मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अष्ट चिरञ्जीवीहरू !!

अथर्ववेदाचार्य नारायण नारायण नारायण।

भूमिका:

वैदिक ज्ञान अनुरूप संसार पृथ्वी तत्त्व, वायु तत्त्व, अग्नि तत्त्व, जल तत्त्व र आकाश तत्त्व गरी पन्च तत्त्व निर्मित छ। पन्च तत्त्वमा मन, बुद्धि र अहङ्कार र आत्मा मिलेर तपाइको शरीर पूर्ण हुन्छ। आत्मा भने परमात्माको सानो अंश हो। प्रचलित वैदिक मान्यता अनुसार अष्ट चिरञ्जीवीहरू जीवित मासु र रगतको संरचनामा कैद रहेरै कलियुगको अन्त्य सम्म जीवित रहने गरी हाम्रै संसारमा नियमित रहिरहेका छन्। चिरञ्जीवी शब्दले “लामो” र “बाँच्ने” अर्थ दिन्छ। लामो आयु भएको भन्ने लाग्दछ। वैदिक मान्यताको कसीमा उक्त शब्दले कल्पको अन्त्य सम्म बाँच्ने मानवीयताको गुण-दुर्गुण भन्ने तर्फ सङ्केत गर्दछ।

 

वैदिक मान्यतामा संसारका भएका सबै चिजहरू फरक फरक रूपको सूचनाको भण्डार हुन्। कुनै सूचना व्यक्त छन्।  कुनै अव्यक्त छन्। व्यक्त र अव्यक्त सबै प्रकृतिको सूचनाहरू बारे आंशिक वा पूर्ण रूपमा महसुस गर्न सकिने तत्वलाई चेतना भनिन्छ। सूचनाको भण्डारको रूपमा रहेको कुनै चिज जसमा आफूमा भएको सूचना भए वारेको ज्ञान प्राप्त गर्ने तत्व चेतना हुन्छ त्यसलाई वैदिक अवधारणामा जीवित वा अमर-आत्मा बोकेको तर सीमित समयको सजीव मायावी चिज भनिन्छ। आत्मा आफै व्यक्तिको चेतनाको रूप हो। आत्मा जब सामूहिक चेतना संग मिसिन्छ, तब त्यो विश्वव्यापी चेतना वा परमात्मा बन्दछ।

 

वैदिक ज्ञानको चुरो बुझाइमा सूचनाको भण्डारको रूपमा रहेका सजीव चिजले आफ्नो पुस्तामा नियमित आफ्नो सूचनाको बास्केट हस्तान्तरण गर्दछ। विज्ञानको भाषाको आनुवंशिक सूचना लैजाने आरएनए र डिएनए जस्ता संरचना मार्फत नै सजीव चिजले आफ्नो पुस्तामा आफूमा अन्तर्निहित सूचना हस्तान्तरण गर्ने  गर्दछ। त्यो बाहेक आफ्नो जीवनकालमा आफ्नो अनुभूति, अनुभव र विश्लेषणको आधारमा मानिसले नयाँ नयाँ सूचना प्राप्त गरी आफ्नो चेतना विस्तार गर्दछ।  विस्तारित चेतना क्रमशः आनुवंशिक सूचनाको बास्केटमा नियमित सञ्चित हुने गर्दछ।

 

अघिल्लो सन्ततिले पछिल्लो सन्ततिमा हस्तान्तरण नियमितको परिष्कृत सूचनाले नयाँ पुस्ताको चुरो मान्यता विकास गर्ने हुँदा नयाँ पुस्ता क्रमिक रुपमा झन् नैतिक हुँदै जाने वा अनैतिक हुने भन्ने निश्चय हुने हुँदा त्यसले परिवर्तित पुस्ताले समाजमा स्थापना गर्ने मानवीयताको हदको निर्धारणमा भूमिका खेली दिन्छ। समय क्रममा हुने परिवर्तनमा कुनै मान्यता विना प्रभाव नियमित रहने, सकारात्मक बन्ने र नकारात्मक समेत जस्ता तिन प्रमुख सम्भावनाहरु हुन्छन। परिवर्तनको क्रममा जब नकारात्मकताको अधिकता तिर परिस्थिति अघि बढ्छ, त्यसले अधर्म र अन्याय जन्माउने गर्दछ।

 

अवधारणाको औचित्य:

मानव भूमिका प्रमुख रहेर नकारात्मकताको अधिकता तिर परिस्थिति अघि बढ्ने खतराको उपचार भनेको मानवीयताको पुनर्स्थापना हो। जब कुनै परिस्थितिको सिर्जनामा मानव भूमिका प्रधान हुन्छ त्यो समयमा पुनः सक्रिय मानवीयताको जरुरत पर्दछ। कतिपय अवस्थामा मानवीयता स्थापना आमूल परिवर्तन अर्थात् पुरानो संरचना वा सिस्टम वा मान्यता  विखण्डन गरी नयाँ निर्माण बिना सम्भव रहँदैन।  नयाँ निर्माणमा समेत मानवीयता जरुरत हुन्छ।

 

वैदिक अवधारणामा त्यही उद्देश्य पूर्तिको लागि जब सम्म मानिसको अस्तित्व रहन्छ तब सम्म कम्तीमा आठ मानवीयताको पक्ष कहिल्यै नमर्ने चिरञ्जीवीको रूपमा अस्तित्वमा रहन्छ। जसको सदुपयोग वाट मानिसले आफैले दानवी करण गरेको समाज र परिस्थिति लाई तिनीहरूको उपयोग गरी मानवीयताको स्थापना मार्फत दैविक आशीर्वाद प्राप्त समाज र वातावरणमा समाजलाई पुर्‍याउन सक्दछ। यसरी वैदिक अवधारणा अन्तर्गत अष्ट – चिरञ्जीवीको अवधारणा अघि बढेको भेटिन्छ।

 

उल्लेखित जटिल मानवीय पक्षहरू हाम्रा पुराना कथाहरू र वैदिक साहित्यमा आठ पात्र र प्रवृत्तिको रूपमा चर्चा गरिएको छ। जसको नियत समाजमा सहज रूपमा मानवीयताको आधारभूत पक्षमा अन्तर्निहित भएको सूचना र नैतिक बलको सन्देशहरू सम्प्रेषण गर्ने रहेको छ।

 

पृथ्वीमा कहिल्यै नमर्ने कम्तिमा आठ अमर चिरञ्जीवीहरू रहेका छन्। नामको आधारमा तिनीहरू अश्वत्थामा, व्यास, महाबली, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र  मार्कण्डेयको परिचय वाट चिनिने गर्दछन्।

 

अश्वत्थामा बलिर्व्यासो हनूमांश्च विभीषण:।

कृप: परशुरामश्च सप्तएतै चिरजीविन:॥

सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम्।

जीवेद्वर्षशतं सोपि सर्वव्याधिविवर्जित।।

 

मन्त्र भन्दछ “अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम सात चिरञ्जीवी हुन्। उल्लेखित सात चिरञ्जीवी सहित मार्कण्डेय ऋषिको कर्मको मर्म स्मरण सहित जप (आफूलाई समेत अनिवार्य रूपमा त्यस्तै कार्यमा समर्पित गर्ने बाचा जुन व्यवहारमा अनिवार्य उतार्ने गरिन्छ) गर्नाले मानिसले आफूलाई स्वस्थ  राख्न सक्दछ। उसले दीर्घायु प्राप्त गर्दछ”।

 

हनुमान:

वायु पुत्र भनेर चिनिने हनुमानलाई दुष्टता मिटाउने शक्ति मानिन्छ। भक्ति, निर्दोषता, शक्ति र बुद्धिको प्रतिनिधित्व गर्न हनुमानको उदाहरण लिने गरिन्छ। आफ्नो उत्तम कर्म पश्चात् समेत हनुमानले मोक्ष खोज्नुको सट्टा कर्मशील रहने पथ रोजे। चिरञ्जीवी बने। द्वापर युगमा भएको मानिने महाभारतमा हनुमानका कृतिहरू उल्लेख छ। जहाँ जहाँ आदर्श महापुरुष रामको उल्लेख हुन्छ त्यहाँ कर्मशील हनुमानको नाम रामको भक्तिको रूपमा भेटिने गर्दछ।

 

वेदको सारांशको रूपमा रहेको श्रीमद भागवत गीताले हामीलाई जीवनमा आइलाग्ने जटिलताहरू संग कसरी व्यवहार गर्ने भनेर सिकाउँछ। भागवत गीता २.४७ मा कस्तो नतिजाहरू आउला भन्नेमा न अल्झिएर आफ्नो कर्ममा केन्द्रित हुन र आफूलाई कहिल्यै निष्क्रिय रहने कार्यमा संलग्न नगर्न सल्लाह दिन्छ। गरिएका कर्मका परिणामहरूको नतिजा प्राप्ति आफ्नो प्रयासमा मात्र निर्भर नहुने र नतिजा प्राप्त नहुनुको कारणहरू कहिल्यै थाहा नलाग्ने हुँदा अनिश्चित नतिजाहरूको चिन्ता नगरी आफ्नो निश्चित कर्ममा केन्द्रित हुने खुबीले आफ्नो अपेक्षा अनुसारको नतिजा नआउँदा समेत तपाइलाई पीडा दिने छैन। हनुमानको सत्य, समर्पण, इमानदारी र अनुशासनको गुण हरेक समय तपाइको लागि उपलब्ध चिरञ्जीवी गुणको विकल्पको रूपमा यहाँ प्रस्तुत भएको छ।

 

अश्वत्थामा:

जन्मँदै निधारमा अमूल्य मणि लिएर जन्मेका अश्वत्थामा लाई उक्त मणिले दैत्य, दानव, हतियार, रोग, देवता, सर्प आदिबाट सुरक्षा गर्दथ्यो। उक्त मणिले अश्वत्थामालाई वृद्धावस्था, भोक, तिर्खा र थकानबाट पनि बचाउने गर्दथ्यो। भगवान् शिवबाट प्राप्त भएको त्यो शक्तिशाली दिव्य रत्नले अश्वत्थामालाई लगभग अजेय र अमर बनाएको थियो।

 

द्वापर युगका प्रसिद्ध गुरु द्रोणका छोरा, दुर्योधनका प्रिय मित्र अश्वत्थामाले तीन वटा अक्षम्य अपराध गरे। एक योद्धा रहेर अन्यायपूर्वक रूपमा १६ वर्षको बालक अभिमन्युलाई मारे। युद्ध समाप्त भएपछि निद्रामा रहेका द्रौपदीका छोराहरू अर्थात् पाँच उपपाण्डवहरूलाई मारिदिए। बालक हत्या, निश्शस्त्रलाई गरिएको गरिएको हत्या र निद्रामा पूर्व जानकारी बिना झुक्काएर भएको हत्या।

 

कृष्णले एक विद्यवान अश्वत्थामाको त्यस्तो प्रकृतिको अक्षम्य अपराधको दोष कहिल्यै माफ हुन नसक्ने भन्दै उनले कहिल्यै सांसारिक दुख पार गर्ने छैनन् भनी जीवन भर जिएर दुःख कष्टको (सफ़रिङ्ग) अनुभूति गर्न पर्ने श्राप दिए। जसले गर्दा आठ चिरञ्जीवी मध्येको एक नकारात्मक शक्ति रुपी चिरञ्जीवीको रूपमा अमरता प्राप्त गरे।

 

गीता १६.२१ अनुसार व्यक्ति जतिसुकै शक्तिशाली वा प्रभावशाली किन नहोस् उसको जीवनका पतन र आत्म-विनाशका तिन प्रवेशद्वारको रूपमा वासना, लोभ र क्रोध: अस्तित्वमा रहने गर्दछ। व्यक्तिको मनमा उब्जने सबै खाले लालसाहरू वासना हुन्। वासनाले लोभलाई निम्त्याउँछ। लोभले तपाईँको अतृप्त चाहना व्यवहारिक रूपमा पूर्ति गर्न सम्भव हुने भन्दा अत्यधिक धेरै बनाइदिन्छ। वासनाको अतृप्ति क्रोधमा परिणत हुन्छ। क्रोधले मनको शान्तिलाई नष्ट गर्दछ। मन र चेतना बिचको सन्तुलन बिगारी दिन्छ। बदलाको भावना आदिको विकास गरिदिन्छ।

 

मानव जीवनमा लगभग सम्पूर्ण समस्याको मूल कारण पनि यिनै हुने गर्दछ।  त्यस्तो परिस्थितिको नतिजा व्यक्तिले आत्म पतन र स्वयंको विनाश मात्र हुने गर्दछ। समय र परिस्थितिले क्रोधित र अहङ्कारी बन्न पुगेका अश्वत्थामाको गुण हरेक मानिस आफ्नो जीवनको कुनै पनि मोडमा अँगाल्न सक्ने नकारात्मक गुणको रूपमा सदैव उपलब्ध रहेको हुन्छ। त्यसबाट बच्न जरुरी रहेको सङ्केत गर्न अश्वत्थामा गुण अर्को चिरञ्जीवी गुणको रूपमा लिइएको छ।

 

विभीषण:

रावणका कान्छो भाइ विभीषणले रामायणमा आफन्त अर्थात् हाम्रो र आफूलाई राम्रोको पक्षमा नरहेर धर्मको पक्षमा युद्ध लडे। युद्ध पश्चात् उनलाई  लङ्काकामा न्याय कायम राख्दै मानिसहरूलाई धर्मको बाटोमा डोर्‍याउने उद्देश्य प्राप्तिको खातिर आफ्नो कार्य गरे। उनको त्यही विशेष कार्यको लागि उनलाई एक चिरञ्जीवीको रूपमा अमर रहने वरदान प्राप्त भयो।

 

गीता १६.२१ ले तपाईँलाई आफ्नो मन सागर जस्तै स्थिर राख्नको लागि सल्लाह दिन्छ। नदीहरू समुद्रमा हरेक दिन चौबिसै घण्टा निरन्तर मिसिई रहेका हुन्छन्।  बगेर निरन्तर आफूमा मिसिन आउने नदीहरूले ल्याउने फोहर वा शुद्धता एवं थप पानी बाट समुद्र विचलित नभई आफूलाई स्थिर राख्दछ। समुद्रमा आउने नदीको पानी जस्तै तपाइको मनमा समेत हरेक क्षण अनन्त:  राम्रा तथा नराम्रा विचारहरू आउने गर्दछन्। जुन बिलकुल सामान्य प्रक्रिया हो। त्यसमा कुनै चिन्ताको जरुरी छैन।

 

कहिले कहीँ त  मनले निकै आपत्तिजनक नराम्रा र खराब विचारहरू समेत उत्पन्न गरिदिन्छ। लोभी, स्वार्थी, दुष्ट, व्यभिचारी आदि जस्ता नराम्रा र हानिकारक विचारहरू मनमा आए पनि आफ्नो मनलाई जति वेला सागर जस्तै स्थिर राखी तपाईँको लक्ष्यबाट विचलित गर्ने विचारहरूलाई अस्वीकार गर्न सक्नु हुन्छ, यथार्थमा त्यति वेला मात्र तपाइले शान्तिको अनुभूति गर्न सक्नु हुनेछ। प्रलोभनहरू, नराम्रा इच्छाहरूलाई त्याग्न सक्नु हुनेछ। सम्पूर्ण विचारहरू वाट राम्रा बिचारहरू मात्र छनौट गर्न सिक्नु हुनेछ। अभ्यस्त बन्नु हुनेछ।

 

मनलाई आफ्नो जीवन नियन्त्रण गर्न दिन वाट रोकेर तपाईँ आफ्नै हितको लागि कामगर्न आफ्नो दिमागले मनलाई नियन्त्रण गर्न सक्नु हुनेछ। तपाइ तपाइका केवल ती इच्छाहरू मात्र पूरा गर्न ध्यान केन्द्रित गर्ने क्षमता विकास गर्न सक्नु हुनेछ जसले तपाईँलाई जीवनको अन्तिम लक्ष्यमा पुग्न मद्दत गरोस। आफूलाई न्याय र धर्मको पक्षमा उभ्याउन सक्ने विश्वव्यापी मित्रताका प्रतीकको रूपमा रहेका विभीषणलाई आफ्नो मन सागर जस्तै स्थिर राखी राम्रा बिचारहरू मात्र छनौट गर्न सक्षम गुणका महापुरुषको रूपमा चिरञ्जीवी गुणको रूपमा प्रस्तुत भएको छ। हरेक मानिस संग आफ्नो जीवनको मुस्किलको घडीमा समेत सकारात्मकता नै रोज्ने गुण सदैव उपलब्ध रहेको सङ्केत गर्न विभीषण गुण लाई अर्को चिरञ्जीवी गुणको रूपमा चित्रण गरिएको छ।

 

वेद व्यास:

वेदका ज्ञानलाई व्यवहारिक रूपमा प्रस्तुत गरेर धरै मानिसहरू लाई प्रस्ट गर्न सहयोग पुर्‍याउने महाभारत र पुराण जस्ता महाकाव्य लेखे बापत त्यसका लेखक वेद व्यासलाई भगवान् गणेश र विष्णुले अमरताको आसिक दिए। जहाँ जहाँ बफादारी र मानवता रहन्छ त्यहाँ वेद व्यासको उपस्थिति रहने व्यवस्था बन्यो। सबै १८ पुराण र उपपुराण, महाभारत, ब्रह्म-सूत्रहरूको लेखन र सम्पादन गर्ने ऋषि कृष्ण-द्वैपायनलाई वेद व्यास भनिन्छ। चार वेदहरूको सम्पादन गर्न आफ्ना शिष्यहरू लाई उपलब्ध ज्ञानका सामाग्रीहरू चार फरक फरक भागमा बाँडफाँड गरी त्यसको कुशलता पूर्वक सम्पादन गरी भावी पुस्ताका लागि संरक्षण र चिरस्थायी बनाउने कार्य पुरा गरे। त्यस बापत उनलाई वेद व्यास नाम दिइयो। जहाँ वेदको अर्थ ज्ञान (ज्ञान, अन्तर्दृष्टि, पवित्र ग्रन्थ) र  व्यासको अर्थ  ‘संयोजनकर्ता’ वा ‘सम्पादक’ भन्ने लाग्दछ।

 

व्यासले वेदको सम्पादन गर्ने क्रममा अथर्व वेद बाहेकको अन्य तीन वेदहरू मात्र वेदको रूपमा लिपिबद्ध गरिनु पर्ने तत्कालीन ऋषिहरूको राय थियो। चौथो वेद अथर्व वेदमा जादु विज्ञान, ऊर्जाहरू एक रूप वाट अर्को रूपमा परिवर्तन हुने बारेको विज्ञान तथा भौतिक पर्यावरण तथा इकोसिस्टम, स्वस्थ जस्ता ज्ञान सम्बन्धका वैदिक ज्ञानहरू समावेश  थियो।

 

हावा भन्दा गरौँ चिज उड्ने जहाजको प्रविधि, मन्दिरमा ब्याट्री र बिजुली वाट बत्ती बाल्ने, ग्यासको प्रयोगले आगो बाल्ने, अत्यन्त भारी चिज प्रेसर गेज जस्ता प्रविधिको प्रयोगले सहज उचाल्ने आदि जस्ता कुराहरू जादु विज्ञान अन्तर्गत राखिएको थियो। तत्कालीन समयमा मानिसहरूले यसको केही दुरुपयोग गरेको देखिएको थियो।

 

ऋषिहरूमा विज्ञानको दुरुपयोगले संसार विनाश तिर जान सक्ने चिन्तामा थिए। त्यसको बाबजुद वेद व्यासले दुरुपयोग हुने डरमा विज्ञानको विकासलाई रोक्न समाजकै लागि प्रति उत्पादक हुने कुरामा सबैलाई सम्झाउन सके। अथर्व वेदले अन्य तीन वेदहरू जस्तै पवित्र ग्रन्थहरूका रूपमा वेदको रूपमा दर्जा पायो।  वेद व्यासले चार वेदको सफल सम्पादन हुने सुनिश्चित गरे।

 

तत्कालीन समयमा वेदहरू मौखिक रूपमा पुस्ता देखि पुस्तामा हस्तान्तरण हुँदै प्रसारित हुँदै आएका थिए। ऋषि तथा मुनिहरूमा ध्वनिको प्रकृति, उच्चारण गर्दा बोलिने ध्वनिको प्रभाव र प्रस्तुतिको तरिका वेदको अर्थ बुझ्न निकै प्रभावशाली हुने मान्यता राख्दथे। विद्युतीय तथा चुम्बकीय गुणबाट चल्ने मानिसको  विचारहरू, भावनाहरूमा ध्वनिको संसर्गले निश्चय नै फरक किसिमको सूचना र मनोभाव दिने गर्दथ्यो। वेद व्यासले भने वेदको ज्ञान मानव स्मृति मार्फत मौखिक प्रसारणको गरिने विधिले सत्ययुगमा राम्रो काम गरेता पनि नयाँ युगमा मानिसहरूको सीमित मानसिक क्षमतामा पुग्ने, कलियुग नजिकिँदै गर्दा मानव मनको नैतिक क्षमता र मस्तिष्कको स्मरण क्षमता घट्दै जाने सन्दर्भमा मौखिक प्रसारणको विधिले स्थायी नहुने निश्चयमा पुगे।

 

व्यासले महत्त्वपूर्ण सूचना समाजमा पुग्न वाट नै रोकिने सम्भावना रोक्न उचित ठाने। वेद व्यासको चार वेदलाई लिपिमा लेख्ने प्रस्तावलाई तत्कालीन ऋषि मुनिहरूले अस्वीकार गरे। त्यसैले उनले आफूले वेद भन्ने र गणेशले लेख्ने विधि अपनाएर वेदको सम्पादन गर्ने निश्चय गरी गणपतिलाई लेखकको रूपमा नियुक्त गरे। वेद व्यासको त्यो निर्णय वेदको ज्ञान संरक्षण गर्ने महत्त्व पूर्ण कडी बन्यो।

गीता र वेद मानव जीवन विज्ञानका आज सम्म प्रकृतिमा भेटिने मध्येकै सबैभन्दा उत्कृष्ट सत्य ज्ञानको श्रोत रहेको र त्यसलाई जस्तो सुकै प्रतिकुल अवस्था आउँदा समेत  लेखन, सम्पादन र समाजको माग अनुरूप परिवर्तन गरी समेत समाजमा पुर्‍याउने गुण लाई वेद व्यास गुणको चिरञ्जीवी गुणको रूपमा लिइएको छ।  जुन गुण हरेक ज्ञानी र विद्या वान व्यक्तिको लागि समेत अनुकरण गर्न उपलब्ध उत्कृष्ट अवसरको रूपमा यहाँ चित्रित भएको छ।

कृपाचार्य:

कृपाचार्य सम्पूर्ण गुरुहरूका कुलगुरु थिए। अत्यन्त अनुकरणीय गुरुको रूपमा प्रशंसा बोटलेका कृपाचार्यले सबै विद्यार्थीहरू प्रति निष्पक्षताको व्यवहार गर्न सफल बने। त्यसैको कारण उनी चिरञ्जीवी बने।

भगवद गीताको अध्याय १८ श्लोक ६३ मा तपाइले कृष्णको अनौठो व्यवहार भेटाउनु हुने छ। अर्जुनलाई १८ अध्याय सम्मको लामो अर्ति उपदेश दिइसकेपछि भगवान् कृष्णले अर्जुनलाई विवेक प्रयोग गरी आफ्नो इच्छा अनुसार काम गर्न भन्नु हुन्छ। आफ्नो स्वविवेक प्रयोग गर्न सल्लाह दिनुहुन्छ।

आफ्ना प्रिय मित्र अर्जुनलाई भगवान् कृष्णले आफ्नो निर्देशन पालन गर्न बाध्य गर्दैनन्। उल्टो भगवान् कृष्णले अर्जुनलाई सिकाउनु भएका सबै पाठहरूको बारेमा गहिरो रूपमा सोच्न, चिन्तन मनन गर्न र आफ्नो अन्तर आत्माले जे कुरा सही देख्दछ त्यही गर्न सल्लाह दिन्छु भन्नु हुन्छ।

 

गीताको  समग्रमा सन्देशमा एक भक्तको लागि एक गुरुको जति जरुरत हुन्छ त्यो भन्दा कैयौँ धेरै गुणा एक गुरुको लागि आफ्नो शिष्यको जरुरत रहेको प्रस्ट गरिएको छ। हरेक जीवलाई आफ्नो कर्म अनुरूपको फल मिल्ने, व्यक्तिको कर्मले नै उसको भविष्य निर्धारण गर्ने हुँदा कुनै गुरुको आशीर्वाद वा भगवानकै  चाहनाले समेत मानिसलाई मार्न नसक्ने प्रस्ट सन्देश छ।

 

त्यसको अर्थ कुनै गुरुको आशीर्वाद वा भगवानकै चाहनाले समेत कुनै व्यक्ति लाई जिउँदो राख्न समेत सम्भव नरहेको प्रस्ट हुन्छ। व्यक्तिको भविष्य सम्पूर्ण रूपमा उसको कर्म संग मात्र सम्बन्धित रहेको भगवद गीतामा प्रस्ट छ।

 

मानव अस्तित्व बारे अति पक्षपाती रहेका हामी मानवता लाई धरै कडाइका साथ लागु गर्ने प्रयत्नमा हुन्छौ। त्यो समयमा हामी यो कुरा भुल्दछौ कि पृथ्वी माता लाखौँ प्रजातिका करोडौँ करोड जीवहरूको घर हो। हामी न त यस ग्रहको मालिक हौ न त हामी मात्र यस ग्रहमा जीवित अस्तित्वमा छौ। जसरी हामीसँग यस संसारमा बाँच्ने अधिकार छ, त्यसरी नै यस ग्रहमा बाँच्ने अधिकार यहाँ रहेका हरेक प्राणीलाई छ। गीता मार्फत भगवान् कृष्णले हामीलाई ठुला प्राणी देखि सानो सम्म सबै प्राणीलाई समान दृष्टिले हेर्ने निर्देशन दिनुहुन्छ। मानव मानव बिचमा समेत विभेद राख्नु अपराध हो भन्ने सम्झाउनु हुन्छ।

 

अहिंसा, स्वच्छता, एकता, समानता, उदारताको प्रतीकको रूपमा रहेका कृपाचार्य मानव मानव बिचमा, ठुला प्राणी देखि सानो प्राणी सम्म सबै लाई समान दृष्टिले व्यवहार गरी न्याय गर्ने  आदर्श गुरुहरूका कुलगुरु रुपी चिरञ्जीवी गुणको प्रतीकको रूपमा व्यवहारिक जीवनमा हामीलाई  उपलब्ध एक विकल्पको रूपमा यहाँ चर्चा भएको छ।

 

परशुराम:

अनैतिक राजा र शासकहरू बाट संसारलाई मुक्त गर्नको लागि विष्णुको छैटौँ अवतारको रूपमा  परशुरामको जन्म भएको थियो। परशुरामको कठोर तपस्या पछि भगवान् शिवले उनलाई बन्चरो दिनुभयो र युद्ध कौशलमा निपुण गराउनु भयो। योद्धाको रूपमा बदलिएको पहिलो सन्तको रूपमा देखा परेका परशुराम चिरञ्जीवी बने। कलियुगको अन्त्य गर्न भगवान् विष्णुको छैटौँ वा अन्तिम अवतारको रूपमा आउने विश्वास गरिएको कल्कि अवतारको गुरु समेत परशुराम रहने दाबी गरिएको छ।

 

वैदिक अवधारणा अनुसार कुनै पनि मुलुक वा समाजको वास्तविक समस्याको कारक त्यहाँको वातावरणीय सङ्कट, आर्थिक सङ्कट र अन्य कुनै सङ्कट नरहेर नेतृत्वको सङ्कट हुने गर्दछ। मुलुकको  परिस्थिति जस्तोसुकै किन नहोस् त्यस बारे निष्पक्ष रहेर गहिरिएर गरिने विश्लेषणले समस्याको चुरो मूल कारकमा सक्षम नेतृत्वको अभाव भन्ने पत्तो लाग्दछ।

 

जस्तै आज हाम्रो मुलुक किन यति धेरै राजनीतिक रूपमा भ्रष्ट मुलुक बन्यो बन्ने प्रश्नको उत्तर खोज्ने क्रममा धेरै कारणहरू र परिस्थितिहरू औँल्याउन सकिन्छ। त्यसको समर्थनमा विभिन्न तार्किक विचारहरू प्रस्तुत गर्न सकिन्छ।

 

उदाहरणको लागि कमजोर सुशासन, प्रभावहीन कानुन, अपारदर्शिता, अनुशासन हीनता, अनैतिक धनले समेत सामाजिक प्रतिष्ठा कमाउन सकिने नैतिक हराम समाज आदि जस्ता आदि कारण प्रस्तुत गर्न सकिन्छ। गहिरिएर यी सबै कुराको भित्री कारक खोतल्दै जाँदा हरेक परिस्थिति निर्माणको पछाडिको चुरो कारकको रूपमा नैतिकहीन नेतृत्वको देन देखा पर्दछ।

 

भगवद गीता अध्याय तीन श्लोक २१ मा भनिएको छ कि नेताहरूले निष्पक्ष, नैतिक र उदाहरणीय कार्यको मापदण्डहरू तय गर्न सक्दा मात्र तिनीहरूका अनुयायीहरूले (कार्यकर्ता र कर्मचारी तन्त्र) त्यसलाई अनुसरण गर्दछन्। यो शक्तिशाली सन्देशले हामीलाई मुलुकको नेता बन्न चाहिने न्यूनतम योग्यता बारे ध्यानाकर्षण गराउने गर्दछ।

मुलुकको नेतृत्वमा व्यावसायिक नेताहरू होइन मुलुकमा सकारात्मक प्रभाव दिन सक्ने नैतिक र सक्षम व्यक्तिहरू पुग्नु पर्दछ। प्रेरणादायी र मुलुकवासीको प्रिय बनेका व्यक्तिहरूको व्यक्तिगत मूल्य, विश्वास र मनोवृत्ति आफ्नो आदर्शको रूपमा त्यस मुलुकको ठुलो जन सङ्ख्याले अपनाउने हुँदा मुलुक जस्तो नेतृत्वको हातमा पुग्छ मुलुक त्यस्तै बन्दछ।

 

गीता १.३.२० अनुसार हरेक मुलुकको नेतृत्व वर्गले शास्त्र, विषय बस्तुका विज्ञ, मर्मज्ञ, र विद्यावान वर्गको सल्लाह र योजना मुताबिक अनिवार्य रूपमा मुलुकको शासन गर्ने र शासन व्यवस्था सञ्चालनका लागि निर्देशनहरू तैयार गरी जारी गर्ने नीति लिनु पर्दछ । त्यही अनुरूपको  निर्देशन अनुसार प्रशासनिक वर्गले मुलुकको प्रशासन सञ्चालन गर्नु पर्दछ। मुलुकमा  शास्त्र, विज्ञ, मर्मज्ञ तथा विद्यावान वर्गको सल्लाह सुझावहरू नलिने, अपहेलन गर्ने नेता तथा प्रशासक वर्गलाई नेतृत्व र प्रशासकको भूमिकाबाट अनिवार्य मुक्त गर्ने राजनैतिक व्यवस्था हुनु पर्दछ।

 

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।

अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥४-७॥

 

परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।

धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥४-८॥

 

भागवत गीता, अध्याय ४, श्लोक: ७-८ अनुसार समाजमा जब जब धर्म अर्थात् नैतिक मूल्य र मान्यताको क्षय हुन्छ, त्यहाँ सर्वाधिक अधर्म स्थापित बन्छ। उक्त दुर्भाग्य पूर्ण अवस्थाको अवस्थाको उपचार भनेको सामूहिक अनैतिक नेतृत्वको प्राकृतिक क्रूरता मार्फतको विनाश नै हो। असल र मानवीयताको रक्षाको लागि, दुष्टको विनाशको लागि, धार्मिकतालाई दृढतापूर्वक स्थापित गर्नको लागि स्वयम प्राकृतिक शक्ति यो पृथ्वीमा युगौँ युग सम्म सक्रिय अस्तित्वमा रहेको छ।

 

मुलुकमा जब सद्गुण कम हुन्छ, दुष्टताको हाबी हुन्छ, त्यति बेला पुण्य अर्थात् शान्ति सुव्यवस्था स्थापना गर्न, दुष्टको नाश गर्न, असललाई बचाउन प्राकृतिक रूपमै दुष्ट नेतागणहरूको सामूहिक सहभागिता युक्त चरम अनैतिकताको  विरुद्धको वातावरण आफसे -आफ तैयार हुन्छ।  किनकि त्यस्तो दुर्भाग्य पूर्ण संस्थागत अनैतिक नेतृत्वको दुष्टताको नास अपरिहार्य छ।

दुष्टताको अन्त, न्याय, शान्ति, सुरक्षा र अमन चयन मार्फत नैतिक समाजको पुनर्स्थापना कर्ताको रूपमा चिनिने परशुराम गुण हाम्रो समाजमा मानवीय धर्ममा रहेर नैतिक मूल्य कायम गर्दै सत्यको पक्षमा उभिने हरेक जिम्मेवार नागरिकले अनैतिक नेता तथा शासकहरू बाट मुलुकको शासन सत्ता नैतिक र सक्षम व्यक्तिहरूमा पुर्‍याउन वातावरणको लागि आफूलाई सक्रिय सहभागिता गर्नु अनिवार्य रहेको ज्ञान दिन्छ। त्यसको लागि हरेक नागरिक लाई परशुराम गुण एक चिरञ्जीवी गुणको रूपमा सदैव उपलब्ध रहेको समेत स्मरण गराउने गर्दछ।

 

महाबली:

असुर शासक भएता पनि महाबलीको इमानदारिता, पवित्रता र  वैभवता को यति अग्लो उचाइमा पुगिसकेको थियो। उनले आयोजना गर्ने गरेको यज्ञहरूले उनलाई इन्द्रको जस्तै क्षमता प्रदान गर्ने चिन्ताले देवताहरूको राजा इन्द्रलाई आफ्नो प्रतिष्ठा र कार्य क्षेत्र गुम्ने डरको विकास गरिदियो। त्यसैबिच इन्द्रले भगवान् विष्णुको सहायता मागे।

 

एक बाम पुड्के ब्राह्मणको भेषमा महाबलीलाई झुक्काएर विष्णुले उनलाई पातालमा जानुपर्ने परिस्थितिको निर्माण गरे। अर्कोतर्फ, महाबलीले भने आफ्नो बचनमा पक्का रहेर आफ्नो परीक्षणको निष्कर्षसम्म पुग्दा सम्म नम्र र इमानदार रहे। उनको त्यही नम्रता र इमानदारितामा अत्यन्त खुसी भएर भगवान् विष्णुले उनलाई अमरत्व प्रदान गरे। वर्षमा एक पटक आफन्तहरू सँगको जमघटमा उपस्थित हुने अनुमति समेत दिए।

 

गीता २.१४ ले तपाईँलाई यस संसारमा केही पनि स्थायी छैन त्यसैले सहन गर्न सिक्नुहोस् भन्ने अर्ति दिने गर्दछ। जसरी जाडो र गर्मी अस्थायी प्रकृतिका हुन्छन् त्यसै गरी दुख र सुख पनि अनित्य अर्थात् अस्थायी कुराहरू  हुन्। तिनीहरू आउँछन् र जान्छन्। न त मसान घाटमा अग्रिम सूचना दिएर नै लास आइ पुग्छ। न त व्यापार गर्ने थलोमा नै सूचना दिएर ग्राहक आउने गर्दछ। तपाइको जीवनमा समेत कठिन समय कुनै सूचना विना आउने छ। तर याद राख्नुस्, त्यो दिगो प्रकृतिको हुने छैन।  दुख जस्तै सुख समेत अस्थायी प्रकृतिको नै हुने छ। तिनीहरू मात्र समयको खेल हो।

 

त्यसैले जीवनमा प्राप्त हुने सुखले मात्तिने, पात्तिने र दुखले आत्तिने नगर्नु। दुख तथा सुख बाट प्रभावित नभई तिनीहरूलाई सहन गर्न र आफ्नो जीवनको उद्देश्य प्राप्ति बापतको कर्ममा नियमित तल्लीन हुन सिक्नुहोस्। संसारमा मात्र एउटा पक्ष स्थायी छ त्यो हो निरन्तर परिवर्तनको क्रम। त्यसैले सूचना दिएरै आएको होस् वा नदिएर आएको परिस्थिति होस् त्यस बारे चिन्ता नगर्नुहोस्। त्यसको डटेर सामना गर्नु होस्। अहिंसा वादी, विनम्र र इमानदार बलिको गुण हरेक व्यक्तिलाई आफ्नो जीवनको विभिन्न मोडमा जरुरत पर्न सक्दछ। हरेक मानिसको लागि बलि रुपी असुर राजाको गुणको विकल्प रोज्ने अवसर सदैव उपलब्ध रहेको सङ्केत गर्न  बलि रुपी गुणलाई एक चिरञ्जीवी गुणको रूपमा प्रस्तुत भएको छ।

 

मार्कण्डेय

असाधारण क्षमताका ऋषि मृकंदुका पुत्र मार्कण्डेय दैवी र अन्तर दृष्टि क्षमतामा सम्पन्न थिए। मार्कण्डेयले महामृत्युञ्जय मन्त्रको रचना गरे।  महामृत्युञ्जय मन्त्रको अनुरूपको तपस्याले मार्कण्डेयले आफूलाई स्वस्थ र दीर्घायु राख्न सफल बने। जसलाई   कथामा कथालाई रोचक र घोचक बनाउन भगवान् शिवलाई प्रसन्न गरी शिवको वरदानको रूपमा चिरञ्जीवी हुन सकेको भनी चित्रित गर्ने गरिन्छ। अनि भनिन्छ आफ्नो जीवनको समय समाप्त बने पछि मृत्युका देवता भनेर चिनिने भगवान् यम उनको प्राण लिन जब आइपुगे, उनले भगवान् शिव संग जीवित रहन प्रार्थना गरे। मार्कण्डेयको भक्तिको कारणले प्रभावित शिवले उनलाई अमरता प्रदान गरे।

 

श्रीमद भागवत गीताको २.२० ले तपाईँलाई  निडर रहन सल्लाह दिन्छ। तपाई भित्रको चेतना न त कहिल्यै जन्मन्छ न यो कहिल्यै मर्छ। मानिस आफ्नो जीवनमा सबैभन्दा ठुलो डरको रूपमा आफ्नो मृत्युको डर लाई लिएर बाच्ने गर्दछ। तपाईँलाई थाहा थाहा छ कि एक दिन तपाइको यो स्थूल शरीर मर्ने छ। तपाईँको चिन्ताले त्यो रोकिने छैन। तपाई भित्रको चेतना करुणा युक्त, निडर, वृद्धावस्था बाट मुक्त र अमर छ। मृत्यु भनेको पुरानो घर रुपी शरीरको मात्र विनाशको अवस्था हो। चेतना सदैव अस्तित्वमा छ र जारी रहनेछ।

 

त्यसैले तपाइले आफ्नो दिमागबाट मृत्युको डर र कुनै कुरा गुम्ने कुराको डर हटाउनुहोस्।  डर र भयले तपाईँले जीवनमा जे सम्पन्न गर्न चाहनुभएको हो त्यसको प्राप्तिमा मात्र अवरोध सिर्जना गर्दछ। जे को करण बात बच्ने चिन्तामा तपाईँ लाग्नु भएको हो त्यसको परिणाम लाई रोक्न सक्दैन। मार्कण्डेयले मृत्युको डरलाई जितेर गरेका तपस्या मार्फत महामृत्युञ्जय मन्त्र रुपी व्यवहारिक उपयोगिता पहिल्याउन सक्ने गुण तपाइको लागि सदैव उपलब्ध चिरञ्जीवी गुणको विकल्पको रूपमा यहाँ प्रस्तुत भएको छ।

 

मार्कण्डेयको महामृत्युञ्जय मन्त्र यस प्रकारको छ।

ॐ हौं जूं स: ॐ भूर्भुव: स्व: ॐ

 

त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्

उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात्

 

ॐ स्व: भुव: भू: ॐ स: जूं हौं ॐ !!

 

महामृत्युञ्जय मन्त्र मन्त्रको सरल अर्थ हो “म तीन आँखा भएका (त्रिकाल दर्शी), मेरो हरेक सास मार्फत ममा प्राण शक्ति प्रवाह गर्ने (आत्मा वा चेतनाको श्रोत), सारा संसारलाई जागृत राख्ने (पाल्ने अर्थात् पालन, पोषण, संरक्षण र संवर्धन गर्ने) भगवान् शिवको अटुट आशीर्वाद प्रति आफूलाई धन्य सम्झन्छु”।

 

मननमय पक्ष:

वैदिक अवधारणा अनुरूप महामृत्युञ्जय मन्त्र “ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय माऽमृतात्” संस्कृतको ३३ अक्षरहरू वाट वनेको छ। जसले ३३ देवता (देवी-देवताहरू) लाई जनाउँछ।

 

व्यक्ति वा समाज लाई कुनै पनि प्रकारले लाभ पुराउन सक्ने गुण भएको पदार्थ वा व्यक्तिलाई देव गुणी मान्दछ वेद। जस्तै आफ्नो ज्ञान वा गुण वा सज्जनता समाज कल्याणमा लगाउने मानवहरूलाई आदरपूर्वक सम्बोधन गरी देवताको उपाधि दिइन्छ।

 

पृथ्वी, सूर्य, चन्द्र, जल, अग्नि, वायु, माता, पिता, विविध सामाग्री, बृहत् इकोलोजी सम्पूर्ण प्राणी वा वनस्पतिहरूको  ब्रह्माण्ड लाई लाभ कारी हुने गुणलाई देव गुणी वा देवता भनिएको हो। देवता एक कल्याणकारी गुण धारी वाचक उपाधि हो।

 

संस्कृतमा “कोटि” शब्दको प्रसङ्ग अनुसार दुई भिन्न अर्थ लाग्छ। पहिलो सङ्ख्या वाचक करोड, र दोस्रो किसिम वा प्रकार। वेदका अनुसार ब्रह्माण्ड ३३ कोटिका मतलब थरिका (करोड होइन) जड् देवता र एक चैतन्य देवता हुने गर्छ।

 

३३ प्रकारका जड् देवता भनेर देव गुण धारी पदार्थ आठ बसु (जसमा  सूर्य, चन्द्रमा, नक्षत्र, पृथ्वी, जल, अग्नि, वायु र आकाश पर्छ) ११ रुद्र (दस थरिका जीवाणु र सबै जीवाणु जीवित रहन जरुरी हुने जीवात्मा), १२ महिना वा आदित्य, १ यज्ञ अथवा इन्द्र अथवा पानी पर्ने चक्र र १ सामाजिक अभियन्ता वा गुणवान् नेता वा प्रजापति लाई जनाउँदछ।

 

चैतन्य देवता भनेर जीवित प्राणीमा हुने चेतना वा कन्ससनेस लाई जनाउँछ। चेतनशीलता वा चेतना लाई देवताको पनि देवता भनी महादेवको संज्ञा दिइन्छ।

 

कथाको समग्र सार:

महामृत्युञ्जय मन्त्र अनुसार हाम्रो लागि उपलब्ध तेत्तीस देवताहरूको शक्तिको पहिचान गरी तिनीहरूको अनुकूल उपयोगले हामीले आफ्नो शारीरिक, मानसिक र आध्यात्मिक स्वस्थ पुनर्बहाली गरी हामी आफूलाई स्वस्थ राख्न सक्दछौ। महामृत्युञ्जय मन्त्रको सार पछ्याएर आफूलाई स्वस्थ राख्न सक्ने मानिसले जब आफूलाई उल्लेखित सात चिरञ्जीवीहरूले स्थापित गरेको मानवीयताको मूल्य र मान्यतामा आफूलाई निरन्तर कायम गर्न सक्दछ तब ऊ आफै नवौँ चिरञ्जीवी बन्ने छ।

 

मानिसको आफूले आफैलाई चिरञ्जीवी बनाउने कलाको व्यवहारिक व्याख्याको लागि अष्ट चिरञ्जीवीको अवधारणा अघि सार्दै दैनिक जप गर्न अर्थात् त्यसबाट विचलित नहुने प्रण गर्दै गर्दा रुद्राक्षको माला हातमा लिने भन्ने कुराले आफूले उक्त कुराको बाचा गर्दै गर्दा स्वयम् शिवजीलाई नै साक्षी राख्ने गर्नु, अन्य कोही साक्षी खोज्नु पर्दैन भनी भनिएको छ।

 

(अथर्ववेदाचार्य लेखक नारायण नारायण नारायण क्यानडामा खाद्य तथा औषधि विज्ञको रूपमा कार्यरत छन्।)

114Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: