मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वेद र बिज्ञानमा सूक्ष्मता भित्र लुकेको काबिलता।

नारायण घिमिरे

स्वरूपमा कुनै कुरा ठुलो वा भीमकाय रहँदैमा त्यो शक्तिशाली रहन्छ भन्ने सोचाई प्राय: गलत साबित हुने गर्दछ। विषय बस्तुमा गहिरिएर विचार पुर्‍याउने हरेकले यो बुझेकै कुरा हो की पहरा वाट खस्दै गरेको भीमकाय ढुङ्गोले अधिकमा त्यो तलको केही संरचना निमित्यांड गर्न सक्छ। तर पृथ्वी नै ध्वस्त गर्न त एटमिक बमको जरुरत पर्दछ। एटम बम अत्यन्त सूक्ष्म पदार्थ हो।

 

आज संसारमा एटम भन्दा निकै साना पदार्थहरू पहिचान भएका छन्। ईलेक्ट्रोन, प्रोटोन र निउट्रोन भन्दा सा-साना सब-एटमिक पार्टिकलहरू जस्तै  मुवोन, निउट्रीनो, क्वार्क्स आदि बारे विज्ञानले हामीलाई प्रशस्त जानकारी गराएको छ।  मुवोन, निउट्रीनो, क्वार्क्स  जस्ता तत्त्वहरू सब-एटमिक पार्टिकलहरू ईलेक्ट्रोन जस्तै कम्पन अवस्थामा रहने गर्दछन् भन्ने समेत वैज्ञानिक प्रमाण सहितको जनाकारी प्राप्त भएको छ। फोटोन, न्युट्रीयोन, ग्रेभीटोन र ईलेक्ट्रोन जस्ता क्वान्टम पार्टिकलहरूमा एउटा अचम्मको बानी भेटिएको छ। जस्तै क्वान्टम पार्टिकल भनिने फोटोनको दुई पार्टिकलहरू लिएर पोलोराइज गरिदिँदा ती दुई पार्टिकलहरूले एकै पार्टिकल जस्तो ब्यहोरा देखाउँदछ। पोलोराइज गरिदिए पछिको ती दुई पार्टिकलहरू लाई जब एक आपसमा छुट्टयाईन्छ तब तिनीहरूले एउटाले अर्कोको ठिक विपरीत गतिविधि देखाउने जोडी बन्दछन्। जस्तै एउटालाई घडीको दिशामा घुमायो भने अर्को एन्टी-क्लक दिशामा घुम्दछ। एउटालाई स्पिन-अप (टाउको माथि) गर्दा अर्को  स्पिन-डाउन (टाउको तल) हुन्छ।

 

पोलोराईज गरेपछि यसरी एउटा अर्कोको प्रभावमा परेर एउटाले जे गर्छ अर्कोले त्यसको विपरीत काम गर्ने जोडी लाई विज्ञानमा ईनट्याङ्गल अथवा एकापसमा जोल्टिएको पार्टिकल भनिन्छ। एउटाले अर्कोको विपरीतको ब्यहोरा देखाउने बानिलाई स्पुकी एक्सन भनिन्छ। सबैभन्दा अचम्मको कुरा के छ भने यस्ता  क्वान्टम ईनट्याङ्गल भएर जोल्टिएका पार्टिकलहरू एकापसमा जतिसुकै टाढा लैजानुस् मतलब एक ग्रह वाट अर्को ग्रहमै किन नलैजानुस् उनीहरूको स्पुकी एक्सन नियमित रूपमा देखाउँछन्। तिनीहरू एकापसमा न त कुनै तार, न कुनै वाई-फाई, न कुनै तार रहित सिग्नल र कुनै कोड वाट नै जोडिएको भेटिन्छ। न कुनै तरिका वाट त्यो सम्पर्क ह्याक गरी विच्छेद गर्न नै सकिएको छ।

 

उनीहरू एकापसमा कसरि सम्पर्कमा रहेका हुन् हाल सम्म बुझ्न नसकिएकोले त्यसलाई उनीहरू बिचको  क्वान्टम सूचना प्रवाह भनिएको छ। पोलोराइज फोटोनले देखाउने क्वान्टम कम्युनिकेसन न्युट्रीयोन, ग्रेभीटोन र ईलेक्ट्रोन जस्ता क्वान्टम पार्टिकलहरूले समेत देखाउने गर्दछन्।

 

संसारमा रहेका हरेक पदार्थ अत्यन्त सूक्ष्म रूपमा क्वान्टम मेकानिक्सले यकिन गरेको जस्तो एक आपसको संयुक्त पल्स वा कम्पनको रूपमा रहेको बादलजस्तो लाग्ने बस्तुको रूपमा अस्तित्वमा रहेको ऊर्जा निर्मित छ। जसलाई क्वान्टम मेकानिक्सले युनिफ़ाइड फिल्ड भन्ने गर्दछ। तपाई हाम्रो अनुभव, बिचार र सोचले पैदा गर्ने चेतना अथवा कन्ससनेस क्वान्टम पार्टिकलहरू भन्दा समेत सूक्ष्म रूपमा रहेता पनि तिनीहरु पार्टिकलको रूपमा नरहेर एक पिण्ड रहित ऊर्जाको रूपमा युनिफ़ाइड फिल्ड सँगै सह संयोजनमा रहेर नियमित सक्रिय रूपमा कार्यरत रहने चिज रहेको अनुमान गरिएको छ। विज्ञान भने यो पिण्ड विहीन चिजको सूक्ष्मताको स्तरमा पुगेर यसको चरित्र उजागर गर्न सकिरहेको अवस्थामा छैन। यो विषय बस्तुमा विज्ञानको कोसिस र नियमित खोज भने जारी रहेको छ। आगामी दिनहरूमा विज्ञानले दिने धेरै चमत्कारहरू उसले क्षेत्रमा प्राप्त गर्न सक्ने प्रगतिको निकै ठुलो भूमिकामा भर पर्ने भने निश्चित प्राय: भएको छ।

 

हामी संसारमा रहेका सूक्ष्म तत्त्वहरूको क्षमता र शक्ति बारे जति गहिरिएर महसुस गर्न सक्दछौ त्यति सहज रूपमा हाम्रो आफ्नै चेतनाको शक्ति वा क्षमताको बारे आकलन गर्न सक्ने छौ। मानव शरीरको ईनर इन्जिनियरिङ अत्यन्त चमत्कार पूर्ण छ। यसका अत्यन्त साना तर असाध्य महत्त्वपूर्ण हजारौँ भागहरू आफैमा एउटा चमत्कारको रूपमा रहेको छ। ती भागहरू बारे उचित जानकारी राख्न सक्दा हामीलाई आफ्नैमा निहित असीमित क्षमता बारे महत्त्वपूर्ण प्राप्त गर्न सहयोगी हुने छ।

 

मानव शरीरका चार वटा साना भागहरू बारे बिचार गरौँ। सबैभन्दा भन्दा सानो मांसपेशी, सबैभन्दा सानो हड्डी, सबैभन्दा सानो अङ्ग र सबैभन्दा सानो रक्त नली। मानव सरिरमा हुने सबैभन्दा सानो मांसपेशी कानको बिचको भागमा रहने स्टेपेडियस हो जुन मात्र १ मिलिमिटर लामो हुन्छ। शरीरको सबैभन्दा सानो हड्डी कानको बिचको भागमा रहने स्टेपस बोन हो जुन स्टेपेडियस सँग जोडिएको हुन्छ।

 

कानको बिचको भागमा रहने स्टेपस बोन तिन वटा साना-साना हड्डी मद्येको एक हो जसलाई संयुक्त रूपमा ओसिकल भनिन्छ भने हरेक टुक्रा लाई मलियस, इन्कुस र स्टेपस भनिएको छ। स्टेपेडियस मांसपेशीले बाहिर निकै चर्को आवाज आएमा कानको प्वाललाई ढाकेर भिर सम्म जान वाट रोक्छ। तपाईँको आफ्नै बोलीसमेत चर्को आवाजको रूपमा कान भित्र जान वाट रोकेर यसले कानको रक्षा गर्दछ। तपाइले सुनेको आवाज बाहिरी कान वाट भित्री कान सम्म पुर्‍याउने काम भने ओसिकलको हो जसमा मानव सरिरमा हुने सबैभन्दा सानो हड्डी स्टेपस बोनको महत्त्वपूर्ण भूमिका हुन्छ।

 

टाउकोमा दुई आँखा बिचको निदारको भित्री भागमा दिमागको गोलार्धको बिचको केन्द्र भागको  खाल्डामापाइने पिनियल ग्रन्थि (तेश्रो नेत्र) मानिसको सबै भन्दा सानो अङ्ग हो। पिनियल ग्ल्यांड मानव शरीरको सबैभन्दा सानो ईन्डोक्राइन ग्रन्थि समेत हो। यसले सेरोटोनिन हर्मोन बाट मेलाटोनिन हर्मोनको उत्पादन गर्दछ। उक्त हर्मोनले मौसमी परिवर्तन अनुरूप प्रतिक्रियाहरू दिने,  दैनिक हुने उज्यालो – अँध्यारो अनुरूप सुत्ने-उठ्ने बानी बसाल्ने वा निद्रा लगाउने – ब्युँझाउने जस्ता काममा सहयोग पुर्याउदछ। आकारमा  पाइन कोन वा सल्लाको खोया जस्तो देखिएकाले यो ग्रन्थिलाई पिनियल ग्रन्थि भनिएको हो।

 

रक्त नलीमा क्यापिलरी भनिने केशिकाहरू शरीरको सबैभन्दा सानो र पातलो रगत रक्तवाहिकाहरू हुन् जसले शिरा (भेन) र धमनीहरू (आर्ट्रिज) लाई एक आपसमा जोड्ने काम गर्दछ। मात्र ५-१० माइक्रोन चौडा रहने उक्त रक्तवाहिकाहरू सानो कपालको रौँ भन्दा ५० गुणा पातलो हुने गर्दछन्। प्रत्येक व्यक्तिमा लगभग १० अरब क्यपिलरीहरु रहने गर्दछ। वयस्क मानिसमा हुने सबै केशिकाको लम्बाई करिब २५ हजार माइल हुने गर्दछ। केशिकाले रगतमा अक्सिजन उपलब्ध गराउने र रगतमा रहेको कार्बन डाइअक्साइड हटाउन मुख्य भूमिका खेल्दछ। पोषण तत्त्वहरू तन्तुहरू सम्म पुर्‍याउन समेत रक्त सञ्चारको भूमिका रहन्छ। जहाँ क्यपिलरीहरुले रगत र टिस्यु सेल बिच जरुरी हुने तत्त्वहरुको आदान प्रदानमा भूमिका खेल्दछ।

 

व्यावहारिक रूपमा हामीले अनुभव गर्ने सक्ने सबै बस्तुहरू अणुहरू मिलेर बनेको हुन्छ। उक्त बस्तुहरू परमाणुको साधारण जोडी जस्तै अक्सिजनको यौगिक देखि अत्यन्त जटिल जैविक संरचनाहरूमा रूपमा रहन्छन। प्रकृतिमा रहेको सबैभन्दा ठुलो अणु तपाईँको शरीरमा रहेको छ। जसलाई हामी क्रोमोजोम-१ भन्दछौ। सामान्य मानिसको कोषको केन्द्रको न्युक्लिअसमा २३ जोडी  क्रोमोजोमहरू हुने गर्दछन्। हरेक क्रोमोजोम एउटा लामो डिएनए वाट बनेको हुन्छ। जसमा क्रोमोजोम-१ सबैभन्दा ठुलो हुन्छ जुन १० बिलियन परमाणुहरू मिलेर बनेको छ। जसमा तपाइको आनुवंशिक सूचनाको कोडहरू वा जानकारी प्याक गरिएको हुन्छ।

 

एक सानो घुमाउरो भरेङ्ग जस्तो लपेटिएको आकारमा रहेको डिएनए मानव जिन बोक्ने अणु हो। उक्त जिनमा हाम्रो शरीरका सम्पूर्ण भागहरू निर्माण गर्न र हामीलाई जीवित राख्ने रासायनिक निर्देशनका कोडहरू सुरक्षित रहन्छन। डिएनएकै कारण चार बिलियन वर्ष भन्दा धेरै समय देखि मानव जीवन सुचारु हुने क्रम रोकिएको छैन। त्यसको मूल कारकमा उक्त डिएनए आफैँले आफ्नै प्रतिलिपि बनाउन सक्ने तथा उक्त प्रतिलिपिहरू आफ्ना नयाँ सन्ततिमा सार्दै लान सक्नु हो।

 

अर्को आश्चर्यजनक कुरा के छ भने तपाईँको सन्ततिमा कोडको रूपमा तपाइको गुण हस्तान्तरण गर्ने डिएनए सबै नै तपाइले आनुवंशिक गुणको रूपमा प्राप्त गर्नुभएको पुर्खाको डिएनए होइनन। तपाईँको शरीरमा रहेका डिएनए मध्येको अत्यन्त धेरै सङ्ख्याका डिएनए तपाइका पूर्वजहरू वाट आएका हुन्। पूर्वजहरूका अलावा कम्तीमा आठ वटा रेट्रोभाइरस बाट डिएनए लिइएको छ। रेट्रोभाइरस एक प्रकारको भाइरस हो जसले आफ्नो आरएनए लाई आफ्नो आनुवंशिक सामग्रीको रूपमा प्रयोग गर्दछ।

 

जब रेट्रोभाइरसले सेललाई सङ्क्रमित गर्छ, यसले आफ्नो जिनोमको डिएनए प्रतिलिपि बनाउँदछ जुन होस्ट सेलको डिएनएमा सम्मिलित हुन्छ। प्रकृतिमा विभिन्न प्रकारका रेट्रोभाइरसहरू हुन्छन्। जस मद्धे कुनै कुनैले क्यान्सर र एड्स जस्ता मानव रोगहरू समेत निम्त्याउँछ। मानव इतिहासको कुनै बिन्दुमा रेट्रोभाइरसका जिनहरू (एलियन जिन) समेत मानव डिएनएमा सम्मिलित भएको देखिन्छ। डिएनएमा मिश्रित उक्त रेट्रोभाइरसको जिनको मिलावटको कारण मानव प्रजननमा महत्त्वपूर्ण कार्यहरू सफलता पूर्वक सञ्चालन हुन सहयोग पुगिरहेको विज्ञानको बुझाइ छ।

 

एक चराको जस्तै तपाईँको जीवन एक अण्डा सँगै सुरु हुने गर्दछ। एक मानव अण्डा र चराको अण्डा कसरि अस्तित्वमा आउँछ र जीवन प्रारम्भ हुन्छ भन्ने प्राकृतिक काइदा बिचमा भने निकै भिन्नता देखिन्छ। भर्खरै पार्दा मानव अण्डा चराले पार्ने अण्डा जस्तो ठुलो हुँदैन। लगभग ०.२ मिलिमिटर वरपरको मात्र हुने मानव अन्डाको आकार एउटा डट पेनले लेख्ने बिन्दुको आकारको हुने गर्दछ।

 

उक्त अण्डा तपाईँको आमा आफ्नो आमाको गर्भमा रहदा नै निर्मित भएर तपाइको आमा सँगै वहाँको गर्भ भित्र टाँसिएर रहेको अवस्थामा जन्मेको हुन्छ। जुन अण्डा वाट  तपाइ मानव  बन्नु भयो त्यो अण्डा जति बेला तपाइको आमाको भ्रूण निर्मित हुँदै थियो त्यति नै बेला निर्मित भएको थियो।

 

यसरी निर्मित अण्डा र तपाईँको आमाबाट उक्त अन्डाले प्राप्त गरेको तपाइको शरीरको आधा डिएनए तपाईँको जीवन अस्तित्वमा आएको सबैभन्दा पहिलो समय मान्न सकिन्छ जुन वास्तवमा तपाईँको आमाको जन्म हुनुभन्दा अघि नै सम्पन्न भएको थियो। यदि तपाइको आमाले आफू ३० वर्षको हुँदा तपाइलाई जन्म दिनु भएको थियो र आज तपाई ३५ औँ जन्मदिन मनाइ रहनु भएको छ भने तपाईँको जीवन तर्कगत रूपमा कम्तीमा ६५ वर्ष पहिले पहिलो पटक अस्तित्वमा आएको थियो।

 

आफू आमाको गर्भमा रहदा नै बनेको भ्रूणमा दुइ चार महिना मानै दसौँ मिलियन अण्डाहरू निर्मित हुने भएता पनि केही समय पश्चात् नियमित  रूपमा उक्त अण्डाहरू मर्ने क्रम सुरु हुन्छ। नारि लगभग ३१ वर्षको हुँदै गर्दा त्यहाँ मात्र केही हजार अण्डाहरू बाँकी हुन पुग्दछ। पुरुषको अण्डकोष भित्र हुने वीर्यको जस्तो अण्डकोषको सङ्ख्या भन्दा गुणस्तर महत्त्वपूर्ण हुने हुँदा नारी वयस्क हुँदै गर्दा उनी सँग मात्र केही हजार अण्डाहरू रहनु उपयुक्त नै हुने गर्दछ।

 

प्रत्येक महिना, महिलाको दुई मध्ये एक ओभरीले (अण्डाशय) एक अपरिपक्व अण्डा-कोष छनौट गरी त्यसमा सयौँ कोषहरू निर्माण गरी अण्डा तैयार पार्दछ। जरुरत अनुरूपको मोटो नहुँदा सम्म अण्डालाई पोषण उपलब्ध गराउँदछ। अण्डाशयमा जब अण्डा तयार हुन्छ तब फेलोपियन ट्युब हुँदै पाठेघरमा पुग्दछ।

 

यसरी बनेको अण्डामा नयाँ जीवन सुरु गर्नको लागि चाहिने एक चिजका अलावा सबै चीज हुन्छ। जीवन सुरु गर्न त्यहाँ पुरुषको शुक्रकीटले शुक्राणुको डिएनए उपलब्ध गराउन पर्ने हुन्छ। जुन निश्चित समय भित्रै प्राप्त भई सक्नु पर्ने हुन्छ। किनकि केही घण्टा भित्र शुक्रकीट उपलब्ध भएर गर्भवती हुन नसकी उर्वर हुन नसकेको अण्डा केही घण्टा भित्र मर्ने गर्दछ। महिनाको एक पटक हुने ओभुलेशनमा मात्र २४ घण्टा सम्म अण्डा सक्रिय रहने हुँदा ओभुलेशनको १२ देखि २४ घण्टा भित्र नारी गर्भवती नबनेमा अण्डा मर्ने गर्दछ।

 

नारीमा अण्डाशयमा अण्डाको निर्माण हुने गर्दछ। पुरुषको शुक्राणु भने अण्डकोष भित्र निर्माण हुन्छ। निर्माणको क्रममा क्रोमोजोम एक बिन्दुमा जोल्टिने गरी आफ्नै दुरुस्त प्रतिलिपि बनाएर एक्स-आकार लिन्छ। यस्ता दुई जोडी क्रोमोजोमहरू एकापसमा टाँसिएर एकापसमा  जिनको साटासाट पश्चात् दुई पटक विभाजित भएर छुट्टनछन्। फलतः शुक्राणु  पनि २३ क्रोमोजोम युक्त वा अण्डाको सेल पनि २३ क्रोमोजोम युक्त हुने गरी निर्माण हुने गर्दछन्। दुवै मिल्दा मानिसको ४६ क्रोमोजोमको तैयार हुने गर्दछ।

 

कोलेस्ट्रोल एक प्रकारको स्टेरोइड लिपिडको रूपमा चिनिन्छ। तन्तुहरू,  रगतको  प्लाज्मा, कलेजो, मेरुदण्ड र मस्तिष्क जस्ता भागहरुमा प्रशस्त रूपमा भेटिने कोलेस्ट्रोल शरीरको जैविक  तथा रासायनिक प्रक्रियाहरूमा महत्त्वपूर्ण  भूमिका खेल्दछ। रगतमा कोलेस्ट्रोलको मात्रा अधिक रहदा यसले हृदय रोग निम्ताउने सम्भावना रहन्छ। कोलेस्ट्रोलले हाम्रो हरेक कोशिकाको झिल्ली निर्माण गर्न र त्यसलाई स्थायित्व दिन कोलेस्ट्रोलको महत्त्वपूर्ण भूमिका हुन्छ। कोलेस्ट्रोल वाटनै  हाम्रो शरीरले भिटामिन-डी निर्माण गर्ने गर्दछ।

 

शरीरलाई आवश्यक पर्ने विभिन्न स्टेरोइड हार्मोनहरु जस्तै कोर्टिसोल, कोर्टिसोन, एड्रेनल ग्रन्थिहरूमा हुने एल्डोस्टेरोन र सेक्स हार्मोन प्रोजेस्टेरोन, एस्ट्रोजेन, र टेस्टोस्टेरोनको निर्माण समेत कोलेस्ट्रोल वाट नै हुने गर्दछ। मस्तिष्कको एउटा न्युरोन र अर्को न्युरोन बिचको सञ्चार स्थापित गर्ने तथा प्रतिरक्षा प्रणालीलाई स्फूर्त राख्ने काममा समेत कोलेस्ट्रोलको महत्त्वपूर्ण भूमिका रहने गर्दछ। पुरुष अण्डकोष भित्र रहेको घुम्रिएको सिमिनीफेरस ट्युब भित्रको जर्म सेललाई  कोलेस्ट्रोलबाट निर्मित टेस्टोस्टेरोन हर्मोन तथा फोलिकल स्टिमुलेटिंग हर्मोनले वीर्यको स्टिम सेलको रूपमा विकास गर्दछ। उक्त जर्म सेल निकै धेरै पटक टुक्रिएर टाउको र पुच्छर भएको  टेढपोल आकारमा विकसित भएपछि पुरुषको शुक्राणु अण्डकोष भित्र मानव वीर्य तैयार बन्दछ।

 

अण्डकोष क्वोइलको रूपमा बन्डलहरू बनेर रहेको साना ट्युबहरूले भरिएको हुन्छ। त्यसलाई तन्काउने हो भने तिनीहरू आधा माइल लामो हुने गर्दछ। हरेक उमेर पुगेको  पुरुषको उक्त ट्युबले प्रति सेकेन्ड औसत एक हजार नयाँ शुक्राणुहरू उत्पादन गर्ने गर्दछ। हरेक दिन लगभग एक सय मिलियन नयाँ शुक्राणु बनाउने पुरुषको अण्डकोषले जीवन भरमा दुई ट्रिलियन भन्दा बढी शुक्राणु बनाउने गर्दछ। त्यसमा पनि अत्यन्त ताजुब लाग्ने पक्ष के छ भने हरेक शुक्राणु अर्को शुक्राणु  भन्दा फरक प्रकारको आनुवंशिक कोडको प्याकेज बोकेको हुन्छ।

 

टाउको र पुच्छर दुवै हुने मानिसको शुक्रकीटको आकार मात्र ०.०५ मिलिमिटर हुने हुँदा माइक्रो स्कोपको सहायताले देख्न सकिन्छ। मानव अण्डा भने करिब ०.१ मिलिमिटर हुने हुँदा आँखाले देख्न सकिन सम्मको हुन्छ। जब शुक्राणु अण्डामा प्रवेश गर्छ गर्भधारण सम्पन्न हुन्छ। शुक्राणु र अण्डालाई संयुक्त रूपमा जाइगोट भनिन्छ। जाइगोटमा एक बच्चा जन्माउन आवश्यक पर्ने सबै आनुवंशिक जानकारी (डिएनए) हुन्छ। आकारमा मात्र ०.१ मिलिमिटर हुने जाइगोटको तौल ०.००४ मिलिग्राम हारा-हारीको हुन्छ। उक्त जाइगोटनै वास्तविक मानवको हो। जसको अथाह बढ्ने क्षमताको कारण मानव जीवन सम्भव बनिरहेको छ।

 

जीवन्त शक्ति बोकेको मात्र ०.०५ मिलिमिटरको शुक्रकीट वाट बनेको ०.१ मिलिमिटरको मात्र ०.००४ मिलिग्राम हारा-हारी तौलको सूक्ष्म जाइगोटको तागतमा तपाई हामी आज अस्तित्वमा रहनु पक्कै सामान्य विषय ठान्न नसकिएला। यो सूक्ष्मता भित्र लुकेको काबिलता निकै अर्थ पूर्ण देखिन्छ।

 

आजको हाम्रो दुर्भाग्य के रहेको छ भने पश्चिमा विज्ञानमा आधारित रहेका सैद्धान्तिक ज्ञानले पैदा गरेका कतिपय बिज्ञहरुलाई सूक्ष्मताको तागत बारे बिरलै एहसास हुने गरेको भेटिन्छ। एटम बमको कुरा गर्ने हाम्रा सैद्धान्तिक डिग्रीधारी निकै ठुलो जमात, सबै भन्दा  सूक्ष्म प्रवृत्तिको चेतना, चेतना भन्दा सूक्ष्म आत्मा र संयुक्त आत्मा निर्मित परमात्मा बारे नकारात्मकता मात्र आफ्नो मथिङ्गल भरेको भेटिन्छ। त्यति सम्म त ठिकै थियो, अर्काको स्वतन्त्रताको दायरा नाघेर औरा, चेतन शक्ति,आत्मा र परमात्मा बारे आफ्नो धारणा राख्ने वर्गलाई हरकुना वाट आक्रमण गर्न उद्धत भेटिन्छ। प्रकृतिको नियम नै यस्तो छ कि जो सँग अलिकति सेन्स बचेको हुन्छ उसलेनै नन-सेन्स आचरणका मूर्खता लाई सहजता पूर्वक लिई दिएर काग कराउँदै गर्दछ पिना सुक्दै गर्दछ भन्ने सूक्ति सँग मिल्ने व्यवहार प्रदर्शन गर्दछ। किनकि नैतिकता अनैतिक हैन नैतिक आचरण बोकेको पात्रमा मात्र मिल्दछ। सोमत बजारमा बिक्रीमा भेटिँदैन।

 

यथार्थमा हाम्रो जीवन र शरीर मात्र सूक्ष्म इकाईहरूको संरचना नरहेर यसले आफ्नो दैनिक कार्य सुचारु गर्ने क्रममा गर्ने जैविक मात्र हैन भौतिक र रासायनिक गतिविधि समेत अत्यन्त सूक्ष्म तहमा सम्पन्न हुने गरेका हुन्छन्। जब तपाईँ नुन-चर्को खाना खानु हुन्छ तब तपाईँ अमन, अल्छीपन र गर्हौ पन महसुस गर्नु हुन्छ। रगतमा हुने नुनको धेरै गाडापनले शरीरको बायो केमिकल रियाक्सनको सन्तुलन बिगारिदिने र न्युरोनको चतुरतामा भाँजो हालिदिने गर्दछ। पाचन प्रक्रियामा पैदा हुने हाइड्रोक्लोरिक एसिड जब शरीरको तापक्रममा १:१०० को स्तरमा घुलेको हुन्छ तब खानाको प्रोटिन र फाइबर जस्ता बस्तुको उचित पाचन सम्भव बन्छ। यसको अत्यन्त न्युनमात्र अधिकताले पुरै खाना अपच गराउँदछ र थोरै मात्र अधिक भयो भने आमाशयको सात-पत्रे र डिऊडेनममा अल्सर पैदा गरिदिन्छ।

 

हाम्रा विज्ञहरू रगतमा अक्सिजनको मात्रा बढाउन रगतमा आइरनको मात्रा चाहिन्छ भन्ने बुझ्दछन। त्यसैले दूधमा प्रशस्त आइरन रहनु  पर्दछ भन्ने बताउने गर्दछन्। प्रशस्त भनेको के हो ? कति हो? त्यो बारे भने अलि हेक्का भएको देखिँदैन। जस्तै २५० एमएलको एक गिलास दूधमा एक एमएलको दसलाख भागको एक भाग आइरन हामीलाई चाहिने अधिक मात्रा हो। यो भन्दा मात्र एक भाग मात्र धेरै हुँदा यसको नकारात्मकता भोग्नु पर्ने हुन्छ। हामीले पिउने दूधबाट रगतको हेमोग्लोबिनले आइरन पाउने गर्दछ। त्यसको लागि हामी आइरनको जरुरतको कुरा गरिरहेका हुन्छौ।

 

एक थोपा रगतमा लगभग तिन लाख वटा हेमोग्लोबिन हुने गर्दछ। हरेक हेमोग्लोबिनलाइ उक्त आइरन फरक-फरक रूपमा जरुरी पर्दछ। भनेपछि हरेक हेमोग्लोबिन भित्र आटाउने आइरनको आकार कति होला? कसरि त्यति सूक्ष्म पदार्थ हाम्रो सेवामा हरसमय सक्रिय रहन्छ होला ? एउटा अत्यन्त सूक्ष्म इकाईको यति ठुलो शरीरमा हामीले अनुभूति गर्न सक्नेगरी पार्न सक्ने फरकलाई नजर अन्दाज गर्न सकिने स्थिति रहँदैन।

 

मेडिकल केमेस्ट्रीमा इलेक्ट्रोकेमेस्ट्री अन्तर्गत गरिएको रिसर्च वाट एक स्वस्थ मान्छेको शरीर भित्र मात्र एक एमएल एसिडले जति विद्युतीय सञ्चार गराउने गर्दछ बाहिरी जगतमा त्यति बराबरको विद्युतीय सञ्चार गराउन दुई लाख एमएल एसिडको जरुरत पर्दछ भन्ने प्रमाणित भएको छ।

 

मुटुको दर कम हुने लक्षणहरूको उपचारमा अथवा शल्य क्रिया गर्नु भन्दा पहिले वा अधिक विषाक्तता दिने ब्रोन्कियल स्रावलाई निको गर्न दिइने अन्तिम उपचार अन्तर्गत एट्रोपिनको इन्जेक्सन दिने चलन छ। ६५ मिलिग्राम लाई एक ग्रेन भन्ने गरिन्छ। एट्रोपिनको एक लाख भागको एक भाग मात्र रगतमा पुग्दा यसले आँखामा असर गर्दछ। धमनी रातो बन्दछ। एक मिलिग्रामको दस लाख भागको एक भाग बराबरको एमोनियाले समेत आँखाको धमनी रातो पारिदिन्छ। आँखामा त्यतिकै खराबी एक ग्रेन नुनको क्रिष्टलको एक हजार-लाख भागको एक भाग बराबर मात्राले पुर्‍याउने गरेको भेटिएको छ। तर नुन बिना हाम्रो जीवन चल्दैन।

 

माथि उल्लेख गरीए जस्तै संसारमा यति धेरै उदाहरणहरू छन् जहाँ  स्वाभाविक रूपमा दृश्य बस्तुहरू अदृश्य रूपमा र अदृश्य बस्तुहरू दृश्य बस्तुहरूमा नियमित रूपान्तरण भइरहेको हुन्छ। संसारको गतिबिधिहरु त्यही नियम अन्तर्गत सञ्चालन भइरहेको हुन्छ। हाम्रो अज्ञानता वा विषय बस्तुलाई गहिरो सँग अवलोकन गरी बुझ्ने बानी नभएका कारण यस्ता कुराहरू हामीलाई कहिलेकाहीँ रहस्यमय जस्ता लाग्दछन्। जसरी भौतिक पदार्थलाई ऊर्जामा रूपान्तरण गर्न सकिन्छ, त्यसरी नै ऊर्जालाई समेत भौतिक रूपले व्यक्त गर्न र भौतिक पदार्थको रूपमा रूपान्तरण गर्न सकिन्छ। यो वैज्ञानिक मान्यता प्रकृतिको चेतन र अचेतन दुवै क्षेत्रहरूमा लागू  हुन अनिवार्य छ।

 

आशा गरौँ निकै छिटै विज्ञानले हामीमा रहने चेतनाको वारेका निकै महत्त्वपूर्ण सूचनाहरू प्राप्त गर्न र प्रमाणित गर्न सक्षम हुने छ। त्यसले स्वाभाविकै रूपमा औरा, चेतन शक्ति,आत्मा र परमात्मा बारेको विश्व व्यापी कौतुहलता मेट्न सहयोग पुग्ने छ। किनकि हाल यो मात्र अनुभव र अनुभूतिको मार्ग वाट मानिसले यस्ता विषय बस्तुहरू बारे ज्ञान प्राप्त गर्ने गरेका छन्। अन्य विकल्प भेटिएको छैन।

(१५ वर्षयता क्यानडामा खाद्य तथा औषधिविज्ञका रूपमा कार्यरत घिमिरे आयुर्वेदिक औषधिको साइड इफेक्टरहित गुण र एलोपेथिक ओखतीको तत्काल उपचार गर्ने क्षमता पुनर्संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयका शोधकर्ता समेत हुन्। उनले हर्बल ओखती र औषधीय गुणको हिलिङ फुड निर्माणको क्षेत्रमा वैज्ञानिक र प्रयोगात्मक विकासको अनुसन्धानमा विज्ञता प्राप्त गरेका छन्।)
110Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE

%d bloggers like this: