा कुनै अप्राकृतिक चाहनाले प्रदूषण गरिदिँदा मानिसको बुद्धिमत्ता प्राकृतिक न्यायको सिद्धान्त विमुख हुन पुग्ने गर्दछ। प्राकृतिक न्यायको सिद्धान्त वाट विचलन आएको चाहनाले मानिसको बुद्धिमत्ता लाई नकारात्मक सोच पैदा गर्न उत्प्रेरित मात्र गर्दैन, त्यस्ता सोचको कारण उसले प्राकृतिक नियमको सिद्धान्त प्रतिकुल कर्म गर्न समेत थाल्दछ। त्यस्तो समयमा उसको सबै भन्दा मुख्य मित्र भनिएको आफ्नै  बुद्धिमत्ता र कुशलता उ आफ्नै विरुद्ध सक्रिय बनिदिन्छ। त्यो नै उसको जीवनको पतनको मुख्य कारक बन्दछ।

 

नव रात्रिको अवसरमा वैदिक परम्परा अनुरूप मानिसको आफ्नै  बुद्धिमत्ता र कुशलता आफ्नो विरुद्ध लग्न पुग्ने नौ मुख्य कारक हरुको पहिचान गरिन्छ। पहिचान गरिएको कारकहरू वाट उसलाई मुक्त गर्न त्यसको उपाय बारे उसलाई विशेष मनोवैज्ञानिक शक्ति अर्थात् उपाय बारे सुसूचित पारिन्छ। जस अन्तर्गत प्रत्येक कारक वाट उन्मुक्ति लिनको लागि जरुरी हुने मनोवैज्ञानिक ज्ञान लाई देवीको संज्ञा दिएर हरेक कारकको एक देवी अर्थात् नौ-दुर्गा मतलब  नवदुर्गाको पूजा गरिन्छ। जहाँ पूजा को अर्थ उक्त कारकको पहिचान गरी त्यस वाट मुक्त हुने मनोवैज्ञानिक उपाय पहिल्याउनु र सो को लागि सङ्कल्पकृत हुनु लाई जनाउने गर्दछ। यस अर्थमा नवरात्रिको प्रत्येक दिनको २४ घण्टा (दिन र रात) फरक फरक माता देवीको एक रूपसँग जोडेर हेरिन्छ। त्यसरी सङ्कल्पकृत भएर प्राप्त गरिएको मनोवैज्ञानिक ऊर्जा लाई उक्त विषय वस्तु सँग सम्बन्धित मत देवी आफू सँग प्रसन्न भएर आफूले उनको आशीर्वाद पाएको रूपमा ग्रहण गरिन्छ।

 

मानिसको जीवनमा उसको आफ्नै सबैभन्दा नजिकको  मित्र लाई नै दुस्मनमा परिवर्तन गरी घात पुर्‍याउने उसको आफ्नै नियत र घातक सोच लाई  राक्षस अर्थात् महिषासुर भन्ने गरिन्छ।  नवरात्रिको नौ दिनहरूमा तिनै सबैभन्दा घातक राक्षसहरू (महिषासुर) लाई सामना गर्ने देवीको शानदार कौशललाई पहिचान गरी ग्रहण गर्ने र त्यस्तो नारी शक्ति लाई दैवी शक्ति मानेर मानिस लाई उसको सबै प्रकारको असुरक्षा मुक्त हुन सहयोग पुर्‍याउने वैदिक संस्कृतिमा नवरात्री र दशहरा उत्सव मनाउने गरिन्छ।

 

दुई शब्दहरू विजय र दशमीको संयोजन वाट विजयादशमी शब्द वनेको छ। ९ रात ९ दिन मनाइने विजयादशमीको नव रात्रिमा नौ दिन लामो पूजा, ध्यान, चिन्तन, मनन र व्यवहारिक अनुभूति मार्फत तपाइको आफ्नै आचरणको सञ्चालकको रूपमा रहने अन्तस्करणमा दबिएर रहेको अधर्मी तथा खराब पक्ष माथि तपाईँको आफ्नै आचरणको सञ्चालक रुपी धार्मिक र असल पक्षको विजयको लागि प्रयत्न गर्ने उत्सव वा अवसरको रूपमा मनाइने पर्व हो। विजयादशमी पर्व मान्ने प्रयोजनको लागि वैदिक ज्ञान अन्तर्गत इन्जिनियरिङ भएको गतिविधि अनुरूप तपाईँ त्यसको लागि जरुरत पर्ने नौ फरक फरक प्रकृतिको साधनामा नौ दिन खर्च गर्नु हुन्छ।

 

जसले गर्दा दशौँ दिनमा तपाईँ आफूमा निहित खराब संस्कार लाई पूर्ण रूपमा त्यागी आफ्नो अन्तस्करणमा असल पक्ष लाई मात्र स्थान उपलब्ध गराउन र आगामी दिनमा त्यसैमा अडिग दिने दृढ सङ्कल्प र निश्चयमा पुग्न सम्भव बन्दछ। यथार्थमा विजयादशमी पर्व तपाइको अन्तस्करणकै ईनर इन्जिनियरिङ गरी तपाइकै अन्तस्करणमा वास गरेको  असत्य संस्कारलाई सत्य संस्कारले प्रतिस्थापन गर्ने वैदिक विधि हो। जुन  तपाइलाई दशम (दसौँ) र अहर (दिन) अर्थात् दशहरामा प्राप्त हुन्छ।

 

वैदिक अवधारणामा ईश्वर शब्दले प्राकृतिक शक्ति लाई जनाउँदछ। प्रकृति मैत्री मानव कर्मलाई मानवता भनिन्छ। मानवता समग्र चराचरको हितमा रहने गर्दछ। मानवता युक्त मानव पुरुष रहे देव, नारी रहे देवी र तेस्रो लिङ्गी भए शिव-शक्तिको अंश मानिन्छ। नारीको मातृत्वको क्षमतालाई ईश्वरको चमत्कारिक उपहारको रूपमा लिइन्छ। नारीमा निहित उक्त शक्तिलाई सुन्दर र अद्भुत देवी शक्ति भन्दै आमालाई देवीको प्रतिमूर्ति पनि मानिन्छ।

देवी रुपी आमाका तीन रूप भेटिन्छ। काली, लक्ष्मी र सरस्वती। अन्तस्करण वाट मानिसका खराब प्रवृत्तिहरू र अधर्मी सोच हटाउने शक्तिलाई कालीको नाम दिइएको छ। मनमा सकारात्मकता हाबी हुँदै गर्दा मानिसले हरेक कुरामा निहित सकारात्मक पक्षहरू पहिचान गर्ने क्षमता प्राप्त गर्दछ। प्रकृतिका हरेक चिज निश्चित कारणले अस्तित्वमा रहेको र तिनीहरूको आफ्नै महत्त्व भएको रहस्यको अनुभूति गर्न थाल्दछ। मानिसको मन र बिचारमा सद्भावको अवधारणा रोपिदिने शक्तिलाई लक्ष्मी भनिन्छ। जुन जीवनको सबैभन्दा मूल्यवान् सम्पत्ति हुने गर्दछ।

 

प्रकृति र अन्तर्गतका सम्पूर्ण चराचरहरूको हित हुने कार्यलाई वेदले पुण्य कार्य भन्ने गर्दछ। प्राकृतिक नियमको सिद्धान्त अनुकूलको कार्यलाई धर्म र प्राकृतिक नियमको सिद्धान्तको प्रतिकुलको कार्यलाई अधर्म कार्य भन्दछ।

 

सद्भावको अवधारणाले भरिएको सोच तथा मनले सबैको जीवनमा भलाइको बीउ रोप्न उद्धत रहन्छ। पुण्य कार्य तर्फ उसका मन वाचन र कर्म उद्धत हुने गर्दछ। त्यसको लागि उसमा सबै भन्दा पहिले प्राकृतिक नियमको सिद्धान्त अनुकूल र प्रतिकुल कार्यहरू बारे गहिरो ज्ञान लिने चासो पैदा हुन्छ।

 

धर्म र अधर्मको ज्ञान प्राप्त भए पछि मानव स्वभावले नै पुण्य कार्यमा लाग्दछ। धर्म र अधर्मको बोध दिलाएर मानिसलाई पुण्य कार्य बारे ज्ञान उपलब्ध गराउने शक्ति लाई सरस्वतीको नामकरण गरिएको छ। एक मानवलाई मानवीयता युक्त मानवमा विकास गर्न जरुरी हुने समपूर्ण ज्ञानको उपलब्धता गराउने शक्ति लाई सरस्वती देवी भनिएको छ।

 

नवरात्रिको पहिलो तीन दिन, हामी कालीको पूजा गर्छौं। आफ्नो जीवनमा गाँसिएर रहेका सम्पूर्ण नकारात्मकताको पहिचान गर्ने, त्यसलाई आफ्नो जीवन वाट हटाउने र पुनः त्यसलाई नअँगाल्ने वाचा वा प्रण गर्दछौ।

 

अर्को तीन दिन हामी लक्ष्मीको पूजा गर्छौं। आफ्नो जीवनमा रहेको सकारात्मकताको पहिचान गरि त्यसलाई जोगाउन कटीबद्ध बन्छौ। आफ्ना जीवनका कर्ममा देखिएका नकारात्मक पक्षका कारण अन्यायमा परेकाहरूमा पर्न गएको असुविधा र हानिको लागि आत्मा आलोचना गर्दै आफ्नो मनमा सबै प्रति सद्भावको विकास गर्दछौ। आफूलाई सत्कर्ममा रहने र पुण्य युक्त कार्यमा समर्पण गर्ने वाचा वा प्रण गर्दछौ।

बाँकी तीन दिनसम्म हामी ज्ञान दिने सरस्वतीको पूजा गर्छौं। आफूलाई पुण्य कार्यमा संलग्न हुन जरुरी हुने धर्म के हो ? अधर्म के हो ? भन्ने बोधको लागि  सुरुवाती व्यवहारिक ज्ञान लिन आफूलाई समर्पित गर्दछौ। आफू को हो? र आफ्नो जीवनको मानवीय जिम्मेवारी के के हुन? ती कुराहरू बारे गहिरो चिन्तन गर्दछौ। सृष्टिको नियम के हो? र आफ्नो अस्तित्वको कारण के हो ? जीवनको उद्देश्य के हो? आदि जस्ता कुराहरूको गहिरो चिन्तन मार्फत अनुभूति लिने कोसिस गर्दछौ।

 

दसैँ मुख्य रूपमा आफूमा निहित मद होस (मद) Pride, लोभ Greed, क्रोध Anger, वासना (यौन आशक्ति) Lust, माया (भ्रम) Delusion, ईर्ष्या (द्वेष) Jealousy, स्वार्थ Selfishness, घृणा Hatred र अहङ्कार Ego जस्ता नौ नकारात्मकता अर्थात असुर चरित्रको मधु, कैटभ, महिषासुर, शुम्भ र निशुम्भ प्रवृत्ति वाट मुक्ति लिने उत्सव हो।

 

दसौँ दिन अर्थात दसरा, दसैँको मुख्य दिन लाई विजयादशमी अर्थात् असत्य माथि सत्यले विजय प्राप्त गरेको दिन मानिन्छ । उल्लेखित आन्तरिक अनुभूति वा मेडिटेसनका नौ दिनहरू पार गर्दै गर्दा मानिस मनोवैज्ञानिक रूपमा आफ्ना सम्पूर्ण नकारात्मक भाइबहरू (Vibes) लाई जितेर सकारात्मक भाइबहरू प्राप्त गरिसकेको दिनको रूपमा लिने गरिन्छ।

 

दसौँ दिन सम्मको पूजाआजा सहितको ध्यान रुपी मेडिटेसनले शरीरमा सकारात्मकता मात्र विकसित गराएको हुँदैन सम्पूर्ण रूपमा सकारात्मकताको अनुभूति नै गराएको हुन्छ। त्यसलाई मानिसले ब्लिस वा धन्यताको बिन्दुमा पुगेको ठानिन्छ। सकारात्मकताको अनुभूतिले दिएको ब्लिसको (Bliss) क्षणमा हामी पहिलेको आफू भन्दा उत्कृष्ट आफूको रूपमा जन्मेको हुन्छौ। तसर्थ सो बापत आफ्नो मान्यजनको टिका र आशीर्वाद थाप्न पुग्दछौ।

 

पहिलेको आफू भन्दा उत्कृष्ट आफैको पुनर्जन्मको समयमा असत्य माथि सत्यको विजय भइरहेको हुन्छ। उक्त अवसरमा  आफन्त र मान्यजन सँग टिका र  आशीर्वाद  थाप्न जानेहरूलाई उनीहरूको लिङ्ग अनुसार फरक फरक मन्त्रोच्चारण  गरी  आशीर्वाद र शुभकामना दिने गरिन्छ।

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।

तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।

पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।

सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।

नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता:।

उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना ।।

शैलपुत्री:

माता दुर्गाको पहिलो दिव्य रूप शैलपुत्री हो। शैल भनेको शिखर हो। शास्त्रमा शैलपुत्रीलाई पर्वतकी (शिखर) छोरी भनेर लेखिएको छ। सामान्यतया शैलपुत्री देवी कैलाश पर्वतकी छोरी हुन् भन्ने बुझिन्छ। शैलपुत्रीको वास्तविक अर्थ चेतनाको सर्वोच्च रुप हो।

 

अव्यक्त ऊर्जा जब हाम्रो इन्द्रियले थाहा पाउने गरी व्यक्त ऊर्जाको रूपमा प्रकट हुन्छ तब मात्र हामी त्यसलाई अनुभव गर्न सक्दछौ। अव्यक्तले  व्यक्तताको सीमा भेटे पछि मात्र अव्यक्त ऊर्जाको चरम सीमारेखा बाहिरको अवस्थामा हामीले त्यसलाई महसुस गर्न र बुझ्न सक्दछौ। अव्यक्त लाई व्यक्तताको बिन्दुमा महसुस गर्न हाम्रो चेतना समेत अत्यन्त गहिरो  शिखर चुमेको अवस्थामा पुगेको हुनु पर्दछ। यहाँ शिखर भनेको गहिरो अनुभूतिको बिचमा हाम्रा अनुभवले पैदा गर्ने गहिरो भावनाहरूको बिन्दु हो।

 

जब तपाईँ बेस्सरी रिसाउनुहुन्छ, तब रिसले तपाईँको शरीरलाई कमजोर बनाएको तपाईँले महसुस गर्नु हुन्छ। जब तपाईँ आफ्नो रिसलाई पूर्ण रूपमा व्यक्त गर्नुहुन्छ, तब तपाईँले आफ्नो ऊर्जा वृद्धि भइरहेको अनुभव गर्न थाल्नु हुन्छ।

 

जब सम्म तपाइको रिस पूर्ण रूपमा व्यक्त हुँदैन तब सम्म तपाईँको रिस पुरा रूपमा मर्न सक्दैन। जब तपाइको रिस सम्पूर्ण रूपमा व्यक्त हुन्छ, तब त्यो बिस्तारै हराउँदै जान्छ। एउटा बिन्दुमा पुगेर निमित्याण्ड बन्छ।

 

मानिसमा रिस उठ्ने र मर्ने प्रक्रिया जब सम्म तपाइले महसुस गर्नु हुन्न तब सम्म तपाइले आफ्नो रिस लाई नियन्त्रण गर्ने कला सिक्न सक्नु हुन्न। रिस वाट सम्पूर्ण रूपमा मुक्त नहुँदा सम्म तपाइले जीवनको आनन्द उठाउन समेत सक्नुहुन्न।जब तपाईँ दिव्य चेतनाको शिखरमा पुग्नुहुन्छ, तब मात्र तपाइले तत्कालीन अवस्थाको यथार्थ बारे अनुभव र अनुभूति लिन सक्नु हुन्छ। तपाइको चेतनाको सर्वोच्च शिखर लाई वैदिक ज्ञानले शैलपुत्री भन्दछ। तसर्थ शैलपुत्री चेतनाको एउटा गुण हो जसले तपाईँलाई तत्कालीन अवस्थाको वास्तविकताको अनुभूति गर्ने क्षमता दिलाउने गर्दछ।

 

ब्रह्मचारिणी:

नवदुर्गाको दोस्रो रूप ब्रह्मचारिणी हो। प्रारम्भ र अन्त्य दुवै नभएको सर्वव्यापी गुण दर्साउन ब्रह्मचारिणी शब्दको प्रयोग हुन्छ। ब्रह्मचारिणी गुण सर्वोत्कृष्ट त हुन्छ नै, त्यो भन्दा बाहिर कुनै पनि कुराको अस्तित्व रहँदैन।

आँखा सम्पूर्ण रूपमा बन्द गरेर ध्यान गर्दै गर्दा आन्तरिक ऊर्जा एक चरम सीमामा पुगेर तपाइ सम्पूर्ण रूपमा अन्धकारमा लीन हुनु भएको तपाईँले महसुस गर्नु हुन्छ, त्यो अवस्था लाई तपाइ ब्रह्मचारिणी अवस्था सँगै धुमिल हुनु भएको क्षण मानिन्छ।

निराकार, निस्पट्ट अन्धकार बिचमा तपाइले महसुस गर्ने देवत्व तपाइको भित्र, बाहिर र सर्वत्र अस्तित्वमा रहेको अनुभव दिने शक्तिको एक गुण हो ब्रह्मचारिणी। अनन्तमा रहेर असीमित रूपमा चल्ने शक्तिको गुण हो। एक ऊर्जा जुन न त निष्क्रिय छ, न-सुषुप्त तर त्यो अनन्तमा निरन्तर चलायमान रहन्छ। ब्रह्मचर्यको अर्थ  नियमित चलायमान रहेर पनि सर्वत्र  उपलब्ध वा उपस्थित रहनु भन्ने लाग्दछ। निस्पट्ट अन्धकार मतलब शून्यतामा समेत तुच्छता वा हीनतामा नभएर पूर्णतामा बाँच्ने कला युक्त गुणलाई ब्रह्मचर्य मानिन्छ।

जस्तै: काम-वासनाले मानिसलाई एक सीमित बन्धनमा बाँधिदिने हुँदा कुमारीत्व ब्रह्मचर्यको एक उदाहरण हुन सक्दछ। काम वासनाको मोह र पारिवारिक बन्धन वाट कुमारीत्व ग्रहण गर्ने व्यक्ति मुक्त हुने हुँदा उसलाई उक्त बन्धनको सीमितता बाहिरको व्यक्ति मान्न सकिन्छ।

वैदिक मान्यतामा चेतनाको सञ्चार क्षेत्र असीमित हुन्छ। त्यसको प्रयोग वाट मानिसले सीमितताको लक्ष्मण रेखा काटेर असीमितता अर्थात् ब्रह्मचर्यको अनुभूति गर्न सक्दछ। अन्तर मनको यात्राको महसुस गर्न सक्दछ। संसार लाई बुझ्न र अनुभूति गर्न सक्दछ।

 

चन्द्रघण्टा:

चन्द्रमा लाई हामी हाम्रो मनको प्रतीक ठान्दछौ। मनको आफ्नै उतार चढावको नियति हुने गर्दछ। जब जब हामी दिग्भ्रमित बन्छौ, तब हाम्रा मनमा नकारात्मक सोचहरू पैदा हुने गर्दछ। त्यसले हामीमा क्रोध, मद होस, ईर्ष्या, घृणा, अनैतिक  यौन आशक्ति जस्ता चाहना जन्माउन भूमिका खेली दिन्छ। हामीमा लोभ, स्वार्थ र अहङ्कार पलाउन सक्दछ। त्यस्ता प्रकारको नकारात्मकता हटाउन हामी हाम्रो आफ्नै सोच परिवर्तनको लागि नियमित सङ्घर्ष गरिरहनु पर्ने बाध्यतामा फस्ने गर्दछौ। हाम्रो दिमागी शुद्धीकरण हाम्रै लागि चुनौती पूर्ण बनिदिने गर्दछ। जसले गर्दा हामी आफ्नै खराब आचरण, नियत र अधर्मी कर्मको संस्कृति अवलम्बन गर्न पुग्दछौ। अधर्मी कर्मको यात्राले बलियो सँग पतनको मार्ग पक्डिदिने गर्दछ।

 

चन्द्र पक्ष र शुक्ल पक्षको बिचमा देखिने चन्द्रको आकार जसरी नियमित घट्दै र बढ्दै जाने नियतिको हुन्छ त्यस्तै हाम्रो मनमा समेत हाम्रा चाहना र भावना घट-बढ हुँदै परिवर्तनशील बनिरहेका हुन्छन्। अर्को तर्फ हाम्रा मन्दिरहरूमा राखिने घण्टीको बिचको डन्डी फरक फरक दिशामा हल्ली रहेर घण्टीमा ठोकिदा समेत जतिसुकै चोटि बजाए पनि सधैँ एउटै प्रकारको आवाज दिने गर्दछ। हाम्रो चन्द्राकार  रूपमा विचलित मनलाई एकाग्र गराएर सदैव आफ्नो जीवनको उद्देश्य प्राप्ति मैत्री आचरणको रुपमा विकास गर्न मनलाई एकाग्रताको क्षमता दिने शक्तिको जरुरत हुन्छ। शक्तिको गुण जसले हाम्रो मन लाई एकाग्र राख्न सक्दछ त्यसलाई चन्द्रघण्टा भन्ने गरिन्छ।चन्द्रघण्टा नव दुर्गाको तेस्रो रूप हो। जसको प्राप्तिले हामीलाई आत्मा ज्ञानको लागि जरुरी हुने ध्यान अर्थात् मेडिटेसनको लागि जरुरत हुने गुण उपलब्ध गराउने गर्दछ। जसको प्राप्ति प्रकृति मैत्री जीवन शैलीको अनुसरण गरी गरिने नियमित अभ्यास वाट मात्र सम्भव बन्दछ।

 

कूष्माण्डा:

संस्कृतमा सामान्यतया कुष्माण्डको अर्थ  कुभिन्डो हुने गर्दछ। अव्यक्त र अभिव्यक्त, सानो देखि ठुलो, प्रत्यक्ष र अप्रत्यक्ष संरचनाको सृष्टि निर्मित ब्रह्माण्ड आकाशमा झुन्डिएर फैली बसेको सबै प्रकारका विविधताहरू युक्त गोलो कुभिन्डोको फल जस्तै छ। कुष्माण्डमा ‘कु’ को अर्थ सूक्ष्म, ‘ष्’ को अर्थ ऊर्जा र ‘अण्डा’ को अर्थ प्रकट भएको विशाल ब्रह्माण्डीय क्षेत्र भन्ने लाग्दछ।

 

जसरी बीउ उम्रिएर बनेको बोटमा फलेको कुभिन्डोको फलबाट आउने नयाँ बीउको अव्यक्त जैविक शक्तिको गुणले नयाँ जीवन प्रकट (अभिव्यक्त) गर्ने सूक्ष्म बीजको काम गर्दछ, त्यस्तै सूक्ष्म चेतना रुपी शक्ति निर्मित चाहनाको तागतले अत्यन्त विशाल अभिव्यक्त संरचनाको उत्पत्ति सम्भव तुल्याउने गर्दछ।

 

वैदिक मान्यता अनुरूप प्रकृतिको चेतनाले पैदा गरिदिएको इच्छा शक्तिको तागतले नै विशाल ब्रह्माण्डको उत्पत्ति सम्भव बनेको हो। यसरी अव्यक्त चेतनाको अभिव्यक्त संरचना निर्माणको कारक बनिदिने शक्तिको गुणलाई कुष्माण्ड भनिन्छ। कुष्माण्ड गुणको कारण प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संसारका साना-साना देखि ठुला-ठुला अव्यक्त संरचनाहरू अभिव्यक्त हुँदै सम्पूर्ण सृष्टिको सम्भव बनी प्रकट भएको छ।

 

परम्परागत रूपमा खाद्यको रूपमा ब्राह्मण र ठुला ऋषिहरूले मात्र खाने र सामान्य व्यक्तिहरूले खासै नखाने कुभिन्डोले मानिसमा जीवनको लागि जीवन्त शक्ति, बुद्धिमत्ता र भौतिक ऊर्जा प्रदायक ठानिन्छ। जीवन शक्तिको निर्माणमा जरुरी हुने सूर्यको किरणको संश्लेषण  गर्न र त्यसलाई खाना मार्फत अन्य जीवित प्राणीमा हस्तान्तरण गर्ने कुभिन्डोको तागतलाई वैदिक ज्ञान अन्तर्गत अलौकिक मानिन्छ। जसले मानिसमा आध्यात्मिक शक्तिको निर्माण र विस्तारलाई सहज गरिदिने विश्वास छ।

 

स्कन्दमाता:

भगवान् कार्तिकेयलाई स्कन्दकुमार भनिन्छ। स्कन्दको जन्मदाता शक्ति रहेकोले यो शक्तिको नाम स्कन्द माता भएको हो। स्कन्द माताको अर्को नाम पद्मासन देवी हो। स्कन्द माता हिमालयकी छोरी पार्वती नै हुन्। उनलाई गौरी पनि भनिन्छ।

 

देवासुर युद्धमा कुमार कार्तिकेय देवताहरूको सेनापति थिए। लडाइँको चुनौतीपूर्ण कठिन परिस्थितिको सामना गर्न त्यहाँ सम्पन्न हुने हरेक कर्म पूर्ण रूपमा व्यावहारिक हुन पर्दछ। साथै उपयुक्त समयमा उपयुक्त साधनको उपयोग समेतको जरुरत पर्दछ। उपयुक्त समयमा उपयुक्त यन्त्रको व्यावहारिक प्रयोग गर्ने ज्ञान लाई ब्रह्म ज्ञान भनिन्छ। ब्रह्म ज्ञानको उपयोग गरी प्रयोग गरिने अस्त्रलाई ब्रह्मास्त्र भनिन्छ।

 

हाम्रो जीवन प्रकृतिले हाम्रो लागि तय गरिदिएको एक नियमित युद्ध नै हो, जसवाट हामी हाम्रो जीवनको उद्देश्य प्राप्त गर्न चाहन्छौ। जीवनको उद्देश्य प्राप्त गर्न (जीवनको लडाई अर्थात् वार जित्न) हामी सानो-सानो युद्ध (दैनिक जीवनका कर्मरुपी सानो सानो झडपहरू अर्थात्  ब्याटल) लडी रहेका हुन्छौ। लडाइमा  सानो-सानो झडपहरूमा सफल वा असफल हुद्दैमा युद्ध जित्ने वा हार्ने भन्ने हुँदैन। युद्धमा सानो-सानो झडपहरू जितियो वा हरियो भन्दा समग्र युद्ध जितियो वा हारियो त्यसको महत्त्व मुख्य  हुन्छ।

 

प्राकृतिक ऊर्जाको एक गुण स्कन्द माता गुण हो, जसले हामीलाई ब्रह्म सर्वत्र, सर्वव्यापी हुन्छ भन्ने सिकाउने गर्दछ। अर्थात् सानो सानो झडपको अनुभव वाट सिकेर  वास्तविक युद्ध जित्ने कलाले हामीलाई सुसज्जित गराउने गर्दछ। अनुभव वाट सिकेर खारिँदै जाने, यथार्थको बोध गर्ने र उद्देश्य प्राप्ति उन्मुख हुने मानवीय गुणलाई स्कन्द तत्त्व भन्ने गरिन्छ।

 

दृढ इच्छा शक्ति, ज्ञान शक्ति र कार्य शक्तिको संयोजनले मानिसले स्कन्द तत्त्वको प्राप्ति गर्दछ। जसलाई प्राकृतिक शक्ति अर्थात् स्कन्दको जन्म शक्ति स्कन्दमाता भनिन्छ। निर्माणको नियतले गरिने विनाश पश्चात् जब  स्कन्दमाता अर्थात् त्रिशक्ति (इच्छा शक्ति, ज्ञान शक्ति र कार्य शक्ति) सँग शिव तत्त्वको निर्माणको पक्षसंग मिलन हुन्छ तब हामीमा निहित अज्ञानता नष्ट गर्ने ब्रह्मास्त्रको प्राप्ति हुन्छ। जीवनको उद्देश्य प्राप्ति गर्ने मार्गको पहिचान हुन्छ। उद्देश्य प्राप्तिको मार्ग प्रशस्त बन्दछ।

 

कात्यायनी:

हाम्रो अगाडि जे घटनाहरू नियमित रूपमा घटित हुन्छ त्यसलाई हामी प्रपञ्च भन्ने गर्दछौ। प्रपञ्च कसरी घटित हुन्छ त्यसको सम्पूर्ण पक्ष हामीले देख्न सक्दैनौ। त्यसका कतिपय कुराहरू अदृश्य समेत हुने गर्दछ। कतिपय पक्षहरू अव्यक्त रहन्छ। प्रपञ्चको कारक रहेका कतिपय कारकहरू अत्यन्त विशाल रहँदा रहँदै समेत पनि अव्यक्त र अदृश्य रहन्छन्। हाम्रा इन्द्रियहरूले अनुभव गर्न सक्दैनन्। कतिपय त हाम्रो कल्पना भन्दा पनि बाहिरका हुने गर्दछन्।

 

प्रकृतिको नियम अनुरूप संसारका गतिविधिहरू नियमित रूपमा सञ्चालन गर्ने शक्तिको अदृश्य, अव्यक्त सूक्ष्म गुणलाई कात्यायनी भनिन्छ। व्यवहारिक प्रयोजनको लागि ईश्वरत्व अर्थात् प्राकृतिक नियमको सबैभन्दा गुप्त रहस्यको प्रतीक तथा विभिन्न घटनाको अदृश्य एवम् बुझ्न नसकिने पक्षका सूचकको रूपमा माता कात्यायनी लाई लिने गरिन्छ।

 

उदाहरणको लागि क्रोध एक नकारात्मक असुरी शक्तिको रूपमा हामी लिने गर्दछौ। क्रोध मनोविज्ञान लाई गहिरिएर हेर्नु भयो भने यसको सकारात्मक तागत समेत रहेको सङ्केत मिल्दछ। सकारात्मक र नकारात्मक क्रोध बिच निकै गहिरो भिन्नता भेटिन्छ। सकारात्मकता सँग गाँसिएको क्रोध बुद्धिसँग सम्बन्धित हुन्छ। नकारात्मकता सँग जोडिएको क्रोध भावना र स्वार्थले भरिएको पाइन्छ। अज्ञानता र अन्यायको विरुद्धमा लक्षित क्रोध न्यायोचित क्रोध हो। सुझबुझ युक्त विवेकले गहिराइमा पुगेर गरिएको सूक्ष्म विश्लेषण ले सञ्चालित गतिविधिहरू सृष्टि, सत्य र धर्म प्रतिकुल रहे नरहेको आधारमा अज्ञानता र अन्याय पूर्ण रहेको नरहेको यकिन गर्न सक्दछ। जसले गर्दा परिपक्व सुझबुझ युक्त बुद्धिमत्ताले सकारात्मक क्रोधको जन्म दिन्छ।

 

सृष्टिमा सत्य र धर्मको स्थापित गर्न विकसित क्रोध सकारात्मक क्रोध नै हो। त्यसलाई माता कात्यायनीको प्रतीक मानिन्छ। शक्तिको क्रोध रुपी दिव्य कात्यायनी रूपले संसारमा नकारात्मकता नाश गरी धर्मको स्थापना गर्दछ। त्यसैले ज्ञानी मानिसको क्रोध पनि लाभदायक र उपयोगी हुन्छ भने अज्ञानीको प्रेम समेत हानिकारक बन्दछ। रचनात्मक निर्माणको लागि जीर्ण वा पीडादायी संरचना वा बिचारको ध्वंस, क्रोध लाई शक्तिमा बदल्ने सङ्कल्प, आक्रोशलाई निर्माणमा लैजाने शक्ति आदि माता कात्यायनीको आशीर्वाद हुन्। जसले सबै प्रकारका नकारात्मकतालाई समाप्त पार्न र सकारात्मक ऊर्जाले सुसज्जित बन्न हामीलाई उत्प्रेरित गर्दछ।

 

कालरात्रि:

माता दुर्गाको शक्ति जुन नकारात्मकताको सर्व-नाश गर्ने उपयोग हुन्छ त्यसलाई कालरात्रि भन्ने गरिन्छ। रात्रि शब्दले अँध्यारोको सङ्केत गर्दछ। अँध्यारोले अज्ञानता लाई जनाउने गर्दछ। जन्मजात रूपमा मानिस नैतिक मार्ग अवलम्बन गर्ने प्राणी हो। मानव समग्र संरचना मानवता मैत्री हुने गरी आन्तरिक इन्जीनियरिङ्ग भएको छ। समयको काल खण्डमा मानिसमा निहित अज्ञानताले उसलाई दुर्भाग्य पूर्ण अन्धकार रुपी अँध्यारो अनैतिकता तर्फ लैजाँदै पथ भ्रष्ट गर्न सक्दछ। मानिस लाई पथ भ्रष्ट हुन वाट रोक्न अज्ञानताको अँधेरो वाट ज्ञानको उज्यालो तर्फ डोर्‍याउन जरुरी पर्दछ। मानिसमा अज्ञानता हटाएर ज्ञान उपलब्ध गरिने र मानवताको अन्त्य हुने कारकको विनाशको लागि प्रभावकारी हुने निर्णायक पहर अर्थात् समय लाई कालरात्रि भनिन्छ।

 

कालरात्रि लाई प्रकृतिको अत्यन्त डरलाग्दो र भयङ्कर रूपमा लिने गरिन्छ। मानवताको निर्माणको लागि जरुरी हुने असुराको ध्वंसको दृष्टिले सृष्टिमा कालरात्रि भन्दा डरलाग्दो अर्को कुनै समय छैन भन्ने विश्वास गरिन्छ। तर पनि कालरात्रिको रूप मातृत्वको लागि समर्पित रहन्छ। जसले मानिसमा सत ज्ञान र सत्सङ्ग तर्फ लगाव पैदा गरिदिन्छ।

 

व्यवहारिक रूपमा प्रस्तुत गर्ने क्रममा एकातर्फ जब जब कुनै युग / समयको अन्त्यको अनिवार्यताको जरुरत आइ लाग्दछ तब शिवको क्रोधबाट जन्मिएको विनाशक शक्तिलाई महाकाली भन्ने गरिएको हुन्छ। अर्कोतर्फ निर्माणको नियतले विनाश गर्ने शक्तिको श्रोतको रूपमा शिव शक्ति लाई चिनिन्छ। यो अर्थमा पनि कालरात्रि तपाइको मानवता मैत्री आचरण वाट पथ भ्रष्ट हुँदै गरेको नैतिक रूपमा जीर्ण संस्कार रुपी जीवनको ध्वंस गर्दै मानवता मैत्री आचरण युक्त तपाईँको नयाँ जीवन निर्माण गर्ने समयको रूपमा चित्रण भएको छ।

 

महागौरी:

महागौरीको अर्थ पूर्ण रूपमा सुन्दरताले ओतप्रोत युक्त एक प्रज्वलित रूपको रूपमा बुझ्ने गरिन्छ। काल रात्रिमाको समयमा आफूमा निहित अज्ञानता हट्न पुगी ज्ञान प्राप्तिको दुर्लभ समयले उपलब्ध गराएको मनमोहक अवसर। महाको अर्थ महान् अर्थात् सम्भव भए जतिको शुद्धताको रूप हो। गौरीको अर्थ प्रकाशको सेतो किरण नै हो।

 

जब प्रकाशको किरण वस्तु वाट परावर्तन हुन्छ तब मात्र हामीले त्यसलाई देख्न सक्छौ। जब प्रकाशको किरणको परावर्तन हुन सक्दैन तब त्यो निक्खर अँध्यारो कालो हुन्छ। त्यो वस्तु के हो भन्ने थाहा पाउन नसक्ने अज्ञानता युक्त अँधेरो बन्दछ। गौरी अदृश्य लाई दृश्य पार्ने क्षमताको रूपमा पुजिन्छिन्। कालरात्रिमा हुने अज्ञानता वाट मुक्ति पश्चात् ज्ञानको ज्योति गौरीको सहयोगले हामीलाई संसार बुझ्न सहज हुन्छ। जसले हामीलाई अन्नपूर्णा (अन्नको परिपूर्ति Photosynthesis), ऐश्वर्या प्रदायिनी (समृद्धि, सफलता, सौभाग्य, सम्पन्नता, वैभव र धन), चैतन्यमयी (सकारात्मकता, ब्लिस र भित्री आनन्दको चेतना) शक्तिको प्राप्ति हुन्छ।

 

जस्तै कथाहरुमा सामान्य मानिसको लागि महागौरी पूजा विशेष गरी अविवाहित युवतीहरूका लागि  धेरै फलदायी हुन्छ किनकि महागौरी पूजाले उनलाई आफ्नो चाहत अनुरूपको पति दिन्छ भने विवाहित नारीहरू लाई यसले शान्तिपूर्ण, मेलमिलाप र लामो वैवाहिक जीवनको आनन्द दिन्छ भनेर सन्देश प्रेषित भएको छ। ज्ञानी र अध्ययन शील व्यक्तिको लागि यसको आफ्नै गहिरो व्यवहारिक अर्थ छ।

 

अविवाहित को अर्थ कुनै योजना बन्नु पहिलेको पवित्र अवस्था हो। युवतीको अर्थ उत्पादकत्व भएको सकारात्मक विचार हो। पूजाको अर्थ सत मार्गको खोजी हो। चाहको अर्थ आफू आफ्नो सोख अनुरूप   जुन कुरामा आनन्द महसुस गर्छ त्यसैको छनौट हो। पतिको अर्थ भविष्यको कर्म र कार्य योजना जसमा व्यक्ति आफू संलग्न हुन चाहन्छ भन्ने हो। विवाहित नारीको अर्थ आफ्नो सोख अनुरूप निश्चित पेसा लिने निश्चयमा पुगी सकेको एक सकारात्मक विचार बोकेको उत्पादन शील रचनात्मक विचार हो। वैवाहिक जीवनको आनन्दको अर्थ त्यसमा दिगो कायम रहेर जीवनको उद्देश्य प्राप्त गर्न सक्षम गर्ने भन्न खोजिएको हो।

 

जसरी विज्ञानको गहिरो कुरा व्यवहारमा ल्याउन, वाल चाहनामा रहेको अधिक वालक हरूलाई मन पर्ने  अव्यक्त खेलौनाको डिजाइन व्यक्त गराएर पत्ता लगाउन  माइन्डक्र्याफ्ट जस्ता गेमिङ्ग डिजाइन सफ्टवेयरको प्रयोग हुने गर्दछ त्यस्तै सनातन संस्कृतिमा विभिन्न चाडबाडहरू फरक फरक ज्ञानको स्तरका व्यक्ति हरुको लागि अव्यक्त अज्ञानता व्यक्त गर्न परम्परागत रूपमा उपयोग हुँदै आएको भेटिन्छ।

 

सिद्धिदात्री:

 

महागौरीको अर्थ पूर्ण रूपमा सुन्दरताले ओतप्रोत युक्त एक प्रज्वलित रूपको रूपमा बुझ्ने गरिन्छ। काल रात्रिमाको समयमा आफूमा निहित अज्ञानता हट्न पुगी ज्ञान प्राप्तिको दुर्लभ समयले उपलब्ध गराएको मनमोहक अवसर। महाको अर्थ महान् अर्थात् सम्भव भए जतिको शुद्धताको रूप हो। गौरीको अर्थ प्रकाशको सेतो किरण नै हो।

 

जब प्रकाशको किरण वस्तु वाट परावर्तन हुन्छ तब मात्र हामीले त्यसलाई देख्न सक्छौ। जब प्रकाशको किरणको परावर्तन हुन सक्दैन तब त्यो निक्खर अँध्यारो कालो हुन्छ। त्यो वस्तु के हो भन्ने थाहा पाउन नसक्ने अज्ञानता युक्त अँधेरो बन्दछ। गौरी अदृश्य लाई दृश्य पार्ने क्षमताको रूपमा पुजिन्छिन्। कालरात्रिमा हुने अज्ञानता वाट मुक्ति पश्चात् ज्ञानको ज्योति गौरीको सहयोगले हामीलाई संसार बुझ्न सहज हुन्छ। जसले हामीलाई अन्नपूर्णा (अन्नको परिपूर्ति Photosynthesis), ऐश्वर्या प्रदायिनी (समृद्धि, सफलता, सौभाग्य, सम्पन्नता, वैभव र धन), चैतन्यमयी (सकारात्मकता, ब्लिस र भित्री आनन्दको चेतना) शक्तिको प्राप्ति हुन्छ।

 

जस्तै कथाहरुमा सामान्य मानिसको लागि महागौरी पूजा विशेष गरी अविवाहित युवतीहरूका लागि  धेरै फलदायी हुन्छ किनकि महागौरी पूजाले उनलाई आफ्नो चाहत अनुरूपको पति दिन्छ भने विवाहित नारीहरू लाई यसले शान्तिपूर्ण, मेलमिलाप र लामो वैवाहिक जीवनको आनन्द दिन्छ भनेर सन्देश प्रेषित भएको छ। ज्ञानी र अध्ययन शील व्यक्तिको लागि यसको आफ्नै गहिरो व्यवहारिक अर्थ छ।

 

अविवाहित को अर्थ कुनै योजना बन्नु पहिलेको पवित्र अवस्था हो। युवतीको अर्थ उत्पादकत्व भएको सकारात्मक विचार हो। पूजाको अर्थ सत मार्गको खोजी हो। चाहको अर्थ आफू आफ्नो सोख अनुरूप   जुन कुरामा आनन्द महसुस गर्छ त्यसैको छनौट हो। पतिको अर्थ भविष्यको कर्म र कार्य योजना जसमा व्यक्ति आफू संलग्न हुन चाहन्छ भन्ने हो। विवाहित नारीको अर्थ आफ्नो सोख अनुरूप निश्चित पेसा लिने निश्चयमा पुगी सकेको एक सकारात्मक विचार बोकेको उत्पादन शील रचनात्मक विचार हो। वैवाहिक जीवनको आनन्दको अर्थ त्यसमा दिगो कायम रहेर जीवनको उद्देश्य प्राप्त गर्न सक्षम गर्ने भन्न खोजिएको हो।

 

जसरी विज्ञानको गहिरो कुरा व्यवहारमा ल्याउन, वाल चाहनामा रहेको अधिक वालक हरूलाई मन पर्ने  अव्यक्त खेलौनाको डिजाइन व्यक्त गराएर पत्ता लगाउन  माइन्डक्र्याफ्ट जस्ता गेमिङ्ग डिजाइन सफ्टवेयरको प्रयोग हुने गर्दछ त्यस्तै सनातन संस्कृतिमा विभिन्न चाडबाडहरू फरक फरक ज्ञानको स्तरका व्यक्ति हरुको लागि अव्यक्त अज्ञानता व्यक्त गर्न परम्परागत रूपमा उपयोग हुँदै आएको भेटिन्छ।

 

(खाद्य तथा औषधि विज्ञ )

33Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: