मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

ठट्टाको विषय होइन इनोभेसन।

नारायण घिमिरे

प्राय: सबै रचनात्मक उद्यमीहरू बिच ठट्टा मजाकमा भनिन्छ कि एक रचनात्मक व्यवसाय निर्माणको लागी सबै भन्दा उपयुक्त तरीका हो आफूलाई मन नपर्ने मानिसहरू सँग काम गर्नको लागी तैयारी हुनु। रचनात्मक संसारले आजको बिन्दुमा पुग्दै गर्दा सिकेको धेरै पाठहरुमा केहि पाठहरू अत्यन्त शक्तिशाली छन्। त्यसमा पर्ने एक प्रमुख पाठको रूपमा  सोचमा उपलब्ध गराउन सकिने विविधता पर्दछ। संसारका हाल सम्मका प्राय: सबै प्रकारका व्यावसायिक सफलतामा नवीन विचारहरूमा हुन सकेको विविधता उक्त व्यवसायले प्राप्त गरेको नव प्रवर्तनहरूको कारक रहेको महसुस गरियो।

 

आज हामीले देख्न र सुन्न पाउने निरन्तरको इनोभेटिब बस्तु र सेवाको पछाडिको मूल आधार एक रचनात्मक व्यक्ति नभएर एउटा सिङ्गो रचनात्मक समुदाय समूहमा कार्यरत रहेर सम्भव बनेको हो। गरिब र पिछडिएको समाजमा नव प्रवर्तन अत्यन्त दूरदर्शी र शानदार व्यक्तिहरू बाट आउने भ्रम व्यप्त रहेको देखिन्छ। यथार्थमा समाजमा हुने निरन्तरको इनोभेसनमा त्यस्ता व्यक्तिहरूको समेत सहभागिता त रहन्छ तर तिनीहरू प्रभावकारी इनोभेसन र आविष्कारकहरूको मूल कारक भने रहेको हुँदैनन्।

 

यथार्थता के हो भने आज सम्मका सबैभन्दा प्रभावकारी आविष्कारकहरूमा कुनै एक अमुक रचनात्मक व्यक्तिको नभई त्यसको लागि सङ्गठित बनेको रचनात्मक समुदायहरूको भूमिका  रहेको छ। एक रचनात्मक समुदाय जसको नशा नशामा इनोभेसनको कल्चर वा संस्कारको भूत युक्त रक्त सञ्चार हुने गर्दछ, त्यो सङ्गठित समुदायले मात्र संसारमा कटिङ एजको नामकरण गरिएको मानिसको जीवन शैलीलाई उल्लेखनीय रूपमै सहजीकरण गरिदिने प्रविधि र बस्तु वा सेवाको उपलब्धता गराउन सफल बनेको छ।

 

संसारमा भएका सबै इनोभेसनहरू कटिङ एज प्रकृतिको रहँदैन। जसलाई निरन्तर इनोभेसन वा नियमित नव प्रवर्धन शब्द दिएर न्याय गर्न सकिन्छ। समाजमा हुँदै गरेको हजारौँ  नियमित नव प्रवर्धनको सिडीहरु पार गर्ने क्रममा कुनै बिन्दुमा गर्न सकिएको नव प्रवर्द्धनले उल्लेख गर्न लायक प्रविधिको आविष्कार गरिदिन्छ जसले मानिसको जीवनलाई महसुस गर्न सकिने स्तरको सकारात्मक सहजता वा  ब्रेकथ्रो थप्न सम्भव राख्ने हैसियत प्रदर्शन गरिदिन्छ। उक्त प्रविधिको सफल उपयोग वाट विकास गरिएको बस्तु वा सेवाले दिने नव प्रवर्धनहरू कटिङ-एज प्रकृतिका बनी दिन्छन।

 

नव प्रवर्धन बापत प्राप्त नतिजाहरूको प्रभाव कुनै मानव जीवन सहज गर्न अत्यन्त प्रभावकारी हुने हुन्छ। कुनै तत्कालीन समयमा ठुलो प्रभाव राख्ने भनी पहिचान हुन सक्दैन। नतिजाहरूको उपयोगिताको आधारमा आविष्कार भएका  प्रविधिको मूल्य निर्धारण हुने गर्दछ। प्राय: धेरै अवस्थामा एउटा प्रयोजनको लागि गरिएको नव प्रवर्तनको कोसिसले दिएको नतिजा उक्त क्षेत्रमा कम प्रभावकारी तर अर्को क्षेत्रमा ठुलो प्रभाव दिने हैसियत राख्ने गरेको भेटिएको छ। तसर्थ नयाँ आविष्कार वा नव प्रवर्धनको प्रयासको सन्दर्भमा अवलम्बन गरिने गतिविधिमा नियमित नव प्रवर्धन र कटिङ-एज प्रकृतिका नव प्रवर्धनहरूको मूल आधार र पूर्वाधारहरू प्राय: समान प्रकृतिका हुने गर्दछन्। त्यसैले तिनीहरूलाई समान प्रकृतिका विविधताहरूको जरुरत पर्ने देखिन्छ।

 

यो कुरा सही हो की विगतमा कतिपय  आविष्कारहरू अनायास मै भए। हाल सम्म पनि झुक्किएरै कतिपय आविष्कारहरू हाता लागिरहेका भेटिन्छन। हाल संसारमा प्रसिद्ध रहेका कतिपय आविष्कारहरू त्यो क्षेत्रमा कार्यरत कतिपय वैज्ञानिकहरूको अनुसन्धानका क्रममा भएका वैकल्पिक खोज वा गल्ती वा कमजोरीका कारण वाट प्राप्त भएका धेरै उदाहरणहरू हामी सँग छ।

 

जस्तै बायो साइन्टिस अलेक्जेन्डर फ्लेमिंगले रोगहरूलाई निको पार्ने अचम्मको औषधिहरूको खोजीमा अनुसन्धान गर्दै थिए। केही पनि हात परिरहेको थिएन। उनका असफल परीक्षणहरूको क्रममा उनले केही दिन देखि सफा गरी राख्न बिर्सेको  दूषित पेट्रीडिसमा उनले अचम्मको ढुसी उम्रेको देखे। जसको वरिपरि रहेका सबै ब्याक्टेरिया त्यसले नास गरिरहेको थियो। सो देखेपछि उनले आफैले त्यस ढुसीलाई अर्को सफा पेट्रीडिसमा उमारेर परीक्षण गरे पछि थाहा पाए की त्यो त शक्तिशाली एन्टिबायोटिक पेन्सिलिन रहेछ। जसलाई ब्रोड स्पेक्ट्रम यान्टिबायोटिकको रूपमा हाल संसारले चिन्ने गर्दछ।

 

रूथ वेकफील्ड टोल हाउस इन नामक बेकरीका मालिक थिइन। आफूले बनाउने बिस्कुट वा कुकीज बनाउने क्रममा उनी एक ब्याचको फर्मुलामा रहेका सामग्रीहरू मिश्रण गर्दै गर्दा आफ्नो बेकर चकलेटको मौजाद शून्यमा झरेको महसुस गरिन। उनीसँग बेकर चकलेटको मगाएर ब्याच पुरा गर्ने विकल्प थिएन। एक विकल्पको रूपमा उनले आफू सँगै रहेको मीठो चकलेट लाई सानो सानो टुक्रामा तोडिन् र कुकीजको आटामा मिसाइन र बेक गरिन। ऊनलाई के आशा थियो भने ओभनको तातोले चकलेट पग्लनेछ र चकलेट कुकीज राम्रै बन्ने छ। तर साना टुक्राहरू पग्लिएन।पाक्दा चिप्सको रूपमै रहे। चिप्स रहेको कुकिज उनी लगायत उनको ग्राहक लाई मन पर्‍यो। जसले गर्दा नयाँ चकलेट कुकिजको आविष्कार हुन गयो।

 

जर्ज क्रुम साराटोगा स्प्रिंग्सको केरी मून लेक हाउसमा एक सेफको रूपमा कार्यरत थिए। एक दिन उनी अत्यन्त अप्ठ्यारो ग्राहकको फेला परे। उनले पठाएको उसिनेर काटेको आलु उक्त ग्राहकले प्लेट सहितै पुरा नपाकेको र ठुलो साइजको भएको भनी फिर्ता गर्‍यो। उनले त्यसलाई सानो गरी पुन प्यानमा फ्राई गरी पठाए।  ग्राहकले उक्त आलु अझै राम्रो सँगै नभुटिएको, पातलो समेत नभएको भनी फिर्ता गर्‍यो।  नपाकेको नाममा पुनः उनले आलु फिर्ता पाए। ग्राहकको व्यवहार वाट क्रोधित बनेका क्रुमले आलुलाई अत्यन्त पातलो स्लाइसमा काटे र कडा नबनुन्जेल तेलमा डिप फ्राई गरिदिए। सेफ क्रुमलाई आश्चर्य के भयो भने ग्राहकले त्यसलाई अत्यन्त मन पराए। जब उनले नयाँ खाना अरूलाई पनि पस्के त धेरैले त्यसलाई मन पराए। तारिफ गरे। यसरी आलु चिप्सको आविष्कार हुन पुग्यो।

 

माथि उल्लेखित घटना परिघटनामा कुनै विषय बस्तुको नयाँ आविष्कारको प्रयास अन्तर्गत गरिएका प्रणाली बद्ध, क्रम बद्ध र व्यवस्थित अनुसन्धानका रोड म्यापहरू मार्फत आएका होइनन। समय परिस्थितिमा अनायासमा हुन पुगेको घटनाहरू नयाँ आविष्कारहरू वा  इन्भेन्सन हुन। तर इनोभेसन मानिँदैन, होइनन।

 

यथार्थमा कुनै पनि विषय बस्तु बारे आफूमा शून्य कार्य अनुभव रहेको अवस्थामा वा शून्य कार्य योजना अन्तर्गत  आएको नयाँ सोचाइले दिने आविष्कार प्राय: नव प्रवर्तन अन्तर्गत लिइँदैन। यस्ता घटना अत्यन्त बिरल हुने रहेकाले यसलाई संयोग बस प्राप्त आविष्कारको दर्जामा राखिन्छ। नयाँ आविष्कारको प्रयास बाबजुद विकास गरिएका प्रणाली बद्ध, क्रम बद्ध र व्यवस्थित अनुसन्धानका रोड म्यापहरूले दिएका नवीनताहरुलाई इनोभेसन भनिन्छ। सबै इनोभेसन समेत इन्भेन्सन वा आविष्कार अन्तर्गत नै पर्दछन।

 

आविष्कार र इनोभेसन तथा आविष्कारको विषय पेन्सिलिनको खोजको विषय बाट थप प्रस्ट गर्न सकिन्छ। १९४५ मा फिजियोलोजी र मेडिसिनको नोबेल पुरस्कार अलेक्जेन्डर फ्लेमिंग, अर्न्स्ट बोरिस चेन र हावर्ड वाल्टर फ्लोरी लाई संयुक्त रूपमा पेन्सिलिनको खोज, विभिन्न सङ्क्रामक रोगहरूमा यसको उपचारात्मक प्रभावको लागी प्रदान गरियो।  नोबेल पुरस्कार नै पाएको भएता पनि  पेन्सिलिनको आविष्कार  संयोग बस प्राप्त आविष्कार रहेकाले नव प्रवर्तन  मानिँदैन।

 

यद्यपि  पेन्सिलिनको आविष्कार हठात् भयो तर त्यसको विभिन्न सङ्क्रामक रोगहरूमा गरिएको उपचारात्मक प्रभावको अध्ययन सजिलो थिएन। त्यसको लागी  प्रणाली बद्ध, क्रम बद्ध र व्यवस्थित अनुसन्धानका रोड म्यापहरूको आधारमा व्यवहारिक अनुसन्धान जरुरी बन्यो। निकै बृहत् अनुसन्धानले मात्र ती कुराहरू सफल हुन सम्भव थियो। त्यही रोड म्याप नै अन्ततः नयाँ आविष्कार लाई नव-प्रवर्तन दिन सफल बन्यो। तसर्थ सफल होस् वा नहोस् उक्त अनुसन्धानहरू भने पूर्ण रूपमा इनोभेटिव कार्यहरू थिए। तिनीहरू लाई   इनोभेटिव आविष्कारकाको रूपमा लिइयो।

 

व्यवहारिक रूपमा आफू जुन क्षेत्रमा कार्यरत छ त्यसै क्षेत्रको नियमित अनुसन्धानको क्रममा पुरानो तरिका भन्दा प्रभावकारी नयाँ तरिका प्राप्त गर्ने उपाय हो इनोभेसन। उक्त प्रकारको इनोभेसनले थप्ने नवीनता अन्तर्गत नयाँ फर्मुला वा नयाँ तरिकाहरूलाई पुराना फर्मुला वा विचारहरू सँगै संयोजन गरी दुवैको मिश्रणको संयोजन वाट नयाँ टेक्नोलोजी वा समाधानका उपाय वा उत्पादनहरू र सेवाहरू पैदा गर्ने गरिन्छ।

 

व्यवहारिक रूपमा त्यस्ता इनोभेसनहरू उक्त बस्तु वा सेवा निर्माण गर्ने र त्यसको उपभोग गर्ने क्षेत्रमा कार्यरत व्यक्तिहरुको विभिन्न ज्ञान, दृष्टिकोण र विचारहरूको संयोजन र सामूहिक प्रस्फुटन वाट सम्भव बनेको हुन्छ। उनीहरू बिचको आफ्नो अनुभव र ज्ञान वारेको कुराकानी, आपसी सहयोग र सहकार्य वाट निर्मित नयाँ ज्ञानलाई हाल सम्म उपयोगमा रहेको तत्कालीन ज्ञान सँगै मिश्रण गरी प्रयोगात्मक रूपमा नयाँ ज्ञान प्राप्त गरी विकास गरिन्छ। कटिङ-एज प्रकृतिका नव प्रवर्धनको प्राप्तिको चरण सम्म पुग्न माथि उल्लेखित को-क्रिएसन भनिने सहकार्यका अनगिन्ती चरणहरू पार नगरी प्राप्त हुन अविश्वसनीय रूपमानै कठिन रहने अनुभव इनोभेसनमा लागेकाहरुको छ।

 

संसारमा रहेका ठुला सङ्गठनहरू देखि विश्व विद्यालय आदिमा अक्सर गरेर हाबी हुने कर्मचारी तन्त्र तथा योग्यता भन्दा पद र शक्तिले संस्थाको गतिविधि निर्णायक गरिदिने दुर्भाग्यका कारण ती संस्थाहरुले नियमित इनोभेसनमा खर्चको तुलनामा लगभग शून्य प्रतिफल दिएको देखिन्छ। तिनीहरूको भूमिका कि त जडगत  प्राज्ञिक अनुसन्धान कि सैद्धान्तिक पक्षको उजागरमा सीमित रहेको भेटिन्छ। मुलुक लाई तत्काल आर्थिक लाभ दिने न्यून सम्भावना बोक्ने त्यस्ता प्रकारका अनुसन्धानमा हाल जनताको कडा परिश्रम माथि थुपारिएको कर वाट आउने रकम दिन निकै कढाई गर्ने गरिएको छ।

 

त्यसको स्थानमा अनुसन्धान रिवेटको नाममा व्यावसायिक इनोभेसनमा संलग्न निजी तथा गैर नाफामूलक सामुदायिक संस्थाहरुको इनोभेसनमा विकसित मुलुकका राष्ट्रहरूले आफ्नो पुँजीको सदुपयोग गर्ने गरेका छन्। जसमा सरकारी एक डलर बराबरको निजी क्षेत्रमा जाने लगानीले कम्तीमा छ डलर बराबरको प्रत्यक्ष प्रतिफल दिने गरेको त्यो क्षेत्रको आधिकारिक डाटाहरुले पुष्टि गर्दछ।

 

नेपाल जस्तो मुलुकमा इनोभेसनको कल्चरको विकास गर्न सक्दा विभिन्न क्षमतामा निजी क्षेत्रका साना साना इनोभेटीब कम्पनीहरू अत्यन्त न्यून मानव संसाधन खर्चमा विकास गर्न सकिने र तिनीहरूको विविधतालाई विभिन्न प्रकारको अनुसन्धान रिवेटहरु मार्फत सह-संयोजन गरी को-क्रिएसनको कल्चर विकास गरि अत्यन्त द्रुत गतिमा अन्यत्रको तुलनामा अत्यन्त छिटो इनोभेसनको जग तैयार गरि लागु गर्न सकिने अवसर छ।  त्यो अवसर लाई विगतको सरकारले सदुपयोग गर्न सकेन।

 

हाम्रो विगतको सरकारको समयमा इनोभेसनको बारेमा निकै धेरै चर्चा गरिए। कार्यक्रम समेत बनाएर लिखितममा प्रस्तुत गरिए। व्यवहारिक रूपमा सरकारको प्रयास मुलुकका बौद्धिक वर्गको मजाक गर्न र मान मर्दनमा धेरै खर्चिएको भेटियो। इनोभेसनको कुरा गर्ने सरकारले इनोभेसनको सिद्धान्त विपरीत कृषि र उद्यममा रहेका निजी क्षेत्रमा जाने अनुदान आदि काट्ने नीति ल्याएर नीतिगत रूपमै स्वेच्छाचारी विकासे दिवालियापन प्रस्तुत गर्‍यो।

 

विकासको नाममा मुलुकको इनोभेसनमा तत्काल कुनै पनि योगदान दिन नसक्ने प्रकृतिका मिति गुज्रेका पाठ्यक्रम समावेश गरी च्याउ उमारे जस्तो गरी विभिन्न विश्व विद्यालयहरू स्थापना गरियो। मुलुकलाई तत्काल प्रतिफल दिने क्षमता राख्ने इनोभेसन केन्द्रहरू खोल्ने त कुरै छोड्नुस् जेनतेन गरी महावीर पुनले जोगाएको राष्ट्रिय आविष्कार केन्द्रलाई समेत सौतेलो व्यवहार गर्‍यो। उसको प्रयास राष्ट्रिय आविष्कार केन्द्रलाई रोक्ने सम्म भएको देखियो।

 

मुलुकको दुर्भाग्य आज नेपालमा नयाँ सरकार आएको छ। तर उसको समेत चाला माला हेर्दा नेपाल जस्तो मुलुकमा इनोभेसन कुनै ठट्टाको विषय होइन भन्ने गहिराई सम्म पुग्न सकेको देखिएन। उसको ध्यान पनि सरकारमा शक्ति सन्तुलन गर्ने, चुनाव सम्म टिक्ने र जे छ त्यसैलाई जसरी चलेको छ त्यसरी नै चलाउने बाटो अँगाल्ने तर्फ उन्मुख रहेको देखिन्छ।

यो पाराले मुलुकभित्र इनोभेसनको सुरुवात भएको अनुभूति प्राप्तिको लागि समेत अर्को दुई दशक कुर्नु पर्ने हो कि भन्ने आभास भएको छ।

 

(खाद्य तथा औषधि विज्ञ, क्यानडा।)

17Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: