मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

एनआरएनएको दु:ख?

काठमाडौँ। संवाददाता। 2022-03-16.

गएको हप्ता एनआरएनएको केन्द्रमा इतिहासमै नदेखिएको र यसलाई दूरगामी असर गर्ने नाटकहरू मञ्चन भए। एनआरएनएमा एकापसमा कहिल्यै नमिल्ने स्वार्थ समूहको लडाई जहिले पनि देखिने गर्दथ्यो। गएका वर्षहरूमा काँग्रेसको जनसम्पर्क समिति र एमालेको प्रवासी नेपाली मञ्च बिच आफ्नो राजनैतिक समर्थनको पात्र स्थापित गर्न लडाई हुने गर्दथे। यस पटक त दुई फरक ग्रुपका व्यापारीहरू  मद्ये कसले आफ्नो पकडमा एनआरएनए राख्ने  भन्ने  युद्ध देखियो। आफ्नो उद्देश्य पुरा एक आपसमा भिड्न कस्सिएका व्यापारी बिच काँग्रेस वा कम्युनिस्ट नजिक रहेका,  सङ्गठनमा आफ्नो हैकम जमाउने महत्त्व कान्छा बोकेका केही अतृप्त आत्माहरूको पहिचान गरी आफ्नो पक्षमा उतारेर व्यापारिक युद्ध लाई राजनैतिक विवादको रङ्गले पोतेर होली खेल्ने नियत देखियो।

 

एनआरएनए लाई आफ्नो नेतृत्वमा लिन चाहने वर्गले संस्था भन्दा आफ्नो स्वार्थ लाई धेरै महत्त्व दिँदै गर्दा यो संस्था निकै दयनीय स्थितिमा पुगेको धेरै समय भएको छ।  कुमार पन्तको कार्यकालमा उपेन्द्र महतो र जिबा लामिछाने लाई “दही माथि चिनी” समेत टक्र्याउने र शेष घले ग्रुप लाई “पानी पनि”  नदिने प्रवृत्ति सामान्य हदको दायरा भन्दा माथि उक्लियो। त्यस माथि सम्पूर्ण रूपमा स्व-केन्द्रित बहुलट्टीपनमा काम गर्ने नियत बोकेका उक्त संस्थाका महासचिव लाई असनको साँढेको रूपमा खटाएर एनआरएनए वाट कुनैपनि मुल्यमा कुल आचार्य हरूलाई तह लगाउन हरेक विवादको आगोमा सधैँ घ्यु हालेर बस्ने ठेक्का नै दिइएको थियो।

 

शेष घलेको विगतको सबै भन्दा सफल दुई कार्यकालमा एनआरएनए सञ्चालन गर्दा  एनआरएनएका संस्थापक उपेन्द्र महतो र जिबा लामिछाने लाई भूमिका विहीन बनाउने र जातीय गन्ध समेत भित्र्याएर काम गर्ने कमजोरीहरु समेत देखिएका थिए। बाहिर शेष घलेको उक्त व्यवहार वाट उपेन्द्र महतो र जिबा लामिछाने अत्यन्त धेरै बिच्किएको आभास आउँथ्यो। हुन त घलेले उनको कार्यकाल एनआरएनए लाई धेरै जसो दिन मात्र खर्च गरेको प्रस्ट देखिन्छ। केही लिएको देखिएन। तर पनि सायद उनको अचेतन मस्तिष्कको कुनै कुना वाट आएका प्रवृत्तिले ती कुराहरू निम्ताए होलान्। निकै ठुलो तप्काले महसुस गरेको घलेको सानो कमजोरी केही सच्चाउन सक्दा संस्थाकै हित हुने पक्षमा पक्षमा सुधारको लागि उनको कार्यसमितिमा रहेका बद्री केसीले पटक पटक शेष घलेको वाटो छेकेको पनि देखिन्थ्यो।

 

एनआरएनएको केन्द्रीय नेतृत्वमा शेष घले जति पेटमा पप नबोकी आफ्नो कुरा राख्ने र परे भिड्ने छविका कोही कहिल्यै देखिएन। चपाएर कुरा गर्न जरुरी नठान्ने शेष घलेको क्षमता नै उनको कार्यकाल एनआरएनएमा संसारभरको नेपाली बौद्धिकहरू ले विश्वास गर्ने कार्यकाल बनेको थियो। बद्री केसी लाई नजिक वाट चिन्नेहरू बद्री केसी  समेत भएको यथार्थ लाई त्यतिकै प्रस्ट स्विकार्ने, भन्ने, त्यो बापत भिड्ने, प्रस्ट कुरा गर्ने, कसैको दबाब नसहने र जे हो तै गर्ने प्रकृतिका भएको बारे जानकार छन्। घलेको कार्यकालमा घलेको व्यक्तित्व सँग बहस गर्ने अरूको खासै तागत पनि हुँदैनथ्यो। आगो – आगो सँगै लड्नु स्वाभाविकै थियो। घले लाई चुनौती केसी वाट नै आउँथ्यो। जुन स्वाभाविक थियो। घलेले यो कुरो महसुस गरेको देखिएन।

 

आफ्नो मान्यता विपरीतका केसीका धेरै अडानहरू घलेले आफ्नो सुधारको अवसर भन्दा  पनि विरोधको आवाजको रूपमा लिएको देखिन्छ। संस्थागत असहमति राख्न पर्ने र पाउने  केसीको जिम्मेवारी पुरा गर्दा केसी घलेको आँखाको कसिङ्गर बन्न पुगेको देखियो। तिनै घटनाक्रमहरू बद्री केसीलाई जसरी पनि नेतृत्वमा पुग्न नदिन शेष घलेमा इगोष्तिक भावना पैदा गर्ने कारक बन्न पुगेको अनुमान गर्न सकिने स्थिति छ।

 

आजको दिन सम्म आइपुग्दा एनआरएनएको भिडन्तको एक मात्र चुरो कारण उपेन्द्र महतो-जिबा लामिछाने भर्शेस शेष घलेको इगो र शक्ति क्याप्चर गर्ने दुर्नियत पूर्ण नियतमा गएर जकडिएको छ। बाहिर देखिने एनआरएनएको विवाद एमाले नजिक बद्री केसी र काँग्रेस नजिकको कुल आचार्यको सङ्ग्रामको रूपमा अर्थ निकालिने गरि देखाइएको छ।

 

घले समूहको कुल आचार्य माथि भएको अन्याय लाई न्याय दिने  नारा र जीवा-उपेन्द्रको बद्री केसी ल्याउने भन्दा पनि शेष घलेको प्रभाव शून्य एनआरएनए बनाउने नियत दुवैमा जसको लागि भनेर एनआरएनए  गठन भयो तिनैको लागि घातक चाल बनिरहेको छ।  दुवै समूह द्वारा मञ्चन गरिएको नियोजित बखेडा भित्र बद्री केसी लाई स्थापित गरी सत्ता उपेन्द्र महतो र जिबा लामिछानेले आफ्नो कब्जामा नियमित राख्ने वा सोनाम लामा लाई कुनै न कुनै रूपमा स्थापित गराएर शेष घले शक्तिमा  पुन:  पुनर्बहाली हुने भन्नेमा मात्र सीमित छ।

 

तपाईँ मान्नुस् नमान्नुस् अलिकति झ्याली गरेर कुमार पन्तको कार्य समितिले तैयार गरेको निर्वाचनको मतदाता अनुरूप फेयर रूपमा चुनावमा जाँदा समेत कुल आचार्यको पक्षमा झन्डै सात सयको हाराहारीमै अधिक मत थियो। आफूले सहजै जित्ने स्थितिको चुनावको बाटो छोडेर कुल किन भाउतो भाउतो खुराफातमा लागे? कसको कुरा सुनेर र कसको पछि लागेर जित्ने चुनाव खण्डित गरी यो विग्रहमा पुगे?  त्यसको कुनै दिन पक्कै समीक्षा हुने छ।

 

शेष घलेले आफ्नो तर्फबाट एनआरएनएको छुट्टै भेला डाक्ने बिन्दु सम्म पुग्दै गर्दा काँग्रेसको केन्द्रीय कार्यालय लाई समेत साँढेको जुधाई को गेममा लतारेर पुर्‍याउने कुल आचार्य र केशव पौडेल दुवै युज एण्ड थ्रोको सिद्धान्त अनुरूपको उपयोगिता सकिएर लडाइँको रिँग वाट आउट बनिसकेका पात्रमा सीमित बनिसकेको देखिन्छ। आजको दिनको जमिनको अप्रिय यथार्थता यही नै हो।

 

साँढेको जुधाई र बाच्छा वाच्छीको मिचाइमाको हैसियतमा पुगेको एनआरएनएको लडाई बिच हिजोको दिनमा आफूले पद पाइँदैन भने यो एनआरएनए भन्ने संस्था नै चाहिँदैन भन्ने नियत बोकेका अमेरिकाका कुनै डाक्टर कुल आचार्य लाई उचाल्न पुगे भने संस्थाको महासचिव बद्री केसी लाई रेडीकलाइज गर्न सदैव उद्धत रहेको देखियो। तह अनुरूप फरक फरक रूपमा विकसित परिस्थिति माझ प्रवासी नेपालीको सामान्य रूपमा समेत हुर्की नसकेको संस्था न भुईँको न भारको अवस्थामा पुग्यो।

 

आज खोलामा पानी निकै धेरै बगिसकेको छ। एनआरएनए फुटको अवस्थामा पुग्दै गर्दा फुटको प्रमुख कारकको रूपमा रहेका  दुई कुलीन समूहको हातको रिमोट मद्ये कसैको पनि राडार वास्तविक पीडित भनिएका कुल आचार्यलाई संस्था सुम्पन उद्धत छैन। स्वार्थ समूहको मक्सत पुरा गर्न कुल जी को दुरुपयोग गरिएको छ। भविष्यमा पनि हुँदै जाने यथार्थ बाहिरिएको छ। काँग्रेसी भएको, जन सम्पर्कको रहेको वा पीडित बनेको जे सुकै नाममा सङ्गठित रूपमा कुल जीको पछि लागेका ठुलो समूह अलीट ग्रुपको नियत संस्था फुटाउने हदमा पुग्न लाग्दा सर्लक्कै पछाडि हटेको बुझिन्छ।

 

जन्म देखिको इतिहास र आज सम्म यसले गरेको काम अनुसार गैर आवासीय नेपाली सङ्घ प्रवासी नेपालीको भन्दा व्यापारी समूहको स्वार्थ सिद्धि तर्फ धेरै उन्मुख रहेको यथार्थ हामी कसैमा छिपेको छैन। गैर आवासीय नेपाली सङ्घको सुरुमा  गठन किन र कसरी गरियो?  के कारणले वा कस्तो बदलिएको चुनौतीका कारण फरक ढङ्ग वाट पछि यो प्रवासी नेपाली माझ आइपुग्यो र फरक फरक नारा थप्दै सञ्चालित बने त्यो वारेका यथार्थको भित्री पाटो बारे निकै कम नेपाली परिचित छन्। जुन निकै छिटो बाहिर आउने छ।

 

गैर आवासीय नेपाली सङ्घ नेपाली र प्रवासी नेपाली माझ परिचित हुने क्रममा यसलाई व्यापारी समूहको स्वार्थ  सिद्धिमा लागेको आरोप आइलाग्यो। उक्त आरोपलाई अर्ध सत्य साबित गर्न  यसले प्रवासी  नेपालीको पहुँचमा भएको सिप, ज्ञान र प्रविधि समेत नेपालमा पुर्‍याउने नीति घोषणा गर्‍यो। तर पनि ती नीतिहरू मात्र देखाउने दाँतको रूपमा सीमित बने।

 

दुई दुई पटक भएको विज्ञ सम्मेलन लाई यसै संस्थाका हालका महासचिवको अन्तर्गत राखी उत्पादकत्व दिनै नसक्ने बहिला बाच्छीको संयन्त्रमा जाकिदिएर  बिदेसी विज्ञ हरूको विज्ञताको मजाक उडाइयो। प्रवासी  विज्ञको नाममा विदेश पुगेर एउटा मेडिकल ईक्युमेन्ट कम्पनीमा फोर्क लिफ्ट ड्राइभर भएर काम गर्ने व्यक्ति नेपालमा प्रवासको ज्ञान सीप र प्रविधि हस्तान्तरण गर्ने विज्ञको रूपमा टाई सुटमा नेपालको चर्चित उद्यम व्यापारका हस्तीहरू सँग मञ्चमा उतारिए।

 

 

जर्मनी, अमेरिका र अस्ट्रेलिया लगायतका स्थानमा आफैले चलाएको दोकानमा रेस्टुरेन्टमा ओइटर कम क्यासियर काम गर्नेहरू स्वरोजगार विज्ञ बनेर उद्योग र कृषि मन्त्री लाई सल्लाह दिने र योजना आयोगका प्रमुख सँगै मञ्चमा छलफल गर्न राखियो। युरोपको डिपार्टमेन्ट स्टोरमा क्यासियर र स्टोर किपरको काम गर्ने लाई अर्थ मन्त्री लाई नेपालको आयात निर्यातको अर्थ नीति के हुनु पर्छ भनी एनआरएनए तर्फ वाट आधिकारिक सल्लाह दिने विज्ञ तोकियो। विज्ञ हुन सम्बन्धित विषय वस्तुको ज्ञान, तालिम र अनुभव हैन तत्कालीन विज्ञ भेलाको प्रमुख बनेको हालको महासचिवको लाए अराएको मान्ने हनुमान भए पुग्ने योग्यता तोकी जिम्मेवारी मुकरर गरियो।

 

एनआरएनएमा ठुलो शक्ति केन्द्रको मुन्सीजी भएर काम गर्ने मात्र केन्द्रमा जिम्मेवारी सहित काम गर्न पाउने र अन्य: भूमिका हीन हुने परम्परा पटक पटक दोहरिए। यसै बिच संस्थालाई आफ्नो मुठ्ठीमा राख्न आफूले मन खाने र राजनीतिक नेताका समीपमा रहेका पात्र लाई परिचालन गरी विभिन्न राजनीतिक चलखेलको दुष्प्रयास भित्राउने र आफ्नो स्वार्थ सिद्धि गर्ने कोसिस हरू भए।

 

विगतमा नेपाली  काँग्रेस नजिक रहेका कुल आचार्यले आरजू देउवाको चरम दुरुपयोग गरी नेपाल सरकारको परराष्ट्रको विशिष्ट निकाय सम्म पहुँच पुर्‍याएर एउटा नाथे परराष्ट्र मन्त्रीको हैसियतले डिफङ्गक गरे सकिने हैसियतको हो एनआरएनए भन्ने मान्यता स्थापित गराए। जुन पछि अदालतले फाली दियो। एनआरएनएमा आफ्नो पक्षमा माहौल बनाउने स्वार्थमा कुल आचार्य जस्ता शालीन व्यक्तित्व समेत एनआरएनएको आफ्नै विशिष्ट क्षमतालाई रसातलमा पुर्‍याउने गल्तीमा सामेल बनेको देख्न र भोग्न पर्‍यो।

 

बेलायत र अमेरिका बसेर एमालेको लागि काम गर्ने भूमिगत गिरोहमा रहेका एमाले समर्थक एक अनुदार वादी सशक्त समूह अर्को तर्फ एनआरएनएमा एमालेको प्रभाव कसरी कायम गर्न सकिएला भनी खटिएकै थियो। त्यति वेला अमेरिका बेलायत र अस्ट्रेलिया जस्ता मुलुकमा कम्युनिस्टका भातृ सङ्गठन खासै फस्टाउने सम्भावना नरहेको यथार्थता सँग उनीहरू परिचित थिए। तर तिनै क्षेत्रमा एनआरएनएको सदस्यता बढ्ने क्रम तीव्र थियो।

 

पहिलो केपी ओलीको झन्डै दुई तिहाइको सरकार आउँदै गर्दा प्रवासमा भने एन्टी-कम्युनिष्ट  एनआरएनए सशक्त देखिदा उनीहरूमा एउटा अवधारणाको विकास भयो। नेपालमा अब कम्युनिस्ट सरकार कम्तीमा एक दुई दशक रहने छ। त्यो समयमा  एनआरएनए आफ्नो पक्षमा नहुन सक्छ।  त्यो अवस्थामा प्रवासमा आफ्नो छुटै गतिविधि कायम गर्न एनआरएनएको समानान्तर गतिविधि चलाउन ब्रेनगेन सेन्टर नामक संरचना बनाइयो।

 

ओली क्याबिनेटका शक्तिशाली मन्त्री प्रदीप ज्ञवालीको दुरुपयोग गरी बनेको त्यो संरचना रहुन्जेल एनआरएनए एमाले नजिकैको व्यक्ति हरूको पकडमा रहेकाले जुन नियतमा ब्रेन सेन्टर सुरु गरियो त्यो भूमिकामा संसार भर सक्रिय गर्न जरुरी भएन। त्यसलाई मात्र एक दुई सभा सेमिनार गर्ने अनि प्रदीप ज्ञवाली कै निर्वाचन क्षेत्र गुल्मीमा एउटा कम्प्युटर कक्षा चलाउने र प्रदीप ज्ञवाली लाई पुन निर्वाचन जित्न भोट माग्ने बोरामा सीमित गरी राखियो।

 

समय क्रम सँगै नेपालमा कमरेडहरू एकले अर्को लाई दामरेडको आरोप लगाउँदै फुट्ने र चोइटिने गर्दा केन्द्रीय र क्षेत्रीय सरकार वाट पनि धमाधम ब्रेनगेन सेन्टरका परिकल्पना कर्ताहरूले हात धुन पुगे। त्यसको बाछिटा एनआरएनएमा पर्‍यो। दुई पार्टीगत ध्रुवको लडाई भन्दा पनि मौकामा चौका हान्ने दुई एलिट ग्रुपले आफ्नो स्वार्थ साध्ने औजारको रूपमा प्रयोग  गर्ने कोसिस गरे।

 

एउटा एलिट ग्रुपको आफ्नो प्रभावको एनआरएनए भित्र कुल समूहको नाममा आरजू काँग्रेस, माओवादी र माधव नेपालको समाजवादी समर्थकहरू र शेष घलेका फलोवरहरू थुपारे। अर्को एलिट ग्रुप तर्फ ओली एमाले, गैर-आरजू धारका काँग्रेसको संस्थापन पक्ष,  हिजो काँग्रेसमा समय दिएका भिडेका तर आज काँग्रेसमा सक्रिय नरहेका समेत देखिए। विगतको जस्तो काँग्रेस र एमालेको आफ्नै पार्टीगत  लडाई यसमा रहेन। कुन पक्षले कसलाई लिएर आफ्नो स्वार्थ साध्ने भन्ने द्वन्द्वमा ध्रुवीकरण देखियो।

 

यसैबिच एकाएक अस्ट्रेलियाका धनाढ्य र एनआरएनए लाई एक जीवन्त एनआरएनएको हैसियत दिन सफल व्यक्ति शेष घले हालको कुमार पन्त समूहको निकृष्ट अपमानको क्षेप्यास्त्र आक्रमणमा परे। चुनाव घोषणा पछि काम चलाऊ को हैसियतमा पुगेको कुमार पन्तको काम चलाऊ कार्य समितिले आफ्नो अधिकार क्षेत्र बाहिर गएर जिबा-उपेन्द्र दुवैको प्रत्यक्ष निर्देशनमा घलेलाई प्रमुख संरक्षक पद वाट हटाउने नियतमा प्रमुख संरक्षक समिति नै खारेजी गर्ने निर्णय लियो। त्यो दुर्भाग्य पूर्ण अपमानले घले समूह प्रतिकारमा उत्रिन करिब करिब बाध्य जस्तै बन्यो।

 

अमेरिकामा रहेका सोनाम लामाको नेतृत्वमा तुरुन्तै एनआरएनएको केही एलिट ग्रुपको सदस्यहरू नेपालमा भौतिक रूपमै उतार्ने नियतमा गैर आवासीय नेपाली सङ्घको हालको कार्य समितिको प्यारलल हुने गरी २०२२ मार्च २२ – २५ मा  होटेल याक एण्ड यती दरबारमार्गमा इमर्जेन्सी भेला बोलाइएको छ। भेलाको लागि खर्च हुने लगभग ८ करोड हाराहारीको प्रत्यक्ष अप्रत्यक्ष खर्च  एलिट ग्रुपको सदस्यहरूले जोहो गर्ने गरी भेला हुन लागेको छ।

 

सोनाम लामालाई अघि सारेर शेष घलेले बोलाएको भेलाको लुकाइएको तर प्रस्ट देखिने केही निहित स्वार्थहरू लुकेको  देखिन्छ। पहिलो उद्देश्य हुँदै गरेको एनआरएनएको चुनाव लाई चुनौती दिँदै उनीहरू सँगको बार्गेनिङमा चुनाव नै फेस नगरी हाल भएको विधान विपरीत गाजेमाजे पारि बद्री केसी लाई अध्यक्ष हुन दिने गरी कुल आचार्य लाई सभापति, सोनाम लामा लाई सह-अध्यक्ष र केशव पौडेल लाई सह-महामन्त्रीमा स्थापित गर्ने। यो कार्यकाल भरि विवाद गर्ने। आफ्नो मुद्दा त केही गर्न नसकिएला तर जिबा-उपेन्द्रको समेत काम हुने वातावरण एनआरएनए भित्र  पैदा गर्ने। आफ्नो पूर्ण नियन्त्रणमा नआउँदा सम्म एनआरएनए लाई डिफङ्गकमा राख्ने।

 

यो सम्भव नभए १० औँ महाधिवेशनको आवरणमा साउदी अरब, मलेसिया, कुवेत लगायतका नेपालमा ठुलो रेमिटेन्स पठाउने मुलुक लाई एनआरएनएको छाता वाट मिल्काएर युके, अस्ट्रेलिया, क्यानडा र अमेरिकाका अत्यन्त अनुदारवादी पौडेल ग्रुप जस्ता ग्रुप संलग्न क्लब अफ एनआरएनएको उदय गराउने। भविष्यको लागि बार्गेनिङ चिप्सको भ्रूण जोगाइ राख्ने।

 

त्यो पनि हुन नसके हामीले प्रयास गरेको हो तर हुन सकेन भनी चुनाव वाट आउने नयाँ कार्य समितिको क्षमता तेजोवध गर्ने। एक नभएको एनआरएनएको नेपालमा प्रभाव र आफ्नो पेसाको हितको  लागि नेपाली शासक वर्गमा पार्न सकिने पहुँच सीमित हुने हुँदा कदको कलमी गरिदिने। केसी समूह लाई संस्था फुटाएको अपजसको भारी बोकाई दिने।

 

सङ्घलाई रेडीकलाइज गर्न आफ्नो सम्पूर्ण तागत खर्चने महासचिवको काममा गैर आवासीय नेपाली सङ्घको संस्थापन पक्ष कहिलै रोक्न उद्धत देखिएन। यसले एनआरएनएमा घले ग्रुपलाई एम्बुसमा पार्ने संस्थापन पक्षको नियोजित योजना अन्तर्गत कै कुरा रहेछ कि भन्ने समेत देखिन्छ।

 

शेष घले जस्ता प्रतिष्ठित व्यक्तिको मानमर्दन हुने गरी भएका कार्यहरू बारे प्रतिकार गर्ने नियतले शेष घलेले सम्मेलन बोलाउन पाउनु उनको अधिकार हो। त्यसलाई संस्थापन पक्षले अवसरको रूपमा लिएको देखिँदैन। उल्टो आफै धामी आफै झाँक्रीको रूपमा शेष घलेले टिमलाई झन् रेडीकलाइज गर्ने  काम सुचारु हुनुमा कुमार पन्त र महासचिवको स्तर वाट मात्र सम्भव देखिदैन। यसले एनआरएनए यसको सदस्यको स्वार्थको लागि हैन कि दुई स्वार्थ समूहको आफ्नो स्वार्थ साध्ने लडाइमा भिडेको प्रस्ट गर्दछ।

 

विश्व सम्मेलनको नाममा बोलाएको भने पनि घलेको भेला उनको समूहको भेला मै सीमित हुनेछ। त्यसको कुनै कानुनी महत्त्व छैन। तर एनआरएनए जस्ता प्रवासी नेपालीको नाममा स्थापित स्वयं सेवी संस्थाको हिसाबमा यसको दूरगामी महत्त्व र अर्थ हुन्छ। सबैको सरोकार रहने गर्दछ।

 

एनआरएनएको संस्थापन पक्षले घलेले योजना गरेको भेलालाई निस्तेज गर्न न्वारन देखिको बल खर्चिन हैन के कुरामा दुखेसो रह्यो सुन्ने र समस्या समाधान गर्ने गरी उदार हुन सक्नु पर्दथ्यो। तर संस्थापन पक्षले आफूले लिनु पर्ने सामान्य संयम समेत देखाई रहेको छैन। उल्टो उक्त समूह लाई झन् बिच्काउने हिसाबमा हालका गैर आवासीय नेपाली सङ्घको काम चलाऊ महासचिवको सहोदर भाइले चलाउने बेलायत वाट प्रकाशित हुने अनलाइनले सङ्घको आगामी १० औँ विश्व सम्मेलन तथा महाधिवेशनको लागि परराष्ट्र मन्त्री नारायण खड्काको अध्यक्षमा २० सदस्सीय आयोजक समिति गठन गरिएको झुटो समाचार राखेको छ ।

 

परराष्ट्र मन्त्री नारायण खड्का उक्त भेलामा जाने वा अध्यक्षता गर्ने स्थितिमै छैनन्। उनी कसैको कु-नियतको साक्षी बस्ने चरित्रका मानिस समेत होइनन्। हुन त आफ्नो कुरा आफ्नै नेपाल वाट प्रकाशित हुने अनलाइनमा दिने, चर्चा कमाउने र एनआरएनएको विभाजन बारे अलिकति मिसलिडिङ्ग खबर दिने दुष्प्रयास शेष घले वाट पनि भएको देखिन्छ। तर शेष घलेको तर्फ वाट आएका अनलाइनमा एनआरएनएको महासचिवको जस्तो झुट र अर्काको मान मर्दन हुने गरी आपत्ति जनक समाचार सम्प्रेषण भएको भने देखिँदैन।

 

समग्रमा एनआरएनएको माथिल्लो स्तरको लडाई सम्पूर्ण प्रवासी नेपालीको नेपालमा आफ्नो हक अधिकार दिन हैन छिन्नको लागि उद्धत उन्मुख छ। आजको यथार्थता के हो भने कुनै जमानामा प्रवासी नेपालीको केही मुद्दा एनआरएनएले राम्रै उठाउने गर्दथ्यो। जस्तै नागरिकता विधेयक।  तर आज  एनआरएनएले जुन जुन मुद्दा उठाउँछ त्यसमा विरोध हुने गर्दछ। जुन दिन एनआरएनएले नागरिकता मुद्दामा बोल्न बन्द गर्छ त्यो दिन नेपालमा प्रवासी नेपालीको पक्षमा नागरिकता विधेयक पास हुने अवस्था बनेको छ। नागरिकता वारेको यो समाचार धेरै लाई सत्य नलाग्ला। तर जमिनको यथार्थ यही हो।

 

एनआरएनएको भूमिकामा व्यापारीको नाममा स्थापित भएका ठुला ठुला व्यवसाय नेपालको उन्नतिको साक्षी हुन भन्दा भर्जिन आइल्याण्ड र अन्य स्थानमा सम्बन्ध स्थापना गरी आर्थिक अपचलन मार्फत मुलुक लुट्ने साधन बनेको भनी नेपालमा पटक पटक प्रश्न उठ्न थालेको छ। कति वाट नेपालको बैङ्क ठगिएको कुरा पटक पटक उठ्ने गरेको  छ। यस्ता कुरामा एनआरएनए सँग कुनै सम्बन्ध नरहेका प्रवासी नेपालीहरूले नेपालमा गरेका लगानी भन्दा एनआरएनएको भूमिकामा रहेका व्यापारीहरूको व्यवसाय किन यस्तो लफडा वाजी गरेको नाममा धेरै गुणाले विवादमा किन आउने गरेको होला ?

 

विदेश वाट जति पैसा नेपाल भित्रन्छ त्यो भन्दा धेरै नेपालको कालो बजारको रकम गैर कानुनी बाटो वाट स्विस बैकमा जम्मा हुने गरेको धेरै भयो। एनआरएनए अस्तित्वमा रहेपछि त्यो रोक्न बारे प्रयास हुनु पर्दथ्यो। तर डाटाले यसको स्थापना पश्चात् त्यो क्रम झन् बढेको देखाउने गर्दछ।    मुलुकको मायाले ओतप्रोत भएर नेपाल पुग्ने र लगानी गर्ने कथा हरेक दिन फलाकेर नथाक्ने हाम्रा एलिट वर्ग सञ्चालित एनआरएनएले किन  विदेश बसी नेपालको कालो धन विदेशी बैकमा हाल्न सहजीकरण गर्ने माफिया पहिचान गरी कारबाहीको दायरामा ल्याउन तर्फ काम गर्न नसकेको होला?

 

मानव तस्करको जालो तोड्न तस्करहरूको विरुद्ध लड्न एनआरएनएले किन कहिल्यै प्रभावकारी भूमिका खेल्न नसकेको होला ? आफ्नै संस्थामा मौलाएका मानव तस्करहरू समेत अन्यले कारबाही गरिसके पछि मात्र चिन्ने व्यथा ग्रस्त किन बनेको होला ?

 

विदेशी विज्ञ वाट सिप र प्रविधि हस्तान्तरण गर्ने नाममा नेपालमा मासु काट्ने, नेपाली नागरिकको अधिकार कुण्ठित हुने गरी ग्रोसरी दोकान राख्न, कफी पसल चलाउने, ब्युटी पार्लर खोल्ने अनि त्यसको लागि सरकारको अनुदानको लागि धाउने काम किन गरिएको होला? प्रवासी नेपालीको नाममा नेपाली विभिन्न संस्थामा नियुक्ति खोज्ने कामहरू को लागि एनआरएनए बनाएको त हैन होला। विदेश वाट सञ्चालन हुने रियल स्टेट देखि नेटवर्क व्यवसाय सम्म सञ्चालन गरी ठग्ने नेपालीको संरक्षण गर्न यो संस्था त पक्कै लाग्न नमिल्ला।

 

एनआरएनए वाट कसरी नेपाल र प्रवासी नेपालीको चासो र सरोकारको विषय सम्बोधन गर्ने भन्ने कुरामा  एनआरएनएको डन भनेर चिनिएका माथिल्ला नेताहरूमा न कुनै चिन्ता न कुनै चासो देखिन्छ। उनीहरू त काम कुरो एकातिर, कुम्लो बोकी ठिमी तिरको यात्रामा मग्न छन्।

 

एनआरएनए फुटाऊ र एउटा-एउटा पद लिऊ अनि आफ्नो पद लिने सोख  पुरा गर भन्ने ध्याउन्नमा व्यस्त छन्। एउटा क्लब वाट कोही कोही निर्विरोध भएर बधाई खादै बसेका छन्। अरू हरू भोट माग्दै छन्।

 

अर्को तिरका काठमाडौँ दरबारमार्गको होटेल याक एन्ड यतीमा हुस्कीको चुस्की सँगै नयाँ एनआरएनएको गठन गर्न हुइँकिएर पुग्ने क्रममा बाटोमै  यात्रामा छन्।

 

दुवै प्रवासी नेपालीको कुनै पनि चासो र हितको कुराहरू हैनन्।

79Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: