मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

प्रेरणा दायक कथा : समुद्र मन्थन

अन्तर्यामा समुद्र मन्थनको कथा।

नारायण घिमिरे

भागवत पुराण, महाभारत र विष्णु पुराणमा समुद्र मन्थन बारे चर्चा भएको छ। समुद्र मन्थनको कथा आफैमा एक व्यक्तिलाई आध्यात्मिक क्षेत्र तर्फ आकर्षण गर्ने एक प्रेरणा दायक कथा हो। यसमा आफ्ना इन्द्रिय सुखको चाहनाहरू लाई हटाउँदै आफ्नो इच्छाहरू लाई नियन्त्रण राखेर कठोर तपस्याको अभ्यास मार्फत मानिस लाई आफ्नो मन एकाग्र गर्न र आत्म-साक्षात्कार प्राप्त गर्न प्रेरित गर्ने उद्देश्य लुकेको हुन्छ।

 

यहाँ मन एकाग्र गर्नु भनेको न त कुनै सोफामा चुपचाप शान्त बसेर म मेरो मन एकाग्र गर्छु भनी एकाग्र गर्ने ध्याउन्न आफूले आफूलाई अनिर्णयको बन्दी बनाउनु भनेको हो, न कुनै जङ्गलमा वा ओडारमा बसेर तपस्या बस्नु भनेको नै हो। यथार्थमा मन एकाग्र गर्नु भनेर यहाँ तपाईँ जे कर्म गर्दा आफूलाई आनन्दित पाउनु हुन्छ त्यही कर्म लाई आफ्नो पेसा बनाउनुस् अनि आफ्नो कर्ममा दत्त चित्त भएर लिन हुने र आनन्दको महसुस गर्ने बानीको विकास गर्नुहोस् भनिएको हो। तपाइलाई जे प्राप्त भएको छ त्यसलाई धन्य भएर स्विकार्न सिक्नुहोस। आफ्नो जीवन पनि आनन्दमय बनाउनुहोस। आफ्नो परिवार र छिमेकमा समेत सकारात्मक सन्देश सञ्चार गर्ने मानवीयता युक्त आदर्श मानव बन्नुहोस् भनिएको हो।

 

समुद्र मन्थनको कथामा क्षीर सागरमा भएको समुन्द्र मन्थनको क्रममा भगवान् विष्णु कछुवा अवतारमा रहेर कछुवाको खपटाको सुरक्षा कवचले मन्दर पर्वतलाई सम्हालेका थिए। भगवान् विष्णु आफै मन्दर पर्वतरुपी मदानी र वासुकी नाग (सर्प) मदानी तान्ने डोरो (नेती) को रूपमा उपयोगमा आए। वासुकी नागको डोरोको सहयोगमा देवता र असुरहरू बिचको द्वन्द्वात्मक मन्थन मार्फत समुद्र मन्थन गरियो। जस वाट अमृतको उत्पादन (Intended Products) सम्भव भयो। त्यसको सह-उत्पादनको (Unintended by-products) रूपमा निस्किएको विष भगवान् नीलकण्ठ महादेवले पिइदिए र अमृतको भागको सुरक्षा सम्भव बन्यो।

 

हिन्दु मान्यता अनुसार देवताहरूले समुद्र मन्थनमा मन्दराचल पर्वतलाई मदानी बनाएका थिए भन्नुको कथाको सारमा मानिसको मनमा उठ्ने थुप्रै बिचारले उसको मनलाई चलायमान गरिदिएर उठाइदिने मनको धारारुपी सोचको पहाडको (पर्वत) प्रतिनिधित्व गर्छ। मनको दश दिसामा चल्ने  चलायमान भावको प्रतिनिधित्व गर्न मन्दर शब्दको चयन भयो। धाराप्रवाह रूपमा चल्ने मनलाई (मन) एक रेखीय प्रवाहमा लैजाने धाराको (धारा) अर्थ दिने गरी एकाग्रताको प्रतीकको रूपमा चलायमान मनको धारा जताउन मन्दराचल पर्वत शब्द चयन गरियो।

 

एउटा कछुवाले आफूलाई सांसारिक चहलपहल वाट मुक्त राख्न आफ्नो टाउको र शरीर आफ्नो खपटा भित्र लुकाएर आफूलाई एकाग्र राख्दै जीवनलाई जोखिम पुर्‍याउने बाहिरी वातावरण साम्य भएपछि मात्र पुन: आफ्नो नियमितको यात्रा सुचारु राख्दछ। कथामा विष्णुको कूर्म (कछुवा) अवतारले मन एकाग्र गर्न पहिला आफ्नो इन्द्रिय सुखको चाहना वाट आफू मुक्त हुन जरुरी रहेको सन्देश दिने गर्दछ। धाराप्रवाह रूपमा दश दिसामा चल्ने मनलाई एक रेखीय प्रवाहमा लैजाने एकाग्रता चिन्तनको अवस्थामा आफूलाई पुर्‍याउन अनिवार्य रहेको सूचना दिन्छ।

 

मन्थनको डोरीको रूपमा प्रयोग गरिएको वासुकी नाग आफैले मनमा चल्ने विभिन्न चाहनाहरुको तरङ्गहरुको (अर्थात् वेभ लेन्थ तथा फ्रीक्वोईन्सि) प्रतिनिधित्व गर्दछ। देवता र असुर शब्दहरूले उठेका तरङ्गहरू कुनै  सकारात्मक प्रकृति र कुनै नकारात्मक प्रकृतिको हुने निश्चय गरिदिन्छ। कथाको अमरताको अमृत प्राप्त गर्ने इच्छाले सकारात्मक र नकारात्मक सोच बिच आफूलाई समग्रतामा सकारात्मक पक्षमा लैजाँदै आनन्द (अमृत) गर्दै परम आनन्द (अमरताको लागि अमृत) प्राप्तिको चाहना व्यक्त गर्दछ।

 

हिन्दु परम्परामा वासुकी नागलाई एक निर्जीव तर अत्यन्त शक्तिशाली विनाशकारी नागको प्रतीकको रूपमा लिने गरिन्छ। वासुकी नागले खराब पक्षहरुको अत्यन्त क्रूरता पूर्ण रूपमा नष्ट गर्न प्रभावकारी भूमिका खेल्दछ। कथाले वासुकी नागको डोरी मार्फत मन्दराचल पर्वतको (मनको) मन्थनको क्रममा भएको असुर (खराब) र देवता (असल) पक्षहरू बिचको द्वन्द्व पछिको परिणामहरूको उल्लेख  गर्दै हरेकले आफ्नो मनमा नियमित उठ्ने द्वन्द्वात्मक सोचको तरङ्गहरूको गहिरो सोच बिचार (एकाग्रता) मार्फत खराब बिचारहरू पहिचान गरी तिनीहरुलाई निर्मम भएर त्यागिदिन जरुरी हुने यथार्थ समाज लाई स्मरण गराउने गर्दछ।

 

कथामा दूधको महासागर भनेर सामूहिक मानव चेतना तथा मानव चेतनाको कुरा गरिएको छ। जसले मानिसको मन र दिमागको सञ्चालन गर्दछ। नीलकण्ठ महादेवले (शिव) पिएको हलहल विषले हरेक क्रूर प्रकृतिको निर्णयमा कायम रहन पर्दाको क्षणमा भोग्नु पर्ने, महसुस गरिने पीडा तथा पीडा जन्य व्यवहारको दर्दको अनुभूतिको प्रतिनिधित्व गर्दछ। जसलाई एक गम्भीर प्रकृतिको तपस्या अर्थात् दृढ निश्चयको माध्यमले मात्र सामना गर्न सकिने यथार्थ बोध कथाले गराउने गर्दछ।

 

यसरी प्रस्तुत कथाले समग्रमा देवता र असुरहरू भनेर आफ्नै मनका सकारात्मक र नकारात्मक सोच बारे बोल्दछ। अमरत्वको अमृतले सत्यको आत्म साक्षात्कार गर्न भन्दछ। दूधको सागर भनेर मनमा उठेका बिचारहरूको बारे मन्थन गर्नु पर्दछ भनी सचेत गराउने गर्दछ।  मन्दराचल पर्वतले मनको एकाग्रताको जरुरतको कुरा भन्दछ। विष्णुको कूर्म अवतारले थोरै विश्राम लिएर आफ्ना इन्द्रिय सुखको पक्षलाई गौण सम्झेर गहिरो विचरण गर्न सल्लाह दिन्छ। वासुकी नागले विचारको मन्थन गरि निस्किएको नकारात्मक पक्षहरूलाई छुट्टाएर फाल्न दृढ संकल्पको जरुरत सम्झाउने गर्दछ।

 

कथामा  गहिरो विचरण गरी योजना बद्ध रूपमा सञ्चालन गरिएको सत्कर्मको नतिजा प्राय: उत्तम हुने भन्दै उत्तम फललाई अमृत भनिएको छ।  साथै यो पनि भनिएको छ कि, हरेक सकारात्मक उत्पादन (अमृत) प्राप्त हुँदै गर्दा त्यहाँ नकारात्मक पक्ष (विष) समेत त्यसको सह-उत्पादनको रूपमा आइलाग्ने गर्दछ। दृढ इच्छा  शक्ति सहित त्यसको डटेर सामना गर्दै सत्कर्ममा कायम रहनुलाई त्यस्तो नकारात्मकता लाई हलहल विष  सम्झेर सहर्ष सेवन  गर्न तैयार रहन  जरुरत रहेको बारे समेत सचेत गराएको छ।

 

कथाको अनुसार दानवहरूले नेतीको रूपमा प्रयोग भएको नागको टाउको पट्टिको भाग समाउन माग गरे अनुरूप भगवान् विष्णुको सुझावले देवहरू पुच्छर तिरको भाग समाउन राजी भएका थिए। समुन्द्र मन्थनको क्रममा वासुकि नागको मुखतर्फ बाट उत्सर्जन भएको विषालु वाष्पबाट दैत्यहरू सङ्क्रमित भएकोले देवहरूमा सहजता थपिएको थियो।

 

अमृत पाउने इच्छाले भएको समुन्द्र मन्थन गर्दा सबैभन्दा पहिला सर्वाधिक विषालु काल कूट विष निस्कियो। विषालु काल कूट विषले देव-दानवहरू दुवैलाई सक्ने अवस्था आइलाग्यो। उनीहरूले पहिले त्यसको न त आकलन गरे न त्यसको लागि वैकल्पिक उपाय नै व्यवस्था गरेका थिए।  फलतः उनीहरूलाई त्यो विष तह लगाउन शिव लाई गुहार्न पर्ने स्थितिमा पुगे। शिवले त्यसलाई पिएर समुन्द्र सफा गरे।

 

कथा भन्दछ समुन्द्र मन्थनको अन्त्यमा जब समुन्द्रबाट १४ रत्न तथा अमृतको प्राप्ति भयो, अमृत राख्ने घडा लिएर देवताहरुको वैद्य धन्वन्तरि प्रकट भएर अमृत लिएर जाने सुर कसे। उक्त अमृत आफ्नो कब्जामा लिन देव र दानव बिच भएको भयङ्कर युद्ध भयो। युद्ध र दानव दुवै वाट अमृत जोगाउन विष्णुले मोहिनी अवतार धारण गरेर असुरहरूलाई ध्यान खिचे र त्यही मौकामा अमृतको घडा लिएर गरुड युद्ध भूमिबाट अन्यत्र उड्यो। त्यसरी जोगिएको अमृत धन्वन्तरिले देवताहरूलाई बाँडे।

 

कथामा भगवान् विष्णुले तत्कालीन अवस्थामा मोहिनी रूप धारण गरेको उल्लेख गरिनुको आफ्नै उद्देश्य छ। मोहिनी यथार्थमा लोभ, भ्रम तथा गर्वले उत्पन्न गर्ने अहङ्कारको प्रतीक हो। कथामा आपसी द्वन्द्व हुँदै गर्दा आफ्नो लक्ष्यको धेरै नजिक पुगे पछि देवताहरू तथा असुरहरू दुवै पक्षमा रहेको अहङ्कारले उनीहरू  कुनै आपत् विपथ आई लाग्ने सम्म कल्पना नगरी युद्धमा होमिए। आफ्नो घमन्ड र मोहले विना पूर्व तैयारी युद्धमा होमिएकोले गर्दा उनीहरूलाई अर्को विपथको सामना गर्नुपर्ने स्थिति आइलाग्यो। कतिपय समयमा उनीहरू स्वार्थी र लोभी समेत देखिए। जितको हासिल गर्नुपर्ने अवस्थामा आफ्नो लक्षवाट अन्यत्र विचलित बन्न बाध्य भए।

 

कथाको यस पक्षले हरेक व्यक्तिलाई आफ्नो अन्तिम सत्य प्राप्त हुनु अघि आफूमा उत्पन्न हुने तत्काल केही प्राप्तिको लोभ, भ्रम र आफ्नो शक्तिको घमन्डमा परेर आफूलाई स्वतः युद्ध जित्ने ठानी वैकल्पिक अवस्थाको व्यवस्था बारे तैयारी नगर्दा हुन सक्ने खती बारे प्रस्ट गरिएको छ।आफूले स्वतः जित्ने अहङ्कारको मूल्यको अनुभूति दिलाएको छ।

 

आत्म ज्ञान तथा तत्त्व ज्ञान प्राप्तिको लागि हरेक मानिसले आफ्नो जीवनमा केहि अनिवार्य पूर्व सर्त पुरा गर्नु पर्दछ। उक्त अनिवार्य पूर्व सर्त व्यक्तिको स्वास्थ्य असल रहन पर्नु हो। आफ्नो स्वास्थ्य असल राख्न हरेक व्यक्तिको शरीर र मन दुवै स्वास्थ्य रहन जरुरी हुन्छ। शरीरले साथ दिएमा सम्भव हुने तत्त्व ज्ञान तथा आत्म ज्ञानको प्राप्तिले मानिसमा सन्तुष्टिको विकास गर्दै उसलाई मनोवैज्ञानिक तथा आध्यात्मिक रूपमा स्वस्थ र सबल पारिदिन्छ।

 

धन्वन्तरि आयुर्वेदको प्रवर्तक हुन्। धन्वन्तरिले प्रतिपादन गरेको उपाय व्यक्तिमा सम्पूर्ण रुपको स्वास्थ्य पन र अमरता प्राप्तिको लागि उपयोगमा आउने गर्दछ। यथार्थमा धन्वन्तरिको जीवन विज्ञानको अवधारणाको उपयोग मार्फत हरेक व्यक्तिमा व्यावहारिक रूपमा प्राप्त गर्न सम्भव रहेको स्वास्थ्य र दीर्घायुको अवस्थाको प्राप्ति सम्भव बन्दछ। कथामा धन्वन्तरिको उल्लेख गरेर समाजमा आफ्नो सम्पूर्ण रूपको स्वस्थ अवस्था कायम राख्ने आयुर्वेद चिकित्सा प्रविधि जस्ता उपाय सबैको लागी उपलब्ध रहेको सन्देश समेत सम्प्रेषण गरिदिएको छ।

 

यसरी समुद्र मन्थनको कथा हिन्दु विचारधाराले वकालत गर्ने चुरो मानवीय पक्षहरू, विश्वासहरू, धर्मगत अनुभवहरू र दर्शनहरूलाई एउटा कथाको रूपमा सर्वसाधारण व्यक्तिहरू सम्म पुर्‍याएर त्यसमा अन्तर्निहित मानवताको सन्देशको विशिष्टता मार्फत पाठक तथा श्रोताहरूको अन्तर्यमा शक्तिशाली अनुभूति र अन्तर्दृष्टि जगाउँदै उनीहरूको जीवनलाई उद्देश्य मूलक बनाउन सहयोग गर्ने उद्देश्यमा वाचन गरिने गरिन्छ। हिन्दु संस्कृतिमा व्याप्त रहेका अन्य कथाहरू जस्तै यसको उद्देश्य समेत अहिंसा र मानवताको प्रवर्धन हो।

 

(प्रस्तुत लेखका लेखक खाद्य तथा औषधि विज्ञ घिमिरे हाल क्वान्टम मेटाफिजिक्समा विद्यावारिधि गरिरहेका छन्।)

(डिसी नेपाल वाट साभार)

13Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: