मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

रक्सी भन्दा ११४ गुणा गाँजा सुरक्षित ! कफी वा रक्सी सँगै मिसाएर गाँजा सेवन नगरौँ !!

नारायण घिमिरे

तपाइको आफ्नो स्वस्थ स्थिति र शरीरको क्षमता अनुरूप अम्मली खाद्य पदार्थले तपाइलाइ दिने विषाक्तता अरूलाई दिने भन्दा फरक हुन सक्छ। हरेक अम्मलको रासायनिक पदार्थको हरेक व्यक्तिमा आफ्नै प्रकारको (विशिष्ट प्रकृतिको) रासायनिक विषाक्तताको (टकसिसिटि) जोखिम रहन्छ। व्यक्ति व्यक्तिमा फरक रहेकाले विशिष्ट प्रकृतिको रासायनिक विषाक्तता भनिने अम्मली पदार्थको विषाक्तताको हदको आधारमा कुन लागु पदार्थको असर कसलाई कस्तो पर्ने गर्छ भनी यकिन गर्न हरेक व्यक्तिमै केन्द्रित रहेर परीक्षण, अनुसन्धान, विश्लेषण र अनुमानको जरुरत पर्दछ।

 

मानिसको जीवन पद्दति सँगै जोडिन पुग्ने हरेक अम्मल तथा लागु पदार्थले हरेक व्यक्तिमा दिने जोखिम समय, खर्च र प्रविधिको सार क्षमताको सन्दर्भले व्यवहारिक हुँदैन। तसर्थ कुन अम्मल, लागु पदार्थले आदिले कुनै अमुक व्यक्तिलाई कस्तो जोखिम दिन्छ भन्ने कुरा सामान्यीकरण गर्न सकिने अवस्था समेत रहँदैन। त्यसैले व्यक्तिको उमेर समूह, लिङ्ग र शारीरिक अवस्थाको  (गर्भवती, दूध-चुसाउने आमा, तौल समूह आदि) आधारमा अम्मली अथवा लागु पदार्थको सुरक्षित सेवनको अधिकतम मात्रा निर्धारण गरिन्छ।

 

सेन्थेटिक ओखती मुलो, उच्च प्रशोधित खानपान र अप्राकृतिक जीवन शैलीको दबदबा बढेको आजको दुनियाँमा ओखती र विषको फरक पदार्थको सुरक्षित सेवनको मात्राले निर्धारण गर्ने गर्दछ। सुरक्षित मात्रा भन्दा धेरै ग्रहण गर्दा विष हुने कतिपय पदार्थ सुरक्षित सेवनको मात्रामा सेवन गर्दा औषधीय गुनको हुने गर्दछ।

अधिक सेवन गर्दा विषाक्त हुने हरेक पदार्थको एउटा निश्चित अधिकतम मात्रा (कहिले कहीँ न्यूनतम मात्रा) जसलाइ लक्षित गरिएको समूहको व्यक्तिले सेवन गर्दा उक्त पदार्थको विषाक्तताले हानि पुर्‍याउने जोखिम रहँदैन त्यसलाई त्यसको सुरक्षित सेवनको मात्रा भनिन्छ।

 

औषधीय तथा लागु पदार्थको वैज्ञानिक रूपमा निश्चित गरिएको अधिकतम (वा न्यूनतम) मात्रा जसको सेवनले विषाक्तताको जोखिम नगण्य रहने यकिन हुन्छ त्यसलाई औषधि विज्ञानमा टक्सिकोलोजिकल थ्रेसहोल्ड भनिन्छ। प्राय: व्यक्तिको उमेर समूह, लिङ्ग र शारीरिक अवस्थाको आधारमा लागु तथा अम्मल पदार्थहरूको टक्सिकोलोजिकल थ्रेसहोल्ड निर्धारण गरिन्छ।

 

अम्मली पदार्थ एक पटक सेवन गर्दा सेवन कर्ताले कति मात्रामा सेवन गरिरहेको छ र त्यसको वैज्ञानिक रूपमा प्रमाणित भएको सुरक्षित टक्सिकोलोजिकल थ्रेसहोल्ड (विषाक्तताको जोखिम विहीनताको मात्रा) कति छ, त्यसको अनुपात अथवा रेसियो लाई उक्त अम्मलको जोखिमको हद अथवा मार्जिन अफ एक्सपोजर भनिन्छ। अम्मली पदार्थको जोखिमको हद अथवा मार्जिन अफ एक्सपोजरको रेसियो जति धेरै हुन्छ त्यति त्यसले समाजमा विकृति भित्राउने सम्भावना न्यून रहने वैज्ञानिक अवधारणा छ।

 

रक्सी, सुर्ती र गाँजा लगायतका अम्मलहरू समेत समावेश गरी  तिनीहरुको सम्भावित जोखिमको हद मार्जिन अफ एक्सपोजरको बैज्ञानिक तरिका अपनाएर  गरिएको अनुसन्धान नेचरले ३० जनवरी २०१५ मा  प्रकाशित गरेको छ । जसमा सबैको आँखा खुल्ने गरी गाँजाको वारेका अत्यन्त महत्त्व पूर्ण वैज्ञानिक प्रमाणित तथ्यहरू उल्लेख भएको छ।

 

गाँजामा टिएचसि भनिने एउटा तत्त्व हुन्छ। जसले मानिसलाई लट्ठ तथा झुम्म अथवा हेलुसिनेसनको असर पारि एक प्रकारको नसा दिने गर्दछ। मुख वाट लिइने गाँजामा रहेको टिएचसिको टक्सिकोलोजिकल थ्रेसहोल्ड (विषाक्तताको जोखिम विहीनताको मात्रा) प्रति केजी शरीरको तौलको हिसाबमा ०.०४ मिलिग्राम हुने गर्दछ।

 

मुटुको धड्कन बढाउने बैगुन निम्त्याउने सुर्तीमा पाइने निकोटिनको टक्सिकोलोजिकल थ्रेसहोल्ड ०.००८ छ। फोक्सो बिग्रेर खत बसी फोक्सोलाई दागी पारि कमजोर बनाउने लिभर सिरोसिस नामक रोगको विकास गर्ने रक्सीमा हुने इथानोलको टक्सिकोलोजिकल थ्रेसहोल्ड ०.४ रहेको छ।

 

त्यस्तै गाँजा, सुर्ती वा रक्सी दैनिक पिउने वा खाने बानी परेका अम्मलीहरू गाँजा वाट टिएचसि १०-६० मिलिग्राम, सुर्ती वाट निकोटिन १.६५ -१.८९ मिलिग्राम र रक्सी वाट इथानोल १३.६-५४.४ ग्राम अम्मलको रूपमा आफ्नो शरीर हुँदै रगतलाई सिञ्चित गर्ने गरेको भेटिन्छ।

 

रिपोर्टमा उल्लेख भए अनुरूप प्राप्त तथ्यहरुको वैज्ञानिक विश्लेषणको आधारमा अम्मलको रूपमा दैनिक प्रयोग हुने गाँजा, सुर्ती वा रक्सी पिउने अम्मलीहरूको सम्भावित जोखिमको हद अथवा मार्जिन अफ एक्सपोजर रक्सी (दस भन्दा कम) अत्यन्त उच्च जोखिम पूर्ण, सुर्ती (दस भन्दा धेरै तर १०० भन्दा कम ) जोखिम पूर्ण तर टिएचसि युक्त गाँजा (दस हजार भन्दा धेरै) कम जोखिम पूर्ण रहेको निचोड दिन्छ।

 

प्राप्त वैज्ञानिक अनुसन्धानको नतिजाले रक्सी र चुरोट व्यक्तिको स्वस्थको जोखिम र सामाजिक विकृतिको लागि उच्च जोखिमको अम्मल भएको तर गाँजा कम जोखिम युक्त रहेको निचोड दिन्छ।

 

यथार्थमा सामाजिक अनुशासन कायम गर्न तथा सामाजिक स्वस्थको लागि रक्सी, चुरोट र गाँजा सबैको सेवन नगर्नु उत्तम विकल्प हुँदै हो। तुलनात्मक रूपमा हेर्दा भने गाँजाको धूम्रपान रक्सी पिउनु भन्दा ११४ गुणा सुरक्षित रहेको तर्फ प्रकाशित वैज्ञानिक अनुसन्धानले इसारा गर्दछ।

 

अनुसन्धानको नतिजा बाहिरिए सँगै २०१५ मै डेली मेल, द इण्डिपेनडेन्ट र निउजवुईक जस्ता प्रतिष्ठित अखबारहरू गाँजाको धूम्रपान रक्सी पिउनु भन्दा ११४ गुणा सुरक्षित रहेको समाचार लेखे। जसले संसारको ध्यान गाँजा तर्फ अधिक तानिन थाल्यो। गाँजालाई गैर-अपराधीकरण गर्न, यसलाई ओखती र मनोरञ्जनको रूपमा प्रयोग गरी आर्थिक उपार्जन गर्न प्रयोग गर्न संसार भर तिब्र प्रयासहरू चालिए।

 

युएनको नेक्रोटिक विभागले समेत गाँजालाई हानिकारक उच्च जोखिमको ड्रगको सुची वाट हटायो। क्यानडा जस्ता थुप्रै मुलुकमा औषधि र मनोरञ्जनमा समेत गाँजाको नियन्त्रित उत्पादन, प्रशोधन र व्यापार खुला गरियो। संसारभर कानुनी र गैर कानुनी रूपमा उल्लेखनीय आम्दानी हुने व्यवसायमा गाँजा स्थापित भयो। हाल अमेरिकाले समेत क्यानेडियन पथ पच्छाई रहेको छ।

 

 

विश्व स्वास्थ्य सङ्गठनका विशेषज्ञ सल्लाहकार प्रोफेसर बेन हलले तत्कालीन समयमै भनेका थिए कि गाँजामा हुने टिएचसिको अनुमानित प्राण घातक खुराक १५ देखि ७० ग्रामको बिचमा पर्दछ। ग्राममा पिइने गाँजाले मिलीग्रामको मात्रामा मात्र टिएचसि शरीरमा उपलब्ध गराउने गर्दछ। तसर्थ अत्यन्त धेरै गाँजा पिउने गाँजा अम्मलीले समेत एक दिनमा १५ देखि ७० ग्रामको टिएचसि पुग्ने गरी गाँजाको धूम्रपान गर्न लगभग सम्भव हुदैन। त्यसैले संसारमा प्राण घातक गाँजा सेवन भएको वा गाँजाको ओवरडोज वाट कुनै व्यक्ति मरेको भन्ने प्रमाणित घटना देखिँदैन।

 

गाँजाको बारे संसारमा भएका विष हजार भन्दा धेरै अनुसन्धानहरू मार्फत आज गाँजाको सेवन वाट मानिसको स्वस्थ, मुड, अनुभूति, अनुभव तथा व्यवहार कसरि परिवर्तन हुन्छ भन्ने बारे जति गहिरो गरी लेन्स लगाएर हेरिएको छ, त्यसको एक छेउ समेत कफीको सेवन बारे अध्ययन भएको छैन।

 

गाँजामा हुने सार तत्त्व इन्डोक्यानाबिनोइड एक प्रकृतिका केमिकलहरूको समूह हो। जब तपाई लाई ठेस लाग्छ, तपाईँ ऐया भन्नु हुन्छ। दुख लाग्छ। आँसु आउँछ। केही क्षणमा शरीरले त्यसको आफै उपचार गर्छ। तपाईँको दर्द हराउँछ। आनन्द हुन्छ।  तपाईँ फेरी हिँड्नु हुन्छ।

 

तपाइको शरीरले तपाई लाई आइया भएको थाहा दिने, निको पार्ने र निको भएपछि आराम महसुस गराउने इन्डोक्यानाबिनोइड प्रणाली, जस बारे तपाइको स्कुल र विश्व विद्यालयमा हाल सम्म पढाउने गरिन्न, त्यसको लागि चाहिने इन्डोक्यानाबिनोइड लगायतका सम्पूर्ण पदार्थ तपाइको शरीरले तपाइको शरीर भित्र आफै बनाउँदछ।

 

शरीरको अक्षमता वा न्यून उत्पादनमा गाँजाको औषधीय प्रयोग वाट तपाइको शरीरमा तपाइले गाँजाको आनन्दमाइड र केनेबिनोईड मार्फत ती तत्त्वहरू उपलब्ध गराउन सक्नु हुन्छ।

 

तपाइको आफ्नो मनोबैज्ञानिक दक्षता कायम गर्न समेत ती तत्त्वहरूको तपाइले सहारा लिन सक्नु हुन्छ। त्यसको लागि नियन्त्रित र अनुशासित उपयोगको भने पक्कै जरुरत पर्दछ। अन्यथा धेरै खाँदा लागेर तपाइलाइ लट्ठ पार्ने गाँजामा हुने तत्त्व टिएचसिले तपाईँ लाई केही हानी अवश्य गर्ने छ। आखिर अक्सिजन, पानी, खाना होस वा ओखती, निश्चित मात्राको सीमा नाघेर हसुर्नु हुन्छ भने त्यसको अन्य असर शरीरमा परि हाल्छ।

 

गाँजा सेवन गर्दा तपाइले तपाइको शरीर भित्रको मात्र एक समूहका वा सेटका मेटाबोलाइटहरुको कार्यमा प्रभाब र त्यसको गतिविधि उत्प्रेरित गर्ने गर्नु हुन्छ। जुन तपाइको अत्यन्त महत्त्व पूर्ण इन्डोक्यानाबिनोइड प्रणालीको सञ्चालन सँग सम्बन्धित छ। उक्त यथार्थ अब गोप्य नरही बाहिर आएकोले गाँजाको कानुनी रुपमै गैर-अपराधीकरण गर्ने बाटोमा आफ्नै गतिमा संसार हिँडिरहेको छ।

 

नयाँ वैज्ञानिक तथ्यहरूले  तपाइले पिउने कफीले तपाइको रगतमा हुने ११५ फरक फरक प्रकृतिका मेटाबोलाइट्सहरुको गतिविधिहरूमा प्रभाव जमाएर परिवर्तन गर्न भूमिका खेलिदिने गरेको प्रमाणित गरिदिएको छ। हाल सम्म प्रमाणित ११५ मद्धे मात्र ८२ मेटाबोलाइट्सहरुको नाम पहिचान भएको छ। साथै तिनीहरूले शरीरमा सम्पन्न गर्ने ३४ वटा विभिन्न जैविक प्रक्रियाहरूमा भूमिका खेलेको बुझ्न सकिएको छ। तर तिनको पूर्ण चित्र प्रस्ट हुन निकै समय लाग्ने देखिन्छ। बाँकि ३३ मेटाबोलाइट्सहरु न त नाम, न त तिनको शरीरमा हुने भूमिका नै बुझ्न सकिएको छ।

 

१२ फेब्रुअरी २०१८ को जनरल अफ जेनेरल मेडिसिनमा प्रकाशित रिसर्च पेपरले निश्चय गरे अनुरूप मानिसको इन्डोक्यानाबिनोइड प्रणालीको इन्डोक्यानाबिनोइड रिसेप्टर मस्तिष्क प्रणाली, प्रतिरक्षा प्रणाली र इन्डोक्राइन प्रणालीमा प्रचुर मात्रामा जताततै रहने  गर्दछ। इन्डोक्यानाबिनोइड रिसेप्टरले शरीरले निर्माण गरेको इन्डोक्यानाबिनोइड र बाहिर वाट प्राप्त आनन्दमाइड समेतको क्यानाबिनोइडको सहायतामा मानिसलाई दर्द हुँदा, दुख लाग्दा वा चोट लाग्दा त्यसको स्व:उपचार मार्फत आनन्दको अनुभूति दिलाउने गरेको हुन्छ।

 

यदि तपाईँको दैनिक चार देखि आठ कप कफी पिउने बानी छ भने तपाइको शरीरमा हुने क्याफिनले इन्डोक्यानाबिनोइड, क्यानाबिनोइड र आनन्दमाइड जस्ता केमिकलहरूको गतिविधिलाई शरीर भित्र दबाएर इन्डोक्यानाबिनोइड रिसेप्टरमा जोडिन वाट अवरोध पैदा गरिदिन्छ। जसले गर्दा तपाईले कम आनन्द महसुस गर्न पाउनु हुन्छ। अधिक सतर्क, निन्द्रा विहीन र बेचैन हालतमा तपाइको मनोविज्ञान धकेलिन्छ।

 

अर्को तर्फ क्याफिनले मस्तिष्कको एडेनोसिन रिसेप्टर्स लाई समेत प्रभावमा लिएर न्युरोनहरूको सक्रियता वृद्धि गरी तपाइलाइ अधिक सतर्क, सचेत गरी हाइपर पारिदिन्छ। यो प्रकारको तनावमा रमाउने बानी परेको मानिस निरन्तर उक्त बानीको खोजीमा हुने लत बस्छ। फलतः तपाई पटक पटक कफी पिउने कफीको सौखिन बन्नु हुन्छ। धेरै कफी पिउने बानीले रगतमा कैफीनको मात्रा ३२०० मिलिग्राम देखि १०,००० मिलिग्रामको पुग्यो भने मानिसको मृत्यु हुने सम्मको उच्च जोखिम हुने गर्दछ।

 

विज्ञानको ज्ञानको गहिराइको स्तर जुन बिन्दु सम्म पुगेको भएता पनि आज सम्म वैज्ञानिक रूपमा स्पष्ट बनेको चुरो यथार्थ के हो भने कफीको क्याफिन र गाँजाको टिएचसि दुवै साइकोएक्टिभ अथवा मानिसमा मनोबैज्ञानिक प्रभाव पार्ने र मानिसको मुडमा फरकपन झोसिदिने तत्त्व हुन। गाँजाले मानिसमा छोटो समयको मनोबैज्ञानिक लत बसाल्ने गर्दछ। तर कफीले भने यसलाई पिउन छोड्ने क्रममा भौतिक प्रकृतिको उइदड्रल सिनड्रोम जस्तै: पखाला, चक्कर लाग्ने,  दृष्टि धमिलो हुने, मुटुको धड्कन बढाउने, वाक वाकी लाग्ने,  बान्ता हुने, पेट दुख्ने, कोपर्ने, चिन्तित बनाउने, अस्थिर बनाउने, निन्द्रा हराउने र चिड़चिड़ापन बढ्ने जस्ता लक्षण देखाउँने भौतिक विकृति जन्माउने र त्यसको उपचारको लागि कफीको लत विकास गरिदिने गर्दछ।जसले गर्दा मानिसमा गाँजाको भन्दा कफीको लत छुटाउन अलि धेरै समस्या देखिने गर्दछ।

समग्रमा आज सम्म भएको अम्मल सम्बन्धको वैज्ञानिक अनुसन्धानको नतिजामा रक्सी र चुरोट अत्यन्त जोखिम युक्त लागु पदार्थ हुन्। गाँजा भने रक्सी भन्दा लगभग ११४ गुणाले मानिसलाई कम हानि गर्ने अम्मली पदार्थ हो। गाँजा जस्तै हाम्रो अर्को अम्मली पदार्थ कफी रहेको छ। हाम्रो शरीरमा कफीले गाँजाको लगभग विपरीत प्रकृतिको नकारात्मकता देखाउँदछ। अधिक क्याफिनका कारण मानिसको मृत्यु हुने जोखिम रहेको भएता पनि गाँजाकोको सेवन वाट मानव मृत्युको न्यून सम्भावना छ। त्यो अर्थमा, गाँजाको अम्मल यथार्थमा रक्सी, चुरोट (सुर्ती) र कफी भन्दा कम जोखिम युक्त अम्मल हो। रक्सी भन्दा ११४ गुणा सुरक्षित गाँजाको सुरक्षित र अनुशासित सेवन कफी भन्दा समेत उत्तम विकल्प हो।

 

गाँजाको धूम्रपान भन्दा चिया-कफीको विकल्पको पेय, खाद्यको रूपमा बटरको सट्टा पिनट बटर खाइने जस्तै क्यान-बटर र अन्य पदार्थमा हालेर खाने उपाय शरीरलाई कम हानिकारक देखिन्छ। गाँजाले ढिलो ट्रिप दिने हुँदा खाना सँगै खाँदा सुरक्षित मात्रा ननाघोस  भनी ख्याल गर्नु पर्ने हुन्छ। कफी र गाँजाको शरीरमा फरक भूमिका हुने हुँदा मिसाएर खानु त्यति उत्तम विकल्प होइन।

 

अत्यधिक हानिकारक रक्सीमा गाँजा मिसाएर खानु झन् दुर्भाग्यपूर्ण नै हो। हर हालतमा गाँजा र रक्सी मिसाएर खाने जोखिम नलिन जरुरी ठानिन्छ। जे होस धूम्रपान भन्दा खाद्य पेयको रूपमा सेवन हुने गाँजाको अनुशासित र सुरक्षित मात्रको सेवन मानव र समाज कल्याणको लागि उपयुक्त रहेको आज सम्मको वैज्ञानिक अनुसन्धानहरूको निचोड रहेको निष्कर्ष गलत निष्कर्ष हुने गर्दैन।

 

(खाद्य तथा औषधि विज्ञ, क्यानडा।)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: