मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

सबै प्रकारको बिमारी निको हुने प्रमुख कारक उपचार भन्दा आत्मबलको तागत !!

आत्मबल विना

आरोग्य प्राप्ति सम्भव छैन।

डा.नारायण घिमिरे, टोरन्टो, क्यानडा।

 

मानव जीवन निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कतिपय पक्ष सिधै मानव इन्द्रियहरूको मापनको दायरामा आउने गर्दछन भने कतिपय विभिन्न वैज्ञानिक उपकरणको सहयोग वाट मानव इन्द्रियहरूको मापनको दायरामा ल्याएर अनुभूति गर्न सम्भव बन्दछ। वैज्ञानिक मापनको क्षेत्रमा हाल कायमै रहेको प्राविधिक असक्षमताका कारण हामीले पहिचान गर्न र महसुस गर्न सकिरहेको जीवन जीवित राख्न अहम् भूमिका खेली रहेका विभिन्न निर्माण शक्तिका महत्त्वपूर्ण स्पेक्ट्रमहरु विज्ञानको मापनको दायरा भित्र आउन सकेको छैन।

 

वैज्ञानिक मापन क्षमताको असक्षमताका कारण हामीले अनुभूति गर्ने तर वैज्ञानिक रूपमा प्रमाणित गर्न नसकिएको त्यस्ता तत्त्व हरूमा मूलतः अव्यक्त अभौतिक शक्ति निर्मित अवयवहरू पर्ने गर्दछन्।

 

मानव इन्द्रियहरूको मापनको दायरामा ल्याउन सकिएको ब्रह्माण्डको पदार्थहरु भौतिक पदार्थहरु हुन्। ब्रह्माण्डको सम्पूर्ण संरचनाको विशालताको तुलनामा मानव इन्द्रियहरूको मापनको दायरामा आउने भौतिक पदार्थहरु अत्यन्त न्यून हुने गरेको छ।

 

पदार्थको सुक्ष्म भौतिक रूप बारे अवलोकन गर्दा निश्चित बिन्दुमा पुगेर हरेक पदार्थमा मानव इन्द्रियहरूको मापनको दायरामा नआउने अद्भुत शक्ति निर्मित तत्वको सर्बाधिक शुक्ष्म अभौतिक रुप भेटिन्छ। पदार्थको सर्बाधिक शुक्ष्म अभौतिक रुप ब्रह्माण्ड निर्मित सम्पूर्ण भौतिक गुणका तत्वहरुको निर्माणको आधार बनेर अस्तित्वमा रहेको भेटिन्छ। हरेक प्राकृतिक पदार्थ भौतिक र अभौतिक व्यक्त तथा अव्यक्त गुणका तत्वहरुको सारको गठ-जोड वाट बनेको हुन्छ।

 

पदार्थको सर्बाधिक शुक्ष्म अभौतिक रुप हामीले हेरेर वा छोएर महसुश गर्न सक्दैनौ। सर्वाधिक सूक्ष्म अभौतिक रूप निर्माणको ऊर्जा समेत हामीले हेरेर वा छोएर महसुस गर्न सक्ने दायरा भित्र पर्दैन। जसलाई चेतनाको शक्ति वाट अनुभूति गर्न सम्भव हुन सक्दछ।

 

चेतन शक्तिको उपयोग वाट अभौतिक पक्ष बारे अनुभूति लिने प्रक्रिया लाई चिन्तन, मनन, मेडिटेसन वा ध्यान आदि भन्ने गरिन्छ।

 

मेटाफिजिक्सले हरेक जीवन जीवित राख्ने जैविक शक्ति बारे चर्चा गर्ने गर्दछ। निश्चित प्रकृतिको जीवन ज्युँदो राख्ने प्राकृतिक ऊर्जा लाई हामी आत्मा अर्थात् प्राण भन्ने गर्दछौ। आत्मा अर्थात् प्राण अव्यक्त अभौतिक चिज मात्र नरहेर शरीर जीवित राख्ने जिउँदो शरीरको अभिन्न मेटाफिजिकल पक्ष रहेको वैदिक अवधारणा भेटिन्छ।

 

मेटाफिजिकल पक्ष मेटाफिजिकल गुण निर्मित छ। कम्पन अर्थात् स्पन्दनको (पल्स) रूपमा प्रकृतिमा अस्तित्वमा भेटिने मेटाफिजिकल गुण सम्पूर्ण ब्रह्माण्डको सार र जीवित बस्तुमा अन्तर्निहित हुने अव्यक्त क्षमताको मूल श्रोतको रूपमा रहने ठानिन्छ।

 

जब हामी मेटाफिजिक्समा गहन चासो राखी त्यसको अध्ययन सुरु गर्दछौ तब हामी आफैले देखि रहेको र महसुस गरिरहेको भन्दा पृथक प्रकृतिको जीवनका विविध पक्षहरू अनुभूति गर्न थाल्दछौ। हामीले अनुभूति गरिरहेको चिज मात्र नभएर अनुभूति गर्ने पक्ष, अनुभूतिले पैदागर्ने आफ्नै अनुभवहरू समेत आफैमा मेटाफिजिकल चिज रहेको ज्ञान प्राप्त हुन्छ।

 

मेटाफिजिकल गुण तथा ऊर्जाको मापन गर्ने विज्ञानको उपकरण विकसित नबनिरहेको र त्यसलाई समर्थन हुने गरी आएको वैज्ञानिक सिद्धान्तहरू समेत विज्ञानको स्थापित मुख्य अवधारणा अन्तर्गत नराखिएको कारण हिजोको अवस्थामा आफूलाई वैज्ञानिक पक्षधर ठान्ने कतिपय मानिसहरू चेतन शक्ति वाट आधिभौतिक अर्थात् मेटाफिजिकल कुराहरूको अनुभूति लिन सकिँदैन भन्ने मान्यता राख्दथे। उनीहरूको विश्वास वैदिक अवधारणा र विश्वास सँग बाझिने गरेको भेटिन्थ्यो।

 

क्वान्टम फिजिक्सले भौतिक विज्ञानको सूक्ष्मतम क्षेत्रको मापन क्षमतामा विस्तार गरी विभिन्न तथ्यहरू उजागर गर्न सक्षम बनेको तथा क्वान्टम बायो केमेस्ट्रीका वैज्ञानिक सिद्धान्तहरू समेत विज्ञानको मुख्य अवधारणाको रूपमा स्थापित बनेका कारण वैदिक अवधारणा सत्यताको नजिक रहेको रहस्य दिन प्रतिदिन उजागर हुन थाल्यो। त्यसले आधिभौतिक पक्षको अस्तित्व रहने कुरा सुन्न समेत नचाहने अधिकांश मानिसहरूको अवधारणामा समेत परिवर्तन ल्याउन थाल्यो। वैदिक अवधारणा तर्फ उल्लेखनीय रूपमै विश्वको ध्यान खिचिन थालेको भेटियो।

 

ध्वनि, स्पर्श, गन्ध, स्वाद र दृष्टि जस्ता सामान्य इन्द्रियहरू मार्फत सजिलैसँग अनुभव गर्न सकिने कुराहरू समेत वैज्ञानिक वास्तविकता नरहेको ठान्नु पर्ने विज्ञानको हिजोको बाध्यता बिच मेटाफिजिक्स वास्तविक होइन, हुन सक्दैन र त्यो मात्र सिउडो साइन्सको भ्रमको विविध पक्ष रहेको अध्यापन सामग्री बनाएर दुनियाँलाई पढाउने गरेको विज्ञान आफै सामान्य इन्द्रियहरू मार्फत मेटाफिजिक्सको अनुभूति सम्भव हुने तथ्यहरू सत्यताको नजिक रहेको पुष्टि गर्न तर्फ लागेको भेटिन्छ।

 

अथर्व वेदको अवधारणा अनुरूप मानिस शारीरिक, मानसिक र आध्यात्मिक रूपमा स्वस्थ रहन जरुरी हुने अनिवार्य पूर्वाधारको रूपमा उसको आफ्नै शारीरिक, मानसिक र आध्यात्मिक स्व-उपचार क्षमता रहने गर्दछ। जुन उसको आफ्नै आत्मबल र आत्मा ज्ञान मार्फत परिचालित हुन्छ।

 

जीवनको सहज निरन्तरता कायम गर्न आफ्नो समस्या आफैले आन्तरिक रूपमा समाधान गर्न प्रतिबद्ध शरीरको आन्तरिक गुण तथा ऊर्जाको फिल्ड (तागत) लाई  शरीरको हिलिङ्ग अर्थात् स्व-उपचार क्षमता भनिन्छ। जीवन यापनको क्रममा नियमित सञ्चालनमा रहने शारीरिक, मानसिक र आध्यात्मिक गतिविधिले नियमित रूपमा आन्तरिक  संरचनागत, प्रणालीगत, गुणगत तथा सोचगत प्रतिकुलता र असहजताहरू उत्पन्न गरिदिन्छ। जसलाई मानिसको आफ्नै स्व-उपचार क्षमताले नियमित नियन्त्रणमा लिएर सामान्य रूपमा फर्काउने गर्दछ। जसलाई शरीरको प्राकृतिक प्रतिरक्षा प्रणालीको भन्ने गरिन्छ।

 

प्राकृतिक प्रतिरक्षा प्रणालीले शरीरमा आइलागेका असहजताको समय, प्रकृति, हद र तत्काल उपचारको जरुरत अनुरूप अस्थायी वा स्थायी प्रकृतिको उपचारको उपायको अवलम्बन गर्ने गर्दछ। त्यसको लागि आन्तरिक हिलिङ्ग अर्थात् स्व-उपचार तागतको कुशलता पूर्वक उपयोग हुने गर्दछ। आफ्नो आन्तरिक समस्याको प्राकृतिक प्रतिरक्षा प्रणाली आफैले अल्पकालीन र दीर्घकालीन समाधान गर्न सक्रिय बन्दछ।

 

आन्तरिक ऊर्जा फिल्डले विद्यमान समस्याको समाधान गर्न सक्दा व्यक्तिले स्व-उपचार मार्फत सन्चो भएको महसुस गर्दछ। जीवन स्वस्थ रहने वा रोगी बन्ने बारे निर्धारण गर्ने आन्तरिक हिलिङ्ग ऊर्जा फिल्ड जीवन कल्याणको तथा रोगको उत्पत्ति दुवैको मुख्य कारक र स्रोत बन्ने गर्दछ। ऊर्जा फिल्ड सन्तुलित र शक्तिशाली राख्न खानपान, जीवन पद्धति र आत्मज्ञानको गहिरो भूमिका रहन्छ। आत्मज्ञान र  आध्यात्मिक सचेतनाले मन, आत्मा, उच्च-आत्मा लगायतका विषयको भित्री दिव्यता सम्म डोर्‍याउने गर्दछ।

 

हाम्रो परम्परागत मान्यतामा चेतनाको परीक्षण मार्फत विकसित र अनुभूतिको व्यावहारिकतामा प्रमाणित ज्ञानलाई चुरो ज्ञान अर्थात् ए-ज्ञान वा अध्यात्म विज्ञान भनिन्छ। चेतना मार्फत फुरेका सोच रुपी परिकल्पनाका सिद्धान्तहरू लाई वैज्ञानिक प्रयोगशालाको परीक्षण वाट मापन गरी सत्य रहे न रहेको यकिन गरी व्यावहारिक रुपमा प्रमाणित गरिने ज्ञानलाई वि-ज्ञान भन्ने गरिन्छ।

 

विज्ञान निर्मित वैज्ञानिक प्रयोगशालाको सीमित क्षमता भित्र मापन हुन सक्ने ए-ज्ञानको सिद्धान्तहरू मात्र वैज्ञानिक प्रयोगशालाहरूमा परीक्षण गर्न सम्भव हुने हुँदा विज्ञानले परीक्षण गर्ने विधि पहिचान नगरेको क्षेत्रको ज्ञान अवैज्ञानिक हुने गर्दैन।  न त त्यो असत्य रहेको नै प्रमाणित भएको हुन्छ। ती ज्ञानहरू यथार्थमा सही रहेको वा नरहेको भनी विज्ञानको उपलब्ध क्षमताले यकिन गर्न नसकिएको ज्ञानको रूपमा रहने गर्दछ।

 

चलमल विहीन (तम गुण युक्त) प्रकाश रहित कालो अँधेरोको अवयवलाई वैदिक अवधारणाले आकाश भन्ने गर्दछ। आकाशको गर्वमा अव्यक्त रूपमा कैद रहेको अव्यक्त अवयवको (अव्यक्त प्राकृतिक इच्छा शक्ति )  व्यक्त हुने चाहनाले आकाशमा अप्रत्याशित चहलपहल (व्यक्त प्राकृतिक इच्छा शक्ति) प्रस्फुटित गरिदिन्छ। जुन चुलबुले प्रकृतिको रूपमा व्यक्त हुने गर्दछ। जसलाई हामी सामूहिक वा युनिभर्सल मन (Universal Mind) अर्थात् अव्यक्त प्राकृतिक  सम्भावना भन्ने गर्दछौ। त्यही अव्यक्त प्राकृतिक सम्भावना रुपी मन ऊर्जा सङ्कुचित तथा रूपान्तरित भएर निश्चित विन्दुमा केन्द्रित गाडा मौलिक ऊर्जाको सार (Energy Affinity Point) मा रूपान्तरण हुने गर्दछ।

 

जसले व्यक्त “प्राकृतिक चेतना” को आधार तहको निर्माण गर्दछ। वायुमण्डलमा प्राकृतिक रुपमा सर्वत्र उपलब्ध हुने सबै प्रकारको प्राकृतिक चेतनालाई सामूहिक चेतना (युनिभर्सल कन्ससनेस) भन्ने गरिन्छ। सामूहिक चेतना रूपमा एक रूप वाट अर्को रूपमा नियमित परिवर्तन हुन सक्ने क्षमता तथा गुण हुने गर्दछ। एक निश्चित प्रकृतिको सामूहिक चेतना निर्जीव रूप वाट जीवित रूपमा परिवर्तन हुने क्षमता राख्दछ। जीवित रूपमा परिवर्तन हुने चेतनाको आफूले बोकेको सूचनाको अनुभूति गर्ने क्षमता रहन्छ। यस्तो संवेदनाको गुण समेत राख्ने क्षमताको चेतना निर्जीव चीजहरूले सजिलै अवशोषित गरी आफ्नो निर्जीव अस्तित्व लाई सजिव वा जीवित अस्तित्वमा बदल्न सक्दछ।

 

चेतना भौतिक ब्रह्माण्डको सृजनाको मूल तत्त्व हो। ब्रह्माण्डको संरचना निर्माण हुने क्रममा  ब्रह्माण्ड निर्माण गर्ने पदार्थ भन्दा पहिले बौद्धिकता अर्थात् इन्टेलिजेन्स (व्यक्त प्राकृतिक इच्छा शक्ति) निर्माण भएको थियो । बौद्धिकता अर्थात् इन्टेलिजेन्स (व्यक्त प्राकृतिक इच्छा शक्ति)  नै ब्रह्माण्डको संरचना निर्माण गर्ने पदार्थहरू निर्माण गर्ने एक कडीको रूपमा अस्तित्वमा आएको थियो।

 

मानिसहरूले आफ्नो शरीरलाई नै आफ्नो पहिचानको रूपमा लिने गर्दछ। ढिलो वा चाँडो आफ्नो शरीर नास हुने निश्चित रहेको बुझेको मानिसले आफ्नो शरीर नास हुने क्रममा उसको चेतना पनि लोप हुने विश्वास गर्दछ। पहिला शरीरले नै चेतना उत्पन्न गर्छ भन्ने विश्वास बोक्ने गरेको विज्ञान अनुरूप शरीर मर्दा चेतना पनि मर्छ भन्ने कुरा यकिन गर्नु स्वाभाविक नै थियो। तर यथार्थ त्यसो होइन। त्यो भ्रम पूर्ण मान्यताको जगमा विकसित विश्वास हो। चेतनाले शरीरको निर्माण गर्ने हुँदा शरीर मर्दैमा चेतना समेत मृत्यु हुने कुरा सत्य होइन। यथार्थमा चेतनाको मृत्यु सम्भव छैन। शरीरको मृत्यु हुँदा चेतना एक विचारको रूपमा अस्तित्वमा रहन्छ।

 

हामीले सामान्य रुपमा बुझ्ने गरेको स्थान ( लोकेसन – दिसा),  आकाश (स्पेस), र समय (टाइम) कुनै निश्चित वस्तु वा चीजहरू होइनन्। संवेदनाको गुण र क्षमता बोकेको चेतना शरीर संग संयोजन गर्ने मुख्य आधार हुन्।

 

अथर्व वेदको बुझाइमा तिनीहरु जीवहरूको संसार अनुभूति गर्ने उपकरणहरू हुन्। जसरी एउटा कछुवाले आफू सँगै आफ्नो शरीरको खपेटा बोकेर हिँड्ने गर्दछ  त्यसरी नै खपेटा रुपी आवरणको रूपमा स्थान (लोकेसन-दिसा),  आकाश (स्पेस), र समय (टाइम)  हरेक जीवको  जीवित अस्तित्व संग नियमित जोडिएर रहेको हुन्छ। जिबनको कुनै बिन्दुमा त्यो सन्तुलित त्रिकोण जीवको शरीर संग बिच्छेद हुन पुग्दछ।

 

चेतना एक गैर-स्थानीय क्वान्टम वस्तु हो। जसरी क्वान्टम वस्तुहरू फरक फरक समयमा फरक फरक स्थानमा रहने गैर-स्थानीय चरित्रका हुन्छन् चेतना पनि त्यस्तै गैर-स्थानीय हुन्छ। केबल बक्सले स्याटलाइटको सिग्नलहरू प्राप्त गर्ने तरिका अनुरूप शरीरले चेतना प्राप्त गर्दछ।केबल बक्स जस्तो भौतिक वाहनको रूपमा रहेको शरीरको मृत्युमा चेतना समाप्त हुन सम्भव छैन। त्यसैले  जीवको शरीर संग इलेक्ट्रिक सप्लाई सिस्टमको प्लगको पोजेटिव, नेगेटिब र न्युट्रल चार्ज बोकेको तिन पक्षीय तार जस्तै लाग्ने स्थान (लोकेसन-दिसा), आकाश (स्पेस), र समय (टाइम)  को सन्तुलित त्रिकोण छुट्टिए पनि जीवको अस्तित्व कायम नै रहन्छ।

 

चेतना यथार्थमा समय, दिसा र आकाश को परिधि भन्दा बाहिर अवस्थित हुने गर्दछ। त्यो मानव शरीर भित्र वा बाहिर जहाँ पनि रहन सक्दछ। संसारमा एकै साथ विभिन्न ब्रह्माण्डहरू एकैसाथ अवस्थित  हुन सक्ने सम्भावना रहेकोले एक ब्रह्माण्डमा मृत भएको शरीरको चेतना अर्को ब्रह्माण्डमा अस्तित्वमा रहन समेत सम्भव हुन्छ। उक्त समयमा चेतनालाई अर्को ब्रह्माण्डले अवशोषित गरेको हुन्छ।

 

त्यसको मतलब के हो भने मृत शरीर छाडेको चेतना सुरुङ यात्राको क्रममा नर्क वा स्वर्गमा पुगेर सकिने, आनन्द वा दुखमा फस्ने भन्ने हुँदैन। चेतना त्यही वा फरक ब्रह्माण्डमा असीमित समय सम्म जीवित अस्तित्वमा रहन सक्दछ। सामुहिक चेतना संग बिलिन भएर सामुहिक अस्तित्वको भागको रुपमा रहन पनि सक्दछ।

 

आफ्नो निर्जीव अस्तित्व लाई जीवित अस्तित्वमा परिवर्तन गरेको जिउँदो तत्त्वलाई नियमित रूपमा आफ्नो जीवित अस्तित्व कायम राख्न सामूहिक चेतनाको केही अंशको नियमित रूपमा जरुरत पर्दछ। जीवन जीवित राख्न जीवित अस्तित्वमा कैद हुने सामूहिक चेतनाको अंश लाई प्राण ऊर्जा (ची-ऊर्जा) भन्ने गरिन्छ।

 

वैदिक साहित्यले सामूहिक चेतना लाई परमात्मा (परम-आत्मा) र जिउँदो तत्त्व भित्र समाहित बनेको परमात्माको अंशलाई आत्मा भन्दछ। प्राय: शान्त रहन नसक्ने गुण बोकेको आत्मा निर्माणको अभिन्न पक्ष मनको चुलबुले पनलाई चित्त भन्ने गरिन्छ।

 

शरीर, मन र आत्माको गठजोडवाट जीवन बन्दछ। भौतिक शरीरको स्नायु तथा मस्तिष्कका न्युरोनहरुले सामूहिक चेतनाको अवशोषित गरी सम्पन्न गर्ने विशेष प्रकारको परिवर्तनले सामूहिक चेतनाको निश्चित अंश प्राणको रूपमा परिवर्तित भएर भौतिक शरीरलाई जीवित तुल्याउने गर्दछ। जसले स्नायु तथा मस्तिष्कका न्युरोनहरूमा विलक्षण प्रतिभा र क्षमता उपलब्ध गराउँदछ। जसलाई  बायो-नर्ब फोर्स भनिन्छ। त्यही बायो-नर्ब फोर्सको शक्ति लाई वैदिक साहित्यले चेतन शक्ति (कन्ससनेस) भन्ने गरेको छ।

 

शरीरले चेतन शक्तिको प्राप्ति मूलतः दुई उपाय वाट गर्ने गरेको देखिन्छ। पहिलोमा मस्तिष्कका न्युरोनहरुले सामूहिक चेतनालाई प्राण शक्तिको रूपमा परिवर्तन गरी आफूमा कैद गरी जीवनलाई जीवित राख्दछ। दोस्रोमा सामूहिक चेतना हामीले पिउने पानी, खाने खाना र फेर्ने श्वास-प्रश्वासले आफूमा कैद गरी शरीर भित्र पुर्‍याउने गर्दछ।

 

खानपान भन्दा श्वास-प्रश्वास मार्फत हाम्रो शरीरले वातावरणको सामूहिक चेतना शरीर भित्र अत्यधिक मात्रामा आपूर्ति गर्दछ। जसले गर्दा शरीरको नियमित वृद्धि, मर्मत, संहार र परिचालनको क्रममा ध्वंस हुने तथा निर्माण हुने प्रक्रियामा पैदा हुने नयाँ संरचनाको लागि जरुरत पर्ने जीवन्त शक्तिको कमी हुन पाउँदैन। समग्र शरीर नियमित जीवित रहन सम्भव हुन्छ।

स्नायु प्रणालीको चेतना अथवा नर्ब-फोर्स (बायो-नर्ब फोर्स) लाई मानिसको आत्म बल (मनोवैज्ञानिक तागत) समेत भन्ने गरिन्छ। चेतन,  अवचेतन र अचेतन तिनै अवस्थामा जीवको व्यवस्थापन स्नायुको तागत (बायोनर्भस) अथवा चेतनाको क्षमताको हदले गर्ने गर्दछ। जहाँ चेतनाको क्षमताको हदले समग्र मानव स्मरण (आनुवंशिक, शारीरिक, मस्तिष्क, प्रतिरक्षा प्रणाली आदिको रूपमा सञ्चित स्मरणहरू) लाई जनाउने गर्छ।

 

शरीरमा स्नायु ऊर्जाले नियमित रूपमा विद्युतीय पल्सको (धड्कन) निर्माण गर्दछ। स्नायु तथा मस्तिष्कका न्युरोन हुँदै यात्रा गर्ने क्रममा विद्युतीय पल्सले चुम्बकीय क्षेत्रको (ह्युमन म्यागनेटिजम) विकास गर्दछ। शरीर भर पैदा भएका  विद्युतीय पल्स तथा चुम्बकीय ऊर्जाका संयुक्त फिल्डहरूको समग्रताले मानव इनर्जी फिल्डको निर्माण गर्दछ।

 

शरीरको अंश अंशमा, निश्चित भागमा र समग्र शरीरभर विकसित हुनजाने मानव इनर्जी फिल्डले व्यक्तिको शारीरिक, मानसिक, मनोवैज्ञानिक तथा आध्यात्मिक पक्ष सबल राख्ने स्व-हिलिङ्ग प्रणालीको निर्माण गर्दछ। जसलाई हामी स्नायु प्रणालीको उत्कृष्ट तागत अर्थात् शरीरको स्व-हिलिङ्ग शक्ति भन्ने गर्दछौ। समग्रमा हेर्दा व्यक्तिको आत्मा सँगै जोल्टिएर रहने मनको शरीरको स्व-हिलिङ्ग शक्ति निर्माणमा निर्णायक भूमिका रहेको भेटिन्छ। मन र चित्तले पैदा गर्ने सकारात्मक वा नकारात्मक अपेक्षाको मानव समग्र स्वस्थमा प्रत्यक्ष हस्तक्षेपकारी भूमिका हुने गर्दछ।

 

शरीरको हिलिङ्ग अर्थात् स्व-उपचार क्षमता बलिष्ठ हुँदा शरीर आफैले आफ्नो आन्तरिक समस्याको दीर्घकालीन समाधान तर्फ सक्रिय बन्छ। त्यसो हुन सक्दा तपाईँ लाई रोगले सङ्क्रमण गर्ने क्षमता राख्दैन। यसको लागि तपाइको शरीरलाई तपाइको आत्मबलको सहयोगको जरुरत पर्दछ। आत्मबलको सहयोगले मन लाई नियन्त्रित गरिदिने। आत्मबलको निर्माण गर्न शारीरिक स्वस्थता कायम गर्दै मानसिक र आध्यात्मिक रूपमा समेत आफूलाई स्वस्थ र उच्च मनोबल युक्त बनाउने।

 

चित्त अलि ठुलो गरेर गुनासो र ठुस्किने बानी छोड्ने। आफूलाई सन्तुष्ट राख्ने। आफू सँग जे छ आफू जस्तो अवस्थामा छ त्यसैलाई स्विकारेर त्यसलाई आफ्नो जीवनको परीक्षा ठानेर सामना गर्ने। सन्तुष्ट र धन्य बन्ने। त्यसो गर्न सक्दा मात्र तपाइमा सकारात्मक सोच आउने छ। त्यही सकारात्मक सोचले बढाएको तपाइको आत्मा बलले तपाईँलाई खुसी र सुखी मात्र हैन निरोगी राख्ने समेत अचुक औषधि बनिदिन्छ।

 

वैदिक ज्ञानको निचोड अनुसार तपाई सँग निरोगी रहने यो बाहेक अर्को कुनै विकल्प छैन। किनकि चकचके बाँदर जस्तो चली रहने तपाइको चित्तले तपाइमा सदैव अव्यवहारिक अपेक्षाहरू जन्माउने गर्दछ। अव्यवहारिक अपेक्षा, मेहनत र क्षमता विहीन उपलब्धिको चाहत जन्माउने प्रकृतिको हुन्छ। त्यसले तपाइलाई पाठ भ्रष्ट त पार्छ नै, तपाइको शरीरको स्व-उपचार क्षमतामा समेत रास ल्याउने र तपाइलाई विभिन्न रोगहरूको घरको रूपमा परिवर्तित गरिदिन्छ।

 

जब तपाईँको मनले अव्यवहारिक अपेक्षाहरू गर्दछ, तपाई अत्यन्त सानो चित्त लिएर आफू पनि दु:ख पाउनु हुन्छ र आफ्ना वरपरका लाई पनि तपाइको व्यवहारले सताउने परिस्थिति बन्छ।  हिलिङ्ग अर्थात् स्व-उपचार क्षमता मार्फत तपाईँलाई स्वस्थ राख्ने तर्फ तपाइको शरीरले तपाइको सहयोग समेत पाउँदैन। तपाइको आफ्नै सहयोग नपाएको तपाइको शरीर तपाइका आन्तरिक समस्याको अल्पकालीन समाधान तर्फ लाग्दछ।

 

समस्याको अल्पकालीन समाधान अन्तर्गत उत्पत्ति भएका र लागेका रोगको उपचार प्रक्रिया आदि पर्दछ। शरीर स्वस्थ राख्ने होइन कि शरीरको दर्द पूर्ण जीवनको आयु लम्ब्याउने उपायहरूको विकल्प खोज्न थाल्छ। त्यस्ता समाधानको उपायहरुले मूर्त रूप पाउन समेत तपाइलाई उपचारात्मक ओखती, थेरापी तथा अप्रेसन आदिको जरुरत पर्दछ। ओखती खाएरै बाँकी जीवन कटाउनु पर्ने जोखिम जन्मन्छ।

 

यथार्थमा भन्ने हो भने सबै प्रकारको बिमारी निको हुने प्रमुख कारण उपचार भन्दा आत्मबलको तागत मुख्य कारक हो भन्ने निचोडमा वेद र विज्ञानको सहमति भेटिन्छ।  हाम्रो आफ्नै परम्परागत ज्ञानको यो कडीको उपयोग मार्फत आत्मबल को सदुपयोग वाट आरोग्य प्राप्तिको अवसर लिने उपाय उन्मुख हुन जरुरी छ।

 

हाम्रा ऋषिहरू जस्तोसुकै आपत् विपथ आउँदा समेत आफ्नो आत्मबल निर्माणको लागि आध्यात्मिक बने। आफ्नो मन र चित्त नियन्त्रण गरी आफ्नो शरीर लाई हिलिङ्ग मार्फत दीर्घकालीन उपचार गर्न सघाएर लामो सुखी र आनन्दित जीवन बिताउन सफल बने।

 

हाम्रा ऋषिहरूको पथ मनको भित्री कुना वाट चाहेमा तपाइले पनि अवलम्बन गर्न सक्नु हुन्छ। त्यसको लागि माथि वर्णन भएका वैदिक ज्ञानका चुरो वैज्ञानिक पक्षहरू वारेको ज्ञानले तपाईँलाई सहयोग पुर्‍याउन सक्दछ।

 

[खाद्य तथा औषधि विज्ञको रूपमा क्यानडामा कार्यरत डा. नारायण घिमिरेले अथर्ववेदमा आधारित क्वान्टम मेटाफिजिक्स विधा अन्तर्गत आयुर्वेदिक द्रुत उपचार विधि विषयमा विद्यावारिधि गरेका छन्। Contact: narayanghimire@yahoo.com]

 

83Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: