मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

मिठा कुराले के गर्ने प्रवासीको ज्ञान सदुपयोग गर्ने संयन्त्र नै छैन !

नारायण घिमिरे

 

भनिन्छ देशको योजना बनाउनेहरूले उनीहरूलाई के थाहा छ भनेर होइन कि स्थानीय स्तरमा विकासमा टेवा दिने कस्तो साधन र स्रोत उपलब्ध छ ? मुलुक भित्रका आफ्नै मानव संसाधन स्थानीय साधन र स्रोतको परिचालन गरी देसलाई संवृद्धि तर्फ लैजान जरुरत हुने प्रविधि र ज्ञानहरू बारे जानकार कति छन् त्यसको आधारमा केन्द्रीय योजनाका खाकाहरू बनाउन जरुरी हुन्छ।

 

योजनाकारहरूले बनाउने योजनाले आर्थिक बृद्दिदरलाई महत्त्व दिने वा उत्पादकत्व र रोजगारी लाई भन्ने पनि मुलुकको आफ्नै इनोभेसन र मानव संसाधनको विकासको हदले तोक्ने गर्छ।

 

हामीले ५० वर्षदेखि विदेशी बैङ्कको नाफा ग्यारेन्टी गर्ने मोडलमा आर्थिक बृद्दिदरको आधारमा आधारित योजना बनायौ। विदेशी नियोग र बैङ्कको भूपु कर्मचारी खोजी खोजी ल्याएर योजना आयोग र अर्थ व्यवस्था जिम्मा लगायौ। फलतः मुलुक कोल्टे फेर्ने नाममा पूर्ण उत्तानो पारिदियो। अव त विकास हैन दैनिक प्रशासनिक खर्चमा समेत ऋण बिना  मुलुक नचल्ने हदमा पुर्याईदियौ।

 

हामी सामु अव एउटा विकल्प वाकी छ। त्यो हो हालको उद्यमशीलता विमुख योजना र आर्थिक बृद्दिदरको नाममा विदेशीको पाउँमा लम्पसारवाद वनेको अर्थ व्यवस्था तोडेर उत्पादकत्व लाई प्रश्रय दिने रोजगार मुलक ईनोभेटिव कल्चर विकास गर्ने योजना लागु गर्ने।

 

व्यक्तिगत रूपमा म नेपालका हालका प्रधान मन्त्री केपी ओलीको ईनोभेटिव कल्चरको ज्ञान र विषय बस्तुमा वहाँले राख्ने चासोको ठुलो प्रशंसक हु। वहाँको प्राय सबै  भाषणहरू मा खोजी खोजी सुन्ने गर्छु। धेरै कुरामा विमति होला। इनोभेसन र नेपालको रैथाने ज्ञान सिप र प्रविधिको महत्त्व बारे वहाँको विचार वाट प्रभावित समेत छु। विगत एक – दुई महिना देखि मा नेपालमा प्रवासमा रहेका प्रवासी नेपालीको पहुँचमा रहेको ज्ञान र सिप कसरि नेपालसँगको साझेदारी सम्म पुर्‍याएर केही गर्न सकिएला भनी भएका गतिविधि हरुको नजिक वाट हेरिरहेको पनि छु।

 

यो क्रममा प्रवासी नेपालीहरूको यसै संदर्बको कार्यक्रमहरूमा नेपालका हालका प्रधान मन्त्री केपी ओलीको ज्युको क्याबिनेटका शालीन मन्त्री प्रदीप ज्ञवालीको प्राय: जताततै  उपस्थिति हुने र हरेक स्थानमा वहाँको शालीन भाषण वा सम्बोधन आउने गरेकाले भेटेसम्म मैले सबै हेरेको पनि छु। अत्यन्त मिठो बोल्ने वहाँको पटक पटकको सबै भनाइको निचोड प्राय एकै भेटिन्छ। आउनुस् मिलेर काम गरौँ। तपाई प्रवासीहरूको यो मुलुकलाई हिजो भन्दा धेरै खाँचो परिरहेको छ। हामी खुला दिलले तपाईँहरू लाई स्वागत गर्न तैयार छौ।

 

नेपालको हालको नियम, कानुन र कतिपय डकुमेन्टहरू हर्दा तिनीहरू वास्तवमै राम्रै मान्नु पर्छ। कागतमा कोरिएका ती सरकारी नीति आदि पढ्दा दिमागले पनि राम्रै ठानेर होला डोपामिंन रिलिज गरिदिन्छ। अहा कति राम्रो लिखितम् भन्ने महसुस हुन्छ। त्यो माथि मिठो बोल्ने मन्त्री ज्ञवाली। झन् सुन माथिको सुगन्धको प्रतीत दिन्छ।

 

कथनी जब मन पर्छ स्वोभाबैले हतारिएर प्रगति बुझ्ने रहर जाग्छ। करणी बारे जब पुनरावलोकन गरिन्छ, नसोचिएको फरक चित्र हाता लाग्छ। मनै भित्र बाट अप्ठ्यारो महसुस हुन्छ। भित्र भित्रै मन गाँठो परेर आउँछ।

 

जब तपाई यत्रो विभागीय मन्त्रीले महिनामै ३ भन्दा धेरै कार्यक्रमहरूमा आफै उपस्थित भई प्रवासी नेपालीको सहयोग मुलुकको लागि जरुरी छ सहयोग गर्नुस भनिरहेको हुन्छ त्यो पृष्ठ भूमिलाई ध्यानमा राखेर हाल सम्म तिनै मन्त्रीका स्तरबाट के कति कामहरू गरिए भनी भेटिने र देखिने विवरणहरू र प्रयासहरू उल्टाई पल्टाई हेर्नु हुन्छ, नतिजा एउटै भेट्नु हुनेछ। कागतमा संसार नै जितिन्छ कि जस्तो जस्तो व्यवहारमा वास्तवमै केही नै भएको छैन भन्दा पनि अन्यथा नहुने।

 

प्रवासी नेपालीको खुबी र क्षमता मुलुकको संवृद्धि सँग जोड्न व्यवस्था हुनुपर्ने पहिलो अनिबार्य पूर्वाधार हो प्रवासी विज्ञहरूले नेपालमा खेल्न सक्ने भूमिकालाई नेपालको सरोकारको क्षेत्र सँग जोड्न जरुरी हुने आधिकारिक इनोभेसन ब्रिजिंगको संयन्त्रको विकास। इनोभेसन ब्रिजिंगको संयन्त्रको विकास गर्ने काम कुरो एक तिर कुम्लो बोकी ठिमी तिर भने जस्तो सरकारले न त कुनै सोच नै अघि सरेको छ न त कुनै ठोस कार्यक्रम नै।

 

त्यसको ठिक उल्टो हाल चलायमान अस्तित्वमा रहेको गैर आवासीय नेपाली सङ्घको समानान्तर हुने गरी गैर आवासीय नेपाली सङ्घको औचित्य माथि पटक पटक प्रश्न उठाउने मानिसहरू सक्रिय रहने गरी “ब्रेन गेन सेन्टर” नामको अर्कै निकाय परराष्ट्र मन्त्रालय अन्तर्गत खोलेको भेटिन्छ।

 

कुरो र कुलो जता लगे पनि जान्छ भने जस्तो, औपचारिक रूपमा जे सुकै भनियोस् सरकारले खोलेको हालको  ब्रेन गेन सेन्टर प्रवासी नेपाली बिच टकराब जन्माउने एउटा बिउको रूपमा रोपिएको छ। परिवर्तित राजनैतिक परिस्थिति अनुरूप उक्त केन्द्र गैर आवासीय नेपाली सङ्घमा सरकारको आफ्नो राजनैतिक पक्षको नेतृत्व नरहँदा त्यसलाई तेजोवध गर्न सकिने सरकारी निकायको रूपमा गर्भधारण गराइएको छ। इनोभेसन ब्रिजिंगको संयन्त्रको विकास गर्न तर्फ खासै कुनै तैयारी गरिएको छैन। न त तैयार गर्ने जरुरी रहेको महसुस नै वर्तमान सरकारमा रहेको देखिन्छ।

 

परराष्ट्र मन्त्रालय एकातर्फ जता ततै आफ्नो सहभागिता देखाउन आतुर देखिन्छ। अर्को तर्फ कथनी लाई करणीमा परिवर्तन गर्न जरुरी अत्यावश्यक पूर्वाधार विकासमा निराश भेटिन्छ। जानेर वा नजानेर संसारभर आफ्नो गहिरो जरो विकास गर्न सफल  गैर आवासीय नेपाली सङ्घको तेजोवध गर्ने एक सरकारी संस्थाको बीजारोपण गरिरहेछ। सरकार उसलाई त्यसको जरुरत किन पर्‍यो भन्ने प्रश्नको औचित्य समेत प्रस्तुत गर्न सक्दैन।

 

यो कथनी र करणी बिचको खाडल किन भन्ने प्रश्नको उत्तर जरुरी ठानिए मन्त्री ज्ञवाली बाट कतै मन्तव्यको रूपमा आउला। मलाई भने यो सन्दर्भमा हालका नेपालका सम्माननीय प्रधानमन्त्री ज्युको चुनावको बेलाको एउटा भाषणको याद आइरहेछ।

 

गत महानिर्वाचनको चुनावी भाषणका क्रममा काँग्रेसको गड ठानिएको क्षेत्रमा पुग्दा नेपालका हालका प्रधान मन्त्रीले आफूलाई मताधिकार दिन याचना गर्दै प्रतिपक्षी काँग्रेस मतदाता लाई एउटा गहिरो अवस्थाको चित्रण गर्दै अपिल गर्नु भएको थियो। काँग्रेस पार्टी हिजो सम्म ठिकै थियो। तर आज झाडीमा सिङ अड्केको बाह्र सिंहे जस्तो बनेको छ। उसले अबको पाँच वर्ष यो मुलुकको विकास गर्ने क्षमता उसको सङ्गठनको संरचनाको कारण पूर्ण रूपमा गुमाएको छ। त्यसैले मुलुकको सम्वृद्धिको लागि यस पटक वहाँको पार्टी लाइ मत दिनुहोस्।

 

माथिका पार्टीका कुरा त प्रधान मन्त्री नै जान्नु होला, मन्त्री प्रदीप ज्ञवालीले आफूअनुकुल व्याख्या पनि गर्नु होला। आज प्रवासमा रहेका नेपालीको ज्ञान, सिप र प्रविधिको नेपालमा सदुपयोग गर्ने कुराको तैयारीको सन्दर्भमा भने प्रधानमन्त्री ज्युको नेतृत्वको सरकार आफै झाडीमा सिङ अड्केको बाह्र सिंहेको हालतमा पुगेको छ। आफ्नो त्यो झाडीमा अड्केको सिङ समयमै फुत्काएर सरकारले जरुरी संरचनाको तैयारी गरी अवसरको वास्तवमै सदुपयोग गर्ला वा हाल कागजमा मात्र सीमित प्रगतिको आत्मा रतिमै रमाउने क्रम जारी राख्ला त्यो भने समय ले नै बताउने छ।

(खाद्य तथा औषधि विज्ञ)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: