मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

महामारी र आयुर्वेद

नारायण घिमिरे

 

कोभिड -१९ को महामारीको भुक्त भोगी  संसारका २४ देशहरूका १२,००० मानिसहरूमा उनीहरूको स्वास्थ्य र पोषण प्रतिको चासोको सन्दर्भमा परिवर्तित अवस्थाले विकास गरेको दृष्टिकोण बारे हालै एक विश्वव्यापी सर्वेक्षण गरियो। सर्वेक्षणका अनुसार ६५ प्रतिशत व्यक्तिहरूको आफ्नो स्वास्थ्य र पोषण सम्बन्धका धेरै चिन्ताहरू मद्ये शीर्ष तीन स्थानमा रहेको चिन्तामा आफ्नो शरीरको प्रतिरक्षा क्षमता बनेको बताए।

 

सबै उमेर समूहका मानिसहरूमा आफ्नो प्रतिरक्षा क्षमता बारेको चिन्ता समान देखिन्थ्यो। ३० वर्ष उमेर समूह माथिका मानिसहरू भने तुलनात्मक रूपमा रोग र बिमारीको जोखिमको बारेमा अन्य उमेर समूहको मानिसहरू भन्दा धेरै चिन्तित रहेको सर्वेक्षणले देखायो।

 

विश्वव्यापी सर्वेक्षणमा सहभागी प्राय सबै नै मानिसहरूले आफूले हाल आफ्नो खाना वा पेयमा प्रतिरक्षा प्रणाली अभिवृद्धि गर्ने पोषण तत्त्वहरू समावेश हुने गरी खान कोसिस  गरेको बताए। संसार भरका मानिसहरूको हालको गतिविधि अनुरूप कोभिड -१९ पछाडि उनीहरूको खान-पान र व्यवहारमा आएको गहिरो र दिगो प्रभावहरूले आगामी दिनमा बजारमा रोग प्रतिरोधी क्षमता अभिबृद्दी गर्ने जडीबुटी र वैकल्पिक हिलिङ्ग खाद्यको माग अत्यधिक बढाउने बुझाउँथ्यो।

 

हुन पनि कोभिड-१९ को महामारीले मानिसको जीवनका धेरै गतिविधिहरूमा परिवर्तन गरिदिएको छ। असाध्यै ठुलो जन सङ्ख्या खान पान र जीवन शैलीमा अत्यन्त सावधानी पूर्वक स्वास्थ्य र स्वास्थ्य स्थितिमा सुधार पुगोस् भन्ने स्व-केन्द्रित दृष्टिकोण सहित जीवन जिउने क्रम बढिरहेको छ।

 

मानिसहरू शरीरको प्रतिरक्षा क्षमता विषयमा आफ्नो चेतना अभिवृद्धि गर्न लालायित भेटिने गर्छन। उनीहरूले बिस्तारै कमसल रोग प्रतिरक्षा क्षमता नै आफूमा विकास हुने पाचनका समस्या, निर्बलता, अल्छीपन, एलर्जी, मानसिक रोग, सरुवा रोग आदिको प्रमुख कारक हुने महसुस गरिरहेका भेटिन्छन।

 

खाना वा पेय वा सप्लिमेन्ट वा ओखतीका उपभोक्ताहरू पैसा महँगो हुँदैमा र प्रभावकारी विज्ञापन देखिँदैमा प्रभावकारी नरहने गहिरो  अनुभूति गरिरहेको भेटिन्छ। पश्चिमा इञ्जिनियरिङ्गको जडीबुटीको सारतत्त्वहरू निकाली बनाएको सप्लिमेन्ट वा भिटामिन, मिनिरल आदिका क्याप्सुल होस वा चक्की सबै सँग निराश बन्दै गएको देखिन्छ।

 

आज आएर प्रमाणित भएको तथ्य के हो भने पश्चिमा इञ्जिनियरिङ्ग भएका खाद्य सप्लिमेन्टका क्याप्सुल वा चक्कीहरू सैद्धान्तिक रूपमामात्र उपयोगी तत्त्वहरू युक्त भेटिन्छ। ल्याबका टेस्टहरूमा तिनीहरूमा शरीरको लागि जरुरत हुने भनिएका पदार्थहरू देखिने पनि गर्छन। तर तिनीहरू मानिसको आफ्नो पाचन प्रणाली मैत्री नरहेकाले शरीरको वास्तविक प्रयोजनमा भने आउने अत्यन्त झिनो सम्भावना रहन्छ।

  

 

शरीरले खाना मार्फत आफूलाई जरुरत हुने प्राकृतिक सारतत्त्वहरू (अर्थात पोषण तत्त्व, औषधीय तत्त्व र ओज तत्त्व) उक्त खाना प्राकृतिक पाचन प्रक्रिया वाट गुज्रेर मात्र प्राप्त गर्ने गर्छ। पश्चिमाहरूले विकास गरेको हालका भिटामिन, मिनिरल र अन्य तागत दिने पदार्थहरू एवम् खाद्य सप्लिमेन्टहरुमा रहेका सार तत्त्वहरू शरीरको आवश्यकताको जरुरत पूर्ति गर्न सक्ने हैसियत च्युत बनेको यथार्थ संसारले भर्खरै बुझ्दै छ।

 

त्यो सन्दर्भमा आफूलाई चाहिने तत्त्व पाइने आसमा ठुलो धनराशि खर्चेर आफूले खरिद गरेर उपभोग गरेको बस्तुमा बताइए अनुरूपको क्षमता स्खलित भएको र प्रभावकारि  नतिजा पाउन नसकेको वाट उपभोक्ताहरू निराश देखिन्छन।

 

तोकिए अनुरुपको गुणस्तर पुगेको भनि वैज्ञानिक नामकरण गरिएको तर पूर्ण अबैज्ञानिक कानुनी र गुणस्तरीय मापदण्ड पुर्‍याएको भरमा बजारमा पुगेका यस्ता पदार्थहरु भनिएका र दाबी गरिएका नतिजा दिन सक्ने अबस्थामा रहन सक्ने स्थिति नै होइन। कर्म क्षेत्रको यथार्थता मात्र के हो भने प्रयोग शालामा परिक्षण गर्दा तिनीहरुमा भनिएका तत्व हरुको उपस्थिति भनिए अनुरुप भेटिने गर्छ।

 

प्रडक्ट डेभलपमेन्टको क्रममा तिनीहरुले अत्यन्त साघुरो घेराभित्र अपनाएको नियन्त्रित अनुसन्धानमा आएको नतिजाको भरमा तिनीहरुलाई बजारमा जाने अनुमति दिइएको हो। तिनीहरु प्राय: जसो आयुर्वेदिक औषधि र सप्लिमेन्टहरु जस्तो परम्परागत रूपमा पुस्तौँ पुस्ता मानिसले सेवन गरी अब्बल प्रमाणित भएका समेत हुने गर्दैनन।

 

अनुसन्धानको क्रममा देखिएको सबैभन्दा चाख लाग्दो विषय  के रहेको छ भने बजारमा आज उपभोक्ताहरू आफ्नो शरीरको माग पूर्ति गर्ने पोषण तत्त्व, औषधीय तत्त्व र ओज तत्त्व युक्त खानाहरू खोजिरहेका छन। उनीहरूमा उनीहरूले दैनिक खाने खाना पूर्ति गर्ने उद्यमहरूले स्वास्थ्यकर खाना उत्पादनको लागि प्राकृतिक पदार्थहरूको प्रयोग गरी खाद्य पदार्थ उत्पादन गर्न ध्यान केन्द्रित गर्न जरुरी रहेको धारणा विकास भएको छ।

 

मानिसको सर्वाङ्गीण विकासमा भूमिका पुर्‍याउने र प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउने प्रकृतिको स्वस्थ खाना बनाउन अनिबार्य हुने “स्वास्थ्यको लागि समग्र दृष्टिकोण” युक्त प्रणाली सम्बन्धित खाद्य उद्यमहरूमा अनिबार्य लागु हुनुपर्ने धारणा अघि सार्ने गरेको भेटिन्छन।

 

कोशिकाका झिल्लीहरू पार गरी माइकोकोन्ड्रिया नामक सा-साना कोशिकाका इन्जिनहरूमा जब श्वासप्रश्वास प्रक्रिया वाट आउने अक्सिजन र पाचन प्रक्रिया वाट आउने खाना पुग्छ, ती शुस्म इन्जिनहरूले चिनीलाई कार्बन डाइअक्साइड र ऊर्जामा परिणत गरिदिन्छ। उक्त क्रममा प्राप्त हुने ऊर्जाले नै जीवनलाई जरुरी हुने इन्धन दिन्छ।

 

शरीरमा खाना टुक्रने, अबशोषण हुने, पाचन हुने र त्यो बापत प्राप्त शक्ति वाट शरीरका गतिबिधिहरु सञ्चालित बनी शरीर जीवित रहने गर्छ। जुन कुरा यहाँ उल्लेख गरिए  जस्तो सहज र सरल भने देखिँदैन। किनकि त्यहाँ नितान्त जटिल संयन्त्र र बहुआयमिक प्रक्रियाको संलग्नता भेटिन्छ।

 

पाचन प्रक्रियाको लागि खाना र अक्सिजनको अतिरिक्त नकारात्मक चार्जका कणहरू अथवा इलेक्ट्रोनहरुको प्रवाह अनिबार्य हुन्छ। जसको जोहो शरीरले गर्ने गर्छ। माइकोकोन्ड्रियाको आन्तरिक झिल्ली भित्र रहने चार वटा प्रोटिनहरूमा प्रवाह गरिने इलेकट्रोनको सहयोग वाट माइकोकोन्ड्रिया भित्र खानावाट ऊर्जा उत्पन्न हुन जरुरी ऊर्जाको आपूर्ति गरिन्छ।

 

खानाको वास्तविक पाचन प्रक्रिया ठानिने यो शक्ति उत्पादन प्रक्रिया वाट प्राप्त हुने ऊर्जाले शरीर सञ्चालनको तागतको काम गर्दछ। माइकोकोन्ड्रिया भित्रको सेलुलर पानी मीललाई खाना पचाउन उपलब्ध गराइएको सबै इलेकट्रोनहरूको खपत गर्न सकेको देखिँदैन। प्रोटिनका पानी मिलहरूले खपत खपत गर्न नसकेका इलेकट्रोनहरूको चुहावट भइदिन्छ। चुहावट भएका इलेकट्रोनहरू नजिकैको अक्सिजनका अणुहरू सँग ठोकिन पुग्छ। जसले गर्दा अक्सिजन टुक्रिएर स्वतन्त्र अक्सिजन पैदा गरिदिन्छ। स्वतन्त्र अक्सिजनमा फ्री इलेकट्रोन रहने हुँदा अत्यन्त रियाक्टिब प्रकृतिको हुने भएकाले यसलाई फ्री रेडिकल भन्ने गरिन्छ।

 

यसरी उत्पन्न भएको फ्री-रेडिकलहरूले आफूलाई सन्तुलनमा ल्याउन वरपरको संरचनाहरूमा रहेको डिएनए र प्रोटिनका अणुहरूबाट इलेकट्रोनहरू जबरजस्ती खिचेर लिई दिन्छ। यो क्रम शरीरको सबै भागमा नियमित रहन्छ। फ्री-रेडिकलहरूले डिएनए र प्रोटिनका अणुहरूबाट आफूलाई जरुरत इलेकट्रोनहरू जबरजस्ती खिचेर लिइदिने क्रम जारी रहदा लामो समयमा शरीरमा बुढेसकाल निम्ताउने, उमेर-सम्बन्धित रोगहरू विकास हुने,  इलेकट्रोनहरूको चुहावट अधिक हुने क्रमले हद नाघेमा म्युटेसनका कारणले हुने क्यान्सर जस्ता दुर्भाग्य निम्त्याउन  सक्छ।

 

जीवनलाई  हृष्ट पुष्ट राखी  पल पल जीवित राख्ने  अक्सिजन  खाना नपचाउने क्रममा लिक भएको बिजुली नियन्त्रण गरी संवेदनशील अङ्गहरूलाई हानि गर्न नदिने क्रममा आफै रेडिकलाइज बन्न पुगी शरीरलाई बूढो बनाउने, कमजोर तुल्याउने, क्यान्सर पैदा गराउने र इहलीला समेत समाप्त पार्ने कारक बनिदिने गर्छ। यो अर्थमा अक्सिजनले हाम्रो स्वास्थ्यको लागि दुबैतर्फ धार बोकेको खुकुरी जस्तो फाइदा र बेफाइदाको भूमिका निभाउँदछ।

 

सिधान्तगत रूपमा उल्लेख गर्दा शरीरमा फ्री रेडिकल्स पैदा हुने स्थितिमा कमी ल्याएर तथा उत्पन्न हुने फ्री रेडिकल्स वाट शरीरलाई पुग्ने हानि न्यून गर्न सक्दा हामीले आशा गरिएअनुरूप पुरा उमेर स्वस्थ जीवन जिउन, स्फूर्त रहेर छिटै बुडौली पन लाग्न नदिन र लामो समय आफ्नो आयु बढाउन सक्छौ।

 

आयुर्वेदको सिधान्त अनुरूप खान पान र जीवन पद्धतिमा सुधार गरेर शरीरमा फ्री रेडिकल्स पैदा हुने स्थितिमा कमी ल्याउन तथा उत्पन्न हुने फ्री रेडिकल्स वाट शरीरलाई पुग्ने हानि न्यून गर्न सम्भव बन्छ। यो अर्थमा आयुर्वेदमा खाना वाट पोषण, ओजस्वी तागत र औषधीय क्षमताको पूर्तिको समेत परिकल्पना गरिएको हो।

 

आयुर्वेदिक मान्यतामा ओजस्वी तागत वृद्धि गर्न सक्दा पाचन प्रक्रियामा हुने इलेकट्रोनको चुहावट घटाउन मद्दत पुग्छ। जस्तै गाजामा हुने टिएचसी र सिबिडी जस्ता क्यानाबिनोइडहरुको नियन्त्रित सेवनले शरीरले आफै बनाउने ओजस्वी सार तत्त्व आनन्दमाइडको कमीको पूर्ति गरी प्रोटिनका पानी-मिलहरूलाई प्रभावकारी सञ्चालनमा सहयोग पुर्‍याएर इलेकट्रोनको चुहावटमा कमी ल्याउन सकिन्छ। त्यस्तै योग तथा मेडिटेसन जस्ता उपायहरू बाट समेत फ्री रेडिकल्स उत्पन्न हुने स्थितिमा कमी ल्याउन सकिन्छ।

 

चुहावट भएको इलेकट्रोनका कारण रेडिकलाइज बनेको अक्सिजनलाई खानामा एन्टीअक्सिडेन्टहरू उपलब्ध गराएर शान्त बनाउन सकिन्छ। जब खानामा एन्टीअक्सिडेन्टहरू उपलब्ध हुन्छ तब फ्री रेडिकल्सहरु पैदा हुनासाथ एन्टीअक्सिडेन्टहरूले रेडिकल अक्सिजनलाई जरुरी हुने इलेकट्रोन उपलब्ध गराई दिन्छ। जसले गर्दा रेडिकल आयोन सन्तुलनमा आइ अन्य कुनै हानि नोक्सानी पुर्‍याउन सक्दैन। रेडिकल्स आयोनले शरीरको लागि अत्यन्त संवेदनशील मानिने डिएनए र प्रोटिनका अणुहरूबाट जबरजस्ती इलेकट्रोनहरू खिचेर लिन पर्ने अवस्थाको अन्त हुन्छ। आयुर्वेदिक जडीबुटी र अन्य उपायहरू प्राकृतिक रूपमा खानामा एन्टीअक्सिडेन्टहरू उपलब्ध गराउने एक उत्कृष्ट विधि हो।

 

यो बारेमा गहिरिएर बुझ्न केही तथ्यगत परीक्षणका नतिजाहरू हेरौँ। १९७० देखि १९८० सम्म मुसामा एन्टीअक्सिडेन्टको प्रभावहरू बारे धेरै अनुसन्धानहरू गरियो। जसमा  टेष्ट गर्न चाहेको एन्टीअक्सिडेन्टहरु वैज्ञानिक प्रोटोकल अनुरूप मुसालाई खानामा दिने, जेनेटिकल्ली मोडिफाई गरी दिने। कुनै टेष्टमा सुई लगाएर सिधै रगतमा पनि दिइयो।

 

अधिकांश अनुशन्धानहरुमा जीवनको स्फूर्ति बढाउने, रोग नलगाउने वा उमेर तन्काउने काममा उक्त एन्टीअक्सिडेन्टका सप्लिमेन्टहरूको प्रभावकारी भूमिका खेलेको भेटिएन। मान्छेमा चाही यसको प्रभाव होला कि त भन्ने परीक्षण गर्न १९९४ मा ५० वर्ष समूहका २९,१३३ फिनल्यान्डका नागरिकमा बिटा-क्यारोटिन सप्लिमेन्ट दिइयो। बिटा-क्यारोटिन सप्लिमेन्ट खाने १६% मा उल्टो फोक्सोको क्यान्सरको जोखिम बढेको देखायो।

 

१० वर्ष लगाएर अमेरिकामा फोलिक एसिड नामको एक प्रकारको भिटामिन “बि”   सेवन गराइएका महिलाहरूमा स्तनको क्यान्सरको जोखिम झन् २०% ले बढेको देखायो। १९९६ मा १००० जना अधिक धूम्रपान गर्ने मानिसमा भिटामिन “ए” र  बिटा – क्यारोटिन सप्लिमेन्ट दिई गरिएको परीक्षणमा २८% मा क्यान्सरको जोखिम बढाएको र १७% ले मृत्युदर बढेको दुर्भाग्य बेहोर्न पर्‍यो।

२००७ मा अमेरिकन नेशनल क्यान्सर इन्स्टिच्युटले मल्टि-भिटामिन लिने मानिसको नलिनेको भन्दा दुई गुना बढी मृत्यु दर भेटिएको कुरा सार्वजनिक गर्‍यो। २०११ मा ३५,५३३ स्वस्थ मानिसमा दिइएको भिटामिन “ई” र “सेलेनियम” सप्लिमेन्टले उनीहरूमा १७% ले प्रोस्टेट क्यान्सरको जोखिम बढाएको भेटायो।

 

भिटामिन “सी” सप्लिमेंत्को हकमा ठिक्क मात्रामा हुँदा त्यसले एन्टीअक्सिडेन्टको केही भूमिका निभाएको भेटिएको हो। तर फ्री ईलेक्ट्रोंन लिने क्रममा भिटामिन सी आफै रेडीकलाइज भइदिने र त्यसलाई नियन्त्रण गर्न कि त अस्वोभाबिक रूपमा धेरै भिटामिन सी खानु पर्ने कि त्यसको खती शरीरले बेहोर्नु पर्ने अवस्था सिर्जना हुने देखियो।

 

२०१२ मा गरिएको २७ क्लिनिकल ट्रायलहरूको विविध प्रकारको निष्कर्षको मुख्य निष्कर्ष के रहयो भने एन्टीअक्सिडेन्टहरुको प्रभावकारिता सप्लिमेन्टहरूमा रहेका तत्त्वहरू  शरीरको पाचन प्रक्रिया मैत्री अनुरूपको नरहेकाले प्रभावकारी नभएको बरु धेरै अवस्थामा प्रत्युत्पादक बन्ने गरेको निष्कर्ष निक्लियो।

 

यस्ता सबै प्रकारका वैज्ञानिक परीक्षणका निचोड के हो भने खानामा शरीरको लागि चाहिने तत्त्व शरीर लाई उपलब्ध हुने अवस्थामा हुनुपर्छ। हाम्रो नियमित खानामा पाइने तत्त्वहरू हाम्रो पाचन प्रक्रिया मैत्री रूपमा रहन्छन। जब हामी शरीरको  कुनै विशेष अवस्थाको समस्या निवारणमा विशेष तत्त्वहरू शरीरलाई उपलब्ध गराउन चाहन्छौ भने त्यो खानाकै प्रकृतिको रहदा चाहिने तत्त्व शरीर लाई उपलब्ध हुने अवस्थामा हुने निश्चित गर्न सकिन्छ।

 

हाम्रा आयुर्वेदिक फर्मुलेसनहरुको अत्यन्त शक्तिशाली र प्रभावकारी तागत भनेकै शरीरको  कुनै विशेष अवस्थाको समस्या निवारणमा विशेष तत्त्वहरू शरीरलाई उपलब्ध गराउन खानाकै प्रकृतिको औषधीय पदार्थको विकास गरिनु हो जहाँ जुन जुन तत्त्वहरूको खाँचो शरीरलाई परिरहेको छ त्यो शरीरलाई उपलब्ध हुने अवस्थामा रहने निश्चित हुने गरी डिजाइनको अवस्थामै इञ्जिनियरिङ्ग गरिएको हुन्छ। 

 

समग्रमा सर्वेक्षणहरूले उजागर गरेको चुरो कुरा के हो भने कोभिड -१९ जस्ता महामारीले संसारका मानिसहरूलाई स्वस्थ जीवन यापनको लागि आयुर्वेदिक जीवन शैलीले बताउने प्रकृति मैत्री जीविका, खानपान र औसधिमुलोको फाइदा र प्रभावकारिता बारे  धेरै सकारात्मक  पाठहरू सिकाएको  छ। 

 

हामीले आफूले र संसारलाई आयुर्वेदिक पद्धतिको महत्त्व र दर्शन राम्रो सँग बुझाउन नसक्नु हाम्रा कमजोरी आफ्नै ठाउँमा होलान्। तर आयुर्वेदिक प्रणालीको स्वास्थ्यको लागि समग्र दृष्टिकोणको उपयोग गरिने प्रमुख विशेषताको महत्त्व अब भने संसारले महसुस गरिसकेको छ।

 

कोरोनाले ढाड सेके पछि संसारभरका खाद्य बस्तुका उपभोक्ताहरूको आयुर्वेदिक दृष्टिकोणको खाद्य तथा औषधीय पदार्थहरू तर्फ चरम आकर्षण भेटिएको छ। विश्वव्यापी रूपमा खोपहरू विकासको क्रम पुरा भएर वितरण र प्रयोग भइरहेको अवस्था आए पनि कोभिड-१९ ले उपभोक्ताहरूमा पैदा गरेको खानाको स्वच्छता र त्यसका सारतत्वहरूको शरीरमा उपलब्धता एवं अनुकूलन प्रतिरक्षा प्रणालीको बारेको जागरूकताका कारण बजारमा आयुर्वेदिक दृष्टिकोणको खाद्य तथा औषधीय पदार्थहरूको चरम माग बढ्दो क्रममा हुने सुनिश्चित गराएको छ।

 

यस्तो अनुकूल परिस्थितिमा समेत न त माग गर्ने उपभोक्ताहरूमा यस्तो प्रकृतिका खाद्य तथा ओखतीहरू आयुर्वेद, सिद्ध, युनानी र चिनिया परम्परागत औषधि विज्ञानमा उपलब्ध छ भन्ने पर्याप्त ज्ञान भेटिन्छ। न त्यस्ता उत्पादन गर्ने क्षमता भएका मुलुक र उद्यमीहरू आफैले स्थितिको सही आकलन गरी मौकामा चौका हान्न सुवर्ण अवसरको प्रयोग गरी आफ्नो आर्थिक उन्नति गर्न सकिने अवसरको सदुपयोग गर्ने तर्फ ध्यान नै पुर्‍याउन सकेको देखिन्छ।

 

(खाद्य तथा औषधि विज्ञ, क्यानडा।)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: