मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

मानिस मरे पनि उसको चेतना मर्दैन।

यथार्थमा चेतनाको मृत्यु सम्भव हुँदैन। त्यसैले मानिसको शरीर मर्दछ तर आफूलाई “म” भन्ने त्यो व्यक्ति कहिल्यै मर्दैन भन्ने विज्ञानको स्वीकार्यता बारे चर्चा।

नारायण घिमिरे, अथर्ववेदाचार्य।

क्लिनिकल रूपमा जब व्यक्तिको मुटुले रगत पम्प गर्न बन्द गर्दछ तव उसलाई मृत मानिन्छ। जब व्यक्तिको मस्तिष्कमा क्षति पुगेको हुन्छ, कोशिकाहरू हुने अक्सिजनको अभावमा मुटु, मस्तिष्क र अन्य अङ्गका  कोशिकाहरू अपरिवर्तनीय क्षतिको सिकार भएर मर्दछन् तव त्यस अवस्थाको व्यक्ति लाई जैविक मृत्यु धारण गरेको भनिन्छ।

मृत्यु बारे सर्वमान्य समान अवधारणा निर्धारण गर्ने युनिफर्म डिटरमिनेसन अफ डेथ एक्टले या त (१) रक्तसञ्चार र श्वासप्रश्वासको कार्यहरूमा अपरिवर्तनीय समाप्तिको अवस्था वा (२) स्टिम (डाँठ) सहित सम्पूर्ण मस्तिष्कको सबै कार्यहरूको अपरिवर्तनीय समाप्ति हुनु लाई व्यक्तिको मृत अवस्था मान्दछ। जसले स्वीकृत चिकित्सा मापदण्डहरू अनुरूप मृत्युको निर्धारण गरी व्यक्तिको मृत्यु प्रमाणपत्र जारी गर्न सिफारिस गर्दछ।

A brain-dead person is legally confirmed as dead.

व्यवहारिक रूपमा जब व्यक्तिको मस्तिष्क मर्दछ, तब त्यो व्यक्ति क्लिनिल्ली मरेको ठानिन्छ।

यदि तपाइले कुनै तरिका वाट व्यक्तिको मस्तिष्कलाई सुरक्षित गर्न सक्नु हुन्छ भने ऊ अमर कहलाउने छ। तपाईँको दिमाग मात्र लाई जोगाउने कार्यले हुन सक्छ तपाईँको शरीर मर्ला ! तर यसले तपाईँको चेतनालाई सधैँभरि बाँच्न मद्दत गर्न सक्ने छ।

जैव रसायन विज्ञान अनुरूप पाँच वटा कार्बन चेन हुने यौगिक मलिकुल ग्लुटाराल्डिहाइडको (Glutaraldehyde) दुवै तर्फ एक एक वटा सक्रिय अल्डिहाइडको (CHO) समूहहरू रहेको हुन्छ।

ग्लुटेराल्डिहाइडमा हुने ती दुई अल्डिहाइड प्राकृतिक रूपमै अत्यधिक प्रतिक्रियाशील हुने हुँदा मस्तिष्कको प्रोटिनमा हुने सक्रिय एमाइन्स, थायोल, फिनोल, हाइड्रोक्सिल र इमिडाजोल जस्ता फंङ्गसनल ग्रुपहरू लाई आपसमा जोड्न र सक्रिय रूपमा कार्यरत रहन तिनीहरूले संयोजन गर्ने र आपसी बन्धनहरू बनाउने गर्दछन्।

मस्तिष्कको प्रोटिन संग जोडिएको तिनै ग्लुटेराल्डिहाइडले मस्तिष्क लाई न्यूरोन्सहरु, न्युरोन हरू एक आपसमा जोडिएर सूचना अडान प्रदान गर्ने जक्सन सिनेप्स तथा अन्य ठुला प्रोटिनहरू लाई जोड्ने र आपसमा मिलाएर राख्न भूमिका खेल्दछ।तिनै संरचनाहरूले मस्तिष्कको मेमोरी र व्यक्तिको व्यक्तित्व (स्मरण) ईन्कोड गर्ने गर्दछ। यदि हामीले जीवित मस्तिष्कमा त्यसरी ईन्कोड भएको सबै जानकारी लाई संरक्षित गर्न सकियो भने, कम्तीमा सिद्धान्त: मानिसको चेतना वा स्मरण लाई लामो समय मस्तिष्कमा जीवित राख्न सकिन्छ।

हाल मस्तिष्कलाई तरल नाइट्रोजनमा माइनस (-) १३०°C भन्दा कम तापमानको क्रायोजीनिक रिजर्भेसन विधि वाट भण्डार गरी सुरक्षित गर्ने सम्भव छ। जहाँ मस्तिष्कको क्षति बिना लामो समयसम्म भण्डारण गर्न विधि सहज देखिन्छ।

यसरी अनन्त काल सम्म मानव दिमागको संरक्षण गर्न सकिने विधि वा टेक्निकलाई अल्डीहाईड स्ट्याबिलाइज क्रायोप्रिजरभेसन विधि (Aldehyde stabilized cryopreservation – ASC) भनिन्छ।  उक्त तरिका वाट आणविक स्तरमा मानव दिमागको अनन्त काल सम्म संरक्षण सम्भव छ।

हाल सम्म विकसित भएको प्रविधि अनुसार मस्तिष्कको संरक्षण खासै गाह्रो हुने देखिएको छैन। दिमागमा यसरी संरक्षित दिमागको जानकारी निकालेर अर्को व्यक्तिको दिमागमा इनप्लान्ट गर्ने वा रोप्ने वा जोड्ने सफल विधि भने हाल सम्म विकास हुन सकेको छैन।

असामान्य रूपमा गाह्रो रहेको यो पक्षको कारण मानव चेतना कोडहरूको डिजिटल रूपमा कपि गर्ने र पुन रोप्ने डिजिटल विधि वाट अमरत्व कायम गर्न तर्फ धेरै काम हुन थालेको छ। जस अन्तर्गत कम्प्युटर चिप्समा त्यहाँको कोडहरू कपि गरी सेन्थेटिक शरीर वा रोबर्टमा अपलोड गर्न सम्भव हुने वारेको खोजी सुरु भएको छ।

मुर्छित मस्तिष्कलाई बिउँताउने (Revival Part) असामान्य रूपमा गाह्रो रहेको परिस्थिति बिच मानव चेतनाका कोडहरूको डिजिटल रूपमा कपि गर्ने र पुन: रोप्न इलेकट्रोन माइक्रोस्कोप जस्तै केही प्रविधि प्रयोग गरेर मस्तिष्कको जैविक एन्कोड थ्रिडीमा स्क्यान गर्न सम्भव हुन सक्दछ।

जसले सैद्धान्तिक रूपमा मस्तिष्कको जैविक एन्कोड रेप्लिकेसन वा कपि गरी दिमागमा सबै जानकारी र कम्प्युटरको मेमोरी चिप्समा अपलोड गर्न सक्ने अवस्थामा मानिसलाई पुर्‍याउन सम्भव देखिन्छ। यदि जीव विज्ञानमा साँच्चिकै यो अवस्था आयो भने हामी निकै छिटै “दि सिन्गुलारिटी” को बिन्दुमा पुग्दछौ। सिन्गुलारिटी (the singularity) त्यो विन्दु हो जहाँ मेशिनको बुद्धिमत्ताले मानव बुद्धिमत्ता लाई उछिन्दछ (the point where machine intelligence exceeds human intelligence)।

जर्मन सैद्धान्तिक फिजिसिष्ट वार्नर हेइसेन्बेर्गको अनिश्चितताको सिद्धान्त अनुरूप क्वान्टम पार्टिकलको पोजिसन (position) र मोमेनटम (momentum) एक साथ नाप्न सम्भव हुँदैन।

त्यसैको आधारमा निल्स बोर (Neils Bohr) ले गरेको डबल स्लिट ऐक्पेरिमेन्टले (Double Slit Experiments) भौतिक रूपमा नै कुनै मेजरिङ्ग डिभाइस वा अवलोकन कर्ताको उपस्थितिमा पार्टिकलको रूप लिने क्वान्टम पार्टिकल ले अवलोकन कर्ताको (Consciousness) अनुपस्थितिमा वेब अर्थात् तरङ्गको रूप लिने प्रमाणित गरेर देखाई दिए।

नोबेल पुरस्कार विजेता इर्विन श्रोडिंगर (Erwin Schrödinger) क्वान्टम भौतिकीका पिता भनेर चिनिने अस्ट्रियाई भौतिक शास्त्री हुन्। वेभ मेकानिक्सको जग निर्माण गर्न सहयोगी बनेको श्रोडिंगरको (Schrödinger) क्वान्टम मेकानिकल समीकरण H ^ ψ = E ψ तरङ्गको रूपमा हुने इलेकट्रोनको बाइन्डिङ ऊर्जासँग सम्बन्धित छ। जस अनुसार गतिशील बाइन्डिङ ऊर्जा दायाँ वा बायाँ कुनै पनि दिसामा तव सम्म जान सक्दछ जब सम्म त्यसको वेब फंगसन लाई कुनै सचेत मापन प्रक्रिया वाट अर्थात् त्यसको वैज्ञानिक मेजरिङ्ग प्रक्रिया वाट मापन गर्ने काम हुँदैन।

जब उक्त वेब फंगसन कुनै कन्सस मेजरमेन्ट (अवलोकन कर्ता) को प्रभावमा आउँछ, त्यो वेब फंगसन कोल्याप्स भएर पार्टिकलको रूप लिन्छ। जसलाई वेब फंगसनको सुपर पोजिसन स्टेट (अवस्था) भनिन्छ। इर्विन श्रोडिंगरले यसको साथै यो कुरा स्थापित गरे कि चेतना अर्थात् कन्ससनेस कुनै काल्पनिक कुरा नभएर हाम्रो मस्तिष्कको न्युरोनहरूमा हुने एक नियमित जटिल क्वान्टम परिघटना हो भनी चेतनाको अस्तित्वलाई स्विकार्न सम्पूर्ण वैज्ञानिकहरूलाई बाध्य पारे।

क्वान्टम मेकानिक्सको सहयोगले आफ्नो कार्यको पुष्टि गर्दै चेतना (Consciousness) कुनै आध्यात्मिक चिज नरहेर पूर्ण वैज्ञानिक गतिविधि (Scientific Phenomenon) रहेको मान्यता श्रोडिंगरले अघि सारे। विशुद्ध गणित र सैद्धान्तिक भौतिकीमा उत्कृष्ट अनुसन्धान कर्ता रोजर पेनरोज (Roger Penrose) सिङ्गुलारिटि (Singularities) जस्ता नामुद अनुसन्धानहरूका कारण लोकप्रिय छन्। जस अन्तर्गत अत्यन्त ठुला ताराहरू गुरुत्वाकर्षण पतन (Gravitational Collapse) बाट भत्कँदै जाने क्रममा ब्ल्याक होलहरू (Blackholes) उत्पन्न हुन सक्छ भनेर प्रमाणित गर्ने वैज्ञानिक रहेकाले समेत उनी अत्यन्त चर्चित छन्।

श्रोडिंगरको मान्यतालाई अघि सार्दै रोजर पेनरोज (Roger Penrose) ले यो कुरा लाई सिद्ध गरिदिए कि हाम्रो दिमाग क्वान्टम सिस्टमको रूपमा काम गर्दछ जुन हमेसा सुपर पोजिसनमा रहन्छ। उनको किताब द इम्पेरर्स न्यु माइन्ड (The Emperor’s New Mind, १९८९) मार्फत उनले जब मानिसको दिमागमा क्वान्टम वेब फंगसन कोल्याप्स हुन्छ तब त्यहाँ चेतना वा कन्ससनेस पैदा हुन्छ भनी प्रस्ट पारिदिए।

मानव चेतनाहरू सिन्थेटिक शरीरहरूमा डाउनलोड गरेर मानव जीवनलाई लम्ब्याउने अवधारणा दशकौँ अघिको साइन्टिफिक फिक्सन उपन्यास “ड्युन (Dune) १९६४” मा उल्लेख छ। ड्युनले त्यस्ता प्राणीहरूलाई “साइमेक्स (Cymeks)” भनेको छ। एलोन मस्कका अनुसार कम्प्युटरको मेमोरीको क्रमिक विकास गर्दै कम्प्युटरहरू द्वारा हाम्रो मानव मस्तिष्कलाई व्यापक रूपमा विस्तार गरी हामी हाम्रा सम्झनाहरू फोन र कम्प्युटरमा तस्बिर र भिडियोको रूपमा भण्डार गर्ने र तिनै कम्प्युटर र फोनहरू मार्फत हाम्रो सञ्चार क्षमतालाई जादुई रूपमा बढाउँछ सक्षम हुने छौ। एलोन मस्क यो विश्वास गर्छन् कि “माइन्ड अपलोडिङ” प्रविधि, वास्तवमा, एक दिन सम्भव हुन सक्छ। तर त्यसको समय रेखा भने अस्पष्ट छ।

प्रिन्सटन विश्वविद्यालयका मनोविज्ञान र न्यूरोसाइन्सका प्राध्यापक माइकल एसए ग्राजियानो (Michael S.A. Graziano) ले वाल स्ट्रिट जर्नल (Wall Street Journal) को २०१९ मा लेखे अनुसार मानिसको चेतना सिन्थेटिक शरीरहरूमा अपलोड गर्न दुई वटा टेक्नोलोजी चाहिन्छ। पहिलो कृत्रिम मस्तिष्क र व्यक्तिको मस्तिष्कको स्क्यान गर्ने स्क्यानर। त्यस्तो स्क्यानर जसले मस्तिष्कको न्यूरोन्सहरू र त्यसको जोडाइ आदि सही तरिका वाट हुबहु मापन गर्न सकोस् र कृत्रिम मस्तिष्कमा त्यो ढाँचाको हुबहु प्रतिलिपि गर्न सक्षम होस्। ग्राजियानोको अनुसार यो तरिका वात कृत्रिम मस्तिष्क सिर्जना गर्नु अपेक्षाकृत रूपमा सहज सोझो कार्य हुनेछ। त्यसमा मानव चेतना नमर्ने गरी अपलोड गर्न सक्ने सायद दश करोड गुणा धेरै विवरणहरू स्क्यान गर्न सक्ने स्क्यानरको जरुरत हुने छ। जुन प्रविधि अझै हामीलाई उपलब्ध छैन। उक्त प्रविधि विकासमा हामीलाई केही दशक देखि शताब्दी औ समय लाग्न सक्ने छ।

एलोन मस्क यो कुरामा विश्वास रहेको देखिन्छ कि मानिसले अन्ततः आफ्नो दिमाग रोबोटमा डाउनलोड गर्न सक्ने छ। अन्ततः रोबोटमा आफ्नो दिमाग डाउनलोड गरेर सधैँभरि बाँच्न समेत सक्षम हुनेछ।

BIOCENTRISM : Quantum Theory Proves How Consciousness or YOU Never Die !!

एस्टेलास ग्लोबल रिजेनेरेटिभ मेडिसिनका (Astellas Global Regenerative Medicine) प्रमुख र एस्टेलास इन्स्टिच्युट फर रिजेनेरेटिभ मेडिसिनका प्रमुख वैज्ञानिकको रूपमा कार्यरत अमेरिकी मेडिकल डाक्टर र वैज्ञानिक रोबर्ट लान्जा (Robert Lanza) वेक फरेस्ट युनिभर्सिटी स्कुल अफ मेडिसिन (Wake Forest University School of Medicine) का सहायक प्रोफेसर (Adjunct Professor) हुन्। एक अमेरिकी वैज्ञानिक र लेखकका रूपमा स्थापित लान्जाको अनुसन्धान प्राकृतिक विज्ञान अन्तर्गत जीव विज्ञानदेखि सैद्धान्तिक भौतिकी सम्मको दायरामा फैलाएको छ। टाइम पत्रिकाले उनलाई विश्वका १०० सबैभन्दा प्रभावशाली व्यक्तिहरू मध्ये एकको रूपमा पहिचान गरेको छ। शीर्ष ५० विश्व विचारकहरू मध्ये एक भनी प्रोस्पेक्ट पत्रिकाले उनको नाम उल्लेख गरेको थियो।

 

सन् २००५ मा रोबर्ट लान्जाले विश्वमा बायोसेन्ट्रिज्मको सिद्धान्त प्रस्तुत गरे। बायोसेन्ट्रिजमको सिद्धान्त (The theory of Biocentrism) विशेष रूपमा अमेरिकी जीव विज्ञान क्षेत्रका वैज्ञानिक र स्टेम सेल अनुसन्धानकर्ता डा. रोबर्ट लान्जासँग जोडिएको छ। उनको पुनरुत्पादन चिकित्सा (Regenerative Medicine) र बायोटेक्नोलोजीको क्षेत्रमा उल्लेखनीय योगदान छ।

बायोसेन्ट्रिजमको सिद्धान्त अनुसार, समय र स्थान जस्ता अवधारणाहरू मनमा मात्र अवस्थित हुन्छन्। ब्रह्माण्डले हाम्रो चेतना सिर्जना गर्ने नभएर हाम्रो चेतनाले ब्रह्माण्डको सृजना गर्दछ। बायोसेन्ट्रिजमले एकताबद्ध “थेउरि अफ एभ्रीथिङ्ग THEORY OF EVERYTHING” अर्थात् सबै कुराको एकै सिद्धान्त” प्रस्ताव गर्दछ। जस अन्तर्गत ब्रह्माण्ड सम्बन्धीको दृष्टिकोण प्रस्ट गरिएको छ। त्यसले जीवनको समेत दृष्टिकोण दिन्छ। जहाँ चेतनाले वास्तविकताको सिर्जना गर्दछ भन्ने सिद्धान्त मानिएको छ। जीवन प्रकृतिको अन्तिम उत्पादन होइन तर ब्रह्माण्ड बुझ्नको लागि महत्त्वपूर्ण शक्ति हो भनिएको छ।

BIOCENTRISM: बायोसेन्ट्रिजमको सिद्धान्तले के भन्दछ ?

१) हरेक जीवन अस्तित्वमा रहनुको पछाडि अन्तर्निहित मूल्य वा उद्देश्य हुने गर्दछ:

बायोसेन्ट्रिजम सिद्धान्त अनुरूप संसारमा अस्तित्वमा रहेका हरेक जीवित जीवहरू मानवको लागि कति उपयोगी छन् वा हानिकारक भन्ने पक्ष प्राकृतिक रूपमा गौण कुरा हो। जीवहरूको मानिसको उपयोगिताको पक्ष संग पूर्ण रूपमा असम्बन्धित रहेर सबै जीवित जीवहरू जीवित अस्तित्वमा रहनुको पछाडि निश्चित अन्तर्निहित मूल्य वा उद्देश्य रहेको यथार्थलाई मानिसले स्विकार्न अनिवार्य छ।

२) अन्तर-सम्बन्धित सह-अस्तित्व:

बायोसेन्ट्रिजम सिद्धान्त अनुरूप सबै जीवन स्वरूपहरू बिच अन्तरसम्बन्ध र अन्तर निर्भरता रहने गर्दछ। एक जीवको कल्याण सम्पूर्ण जीवन निर्मित पर्यावरणीय स्वास्थ्य अवस्थाको सुदृढता सँग जोडिएको हुन्छ। सम्पूर्ण जीवन निर्मित पर्यावरणीय स्वास्थ्यको सञ्जालको एक भागमा हुने हस्तक्षेपकारी अवरोधकले उत्पन्न गर्ने क्यास्केडिङ प्रभावको (उत्पन्न क्रियाको प्रतिक्रियाको नियमित प्रतिक्रियाले दिने प्रभवको सञ्जाल) असर अर्को अर्को जीव गर्दै हस्तक्षेपकारी अवरोधमा समेत प्रभाव प्रभव दिने गरी विकास हुन्छ।

३) नैतिक प्रभाव:

बायोसेन्ट्रिजम (जैवकेन्द्रवाद) सिद्धान्त अनुरूप हरेक जीवको प्रकृतिसँगको मेलमिलापमा बाँच्नु पर्ने नैतिक दायित्व हुन्छ। वातावरणसँग दिगो र जिम्मेवार युक्त अन्तरक्रियाका अभ्यासहरूले मात्र सम्पूर्ण पर्यावरणीय स्वास्थ्य अवस्था र जीवित प्राणीहरूको कल्याण सम्भव हुन्छ।

४) प्राकृतिक चेतनाको पहिचान:

बायोसेन्ट्रिजमको सिद्धान्त अनुसार ब्रह्माण्ड चेतना ब्रह्माण्डको सबैभन्दा आधारभूत पक्ष हो। हरेक जीवको जीवन उसको जीवनको भौतिक पक्षहरूमा मात्र सीमित नरहेर ब्रह्माण्ड चेतना संग सम्बन्धित हुने गर्दछ। प्राकृतिक संसारमा मानव मात्रमा नभएर सम्पूर्ण जीवमा विभिन्न स्तरहरूमा ब्रह्माण्ड चेतनाको अंश अवस्थित हुन्छ।

५) चेतना वाट नै सम्पूर्ण ब्रह्माण्डको निर्माण भएको हो :

बायोसेन्ट्रिजमको सिद्धान्त अनुसार चेतनाले सम्पूर्ण वास्तविकताको सिर्जना गर्दछ। ब्रह्माण्ड चेतना नै सम्पूर्ण भौतिक चिज निर्माणको आधारभूत तत्त्व हो। मानव तथा अन्य जीवको जीवन नै प्रकृतिको अन्तिम उत्पादन होइन। ब्रह्माण्डको यथार्थता बुझ्नको लागि महत्त्वपूर्ण शक्तिको रूपमा जीवन अस्तित्वमा आएको हो। ब्रह्माण्डले चेतनाको सिर्जना गर्ने नभएर चेतनाले ब्रह्माण्डको सृजना गर्दछ। समय र स्थान जस्ता अवधारणाहरू मानव मनमा मात्र अवस्थित रहन्छ।

यी कुराहरू सुन्दा के तपाइलाई आफूले विज्ञान हैन वेद कै कुराहरू वारेको विज्ञानको कथा सुनिरहेको जस्तो त लागेन ?

तपाईँ पत्याउनुस् वा न पत्याउनुस् !

आफूलाई आधुनिक वैज्ञानिक सम्झनुस् वा परम्परावादी रुढी वादी मान्नुस् !!

यो नै आजको विज्ञान कता जाँदै छ भन्ने यथार्थ हो। तपाई हाम्रो जीवनको सत्य कथा हो।

(अथर्ववेदमा विद्यावारिधि गरेका नारायण घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रूपमा कार्यरत छन्।)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: