मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

डाक्टर वा विज्ञ लाई हैन आफैलाई सोधेर मात्र थाहा हुन्छ कुन खाना आफ्नो स्वस्थ अनुकूल छ भनेर !

सबै स्वाद र रङ्ग समावेश भएको आफ्नो मनोविज्ञान मैत्री खाना नै सन्तुलित आहार हो।

नारायण घिमिरे।

पोषणको जगमा निर्मित ठानिने मानिस आफै उसले के, कहिले, कहाँ, कसरी र किन खान्छ भन्ने कुराको नतिजा हो, त्यसैले यो अत्यन्त महत्त्वपूर्ण छ भन्ने अवधारणा लाई  वैदिक खानपानको विशिष्ट अवधारणा  मानिन्छ।  मानिसले स्वाद लिई लिई, समय लगाएर, मनै देखि निकै रुचाएर कृतज्ञता पूर्वक खाएको खानको मात्र उसमा सकारात्मक भूमिका दिने गर्दछ भन्ने आयुर्विज्ञानको मान्यता छ। खाना ताजा, पोषण युक्त, उच्च गुणस्तरको, पाचन हुने, स्वादिष्ट, मायालु ढङ्गले तयार गरिएको र इन्द्रियहरूलाई समेत सन्तोष दिलाउने हुनु पर्दछ ता कि त्यसले शरीर, मन र मस्तिष्क सबैलाई सन्तुष्ट गरोस्। न्याय गर्न सकोस्। ग्रहण गरिने खानाको तयार गर्ने विधि, पाचन हुन गाह्रो हुने तत्त्वलाई पाचन गर्न सहज गराउने तर पोषण तत्त्वको पौष्टिक गुण ननासिने प्रशोधन क्षमता, पचेको सार तत्त्व र नपचेको सह-उत्पादनको पाचन प्रक्रिया पश्चताको भूमिका आदिमा खानाको प्रशोधन विधि, खाना खाइने समय, मौसम र स्वस्थ अवस्था आदिको भूमिका हुने ठानी खानालाई पाचन प्रणाली मैत्री बनाउने उद्देश्यले वैदिक खानाको तैयारी गरिन्छ।

 

मान-सम्मान पूर्वक, मायालुपन र करुणा युक्त भावले पस्केर दिइने खानाको मात्र प्राण, तेज र ओज पूर्ण क्षमतामा रहने वैदिक मान्यता छ। जसलाई वैदिक मान्यताको अर्को विशिष्ट अहम् पक्ष  ठानिन्छ। सनातन मार्गीले मान्ने गरेको शिवजीले  बोक्ने गरेको त्रिशूलले खानाको चुरो तिन  महत्त्व बारे बोल्दछ। त्रिशूलको डन्डीले तपाइको शरीर जनाएको हुन्छ भने त्यसको उपल्लो तिन भागले खाना वाट प्राप्त हुने प्राण (जीवन्तता), तेज (तागत र आत्मबल) तथा ओज (ऊर्जा) बारे हामीलाई सम्झाउने गर्दछ। कुनै पनि खाना खानु पूर्व त्यो  खाना खाने मानिसलाई  मनोवैज्ञानिक रूपमा  खाना  स्वीकार्य हुनअनिवार्य हुन्छ। जसलाई खानाको अनिवार्य वैदिक ग्रहणशीलता भनिन्छ।  वैदिक ग्रहणशीलता युक्त खानाको पाचन पश्चात् स्वास्थ्य स्थिति नियमित रूपमा दुरुस्त राख्ने, रोग प्रतिरोधी क्षमता दिने र रोगको उपचारात्मक (हिलिङ्ग) गुणको सारतत्व दिने प्रकृतिको  गुणहरू रहँदैन भने पनि त्यसलाई वैदिक खानाको श्रेणीमा राखिँदैन। मानिसको आत्माले स्वीकारेको ,प्रकृति मैत्री, अहिंसा युक्त, उचित सन्तुलित आहारले मात्र मानव स्वास्थ्य र मनोविज्ञानको सकारात्मक प्रवर्द्धनमा भूमिका खेल्ने वैदिक मान्यता रहन्छ।

 

खानका छ (६) स्वादले हाम्रो शरीरको तेजको आवश्यकता पुरा गर्न कस्तो कस्तो प्रकारको खाना चाहिन्छ भनेर फरक फरक स्वाद मार्फत प्रोग्राम गर्न हामीलाई सिकाउने गर्दछ। खानाको प्राकृतिक रूपको विभिन्न पिगमेन्ट युक्त रङ्गले हाम्रो शरीरको फरक फरक ओजको जरुरत पूर्ति गर्न  फरक फरक प्राकृतिक रङ्गको  खाना समावेश हुने गरी खानको रिसिपी वा पुरा कोर्स छान्ने तरिकाको प्रोग्राम  गर भन्ने  सन्देश दिन्छ।

 

जसरी एउटा गाडी चलाउने लाइसेन्स लिन मात्र ट्राफिक नियम पालन गर्न जाने पछि सम्भव हुन्छ,  इलेक्ट्रिक, मेकानिकल, मोसन आदि इन्जिनियरिङ गरेको हुनु पर्दैन, त्यस्तै स्वस्थ रहन खानाको विभिन्न स्वाद र रङ्ग मिसाएर स्वाद अनुसार खाने बानीले बसालेर सम्भव हुन्छ। प्रकृतिले त्यही अनुसार प्राकृतिक रूपमा हामीलाई खाना समेत उपलब्ध गराउने गर्दछ। त्यसको लागि कुनै रकेट साइन्स भने जस्तो स्वस्थ वा पोषण विज्ञ वा डाक्टर होइराख्नु जरुरी छैन। पर्दैन।

 

हामीले दिनभर खाने खाना भित्र उपलब्ध सबै स्वाद र रङ्ग मिसाएर आफ्नो इच्छा अनुसार खाना खाने बानी विकास गरेर  हामीले हाम्रो शरीरको आवश्यकता पूर्ति गर्ने उपाय सुल्झाउन सक्दछौ। जसरी ट्राफिक नियम जाने पनि गाडी कसरी चलाउने भन्ने सिकाइ र अभ्यास बिना गाडी चलाउन सकिन्न, त्यस्तै हाम्रो शरीरको ओज र तेजको जरुरत कसरी पूर्ति गर्न सकिन्छ भन्ने जानेर मात्र  हामीले आफ्नै ज्ञानको भरमा हाम्रो आफ्नो जीवनको लागि जरुरी हुने  प्राण, ओज र तेज तत्त्वहरूको खाना मार्फत आपूर्ति सम्भव हुन्छ।

त्यसको लागि आफ्नो डाक्टर र पोषण विज्ञ आफै बनी आफूले आफैलाई आफू मैत्री खानाको छनौटको गर्न जरुरी हुन्छ। आफूलाई कस्तो कस्तो खाना सहन्छ, के के खाएको बेला शरीरले सहज अनुभूति गरिरहेको हुन्छ  त्यसको गहिरो ख्याल गरेर पहिला आफ्नो शरीर र मनोविज्ञान मैत्री खाना पहिचान गर्नु पर्दछ।  यो विधि वाट हामीले आफूलाई सहने ग्रुपको फरक फरक स्वाद र रङ्ग समेत समेटिने खानाको संयोजन गरेर आफ्नो लागि  उपयुक्त खानको ग्रुप बनाउन सम्भव हुन्छ।

 

यो काम तपाइको लागि कुनै कागजी पोषण विज्ञ वा कागजी डाक्टरले बनाउने वा तिन वाट सम्भव हुने कुरा होइन। तपाइ लाई के के उपलब्ध हुन्छ, के के सम्भव छ, के के सहन्छ, के के सहँदैन, त्यो पनि मौसम अनुसार फरक हुन सक्दछ, त्यसैले त्यो मात्र तपाईँलाई थाहा हुने कुरा हो। त्यसैले यो काम तपाईँ आफैले आफ्नो लागि गर्न जरुरी हुन्छ। आफैले आफ्नो अनुभूति वाट पुरा गर्नुपर्ने कार्य हो यो।

 

एउटा सत्य कुरा चाही के हो भने आफैले आफ्नो लागि ओखतिय खाना छान्ने क्रममा तपाई सँगै कागजी पोषण विज्ञ वा कागजी डाक्टरको समेत योग्यता रहेमा चाही त्यो बेला सुन मा सुगन्ध भने पक्कै थपिने छ। तर यो पनि याद गर्नु होला, बजारमा सुनको गुणस्तरको मात्र किम्मत छ। त्यसको गन्धमा होइन। यहाँ पनि त्यही लगभग लागु हुन्छ। अध्यात्मको दृष्टिमा मानिसको  आन्तरिक आनन्द  र प्रगतिमा मूलतः सात वटा मापदण्डहरूले नकारात्मक भूमिका खेल्दछ।

 

(१) खानपानमा असंयतता

(२) बोलीमा असंयतता

(३) सचेतनाको कमी

(४) एक्लो वा उदासीपन

(५) अकारण दुखित रहने स्वभाव

(६) सहज श्वास प्रश्वासमा देखिने अवरोध

(७) यौन तथा करुणाको क्षेत्रमा लिइने असंवेदनशीलता।

 

तपाइले खाने खाना औषधीय गुणको भएर मात्र हुँदैन त्यसको ग्रहण गर्ने बानी  ब्यहोरा समेत जसरी तपाईँ औषधि लिनु हुन्छ त्यस्तै ठिक्क थोरै हुनु जरुरी छ। यदि तपाईँ यो विधि अनुरूप खाना खाने बानीमा हुनुहुन्न भने तपाईँ खानपानमा असंयतता लिने व्यक्तिमा पार्नु हुन्छ।

खाना शरीरको लागि चाहिने पोषणका लागि पर्याप्त मात्र होस्।  त्यो बाहेक यसले तपाइको मनोवैज्ञानिक र आध्यात्मिक जरुरतका पोषण पुरा गरोस्। तपाइको जीवन्त शक्ति मैत्री बनोस्।

 

हालको विज्ञानले बुझेको पोषण शरीरको लागि चाहिने पोषणमा मात्र कुरा गर्ने हुँदा खानालाई पोषण बनाउने नाममा वैज्ञानिक भनिएकाहरुको हातले परिवर्तन गरेको खाना, डाक्टर भनिएकाहरूले सिफारिस गर्ने गरेका आधुनिक पोषण युक्त खाद्य, भिटामिन र सप्लिमेन्ट नै तपाइको खानपानमा असंयतता थपिदिने मूल कारक बनेका छन्।

 

समाजमा तपाई हामी तिनैको मिति सकिएको निर्देशन, भाषण र अर्ति उपदेशले वाक्क दिक्क मात्र होइन ‘नाराज नहीँ लेकींन हैरान’ पारिदिएको छ।  आधिकारिक रूपमै बजार र हाम्रो पाठ्य पुस्तकमा रहेका पोषण र स्वस्थ सम्बन्धको आंशिक सत्य बोल्ने सूचनाले हामीलाई बलिको बोको बनाएको छ।  ती सूचनाहरूले जे भने त्यही  अङ्गीकार गर्दा हामी झन् रोगी, झन् नकारात्मक चिन्तन बोक्ने, झन् असन्तुष्टिले भरिएको र आफ्नो सुख प्राप्ति नहुनुमा अर्को लाई जिम्मेवार देख्ने र मान्ने प्रवृत्तिको बनिरहेका छौ।

 

भौतिक पोषण र इन्द्रियको स्वाद तथा सुखमा मात्र रुचि राख्ने आजको हाम्रो आधुनिक खाद्य विज्ञानको नतिजाको बारे भगवान् कृष्णले गीतामा भन्नुभएको यो कुराले हामीलाई केही बन्ने छ :

 

नात्यश्नतस्तु योगोऽस्ति न चैकान्तमनश्नतः|

न चाति स्वप्नशीलस्य जाग्रतो नैव चार्जुन ||६:१६||

युक्ताहारविहारस्य युक्तचेष्टस्य कर्मसु|

युक्तस्वप्नावबोधस्य योगो भवति दुःखहा ||६:१७||

 

खानपानमा संयम राख्न सक्दा वाणीमा संयम राख्न सम्भव हुन्छ। नकारात्मक सोच विचार पैदा हुँदैन। नकारात्मक कुरा बोल्ने इच्छा नै जागृत हुँदैन। जब वाणीमा संयमता आउछ, तब चेतनामा समेत संयतता आउँछ। चेतनामा आएको  संयमताले अरू प्रतिको अधर्म भावको समेत गरिदिन्छ। अरूप्रतिको अधर्म भावको अन्त:को सह उत्पादनको रूपमा तपाईँको आफ्नै  दुःखले  तपाईँबाट बिदा लिन्छ। मानिसलाई सांसारिक दुःख वाट मुक्ति मिल्दछ।

 

गीतामानै भगवान् कृष्णले थप भन्नुभएको छ:

यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं ततः|

यस्मिन्स्थितो न दुःखेन गुरुणापि विचाल्यते ||६:२२||

 

यस वाट बिस्तारै तपाईँलाई अनुभूति हुन थाल्दछ कि तपाइको श्वास प्रश्वासमा गतिमा कम हुन थालेको र सहज बन्न थालेको छ। त्यसले तपाईँलाई आन्तरिक रूपमा झन् धेरै संवेदनशील बन्न सहयोग गरिरहेको छ। बिस्तारै सहज हुँदै गरेको तपाइको  संवेदनशीलताको कारण तपाइमा गढेर बसेको तपाइको अहङ्कारको नष्ट हुँदै गरेको छ। अर्काले पाएको सुख र सहजतामा तपाइको मनका आउने गरेको ईर्ष्या डाहा व्यभिचार घट्न थालेको अनुभूति हुनेछ। क्रमशः तपाइमा करुणा भाव जागृत हुन  थाल्ने छ। त्यसैलाई तपाइले पवित्रताको स्वतः प्राप्ति गरेको भनिएको हो।  त्यो पवित्रता तपाइले प्राप्त गर्नु हुनेछ। अब भने तपाईँ मानवता युक्त मानव बन्ने पथमा पुगी सकेको हुनु हुनेछ।

 

चुरो कुरो यही हो। यो मार्गमा पुगेको तपाईँलाई आनन्दको जीवन यापन वाट  विमुख गर्न रोक्न स्वयम् तपाईँले पनि  सक्नु हुने छैन।

 

 

 

(प्रस्तुत लेखका लेखक खाद्य तथा औषधि विज्ञ घिमिरे हाल क्वान्टम मेटाफिजिक्समा विद्यावारिधि गरिरहेका छन।)

 

83Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: