मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

गायत्री मन्त्रको कखरा।

गायत्री मन्त्रलाई वेदको जन्मदाता र वेदको सार भनिन्छ। गायत्री मन्त्रको उल्लेख वैदिक ग्रन्थ ऋग्वेदको ३.६२.१० पदमा भएको पाइन्छ। उक्त पदमा उल्लेखित मन्त्र पूर्ण संस्करणको मन्त्र नरहेकोले  तैत्तिरीय आरण्यका २.११.१-८ को वर्णन अनुरूप केही शब्दहरू थप गरी बनेको ब्रह्म संहिता (५ .२७-२८) विस्तारित ब्रह्म-गायत्री मन्त्र आज भोलि सर्वत्र गायत्री मन्त्र पाठको रूपमा वाचन हुने गरेको छ।

 

गायत्रीको तीन नामहरू छन्। गायत्री, सावित्री र सरस्वती। गायत्रीले इन्द्र अर्थात केन्द्रीय मस्तिष्क प्रणालीको प्रतिनिधित्व गर्दछ। जुन अन्ततोगत्वा सम्पूर्ण  मानव इन्द्रियहरूको सञ्चालक हो। सावित्रीले प्राण अथवा जीवन्त शक्ति जनाउँदछ। तसर्थ सावित्री परम सत्यको प्रतीक हो। सरस्वती विद्याकी देवी हुन।

 

शुद्ध विचार तथा नैतिक निष्ठाले सात्त्विक आचरण सम्भव बन्दछ। त्रिकरण शुद्धि अन्तर्गत विचार (मन), वचन (वाणी) र कर्ममा शुद्धता पर्दछ। गायत्रीको समग्र तिन रूप – इन्द्रियको शक्ति (गायत्री), ज्ञानको शक्ति (सरस्वती) र जीवन्त शक्ति (सावित्री) शुद्धीकरण अर्थात  त्रिकरण शुद्धि मार्फत मात्र मानव आचरण सात्त्विक बन्न सक्दछ।

 

गायत्रीको पाँच पहेलीमा (गम्भीर रहस्यमा) मानव जीवनका पाँच आधारभूत गतिविधिहरु जन्म, धर्म, कर्म, अर्थ र मोक्ष पर्दछ। वैदिक परम्परामा  जीवनको अन्तिम श्वास सम्म शुद्ध विचार तथा नैतिक निष्ठाले ओतप्रोत रहेर जिउने प्रेरणा र असीम तागत प्राप्त होस भनी दैनिक गायत्री मन्त्र जप्न सुझाइन्छ।

 

गायत्री मन्त्रलाई योगमा तन्त्र योग भनेर चिनिन्छ। तन्त्रको अर्थ प्रविधि हो। जब तपाई योग गर्दा कुनै बाहिरी बस्तु मतलब प्रविधिको सहारा लिनु हुन्छ त्यसलाई तन्त्र योग भनिन्छ। जब कुनै पनि बाहिरी टेक्नोलोजी वा बस्तुको सहारा नलिई सम्पूर्ण रूपमा शरीर भित्रनै आन्तरिकीकरण गरि सम्पन्न हुने योग जस्तै ध्यान योग हो। पूजा, आरती, अभिषेक (जप, मन्त्र) आदि तन्त्र हो।

 

तन्त्र योगको मध्यम वाट मानव जीवन जिउने कला र मान्यतामा केही निश्चित सकारात्मक असरहरू पुर्‍याउन सकिन्छ।मानव जीवनमा मानिस आफू आफैले शरीर भित्रनै आन्तरिकीकरण गरि गर्न सकिने योग तथा मेडिटेसन जस्ता उपायहरू मार्फत आफूमा उल्लेखनीय परिवर्तन गर्ने चाहना नदेखाउँदा वा  गुन्जाइस नरहँदा सामान्य जीवन यापनमा विकल्पको रूपमा तन्त्र योग उपलब्ध गराइन्छ।

 

हरेक अनुच्छेदमा आठ शब्दांशहरू उच्चरण गरिने गरी चार अनुच्छेदमा जम्मा चौबिस शब्दांशको उपयोग गरी वनेको गायत्री मन्त्र आज भन्दा २५०० देखि ३५०० वर्ष पहिले ऋग्वेदमा रेकर्ड भएको देखिन्छ। गायत्री मन्त्रको जप पाठ गर्ने गर्दा पाठ गर्ने वाचक र सुन्ने श्रोतालाई समेत त्रिकरण शुद्धि गर्न प्रेरणा र तागत उपलब्ध गराउने वैदिक मान्यता छ।

 

ॐ भूर् भुवः स्वः।

तत्सवितुर्वरेण्यं।

भर्गो देवस्य धीमहि।

धियो योनः प्रचोदयात्।

 

Om bhūr bhuvaḥ suvaḥ

tatsaviturvareṇyaṃ

bhargo devasyadhīmahi

dhiyo yo naḥ prachodayāt

 

प्रचलित शब्दार्थ:

: आदिम ध्वनि

भूर् : भौतिक शरीर / भौतिक पक्ष

भुवः : जीवन शक्ति / मानसिक क्षमता

स्वः : आत्मा /आध्यात्म

तत् : त्यो

सवितुर : सूर्य, सम्पूर्ण जीवको  सृष्टिकर्ता-जीवन सिर्जनाको शक्ति वा श्रोत (आदिम शक्ति)

र्वरेण्यं: पूजा – धन्य बन्नु / सराहना व्यक्त गर्नु

भर्गो: दिव्य प्रकाश – ज्ञानको ज्योति

देवस्य: सम्पूर्ण सिर्जनाको सर्वोच्च शक्ति (प्रकृति)

धीमहि: ध्यान गर्नु

धियो : बुद्धिमत्ता पूर्वक

यो : ज्ञानको ज्योति (प्रकाश) प्राप्त होस्

नः : हाम्रो

प्रचोदयात् : ज्ञान प्राप्तिको (दिव्य प्रकाशको उदयको लागि) प्रेरणा मिलोस्  ।

 

सामान्य शब्दार्थमा बताउँदा गायत्री मन्त्रका पहिला नौ शब्दहरूमा जीवनको सृष्टिकर्ता (आदिम शक्ति) तथा सम्पूर्ण ब्रह्माण्डको सिर्जनाको सर्वोच्च शक्तिको श्रोत प्रकृतिको महिमा अथवा देनको वर्णन गरिएको छ। अन्तिम अनुच्छेद धियो योनः प्रचोदयात् भनी ब्रह्माण्ड तथा जीवनको सृष्टिकर्ताको रूपमा प्रकृतिले सम्पूर्ण व्यवस्थापनमा पुर्‍याईरहेको देनको उच्च मूल्याङ्कन गर्दै हार्दिक सराहना तथा कृतज्ञता व्यक्त गर्दै आफूलाई सो प्राप्तिको अवसर मिलेकोमा कृतज्ञता व्यक्त गर्दै सो प्राप्तिमा धन्य महसुस गरिएको छ।

 

ॐ शब्द भौतिक, सूक्ष्म र सांसारिक दुनियाँ अस्तित्वमा रहनुको कारणहरूको परम वास्तविकता लाई संकेत गर्न प्रयोग गर्ने गरिन्छ। ब्रम्हाण्डको भौतिक रुपमा अस्तित्वमा आउनुअघि केहिपनि नरहेको अन्धकार वा डार्क स्पेश (Dark Space) वाट सिर्जनाको क्रममा उत्पन्न पहिलो युनिभर्सल क्वान्टम फिल्ड (Universal Quantum Field) अथवा कम्पनको (शिव-शक्ति) रूपमा पैदा भएको अबाज ॐ हुनुपर्ने अनुमान वास्तविकताको निकै नजिक रहेको महसुस हुन्छ।

 

ॐ संस्कृतको प्रथम ध्वनी हो। किनकि संस्कृतको ॐ ध्वनी ‘अ’, ‘ऊ’ र ‘म’ गरी तिन महत्त्व पूर्ण सूक्ष्म ध्वनीहरुको संयुक्त रुप हो। जननी ध्वनी ‘अ’, ‘ऊ’ र ‘म’ मद्धे कम्तीमा कुनै एकको प्रयोग बिना अन्य ध्वनीको उच्चारण लगभग सम्भव हुदैन।

 

 

माण्डूक्य उपनिषद लगायतमा अ, ऊ, र म (अव्, ऊठ्, मन् गरी तिन गुणहरू) मिलेर ॐ शब्द बन्ने व्याख्या छ। जसले उत्पत्ति, स्थिति, र लय लाई व्यक्त गर्दछ। अ-कार सृष्टिकर्ता (Generator) ब्रह्माको प्रतीक, ऊ-कारलाई सञ्चालक (Operator) वा विष्णुको प्रतीक र म-कार संहारकर्ता (Destroyer) वा शिवको प्रतीक भनी व्याख्या गरिएको हुन्छ।

 

 

जीवनको सृष्टिकर्ता अथवा सिर्जनाको अलग-अलग तिन परम शक्तिको संयुक्त स्वरूप दर्साउने ॐ सम्पूर्ण सिर्जनाको सर्वोच्च शक्तिको (प्रकृति) रहेको वैदिक मान्यता छ। छान्दोग्य उपनिषदमा उल्लेख गरिए अनुरूप सम्पूर्ण चराचर जगतको (विश्वको) सार पृथ्वी, पृथ्वीको सार जल, जलको सार अन्न, अन्नको सार मानव देह, मानव देहको सार वाणी, वाणीको सार ऋग्वेद, ऋग्वेदको सार सामवेद र सामवेदको सार उद्गीथ (ॐ) हो।

 

प्रचलित भावार्थ: सम्पूर्ण ऊर्जाको श्रोत, सर्वोच्च प्रतिभा युक्त सामूहिक चेतनाको खानीको रूपमा रहनुभएको हाम्रो प्रेरणा र अन्तर-आत्माको अनन्त आनन्दको श्रोतको रूपमा रहनु हुने अत्यन्त प्रिय, मनमोहक तथा जादुमय दिव्य चमक युक्त आवरणमा रहनु हुने सम्पूर्ण सृष्टिको सृष्टिकर्तामा मेरो कृतज्ञता व्यक्त गर्दै म ध्यान गर्दछु कि, तपाइको न्यानो र मायालु ज्ञानको दिव्य चमक मेरो जीवन यापनको प्रेरणा र पथ प्रदर्शक बन्न सकोस। मेरो ज्ञान र सत-बुद्धिको द्वार खोल्न कारक बनोस।

 

वैज्ञानिक खोज दृष्टिकोणको पाटो:

 

ॐ भूर् भुवः स्वः।

OM BHUR BHUVAH SWAH

भूर् – पृथ्वी

भुवः – ग्रहहरू (सौर परिवार),

स्वः – आकाश गङ्गा (गुरुत्वाकर्षण द्वारा अस्तित्वमा रहने पृथ्वी लगायतको सौर परिवार, तारा आदि सबै ब्रह्माण्डका चिजहरू)

 

जब कुनै वस्तु (जस्तै पङ्खा) घुम्दछ वा निकै ठुलो गतिमा तल माथि गर्छ (जस्तै मौरी उड्दा) त्यहाँ आवाज निस्कन्छ। गौर गरेर हेर्नु हुन्छ भने झन्डै मिनेटमा नौ हजार पटक घुम्ने पङ्खाको दर्बिलो आवाज निकालेर निकालेर घुमी रहेको हुन्छ। घण्टामा २० माइल सम्म उड्न सक्ने मौरीले उसको प्वाँख एक सेकेन्डमा २०० पटक तलमाथि गर्ने गर्दछ। अत्यन्त छिटो चल्ने प्वाँखहरूको आवाज अत्यन्त दर्बिलो हुने गर्दछ। सूर्यको वरपर आकाश गङ्गा औसत १३० माइल प्रति सेकेन्डको (२१० किमी/सेकेन्ड) गतिमा घुम्ने हिसाब निस्कन्छ। पृथ्वी आफै ३० किलोमिटर प्रति सेकेन्ड अथवा ६७ हजार माइल प्रति घण्टाको दरमा सूर्यलाई घुमिरहेको हुन्छ। पृथ्वी लगायत आकाश गङ्गामा रहेर घुम्ने सबै पदार्थले घुम्ने क्रममा अत्यन्त ठुलो आवाज निकाल्ने गर्दछन। आकाश गङ्गामा तीव्र गतिमा गतिशील रहेका पृथ्वी, ग्रहहरू लगायतका सम्पूर्ण पदार्थहरूको गतिको कारण वाट उत्पन्न हुने ध्वनि ॐ  हो जुन यो मन्त्रको सुरुवात को भागको रूपमा प्रयोग भएको छ। जसलाई आकाशीय आवाज वा आदिम ध्वनि (Celestial Sounds) भन्ने गरिन्छ।

 

यो आवाज पहिलो पटक गहिरो ध्यानमा रहेको वेला ऋषि विश्वामित्रले अनुभूति गर्नु भयो। विश्वामित्रले आफ्ना अन्य सहकर्मीहरूलाई समेत आफ्नो अनुभूति सुनाउनु भयो। उक्त आवाज पहिचान तथा यकिन गर्न अनुरोध गर्नु भयो। गहिरो ध्यान पश्चात् उक्त आवाज पहिचान गरेको यकिन भएका सबैको राय मिले पछि उनीहरूले सुनेको यकिन भएको आवाज सर्वसम्मतिले ॐ रहेको निष्कर्ष निक्लियो। ॐ लाई आकाशीय आवाज अर्थात प्रकृतिको आवाजको नाम दिने निश्चय बन्यो।

 

ध्यानमा रहेको वेला आवाज तर्फ आफ्नो ध्यान केन्द्रित गर्दा ॐ को आवाज जुनसुकै समयमा पनि स्थायी रूपमै सुनिन्थ्यो। तर त्यहाँ न त कुनै रूप नै देख्न सकिन्थ्यो, न त ध्वनि बाहेक अन्य कुनै चिजको उपस्थितिको अनुभूति नै प्राप्त हुने गर्दथ्यो । उक्त परिस्थिति जन्य यथार्थको गहिरो चिन्तन मनन वाट एक निराकार आकाशीय आवाज ॐ लाई विशिष्ट शीर्षकको रूप वा उपाधि दिन भगवानको आवाज अर्थात् प्रकृति प्रदत्त अद्भुत ध्वनि भनी ॐ लाई पहिचान गरियो। जुन वैदिक ज्ञान प्राप्तिको पहिलो निकै क्रान्तिकारी विचार र मान्यताको स्थापनाको रूपमा मनन गरिन्छ।

 

उक्त समय वाट निराकार प्राकृतिक शक्ति जस वाट दुनियाँको निर्माण, सञ्चालन र नियमितता चलिरहेको छ त्यसलाई ईश्वरको अनुकम्पा भनियो।

 

गीतामा यकिनका साथ  ओमित्येकाक्षरं ब्रह्म लेखियो। जसको अर्थ हुन्छ ब्रह्म अर्थात् सर्वोच्च शक्तिलाई जनाउने नामको संकेत समेत हो ॐ। समाधिको समयमा सुनिने मात्र एक अक्षरको ॐ लाई ऋषिहरूले नाडा-ब्रह्मा (शुद्ध ब्रह्म ध्वनि) अथवा अद्भुत तर नितान्त प्राकृतिक ध्वनिको संज्ञा दिए। अद्भुत ध्वनि भनिनुको कारण थियो उक्त प्राकृतिक ध्वनि ॐ अत्यन्त विशाल ध्वनि युक्त रहेता पनि हाम्रो कानले सुन्न सक्ने  तरङ्गको (फ्री-कोइन्सी) लम्बाइ युक्त ध्वनि भित्र नै पर्दथ्यो। त्यसलाई समेत प्रकृतिको अनुकम्पाको रुपमा ग्रहण गरियो।

 

नियमित ध्यान मार्फत प्रकृतिको विषय बस्तुको गहिरो ज्ञान प्राप्त गर्ने ऋषिहरूले ॐ ध्वनिलाई  उद्गीथ अर्थात अन्तरिक्ष (स्वर्ग) को सङ्गीत अथवा ध्वनिको रूपमा लिए। ॐ ध्वनि अर्थात ओमकारी जप  गरिने उद्गीथ प्राणायाम मार्फत उनीहरूले सूर्यको वरपर (औसत १३० माइल प्रति सेकेन्डको – २१० किमी/सेकेन्ड) तिब्र गतिमा घुम्ने आकाश गङ्गाको अनन्त पिण्डहरू नियमित गतिशील कम्पनमा (जसलाई काइनेटिक ईनर्जी –ईके EK भनिन्छ।

 

ईके एमभी स्क्वायरको आधा  हुने गर्दछ) रहेका कारण नै ब्रह्माण्डको कुल ऊर्जा खपतमा सन्तुलन कायम गर्न सम्भव बनेको (जस्तै मात्र दुई पाङ्ग्रा हुँदा समेत गतिशील रहदा साइकल सन्तुलनमा गुड्न सक्दछ) अनुभूति गर्न सके।

 

उक्त प्रकारको गतिशील पिण्डहरू बिच कायम हुन पुगेको सन्तुलन जनाउन प्रणव शब्दको प्रयोग गरियो। जसको अर्थ हुन्छ शरीर (भौतिक शरीर – वपु) तथा  गतिशील ऊर्जाको भण्डार (प्राण) युक्त सन्तुलित घर। शब्दगत रूपमा प्र – प्रपञ्च, ण – अर्कै कुनै नयाँ तथा व – तिम्रो लागि हुने हुँदा शाब्दिक अर्थमा भने प्रणव शब्दलाई संसार रुपी प्रकृतिको नाटकको  सागर वाट मुक्त गराउने अथवा तार्ने डुङ्गाको अर्थमा प्रयोग गरियो।

 

तत्सवितुर्वरेण्यं।

TAT SAVITUR VARENYAM

 

तत् त्यो (प्राकृतिक शक्ति – ईश्वरिय शक्ति)

सवितुर सूर्य लगायतका तारा

र्वरेण्यम सम्मानका दिन आदरका साथ शिर झुकाउन योग्य

 

कुनै पनि नवीन खोज वा अनुसन्धानमा जब अनुसन्धान गर्न लगिएको चिजको प्रकृति र पहिचान खुल्ने अस्तित्व बारे सूचना प्राप्त गर्न सकिन्छ तब उक्त विशिष्ट चिज बारे थप यथार्थ पत्ता लगाउन सजिलो पर्ने गर्दछ। ॐ ध्वनि मार्फत अनुभूत गरिएको निराकार अद्भुत प्रकृति प्रदत्त ईश्वरीय शक्तिको चरित्रको प्रकृति र अस्तित्वको पहिचान दिने / खुल्ने कम्तीमा दुई उपाधि पहिचान गर्न सक्दा त्यो बारेमा थप विस्तृत विवरण प्राप्त गर्ने ठोस आधार उपलब्ध हुने विश्वामित्रको ठम्याइ रहयो।

 

 

त्यो सन्दर्भमा विश्वामित्रले आफ्ना सहकर्मीहरू लाई भन्नुभयो कि हामीलाई हाल सम्म प्रष्ट रूपमा ज्ञात हुन नसकेको प्राकृतिक (ईश्वरीय) शक्ति बारे हाल सम्म हामीलाई ज्ञात हुन् सकेका सूचकहरु ॐ ध्वनि, सूर्यको (तारा) प्रकाश र अज्ञात निराकार स्वरूपको प्रकृतिको माध्यम बाट उक्त अज्ञात निराकार प्राकृतिक शक्ति (ईश्वरीय शक्ति) बारे धेरै थप तथ्यहरू जान्न, महसुस गर्न र हाम्रा जिज्ञासाको निवारण गर्न सक्ने छौ।

 

जसरी एक गणितज्ञ ले जब X को मापन पत्ता लगाए पछि  एक समीकरण X+Y=४  को प्रयोग गरि सहजै Y को मापन निकाल्न सक्छन्, जसरी एक इन्जिनियरले एक नदीको चौडाइ मापन गर्नको लागी केवल एक त्रिकोण कोर्दै नदीको  किनारमा उभिएर त्यसका केही सूचना प्राप्त गरेका आधारमा सम्भव बन्दछ त्यसरी नै विश्वामित्रले सबैको सहयोगमा तलको मन्त्र वाट  प्रकृति (ईश्वर) बारे थप तथ्यहरू जानकारी गर्न सकिने उपाय सुझाए।

 

भर्गो देवस्य धीमहि।

BHARGO DEVASYA DHEEMAHI

 

भर्गो प्रकाश (चमक) र चेतनाको ज्योति

देवस्य ईश्वरीय शक्तिको

धीमहि हामीले ध्यान गर्नु पर्दछ।

 

निराकार देखिएको सृष्टिकर्ता अर्थात् प्रकृति (ईश्वर) वारेको खोज तथा पहिचान कार्य सिद्धिको लागी सूर्यको प्रकाशको चमक र चेतनाको ज्योति वारे गहिरो ध्यान (मेडिटेसन) गरि अनुसन्धान तथा अनुभूति गर्न ऋषिले सुझाएका छन्।

 

प्रकाशको चमक र चेतनाको ज्योतिको ध्यान मार्फत गरिने प्रकृति (ईश्वर) वारेको थप तथ्यहरूको खोजी कार्यमा ओमकारी जप अथवा ॐ ध्वनिको उच्चारण गरी गरिने उद्गीथ प्राणायामले ध्यानीको गहिरो ज्ञान प्राप्ति तथा अनुभूति गर्ने क्षमतालाई संवृद्ध गर्ने गुह्य समेत ऋषिले खोलेका छन्।

 

ऋषिले सुझाएका माथिको ध्यानको उपायमा एउटा निकै ठुलो समस्या महसुस गर्न अनिवार्य छ। मानव मन हर-समय अत्यन्त अस्थिर र बेचैन रहने गर्दछ। एक सर्वोच्च चेतन शक्तिको (ब्रह्मा) उपयोग वा कृपा बिना मानव मनलाई नियन्त्रणमा लिएर आफूले चाहेको दिशामा आफ्नो ध्यान केन्द्रित गर्न सकिँदैन। त्यसको निवारणको लागि विश्व मित्रले तलको प्रार्थना गर्ने तरिका सुझावको रूपमा अघि सारेका छन्।

 

धियो योनः प्रचोदयात्।

DHIYO YO NAH PRACHODAYAT

 

धियो : बुद्धि

यो : जो

नः : हामी सबै

प्रचोदयात् : सही दिशामा निर्देशन गरिदिनु।

हे प्रकृति माता अथवा ईश्वर ! आफूलाई सही मार्गमा लगाउन आफ्नो बुद्धिको उपयोग गर्ने तागत हामी सबैलाई दिनुहोस्।

 

वैदिक कालमा सांसारिक यथार्थको खोजको सुरुवातको वैज्ञानिक चरणको खोज र दृष्टिकोण विकासको चरणमा गायत्री मन्त्रको पहिचान र विकास भएको देखिन्छ।यस चरणमा गायत्री मन्त्रले समग्रमा तलको कुराहरू बताएको बुझाई रहेको देखिन्छ।

 

वैदिक बिज्ञानको भावार्थ:

 

अनन्त पिण्ड (mass) रुपी पृथ्वी (bhur-Earth), ग्रहहरू (bhuvah-Planets) र आकाशगङ्गाहरू (swah-Galaxies) नियमित ठुलो वेगमा (velocity) गतिशील रहेर ब्रह्माण्डको कुल ऊर्जा खपत सन्तुलन कायम गर्दै सन्तुलित ब्रह्माण्डको निर्माण गरेका छन्। उक्त क्रममा समग्र कम्पन द्वारा निर्मित ध्वनिको आवाज ॐ (om) हो। ॐ लाई निराकार प्रकृति वा ईश्वरको संज्ञाको रूपमा समेत लिन सकिन्छ। उक्त प्रकृति वा ईश्वर (tat) आफैँ सूर्यको प्रकाशको ज्योतिको (savitur-चमक र चेतना) रूपमा प्रकट भएर हामी सामु प्रकट हुने गर्दछ। उक्त सूर्यको प्रकाशको रूपमा हामी सामु प्रकट हुने प्रकृति वा  ईश्वरीय रूप (devasya) आदरका साथ शिर झुकाएर हाम्रो सम्मान पाउन (varenyam) योग्य छ। तसर्थ हामी सबैले प्रकृति (ईश्वर-devesya) वारेको खोज तथा पहिचान कार्य सिद्धिको लागी सूर्यको प्रकाशको चमक र चेतनाको ज्योतिमा  (bhargo) आफ्नो ध्यान केन्द्रित गर्दै गहिरो ध्यानमा (dheemahi) लिन हुन जरुरी छ। ॐ ध्वनिको उच्चारण गरी गरिने ॐ कारी जप गर्नु पर्दछ। उक्त कार्यको लागि हामी सबैलाई आफ्नो मनलाई सही मार्गमा (prachodayat) लगाउन आफ्नो (nah) बुद्धिको (dhiyo) उपयोग गर्ने तागत प्रकृति (ईश्वर) (yo) वाट प्राप्त हुनेछ।

 

वैज्ञानिक दृष्टिकोणको शब्दार्थ:

समय क्रममा वैज्ञानिक दृष्टिकोणमा आएका प्रष्टता र प्रकृति र ब्रह्माण्ड बारे प्राप्त नयाँ तथ्य हरुले वैदिक प्रस्तुतिहरूको आशयहरू लाई अझ गहिरिएर बुझ्न सहयोग गरेको छ। जस अनुरूप गायत्री मन्त्रको केही गहिरो र उत्कृष्ट अवधारणाहरू बुझ्न सम्भव हुँदै छ। जुन तल दिइएको छ।

 

(OM) : आदिम ध्वनि (The celestial sound)

 

भू (BHU) : फस्टाएको वा बिकसित रुप (Sprung form)

भूर् (BHUR): शृङ्खला बद्ध साना-साना अनियमित तथा अजीवको गति युक्त हलचल               (Quiver/stir)

 

भुवः (VA) : असिमित चेतन क्षमता (Ocean-sea of consciousness)

 

स्वः (SVA): आत्मा / परमात्मा / आध्यात्म (Place between and above sun and polar star – termed as heaven or place of Paramatma)

 

तत् (TAT): त्यो (that)

 

सवितुर (SAVITR) : सूर्य, सम्पूर्ण जीवको  सृष्टिकर्ता-जीवन सिर्जनाको शक्ति वा श्रोत (आदिम शक्ति) (Cause of generation)

 

वर् (VAR): स्थान (width/space)

यन (ENA): मकर (Capricorn – Zodiac sign) – in between December 22 and January 19 i.e. around Maghe Sankranti)

यम (YAM): स्थापना गर्नु (Hold or keep in – fix – establish)

 

भर् (BHAR): पालित पोषित र संरक्षित (What cherishes or upholds)

गो (GO): आकाश गङ्गाका सम्पूर्ण बस्तुहरू (Herds of the sky – i.e. stars and planets etc.)

 

देव (DEVA): मानव (God on earth or men)

अस्य (ASYA): यसै वाट (of this)

 

 

धी (DHI): विज्ञान  (Science)

महि (MAHI): एक अलौकिक (अनौठो, अद्रुत, ईश्वरीय) अस्तित्वको (of a divine being)

 

धिय (DHIYA) : स्व-इच्छाले (Willingly)

 

यो (O) : सृष्टि, वृद्धि र विस्तार कर्ता (Brahma – the creator and director of the universe)

 

योन (YONA) : उत्पत्ति वा जन्म स्थान (Place of birth – a form of existence fixed by birth – relating to womb or place of birth)

 

प्रचोद (PRACHOD): कारक तथा उत्प्रेरक ( उत्तेजित – उत्तेजक  = instigation – impelling)

 

यात् (YATA): भएको ज्ञान प्राप्ति हुनु (situated – known – understood)

 

उल्लेखित प्रचलित भावार्थ, वैदिक विज्ञानको भावार्थ, वैज्ञानिक दृष्टिकोणको शब्दार्थ र नयाँ बुझाई अनुरूपको व्याख्या आदिको आधारमा गायत्री मन्त्र लाई वैदिक तथा आधुनिक विज्ञानको समकक्षी भावार्थको दिने गरी  तलको व्याख्या मार्फत अत्यन्त सरल रूपमा प्रस्तुत गर्न सकिन्छ। 

 

वैज्ञानिक दृष्टिकोणको वैदिक तथा आधुनिक बिज्ञानको समकक्षी भावार्थ:

 

सृष्टिको सिर्जनाको, संरक्षण र विनाशको शक्ति रुपी हे परम पूज्य निराकार प्रकृति, पृथ्वी, पृथ्वी र अन्तरिक्षको बिचको भाग तथा अन्तरिक्षको लोकमा हुने गरेका हरेक गतिविधिहरू बाट हामी सदैव प्रभावित रहने हामीले अनुभूति गरेका छौँ। यसमा सूर्यको दिव्य ज्योतिको सारको भूमिका अत्यन्त मनमोहक छ। सर्वशक्तिमान् सर्वोच्च दिव्य चमकको शक्तिले हाम्रो आध्यात्मिक अर्ध-चेतनशीलता तथा बौद्धिकता लाई प्रबुद्ध गरोस भनी आफ्नो मन र निजी स्वार्थ लाई काबुमा लिई सम्पूर्ण प्राणी मात्रको कल्याणको लागि हामी निरन्तर ध्यानमा रहने छौ।

 

यस अन्तर्गत सूर्यको दिव्य ज्योतिको सारको भूमिका मानव जीवनमा कसरि अत्यन्त मनमोहक छ? सर्वशक्तिमान् सर्वोच्च दिव्य चमकको शक्तिले कसरि मानव आध्यात्मिक अर्ध-चेतनशीलता तथा बौद्धिकता लाई प्रबुद्ध गर्दछ ? त्यसको वैज्ञानिक प्रमाणहरू बारे प्रस्ट पार्न अर्को विस्तृत लेखको जरुरी हुने हुँदा त्यसलाई समय मिले भविष्यमा अर्को लेख मार्फत प्रस्ट पारिने छ।

 

(खाद्य तथा औषधि विज्ञ, टोरन्टो, क्यानडा)

100Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: