मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

सनातन र वेदबारे अपूर्ण सत्य ओकल्ने सन्देशहरू !

वैदिक ज्ञानको नाममा आफ्नैले अर्ध-सत्यमा झुट घोलेर समाजमा गलत सन्देश सम्प्रेषण गरिदिए।

नारायण घिमिरे

ईशावास्योपनिषद वा यजुर्वेदको चालीस अध्याय  सकारात्मक दर्शनहरूको प्रमुख आधार निर्माण गर्ने अध्याय हो। यसको पहिलो मन्त्रले (सिद्धान्त) सकारात्मक भावना तथा  मनोवृत्तिको स्थापना गर्दछ। निकै थोरै शब्दहरूमा यसले मानव जीवन र जीवनको सार, संसारको संरचना र मानवीय चोलामा रहँदा मानवीयता अर्थात् मानव आदर्श वारेको दृष्टिकोणको व्याख्या गर्दछ।

 

यसको अनुसार संसार मूलतः तीन तत्त्वहरू निर्मित छ। पहिलो हाम्रो वरिपरिको संसार वा प्रकृति। दोस्रो सर्वत्र उपस्थिति रहेको शक्ति (ईनर्जी वा ईश्वर) र तेस्रो जीवन जीवित राख्ने प्रमुख ऊर्जा आत्मा (आत्मा)।

 

तपाईँ तपाइको वरपर सर्व व्यापी रहने प्रकृतिको मालिक होइन। न त त्यहाँ रहेको  ईनर्जी वा ईश्वरमा नै तपाइको स्वामित्व छ। तपाइको जीवन जीवित राख्ने आत्मा रुपी ऊर्जा समेत तपाइको खटनपटनमा चल्ने चिज होइन।

 

ब्रह्माण्डको आधारभूत संरचनाको कुनै पनि कुरा न त तपाईँको आफ्नो नियन्त्रणले चल्छ, न तपाईँ सँग त्यसको स्वामित्व छ। न तपाइले चाहे अनुरूप त्यो परिवर्तन हुने वा नहुने नै गर्दछ। त्यसो हो भने त्यसलाई आफू अनुकूल चलाउने तपाइको प्रयास कसरी सम्भव बन्दछ ?

 

यथार्थ के हो भने  ब्रह्माण्डको आधारभूत संरचना जसरी चल्दछ त्यसलाई हामी प्राकृतिक नियमको सिद्धान्त (ईश्वरको इच्छा) भन्दछौ। प्रकृतिलाई तपाइले तपाइको अनुकूल परिवर्तन गर्ने होइन कि प्राकृतिक नियमको सिद्धान्त बुझेर तपाइले आफूले आफूलाई प्रकृति मैत्री हुने गरी परिवर्तन हुन सम्भव हुने गरी यो ब्रह्माण्डको ईनर-इन्जीनियरिङ्ग भएको छ।

 

आफ्ना हरेक गतिविधि प्राकृतिक नियम सङ्गत हुने गरी सञ्चालन गरेर तपाइ आफ्नो जीवन सहज गर्न सक्नु हुन्छ । ब्रह्माण्डले आश्रय दिएको ज्ञात-अज्ञात तरिकाले तपाइ सँग सहजीकरण गरी ब्रह्माण्डमा सह-अस्तित्वमा रहेका हरेक चराचरहरुको जीवन समेत तपाईँको प्रकृति मैत्री व्यवहारले सहज बन्दछ।

 

त्यसैले आफ्नो जीवनका विविध आवश्यकताहरू  पुरा गर्न आफूले अनिवार्य रूपमा पूर्ति गर्नुपर्ने गतिविधिहरू प्राकृतिक नियमको सिद्धान्त मैत्री बनाउनु हरेकको अनिवार्य कर्तव्य (अर्थात धर्म) रहेको सनातन संस्कृतिको मान्यता हो।

 

सनातन मान्यतामा धर्मको मतलब आफ्नो जन्म दिने बाबु आमा, आफ्नै परिवार र साथी भाइ छोडेर कुनै अहिरे गैरे धुपौरेलाई गुरु वा पुजारी स्थापित गर्नु वा तपाईँ जस्तै सामान्य मानवलाई देवत्वकरण गरी पूजा गर्नु होइन। यथार्थमा त्यो ढोगी प्रवृत्तिलाई इमोसनल ब्लाकमेल गरी झन् ठुलो अपराध गर्न प्रेरित गर्ने अपराधमा सहभागी हुनु हो।

 

वैदिक मान्यतामा ईश्वरको (प्रकृति) उत्कृष्ट निर्माण रुपी मानव-मानव बिच जात-पात लगायतको नीचा-उँचाको विभेद पूर्ण वर्गीकरण थोपार्नु धर्म होइन धर्मको आडम्बरमा हुने गम्भीर अपराध हो ।

 

कुनै निश्चित पेसाको लागि निश्चित नस्लको व्यक्ति अनिवार्य हुन जरुरि हुने भ्रम छर्नु जीवनमा हुने सबै भन्दा गम्भीर प्रकृतिको पाप मध्ये एक हो।

 

जस्तै: कथित ब्राह्मण भन्ने उँचा चोखो जात रहेको तथा  ब्राह्मणको सन्तान मात्र पूजा पाठ र मन्त्र सिकाउने र मुलुक लुट्ने लाइसेन्स प्राप्त समाजको धर्म बचाउने ठेकदार हो भनी भ्रम छर्नु लाई सनातन मान्यतामा माफी दिन नसकिने सात खुन बराबरको अपराध ठानिन्छ।

 

यसको अर्थ आफ्नो जीवनको जरुरतको वा आफ्नो पेसाको जरुरतको सांसारिक कर्म नगर्नु वा उपलब्ध सुविधाहरू प्रयोग गर्न अस्वीकार गर्नु भन्ने पनि होइन।

 

यसको अर्थ हामीले आफ्ना सुविधाहरूको प्रकृति मैत्री हुने गरी उपयोग गर्नु पर्ने, आफ्ना कर्महरू प्राकृतिक नियम मैत्री र अहिंसा उन्मुख गर्नु भन्ने हो।

 

आफ्नो व्यक्तिगत सम्पत्ति र आफ्नो कर्तव्य अन्तर्गतको संरक्षण कार्य लाई आफ्नो अनिवार्य धर्म मान्दै पुरा गर्दै गर्दा प्राकृतिक सम्पत्ति सामूहिक सम्पत्ति हो भन्ने महसुस गर्नु हो।

 

आफ्नो निजी फाइदाको लागि सामूहिक सम्पत्ति आफ्नै जस्तो गरी त्यसको दुरुपयोग गर्नु पाप कर्म हो भन्ने अनुभूति गर्दै त्यसो नगर्नु सनातन हो।

 

बाटोमा सवारी साधन लिएर हिँड्दै गर्दा यो बाटो सबैको साझा हो भन्ने अनुभूति लिएर स्वविवेकले सबै सँग सबैको बराबरी हक स्थापना हुने गरी अन्य सँगको साझेदारीमा उक्त बाटोको उपयोग गर्न जान्नु सनातन मान्नु हो।

 

बाटो सबै मेरै हो र यसको प्रयोग गर्ने पहिलो हकदार म हुँ भनी ठान्ने हठ र बहुलट्टीपन त्याग्नु सनातन हो। धर्म वा राजनीति वा समाजसेवाको नाममा त्यस्ता हठ र बहुलट्टीपन बोकेका अल्प ज्ञानको तुष बोकेको प्रवृत्ति लाई अनिवार्य रूपमा बहिष्कार गरी समाज लाई बिग्रने दिसामा जान बाट रोक्ने असल नागरिकको चरित्रको विकास गर्नु सनातन हो।

 

मेरो सम्बन्ध, मेरो शरीर, मेरो विचार, मेरो मन, मेरो सम्पत्ति, मेरो अधिकार, मेरो लुगा, मेरो शैक्षिक योग्यता, मेरो कीर्ति, मेरो धन, मेरो चेला, मेरो इज्जत, मेरो ज्ञान, मेरो मान, मेरो सम्मान जस्ता अहङ्कार आदिको मालिक रुपी दास बन्नु सनातन विरोधी आचरण हो।

 

नैतिक धन र उपलब्धिको प्राप्ति, मानवताको धर्म बहन गर्ने आचरण सनातन आचरण कार्य हो।

 

आफ्नो जीविकोपार्जनको पेसा नै पूजाको दक्षिणा तथा आय बनाएको कथित साधु रुपी ढोगी वा गुरु रुपी भोगीको सिफारिसमा गरिने देवताको पूजा सनातन आचरण अन्तर्गत पर्ने सम्भावना अत्यन्त न्यून देखिन्छ।

 

अहिंसाको प्रवर्धन, प्राणी पिडा, प्राणी दर्द र मानव विभेद उन्मुलन आदि नियतमा सञ्चालन हुने हरेक मानवीय कार्य सनातन कार्य हुने गर्दछ।

 

जसरी समाज सेवाको नाममा राजनीति पेसा अपनाएर मुलुकको हरेक क्षेत्रमा सक्रिय बनेर राजनीतिज्ञ र तिनको सुरक्षामा रहेका कर्मचारीहरु वाट आज मुलुक लुट्ने काम सुचारु छ त्यस्तै विगतको ४०० वर्ष सनातन संस्कृतिको नाममा मुलुकको शासक, धर्म गुरु, कथा / पुराण वाचक आदि र तिनका कारिन्दाले मुलुकको नाङ्गो शोषण गरे।

 

मर्दा र पर्दा, हुँदा पनि नहुँदा पनि समाजको हरेक तप्कामा सामूहिक ब्रह्मलुट चल्यो। सोही ब्रह्म लुट फैलाउन सहयोगी बन्ने गरी वेदका मर्महरू बङ्ग्याएर व्याख्या गरी आंशिक सत्य बोल्ने अराजकता वादी पुस्तिकाहरु लाई धर्मको ग्रन्थको सहज नेपाली उल्था भनी समाजमा ल्याइयो।

 

धर्मको मर्म बोक्ने मुटु छिनालेर मात्र संस्कृतको अल्प भाषा ज्ञान भएको आधारमा वेदको सूचनाको चुरो मर्म बिगारेर आफैलाई सामाजिक शोषण मच्चाउन सहज हुने पात्रो र पुस्तिका छापियो।

 

वेदको असली वैज्ञानिक मर्म समाजमा पुग्न वाट वञ्चित गर्ने र हाम्रो आफ्नै नयाँ पुस्तालाई हाम्रो सनातन पद्धति र मान्यता मै घृणा जगाउने हदमा ती लेखोटहरू सक्रिय बने। त्यो नियति आज पनि हामीले भोगी रहेका छौ।

 

हिजो जे भए, जसो भए त्यसमा हामी फर्किएर गएर सुधार्न आज सम्भव हुने अवस्था रहेन। अबको बाटो भनेको हिजोको दुर्भाग्य वाट सिकेर मुलुकलाई वैदिक इनोभेसन उन्मुख गर्नु हो।

 

आज विज्ञानको ज्ञान व्यवसायीकरण गरी भौतिक विकास मार्फत समाजको हरेक तप्काको जीवन सहज गर्न सम्भव भएको छ।

 

विज्ञानको समेत ज्ञानको मूल श्रोतको खानि रहेको वेदको ज्ञानको तथा सिद्धान्तको सामाजिकीकरण र व्यवसायीकरण बाट मुलुकको भौतिक र आध्यात्मिक प्रकृतिको समग्र विकास सम्भव छ। सँग सँगै हुने भौतिक र आध्यात्मिक विकासले मुलुककै प्रभावकारी कायापलट गर्ने छ।

 

यस्ता कुराहरु मात्र कुरा गरेर, समाजमा कागजी रूपमा वा सैद्धान्तिक रूपमा फैल्याएर मात्र यसको फल समाजमा प्राप्त हुने छैन। यसलाई प्रत्यक्ष लागु गरी सबैले देख्ने गरी प्रमाणित गरेर मानिसमा विश्वास जगाउनु सक्नुले मात्र समाजमा यसको स्वीकार्यता निर्माण हुने छ।

 

अनि मात्र वैदिक क्षमताको मुलुकको समग्र संवृद्धिको वाटो मतलब आयुर्वेदिक संवृद्धिको अवसर मुलुकले पकड्न सक्ने छ। मौकामा हिरा फोरिने छ।

 

त्यसो भन्दै गर्दा यसको पहिलो चरणको आधारभूत कार्यहरू सम्पादन तर्फ हाम्रो गहिरो ध्यान जान जरुरी छ।

 

हाल हाम्रा वेदका ज्ञान दिने नाममा बजारमा विभिन्न मध्यममा  आएका सूचनाहरू अत्यन्त हल्का पाराका छन्। जसरी अङ्ग्रेजी पढ्दैमा क्वान्टम विज्ञान बुझ्न सकिँदैन त्यतै क्वान्टम मेटाफिजिकल ज्ञानको खानी समेत रहेको वेदको वैज्ञानिक पक्ष संस्कृत र भाषाको ज्ञानको आधारमा उजागर हुन सक्दैन।

 

त्यसको लागि त्यही क्षेत्रमा अभ्यस्त रहेका वेदको ज्ञानमा चासो राख्ने व्यक्ति हरुको भूमिका जरुरी देखिन्छ। त्यसको पूर्ति गर्न सक्दा मात्र वेदको हरेक ऋचाको यथार्थ मर्म हामीले सहज रूपमा बुझ्न सक्ने हुने छ। चुरो मर्म प्रस्टिएको सिद्धान्त माथि गरिने वैज्ञानिक प्रयोगले समाजमा सोचिएको स्तरको सेवा दिने हैसियत राख्ने छ। यसको पहिलो चरणको ग्यापको पूर्ति हुने छ।

 

जस्तै हाल बजारमा उपलब्ध वेदको यजुर्वेद अध्याय ४० मन्त्र १ उल्थाको नमुना हेरौँ। वेदको त्यही सिद्धान्तमा रहेको यथार्थ सूचनाको गहिराई समेत कति रहेछ बुझौ।

 

ई॒शा। वा॒स्य᳖म्। इ॒दम्। स॒र्व॑म्। यत्। किम्। च॒। जग॑त्याम्। जग॑त् ॥

तेन॑। त्य॒क्तेन॑। भु॒ञ्जी॒थाः॒। मा। गृ॒धः॒। कस्य॑। स्वि॒त्। धन॑म् ॥ ४०.१॥

 

संस्कृत भाषामा लेखिएको यजुर्वेद अध्याय ४० पहिलो मन्त्र (सिद्धान्त) को रूपमा रहेको प्रस्तुत श्लोक बारे रातो बक्सामा उल्लेख भए अनुरूपको भावार्थ लेखिएर बजारमा उपलब्ध छ।

 

प्रस्तुत श्लोकको वैज्ञानिक भावार्थले दिने यथार्थ उल्लेख गरिए भन्दा नितान्त गहिरो र पेचिलो देखिन्छ। जसलाई अङ्ग्रेजी र नेपाली दुवै भाषामा खोतल्ने प्रयास गरौँ।

Human (Dear learned person), the entire universe consists of static and dynamic energy throughout the universe, resulting from diffused energy wave functions from a stable Supreme dark energy. Similarly, you can enjoy the pleasures (diffused bliss) only when you can stay detached from your desire for wealth, gain and accomplishments. Do not be greedy. The wealth you are thinking is yours does not belong to anyone.

 

Let’s review word by word:

Isha – The Supreme Lord means Supreme, stable dark energy. Vasyam – Inhabits. Adam – This. Sarvam – every unit of the universe. Yat – Whatever. Kim Cha – And. Jagtyam – Dynamic universe. Jagat – Animated and Inanimate Universe. Tena – These. Tyaktena – With detachment. Bhunjitha – Enjoy. Maa – Do not. Gridhah – Be greedy. Kasyaswit – To whom it belongs. Dhanam – This wealth.

 

भावार्थ: मानव (प्रिय अध्ययनशील विद्वान व्यक्ति), ब्रह्माण्डको प्रत्येक कुना कुना सम्म फैलिएर रहेको स्थिर तथा गतिशील ऊर्जा मिलेर बनेको सम्पूर्ण रूपमा भरिपूर्ण ब्रह्माण्ड, प्रकृतिको एक स्थिर सर्वोच्च अँधेरो (डार्क इनर्जी) ऊर्जा बाट उत्पत्ति भएर फैलिएको गतिशील तरङ्गहरूको सहकार्य निर्मित ऊर्जाको परिणाम हो।

 

जीवनमा स्वतन्त्र सुख (अर्थात् चिर स्थायी आनन्द /  ब्लिस) प्राप्ति चाहने तिमीले तिम्रो आफ्नै भौतिक सुख र उपलब्धि प्राप्तिमा टाँसिएको असीमित इच्छा र तिर्खाबाट आफुलाई पृथक् राख्न सक्दा मात्र लक्षित आनन्द प्राप्त गर्न सम्भव हुनेछ। त्यसैले लोभी नबन। तिमीले आफ्नो भनी सोचेको धन (भौतिक  धन, सम्पति, चिज तथा उपलब्धि) प्राप्ति तिम्रो आफ्नो होइन अर्थात् स्थायी छैन।

 

सामान्य रूपमा विश्लेषण गर्दा बजारमा आएका भावार्थहरूमा विज्ञानको गहिरो चुरो आएको छैन। ब्रह्माण्डमा बाहिर जे छ मानव भित्र पनि त्यही छ भन्ने सूचना त्यहाँ छुटेको छ।

 

जसरी डार्क इनर्जी अर्थात् तम गुणी अँधेरो ऊर्जा तमगुण बाट मुक्त हुन सक्दा सम्पूर्ण रूपमा भरिपूर्ण विशाल ब्रह्माण्ड सम्भव बनेको छ त्यसरी नै चिर स्थायी आनन्दको लागि सांसारिक सुख भोगमा लिप्त भएर टाँसिने गुण मुक्त हुन पर्ने कुरा ब्रह्माण्डको उदाहरण दिएर भनिएको उल्लेख नै छैन।

 

आफूलाई सांसारिक सुख भोगमा लिप्त गराउने लोभ र माया (भ्रम) वाट मुक्त हुनु पर्ने तथ्य बारे घोइरो-घोइरो बोलिएको छ। तर त्यसको वैज्ञानिक आधार र कारणहरू छुटाइएको छ।  यसरि बजारमा आएका भावार्थहरूले सम्प्रेषण गरेका अत्यन्त न्यून आंशिक सत्य वाट वेदका गहिरा विज्ञान बुझ्न त्यति सहयोगी हुने देखिँदैन। नयाँ प्रयासहरू वाट ज्ञानको सम्प्रेषणमै देखिएको उक्त खाडल पुर्ने तर्फ उल्लेखनीय प्रयासको जरुरत देखिन्छ।

 

समग्रमा वेदको चुरो ज्ञान जन समक्ष पुर्‍याउने प्रयासमा हिजोको दिनमा निकै गम्भीर समस्याहरू देखिए। धरातलीय यथार्थ अनुसार वेदको सन्देश भन्दै अपूर्ण सत्य हालेर जाल साँची युक्त झुटा सन्देश समावेश गरी बजारमा सूचना सम्प्रेषण भए।

 

वैज्ञानिक पक्ष उजागर गरिएन। अवैज्ञानिक व्यक्तिगत कुण्ठा र तुष ओकलेर लेखिएका जात विशेषलाई विशिष्ट बर्ग स्थापित गर्ने कुनियत समेत वाट लेखिएका कतिपय पुस्तकहरूले बजार भरिए। त्यस्ता लेखहरूले राष्ट्रिय स्तरका पत्रिकाहरूमा सहजै स्थान पाए। कतिपय त फुर्काइ फुर्काइ उक्साई उक्साई लेख्न लगाएर नै प्रकाशन गरियो। जसले वैदिक ज्ञान वारे नै जन मानसमा वितृष्णा निम्त्याउने काम गर्‍यो। वैदिक ज्ञानको नाममा आफ्नैले अर्ध-सत्यमा झुट घोलेर समाजमा गलत संदेश संप्रेषण गरिदिए।

 

(खाद्य तथा औषधि विज्ञ)

40Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: