मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

बेलपत्र किन भगवान् शिवको सबै भन्दा मनपर्ने प्रिय चीज हो ?

अथर्ववेदाचार्य नारायण नारायण नारायण।

हाम्रा पौराणिक कथाहरू अनुसार एक समयमा नारद मुनिले शिवलाई सोधे तपाईँलाई मन पर्ने यस संसारका सबैभन्दा प्रिय चीज कुन हो? शिवको उत्तर थियो भक्ति तथा बेल पत्रको सामूहिक रूप। कुनै पनि मानिसले अरूलाई दिन सकिने सबैभन्दा किमती चिज भनेको अर्थात् उपहार भनेको भक्ति अर्थात् मन देखिको सम्मान हो।  शिवपुराण २.१.१२ मा पूजाको औपचारिक पद्धतिको वर्णन गर्ने क्रममा  साँचो ज्ञानको (vijñāna) आधारमा अन्तस्करण बाट पैदा हुने आस्था, विश्वास र भरोसा लाई भक्ति भनिन्छ।

 

विषय बस्तु बारे पूर्ण ज्ञान प्राप्त गरी त्यसबारे पैदा हुने भक्तिको श्रोत लाई वेदमा शक्ति भन्ने गरिन्छ। शास्त्रमा उल्लेख भए अनुसार विषय बस्तु बारे पूर्ण ज्ञान प्राप्त गरी भक्ति प्रकट गर्ने कम्तीमा नौ (नवङ्ग) तरिकाहरू हुन सक्दछ। सुन्ने (श्रवण), प्रशंसा गर्ने (कीर्तन), सम्झना गर्ने (स्मरण), सेवा गर्ने, सम्पूर्ण रूपमा लिन हुने वा आत्म समर्पण गर्ने (दास्य), पूजा गर्ने (अर्चना), अभिवादन गर्ने (वन्दना), मित्रता राख्ने (सख्या) र समर्पण भाव (अर्पण) दर्साउने।

 

हाम्रो बोलीचालीमा बोलिने शक्ति शब्दको शक्तिले पार्वती लाई जनाउने गर्दछ। असिद्ध लाई सिद्धिको रूपमा उत्पादन गर्ने यस्तो क्षमता जस लाइ अनुभवजन्य विधिहरू द्वारा व्यक्त गर्न सकिँदैन तर त्यो ब्रह्माण्डको उपस्थितिको प्रभावकारी भौतिक कारणको रूपमा रहेको छ त्यसलाई शक्ति भन्ने गरिन्छ। शक्ति समग्र प्राकृतिक ऊर्जा हो। वैदिक भाषामा ऊर्जा लाई शक्ति भनिन्छ।

 

सामान्य बोलीचालीमा शक्तिलाई पार्वती तथा शिवको अर्धाङ्गिनी भनी चर्चा गरिन्छ। शास्त्रमा उल्लेख भए अनुसार पार्वतीले शिव तत्त्व (परमात्मा) बारे पूर्ण ज्ञान प्राप्त गरी नवङ्ग भक्ति दर्साएर नै शिव तत्त्व अर्थात् दिव्य निर्माण वीज परमात्मा (जसलाई चेतना समेत भनिन्छ) प्राप्त गरिन भन्ने गरिन्छ।

कथा अनुसार  भगवान् शिवलाई बेल पत्र चढाउने व्यक्तिले मोक्ष प्राप्त मार्ग भेट्टाउने गर्दछ। उसलाई मृत्यु पश्चात् शिव लोकमा पुग्ने बाटो सहज बन्दछ। नारदका अनुसार पार्वतीले समेत एक दिन शिवलाई तपाईँ बेलपत्रलाई किन यति धेरै माया गर्नुहुन्छ भनेर सोधिन्। त्यसको जवाफमा शिवले बेलपत्र ऋग्वेद, यजुर्वेद र अथर्ववेदको प्रतिनिधित्व हो भन्ने उत्तर दिएको सुन्न पाइन्छ।

 

प्राचीन समयमा लेखन पद्धति विकास नहुँदै गर्दा आर्यहरूलाई साम-गान मार्फत ऋग्वेदका ऋचाहरू कण्ठस्थ गर्न सहयोग पुगोस् र पूजा अर्चना समेत गर्न सकियोस् भन्ने उद्देश्यले विकसित गरिएको सामवेद गीत-सङ्गीत प्रधान वेद हो। ऋषिहरू द्वारा सङ्कलित विशिष्ट मन्त्रहरू गायन पद्धतिको रूपमा विकास गर्न तत्कालीन ऋषिहरूले समस्त स्वर, ताल, लय, छन्द, गति, मन्त्र, स्वर-चिकित्सा, राग नृत्य मुद्रा, भाव आदि विकास गरे। गीत-सङ्गीत प्रधान सामवेद तैयार गर्नुको उद्देश्य सफल पारे। सामवेदमा संलग्न मन्त्रहरूले वैदिक ऋषिहरूलाई वैज्ञानिक सत्यताको असीमित ज्ञान रहेको र त्यसको जानकारी आधुनिक वैज्ञानिकहरूलाई धेरै शताब्दी पछि प्राप्त हुन सकेको प्रमाणित हुने गर्दछ।

 

आकारको दृष्टिले चार वेदहरूमा सबैभन्दा सानो सामवेद संहितामा रहेका १८७५ मन्त्रहरूमा १५०४ मन्त्र ऋग्वेदको र १७ मन्त्र अथर्ववेद र यजुर्वेदका मन्त्रहरु  रहेका छन्। त्यसैले  ऋग्वेद, यजुर्वेद र अथर्ववेद साँचो ज्ञानको (vijñāna) प्रतीक हो।

 

हरेक व्यक्तिको जीवनको संयोजन गर्ने परमात्माको अंश रुपी आत्माले (जसलाई चेतना समेत भनिन्छ) जब व्यक्तिले साँचो ज्ञान प्राप्त गरेको अवलोकन गर्ने अवस्था आउँछ तब त्यस व्यक्ति लाई ज्ञानी भनिन्छ। ऋग्वेद, यजुर्वेद र अथर्ववेदले (बेलपत्र) सामूहिक ज्ञानको प्रतिनिधित्व गर्दछ। अन्तस्करण बाट पैदा हुने आस्था, विश्वास र भरोसा व्यक्त गर्ने उपायको रूपमा रहेको सामवेदले  भक्तिको (अर्थात स्वयं पार्वती) प्रतिनिधित्व गर्दछ।

 

वैदिक चिकित्सा विज्ञान अन्तर्गतको आयुर्वेद र अथर्ववेदमा बेलको पातका (बेल पत्र) धेरै औषधीय र रोगको उपचार गर्ने गुणहरूको चर्चा भेटिन्छ। बेलका फलफूल, बोक्रा, पात, बीउ र जरामा भेटिने कऊमारिन, जेन्थोटोक्सोल, इम्पेरेटोरिन, एजेलिन र मार्मेलिन जस्ता बायोएक्टिभ यौगिकहरू एन्टिडायबेटिक, एन्टिक्यान्सर, एन्टिफर्टिलिटी, एन्टिमाइक्रोबियल, इम्युनोजेनिक र कीटनाशक गतिविधिहरू प्रदान हुने गर्दछन्। ज्वरो, पखाला र पेट फुल्ने उपचारको लागि आयुर्वेदिक उपचारमा प्रयोग हुने दश मुलामा समेत हुने बेलको बोक्रा ज्वरो र खोकीको उपचारमा र कलिलो पातको सलादको रूपमा प्रयोग हुने गर्दछ।

 

उपनिषद र वैराग्य शास्त्र अनुरूप बेलपत्रको तिन पातले सत्त्व, रजस र तमस गरी तिन गुणको सङ्केत गर्दछ। जुन निर्माणको शक्ति ब्रह्मा, नियमित सञ्चालनको शक्ति विष्णु र नयाँ निर्माणको उद्देश्यले गरिने ध्वंसको शक्ति महेश्वरको प्रतिनिधित्व गर्दछ। त्रिभुज रूपको बेलपत्रले शिव भगवानको त्रिशूलका तिन वटा आँखालाई समेत सङ्केत गर्छ पनि भनिन्छ। यथार्थमा त्रि-नेत्रको रूपमा  ब्रह्मा, विष्णु र महेश्वर शक्ति नै बुझिन्छ।

 

हाम्रा पौराणिक कथाहरूमा शीतल प्रभाव दिने क्षमता युक्त बेलपत्र गरम स्वभावका शिव देवताको गरमपन शान्त पार्न उपाय हो भन्दछ। उक्त यथार्थको प्रतीकको रूपमा व्यावहारिकतामा शिव लिङ्गमा बेलपत्र चढाइने गरिन्छ। शिव लिङ्गमा बेलपत्र चढाइने चलन यथार्थमा शिव र पार्वतीको सृष्टिको निर्माणमा रहेको परिपूरकको भूमिका बारे समाजलाई सम्झाउन चलाइएको हो। शिव र पार्वतीको सृष्टिको निर्माणमा रहेको परिपूरकको भूमिकाले यस संसारमा हाम्रो अस्तित्व सम्भव रहेकोमा धन्यता व्यक्त गर्न भक्तिपूर्वक आराधना गर्ने उपायको रूपमा शिव लिङ्गमा बेलपत्र चढाइने कार्यलाई लिने गरिन्छ।

 

हाम्रा माता पिता शिव र पार्वतीको भूमिकामा रहेर प्रकृतिको नियमको बन्धनमा रहेर हामीलाई जीवन दिने, लालन पालन गर्ने र सक्षम मानवको रूपमा हुर्कन र सक्षम बनाउन खेलेको भूमिका बारेमा धन्य बन्न समेत  शिव र पार्वती पूजन जरुरी रहेको वैदिक मान्यता छ।

 

वैदिक कामुकता सम्बन्धको ग्रन्थ कामसूत्र लाई काम शास्त्र भनिन्छ। काम शास्त्र  काम कर्मको अनुशासन वारेको प्रेम देवताको ग्रन्थ हो। वैदिक ग्रन्थहरूले धर्म (अहिंसा पूर्ण प्राकृतिक नियम मैत्री कर्म), अर्थ (धन दौलत), काम ( यौन – आनन्द) र मोक्षका (मोक्ष) उपलब्धिहरूलाई मानव जीवनका बाल्यकाल, युवावस्था र बुढ्यौली गरी तीन भिन्न  भिन्न चरणहरू नियन्त्रण र अनुगमन गर्ने चार आधारभूत लक्ष्यहरूको रूपमा लिने गर्दछ।

 

वात्स्यायानको अवधारणा अनुरूप एक समझदार र धर्मी मानिसले आफ्नो जीवनकालको हरेक चरणलाई बुद्धिमानीपूर्वक अलग कर्ममा आफूलाई संलग्न गर्नुपर्छ ताकि उसले मानवीयताको पूर्ण पालन गर्दै आफ्नो धर्म, धन र शारीरिक सुखको अनुकूल अभ्यास गर्न सकोस्। वैदिक मान्यतामा प्राकृतिक नियम अनुरूप भएको संसारको निर्माण र नियमित सञ्चालनमा कामुकता र यौन क्रीडा सांसारिक प्राकृतिक नियमको नियमित सुचारुताको लागि अनिवार्य पक्ष रहेकोले  मानवीय कर्तव्य पालन गर्ने मानिसले यौन क्रीडामा संलग्न हुन अनिवार्य रहेको मानिन्छ।

शास्त्रीय मान्यता अनुसार शिव र उनकी पत्नी पार्वती बिचको गोप्य प्रेम सम्बन्धका क्रममा शिव पार्वतीले उपयोग गरेको  वास्तविक तौर तरिका मध्येका जीवन मैत्री तौरतरिकामा आधारित रहेर शिवले आफ्नो द्वारपाल नन्दीलाई (गोरु) कामसूत्र सिद्धान्तको खाका बताए। त्यसैलाई  मानव प्रजनन र कल्याणको लागि मानवमा हस्तान्तरण गर्ने प्रयोजनले साँढेको कथनको आधारमा प्रजापतिले कामसूत्रका दश हजार अध्यायहरूमा विभक्त गरी पाण्डुलिपि तैयार गरे।

 

उक्त  पाण्डुलिपि लाई भगवान् शिव आफैले एउटै अभिलेख अन्तर्गत सङ्कलन गरी दर्शनका शिक्षक रहेका ऋषि उद्दालकका छोरा श्वेतकेतु मार्फत पाँच सय अध्यायमा सङ्कुचित गर्न भनियो। त्यसलाई वात्स्यायानले संस्कृत भाषाको कामसूत्रको रूपमा लिपिबद्ध गरे। वात्स्यायानको कामसूत्र अनुरूप शिवको यौनाङ्गको प्रतीक शिव लिङ्गको लागि सबैभन्दा उपयुक्त उपहार पार्वतीको यौनाङ्गको प्रतीक बेलपत्र हुने कुरा अत्यन्त प्रासङ्गिक र उपयुक्त नै देखिन्छ।

 

बेलपत्र रुपी पार्वतीको निजी यौन अङ्ग भगवान् शिवको संसारकै सबै भन्दा अधिक प्रिय चीज समेत रहेको मान्यता अनुरूप वैदिक परम्परामा पुरुष यौन अङ्ग भन्दा नारी यौन अङ्ग अत्यन्त धेरै परिपूजित मात्र हुने गरेको  छैन पुरुष यौन अङ्ग भन्दा नारी यौन अङ्गको अत्यन्त धेरै सम्मान जनक अङ्गको स्थान रहने गरेको छ। जसलाई सम्मान बापत अत्यन्त किमती चिजको रूपमा हरदम गोप्य समेत राख्ने गरिन्छ।

 

महाकालीले तामस वा जडताको शक्ति समेतको प्रतिनिधित्व गर्दछिन्। किनकि यो यस्तो अव्यक्तताको अचल अवस्था हो जस वाट सम्पूर्ण चल वान व्यक्त ऊर्जा पैदा भएको छ। महाकाली यथार्थमा शक्तिको सर्वोच्च तह अर्थात् दुर्गा शक्तिको स्रोतको प्रार्थना गर्ने व्यवहारिक प्रयोजनको लागि खडा गरिएको पहिलो पर्व अथवा प्रतिमाको नामकरण हो।

व्यवहारिक रूपमा भन्नु पर्दा समय, चेतना र वास्तविकताको (time, consciousness and reality)  समग्र रूपलाई वेदले महाकाल भन्दछ। महाकाली महाकालको पत्नी हुन। शिवको पूजा महाकालको रूपमा समेत गरिन्छ। शिव महाकालको (महेश्वर) भूमिकामा रहँदा पार्वती मृत्युकी देवी महाकाली वा कालिकाको रूपमा हुन्छिन्। जसमा समय, चेतना र वास्तविकता आश्रित रहन्छ। कतिपय सन्दर्भमा काली मृत्युकी देवी हुन् भन्ने गरिन्छ। जुन आंशिक रूपमा सत्य पनि हो।

 

यथार्थमा कालीले अज्ञानताको अवस्थामा वास्तविकताको उजागर गरी भ्रमले पैदा गर्ने आत्म केन्द्रित दृष्टिकोणको अर्थात् अहङ्कार (EGO) को मृत्यु गरिदिन्छिन्। अहङ्कार वाट मुक्ति मिलेको मानिस हिजोको आफूभन्दा आज धेरै सुधारिएको आफू वनेको हुन्छ। शरीर मर्ने आत्मा नमर्ने मान्यता बोकेको वैदिक विज्ञानमा अज्ञानता वाट ज्ञानको कोठरीमा पुगेको अवस्थालाई व्यक्तिको पुनर्जन्म भनिन्छ।

शिव र कालीले दुवैले अहङ्कारको भ्रम हटाएर मोक्ष प्रदान गर्नुहुन्छ।

 

भ्रमवश अझै पनि हाम्रो समाजमा कालीले रक्तबीजको नाश गरिन भन्ने गलत बुझाई रहेको भेटिन्छ। रक्तबीजको नाश कालीले नभएर चामुण्डाले गरेकी थिइन। कालीको स्वभाव राक्षसी / आसुरी छैन। ऊनी त परम-ब्रह्मा हुन। माता काली श्रीकृष्णप्रति समर्पित छिन् । उनी एक वैष्णवी हुन् । ऊनले कृष्णको कृपाले आफ्नो कालो रङ्ग प्राप्त गरेकी छिन्। माता कालीले साधक अर्थात् ज्ञानको प्राप्तिमा लागेका हरूलाई ज्ञान मार्गको नेतृत्व दिनु हुन्छ। अज्ञानताको अन्धकारमा ज्ञानको उज्यालो ल्याइदिएर अवास्तविकताको पर्दा हटाएर वास्तविक यथार्थको ज्ञान उपलब्ध गराई हामीलाई अमरता उन्मुख गरिदिनु हुन्छ॥

 

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते।।

 

(अथर्ववेदाचार्य लेखक नारायण नारायण नारायण क्यानडामा खाद्य तथा औषधि विज्ञको रूपमा कार्यरत छन्।)

138Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: