मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

साउने सङ्क्रान्तिमा लुतो फाल्नु भित्रको वैज्ञानिक गोप्यता।

नारायण घिमिरे

साउने सङ्क्रान्ति लाई लुतो फाल्ने दिन भनिन्छ। लुतो, पिलो, खटिरा-पटिरा लैजा है पल्लो गाउँले, तल्लो गाउँले, माथ्लो गाउँले भनी आगोको अगुल्टो फ्याँक्ने दिनको रात नेपाली संस्कृतिको रोमाञ्चकारी रात हो। लुतो फाल्ने संस्कृति किन र कसरी बस्यो त्यसको आफ्नै कहानी होला। तर लुतो फाल्न अघि गरिने केही कर्म काण्डे गतिविधिहरू छन्। जुन सम्प्रदाय विशेषमा केही अन्तर छ। ती अवसरहरूमा प्रयोग हुने जडीबुटी र सामग्रीहरूको सारतत्वको औषधीय गुणको सन्दर्भ को  वैज्ञानिक अनुसन्धान दिएको सङ्केतले ती सामग्रीहरूको तत्कालीन मौसमी रोग र विकृति, खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने चर्म रोग आदिको प्राकृतिक र आयुर्वेदिक उपचारमा रहेको भूमिकाले भने तपाईँ हामी सबैलाई यसलाई फरक ढङ्ग बारे  सोच्न बाध्य पार्ने छ।

 

लुतो (खुजली- scabies) चर्म रोग हो। लुतो भनेको ज्यादै चिलाउने र बाक्लो बिमिरा उठेर पाक्ने खटिरा विशेष हो। मानिसमा हुने चर्म रोग प्राय पानी र पानी जन्य रोगको कारण हुने गर्दछ। पिलो पिडके मासु धेरै भएको ठाउँमा आउने मूलतः रगतको फोहर जम्मा हुन गई भित्र वाट आउने खटिरो जातको ठुलो पिप्सो हो। खटिरा भनेको छालाको भागमा सामान्य देखिने निको हुने सामान्य प्रकृतिको गाउँ हो। खटिरापटिरा भनेर सामान्य खटिरा र भन्न अलि लाज लाग्ने गुप्ताङ्ग आदिमा गुप्ताङ्ग रस आदि छालामा लामो समय रहँदा सडेर त्यसमा विकास हुने रोगाणुको कारण पैदा गरे छालाको रोग तर्फ सङ्केत गरिने चलन हो।

 

लुतो फाल्न गाईको गोबरको (Cow-dong ) दुइटा डल्लो, काँक्राको फूल (Cucumis sativus – Cucumber Flower) , कर्कलाको पात (Colocasia esculenta – Taro Leaf), हरियो मकै (Fresh Corn), हरियो खुर्सानी (Green Chilli),  साउने आरु (Peach), खनायो (Ficus semicordata – Drooping Fig), गाईको घिउ (Cow Ghee), तीतेपाती (Artemisia dubia – Mugwort) को धूप, निगाला व बाँसको सिन्का (Bamboo Stick) बाल्ने, अगुल्टो (Wood with Fire) बाल्ने गरिन्छ। मूल ढोका माथि लुते झार (Lygodium japonicum), कुकुर डाइनो (Smilax zeylanica), पैयुँ (Prunus cerasoides), पाटे सिउँडी (Euphorbia royleana – Cactus Plant) आदिलाई बाँसको चोयाले (Bamboo Skin) बाँधेर झुन्डाइन्छ।

 

व्याप्त किंवदन्ती अनुसार साउने सङ्क्रान्तिको दिन असारे वर्षा, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन चलेको भन्ने सबैले सुनेकै कुरा हो। फरक फरक ठाउँमा फरक तरिकाले लुतो फालिन्छ। कुनै ठाउँमा भने  बिहान कण्डारक नामक राक्षसको पूजा गरी त्यसलाई कागती, निबुवा, अम्बा, अनार, नासपती आदि फलफूलहरू चढाएर दाद, लुतो खटिराजस्ता चर्म रोगको प्रकोपबाट बच्न सकिने विश्वास छ।

 

साँझको समयमा कुकुर डाइनो (Smilax zeylanica), भलायो (Semecarpus anacardium), कुरिलो (Asparagus racemosus) , पानीसरो (Cautleya spicata), पुरेनी (Ampelocissus latifolia), गलेनी (Asiatic Leea) आदि औषधीजन्य वनस्पतिहरू जलाएर घर आँगनको चारै दिशामा धुवाको धूप घुमाएर जलाउँदा बलेको भर्भराउदो आगोको अगुल्टो फ्याँकिन्छ।

 

त्यसैलाई नै लुतो फ्याँक्ने भन्ने गरिएको हो। कतिपय स्थानमा लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने तथा केही बेर सम्म घरको ढोका बन्द गर्ने प्रचलन समेत बसिसकेको देखिन्छ।

 

हेर्दा रुढी वादी जस्तो लाग्ने यो चलन यथार्थमा वैज्ञानिक त छदै छ त्यो भन्दा लुतो फाल्ने चलन हाम्रा घरेलु वैधहरूलाई जरुरी हुने औषधिको बुटी घरमै जोहो गरिदिने चलनको रूपमा चलाइएको हो कि भन्ने प्रशस्त आधार देख्न र महसुस गर्न सकिन्छ।

 

कुरिलो अर्थात् शतावरीको जरामा हुने सार तत्त्व सेपोनिनले शरीरमा पैदा हुने फ्रि-र्याडिकलका कारण हुने छालाको क्षतिलाई कम गर्न र छाला चाउरी पर्न नदिन सहयोग गर्दछ। शतावरीले दुई हड्डी जोड्ने कोलेजन भनिने कुरकुरे हाड च्यातिन र टुक्रिन मद्दत गर्ने र छालामा उच्च लचकता कायम गर्न मद्दत गर्दछ। पानी सरोको गानाको रस पेटको विकारको औषधिमा प्रयोग हुन्छ । गानाको रसमा हुने बिटा सिटोस्टेरोल नामक सक्रिय यौगिकले छालाको चमक लाई बढाउने र मानिसलाई कम उमेरको देखाउन मद्दत गर्दछ।

 

भलायोको फल र तेल क्यान्सर प्रतिरोधी, दर्द नाशक, एन्टिअक्सिडेन्ट, रगतमा चिनीको मात्रा घटाउने, रोगाणु नाशक र गर्भ निरोधक गुण युक्त औषधीय  वस्तु हो। आगोमा पड्काएको भलायोको गेडाले मानिसमा एलर्जी निरोधक क्षमताको विकास गर्दछ। यसको फल र बिरुवाको चोप भने कतिपयको छालामा लाग्दा उध्रने र फोका उठ्ने जस्ता प्रतिकूल समस्या दिने गर्दछ।

 

पुरेनीको दानाको रस घाउ निको गर्ने ओखतीको रूपमा प्रयोगमा आउँछ। यसको डाँटको बोक्रा पेट दुख्दा खाने र हड्डी भाँचिदा प्रयोगमा आउँछ। जरा छालाको रोगमा, घाउ निको पार्ने, बाथ रोग, हड्डी भाँचिदा, मूत्रवर्धक, गोनोरिया, सिफलिस, आँखाको रोग, महिनावारीको समस्यामा टनिकको रूपमा पनि प्रयोग हुन्छ।

 

गलेनीको बिरुवा ज्वरो, पखाला, झाडा, जोर्नीको दुखाइ, बाथ, मधुमेह, हड्डी भाँचिएको, शरीर दुखाइ, घाउ, यौन विकार, लगायतका रोगको उपचारको लागि प्रयोगमा आउँछ।

 

झोलिलो गाइको गोवर वा गाइको थोरै गौँत मिसिएको गोबर छालाको इम्युन डिसअडर सम्बन्धको  रोक मानिने र आज सम्म औषधि विज्ञानले निको हुने गरी ओखती बनाउन नसकेको छालाको रोग सोरेसिसको (psoriasis) परम्परा गत वैदिक ओखती हो।

 

गाइको गोवर र गौतले छाला चिलाउने, रातो हुने एक्जिमाको उपचार हुने, लुतोको चिलाउने र दर्द दिने समस्या कम पार्ने गर्दछ। असार-साउने  पानी र हिलोले खाएको छालाको उपचार तथा अन्य छालाको रोगमा समेत गोवरको लेपन औषधि बनाएर लगाइने हाम्रो परम्परागत चलन हाल औषधि विज्ञानले समेत उपयोग गर्न थालेको छ।

 

अमेरिकामा गाईको गौँतको अर्क, पन्च कव्य आदिको क्यान्सर लगायतको औषधीय मूल्यको यकिन गरेर पेटेन्टहरु दर्ता भएका छन्। गाइको घ्युले छालामा हुने अत्यन्त सानो सानो चिरा आदिको ओखती गर्ने, तन्तु मिहिन पार्ने र छालाको भित्री ठिक भागको बोसो र सेवममा घुलेको विषाक्त पदार्थ निकाली शरीरलाई विषाक्त तत्त्व वाट राहत दिलाउने गर्दछ।

 

काँक्रोको फुल होस् वा फुल र गेडाको पेस्ट मुखको छाला नरम गर्ने कस्मेटिकमा प्रयोग हुन्छ। त्यस्ता पेष्ट छालामा प्रयोग गरेर पोलेको वा जलेको छालाको उपचार हुने, सुन्निएको निको हुने, घामले डढेको निको पार्ने, थिचिएर बिग्रिएको छालाको उपचार गर्ने तथा गुप्ताङ्गमा पसिना र स्वप्न दोषमा निस्कने यौन रस गनाएर दिने छालाको विकृतिको उपचार गरिदिन्छ।

 

कानको लोती सुन्निने रोगको उपचारमा कर्कलोको पातको पानी प्रयोग हुन्छ। कर्कलोको पानीले शरीरको छाला पोल्ने साइटोकाइनिनको उत्पादन कम गर्न सहयोग गर्ने हुँदा चिलाउने दर्द हुने प्रकृतिको छालाको रोगको प्राथमिक प्राकृतिक उपचार गर्न गरिन्छ।

 

भिटामिन, क्यारोटिन, पोलिफिनोल, पोटासियम, फ्लोराइड र आइरन आदि हुने आरु चम्किलो छालाको टनिक हो नै। गर्मीको वेला पेट ढुस्स हुँदा निको गर्ने अरूको पाचन प्रक्रिया दरो पार्ने, रगत सफा गर्ने, इम्युन शक्ति बढाउने र छाला लाई बलिष्ठ राख्ने ल्याकत राख्छ। आरुको गुदी र जुसको कस्मोटिक समेत बन्ने गर्दछ।

 

खनायो मूलतः कुष्ठरोग, पखाला, टाउको दुखाइ, ज्वरो, कान दुख्ने, अल्सर, ग्यास्ट्रिकको समस्या र छालाको फोका निको पर्ने अचम्मको शक्तिशाली फल हो। तीतेपातीको धूप मनोवैज्ञानिक ओखती हो। यो छारे रोगमा उपयोग हुन्छ। एन्टी व्यक्टेरियल र एन्टी भाइरल पातीको सारतत्व पहिले मलेरिया उन्मुलनमा व्यापक उपयोग मा आयो। छालाको रातोपन निको पारि चिरिएको, खतले बिग्रिएको अनुहार ठिक गर्ने पाती संसारमै निकै महँगो ठानिने कोरियन कस्मोटिकको मुख्य सक्रिय तत्त्व हो।

 

चीन, कोरिया, जापान जस्ता देशमा सुकेको तिते पतिको पात बालेर दुखाइ र उकुसमुकुस हुने समस्या कम गर्न एनेस्थेटिक प्रभाव दिने मोक्सिफिकेसन वा धूप सुँघाउन उपयोग गरिन्छ। निगाला र बाँसको सिन्का बाली आउने धुवा तुलनात्मक रूपमा हावामा कम धुवा दिने हुँदा धूप आदिको डन्डीमा प्रयोग हुन्छ। अगुल्टो समेत हावामा कम धुवा दिने आगो हो। जसको मुलत: खरानी हानिकारक रोगाणुको काल नै हो। गाइको गोबर पनि रोगाणुहरुको लागि एन्टीसेप्टिक हुने गर्दछ।

 

ज्वरो घटाउने, दुखेको निको गर्ने, पोलेको शान्त गर्ने, पखाला ठिक पार्ने र पेटको जुका मार्ने सारतत्व हुने लुते झार भनिने लहरे उन्यूका कलिला पातहरू तरकारीका रूपमा खाइन्छ। त्यसको बोट निमोठेर बनेको रस छालाको घाउ र फोका निको पार्न  खुट्टामा दलिन्छ। बोटको लेदो जोर्नीको दुखाइमा उपचारमा आउँछ।

 

जराको रस यौन रोग, बाथ र रक्तहीन पखालाको ओखती हुने कुकुर डाइनुको पात कुष्ठरोग, छालाको रोग, जोर्नी दुख्ने, शरीर सुन्निने र रगत शुद्ध गर्ने ओखतीको रूपमा उपयोगमा आउँछ। पाटे सिउँडीको लेदो छाला सम्बन्धका समस्याहरू जस्तै जलेको, घाउ भएको, पेटको जुकाको जन्डिस आदिको ओखतीको रूपमा प्रयोग हुन्छ।

 

छाला सुख्खा हुनबाट जोगाउन, छालाको रङ्ग र चमक सुधार गर्न, छालाको दाग निको पार्ने, चिलाउने कम गर्न पैयुँको बोक्राको पाउडर, रस र तेल उपयोगी हुने हुँदा छालाको उपचारमा प्रयोग गरिन्छ। पाटे सिउँडीको लेदो छाला सम्बन्धका समस्याहरू जस्तै जलेको, घाउ भएको, पेटको जुकाको जन्डिस आदिको ओखतीको रूपमा प्रयोग हुन्छ।

 

छालामा पसेको अत्यन्त सूक्ष्म सार्कोप्टेस स्क्याबीज नामक किराको कारणले छाला चिलाउने र बिबिरा उठ्ने रोगको कारण मानिसलाई लुतो अर्थात् स्क्याबीज हुने गर्दछ। जुन जति कन्यायो त्यति तीव्र रूपमा फैलन्छ। कागती, निबुवा आदि अमिलो सिट्रस जातका फलको बोक्रा र भित्री बियाँको तेलको उल्लेखनीय रूपमा  सार्कोप्टेस स्क्याबीज जीवनाशक गुण हुने गर्दछ।

 

लुतो फ्याँक्ने समयमा हुने नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने तथा केही बेर सम्म घरको ढोका बन्द गर्ने रमाइलो प्रचलनको केहि उत्सव मनाउने कला र अधिक मनोवैज्ञानिक पक्ष कारक बनेको देखिन्छ। त्यस प्रकारको उत्सवले मानिसमा आफ्नो रोग प्रतिरोध क्षमताको विकाश भएको विश्वास र आत्मबल बढाउन मद्दत गर्ने गर्दछ। जसलाई औषधि विज्ञानमा प्लेसिबो ईफेक्ट भन्ने गरिन्छ।

 

व्याप्त किंवदन्तीको कण्डारक राक्षसको पूजा तथा बलेको भर्भराउदो आगोको अगुल्टोको कथाले भने अत्यन्त गहिरो तर व्यवहारिक औषधीय अर्थ बोकेको देखिन्छ।

 

हाम्रो शरीरमा रहेको कुरकुरे मासु तथा लिगामेन्टको संयुक्त संरचनाले शरीरको सम्पूर्ण भागलाई एकबद्ध गरी एउटै संरचनामा रहेर बाँधिन सहयोग गर्दछ। उक्त संरचनाको लागि महत्त्वपूर्ण हुने विशेष प्रकारको विभिन्न थरीको रसायनको मिश्रण लाई काण्डार (Kāṇḍāra) भन्ने गरिन्छ।

 

रसजलनिधि (Rasajalanidhi) अध्यायको चौथो खण्डमा अजीर्ण अर्थात अपचको उपचारको लागि विकसित गरिएको आयुर्वेदिक ओखतीको विभिन्न फर्मुला मध्ये एक फर्मुलाको नाम राक्षस (Rākṣasa)  रहेको छ। जुन  इएट्रो केमेस्ट्री (Iatrochemistry ) अन्तर्गत वर्गीकृत छ। आयुर्वेदिक औषधि विज्ञानको रसशास्त्र अन्तर्गतको उक्त राक्षस अलकेमी (Alchemy ) यथार्थमा विभिन्न खनिज (उपरस), विष र अन्य जडीबुटी बाहेकका औषधिहरूको ग्रन्थहरूमा उल्लेखित विधि र प्रक्रिया अपनाएर शुद्ध पार्ने र समग्रमा मिसाएर उच्च तापक्रममा भस्म पारि खरानी बनाएर उपयोग गरिन्छ।

 

रससिद्ध शास्त्र अनुसार सात उपरसमा काशिका (आइरन-सल्फेट), पहेँलो र सेतो आर्सेनिक ट्राई सल्फाइट, रातो आर्सेनिक सल्फाइट, सल्फर, साइकोडेलीक लाइसेरजीक एसिड डाई- ईथाइल-एमाइड, गुलाफको फुलको पत्ता र आइरन अक्साइड क्रिस्टल पर्दछ। विष अन्तर्गत ज्वरो आदिमा प्रयोग हुने विषाक्त वनस्पतिको उपयोग हुन्छ भने

 

विष अन्तर्गत ज्वरो आदिमा प्रयोग हुने विषाक्त वनस्पतिको उपयोग हुन्छ। यथार्थमा कण्डारक राक्षसको पूजा गर्नु भनेर एकातर्फ रोग व्याधि नाशक विभिन्न आयुर्वेदिक मिश्रण रुपी राक्षस निर्माणको कच्चा पदार्थ जोहो गर्ने र भर्भराउदो आगोको अगुल्टोको ज्वालाले उक्त राक्षस निर्माणको लागि जरुरी हुने कच्चा पदार्थको मिश्रण लाई जलाउने र भस्म पारि ओखतिय गुणको रसायनको निर्माण गर्ने पद्धति लाई इंकित गर्ने गर्दछ। जसले समाजमा रहेका आयुर्वेदिक प्राक्टिसनर्सहरु लाई गहिरो उपचार पद्धतिको बारे पटक पटक स्मरण गराएर यो विधि मर्न वाट जोगाउने लक्ष लिएको हुन्छ।

 

लुतो फाल्ने समयमा हामीले प्रयोग गर्ने सम्पूर्ण सामग्री एकातर्फ हानिकारक रोगाणु नाशक छन्। तिनीहरू फोहर पानी र हिलो जन्य छालाका रोग र पेटको रोग निको गर्ने सार तत्त्वले पूर्ण भेटिन्छ। ल्याबमा गरिएका वैज्ञानिक अनुसन्धानहरूको निचोडले सङ्केत गरे अनुसार असार श्रावणको महिना सामूहिक रूपमा गीत गाउँदै खेती-पातीमा संलग्न हुने तन्देरी तरुनीहरूमा हुने यौन रस स्खलन रोक्ने, छालाको स्खलित रसजन्य रोग प्रतिरोधी सारतत्व समेत रहने गर्दछ ती सामग्रीहरूमा।

 

 

खेती पातीको लामो पर्म मैझारो गरे पश्चातको धूप र मोक्सीफिकेसन मनोवैज्ञानिक सबलता दिन, छारे रोग, बेहोस हुने, देउता चढ्ने, चिट चिट पसिना आउने समस्या निदानमा समेत सहयोगी वन्ने देखिन्छ। लुतो फाल्ने पर्वमा प्रयोग हुने सामग्रीहरू शरीरको रोग प्रतिरोधी क्षमता बढाउन र एलर्जी नाशक एन्टी एलर्जी गुणको समेत भेटिएको छ। विज्ञानको परीक्षणले सङ्केत गरेका नतिजाहरू निकै चाख लाग्दो छ। जसले लुतो फाल्ने चलन वास्तवमै वैज्ञानिक थियो भन्ने मान्न हामीलाई बाध्य पार्दछ।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: