मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वैदिक अवधारणाको लोकतन्त्र नै सर्वोकृष्ट ?  

 अर्गानिक लोकतन्त्र वारेको चर्चा !!

नारायण घिमिरे

वैदिक मान्यतामा ईश्वर अर्थात् परमात्मा निराकार हुन्छ। त्यसको सामान्य अर्थ के लाग्दछ भने परमात्मा शब्दले परम ज्ञान लाई जनाउने गर्दछ। ज्ञानको कुनै ठोस रूप हुँदैन। तर कुनै ठोस रूपमा लेखेर, बोलेर, भिडियो बनाएर, सन्देश पठाएर वा सङ्केत गरेर ज्ञान एक वस्तु वा व्यक्ति वाट अर्को व्यक्तिमा पुर्‍याउन सकिन्छ। व्यक्तिले तर्क ध्यान वा समझ वाट समेत ज्ञान प्राप्ति गर्न सक्छ।

 

जुन व्यक्ति वा विषय वा चिज सँग ज्ञान प्राप्त गर्न सकिन्छ त्यसलाई भगवान् भनिएको छ। जसले कुनै पनि प्रकारको ऊर्जा दिन सक्दछ त्यसलाई देवता भनिएको छ। सकारात्मक ऊर्जा दिने सुर र नकारात्मक ऊर्जा दिने चिज असुरको रूपमा चिनिन्छ।

 

समान अर्थमा ऋग्वेदको सूक्त आत्मा अनसथा अनुसार रूप बिनाको ईश्वरले आफूलाई हरेक पदार्थ जस्तै पृथ्वी तत्त्व भूमि, जीवन (असु / प्राण) र जल तत्त्व रगत (असृक् / शोणित) सँग आफूलाई त्यसको निर्माणको क्रममै त्यसको संरचना भित्र इन्जिनियरिङ गरेर कैद गरेको छ।

 

ऋग्वेदको सूक्त अनुसार जीवात्मा (व्यक्ति भित्रको व्यक्तिगत आत्मा) र परमात्मा (बाहिरको सामूहिक आत्मा अर्थात् परमात्मा) रुखको एउटै हाँगामा बस्ने दुई चराहरू जस्तै हो। जसमा एउटाले जीवनको मिठास र सांसारिक सुख दुखको फलहरूको अनुभूति गर्ने गर्दछ । अर्कोले सांसारिक जीवनको मायावी खेलका मिठास र फलहरूको विना भेदभाव निष्पक्ष रहेर समान रूपमा हेर्ने एक दर्शकको भूमिकामा रहन्छ भनेर वर्णन गरेको छ।

 

तत्स॑वि॒तुर्वरे॑ण्यं॒ भर्गो॑ दे॒वस्य॑ धीमहि ।

धियो॒ यो न॑: प्रचो॒दया॑त् ॥ (ऋग्वेद ३.६२.१०)

 

ऋग्वेदको महान् मन्त्र ठानिने गायत्री मन्त्रले परिभाषित गरे अनुरूप मानिसको दिमागको (माइन्ड) हरेक क्षेत्रमा अत्यन्त गहिरो अन्वेषण गर्न सक्ने अपार क्षमता हुन्छ। त्यसैले मनको उक्त शक्तिलाई निरन्तर रुपमा प्रकृति अर्थात् ईश्वरको (धीमहि) चिन्तनमा उपयोग गर्न नितान्त जरुरी छ। मानिसले चिन्तन मार्फत आफ्नो व्यक्तिगत मनलाई (माइन्ड) निरन्तर रूपमा युनिभर्सल अर्थात् सामूहिक मन (प्रचोदयात्) सँग सम्पर्कमा पुर्‍याउन सक्दछ। व्यक्तिगत मन र युनिभर्सल मन बिच सम्पर्क कायम गरी मानिसले असीमित ज्ञान प्राप्त गर्न सक्दछ।

 

 

सत्य तथा धर्म जस्ता अमूर्त पक्षहरूलाई बढवा दिन वैदिक मान्यतामा उदारता, श्रद्धा (विश्वास) र दाना (त्याग) जस्ता परोपकारको विषयलाई अङ्गीकार गर्नु नै ईश्वरको आत्मा साथ गर्नु मानिन्छ। संसारको शब्द कोषमा परोपकारको अवधारणाको प्रारम्भिक अभिव्यक्ति वेद मार्फत आएको देखिन्छ।

 

वैदिक मान्यताले भोकालाई खाना खुवाउने कार्य सामाजिक सेवाको उत्कृष्ट कार्य हो। भोकाएको मानिसमा ऊर्जाको अभाव हुन्छ। खानालेले भोकाएको मानिसमा नयाँ ऊर्जा थपी दिन्छ र मात्र ऊ जीवित रहन सक्दछ। भोकलाई समयमै मेटाउन सकिएन भने त्यसले मानिसलाई मृत्युको मुखमा पुर्‍याउँछ। त्यसको हद फराकिलो बन्दा पृथ्वीमा मानिसको अस्तित्व कायम राख्न सकिँदैन।

 

चालीस दिनको अखण्ड व्रतको कठोर अभ्यासको क्रममा बुद्ध झन्डै मृत्युको सिकार वने। बुद्धले समेत आफ्नो जीवनमा भोकको परिणामको अनुभूति गरे। त्यसले बुद्धलाई शरीरलाई भोकले तृप्त बनाएर ज्ञान हासिल गर्न सकिँदैन, त्यसको लागि खानाको सधैँ आवश्यक पर्दछ भन्ने अनुभूति भयो। ज्ञान प्राप्त गर्न जीवन धान्नु पहिलो सर्त हो भन्ने बुद्धको मान्यता बन्यो।

 

गीतामा समेत भोकको तृप्ति मानिसको आधारभूत आवश्यकता रहेको उल्लेख छ। जस अनुसार सन्तुलित खान पान  र जीवन कायम गर्न सक्दा मात्र सन्तुलित जीवनको प्राप्ति हुन्छ। सन्तुलित जीवन बिताउने अवसर पश्चात मात्र दिव्य ज्ञान प्राप्त गर्न (achieving enlightenment) सम्भव बन्दछ (समत्वं योग उच्यते) भन्ने मान्यता स्थापित छ।

 

अ॒भ्यू॑र्णोति॒ यन्न॒ग्नं भि॒षक्ति॒ विश्वं॒ यत्तु॒रम्।

प्रेम॒न्धः ख्य॒न्निः श्रो॒णो भू॑त्॥ (ऋग्वेद ८.७९.२)

 

ऋग्वेद ८.७९.२ ले नाङ्गोलाई लुगाको व्यवस्था मिलाउन, बिरामीलाई निको पार्न, अन्धालाई देख्ने र भौतिक रूपमा खुट्टाको अपाङ्ग भएका लाई हिँड्न सहज गराउने आदि प्रकृतिका परोपकारी कार्यहरू लाई समाज सेवाको कार्यको रूपमा वर्णन गर्दछ।

 

 

वैदिक विश्वास अन्तर्गतको एक ईश्वरको अवधारणाले समाजमा रहेका सबै प्रकारका विभेदहरू विरुद्ध वेद लाई उभ्याउने गर्दछ। सम्पूर्ण मानव जीवनको बिच एकता स्थापित गर्न प्रचुर उत्प्रेरणा थप्दछ। वैदिक मान्यतामा यस ब्रह्माण्डमा स्थापित रहेका सम्पूर्ण विचारधारा मद्ये सबैभन्दा सार्वभौम दृष्टिकोण स्थापित छ। जसले वैदिक मान्यता राख्ने विद्वान र दार्शनिक हरूको मान्यता र वैज्ञानिक तथा धार्मिक लेखनहरूमा निकै गहिरो प्रभाव छोडेको भेटिन्छ।

 

यद्यपि वैदिक राजनैतिक इतिहासमा आर्य (स्व-घोषित मालिक) र गैर-आर्य (तथाकथित आर्यवाट दास घोषित गरिएका) बिचको निरन्तर द्वन्द्वले ग्रसित वनेको देखिन्छ। त्यो कुनै न कुनै रूपमा आज पनि अस्तित्वमा छ। यथार्थमा ऋग्वेदको अवधारणामा एक अत्यन्त उदारवादी दृष्टिकोण उल्लेख छ। हाल हाम्रो समाजमा देखिएको अजिबको समुदाय विशेष, लिङ्ग विशेष वा पेसा विशेष विभेद लाई ऋग्वेदले स्विकार्दैन। यथार्थमा निन्दा गर्ने गर्दछ।

 

ऋग्वेदका अनुसार सबै व्यक्ति एकै सामूहिक आत्माको (परमात्मा) निश्चित तर बराबर भाग व्यक्तिगत आत्माको रुपमा (जीवात्मा) ग्रहण गरी समान हैसियत र क्षमतामा   पृथ्वीमा जन्मिएको हुन्छ।

 

स्या॒यं विश्व॒ आर्यो॒ दास॑: शेवधि॒पा अ॒रिः।

ति॒रश्चि॑द॒र्ये रुश॑मे॒ परी॑रवि॒ तुभ्येत्सो अ॑ज्यते र॒यिः॥ (ऋग्वेद ८.५१.९)।

 

समुदाय आर्य हुन् वा गैर-आर्य, व्यक्ति नारि हुन् वा पुरुष, हरेकले कम्तीमा कुनै एक क्षेत्रमा अन्य भन्दा विशेष दक्खल राख्ने खुबी सहित बराबर हैसियतको सम्मानित जीवनको साथ पृथ्वीमा आफ्नो अस्तित्व कायम गरेको हुन्छ।

 

हरेक व्यक्ति अन्य भन्दा कम्तीमा एक विशेष प्रकृतिको क्षमता सहित जन्मने हुँदा प्रकृतिले उसको जीवनको सिर्जना गर्नुको निश्चित विशेष उद्देश्य हुन्छ। जसले आफ्नो क्षमता र विशेष खुबीको पहिचान गरी समय अनुरूप त्यसको सदुपयोग गर्न सक्दछ ऊ आफ्नो उद्देश्य प्राप्तिमा सफल बन्ने गर्दछ।

 

संसारमा अस्तित्वमा रहेको ग्रन्थमा ऋग्वेद पहिलो ग्रन्थ समेत हो जसले हामीलाई लोकतन्त्रको आधारभूत परिभाषा र अवधारणा उपलब्ध गराउँदछ। यसले पहिचान गरेको लोकतन्त्र एक कल्याणकारी राज्य व्यवस्था हो जस अन्तर्गत मुलुक भित्र रहेका मानिसहरूको अधिकारलाई एक सामूहिक चेतना वाट निर्मित राष्ट्रिय मन वाट राष्ट्र सञ्चालित गरी सुनिश्चित गरिन्छ। व्यक्तिको व्यक्तिगत मन अथवा विचारधारा समेत संश्लेषण भएर समावेश भएको राष्ट्रिय मन जरुरत अनुरूप परोपकारी कार्य सञ्चालन गर्न, मुलुक वासीको कल्याण गर्ने नीति तथा कार्य-योजना बनाउन र तिनीहरूको लागु गर्न पूर्ण रूपमा समर्पित हुने गर्दछ।

 

वैदिक लोकतान्त्रिक अवधारणामा वनेको शासनको उदाहरणमा बुद्धका पिता राजा बनेको इतिहास लाई लिन सकिन्छ। उनी तत्कालीन रूपमा लोकतान्त्रिक रूपमा निर्वाचित भएर नै कार्यकारी नेता अर्थात् राजाको रूपमा चुनिएका थिए।

 

संज्ञान-सूक्तम् (ऋग्‌वेद:१०/१९१)

Samjñāna-Sūktam (Incantations of Unity)

 

सङ्गच्छध्वं सं वदध्वं सं वो मनांसि जानताम् ।

देवा भागं यथा पूर्वे सञ्जानाना उपासते ॥ [२]

 

May you all together go.

May all of you together speak also.

May your minds further

be the same unanimously,

as the ancient deities unitedly

accept their own sacrificial share. [2]

 

मानो मन्त्रः समितिः समानी

समानं मनः सह चित्तमेषाम् ।

समानं मन्त्रमभि मन्त्रये वः

समानेन वो हविषा जुहोमि ॥ [३]

 

Let their hymnal praise be the same.

The same let their assembly be.

Let their mind be the same.

Let their thoughts be the same unitedly.

I’m uttering your same incantation.

I’m also performing

the sacrificial offering

with your same oblation. [3]

 

समानी व आकूतिः समाना हृदयानि वः ।

समानमस्तु वो मनो यथा वः सुसहासति ॥ [४]     

 

Let your perseverance of all be the same.

Let all your hearts be the same.

The same let your mind be,

so that a nice company yours would be. [4]

 

 

संज्ञान-सूक्तले (ऋग्वेद १०.१९१) सबै नागरिकहरूको मन, हृदय, नीति, अभिलाषा र अपेक्षा जस्ता सम्पूर्ण पक्षमा समग्र एकता निर्माण गर्नको लागि नागरिकहरूको प्रतिनिधिहरू बिच नियमित सम्मेलन योजना गर्न आह्वान गर्दछ। उक्त सम्मेलनमा अस्तित्वमा देखिएका हरेक विचार समूह वा दल वा फरक विचार राख्ने समूहहरूको मतहरू लाई समानताका आधारमा प्रस्तुत गर्न, विचार विमर्शमा सहभागी हुन र प्राप्त सम्पूर्ण बिचार र योजनाहरूको प्रतिनिधि मूलक मन निर्माणमा  सहजीकरण गरी साझा मन बनाउन सल्लाह दिन्छ (समिति: समानी)। संज्ञान-सूक्तले साझा राष्ट्रिय नीति निर्माण गरी अगाडि बढाउन सबैको समान बलिदानको जरुरत पर्ने भन्दै सम्पूर्ण पक्ष लाई एउटा साझा उद्देश्यको लागि जम्मा हुनु र साझा बलिदान मार्फत सेवामा लाग्न तैयार हुन निर्देशित गर्दछ (समानं मन्त्रमभि मन्त्रये वः समानेन वो हविषा जुहोमि)। सबैलाई सुखी र सद्भावमा बाँच्नको लागि सहजीकरण गर्ने क्षमताको (सुसहासति) साझा राष्ट्रिय नीति र कार्यक्रम ल्याउन निर्देश गर्दछ।

 

 

समग्रमा ऋग्वेदको संज्ञान-सूक्तले दिएको चुरो सन्देश हो कि तपाईँहरू वाट साझा विचारहरू संश्लेषण होस, सम्मेलन तपाईँहरूको साझा उद्देश्य निर्माण हुने सभा बनोस्। त्यसको लागि तपाईँहरू सबै आउनुहोस्, एक आपसमा सबै सँगै भेट्नुहोस्, सँगै काम गर्नुहोस्, सँगै बस्नुहोस्, सँगै छलफल गर्नुहोस्, सामूहिक निचोडको लागि बिचार विमर्श गर्नुहोस्, सहमतिमा साझा विचारधारा विकास गर्नुहोस्, ताकि तपाईँहरू सँग साझा कार्य उद्देश्य होस, एउटै वास्तविकताको पहिचान होस।

 

स॒भा च॑ मा॒ समि॑तिश्चावतां प्र॒जाप॑तेर्दुहि॒तरौ॑ संविदा॒ने।

येना॑ सं॒गच्छा॒ उप॑ मा॒ स शि॑क्षा॒च्चारु॑ वदानि पितरः॒ संग॑तेषु अथर्ववेद VII १२.१॥

 

वि॒द्म ते॑ सभे॒ नाम॑ न॒रिष्टा॒ नाम॒ वा अ॑सि।

ये ते॒ के च॑ सभा॒सद॑स्ते मे सन्तु॒ सवा॑चसः॥ अथर्ववेद VII १२.२॥

 

ए॒षाम॒हं स॒मासी॑नानां॒ वर्चो॑ वि॒ज्ञान॒मा द॑दे।

अ॒स्याः सर्व॑स्याः सं॒सदो॒ मामि॑न्द्र भ॒गिनं॑ कृणु ॥ अथर्ववेद VII १२.३॥

 

यद्वो॒ मनः॒ परा॑गतं॒ यद्ब॒द्धमि॒ह वे॒ह वा॑।

तद्व॒ आ व॑र्तयामसि॒ मयि॑ वो रमतां॒ मनः॑ अथर्ववेद VII १२.४॥

 

 

अथर्ववेदले (VII १२.१-२) सभा र समितिलाई एक काल्पनिक प्रजापतिका जुम्ल्याहा छोरीहरूको संज्ञा दिँदै तिनीहरू लोकतान्त्रिक रूपमा निर्माण भएर कार्यरत हुनुपर्ने निकाय भन्दछ। राज्यले सभा र समितिको रूपमा अस्तित्वमा रहेका ति दुई कक्षहरू (प्रतिनिधि सभा र राष्ट्रिय सभा) आपसी रूपमा पूर्ण रूपमा एकबद्ध भएर काम गर्न अनिवार्य हुन्छ भनेको छ। त्यसको कारण हरेक कुरामा सत्य एउटा मात्रै हुनुले नै हो। किनकि सबै इमानदार रहँदा सत्य कुरामा सामूहिक सहमतिमा पुग्न कुनै समस्या रहँदैन। साथै अथर्ववेदले (VII १२.१-२) उक्त दुई कक्षहरू तोकेको लाइनमा राज्यका सम्पूर्ण नीति नियम तर्जुमा, निर्माण (संविधान) तथा विकास निर्माणका गतिविधिहरू सञ्चालन गरिनु पर्दछ भनी यकिनका साथ किटान गरेको छ। अझै पनि संसार भर व्यवस्थापिकाका यी दुई सदन (माथिल्लो र तल्लो) लोकतन्त्रका दुई खम्बा मानिन्छ। जुन दुवै वैदिक मान्यताका हुन्।

 

अथर्ववेदले माथिल्लो र तल्लो दुवै सदनलाई विशेष महत्त्व दिएको छ। दुवैलाई अभेद्य अर्थात् भेद भाव गर्न नहुने तथा एकले अर्को लाई प्रतिस्थापन अर्थात् ओभरराइड गर्न नमिल्ने मान्दछ। किनकि उक्त सभाहरूमा कतिपय अवस्थामा बहुमतको आधारमा निर्णय लिनु पर्ने हुन सक्दछ। बहुमत वा सर्व सम्मत रूपमा भएका सबै निर्णयहरू सभाको अन्तिम निर्णयको रूपमा सबैले मान्ने भद्र सहमति गरिएको हुन्छ। उक्त परिस्थिति बिच  कुनै अमुक विषय वस्तु माथिको छलफल पश्चात् आएको बहुमतको आवाज लाई अन्य सभा तथा कार्यकारी निकायले आफ्नो तोकिएको कार्य क्षेत्र बाहिर गएर ओभरराइड गर्नु व्यवहारिक हुँदैन।

 

वैदिक लोकतन्त्रले सकेसम्म सर्वसम्मत अन्यथा बहुसङ्ख्यकको मतको सिद्धान्तलाई उत्तम उपायको रूपमा सुझाउने गर्दछ। जुन आजको समेत लोकतन्त्रको मानकको रूपमा लिने गरिन्छ। हरेक सभाको बैठक बस्नु अघि सभाको सदस्यले तोकिएको रोल क्रम अनुरूप एकले अर्का लाई सम्मान गर्दै पालै पालो आफ्नो बिचारहरू प्रस्तुत गर्ने विधिमा सबै सदस्यहरूको समर्थन र नियमको पालन गरिने पूर्ण सहमति बन्दछ। सभाको सामूहिक शक्ति र ज्ञान निर्माण गर्ने तर्फ सबैको सकारात्मक सहयोग प्राप्त हुने अपेक्षा गरिन्छ।

 

वैदिक अवधारणाको कानुन वा धर्मको राजनैतिक सिद्धान्त अनुसार राष्ट्रपति वा राजा वा राजकाज गर्ने उच्च तहमा चुनिएको कुनै पनि शासक वा नेता सँग साँचो अर्थमा नै कुनै पनि प्रकारको सार्वभौम अधिकार रहँदैन थियो। तिनीहरू मात्र धर्म र कानुनको (संविधान) रक्षक हुने गर्दथे। संसारको इतिहास मै कुनै पनि वैदिक राजाहरूमा शासकको रूपमा पूर्ण शक्ति भएको भेटिँदैन। वैदिक अवधारणा अन्तर्गत कानुनको अवहेलना गर्नेहरूलाई सजाय दिने गरिन्थ्यो।

 

नेपालको सन्दर्भमा राणा कालको जहानियाँ शासन र राजा महेन्द्रले लोकतन्त्रको हत्या गरी प्रजातन्त्रको नाममा घोषणा गरी जनताको सार्वभौम अधिकार आफूमा निहित गर्ने र आफूले आफूलाई विष्णुको अवतारमा प्रस्तुत गर्ने शासन वैदिक लोकतन्त्रको चुरो मान्यता विपरीत रहेकाले उक्त शासन वैदिक अवधारणा विपरीतको ताना शाही शासन नै थियो। जसलाई वैदिक रूपमा दुर्भाग्य पूर्ण कुशासनको दर्जा समेत दिने गरिन्छ। जुन राजा वीरेन्द्रले पछि सच्चाएका थिए। व्यवहारमा अधिक राज्य दोहनमा व्यस्त बनेको, परिवारको चरम विलासिता नियन्त्रण गर्न असफल वीरेन्द्रको शासन समेत सच्चिन नसक्दा धराशायी वनेको वैदिक मान्यताको निचोड भेटिन्छ।

 

मुलुकमा गाँजा प्रतिबन्ध गर्नको लागि आएको विकासको रकम आफ्नै निजी बैक खातामा जम्मा गरेको, गाँजाको प्रतिबन्ध पश्चात् मुलुकभर सीमित व्यक्ति लाई मात्र मदिरा, चुरोट र अन्य उद्योग गर्न दिने र त्यस बापत अनिवार्य रूपमा दरबारले लिने अस्वाभाविक लेवी मार्फत जम्मा भएको अकुत अनैतिक रकम अन्तर्राष्ट्रिय रूपमा लागु पदार्थ ओसार पसार गर्ने लागानी गर्ने गरेको, भारतीय जैन आयोगले लगाएको आरोप अनुरूप मित्र राष्ट्रका नेताहरूको सुरक्षा विरुद्ध उपयोग गरेको भेटिएको, आदि जस्ता अन्य धेरै अनैतिक चरित्र र गतिविधि वीरेन्द्रको शासनको वंश नास सहित अन्तको कारक वनेको हुन सक्ने शङ्का गरिन्छ।

 

वैदिक अवधारणा अनुसार  प्राकृतिक नियमको सिद्धान्त मान्नु लाई नै धर्मको अनुयायी हुनु भनिन्थ्यो। प्राकृतिक नियमको सिद्धान्त उल्लङ्घन गर्दा सम्पूर्ण पृथ्वीको चराचर तथा मानवको समेत सुरक्षा जोखिममा पर्ने हुँदा त्यसको नियन्त्रण गर्नु राज्यको कर्तव्य भित्र पर्दथ्यो।

 

राष्ट्राध्यक्ष राजा होस वा राष्ट्रपति होस वा प्रधानमन्त्री तिनीहरू जनताको सेवक वा नोकरको रूपमा सीमित शक्ति सहित पदमा बहाल हुने गर्दथे। तिनीहरू जन निर्वाचित प्रतिनिधिहरूको मामलामा लोकतान्त्रिक जाँच र सन्तुलन कायमको अधीनमा कार्यकारी भूमिकामा रहने गर्दथे। राष्ट्रिय मनले तर्जुमा गरे अनुरूपको धर्म, कानुन वा संविधानको पालना नगरेको र नैतिक आचरण विपरीतका कार्यहरूमा संलग्न भएको पाइएमा राष्ट्र प्रमुख लाई  निष्कासन गर्न सकिने र अन्यथा प्रमाणित भएमा पुनर्बहाली पनि गर्न सकिने व्यवस्था थियो।

 

राजा समेत साँचो अर्थमा संविधानको रक्षकमा मात्र सीमित हुने गर्दथे। ऐतरेय ब्राह्मण अध्याय I- ४० राज्याभिषेक तथा राजपुरोहितको स्थिति तथा अधिकार अन्तर्गत यकिनका साथ किटान गरी उल्लेख भएअनुरूप वैदिक कालमा राजाहरू आज हाम्रा राष्ट्र प्रमुखहरू निर्वाचित भए जस्तै निर्वाचित प्रतिनिधिको रूपमा शासनको लागि चुनिने गर्दथे।

 

ऋग्वेदका अनुसार प्रत्येक मानिस ईश्वर तत्त्व द्वारा निर्मित ईश्वरको अवतार हो। त्यसैले मानिस र मानिसको बिचमा कुनै पनि भिन्नता छैन। कोहि  ठुलो कोहि सानो भन्ने छैन। त्यसैले सबै समान सम्मान, व्यवहार र हकको हकदार छन्। साथै आफ्नो जिम्मेवारी र उत्तर दायित्वको समान रूपमा पालना गर्न समेत जिम्मेवार रहन्छन्।

38Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: