मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वेद र विज्ञान टकको औचित्य बारे हाम्रा कुरा।

नारायण घिमिरे

ऋग्वेद जस्ता वैदिक श्रुतिहरूको हरेक उल्था वा व्याख्या अत्यधिक विवादास्पद विषय बन्ने गर्दछ। त्यसका आफ्नै कारणहरू छन्। प्राप्त सीमित अनुवादहरूमा वेदमा उल्लेखित मन्त्रहरू सर्वसाधारणले बुझ्ने भाषामा उल्था वा भावार्थ खुल्ने गरी जब व्याख्या गरिन्छ तब त्यस विषयमा ज्ञान राख्ने विद्वान वर्गको समीक्षाको क्रममा विवादको घेरामा तानिन्छन्।

 

हरेक व्यक्तिमा वैदिक श्रुतिहरूको बुझाइमा फरक फरक अवधारणा बिकास हुनु र उनीहरूको धारणामा निजी मान्यताको भावनात्मक तथा अध्यात्मिक पक्ष समेत समीक्षाको क्रममा मिसिन पुग्नुले अनुवाद वा व्याख्याको पूर्णताको हदको सम्बन्धमा उक्त प्रकारका जटिलता निम्त्याउने गरेको छ।

 

पहिलो त ऋग्वेद जस्ता वैदिक श्रुतिहरूको जो सुकै ले जस्तो सुकै अनुवाद वा व्याख्या गरे पनि उक्त कृति पूर्ण हुन नसक्ने धरातलको मनन गर्नु जरुरी देखिन्छ। दोस्रो अनुवादकले बुझ्न सकेको विषयको गम्भीरताले यसमा भूमिका खेल्दछ। तेस्रोमा ज्ञान र विज्ञानको कसीमा सम्बन्धित विषय वस्तु बारे अनुवादकको समझ के छ त्यो महत्त्व पूर्ण हुन्छ। त्यसको साथै अनुवादकमा समय, काल, परिस्थिति जन्य विषय सन्दर्भ र आजको समयको सन्दर्भको समेत मूल्याङ्कन गरी प्रस्तुत गर्ने बहु-आयामिक ज्ञान र क्षमताले प्रचुर भूमिका खेल्ने छ। जब यी वास्तविकताहरू  मनन गरी वैदिक श्रुतिहरूको अनुवाद वा व्याख्या गरिएका स्मृतिहरू तैयार गर्न सकिन्छ तब मात्र यसले पाठकमा धेरै न्याय गर्न सक्छ। त्यसले पाठक लाई हालको हद सम्म भ्रमित पार्न सक्ने छैन।

 

विगतमा ऋग्वेद लाई विभिन्न दृष्टिकोणहरू वाट अनुवाद गरिएको भेटिन्छ। औपचारिक दृष्टिकोण (Ritualistic Approach) वाट हुने गरेका अनुवाद मध्य युगमा (Medieval) लोकप्रिय थियो जहाँ संस्कृतको प्रत्येक शब्दलाई भावार्थ दिने गरी समग्र भावार्थ निकालेर अनुवाद गरिएको छ। प्रत्येक शब्दको अर्थ लगाएर अनुवाद गरिएको हाल उपलब्ध  मध्य-युगीन अनुवाद सयाना कमेन्टरी हो। सयाना कमेन्टरीले हरेक शब्दको कतिपय अबस्थामा १० भन्दा बढी फरक फरक अर्थहरू दिने गरी ऋग्वेदको उल्था गरिदिएको भेटिन्छ। जस्तै संस्कृतको ‘गो’ शब्दको अर्थ गाई, प्रकाशको किरण, सूर्य, बौद्धिकता आदि इत्यादि भाव लाग्ने गरी अनुवाद गरीएको छ।

 

भाषा विज्ञानमा ज्ञान भएकाहरुले भाषिक दृष्टिकोण (Linguistic Approach) वाट ऋग्वेद जस्ता वैदिक श्रुतिहरूको अनुवाद गरे । भाषिक दृष्टिकोणको अनुवाद हालसाल निकै धेरै उपयोग गरिएको वा प्रयोगमा आएको देखिन्छ। तुलनात्मक-भाषिक विधि जसमा शब्द शब्दहरूको समकक्षी अर्थ लगाएर अर्थको समग्र अर्थ बुझ्न कोसिश गरियो। तुलनात्मक-भाषिक अनुवादको आधारमा भाषा ज्ञान भएका अनुवादकको विषय बस्तुलाई बुझ्ने हैसियत अनुरूपको अनुमानित अर्थ आउने गरी वेदको आंशिक वा अपूर्ण अर्थ दिने प्रकृतिको अनुवाद वा व्याख्या रुपी स्मृतिहरू बजारमा आइपुग्यो।

 

 

फलतः फगत भाषा ज्ञान मात्र रहेको आधारमा अल्प बुद्धिको प्रयोग मार्फत अनुवाद गरी उपलब्ध गराइएका भावार्थहरू पूर्ण रूपमै अनुमानको भरमा कोरिएका निजी विचार लादिएका लेखौटका रूपमा अस्तित्वमा रहे। यसरी पुरा गरिएका कृतीहरू बाट एकातर्फ वेदका यथार्थ ज्ञानहरू पाउन वाट समाज वञ्चित बन्यो भने अर्को तर्फ संस्कृतमा लेखिएका वैदिक ज्ञानको गहिराईको बारेमा समाजमा यथार्थ सूचना सम्प्रेषण हुन सकेन। वैदिक ज्ञानको चरम अवमूल्यन हुन पुग्यो। वेदका स्मृतिहरू पाउन योग्य उचित न्याय पाउन वाट वञ्चित बने। भाषिक दृष्टिकोण विधि प्रयोग गरेर हाल उपलब्ध अनुवादहरू मध्ये अधिकतम पढिने कृतीहरूमा म्याक्स मुलर र राल्फ ग्रिफिथ द्वारा लिखित स्मृतिहरू पर्दछन।

 

विगतमा केही विद्वानहरुले व्याकरणात्मक दृष्टिकोण (Grammatical Approach) वाट समेत वेदको भावार्थ वा सारतत्व निकाल्न प्रयास गरे। पाणिनीको (Panini) व्याकरणको (Grammer) दृष्टिकोण  र यसका (Yaska) द्वारा संश्लेषित पारम्परिक संस्कृत शब्दकोश निरुक्त (Nirukta) मा  उल्लेखित शब्दहरूको व्युत्पत्ति (Etymology of the words) समेतलाई ख्याल गरी संस्कृत भाषामा लेखिएको वेदको मन्त्रहरुलाई अनुवाद गरी वेदको भावार्थ प्रस्टाउने कोसिस समेत गरियो।

 

 

व्याकरणात्मक दृष्टिकोण भाषिक दृष्टिकोण भन्दा अत्यधिक परिष्कृत हुने भएकाले व्याकरणात्मक दृष्टिकोणको अनुवाद ज्यादा यथार्थको नजिक पुगेर भावार्थ दिने गर्दछ। दियो नै। व्याकरणात्मक दृष्टिकोण वाट तैयार भएको कृतीमा आर्य समाजले प्रकाशित गरेको स्वामी दयानन्द द्वारा तैयार गरिएको भावार्थलाई मुख्य मानिन्छ।

 

संस्कृत व्याकरणको धेरै शास्त्रीय शब्दहरूको संलग्न रहेको वैदिक श्रुतिहरूमा उल्लेखित शब्दहरुको लगभग शून्यकै हाराहारीमा अन्य भाषामा हुबहु वा सम्पूर्ण भावार्थ दिन सक्ने शब्दहरू उपलब्ध रहेको जटिलता छ। दुर्भाग्यवश अन्य भाषाका कतिपय शब्दहरू जस्तै बिजुली, टेलिग्राफ, एयरशिप, आणविक फ्यूजन जस्ता शब्दहरू गहिरो अर्थ राख्ने शास्त्रीय शब्दहरूको व्याकरणात्मक दृष्टिकोणको अनुवादले हैन विषय बस्तुको उत्पत्ति र अस्तित्वको ज्ञानको आधारमा सन्दर्भहरू लाई जोडेर निकालिने भावार्थले मात्र पुरा गर्न सक्ने अबस्था थियो।

 

विद्वत वर्गहरूमा हाल सम्म स्थापित विश्वास अनुरूप ऋग्वेद कुनै ऐतिहासिक दस्ताबेज नरहेर सृष्टिको प्राकृतिक संरचनाको निर्माणको नियमहरू उल्लेखित प्राकृतिक विज्ञान सम्बन्धको ज्ञान रहेकाले त्यहाँ उल्लेखित विषय वस्तुहरूले सृष्टिको सम्पूर्ण भौतिक (Physics) कुराहरूको प्राकृतिक नियमहरू बारे समेत बताउने गर्दछन्।  विज्ञानको सम्पूर्ण क्षेत्रको ज्ञान र अवधारणाले भरपुर ऐतिहासिक श्रुतिहरूका गहिरा अर्थ बोकेका शास्त्रीय शब्दहरू आधुनिक क्वान्टम फिजिक्सको अवधारणा बाहिरिए पछिको आधुनिक विज्ञानको नयाँ शब्दावलीहरूले दिने व्याख्याहरू कसरि समावेश छन् भन्ने भावार्थको यथार्थ बाहिर ल्याउन अनुवादका उल्लेखित कुनै पनि विधि पर्याप्त रहेनन्।

विज्ञानले आफ्नो आविष्कारका विषय बस्तुहरू समाजमा प्रस्ट सँग राख्न विकास गरेका नयाँ नयाँ शब्दावली समकक्षी  शब्दावली हैन सम-भाव दिने मन्त्रका आशयको जरुरत पर्दथ्यो। जसको लागि वेदका मन्त्रहरुको वैज्ञानिक अवधारणा र दृष्टिकोणको भावार्थको जरुरत पर्दथ्यो। यो सन्दर्भमा वेद र आधुनिक विज्ञानका समकक्षी अर्थ दिने शब्दहरूको खोजी गरी अनुवाद गर्ने कार्य नै बौद्धिक दिवालियापनको प्रमाण हुने गर्दथ्यो। त्यसैले गरिएन पनि। त्यसको कुनै अर्थ समेत रहने अवस्था थिएन र होइन।

 

उक्त सीमितताका कारण भाषिक दृष्टिकोण भन्दा अत्यधिक परिष्कृत रहेता पनि व्याकरणात्मक दृष्टिकोण वाट तैयार गरिएको अनुवादले समेत वेदको अवधारणाहरू लाई प्रमाण सहित आफ्नो सहमति दर्साउने आधुनिक विज्ञानको सन्दर्भको बुझाई समेतलाई जोडेर समाजमा वैदिक ज्ञानको महत्त्व र उपयोगिता बारे प्रस्ट सँग श्रुतिका चुरा बैज्ञानिक आशयहरू पस्कन सकेको छैन।

 

 

श्री अरबिन्दोद्वारा गरिएको अनुवादलाई वेदको मनोवैज्ञानिक दृष्टिकोणको (Psychological Approach) अनुवाद मान्न सकिन्छ। वेदको गहन सार अर्थ मनोवैज्ञानिक तथा आध्यात्मिक प्रकृतिको छ। आफ्नो आफ्नो निजी चेतनाको स्तरमा कसैले वेदको कुनै पक्षलाई महसुस गर्दछन् भने कसैले यसको समय परिस्थिति अनुरूप सान्दर्भिक रहने गरी सही अनुवाद गर्न सक्दछन्। निकै ठुलो सङ्ख्यका सामान्य व्यक्तिहरू भने वेद केवल पढ्नको लागि मात्र वेद बनिरहेको छ।

 

हाम्रा केहि नाम चलेका लोभी पापी पण्डितहरू  तथा गुरुजीहरूको संरक्षणमा केही कर्मकाण्डी गुरुबाहरूले वेदका श्लोक बचन गरे सिधै स्वर्ग पुगिन्छ भनी छरेको भ्रममा भविष्यको उज्ज्वल स्वर्गको आसमा हाम्रा नागरिकहरूले आफ्नो वर्तमान लाई नरक बनाइ रहेका भेटिन्छ। वेदको श्लोक वचन गर्ने कुरा हैन। त्यसको अर्थ बुझेर जसरी विज्ञानले साइकल देखि मोटर, जहाज, रकेट सम्म बनाएर मानव जीवन सहज गर्न सक्यो तिनै ज्ञानहरू वेदमा छन् भन्ने बताइएन। वेदको ज्ञान त बुझ्ने, मनन गर्ने र त्यसको सदुपयोग वाट नयाँ नयाँ आविष्कार गरी मानव सहित सम्पूर्ण जगतको विकास गर्ने कडी हो भन्ने सामान्य सन्देश समेत पाउन वाट समेत हाम्रो समाज आज सम्म वञ्चित छ।

 

 

हाम्रा समाजका पण्डित र संस्कृतका गुरु कहलिनु भएका ठुलो सङ्ख्याका कर्म काण्डी गुरु-बाहरू आज वेदका श्लोकहरू अर्थ नबुझे पनि जसरी सुगाले मिठो भाषामा गोपी कृष्णको भन्दछ त्यसरी नै श्लोकहरू भट्ट्याउने र आफ्नो सीमित भाषा ज्ञानको सहजता भित्र खेलेर सन्दर्भ बाहिरको एक दुई मिठा कथाहरू जोडेर वेदका आशय विपरीतका विषयहरू वेदका सार भन्दै आफ्नो वर्गीय लाभको सन्देश दिने गरी समाजमा वाचन गर्दै स्व-घोषित महागुरु, ज्ञानी, युग-द्रष्टा जस्ता पदवीसहित सवार रहने गर्दछन्। आजको दिन सम्म आइपुग्दा तिनै बदनियत पूर्ण आशय भरिएका कतिपय पुस्तक, रचना र लेखहरू समेत दर्शन वा ग्रन्थको नाममा बजारमा आएका छन्। तिनै कु-कृतिहरूको अध्ययनको आधारमा कतिपय हाम्रा युवाहरूमा वेद माथिको सम्मानमा नै प्रश्न चिन्न खडा गरिदिने गरेको छ।

 

श्री अरबिन्दोले मनोवैज्ञानिक दृष्टिकोण वाट गरेको ऋग्वेदको पूर्ण अनुवाद गरेका छैनन्। मात्र समाजमा वेद अध्ययन गर्ने नयाँ पीढीहरूलाई वेदमा रहेको एकै मन्त्रको समेत विभिन्न पक्षको  यथार्थ उजागर गर्न र वेदलाई न्याय गर्न प्रेरणा दिने नियतमा ऋग्वेदको केही पदहरू “द हिम्स टु द कस्मिक फाएर” शीर्षकमा मनोवैज्ञानिक दृष्टिकोणको अनुवाद पस्केका छन्। श्री अरबिन्दोको मनोवैज्ञानिक दृष्टिकोणको  अनुवादमा भौतिक पक्षसँग सम्बन्धित वैदिक ज्ञान र आधुनिक क्वान्टम विज्ञानको गहिराइका पक्षका कुराहरू समेटिने सन्दर्भ नै रहेन।

 

संसारका निकै धेरै मानिसहरुले राम्रो भनी सह्राउने वेदका अनुवादहरूमा सुजॉय घोष द्वारा लिखित ऋग्वेद फर ले म्यान (साधारण मानिसको  लागि ऋग्वेद) र पण्डित विद्यालंकारको होली वेद (पवित्र वेद) पर्दछ। संस्कृतमा केही शब्दहरू थाहा भएको पाठकलाई यी दुई कृतिले वेदको ज्ञान प्राप्तिमा सहज गरिदिने मान्यता राखिन्छ।

 

 

परम्परागत रूपमा वेदको अध्ययन र यस बारे आफ्नो धारणा बनाउन माथिका कृतिहरू सहयोगी रहेता पनि आजको दिनसम्म आइपुग्दा वेदका हरेक मन्त्रहरू कुनै न कुनै रुपमा विज्ञानको प्रमाणित र अझै खोजिएकै अवस्थामा रहेको बहुआयमिक सिधान्तहरुको संस्कृत भर्सन रहेछ भन्ने यकिन बनेको यथार्थ हामीमा छिपेको छैन।

 

आजको  युग वैश्य युग हो। जब सम्म वेदका सैद्धान्तिक अवधारणाहरू लाई भौतिक विषय वस्तुसँग जोडेर त्यसको चुरो ज्ञानलाई पैसामा बदल्ने गरी उधमिकरण गरी इनोभेसनको हद सम्म पुर्‍याउन सकिँदैन तब सम्म यो ज्ञान तर्फ संसारको ध्यान तानिने छैन। वेदको ज्ञानको उपयोगिताको लागि तथा सम्पूर्ण जगतको उत्थानको लागि वेद र विज्ञानको सन्दर्भलाई एक आपसमा जोड्न जरुरी छ। जसको लागि वैज्ञानिक दृष्टिकोणको वेदको अनुवादले ठुलो भूमिका खेल्न सक्ने छ। त्यही सन्दर्भमा वेद र विज्ञानको प्रसङ्ग महत्त्वपूर्ण कडीको रूपमा हाम्रो अगाडी देखा परेको हो। आउनुहोस हामी सबै मिली हाम्रा नयाँ पुस्ताको लाभको खातिर यसमा सहकार्य गरौँ।

(खाद्य तथा औषधि विज्ञ, क्यानडा।)

57Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: