मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

लोकतन्त्र, भोक तन्त्र कि ठोक तन्त्र ?

सैद्धान्तिक रूपमा लोकतन्त्र भनेको जनताले जनता लाइनै शासन गर्नु हो। लोकतन्त्र निश्चित मार्ग निर्देशक सिद्धान्तहरूको जगमा उभिएको हुन्छ।  जसमा कानुनको शासन, राज्यले तोकेको अधिकारहरूको सुरक्षा, स्वतन्त्रता, स्वतन्त्र र निष्पक्ष चुनाव, सरकारी अधिकारीहरूको उत्तरदायित्व र पारदर्शिता पर्दछ। त्यो भन्दा धेरै उक्त सिद्धान्तहरूलाई नागरिकहरूको सक्रिय समर्थन र समर्थन गर्ने जरुरी हुने जिम्मेवारी बोध महत्त्वपूर्ण हुने गर्छ।

 

लोकतन्त्रको हरेक आधारशिलाहरुको व्याख्या गर्दा पहिलो समानताको सिद्धान्त र मानव अधिकारलाई लिइने गरिन्छ। जस्तै सबै व्यक्तिको समान मूल्य हुन्छ। उनीहरूसँग समान अवसरहरू उपलब्ध हुन्छ। व्यक्तिको जाति, धर्म, वर्ण, भाषा, लिङ्ग वा यौनिक मान्यताको कारण समाजमा भेदभाव हुने अवस्थाको अन्त गरिएको हुन्छ। सबै नागरिकको मानव अधिकारको संरक्षण गरिएको हुन्छ।

 

उदाहरणको लागी आफ्नो देश भित्र सबैलाई स्वतन्त्र पूर्वक बाँच्न र बसाइ सर्ने अधिकार रहन्छ। सबैलाई आफ्नो देश छोड्ने र फर्कने अधिकार रहन्छ। सबैको आफ्नो धार्मिक स्वतन्त्रता रहन्छ। सबैलाई आफ्नो विचार, विवेक र अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित रहन्छ। सबैलाई शान्तिपूर्ण विरोध सभा सम्मेलनहरुको योजना गर्ने र सहभागी हुने अधिकार रहन्छ।   

 

दोस्रोमा आर्थिक स्वतन्त्रता पर्दछ। जसमा हरेक व्यक्तिको सम्पत्ति र व्यवसायहरूमा आफ्नो निजी स्वामित्वको अनुमति रहन्छ। हरेक व्यक्तिलाई आफ्नै काम छनौट गर्न र श्रमिक युनियनहरूमा सम्मिलित भएर पेशागत हक हितको लागि पैरवी गर्ने अधिकार रहन्छ। सामान्यतया लोकतन्त्रमा बजार र अर्थ व्यवस्था स्वतन्त्र हुनुपर्दछ भन्ने स्वीकार गरिएको हुन्छ। सरकारले मुलुकको अर्थव्यवस्था नियन्त्रण गर्नु हुँदैन भन्ने कठोर मान्यता हुन्छ लोकतन्त्रको।

 

तेस्रो हो नागरिक अधिकार। जसमा हरेक नागरिकको अधिकार र स्वतन्त्रता कानुनी रूपमै स्थापित गरिएको हुन्छ। यो व्यवस्थामा हरेक व्यक्ति स्वतन्त्र रहने ग्यारेन्टी गरिएको हुन्छ। हरेक मानिस लाई सरकार बाट सुरक्षा दिइन्छ। सरकारले आफ्नो शक्तिको दुरुपयोग गर्न सक्ने सम्भावना लाई मध्य नजर राख्दै सो को निषेधको लाई नागरिक अधिकार सम्बन्धी ऐन, नागरिक अधिकार र स्वतन्त्रताको बडापत्र आदि संविधानमै सम्मिलित गरिन्छ। अदालत लाई यसको कार्यान्वयन गर्ने जिम्मेवारी तोकिन्छ।

 

चौथो हो कानुनको शासन। कानुनको नजरमा सबै समान रहन्छन। सबै नागरिक बिना भेदभाव कानुनको समान संरक्षणको हकदार रहन्छन। मुलुकमा कोही पनि कानुन भन्दा माथि हुँदैन। यो नीति निर्वाचित प्रतिनिधि, सरकारी अधिकारीहरू, प्रहरी, सेनाका सदस्यहरू सबैमा लागु हुन्छ। कानुन सबैलाई समान रूपमा निष्पक्ष र नियमित लागू गरिएको हुन्छ।

 

 

पाँचौँमा शक्तिको दुरुपयोगको नियन्त्रण पर्दछ । जहाँ  नीतिगत तथा  कार्यकारी  सरकारी अधिकारीहरूले आफ्नो अधिकारको दुरुपयोग गरी सार्वजनिक कोषहरू आफूलाई फाइदा हुने तवरबाट खर्च गरी भ्रष्टाचारमा सहभागी हुन सक्ने सम्भावना न्यून गर्न हुनसक्ने अवैध शक्ति प्रयोगको नियन्त्रण गर्ने जाँच र सन्तुलनको व्यवस्था गरिएको हुन्छ। साथै सार्वजनिक कोषहरूलाई भ्रष्टाचार हुनबाट बचाउन लोकतान्त्रिक सरकारका अधिकारीहरू, उनीहरूका लागि काम गर्न तोकिएको सरकारी मन्त्रालय वा कार्यालयको दायरा भित्र मात्र सीमित रहेर काम गर्ने अख्तियारी दिइएको हुन्छ।

 

छैटौँ हो स्वतन्त्र तथा निष्पक्ष निर्वाचन। जहाँ स्वतन्त्र र निष्पक्ष ढङ्गले नागरिकले आफ्नो प्रतिनिधिको छनौट गर्दछन्। सामान्यतया हरेक निश्चित केही वर्षको फरकमा नियमित रूपमा चुनाव गरिन्छ। बालिग नागरिकहरू लाई चुनावमा निःशुल्क, स्वतन्त्र र निष्पक्ष मत हाल्न र आफ्नो प्रतिनिधि छान्न अधिकार उपलब्ध हुन्छ।

 

कुनै लिङ्ग, वर्ण, पृष्ठभूमि वा आर्थिक स्थिति सबै बालिग नागरिकहरूले प्रतिनिधिको रूपमा उठ्न र चुनावमा मत हाल्न पाउँछ। बिना  कुनै अवरोध मतदान सञ्चालन हुने निश्चित हुन्छ। मतदान अघि, चुनावको दौरान वा पछि कुनै पनि नागरिक लाई कुनै पनि प्रकारको डर, धम्की वा लोभ वा लालसा दिइने स्थिति कायम रहँदैन।

 

सातौँ हो नागरिक सहभागिताको अनिवार्यता। सरकारमा नागरिकहरूको सहभागिता एक अधिकार मात्र नभएर जिम्मेवारी समेत हो। लोकतन्त्रमा नागरिकले सरकार सञ्चालनमा अनिबार्य सहभागिता जनाउन चुनावमा भाग लिने, चुनावमा उम्मेदवार  बन्ने, अनिबार्य मतदान मार्फत आफ्नो छनौटको अभिव्यक्त गर्ने, देशको आर्थिक र राजनीतिक अवस्था बारे नियमित सु-सूचित रहन चासो राख्ने आदि अनिवार्य हुन्छ। 

 

त्यस्तै  उपयुक्त बहस गर्ने, समुदायका सभाहरूमा उपस्थित हुने, कर तिर्ने, कानुनी निकायले मागेको बखत निर्णय गर्ने भूमिकामा सहयोग गर्ने, जुरीमा सेवा गर्ने, जरुरी हुँदा शान्ति पूर्ण प्रदर्शनहरुमा सहभागी भएर आफ्नो मत जाहेर गर्ने आदि अनिबार्य मानिन्छ। मुलुकको नियमित विकास र उत्थानमा नागरिकहरुको सामाजिक चासोको विषयमा रहने उत्साह पूर्ण सहभागिताले मात्र बलियो लोकतन्त्रको निर्माण गर्दछ भन्ने मान्यता रहन्छ।

 

आठौँमा नागरिकका प्रतिनिधिहरूको उत्तरदायित्व र पारदर्शिता लाई लिन सकिन्छ। जहाँ नागरिक प्रतिनिधि र सरकारका लागि नियुक्त पदाधिकारीहरू उनीहरूले गर्ने हरेक कार्यको लागि जिम्मेवार मात्र हैन साधारण नागरिक प्रति अनिबार्य रूपमा जबाफदेही समेत रहन्छन। चुनिएका तथा छानिएका  पदाधिकारीहरू उनीहरूले जसको प्रतिनिधित्व गर्छन तिनै नागरिकहरूको चाहनाको कदर हुने गरी कामहरू गर्नुपर्ने नैतिक जिम्मेवारी रहन्छ। आफ्नो निजी फाइदा वा विचार लाई प्रदान बनाएर उक्त पदाधिकारीहरूले काम गर्न हुँदैन भन्ने मान्यता स्थापित भएको हुन्छ। 

 

आफ्ना नागरिक प्रति पूर्ण जिम्मेवार सरकारले आफूले गरिरहेको हरेक गतिविधिहरू नागरिकहरूमा पारदर्शी राख्न अनिबार्य हुन्छ। पारदर्शी सरकारले सार्वजनिक बैठकहरू गर्छ, उक्त बैठकहरूमा  नागरिकहरूलाई भाग लिन अनुमति दिन्छ। आफूले गरेको हरेक निर्णयहरू प्रेसलाई र सार्वजनिक रूपमा हरेक नागरिकले प्राप्त गर्न सक्ने गरी उपलब्ध गराउँदछ।

 

नबौ हो स्वतन्त्र न्यायपालिका। लोकतन्त्रमा अदालत र न्यायिक प्रणाली निष्पक्ष रहन्छ। न्यायाधीश र न्यायिक क्षेत्रका कार्यकारी र व्यवस्थापकीय क्षेत्रका सम्पूर्ण अधिकारीहरू सरकार वा कुनै राजनैतिक पार्टी, र अन्य दबाब आदिको प्रभाव वा नियन्त्रणमा रहदैनन। नियमित र सुचारु रूपमा स्वतन्त्र र निष्पक्ष रहेर आफ्नो कार्य पुरा गरी निर्णयहरू सम्पादन गर्ने गर्दछन्। तिनीहरू भ्रष्ट हुँदैनन्।अन्य कुनै अनुचित व्यक्ति, व्यवसाय वा राजनैतिक समूहबाट प्रभावित समेत रहदैनन।

 

दशौँ हो राजनीतिक सहिष्णुता वा सहनशीलता।  समाजमा विभिन्न सांस्कृतिक पृष्ठभूमि भएका व्यक्तिहरू समावेश रहन्छन। हरेकले फरक फरक धर्म वा परम्पराको अभ्यास गर्ने गर्दछन्। समाजमा विभिन्न वर्णहरू, जातिहरू, लिङ्ग, पहिचान, यौन झुकाव र अन्य मान्यता रहेको वर्ग हुनु स्वोभाबिक ठानी सहृदय स्वीकार गरिन्छ।

 

फरक फरक सबै समूहहरूका आवाजहरू मुलुकको लागि मूल्यवान् ठानिन्छ। लोकतान्त्रिक समाज राजनीतिक रूपले सबै प्रति सहिष्णु हुने, अल्पसङ्ख्यकहरूको अधिकार सुरक्षित गर्ने मान्यता बोकेको हुन्छ। जसको सत्तामा आफ्नै समुहको प्रतिनिधि पुगेका छैनन् उनीहरूलाई समेत व्यवस्थित गर्न र विचारहरू सत्तामा साझेदारी गर्ने व्यवस्था मिलाइएको हुन्छ।  

 

एघारौँमा स्वतन्त्र र निष्पक्ष चुनावको परिणामको स्वीकार्यता पर्दछ। लोकतन्त्र अन्तर्गत हुने स्वतन्त्र र निष्पक्ष चुनावमा चुनाव जितेका व्यक्ति, विजेता दल, चुनाव हारेका व्यक्ति, पराजित दल र अन्य पक्ष हुनु स्वोभाबिक ठानिन्छ। चुनावको परिणामलाई चुनाव हारेको व्यक्ति वा दल वा पक्ष र उनीहरूका समर्थकहरूले अनिबार्य रूपमा स्वीकार गरिन्छ।

 

लोकतन्त्र चुनावमा बहुमत प्राप्त वा बहुमतको समर्थन प्राप्त पार्टीले सत्ता सञ्चालन गर्ने परिपाटी हो। लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै यो परिपाटीमा एक पार्टीबाट अर्को पार्टीमा शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुनुपर्ने मान्यता सहृदय स्वीकार गरिने संस्कृतिको विकास हुनु हो।

 

लोकतन्त्रको नाममा शासन भई रहेको कुनै पनि मुलुकमा माथिका एघार मद्धे तिन वटा सम्मका पक्षहरू उचित रूपमा कार्यान्वयन भएको देखिन्न भने त्यो मुलुकमा रहेका नागरिकका प्रतिनिधिहरूमा गम्भीर खोट रहेको ठानिनु पर्छ। भ्रष्ट र दलाल नेता र कर्मचारी रहेको प्रशासन यन्त्रको कारण प्राय मुलुकमा यो अवस्था देखिन्छ। जहाँ  तत्काल कार्यान्वयनमा रहेको मौजुदा कानुन अवस्था अनुरुपनै इमानदार र कर्मठ नागरिकका प्रतिनिधिहरू छानिने उपायको खोजी गरिनु उचित उपचारको उपाय हुनसक्छ।

 

एघार मद्धे पाँच वटा सम्मका पक्षहरू उचित रूपमा कार्यान्वयन नभएको मुलुकमा पटके चुनावबाट निर्वाचित हुने नेता, प्रशासक र  प्रशासन यन्त्रका अधिकारीहरू स्थायी माफियाद्वारा संचालितभई भ्रष्ट र नैतिक हिन गतिविधि सञ्चालन हुने मुलुक रहेको बुझ्नु उपयुक्त हुन्छ। जसको निवारणको लागि नयाँ व्यवस्थाको विकल्प खोजिनु पर्छ। 

 

एघार मद्धे सात वटा सम्मका पक्षहरू उचित रूपमा कार्यान्वयन नभएको मुलुक प्राय: दशकौँ देखि भष्टाचारको सस्कृतिलाइ सामाजिक संरक्षण उपलब्ध हुने मुलुकको रूपमा पर्दछ। यस्तो मुलुकमा राजनीति सेवा हैन सहज धन, दौलत र प्रतिष्ठा कमाउने पेसाको रूपमा स्थापित भएको हुन्छ। यो समाजमा पत्रकारिता लगायतका हरेक व्यवसाय बिचौलिया बनी सजिलै धन कमाउने नियतमा तल्लीन बनिरहेको भेटिन्छ। यस्तो मुलुकको समस्याको निवारणमा पुस्तौँ पुस्ता लाग्ने गर्छ। कहिले काहीँ हिरोसिमा नागासाकीमा भएका जस्ता विस्फोट र आपत्कालीन भयावहका कारण समाज पुरै धराशायी बनेपछि अलि छिटो बन्ने गरेको देखिन्छ।

 

एघार मद्धे सात वटा भन्दा अधिक पक्षहरू उचित रूपमा कार्यान्वयन नभएको मुलुकका हकमा उक्त मुलुकमा कार्यरत कम्तीमा दश प्रतिशत भन्दा धेरै समाजका उच्च प्रतिष्ठित वर्गनै छिमेकी, अन्य मुलुकको कूटनीतिक नियोगको नियमित तलबी भुक्तान पर्चीमा नाम इंकित भएका र तिनैको हितको लागि काम गर्ने बिचौलिया बनी काम गरिरहेको वर्ग बनेको भेटिन्छ। यस्ता मुलुकका झन्डै ९० प्रतिशत सञ्चार गृहमा बाहिरी कूटनीतिक नियोगको दुराशय पूर्ण लगानी भएको, उक्त संचारगृह समाजमा वितृष्णा मात्र फैलाउने समाचारहरू बनाउने, समाज नकारात्मक समाचार मात्र बिक्ने बजार बनेको, समाजमा गहिरो सामाजिक वितृष्णा स्थापित गराइसकिएको अवस्थामा भेटिन्छ।

 

यस्तो मुलुकहरुमा माफिया र बाहिरी कूटनीतिक नियोगका अधिकारीहरुले आफ्नो स्वार्थ सिद्धिका लागि लेखिदिएका झुटो इतिहासका किताब, घटनाक्रम, समाचार, तिनैका तलब धारी नेपाली नागरिकहरुको नाममा प्रकाशित गर्ने र उक्त कृतिहरू समाजको उत्कृष्ट कृति भनी उच्च प्रचारित रहने गर्छन।

 

अहम खेलाडीका रूपका स्थापित त्यस्ता मुलुकका विभिन्न दलका एकाध तर प्रभावशाली राजनीतिज्ञ, व्यापार र नीति नियोग बन्ने स्थानहरूमा सुविधाजनक प्रभाव जमाउने ओहदाका मुख्य पदहरूमा विदेशी जासुसी संस्थाका एजेन्टहरूले ओगटेका भेटिन्छन।

 

यस्तो मुलुकमा सदैव तरलता रहने र प्राय धेरै विदेशी जासुसी संस्था र शक्ति केन्द्रहरुको क्रीडा स्थल बन्ने गरेको भेटिन्छ। त्यसको अलावा यस्तो मुलुक अन्य मुलुकको उत्पादनको ग्राहक, कृषि र मानव स्वस्थ सम्बन्धका परीक्षण केन्द्र मानव अङ्ग तस्करी, सरोगेसी केन्द्र आदिमा रूपान्तरण भएको हुन्छ।  कम ईज्यत भएको, डरलाग्दो, घिनलाग्दो र कम परिश्रमिक पाउने कामको लागि बिरलै पाइने श्रमिकको पूर्ति गर्ने मुलुकको रूपमा समेत यिनै मुलुकका युवा युवतीहरूको दुरुपयोग भएको हुन्छ। यस्ता मुलुकहरू उग्र-राष्ट्रवादी तानासाहहरूको लामो शासन पछि मात्र सुध्रेको भेटिन्छ।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: