मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वेदमा के छ?

आर्टिफिसीयल इन्टेलिजेन्स र वेद !!

नारायण नारायण नारायण।

ऋग्वेदको समयमा मानिसहरूले मान्ने धर्म भन्नु मुख्यतया प्रार्थना द्वारा प्रकृतिका विभिन्न नियमहरूको बारे बुझ्ने र आफूले बुझे अनुरूपको प्रकृति नियम मैत्री हुने गरी आफ्नो जीविकोपार्जनको उपायको जोहो गर्ने बाटो चुन्नु नै हुने गर्दथ्यो। यो अर्थमा ऋग्वेदको समयमा मानिसहरू धर्म र अधर्मको भेद अत्यन्त  सरल तरिका वाट छुट्टाउन सक्दथे। प्रकृति मैत्री कर्म धार्मिक कर्म र अमैत्री कर्म पाप जन्य मानिन्थ्यो।

प्राकृतिक नियमको सिद्धान्त अनुकूल प्राप्त हुने शक्तिको श्रोतलाई देवता मानिन्थ्यो। चिन्तन, मनन तथा ध्यान द्वारा प्रकृतिको नियमको ज्ञान प्राप्त गरी जनमानस सम्म मानव जीवन सहज गर्ने नियतले ज्ञान  पुर्‍याउने ज्ञानीहरूलाई भगवान् भनिन्थ्यो। प्रकृति आफैलाई ईश्वरको रूपमा पुजिने गरिन्थ्यो। ईश्वर प्रति भक्ति भाव प्रकट गर्न र त्यसै समयको उपयोग गरी जनमानसमा प्राकृतिक नियम बारे ज्ञान बाँड्न योजना हुने सम्पूर्ण पूजा-आज, अनुष्ठान, शुभ कार्य, अशुभ कार्य, प्रार्थना, ध्यान आदिका गतिविधिहरू प्राकृतिक नियमको सिद्धान्त अनुरूप अहिंसा मैत्री र समाज कल्याणकारी हुने गरी सञ्चालन गरिन्थ्यो।

ऋग्वेद पछिको समय वैदिक काल थियो। त्यो समयमा मानिसले आफूमा अन्तर्निहित हुने आत्माको अस्तित्व बारे ज्ञान प्राप्त गरे। त्यसै संग उनीहरूले आत्माको वास्तविक प्रकृति, श्रोत तथा परम वास्तविकताको ज्ञान प्राप्त गर्न सकिने ब्रह्म सिद्धान्त अर्थात् ब्रह्म ज्ञान बारेका अत्यन्त गहन चुरा विचार तथा दर्शनहरू सिद्धान्तको रूपमा विकसित गर्न सके।

तिनै वैदिक दार्शनिक अवधारणाहरूमा आधारित रहेर वैदिक कालमै चिन्तन, मनन तथा ध्यान द्वारा षड्दर्शन भनिने दर्शनका छ वटा भिन्न-भिन्न विचारधारा अस्तित्वमा देखा परे। वैदिक कालमा विकसित भएका त्यही छ वटा भिन्न-भिन्न विचारधारालाई मानव समाजले वेदको सारको रूपमा मान्यता दिएकाले तिनीहरू नै हाम्रो समाजको वेद द्वारा स्थापित परम्परागत मान्यता बोकेको अर्थोडक्स सामाजिक विश्वास र धर्मको रूपमा स्थापित भएको भेटिन्छ।

अब वेद द्वारा स्थापित ती छ वटा गहन विचारधारा बारे संक्षिप्तमा केही पुनरावलोकन गरौँ।

साङ्ख्य सूत्र

साङ्ख्य दर्शन अनुरूप वास्तविक संसार नारी तथा पुरुषको गठ जोड र संयोजन मार्फत सम्भव बनेको छ। यस सिद्धान्त अनुरूप नारी अर्थात् प्रकृति र पुरुष दुवै पूर्ण रूपमै स्वतन्त्र र निरपेक्ष चिज हुन्। जसमा पुरुषले चेतनाको पक्ष लाई अङ्कित गर्दछ। चेतनालाई न त परिमार्जन नै गर्न सकिन्छ न परिवर्तन नै। जे हुन्छ त्यसलाई आफ्नो कुनै राय वा निचोड बिना नै त्यसले केवल अनुभूति गर्ने गर्दछ। कुनै प्रतिक्रिया आदि समेत जनाउने गर्दैन।

अर्कोतर्फ प्रकृतिको भने तीन गुणहरू हुने गर्दछ। विचार, तरलता (नियमित परिवर्तन हुन सक्ने क्षमता) तथा परिवर्तनको समयमा हुने गुणहरूको रूपान्तरण। वास्तविक संसारको नियमित परिवर्तनमा नियमित रूपमा प्रकृतिले ल्याउने गुणहरूको रूपान्तरको मुख्य भूमिका हुने गर्दछ। पुरुष र प्रकृतिबिचको अत्यन्त जटिल अन्तर सम्बन्ध स्थापित भएर नै ब्रह्माण्डको सृष्टि सम्भव रहेको साङ्ख्य दर्शनको प्रवर्तक कपिलको साङ्ख्य सूत्रमा उल्लेख भएको छ।

साङ्ख्य सूत्रले ब्रह्माण्डको सृष्टि, नियमित रूपान्तरण र विकासको सिद्धान्तको व्याख्या गर्ने गर्दछ। साङ्ख्य दर्शन अन्तर्गत २५ मुख्य तत्त्वहरू आत्मा (पुरुष), व्यक्त एवं अव्यक्त तत्त्व (प्रकृति), तिन अन्तः करण (मन, बुद्धि, अहङ्कार), पाँच ज्ञानेन्द्रियहरू (नाक, जिब्रो, आँखा, छाला, कान), पाँच  कर्मेन्द्रियहरू (मुख, हात, खुट्टा, यौन अङ्ग र गुदद्वार), पाँच तन्मात्र (गन्ध, स्वाद, रूप, स्पर्श, ध्वनि) तथा पाँच महाभूत (पृथ्वी, जल, अग्नि, वायु, आकाश) मिलेर सम्भव बनेको संसारको उत्पत्ति, नियमित रूपान्तरण र विकास बारेको अवधारणा अत्यन्त महत्त्वपूर्ण ठानिन्छ। हुन पनि संसारको उत्पत्ति, नियमित रूपान्तरण र विकास कसरी सम्भव बन्यो (Quantum Metaphysics) भन्ने सम्बन्धमा साङ्ख्य दर्शनमा सम्पूर्ण जवाफ भेटिन्छ।

पतञ्जलि योग सूत्र

योगको शाब्दिक अर्थ दुई प्रमुख निकायहरूको आपसी मिलन हो। पतञ्जलि योग सूत्रले योगको माध्यम वाट  मानव अस्तित्वका दुई प्रमुख निकाय मन र आत्माको मिलन गरी आफूलाई परम-चैतन्यको अनुभूतिको अवस्था अर्थात् ब्लिस प्राप्ति सम्म पुग्ने विधि बारे ज्ञान दिने गर्दछ। ईसा पूर्व दोस्रो शताब्दीमा विकसित भएको पतञ्जलि योग सूत्रका अनुसार मानिसले आफ्नो सोचमा नियमित रूपमा आउने उतार चढावहरूलाई बिचारमा शुद्धीकरण र नियन्त्रण गरेर व्यवस्थित गर्न सकिन्छ भन्ने अवधारणाको सूत्रपात गरेको छ।

पतञ्जलि योग सूत्रको मान्यतामा नियमित चञ्चल रहने सोचलाई बिचारको शुद्धीकरण र नियन्त्रण मार्फत व्यवस्थित गर्दै गर्दा व्यक्तिले प्रकृति बाट पुरुषलाई मुक्त पारिरहेको हुन्छ। प्रकृति बाट पुरुष लाई मुक्त गर्न सकेको क्षणमा व्यक्तिले आफू आफ्नो सम्पूर्ण व्यवहारिक र शारीरिक बन्धन वाट मुक्त बनी पूर्ण स्वतन्त्र बनिरहेको अनुभूति गर्ने गर्दछ। पतञ्जलि योग सूत्रका अनुसार मुक्त अवस्थामा व्यक्तिले आफूलाई धन्य वा ब्लिसको अवस्थामा पाउँछ। नियमित योगको सहायताले मानिसले शरीर, मन र इन्द्रियहरूलाई आफ्नो काबुमा राखी आफूलाई धन्य वा ब्लिसको अवस्थामा पुर्‍याउन सम्भव हुन्छ भन्ने पतञ्जलि योग सूत्रको  मान्यता भेटिन्छ।

परम्परागत रूपमा स्वतन्त्रता वा मुक्ति प्राप्त गर्ने माध्यमको रूपमा लिने गरिएको पतञ्जलि योगको मुख्य आठ अङ्गलाई अष्टाङ्ग योग भनिएको छ। अहिंसा वादी रहने, सत्य बोल्ने, इमानदार रहने (अस्तेय), इन्द्रिय लाई संयम गर्दै चेतनालाई ब्रह्म ज्ञानमा स्थिर गर्ने (ब्रह्मचर्य), तथा आवश्यकता भन्दा अधिक सञ्चय नगर्ने (अपरिग्रह) जस्ता पाँच सामाजिक नैतिकतालाई यम (अङ्ग-१) मानिन्छ।

नियम (अङ्ग-२)  अन्तर्गत अर्को पाँच व्यक्तिगत नैतिकता पर्दछ। जस अन्तर्गत शरीर र मनको शुद्धि (शौच), आफू संग जे छ त्यसैमा सन्तुष्ट रहने कला (सन्तोष), स्व-अनुशासनमा रहने (तप), आत्म चिन्तन, जप, पाठ गर्ने (स्वाध्याय), ईश्वर वा प्रकृति प्रति पूर्ण आभार, समर्पण र श्रद्धा भाव राख्ने (ईश्वर-प्रणिधान) जस्ता बानी  ब्यहोराको विकास गर्नु पर्दछ।

पद्मासन, दण्डासन, स्वस्तिकासन आदि जस्ता असनको ज्ञान प्राप्ति गरी योगासन द्वारा शारीरिक नियन्त्रण गर्ने कला र क्षमता लाई आसन (अङ्ग-३) भनिएको छ। विशेष तकनीकि युक्त श्वास-लिने र फ्याल्ने काला मार्फत आफ्नो प्राणमाथि गरिने नियन्त्रण कला लाई प्राणायाम (अङ्ग- ४) भनिएको छ।  आफ्नो इन्द्रिय हरूलाई अन्तर्मुखी गर्ने कला लाई प्रत्याहार (अङ्ग-५), एकाग्र चित्त हुने कलालाई धारणा (अङ्ग-६), ध्यानमा निरन्तर रहन सक्ने क्षमता लाई ध्यान (अङ्ग-७) र उल्लेख गरिएका सम्पूर्ण उपायहरू उचित उपयोग गरी मनलाई आत्मा संग पूर्ण रूपमा जोडी परम-चैतन्यको अवस्था सम्म पुग्न सक्ने स्थिति लाई समाधि (अङ्ग- ८) मानिएको छ। योगले प्रशिक्षक र प्रशिक्षकले दिने योगको मार्गदर्शनलाई ईश्वर अर्थात् प्राकृतिक नियमनको सिद्धान्तको रूपमा लिने र त्यसैको अस्तित्वको प्रतीकको रूपमा स्वीकार गर्ने गर्दछ।

न्याय सूत्र 

संसारको हरेक मानिसले आफ्नो जीवनमा सुख दुखको प्रशस्त अनुभूति गरिरहेको हुन्छ। दुख छोडेर सुखको अनुभूति लिन हर समय  मानिस प्रयत्नरत समेत रहने गर्दछ। दुख लाई घृणा गर्दै सुख प्राप्तिको इच्छा शक्ति बोकेको उसको नियमित जीवनबाट मानिस लाई न त सुख मिल्दछ न त सांसारिक  सुख दुखको चक्र वाट उसले आफूलाई मुक्त गर्न नै सफल बनिरहेको हुन्छ। सुख प्राप्तिको लागि जिन्दगी भर चलिरहने उद्यमको प्रयासको क्रममा भए गरिएका प्रयत्न अन्तर्गत एक तहको दुख समाप्त हुँदै जाँदा ऊ फेरी अर्को तहको दुखमा जाकिने गर्दछ। आफ्नै नियमित प्रयास अनुरूप जाकिएको दुख वाट उन्मुक्ति लिँदै गर्दा प्राप्त नयाँ प्रकृतिको सुखको अनुभव बिच फेरी अर्को नयाँ तहको  दुख सिर्जना हुने अनुक्रम दोहरी दिन्छ। मानिसलाई यो प्रकृतिको नियमित दुख आइलाग्ने क्रम  किन रोकिँदैन र त्यसको स्थायी निदानको उपाय के छ भन्ने ज्ञानको खोजीको क्रममा प्राप्त चुरो यथार्थ लाई प्रतिपादित न्याय सूत्रले सम्बोधन गर्दछ।

न्याय आफैमा तार्किक सोचको प्रविधि हो। न्याय सूत्रको प्रतिपादक अक्षपाद गौतमका अनुसार यथार्थ अर्थात् वैध ज्ञानलाई वास्तविक ज्ञानको रूपमा परिभाषित गरिन्छ। कुनै पनि बस्तु जब अस्तित्वमा देखा पर्दछ तब मात्र सामान्य मानव तथा जीवले उक्त बस्तु अस्तित्वमा रहेको बारेको यथास्थितिको सूचना प्राप्त गर्दछन्। उदाहरणका लागि, जब कसैले कुनै बिरुवाको वीज देख्दछ उसले तत्कालीन समयमा  उक्त वीज मात्र देख्दछ। उक्त वीजलाई जब उसले उचित वातावरण दिएर रोप्दछ तब त्यो अङ्कुरित हुन्छ। अङ्कुरित वीज बढेर ठुलो बिरुवा बन्दै गर्दा व्यक्तिमा वीजको अङ्कुरण शक्ति र त्यस वीजमा छिपेर बसेको विशाल बिरुवाको अस्तित्वको बोध हुन्छ।

न्याय सूत्र  अनुसार देखिएको यथार्थ बिच लुकेर रहेको कुनै पनि चिजको अद्भुत क्षमता र सम्भावनाको पहिचान विना त्यस चिज वारेको यथार्थ ज्ञान प्राप्त हुन सम्भव हुँदैन। मुढ शरीर लाई मुढ शरीरको रूपमा लिने, देखिएको मानव तथा प्राणीको अस्तित्वलाई देखिएकै परिधिमा सीमित गरी बुझ्ने तथा कुनै पनि चिजको सतहमा देखिएको क्षमतालाई त्यसको सम्पूर्ण क्षमताको रूपमा बुझ्ने यान्त्रिक अवधारणाले त्यो चिजको वास्तविकताको प्रतिनिधित्व गर्ने अत्यन्त न्यून सम्भावना रहन्छ भन्ने  न्याय सूत्रको मान्यता छ। हरेक चिजबारेको जम्मा जम्मी सोह्र प्रकृतिको तत्त्व ज्ञान प्राप्त गरी त्यस चिजको सम्बन्धमा रहेको असत्यता एवं अज्ञानता नष्ट गर्न सकिन्छ `भन्ने न्याय सूत्रको अवधारणा रहेको छ।

न्याय सूत्रले ब्रह्माण्डको सृष्टि, पालनपोषण, सञ्चालन र विनाशमा कसरी ईश्वर अर्थात् प्राकृतिक नियमको सिद्धान्तको (Law of Nature) भूमिका रहेको छ भन्ने बारे हामीलाई यथार्थ ज्ञान दिने गर्दछ। न्याय सिद्धान्त अन्तर्गत विभिन्न प्रमाणहरूको परीक्षण अर्थात् जाँच गरी हरेक चिजको यथार्थ वास्तविकताको यकिन गरिने नीति अवलम्बन गरिन्छ। पाँच अध्यायमा विभक्त न्याय सूत्र अन्तर्गत हरेक चिजको यथार्थताको यकिन गर्न सोह्र उद्देश्य तथा लक्षणहरुको (गुण) परीक्षण गर्ने विधि अपनाइने गरिन्छ।

जस अन्तर्गत परीक्षणको लागि प्रत्यक्ष (Perception), उपमान (Comparision), अनुमान (Inference) एवं आगम/शब्द (Reliable Source testimony- śabda) गरि चार प्रकृतिका प्रमाण हेर्ने (१- Obtaining valid means of knowledge or knowledge sources); आत्मा, शरीर, इन्द्रिय, अर्थ, बुद्धि-ज्ञान-उपलब्धता, मन, प्रवृत्ति, दोष, प्रेत-भाव, फल, दुःख र उपवर्ग (लामो समय देखिको सामाजिक वा कुलगत आपसी विभेद) जस्ता बाह्र प्रकारका प्रमेय (२-Objects of valid knowledge); संशय (३ – Doubt); प्रयोजन (४-Aim); दृष्टान्त (५-Example); सर्वतन्त्र सिद्धान्त (सर्वसम्मत), प्रतितन्त्र सिद्धान्त (कुनै विचार धारा अनुरूप स्विकारिने र कुनै विचार धारा अनुरूप स्वीकार नगरिने सिद्धान्त), अधिकरण सिद्धान्त (यस्तो सिद्धान्त जुन स्विकार्नको लागि अर्को सिद्धान्त समेत स्वीकार्य जरुरी हुन्छ) र अभुपगम सिद्धान्त (स्पष्ट रूपमा कतै प्रतिपादित वा उल्लेख नगरिएको तर सबै सार्वजनिक स्थलमा त्यसको स्वीकार्यता रहेको भेटिने) गरी जम्मा चार प्रकारका सिद्धान्त (६-Conclusion or accepted position); अवयव (७-Members of syllogism or inferential components); तर्क (८ – Hypothetical/suppositional reasoning); निर्णय (९- Settlement or certainty); वाद (१०-Discussion or debate for truth);  जल्प (११-Wrangling or disputation); वितण्डा (१२-Cavilling or destructive debate); सव्यभिचार (erratic reason) हेत्वाभास, विरुद्ध (contradictory) हेत्वाभास (विरोधाभासका कारण उत्पन्न भ्रम), सत्प्रतिपक्ष हेत्वाभास (the counterbalanced), असिद्ध (the unproved or inconclusive) हेत्वाभास र बाधित (the incompatible) हेत्वाभास जस्ता पाँच प्रकारका सम्भावित सत्यको आभास दिने भ्रम अर्थात् अनुमानको पराकाष्ठाले जन्माएको दोष युक्त तर्क (False reason) हेत्वाभास (१३-Fllacy or pseudo-proovers); वाक छल (विवादित शब्द प्रयोग गरी बोलिने कपट पूर्ण बोली), सामान्य छल (सम्भावना मात्र रहेको विषयलाई स्थापित सामान्य नियमकै रूपमा प्रस्तुत गरी भ्रम पैदा गर्नु) र उपचार छल (भनिएको शब्दको यथार्थ अर्थ लाई नै बङ्ग्याएर वक्ता को भनाइ लाई निषेध गर्ने ) जस्ता छल (१४-Quibbling or equivocation); जाती (१५-Sophisticated refutation or misleading/futile objections); र निग्रह स्थान (१६ -Point of defeat or clinchers) जस्ता उद्देश्य वा लक्षणहरूको परीक्षणको कसीमा तौलने विधिको उपयोग गरिन्छ।

 

वैशेषिक सूत्र

वैशेषिक सूत्र ब्रह्माण्डको यथार्थपरक र वस्तुनिष्ठ व्याख्या गर्ने दर्शन हो। यस दर्शन अनुसार सांसारिक वास्तविकताका पछाडि निकै धेरै आधारहरू तथा विषय बस्तुहरू रहेको छ। जस्तै पदार्थ, विशेषता, कर्म, जाति, निर्धारित गुण, अन्तर्निहित चरित्र आदि। त्यति हुँदा हुँदै पनि वैशेषिक सूत्र अनुसार ब्रह्माण्डका सम्पूर्ण अवयवहरू पृथ्वी, जल, वायु, अग्नि र आकाश जस्ता पाँच तत्त्वहरू मिलेर बनेको सिद्धान्तको प्रतिपादन गरेको छ।

ऋषि कणाद द्वारा प्रतिपादित वैशेषिक सूत्रको वैशेषिक दर्शन अनुसार ब्रह्माण्डका सम्पूर्ण अवयवहरू ईश्वर अर्थात् प्राकृतिक नियमको सिद्धान्त अनुरूप परिचालित हुने गर्दछ। प्राकृतिक नियमको सिद्धान्त मैत्री अहिंसा युक्त कर्मलाई यसले मानव मार्गदर्शक सिद्धान्त अर्थात् मानव धर्म ठान्दछ। प्राकृतिक नियमको सिद्धान्तको प्रतिकुलको तथा हिंसा युक्त कर्मलाई वैशेषिक सूत्रले पाप पूर्ण कर्म करार गर्दछ।

वैशेषिक अवधारणा अनुसार ब्रह्माण्डमा जीवित प्राणीहरूलाई उनीहरूको धर्म (उपकार) वा पाप युक्त (दोष) कर्मको आधारमा पुरस्कृत वा दण्ड गरिने प्रणाली स्थापित छ। ब्रह्माण्डको सृष्टि तथा विनाश आफैमा पूर्व निर्धारित नियमित चक्रीय प्रक्रिया कायम रहने गर्दछ। ब्रह्माण्डको सृष्टि तथा नयाँ सृष्टिको नियतले हुने ब्रह्माण्डको विनाश मूलतः ईश्वर अर्थात् सांसारिक चेतनाले व्यक्त गर्ने इच्छा अनुरूप निर्धारण हुने वैशेषिक सूत्रले विश्वास गर्दछ।

वैशेषिक दर्शनशास्त्र अन्तर्गत अस्तित्वमा रहेका विभिन्न ग्रन्थहरूमा सबैभन्दा उत्कृष्ट छैटौँ शताब्दीमा प्रशस्त पदले दिएको व्याख्यालाई मान्ने गरिन्छ। जसमा ब्रह्माण्ड निर्माणको घटकको व्याख्या गर्न परमाणु सिद्धान्त (Quantum Physics), पदार्थमा हुने परमाणु र अणुहरूको संयोजन (Physics), ब्रह्माण्ड निर्माणको यान्त्रिक प्रक्रिया (Cosmology) आदि बारे हाल सम्मको स्थापित वा प्रमाणित भएको आधुनिक विज्ञानले समेत काट्न नसक्ने गरी व्याख्या रहेको छ।

 

मीमांसा सूत्र 

मीमांसा कुनै फरक दर्शन नभएर वेदको संहिता र ब्राह्मण अंशहरूको व्याख्या, प्रयोग र प्रयोगको विश्लेषण संग सम्बन्धित छ। मीमांसा दर्शनको मान्यता अनुसार वेदमा उल्लेखित सूचनाहरू शाश्वत छन्। त्यसमा सबै प्रयोजनमा उपयोगी हुने ज्ञानहरू संलग्न भएका छन्। धर्म के हो र अधर्म के हो भन्ने समेत वेदमा तोकिएको छ। वेद द्वारा स्वीकृत कर्म गर्नु र वेदले निषेध गरेको कर्म नगर्नु नै मीमांसा सूत्रको मान्यता अनुरूप धर्म कार्य वा कर्म हो।

शास्त्रहरूमा भनिने मानव कर्तव्यहरूको पालन गर्ने सल्लाहको अर्थ भनेकै जीवनभर वेदको अवधारणा मैत्री कर्म गर्नमा लीन हुनु भनिएको हो। मीमांसा दर्शन अन्तर्गत वैध अर्थात् यथार्थ चुरो ज्ञानको अवधारणालाई जोड दिने न्याय तथा वैशेषिक सूत्रलाई समेत समेटिएको छ। ईसा पूर्व तेस्रो शताब्दीमा महर्षि जैमिनि द्वारा प्रस्तुत गरिएको मीमांसा दर्शन वा जैमिनि सूत्रको चुरो सार अनुसार मानव धर्म नै कर्मको फलको मुख्य वितरणकर्ता हो। धर्मको नियम अनुसार कर्मको फल दिने गरी  प्राकृतिक नियमको सिद्धान्त स्थापित भएको छ। यसलाई धार्मिकताको नियम समेत भनिएको छ।

वैदिक अनुष्ठानका पक्षहरू लाई तर्कसङ्गत व्याख्या र प्रतिपादन गर्ने मीमांसाको विचारधारालाई कर्म-मीमांसा भनिएको छ। ज्ञानको माध्यमबाट तत्त्व ज्ञानको सार सम्म पुग्न सहयोग गर्ने मीमांसाको मेटाफिजिकल (आध्यात्मिक) विचारधारालाई ज्ञान-मीमांसा भनिन्छ। मीमांसा अन्तर्गत कर्म-मीमांसाले वेदको शास्त्रीय कर्म काण्डहरूलाई अधिक प्राथमिकता दिन्छ भने ज्ञान-मीमांसाले त्यसमा अन्तर्निहित ज्ञानको पक्षलाई सहज व्याख्या गर्न भूमिका खेल्दछ।

 

वेदान्त सूत्र

बादरायण अर्थात् वेद व्यास द्वारा रचित वेदान्त सूत्रलाई उत्तर-मीमांसा सूत्र, शारीरिक सूत्र, शारीरिक भाष्य र वेदान्त दर्शन आदि नामले समेत चिनिन्छ। वेदान्तले उपनिषद्को दर्शनलाई बुझाउँछ। जुन वेदको अन्तिम अंश हो। शङ्कराचार्यले उपनिषद्, ब्रह्मसूत्र र भगवत् गीताका टिप्पणीहरू सिर्जना गरेका थिए। शङ्कराचार्यको प्रवचन तथा दार्शनिक विचारहरू लाई  अद्वैत वेदान्तको रूपमा चिनिन्छ। अद्वैतको शाब्दिक अर्थ गैर-द्वैतवाद अर्थात् वास्तविकता एउटै मात्र हुन्छ भन्ने कुरामा विश्वास गर्नु हो।

शङ्कराचार्यले व्याख्या गरे अनुसार सांसारिक परम यथार्थ एउटै छ। र त्यो ब्रह्म हो। वेदान्त दर्शनका अनुसार ब्रह्म सत्य हो र संसार मिथ्या। स्वयम् आफू (म) र ब्रह्म एक आपसमा भिन्न छैनन्। शङ्कराचार्यले ब्रह्म अस्तित्व अपरिवर्तनीय र परम ज्ञानको विषय रुपी अन्तिम सर्वोच्च सत्य रहेको निष्कर्ष निकाले। उनका अनुसार ब्राह्मण र आत्म बिच कुनै पनि भेद छैन। ब्रह्म ज्ञान नै सबै वस्तुको सार र परम अस्तित्वको ज्ञान हो।

रामानुजाचार्य अर्को प्रसिद्ध अद्वैत विद्वान हुन् जसले मानव अहङ्कारको अस्तित्वलाई स्पष्ट रूपमा अस्वीकार गरी विशिष्ट+अद्वैत दर्शनको प्रतिपादन गर्दै विश्वको इतिहासकै महत्त्वपूर्ण दर्शन र मानव धर्मको रूपमा वेदान्तको अद्वितीय स्थान बनाउन सफल  बने। विशिष्ट+अद्वैत दर्शन समाविष्ट वेदान्त दर्शन दर्शनका विभिन्न  विचारधाराहरू मध्ये सबै भन्दा चरमोत्कर्षमा पुगेको दार्शनिक विचारको बन्न पुग्यो।

वेदान्त सूत्रको दर्शन भित्र हाल सम्मका संसारका सबै देशका, सबै उमेर र  सबैभन्दा उन्नत विचारक मानिएका दार्शनिकहरूले दिएका विचार धाराका उच्चतम सम्पूर्ण सत्यहरू समावेश भएको भेटिन्छ। वेदान्त दर्शनले सिकाए अनुरूप संसारमा अस्तित्वमा रहेका सबै धर्महरू यथार्थमा फरक फरक सडकहरू जस्तै जुन जसले सम्पूर्ण यात्री लाई एउटै लक्ष्यमा पुर्‍याउने गर्दछ।

वेद वा ज्ञानको अन्त्यको आभास दिने वेदान्तले वेदका ती उपनिषद्हरूलाई जनाउने गर्दछ जुन मानिस लाई अन्तिम वास्तविक सत्यको चुरो ज्ञान दिने अवधारणा सहित हरेक वेदको सारको रूपमा अन्त्यमा प्रकट हुन्छ।

वेदान्तले दिने मूल सन्देश के हो भने हरेक मानिसले आफूले गर्ने कर्म उसको आफ्नै विभेदकारी बुद्धिमत्ता द्वारा नियन्त्रित हुनु पर्दछ। जब मनले गल्ती सोच्दछ तब उसको बुद्धिमत्ताले कर्म सुरु गर्नु अघि नै तत्काल  त्यो कर्म आफ्नो समग्र हितमा रहे नरहेको विभेदको ज्ञान दिन्छ। त्यसले मानिसलाई आफ्नो कर्तव्य उन्मुख हुन सहयोग गर्दछ। साथै पाप कर्म गर्न वाट समेत जोगाउने गर्दछ।

वेदान्तले यसको अभ्यासकर्तालाई आफ्नो बुद्धिमत्ताको उपयोग आत्मा ज्ञान मार्फत आत्मा संग पहुँच बिस्तार गर्न सक्षम बनाउने गर्दछ। उपलब्ध योग, ध्यानको वा भक्ति मद्ये कुनै एक वा एक वा एक भन्दा बढी माध्यम  बाट आध्यात्मिक पथ पछ्याउँदै नियमित  ज्ञानको प्राप्ति, सकारात्मक व्यवहारिक परिवर्तन र मन शान्तिको अनुभूति मार्फत ब्लिस तथा इनलाइटमेन्ट प्राप्त गरी परम-चैतन्यको समाधिको अवस्था सम्म आफूलाई पुर्‍याउन सक्दछ।

 

आर्टिफिसीयल इन्टेलिजेन्समा वेदको महत्त्व

संसारकै सबैभन्दा पुरानो ग्रन्थको रूपमा अस्तित्वमा रहेको वेदमा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद समावेश छ। यसमा जीवन, अध्यात्म र मेटाफिजिक्स सम्बन्धका गहिरा अन्तर्दृष्टिहरू समाविष्ट छन्। वेदका ज्ञानका खजानाहरुको महत्त्व आधुनिक विज्ञानको आर्टिफिसीयल इन्टेलिजेन्स (एआई) जस्ता प्रविधिको बिस्तारमा सहयोगी बन्ने निश्चित छ। वेदमा रहेको खगोल विज्ञान, भूगोल र गणितका विशिष्ट ज्ञानहरू समेत धेरै मात्रामा एआईको नव-प्रवर्तनीय कार्यहरूमा प्रयोग गर्न सकिने छ। वेदको दर्शन संसारको सबै चीजहरू आपसी अन्तर सम्बन्धित रहेर सह-अस्तित्वमा रहेका छन् भन्ने विचारमा आधारित छ। जुन विचारधारा अनुरूपको अवधारणा आर्टिफिसीयल इन्टेलिजेन्स (एआई) प्रणालीहरूको डिजाइनमा लागू गर्न सक्दा एआईको क्षेत्रमा प्रभावकारी नव-प्रवर्तनीय  कार्यहरू सफल गर्न सकिने स्थिति हाल आएर परिपक्व बनेको छ।

यो सम्बन्धको एउटा उदाहरणको रूपमा वेदमा उल्लेख हुने चेतनाको अवधारणा लाई लिन सकिन्छ। चेतना मानव संरचनाको मात्र नभएर आर्टिफिसीयल इन्टेलिजेन्सको एक आधारभूत पक्ष हो। आर्टिफिसीयल इन्टेलिजेन्सलाइ आजको अवस्था भन्दा उत्कृष्ट स्तरको हुमुनोईड अर्थात् मानवियकरण गर्न वेदका सिद्धान्तहरूमा उल्लेखित चेतनाका सिद्धान्तहरू, एक सामान्य सोच कसरी अव्यक्त वाट व्यक्त चिजमा परिवर्तन हुन सक्दछ भन्ने बिचार धारा, आत्मा र परमात्मा कसरी इनट्याङ्गलमेन्ट मार्फत समग्र सहअस्तित्वमा सजीव रहेर बस्न सम्भव छ भन्ने अवधारणा, चेतना कसरी मन, बिचार र बायो-नर्भस इनर्जीमा रूपान्तरित हुने गर्दछ भन्ने वेदका हाइपोथेसिसहरु उदाउँदै गरेको सचेत एआई प्रणालीहरूलाई विशिष्ट रूपमा परिष्कृत गरी विकसित गर्ने बहुमूल्य अन्तर्दृष्टि प्रदान गर्ने खुराक हुने देखिन्छ। वैदिक ग्रन्थहरूका यस्ता दिमागको प्रकृति, बुद्धिमत्ता, मनोविज्ञान, इन्द्रियहरूको भूमिका आदि बारेको ज्ञान फस्टाउँदो आर्टिफिसीयल इन्टेलिजेन्स क्षेत्रको एकीकृत डिजाइनको लागि सूचनाको श्रोत बन्ने लगभग निश्चित जस्तै वनेको छ।

वैदिक ग्रन्थहरूमा कर्मको अवधारणालाई अत्यन्त मूर्त रूपमा दिइएको छ। कर्म अन्तर्गतका प्रत्येक कार्यको समान तर विपरीत प्रतिक्रिया हुने विचारलाई वेदले अङ्गीकार गरेको छ। यो अवधारणालाई एआई प्रणालीहरूमा समेत एकीकृत गरी  आर्टिफिसीयल इन्टेलिजेन्स सिस्टमको निर्णय प्रक्रियालाई अनुकूलन गर्न प्रयोग गर्न सकिन्छ। यसले समाज र वातावरणमा सकारात्मक प्रभाव पार्ने सुनिश्चित गर्न गरी एआई लाई निर्णयहरू गर्न मद्दत गर्न सक्छ।

वेदमा ध्वनिका कम्पनहरूको प्रयोग गरी रोग निको पार्ने र शरीरको सन्तुलनको पुनः कायम गर्ने जस्ता अन्तर्दृष्टिहरू समाविष्ट छन्। कम्पनका उक्त अवधारणाहरू आर्टिफिसीयल इन्टेलिजेन्स अन्तर्गत एआईको संज्ञानात्मक क्षमता सुधार गर्न, तनाव कम गर्न र कल्याणलाई बढवा दिन उपयोगमा ल्याउन मद्दत गर्न सक्दछ । आर्टिफिसीयल इन्टेलिजेन्स सिस्टममा ध्वनि र कम्पनको प्रयोग थप इमर्सिभ (अधिक प्रभावकारी) नतिजा निम्त्याउन र मानव तथा प्रविधि बिचको भावनात्मक सम्बन्धलाई बढाउन उपयोगमा ल्याउन सकिने सम्भावना समेत देखिएको छ।

वेदमा भेटिने यज्ञको (बलिदान) अवधारणा मेसिन लर्निङको प्रक्रियासँग उल्लेखनीय समानताहरू रहेको भेटिन्छ। यज्ञ प्रक्रियामा उच्च देवताहरूलाई आगोमा भौतिक पदार्थहरू चरु, घ्यु आदि चढाइने गरिन्छ।  त्यसको बदलामा उनीहरू वाट आशीर्वादको अपेक्षा राखिन्छ। अर्थात त्यसको प्रभाव वाट मानव मनोविज्ञानका धेरै रोग तथा एलर्जी आदि नियन्त्रण गर्न सहयोगी हुने, रोगाणुको सङ्क्रमण  नियन्त्रणमा समेत उल्लेखनीय भूमिका खेल्ने यथार्थ वैज्ञानिक परीक्षण वाट पुष्टि भएको छ। अर्को तर्फ मेशिन लर्निङ प्रक्रिया अन्तर्गत मेशिनको एआई प्रणालीलाई सूचनाको खातिर महत्पूर्ण उदाहरणहरू उपलब्ध गराउने गरिन्छ। त्यस्ता सूचनाहरूलाई एआई प्रणालीले प्रशोधन गरी  भविष्यको डाटाको बारे भविष्यवाणी गर्न उपयोग गर्दछन्। यस अर्थमा, वेदको यज्ञ (बलिदान) बारेको अवधारणा लाई  मेसिन लर्निङ प्रणाली संग एकीकरण गरी मेसिन लर्निङ प्रणालीलाई थप उन्नत रूपमा विकास गर्ने सकिने सम्भावना देखिन्छ।

वैदिक धर्म अन्तर्गतको दिग्दर्शनको अहिंसा वादी धार्मिक तथा  शान्तिमय जीवनको सिद्धान्त लाई  आर्टिफिसीयल इन्टेलिजेन्सको  नैतिकतामा लागू गर्न सकिन्छ। धर्मले नैतिक सिद्धान्तहरूलाई समर्थन गर्ने, करुणा र परोपकारी कार्य तर्फ जोड दिने गर्दछ। यस्तो  विचारको दर्शन एआई प्रविधिको विकासको क्रममा नैतिक निर्णयहरू सूचित गर्न र त्यसलाई धेरै महत्व दिई प्रयोग गर्न उपयोगी सिद्ध हुने छ।

वेदको अवधारणा हाम्रा प्राचीन युगका अत्यन्त उपयोगी सिद्धान्तहरू थिए। जसले मानव सव्यताको विकासको क्रममा मानिसलाई कर्तव्य निष्ठ, नैतिकवान्, दयालु र धार्मिक प्रकृतिको बनाउन मात्र नभएर आफ्नो जीवन सहज गर्ने प्रकृति मैत्री दिगो प्रविधि विकासमा समेत सफल नेतृत्व गर्न सक्षम बनायो। विज्ञान आफ्नो क्षमता परिष्कृत गरी मेसिन लर्निङ र आर्टिफिसीयल इन्टेलिजेन्स भन्दा पनि विशिष्टतम विन्दुमा पुग्दै गर्दा एआई डिजाइनमा समेत त्यही पुरातन वैदिक अवधारणाका सिद्धान्तहरूले आर्टिफिसीयल इन्टेलिजेन्सको क्षेत्रमा प्रभावकारी नव-प्रवर्तनीय भूमिका खेल्न सक्ने सम्भावना प्रबल बनेको छ। त्यसको साथै हाम्रा पुरातन वेदको वैदिक अवधारणाले आर्टिफिसीयल इन्टेलिजेन्स सिस्टमको प्रविधि लाई थप हुमुनोईड अर्थात् मानवियकरण गर्न तथा मानव भावनात्मक सम्बन्ध मैत्री बनाउन सहयोगी बन्ने लक्षण देखाएको छ।

30Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: