मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

चौरासी व्यञ्जनको नेपाली स्वाद !!

नारायण घिमिरे 

कुनै जमानामा चौरासी व्यञ्जन नेपालको रैथाने विशिष्ट भोजको खाना थियो। नेपालमा समेत विशेष पर्व र सम्मेलनहरूमा  चौरासी व्यञ्जनको थाली बनाइएको हो। नेपालको पाहुना बनेर आएका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरू जस्तै फ्रान्सका फास्वाँ मित्तेरा, भारतका राजीव गान्धी, पाकिस्तानकी बेनजिर भुट्टो, मालदिभ्सका अब्दुल गयुम, भुटानी राजकुमार आदिलाई ग्यालरी बैठकको ब्यांकेटमा मृगको मासु, मयूरको पुलाउ, खरायोको सेकुवा, कालिज, सुनौला माछा लगायतको खाना समाविष्ट चौरासी व्यञ्जनको स्वाद उपलब्ध गराउने पारखी सेफ हरू अझै पनि हामी बिच भेटिन्छन्। नेपाली रैथाने खाना चौरासी व्यञ्जन बारे नेपालमा गहिरो खोज गरिएन। फलतः यो पाक शास्त्रको वारेमा नेपालका धेरै विषय विज्ञहरू जानकार विहीन बनेको भेटियो।

सरकार चौरासी व्यञ्जनको संरक्षणमा निरासाजनक भेटियो।

कसरी बन्छ चौरासी व्यञ्जनको मेनु ?

चौरासी प्रकारका विशिष्ट खानाका परिकार तथा पेय समेटिएको भव्य थाली हो– चौरासी व्यञ्जन । मूलतः  आयुर्वेदको मानक ग्रन्थ चरक संहिता र सुश्रुत संहितामा आधारित छ । ऋषि चरक, महिर्षी सुश्रुत लगायतकाले भोजनका नियमबारे धेरै सिद्धान्तहरू औलाएका छन्। चरक संहिता सुत्रस्थानाको अन्न पना विधिले तोकेको मानिसको हरेक छाकमा अनिबार्य संलग्न गर्न सल्लाह दिइएको  दश प्रकारका खाना मुख्य आधार परिकारमा रहन्छ। देवसी  शाकाहारी थालीका रूपमा बनाइने ५६ भोग अन्तर्गतका ५६ प्रकारका खाद्य तथा पेय यसको साझा परिकार हो। भोजन ग्रहण कर्ताको तत्कालीन शारीरिक, मानसिक, मनोवैज्ञानिक जरुरत तथा निजी इच्छा को पूर्ति हुने गरी उपलब्ध गराइने कम्तीमा  अन्य १८ वटा अतिरिक्त पौष्टिक, कामोत्तेजना वर्धक, मानसिक ऊर्जा वर्धक, नशा वर्धक, आत्म  स्वाभिमान  प्रदायक शाकाहारी तथा मांसाहारी परिकार संलग्न राजसी परिकारहरू संलग्न गरी बनाइने परम्परागत  भव्य थालीको रूपमा चौरासी व्यञ्जन स्थापित भएको बुझिन्छ।

 

वैदिक अबधारणा:

हाम्रा सबै उत्सवहरू प्रमुख भागको रूपमा खाना रहने गर्दछ। दुखको समय होस्, रमाइलो समय होस् वा सामान्य समय खाना बिना हाम्रा न त कुनै भेटघाट अर्थ पूर्ण रहन्छ न त कुनै चाड वाड वा दुखका कर्महरू नै अर्थ पूर्ण बन्दछ। वैदिक परम्परामा खानाका सबैभन्दा मनमोहक र प्राकृतिक प्रस्तुतिमा छपन्न भोग लाई लिने गरिन्छ।

 

हाम्रो किंवदन्ती अनुसार भगवान् श्री कृष्णलाई उहाँको जन्म तिथि जन्माष्टमीको समयमा र दीपावली पछि गोवर्धन पूजाको लागि ५६ वटा परिकारहरू तयार गरी अर्पण गरिन्थ्यो जसलाई ५६ भोग भनिएको हो। संस्कृतमा एकै शब्दको समय अनुरूप धेरै अर्थ लाग्ने भएता पनि यहाँ भोगको चुरो अर्थ आफूले हृदय देखि सम्मान गर्ने मान्यजन लाई उहाँको मन पर्ने खाना अथवा भोजन गराउनु भन्ने मानिन्छ।

 

किंवदन्तीका अनुसार जति बेला कृष्ण,जवान थिए त्यति बेला उनले उनका आफ्नो गाउँका मानिसहरू राम्रो फसलको लागि पर्याप्त वर्षाको आशीर्वाद प्राप्त गर्न राजा इन्द्रदेवलाई खुसी पार्न पूजा र यज्ञको व्यवस्था गर्न व्यस्त भएको भेटे। त्यो देखेर  कृष्णले गाउँलेहरूलाई खेतीपातीको आफ्नो कर्तव्य पूरा गर्न तर्फ लाग्नु र आफूले नियन्त्रण गर्न नसक्ने कुराको चिन्ता नगर्न भन्ने सल्लाह दिए। उनको विचारमा कर्ममा विश्वास गर्ने  व्यक्तिले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ र परिणामको चिन्ता वा अधिक आशामा लिप्त बन्नु हुँदैन। कृष्णको उक्त कुरामा विश्वास गरी गाउँलेहरूले इन्द्रको पूजा गर्न छोडी आफ्नो खेती पाती तर्फ लागे।

 

गाउँलेहरूको आफ्नो पूजा नगरेकोमा इन्द्रले आफू अपमानित ठानी क्रोधित बने। इन्द्र क्रोधित भएका कारण भयङ्कर  मेघ गर्जन र घन घोर वर्षाका कारण गाउँमा आएको बाडीलाई भगवान् श्रीकृष्णले गोवर्धन पर्वत खडा गरी वर्षाबाट आफ्ना भक्त मानिसहरू, गाउँले र गाई वस्तुहरूको संरक्षकको रूप धारण गरे। घन घोर वर्षाका कारण बालीनाली र ज्यान धनको सुरक्षा भयो। भगवान् कृष्णले देवता इन्द्रलाई पराजित गरे। त्यसै कारण दीपावलीको भोलिपल्ट गोवर्धन पूजा मनाइने गर्दछ।

 

उक्त कृष्ण लीलाले इन्द्रलाई  अहङ्कार, क्रोध, अभिमान र घृणाले दुःख मात्र निम्त्याउँछ भन्ने  जीवनको कठिन पाठ सिकायो। जीवनमा जबरजस्ती र बाध्यता खडा गरी कसैको सम्मान र माया कमाउन सकिँदैन । माया र सम्मान भनेको एक इनाम जुन मात्र नम्रता र निष्कपट प्रेम देखाएर कमाउन सकिन्छ भन्ने ज्ञान इन्द्रलाई प्राप्त भयो।

 

वेदान्तको मान्यताको चुरोमा पुगेर हेर्दा वेदको वैज्ञानिक पक्षमा स्नायु प्रणालीले शरीरको लागि अनुभूति र अनुभव प्राप्त गर्दछ। जसलाई इन्द्रिय भनिन्छ। सम्पूर्ण इन्द्रियहरू स्नायु मार्फत केन्द्रीय स्नायु प्रणालीमा जोडिएर त्यसैको निर्देशनमा काम गर्दछन्। जसलाई इन्द्रियहरूको राजा इन्द्र भनिन्छ।

 

किंवदन्तीका अनुसार उक्त समयमा भगवान् कृष्णले गाउँलेहरूको रक्षा गर्न गोवर्धन पर्वतको रूप धारण गरी सात दिनसम्म रहन पर्‍यो। श्री कृष्णको दिन चर्यामा दिनमा ८ प्रकारका खाना खान्थे गर्दथे। वर्षा रोकिएपछि गाउँलेहरूले  दैनिक ८ प्रकारको खाना खाने श्री कृष्ण भगवान् लाई ७ दिन बराबरको भाग ८x७=५६ भोग बनाएर खानको लागि तैयारी (रेडी टू ईट) खाद्यको अन्न कुट अर्थात् खानको पहाड नै कृतज्ञता स्वरूप अर्पण गरे। जसलाई ५६ भोग भन्ने चलन चल्यो।

 

खाना वा भोजन शब्दले एक वा एक भन्दा धेरै आइटमको एलाकार्ट मेनुको एउटा आइटम भन्ने बुझिन्छ। जस्तै दाल भात मात्र। नान रोटी मात्र । अथवा दाल, भात, तरकारी, अचार, दही र सर्बतको निर्धारित मात्रको एक सेट। एलाकार्ट मेनुको खाना हुन। भोगको रूपमा भोजनलाई लिँदा भने दाल, भात, तरकारी, अचार, दही र सर्बतको निर्धारित मात्रको एक सेट एलाकार्ट मेनुको आइटम वा इच्छा अनुरूप बफेटमा उपलब्ध भएको खाना वाट जे मन पर्छ जति मन पर्छ खाने गरी उपलब्ध गराइएको खाना भन्ने बुझिन्छ।

 

५६ भोगको अवधारणामा ५६ खानाको आइटमको इच्छा अनुरूप खानको लागि उपलब्ध गराइने बफेट नै रहेको बुझिन्छ। वैदिक मान्यता अनुरूप तसर्थ आठ खाना संलग्न एलाकार्ट सेटको सात थाली राखेर वा ८ गुणा ७ गर्दा ५६ आइटमको सम्पूर्ण ५६ भोग नै बफेट सेटको रूपमा निर्माण गरी ५६ भोग प्रस्तुत गर्न सकिन्छ।

खानको बारे छांदोग्य उपनिषद् ७.२६.२ ले भन्दछ भोजनको शुद्धताबाट मनको शुद्धता आउँछ, मनको शुद्धताबाट नित्य स्मृति अर्थात् स्मरण क्षमताको नियमित वृद्धि हुन गई स्मरण सबल बन्छ। नित्य स्मरणले सबै किसिमको बन्धन वाट मुक्त हुने उपायको प्राप्ति हुन्छ। वैदिक गणित अनुसार प्रत्येक तीन घण्टालाई एक पहर भनिन्छ। २४ घण्टा हुने  हरेक दिनमा आठ पहर हुन्छ। परम्परागत रूपमा मन्दिरहरूमा प्रत्येक तीन घण्टामा देवी वा भगवान् को साफ सुग्घर गरी नयाँ सजावट सहितको लुगा लगाइन्छ।

 

प्रत्येक रूपमा नयाँ भोग चढाइन्छ। त्यहाँ एक दिनमा आठ प्रसाद चढाइन्छ। खाइन्छ। जुन हप्ताको सात दिन गरिन्छ। मन्दिरको उक्त जरुरतको स्थानीय स्तर वाट भोलेन्टियर रूपमा पूर्ति हुने कार्य परम्परागत रूपमा गाउँ भर व्याप्त श्री कृष्ण भगवान् को छपन्न भोगको खानाको कथाको व्यापकताले सहज गराएको देखिन्छ।

छपन्न भोगको आधारभूत  वैज्ञानिक सिद्धान्त अनुसार आयुर्वेदमा करिब ६ वटा स्वाद (स्वाद लाई रस भनिन्छ) उल्लेख छ । ती छ स्वादहरूमा स्वादिलो वा मीठो (गुलियो), अमिलो (अमला), नुनिलो (नुन), टर्रो (कफी), तितो (करेला) र पिरो (खुर्सानी) पर्दछ। हरेक स्वादको आफ्नै स्वस्थ गत फाइदा छ। मानिस स्वस्थ हुन सबै छ प्रकारको खाना खानु अनिवार्य छ। वैदिक अवधारणामा भान्सामा बन्ने खानाले सम्पूर्णतामा उक्त छ वटा स्वादको प्रतिनिधित्व गर्नु अनिवार्य छ। अन्यथा उक्त खाना स्वस्थ वर्धक नभएर कि प्रभाव हीन कि विष वर्द्धक हुने छ। छ वटा स्वादको प्रयोग गरी कति किसिमको खाना बन्दछ भन्ने गणित यहाँ रोचक हुने छ। सामान्य गणितको हिसाबमा सबै उपलब्ध छ स्वादहरू प्रयोग गरेर कति प्रकारको खाना बन्छ भन्ने तलको गणित वाट गणना गर्न सकिन्छ:

6C1 +6C2+6C3+6C4+6C5+6C6 = 63

जब तपाईँ खाना पकाउनु हुन्छ, सबै छ वटा स्वादहरू एक साथ बराबरी आउने गरी बनाउन सम्भव हुँदैन। न त एउटा मात्रै स्वाद हुने गरी बनाउन सकिने स्थिति रहन्छ। जब खाना बनाउन थालिन्छ त्यसमा कुनै एक स्वादले जितेर एक भन्दा धेरै स्वादको खाना तैयार हुन्छ। प्रकृति उपलब्ध सिङ्गल इन्ग्रीडियन्ट वा खानको कच्चा पदार्थ हुन्छ। खाना बन्ने एउटा कच्चा पदार्थ समेत एक भन्दा धेरै स्वादमा उपलब्ध हुन्छ। स्वादको हुनको लागि एक भन्दा बढी खानको कच्चा पदार्थ अनिवार्य ठानिन्छ। जस्तै: पिठोमा समेत प्राकृतिक रूपमै थोरै नुन हुन्छ भने कागतीको रसमा समेत चिनीको केही मात्रा भेटिन्छ। पकाउने क्रममा त्यसमा घट बढ समेत हुने गर्दछ।

 

त्यसैले वैज्ञानिक रूपमा हुने गणितको सिद्धान्त अनुरूप ६३ बाट 6C1=6 र 6C6=1 घटाउनु अनिवार्य हुन्छ। त्यसको मतलब तपाइले छ स्वादको उपलब्धता दिने सबै कच्चा पदार्थ प्रयोग गर्दा पनि मात्र ६३-(६+१)=५६ खाना बनाउन सक्नु हुन्छ। वैदिक हिसाबमा तसर्थ ५६ भोग सबै स्वाद संलग्न हुने गरी बनाउने सकिने स्वादिष्ट स्वस्थ वर्द्धक खानाको परिकारको विकल्प हो। जसलाई श्री कृष्णको सम्पूर्ण स्वादको पूर्ति गर्ने खानपान भनेर मानियो।

 

आयुर्वेदले खानाको स्वादहरूलाई गुलियो, अमिलो, तितो/टर्रो, नुनिलो, पिरो (पन्जेन्ट) र तीक्ष्ण (एस्ट्रिजेन्ट) गरी छ प्रकारमा वर्गीकरण गर्दछ। फल, अन्न, प्राकृतिक चिनी, दूध आदि गुलियो स्वादका खाना मानिन्छन। जुन शरीरका मांसपेशी बनाउन र स्नायुहरूलाई सबल बनाउन उपयोगमा आउँछ। अमिला फल, दही, अचार वा गुन्द्रुक हालिएका खाद्य पदार्थ आदि अमिलो स्वादको मानिन्छ। तिनीहरू मांसपेशी सफा गर्न र शरीरमा खनिज पदार्थहरूको शोषण गर्न सहयोगी हुने गर्छन्।

 

गाढा रङ्गका साग पात, जडीबुटी र मसलाहरू टर्रो प्रकृतिको रहने र तिनीहरू तन्तुहरूलाई डिटक्सिफाई गरी हल्का पार्न सहयोगी हुने मानिन्छ। खुर्सानी, लसुन, हर्ब, जडीबुटी र मसला पिरो (पन्जेन्ट) स्वादका ठानिन्छ। जुन पाचन प्रक्रिया  सुरुगर्न र सुचारु राख्न जरुरी पर्दछ। प्राकृतिक लवण र समुद्री तरकारीहरू नुनिलो स्वादका मानिन्छन। नुनिलो स्वादले खानाको स्वाद सुधार्ने, तन्तुहरूलाई लुब्रिकेन्ट गर्ने र पाचनलाई प्रक्रियालाई बढवा दिने काम गर्दछ। सुख्खा र हल्का प्रकृतिको भुटेको मकै, दलहन, कोसे बाली, कच्चा फल, कच्चा तरकारीहरू, जडीबुटीहरू आदिका स्वादलाई तीक्ष्ण (एस्ट्रिजेन्ट) स्वाद मानिन्छ। यिनीहरू शरीरलाई पानी अवशोषण गर्न, तन्तु हरूलाई कडा पार्न र बोसो सुकाउन सहयोगी हुने  मानिन्छ।

८४व्यञ्जन मेनु प्लानिङ्ग

वैदिक उपनिषद भन्दछ कि मानिस आफै आफूले प्राप्त गरेको भोजनको सारको उपज हो। खानाबाट सबै प्राणीहरू उत्पन्न हुन्छन्। खानाबाट तिनीहरू बढ्छन्। पोषण बाहेक, खानाको मौलिक महत्त्व भनेको खानाले आध्यात्मिक गुण र जीवनको उच्च उद्देश्य सँग जीवनको सम्बन्ध कायम गर्न सहयोग गर्दछ। ८४ व्यञ्जनभित्र ५६ भोग समेत पर्ने हुँदा ८४-५६=२८ थप खाना ८४ व्यञ्जनको योजना बनाउँदा जरुरत पर्ने छ। क)  मुख्य आधार भाग: जसमा कम्तीमा दश प्रकारका शाकाहारी खाना समेट्न जरुरी हुने छ। साझा देवसी भागमा राखिने छपन्न भोग समेत शाकाहारी खाना रहेकाले जुन खाना छपन्न भोगमा पर्ने छ त्यो यहाँ दोहरिन भएन। ग) विशिष्ट राजसी भाग अन्तर्गत मांसाहारी तथा शाकाहारी गरी कम्तीमा अठार विशिष्ट खाना समेटिन जरुरी हुने छ।

 

८४ व्यञ्जन बनाउँदा के के कुरा छुट्नु हुँदैन र किन भन्ने जानकारी राख्दा ८४ व्यञ्जनको योजना गर्दा सजिलो हुने छ। जौ, चामल, तिल, मुङ, कालो दाल (मास), सक्खर, घिउ, लड्डु, बेल वा बेल पत्र मिसिएको जुस, तुलसी वा पुदिना, दूध, दही, मह, पञ्चामृत, नरिवल पानी वा दूध वा अचार, रायोको गेडा (सर्स्युँ ) रहेको अचार वा तरकारी या कुनै एक चिज, अमला अनिवार्य गर्ने। सकिन्छ भने दुबोको पेय, केराको बिचको गुवोको पेय राम्रो हुने छ। हर्रो बर्रो र अमलाको झोल मिलेर बनेको टर्रो ड्रिङ्क लाई नुन आदि सँग मिसाएर मिठो पेय बनाउने।

 

मिठा पान, सुकेको तिते पातीको चिया (बुद्ध चिया), मह, तिते पाती र चिराइतो मिसाएर बनेको रक्सी, जसलाई एङ्गगुस्ट्रा बटरको रिप्लेसमेन्टमा प्रयोग हुन सक्छ आदि पनि महत्त्वपूर्ण छ। इम्युन बुष्टरको रूपमा बेसारको जुस वा ड्रिङ्क निकै चलेको छ। कान्जी भनेको भातको माड र बेसार, नुन समेतको वैदिक खाना सामान्य तर अति शक्तिशाली बेस हो। जाइफल हाम्रो वैदिक मसला हो।

 

व्हाइट सस वाट सिकेर आफ्नै जाइफल युक्त केही गर्न सकिन्छ। सुत्केरी मसलाको प्रयोग बारे सोचौँ। त्यसले त्यसको पोजिटिब कुरा  हाम्रो कुकिङ्ग मा जोड्न सक्दा नयाँ बिदा दिने छ। टिम्मुर र मरटि वाट नयाँ नेपाली सस बनाउन सक्दा र त्यसलाई फ़र्मेन्ट  गरेको पाकेको खुर्सानीको झोल सँगै (टोबासको सास जस्तो) मिसाएर अथेनटिक नेपाली सस विकास गर्दा त्यसको ठुलो मूल्य हुने छ। औषधीय निकै ठुलो गुण भएकोले हाल तिनीहरू प्रचारमा छन्। जुन हाम्रो वैदिक कालको ज्ञान हो।

 

उमारेको गेडागुडीको खाना अनिवार्य छ। माघे सक्राती  को फुरौला र पकौडा को समेत सोच राखूँ। र्‍याल आउने अण्डा बाहेकको तरकारीको श्रोत समेत जरुरी छ। भिजाएको मुङको दाल वाट भेजिटेरियन अण्डा बनाउन सकिन्छ। त्यो बारे बिचार गर्न सकिन्छ। जौको भुटेको सातुको दूध देखि पेय सबै बन्छ। त्यो महत्त्व पूर्ण छ। विवाहको कसार र पन्ध्र पुसमा खाने लट्टे वा अनदी चामलको गुलियो भात पनि मोडिफ़ाइड रूपमा उपयोग गर्न सकिन्छ। वैली जस्ता चकलेट क्रिम कफी लिक्वोरलाई मिल्क क्यरामेल क्रिम कफी लिक्योरमा आफैले डेभलप गर्न सकिन्छ। मासुको चटनी र सुकुटी नेवारी कल्चर वाट सिक्न सकिन्छ। ड्राईमिट स्पाइसि पनि सोच्न सकिन्छ।

 

छपन्न भोग मूलतः मानिसको जरुरतको सम्पूर्ण पोषण तत्त्वको उपलब्धता र सामान्य स्वस्थ कायम गर्ने जरुरत हुने तत्त्वहरूको  पूर्ति तर्फ धेरै ध्यान दिन्छ। पोषण बाहेकको तत्कालको जरुरत अनुरूप खानाको मध्यम वाट पूर्ति गर्न सकिने औषधीय गुण, खाना मार्फत मानिसमा मौलिक रूपमा सत, रज र तम गुण रुपी वृत्ति विकासको लागि गरिने योगदान, आध्यात्मिक क्षमताको वृद्धि, जीवनको उच्च उद्देश्य सँग जीवनको सम्बन्ध कायम गर्न सहयोग गर्ने गुण (त्यसको अर्थ आत्मा र परमात्मा बिचको संसर्ग अभिवृद्धि गर्न सहयोग गर्ने – अर्थात् ध्यान मार्फत तेस्रो नेत्र सक्रिय पार्ने जस्ता कार्यहरूमा सहयोगी हुने तत्त्व पूर्ति गर्ने) आदि जस्ता विषयमा ध्यान दिएर थप मेनुका आइटम हरू थप्ने कार्य गरिन्छ।

 

तसर्थ एक आर्मी वा पुलिस क्लबमा आर्मी वा पुलिसको लागि योजना हुने चौरासी व्यञ्जनको पार्टी एक वैज्ञानिक तथा प्राज्ञ सभामा हुने पार्टी भन्दा फरक हुन सक्छ। त्यस्तै धार्मिक सभाहरूमा सम्भवतः दुवै भन्दा फरक मात्र शाकाहारी चौरासी व्यञ्जनको बफेट मेनुको माग हुन सक्छ। सामान्य सामाजिक र परम्परागत कार्यहरूको लागि फरक प्रकृतिको समुदाय अनुरूपको अलि जेनेरिक प्रकृतिको चौरासी व्यञ्जनको भोजको मेनु आयोजना गर्न सकिने हुन्छ।

 

महाभारतका अनुसार पञ्चामृत क्षीर सागर मन्थनको समयमा पैदा हुन गएको सामग्री थियो। पञ्च भनेको पाँच र अमृत भनेको बढौली लाग्न नदिने सार तत्त्व युक्त भनिएको हो। यो स्थानीय गाईको दूध ५ चिया चम्चा, स्थानीय गाईको घ्यु २ चिया चम्चा, स्थानीय गाईको घरेलु दही १ चिया चम्चा, स्थानीय  मौरीको मह १ चिया चम्चा र शुद्ध मिश्री वा सक्खर १ चिया चम्चाको अनुपातमा मिसाएर बनाइन्छ।

 

आज विश्व बजारमा बढीमा १-२ चम्चा दैनिक पञ्चामृत पिउदा शरीरको प्रतिरक्षा शक्तिको सुधार गर्न, शारीरिक ऊर्जामा सुधार गर्ने टनिकको रूपमा, भावनात्मक र मानसिक स्वास्थ्य लाई बढवा दिन, छालाको औरा वा चमक पन बढाउन, कपालको रङ्ग सुधार गरी चिल्लो पार्न, ब्रेन टॉनिकको रूपमा बुद्धिमत्ता, स्मरण शक्ति बढाउन, चनाखो पन वृद्धि र रचनात्मक क्षमता हरू विकास गर्न सहयोग गर्ने दाबीका साथ व्यपारिक बिक्रीका लागि बजारमा आएका छन्।

 

कतिपय स्थानमा वासनाको लागि इलायची (सुकुमेल) र तुलसी समेत हालिने पञ्चामृत मानव जातिको इतिहासमा आज सम्म थाहा भएकोमा सबै भन्दा पुरानो सिन्बायोटिक खाना जसमा प्री-बायोटिक अथवा माइक्रोबयोमको खाना र प्रो-बायोटिक अथवा हाम्रो शरीरलाई चाहिने माइक्रोबयोमहरु हाम्रो शरीरमा जरुरत अनुरूप पूर्ति गर्ने उत्कृष्ट औषधीय गुणको प्रसाद वा पेय वा खाना हो। भारत वर्षको आमाको दूधमा भएका तागतको गुण बोकेको पञ्चामृत बन्ने प्राकृतिक अमृतका तत्त्वहरू समावेश रहेका विभिन्न टनिक वा पुष्टकारी वर्गका खाना तथा  पेयहरू विभिन्न नाममा विश्व बजारमा भेटिन्छ।

(खाद्य तथा औषधि विज्ञ, क्यानडा)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: