मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

आफ्नो दिमागको सञ्चालक आफै बनौ।

नारायण घिमिरे

पागलपनको मात्र इन्च पर रहेर मानव दिमागले काम गरिरहेको हुने सुन्दा मानिसहरू अचम्ममा पर्ने गर्छन। जब तपाईलाई सानो घाऊ लाग्छ तपाई लाई थाहा हुन्छ। बाटोमा हिँड्दा खुट्टामा ठेस लाग्छ, थाहा हुन्छ।  कसैले तपाइको निन्दा गर्छ थाहा हुन्छ।

 

तपाइको सबै दुख सुख थाहा पाउने तपाइको दिमागले दिमाग आफै लाई चक्कुले काटिदियो भने दुखेको र काटेको कुनै पत्ता पाउँदैन।

 

तपाई हाम्रो दैनिकीमा तपाईँको दिमाग विभिन्न परिस्थिति र समयको दौरान यदि क्रमशः मानवीय बाट दानविय बनिरहेको छ भने त्यसको भेउ पाउन सक्छ भन्ने कुनै जरुरी छैन। तपाइको दैनिकी लाई बुज्न तपाइले तपाइको दिमागको काम गर्ने चरित्र र उक्त दिमागको संचाल गर्ने सञ्चालक लाई समेत बुज्न सक्दा तपाईँको जीवन सरल बन्न सक्ने छ।

 

अति सामान्य रूपमा बताउँदा तपाइको दिमागको मुख्य तिन भाग हुन्छ। रेप्टेलियन, लिम्बिक र नियो-कर्टेक्स।

रेप्टिलियन मस्तिष्क शरीरको जीवन सञ्चालनका महत्त्वपूर्ण गतिविधिहरू जस्तै मुटुको दर, सास, शरीरको तापक्रम, शारीरिक सन्तुलन नियन्त्रण आदि सम्पादन गर्ने मस्तिष्क हो।

 

रेप्टेलियन मस्तिष्क दिमागको मुख्य संरचना हो। घाटीतिरको भाग “ब्रेन स्टिम” र दिमागी भाग “सेरिबेलम” बाट बनेको रेप्टेलियन मस्तिष्क दिमागको मुख्य आधार भाग हो।

 

सोझो, छिट्टै रिस उठ्ने वा खुसी हुने, खाने, पिउने, मोज गर्ने र सन्तान वृद्धि गर्ने काम रेप्टेलियन ब्रेनको हो। जनावरमा रेप्टेलियन ब्रेन नै दिमागको मुख्य मस्तिष्कको रूपमा अस्तित्वमा रहेको हुन्छ। जनावरहरू रेप्टेलियन ब्रेन बाट सञ्चालित रहेर आफ्नो दैनिकीको धेरै समय बिताउने गर्छ।

 

रेप्टेलियन ब्रेन बाट सञ्चालित मानिस खाने, पिउने, मोज गर्ने र सन्तान वृद्धि गर्ने काम बाट आफूलाई सन्तुष्ट पाउँछ । रेप्टेलियन दिमागले सञ्चालन गरेको मानिस आफूले भने जस्तो नहुँदा अर्को पक्ष लाई कुट्न तम्सन्छ। कुट्न नसक्ने अवस्था छ भने त्यहाँ बाट कुलेलाम ठोक्छ। जसलाई फाइट (कि त भिड्ने) वा रन (नभए भाग्ने) प्रवृत्ति भनिन्छ।

 

रेप्टेलियन दिमाग बाट सञ्चालित मानिसको मनमा कसै प्रति न त माया न त घृणा नै हुने गर्छ। जो भेट्यो उही सँग रमाउँछ। पुरानो सम्बन्ध, घटना बिर्सँदै जान्छ। नयाँ सम्बन्ध गाँस्दै रमाउँदै जीवन चलिरहेको हुन्छ।

 

दोस्रो हो लिम्बिक ब्रेन। लिम्बिक मस्तिष्कमा तपाई सहमति र असहमति रहेका अनुभवहरूको सम्झना वा रेकर्ड रहने गर्छ। लिम्बिक मस्तिष्क  मानिसको भावनाहरू विकास गर्न जिम्मेवार रहने गर्छ।

 

लिम्बिक मस्तिष्कको मुख्य संरचनाको रूपमा हिप्पोक्याम्पस, एमाइग्डाला र हाइपोथैलेमस रहन्छन। तपाई बाट हुने गरेका महत्त्वपूर्ण वा मूल्यवान् निर्णयहरू रेकर्ड हुने लिम्बिक मस्तिष्कले तपाइको दैनिक व्यवहार र अनायास लिइने निर्णयहरूमा अत्यन्त प्रभावशाली भूमिका खेलिदिन्छ।

 

लिम्बिक दिमाग बाट सञ्चालित मानिस  खाने, पिउने, मोज गर्ने र सन्तान वृद्धिको अलावा माया प्रेम र करुणा समेत मिसाएर दैनिक जीवनमा सक्रिय रहन्छ। लिम्बिक ब्रेन बाट सञ्चालित मानिस  रिस लाई कहिले नियन्त्रण गर्न सक्छ। कहिले सक्दैन।

 

रिस ऊठदा सक्ने भए झगडा गर्न तम्सने अनि नसक्दा त्यहाँ बाट कुलेलाम ठोक्ने फाइट (कि त भिड्ने) वा रन (नभए भाग्ने) रेप्टेलियन प्रवृत्ति देखाउँछ। दिमागमा रेकर्ड भएका स्मरणका आधारमा कतिपय अनायास प्रतिक्रिया देखिन्छ। तपाई आफैलाई समेत कतिपय गतिविधिहरू गरिसकेपछि मात्र मैले के गरे भन्ने मेसो पाउने गरेको भेटिन्छ।

 

लिम्बिक ब्रेन बाट सञ्चालित हुँदा मानिस अर्को मानिसको सन्दर्भमा आफ्नो स्मरणमा रहेको सूचनाको आधारमा मनमा माया वा घृणा उत्पन्न हुने गर्दछ।

 

जस्तै कुनै मानिसले “कता छौ हनी? म तिम्रो अनुपस्थितिले एक्लो महसुस गरिरहेको छु। आज सम्पर्क मात्र गर्न पाउँदा आफूलाई धन्य महसुस गरिरहेको छु !!” भनी मेसेन्जरमा पाएको म्यासेज पढ्दा मात्र पनि दिमाग तरङ्गित बनिदिन्छ।

 

आफूलाई मन परेको मान्छे बाट सूचना आएको रहेछ भने लिम्बिक ब्रेनले डोपामिन, सेरिटोनिंन, अक्सिटोक्सिन र इन्डोर्फिन जस्ता खुसी बनाउने ह्यापी केमिकलहरु बनाइ दिन्छ। जसले मानिस लाई भित्रै बाट आनन्द महसुस गराउछ। शरीर समेत स्वस्थ बन्छ। खुसी हुँदा रेप्टेलियन ब्रेनले मानिस लाई मस्तीको मुडमा लैजान्छ।

 

उक्त खबर ले मन नपराउने वा कुनै जमानाको प्रिय तर हाल धॄणित रहेको मानिसको परेछ भने लिम्बिक ब्रेनले दिमागमा कोर्टिसोल केमिकल पैदा गरिदिन्छ। कोर्टिसोल मनमा दिक्दारी पैदा गर्ने स्याड केमिकल हो। उक्त अवस्थामा मनमा एकाएक नरमाइलो र धॄणा उत्पन्न हुन्छ।

 

दुख वा धॄणाले मनमा उठ्ने क्रोध सहितको तनावले डिप्रेसनको महसुस हुन्छ। क्रोधको अवस्थामा रेप्टेलियन ब्रेन सक्रिय बन्छ। भिड्नको लागि फाइट वा प्रतिरोधमा उत्रन्छ। क्रोध सहितको तनावले रेप्टेलियन ब्रेनको भाग्ने प्रवृत्तिले एक्लै झोक्राएर बस्ने प्रवृत्तिको विकास गरिदिन्छ।

 

अन्य प्राणीमा प्राय नगण्य वा कम हुने नियो-कर्टेक्स ब्रेनको मानिसमा राम्रो विकास भएको हुन्छ। मानव भाषा, अमूर्त चिन्तन, कल्पना र चेतनाको विकासको लागी नियो-कर्टेक्स जिम्बेबार रहन्छ।

 

जनावर ब्रेन बाट आफू सञ्चालित हुने गर्छ। दिमागलाई पूर्ण नियन्त्रणमा लिई आफू बाट आफ्नो दैनिक गतिविधि सञ्चालन गर्न मानिसलाई नियो-कर्टेक्स ब्रेनको सदुपयोग गर्नु अनिबार्य रहन्छ। त्यसो हुन नसक्दा मानव दानवीय वा पशुवत व्यवहार अँगाल्न पुग्छ।

 

नियोकर्टेक्सको असीमित अध्ययन तथा शिक्षण क्षमता हुन्छ। आज हामीले देखिरहेको र महसुस गर्न पाएको मानव संस्कृतिको विकास र प्रगति नियोकार्टेक्स कै असीमित क्षमताको कारण संभव बनेको ठानिन्छ।

 

एक छिनको लागि कल्पना गरौँ तपाइ लक्का जवान हुनुहुन्छ। तपाइको मनमा बसेकी हृदयको रानी हुन समीक्षा। समीक्षा लाई तपाईँ अति मन पराउनु हुन्छ। समीक्षाको ध्यान आफूतर्फ खिच्न तपाईँ पटक पटक दार्शनिक देखि प्रेम भावका कुराहरू लेखी रहनु हुन्छ। टुईट गरिरहनु हुन्छ। तपाइको अनुसार समीक्षा लाई यो कुराको राम्रै अन्दाज छ। तर पनि समीक्षा तपाइलाई सधैँ बेवास्ता गर्छिन।

 

भर्खरै मात्र समीक्षाले तपाइलाई सामाजिक सञ्जालमा अनफलो गरेको तपाइले उनको सामाजिक सञ्जालको फ़लोईङ्ग एकाउन्ट हेरेर थाहा पाउनु भएको छ। अहिले तपाई तपाइलाई समीक्षाले अनफलो गरेकोमा खिन्न हुनुहुन्छ। थोरै आक्रोश पनि मनमा उब्जी रहेको छ।

 

जे पर्ला पर्ला एउटा भावनात्मक कविता लेखी डिरेक्ट मेसेन्जर मार्फत समीक्षा लाई पठाउने निश्चय गरी केही लेख्दै हुनुहुन्छ। लेखमा उनको महत्त्व नपाएको भड़ास निकाल्ने भावहरू तपाईँमा फुरिरहेको छ। तपाईँ उत्साहित भएर आफ्नो कुरा मेसेन्जरमा लेख्दै हुनुहुन्छ।

 

संम्झनुस ठिक त्यसै बेला तपाइलाइ चिट्ठा परे जस्तो बन्यो। तपाईँ सामु अचानक समीक्षा झुल्कन्छिन। त्यो पनि तपाइलाइ सबैभन्दा मन पर्ने बेकरी चिज केक सहित आपसी मित्रता गाँस्ने प्रस्ताव गर्दै। समीक्षा आफ्नो मित्रताको प्रस्ताव स्विकार्दिन अनुरोध गर्दै छिन।

 

उक्त अवस्थामा तपाइको रेप्टेलियन ब्रेनले भन्छ। वाह के खोज्छस कानो आँखो। तुरुन्तै प्रेम प्रस्ताव स्विकारी हाल। चिज केक सबै लिएर तुरुन्तै अहिले नै सबै खाई हाल। अनि समीक्षा लाई पनि तुरुन्तै अँगालोमा हाल। किस खाऊ। बेडमा लगि लडीबुडी गरी हाल। आन्द्रा भुँडी सबै खोली हाल।आफ्नो मन भित्रको भावना प्रकट गरी समीक्षा लाई आफ्नो बनाई हाल।

 

तपाइको लिम्बिक ब्रेनले रेप्टेलियन ब्रेनलाई रोक्दै भन्छ। हे एक छिन पर्ख। तुरुन्तै प्रेम स्विकार्दा तिम्रो महत्त्व घट्ला। तिमीलाई यत्रो सकसमा राख्ने समीक्षा लाई पनि उत्तर तुरुन्त नदिएर थोरै सकसको अनुभव चखाउने कि?  सबै केक खादा खानै नपाएको जस्तो पाखे देखिएला। आफ्नो आन्द्रा भुँडी सबै खोली हाल्दा भोलि ईज्यत नपाइएला। भोलि बाटै टाउकोमा टेक्ली समीक्षा ले। कुरो बिग्रेला आदि।

 

उक्त अवस्थामा तपाइमा रहेको नियो-कर्टेक्सले लिम्बिक ब्रेन लाई रोक्दै अर्को धारणा बनाउँदछ। हे पख। बुद्धिले काम लिऊ। समीक्षा सोभर टाइपको महिला हुन। समीक्षा लाई आफ्नो प्रेम बारे बुझ्ने मौका देऊ। उनको लागि केही समय दिएर उनको कुरा, भावना र चाहना सुन।

 

एक आपसमा माया मौलाउन दिएर मात्र उनीसँग अँगालो मारी हिँड्ने वातावरण बनाऊ। माया प्रीति अलि गहिरो नबनी आजै, अहिले नै यसरी घ्याप्प अँगालो मारेको समीक्षा लाई मन पर्ने छैन। उनले मैले प्रेम हैन वासनाले उनीलाई चाहेको महसुस गर्न सक्छिन।

 

उनको प्रस्ताव अस्वीकार गर्नुले उनीलाई दुखित तुल्याउने छ। उनको ध्यान आफूतर्फ तान्न धेरै मिहेनत गरे पनि उनले जस्तो सिधै मित्रताको प्रस्ताव मैले कहिल्यै उनलाई गरिन। मेरो मनको कुरो यही छ भनी कसरी उनले निश्चय हुन सक्छिन?

 

अर्को कुरो जब उनी मलाई ध्यान दिन थालिन, हुन सक्छ अरूले थाहा नपावोस भनी सामाजिक सञ्जालमा मलाइ अनफलो पो गरेकी हुन कि।

 

चिज केक जति स्वादिष्ट रहे पनि स्वस्थको हिसाबमा बढीमा एक टुक्रा भन्दा धेरै खानुको थुप्रै बेफाइदा हरू छन्। बचेको फ्रिजमा राखी हप्ता भर लगाएर खानु राम्रो । अहिले उनको प्रस्ताव स्विकारी एक टुक्रा चिज केक खाने र उनलाई एक चुम्बन दिनु सान्दर्भिक हुने छ।

 

तेती बेला रेप्टेलियन ब्रेन भन्छ,  हुन्छ हुन्छ प्रेम पूर्ण स्वीकार्य छ भन, ठुलो चाहिँ टुक्रा केक खाऊ, अनि ओठमै चुम्बन पनि गरिदेउ।

 

तर यथार्थमा सम्भबत: उक्त अवस्थामा त्यहाँ तपाइले अनायास समीक्षालाई यति राम्रो सुन्दर प्रस्तावको लागि धन्यवाद भन्नु हुने छ। एक टुक्रा चिज केक उनलाई आधा टोक्न दिएर आधा आफूले खानु हुनेछ। उनको हातमा चुम्बन गर्नु भई पुनः भेट्न डेटिङको निश्चय गर्नु हुने छ। बिस्तारै तपाईँहरू युगल जोडी बन्ने तर्फ अघि बढ्नु हुनेछ।

 

समग्रमा मस्तिष्कका तीन भागहरू आफै एक अर्काको सहयोग बिना स्वतन्त्र रूपमा काम गर्न सक्ने अवस्थामा रहदैनन। तिनीहरू अत्यन्त जटिल निउरोनको संयन्त्रबाट एकापसमा सम्बन्ध स्थापित गरी बसेका हुन्छन। एकले अर्कालाई प्रभावित गरी आपसी सह-कार्यहरू मार्फत जीवनका दैनिक गतिविधिहरू सञ्चालन गरि सक्रिय अस्तित्वमा रहने गर्छन।

 

मानिसले आफ्नो दिमागमा रहेका यिनै तिन वटा भागको समय अनुकूल सदुपयोग गरेर मात्र आफ्नो जीवन लाई मानवीय जीवन बनाउन सक्छ। अन्यथा उसको जीवन कि त दानव रूपी कि पशुवत बन्न पुग्छ।

 

संसार बाट मानवता हराउँदै गएको वर्तमान परिस्थितिमा मानिसलाई मानवीय व्यवहारमा कायम राखी राख्न उसको समग्र रेप्टेलियन, लिम्बिक र नियो-कर्टेक्स ब्रेन लाई स्वस्थ राख्न जरुरी छ। समग्र ब्रेन लाई स्वस्थ राख्न हामीलाई उचित पोषण, व्यायम र जीवन पद्धतिको जरुरी हुने गर्छ।

नियो-कर्टेक्स ब्रेन लाई उन्नत रूपमा विकास गरी सक्रिय बनाएर मानिसले आफूलाई दक्ष मानवको रूपमा विकास गर्न सक्छ। जसको लागि आज संसारमा उपलब्ध योग, मेडिटेसन र हिलिङ्ग फुड अत्यन्त सहयोगी बन्ने भेटिएको छ।

 

(लेखक घिमिरे क्यानेडियन खाद्य तथा औषधि विज्ञ हुन)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE

%d bloggers like this: