मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

जनै पूर्णिमा, रक्षा-बन्धन, राखी र ऋषितर्पणी !

(वेद र विज्ञानको सन्दर्भ)

नारायण घिमिरे

भूमिका:

संसारमा ज्ञान यस्तो कुरा हो जुन जति बाँडियो त्यति बढ्छ। जति सदुपयोग गर्‍यो त्यति विशाल हुन्छ। ज्ञानको चुरो फाइदा लाई रोक्न सक्ने तागत प्रकृतिले कसैलाई पनि उपलब्ध गराएको छैन। त्यसैले त हाम्रो परम्पराको कथालाई हामीले गहिरिएर हेर्‍यो भने कुनै सैतानले मेहनत मार्फत कुनै बिन्दुमा पुगेर निश्चित ज्ञान वा शक्तिको आशीर्वाद माग्दै गर्दा उक्त दुष्ट लाई दिइएको आशीर्वादले आफैलाई निकट भविष्यमा ठुलो क्षति दिने जान्दा जाँदै पनि साक्षात् शिवजी भनिएका भोले शङ्कर आफै तथास्तु भन्न बाध्य हुन्छन्।

 

यी र यस्ता कुराहरू हाम्रो परम्परागत स्मृतिका कथाहरूमा किन राखिए भन्ने सामान्य हेक्का समेत नराखी अन्य मन्त्रको अर्थको त कुरै छोडौँ  गायत्री मन्त्र समेत गोप्य राख्नु पर्ने जस्ता आफ्नो आम्दानीको बिडो सोझाउने नियतमा श्रुतिहरूको मान्यताको विपरीत थियो। जसले पूर्ण वैज्ञानिक रहेको प्रमाणिक हुँदै गएको परम्परागत वेद र विज्ञानका चुरो यथार्थ हाम्रो आफ्नै भूमिमा बिरानो बन्यो।

 

यथार्थमा भन्नु पर्दा आज हाम्रो वैदिक परम्परा हाम्रो समाजमा सम्मानित परम्पराको रूपमा स्थापित नहुनुमा हाम्रो समाजमा सङ्कीर्ण मानसिकता बोकेर यथार्थ भन्दा आफ्नो सीमित ज्ञानलाई आफ्नो स्वार्थ अनुकूल अनि आफूलाई जसरी फाइदा हुन्छ त्यसरी व्याख्या गर्दै समाजमा आफ्नो धाक, रवाफ र प्रभाव बढाउन दुरुपयोग हुँदै गरेको देखियो। उनीहरू मद्ये केही चर्चित देखिएकाहरूले समाजमा व्याप्त आफ्नो प्रभावको इमोसनल ब्ल्याक मेल मार्फत धर्मको नाममा पैसा बटुल्ने कानुनी रूपमा वैध तर वैदिक नैतिकता अनुरूप अनैतिक सामाजिक शोषण समाजको अर्को भाइरसको रूपमा हाम्रो सामु उभिएको छ।

 

केही चर्चित प्रतिनिधि पात्रको कुरा गर्दा एउटा पात्र जो युवा विदेश पठाउने नाममा करोडौँ कुम्ल्याउँछ। कालो धन लुकाउँछ। कानुनी आम्दानी हुने कुनै काम गर्दैन। कानुनी रूपमा देखिने आफ्नो नामको चल अचल सम्पत्ति शून्य बनाउँछ। अव ठगी बापत जेल जान वाट बच्न कुनै वैदिक सङ्घ महासङ्घ खडा गर्छ। फेरी जनतामा अर्को आवरणमा लुट मच्चाउने अभियानमा सक्रिय हुन्छ। अर्को रातो पासपोर्ट बेची मानव तस्करी गरेको कर्तुत छोप्न गेरु वस्त्र पहिरिन्छ। कुनै कालो धनको बदनामी गेरु वस्त्र भित्र लुकाउन यता आकर्षित हुन्छन्।

 

जब नियत खराब लिएर कुनै सामाजिक अभियानमा लागिन्छ त्यो निकै सशक्त र आक्रामक बन्छ। त्यसलाई ज्ञान र विज्ञान सँग कुनै साइनो रहँदैन। लुटको लागि ओढिने गेरु वस्त्र आवरणमा  देखिएका नयाँ साधुहरू   यो रे र उ रे भन्ने बकम्फुसे कथामा रमाउने भुईँ फुट्टा सोचका विद्वताको जति ठुलो हात छ त्यसको हजारमा एक भाग समेत तिनै वर्गले भन्ने गरिएको कुनै निश्चित विदेशी शक्ति वा सुनियोजित योजनाको ग्राइन्ड डिजाइनको भूमिका देखिँदैन।

 

यसले हाम्रो समाजमा केही सीमित नव-सम्भ्रान्त वर्ग त पक्कै जन्माएको छ। वैदिक नैतिकताको कसीमा पूर्ण नैतिक हराम ती नव-सम्भ्रान्त वर्गको पथ भ्रष्टता लाई निकै नजिक वाट निहाली रहेको हाम्रा भविष्यको कर्णधारको रूपमा भने यो नाटक मच्चनले वैदिक परम्परामा नै अविश्वास गर्ने वातावरण उत्पन्न गरिदिएको छ। हाम्रो समाजका शिक्षित मानिएका वर्गले यो सन्दर्भ र विषयको गाम्भीर्य लाई मनन गरी “अल्प ज्ञान भयङ्कर” को जालो तोड्न नसक्नु वैदिक चुरो ज्ञानको अज्ञानता समाजमा व्याप्त रहनुको मुख्य कारक वनेको बुझिन्छ।

 

वैदिक स्मृतिहरूमा उल्लेख भए अनुरूप महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म (अर्थात् सूर्य) बाट वेद प्राप्त गरेको दिन अर्थात् वेद जयन्तीको रूपमा मनाइने संस्कृत दिवस जनै पूर्णिमा हो। जनै पूर्णिमाको वैदिक र वैज्ञानिक पाटो बारे हाम्रो समाज आज पनि खासै त्यति धेरै सुसूचित रहेको देखिन्न। बरु हाम्रा समाजका कतिपय सचेत गनिएका वर्ग जनै पूर्णिमा लाई रूढिवादी परम्परा भनेर दुत्कार्न कहिल्यै थाक्दैनन्।

 

हाम्रा परम्परा लाई रूढिवादी भन्ने कलङ्कको टिको थपी दिँदा त्यस्ता सचेत भनिने वर्गलाई मुलुकका अर्का थरि स्वघोषित वरिष्ठ विद्वत वर्गको पगरी भिरेकाहरूले टक्राउने स्याबासी नै उसलाई त्यो कित्तामा पुनः पटक पटक उभिन ऊर्जाशील गरिरहेको देखिन्छ। त्यो वर्ग लाई हाम्रो परम्परा लाई रूढिवादीको मोहर थमाउन कुनै वैज्ञानिक प्रमाण र मान्यताको जरुरत पर्दैन। रमाइलो त के छ भने कहिल्यै व्यवहारिक विज्ञानको अनुसन्धानको सामान्य विद्यार्थी समेत नबनेका ती नेपाली समाजका महाविद्वान  बर्नर हाइजेनबर्ग, निल्स बोहर र निकोला टेस्ला जस्ता वैज्ञानिकले भनेका कुराहरू समेत यी पात्र को रहेछन् भन्ने समेत सामान्य जानकारी समेत नराखी अवैज्ञानिक भनी लालमोहर ठोकिदिन्छन्।

 

यसबिच हाम्रो समाजको एउटा अर्को यथार्थ के हो भने वेद उत्पत्तिको पवित्र भूमि नेपाल, गणेशको बाल्यकालको सबैभन्दा प्रिय भूमि तथा स्वयम भगवान् शिवको निवास रहेको भूमि नेपालका वैदिक अनुयायीहरूले समेत यहाँको कुन कुन परम्परा वैदिक अवधारणा अन्तर्गतको कुन कुन सन्देश प्रवाह गर्न स्थापित गरियो भन्ने हेक्का राख्न सकेको देखिन्न। परम्परा आधारित वनेको वैदिक रहस्य, वैदिक रहस्यलाई विज्ञानले गरेको पुष्टि र परम्परागत संस्कृतिको जगेर्नाको जरुरत किन पर्‍यो भन्ने उद्देश्य समेतमा उनीहरू यकिन बनेको पाइन्न। श्रुतिको चुरो उद्देश्य प्रस्ट गर्न नसक्ने अनि स्मृतिको कथा र किंवदन्तीमा सीमित हुने आजको हाम्रो संस्कारले वैदिक चुरो ज्ञानका जिज्ञासुहरुलाई न्याय समेत गर्न सकेको छैन।

 

रक्षा बन्धन:

पौराणिक कथा अनुसार असुर राजा बलिको दान यज्ञमा वामन (बामपुड्के सन्न्यासी) रूपको छद्म भेषमा पुगेका भगवान् विष्णुले बलीलाई प्रसन्न पारे। प्रफुल्ल बलीको मनलागे दान माग्न वामन संग अनुरोध गरे। वामनले असुर राजा बलि सँग आफ्नो पाइलाको तीन पाइला मात्र जमिन मागे। त्यसमा बलि सहमत भए। तब वामनले आफ्नो पाइलाको आकारलाई ठुलो आकारमा परिवर्तन गरे। पहिलो चालमा पाइलोले पुरै पृथ्वी ढाक्यो। दोस्रोले स्वर्गलाई समेत ढाक्यो।

 

कबुलेको दान दिन बचन बद्ध बलीको सम्पूर्ण स्वामित्वको भूभागले तिन पाइला जमिन नपुग्ने भयो। तब बलिलाई वामन विष्णु अवतार रहेछन् भनी यकिन भयो। त्यसैले उनले वामनलाई सम्पत्ति भन्दा सम्पत्तिको हकदार बहुमूल्य हुने तर्क गर्दै खुट्टा राख्नको लागि तेस्रो स्थानको रूपमा आफ्नो शिर प्रस्ताव गरे। वामनले त्यसै गरे। बलिले सर्त बमोजिम आफ्नो जीवनको समेत स्वामित्व वामनलाई सुम्पे। जसले बलिलाई अमरता प्रदान गर्‍यो।

 

आफ्नो बचनमा यति धेरै पक्का देखिएका बलीलाई वामनले सम्पूर्ण पातालको राज गर्न भने। बलीले वामनलाई आफू वामनको सर्त मान्न तयार रहेको तर सो को लागि उनलाई वामनले यो वाचा दिनु पर्‍यो कि जति बेला उनि ब्युँझन्छन त्यो बेला जता हेर्दा पनि वामनलाई नै देख्नेछन्। वामनले बलीको सर्त मान्नु पर्ने भयो। उक्त सर्तले विष्णुलाई बलीको रक्षकको रूपमा परिवर्तन गरिदियो। वामनले बलिलाई पातालको शासन दिने भए। मर्त्य लोक हामीलाई नै चाहिने भयो। बलीले हडपिन लागेको देवताहरूको स्वर्ग देवताहरूले नै फिर्ता पाए। सबैको न्यायोचित उद्धार भयो।

 

स्विकारिएको सर्त बमोजिम विष्णु पाताल बस्ने भए। वैकुण्ठमा लक्ष्मी एक्लै पर्ने भइन। लक्ष्मीले आफ्नो भेष बदलेर पाताल पुगिन र राजा बलिलाई आफ्नो भाइ बनाउन सफल भइन। साउन पूर्णिमाका दिन लक्ष्मीले बलीलाई रक्षा सूत्र भन्दै बलीको पाखुरामा राखी बाँधी दिइन। आफ्नो रक्षाको कामना गर्ने बहिनी प्रति प्रसन्न राजा बलीले देवीलाई राखी बाँध्नुको बदलामा मनमा भएको इच्छा उपहारको रुपमा माग्न आग्रह गरे।

 

देवीले आफू भगवान् विष्णु पत्नी रहेको र पति पत्नी बिचको आपसी सम्बन्ध र मायाको जरुरतलाई कदर गर्दै र दाजु बहिनी बिचको पवित्र सम्बन्धको समेत कदर गर्दै विष्णुलाई बन्धनबाट मुक्त गर्ने प्रतिज्ञा गर्नुहोस् भनिन। बचनमा बाँधिएका बलीले विष्णुलाई मुक्त गरेको बचन दिए। विष्णु लक्ष्मीसँग वैकुण्ठ फर्किन पाउने भए। कथाले बताए अनुरूप देवी लक्ष्मीले आफ्नो पति विष्णुको सुरक्षाको लागि राजा बलिको हातमा रक्षा बन्धन बाँधेकी थिइन्।

 

दाजु बहिनीको पवित्र प्यारको शक्तिले महाबलीको तागत र बुद्धिमत्ता लाई नतमस्तक बनायो। अर्कालाई न्याय दिने कार्यमा खट्ने क्रममा आफै अर्काको बन्धनमा परेका विष्णुको त मुक्ति दिलायो दिलायो, त्यसको प्रभावको लहरले लक्ष्मीको निजी जीवन माथि पुग्न गएको क्षतिको समेत पूर्ति गर्न सक्यो।

 

महाबलीको यो कथाले समाजलाई दिने  दिने चुरो सन्देश के हो भने जीवनमा तपाईँ सँग भएका कुनै पनि कुरा स्थायी हुँदैन। धन, शक्ति, सौन्दर्य, पद, हैसियत, परिवार कुनै पनि कुरा कसैको स्थायी चिज होइन। तपाइले गर्ने कार्यको नियत प्राकृतिक नियम सङ्गत छैन भने तपाईँ जति सुकै सम्पन्न, पराक्रमी र शक्तिशाली हुनुहोस् तपाईँ परास्त हुनु हुने छ। त्यसैले नम्र रहनु, सबैलाई सम्मान गर्नु, घमन्ड बाट टाढा रहनु र धर्म वाट विचलित नहुनु नै वैदिक जीवन जिउनुको प्राकृतिक नियम हो। त्यसैले तपाईँलाई शान्ति पूर्ण र ब्लिसफुल जीवन उपहारको रूपमा दिने छ।

 

येन बद्धो बली राजा दानवेन्द्रो महाबल:।

तेन त्वामनुबध्नामि रक्षे मा चल मा चल।।

 

सरलीकृत शब्दार्थ: म तिमीलाई त्यही एकल (सग्लो) लामो डोरोले बाँध्दछु जुन डोरोले असुरहरूको पराक्रमी भनिएका राजा बली समेत बाँधिए। त्यो डोरीको तागत जसले असुर राजा बलीलाई हलचल हुन नसक्ने गरी बाँधेर निष्क्रिय मात्र गरेन, बिष्णुको रक्षा सूत्रको समेत काम गर्‍यो। रक्षा सूत्र अत्यन्त चतुर र बलवान असुर पनको पूर्ण नियन्त्रणको लागि प्रभावकारी सिद्ध बन्यो।

 

 

सरलीकृत भावार्थ: यसको शब्दार्थ सामान्य छ। तर भावार्थ गहिरो छ। रक्षा बन्धनको समयमा धागो बाँध्ने क्रममा धागो बाँधिदिनेले धागो बाँध्ने लाई एउटा सुरक्षा कवच अर्थात् रक्षा सूत्र दिने गर्दछ। त्यो यस्तो  सुरक्षा कवचको प्रतिक हो जसले असुरहरूहरूको सबै भन्दा शक्तिशाली र पराक्रमी ठानिने राजा बलिलाई समेत बलिदानको बन्धनमा बाँध्न सम्भव बनायो। राजा बली एउटा दाइ बैनीको पवित्र सम्बन्धको धागो अन्तर्गत बुनिएको वाचाको सङ्कल्पमा बाँधिए। रक्षा सूत्रमा बाँधिएर अधर्म त्यागी धर्मको बाटो अपनाउन बली बाध्य बने।

 

 

मन्त्रमा धागो बाँधिदिनेले भन्ने गर्दछ कि यो धागो वा राखी  धर्मको अनुसरण गर्नको लागि अभिप्रेरित गर्न लगाइने एक साङ्केतिक बस्तु वा यन्त्र हो। वैदिक मान्यतामा धर्मको पक्षमा रहेकाहरूको अन्ततोगत्वा सदैव जित हुने गर्दछ। यो बाँध्दै गर्दा तिमि आफूले आफूलाई मन मनै आफू सदैव अधर्म (असुर) त्यागी धर्म (सुर) को पक्षमा समर्पित हुने छु भन्ने वाचा गरिरहेको छौ भन्ने मैले अपेक्षा गरिरहेको छु।

 

 

म तिमीलाई सदैव धर्मको पक्षमा रहन प्रेरित गर्दछु। हरेक मानिसको मनमा असुर अर्थात् अधर्म तर्फ लैजाने शक्ति अर्थात् नकारात्मक मनोभावना तथा धर्म (सुर) को पथमा जाने बल अर्थात् सकारात्मक मनोभावना पैदा हुनु मानवीय गुण हो। मानिसलाई अधर्म तर्फ लैजाने शक्तिलाई असुर वा दानवीय गुण  भनिन्छ। मानिसले आफू कहिल्यै अधर्मको बाटो नसमात्ने र सदैव सत्यको पक्षमा रहने दृढ सङ्कल्प गरेर आफूले आफूलाई सत्यवादी बनाउन सक्दछ।

 

 

सत्यको पक्षमा रहने दृढ सङ्कल्प लाई वैदिक मान्यतामा ‘रक्षा सूत्र भनिएको छ। धागो वा राखी  बाँधी दिँदै गर्दा भनिन्छ कि म तिमीलाई त्यो रक्षा सूत्र दिँदै छु जसको जतिसुकै ठुलो साजिस अन्तर्गत रचिएको अधर्म (महाबली) किन नहोस् त्यसको समेत सामना गरी तिमीलाई विजय प्राप्तिको मार्गमा लाने तागत हुने छ। तिम्रा आफ्नै आन्तरिक अत्यन्त तीव्र असुरि चाहना हुन् वा तिम्रो सत्यवादी आचरण खलल गर्न रचिएका असुर प्रयत्नहरू, सबै नै यसले मत्थर गरिदिने छ। यसले तिमीमा सबै प्रकारको असुर भाव प्रकट हुने प्रक्रियाको मूल कारकको नै अन्त गरिदिने छ।

 

 

रक्षा बन्धनको अवसरमा रक्षा सूत्र ग्रहण गर्नेहरूलाई अधर्मको बाटो त्यागी धर्मको बाटो पक्रन प्रेरित गर्ने उद्देश्य रहेको हुन्छ। हरेक शुभ कार्यहरूमा पटक पटक उक्त उद्देश्यको स्मरण गराउने गरिन्छ। मानव स्वभावको अविच्छिन्न भागको रूपमा रहेको धर्म र अधर्मको दुई डोरी बिच कसलाई पछ्याउने  भन्ने दुबिधामा रहेको मनलाई सदैव धर्मको डोरीमा स्थिर राख्ने वातावरण निर्माण गर्न तर्फ कोसिस र कामना गरिएको हुन्छ।

 

 

जनै पूर्णिमा (ऋषितर्पणी):

संस्कृतमा जनै लाई यज्ञोपवीत (Yajñopavīta) भनिन्छ। यज्ञ (yajña) र उपवीत (upavīta) शब्दहरू मिलेर बनेको संस्कृत शब्द यज्ञोपवीत (Yajñopavīta) को यज्ञ शब्दले वैदिक कार्य भन्ने अर्थ दिन्छ भने उपवीत शब्दको अर्थ शुद्धीकरणको लक्ष्य वाकेको पवित्र धागो भन्ने लाग्दछ।

 

 

वैदिक कालमा मन्त्रको भाव सम्पूर्ण रूपमा बुझेको, मौन रहने, सेतो पवित्र कपासको धागो सदैव आफूसँग राख्ने, सेतो वस्त्र लगाउने, वस्त्रले नढाकिएको भाग खरानीले ढाकिएको, आफ्ना इन्द्रियहरू माथि विजय प्राप्ति गरेको इन्द्रिय विजयी  र आत्मसंयम पात्र साधकको रूपमा देखिने गर्दथे। साधक पुरुष होस् वा महिला हरेकले आफ्नो मनलाई मन्त्रमा केन्द्रित गरी तोकिएको विधि अनुसार पूजा, अर्चना गर्ने र पूजा पश्चात व्रत लिएर ज्ञान प्राप्तिको लागि ध्यानमा (मेडिटेसन) बस्ने गर्दथे।

 

 

जनै सम्पूर्ण रूपमा कपास निर्मित डोरी हो। हरेक डोरीको तीन पया अर्थात् धागोको त्यान्द्रो मिली बनेको हुन्छ। हरेक त्यान्द्रो तीन वटा बलिष्ठ धागो निर्मित हुन्छ। शास्त्रले गायत्री मन्त्रको सन्देशको पूर्ण राम्रो ज्ञान हुने व्यक्तिले हातले जनै बनाउने वा काट्ने गर्दछन् भन्ने मान्यता राख्दछ। जनै बन्ने सेतो कपासले भने सूर्यको सेतो प्रकाशको किरणलाई सङ्केत गर्दछ।

 

 

जनै बनाउने क्रममा तीन सुता भएको धागालाई नछिनालीकन सङ्कलन गरेर बराबर पारेर बाटी त्यसलाई एउटा शिखा (त्यान्द्रो) बनाइन्छ। यसरी बनेको तिन वटा शिखा मिलेर तिन पयाको आधारभूत मुख्य जनै तैयार हुन्छ।

 

 

तीन पयाको जनैमा रहने नौ वटा धागोको डोरा मध्ये एउटा शिखामा रहेका तीन डोराले वैदिक मान्यताका सृष्टि अर्थात् निर्माणको शक्ति ब्रह्मा (सरस्वती), संरक्षण र नियमित सञ्चालनको शक्ति विष्णु (लक्ष्मी) र पुनः निर्माणको नियतले विनाश गर्ने शक्ति शिव (पार्वती) शक्तिको (देवताहरूको) तीन गुणहरूको सूचकको काम गर्दछ।

 

 

अर्को शिखामा रहेका तीन डोराले समग्रमा शरीर (Body & Brain कर्म), मन (Mind ज्ञान योग ) र वाणीको (Sound & Vibration उपासन Spiritual Practices) प्रतिनिधित्व गर्दछ। यसलाई मनोदण्ड, वाग्दण्ड र कार्य दण्ड मतलब मन, वाणी र शरीरलाई संयममा राखी मन, वचन र कर्मको सुद्ध करण गर्ने कार्य नियमित कायम राख्ने सङ्कल्पको रूपमा लिने गरिन्छ। अर्को तीन डोरा ऋषि ऋण (ज्ञान प्राप्ति बापतको ऋण), पितृ ऋण (पुर्खाको बलिदानको ऋण) र सृष्टिकर्ताको ऋणको (जीवित रहने सौभाग्य प्राप्तिको ऋण) जिम्मेवारी बोधको सूचक ठानिन्छ।

 

 

तीन सुते जनैको नौ वटा धागोले पन्च माहाभुतको पाँच गुण (आकाश, वायु, अग्नि, जल तथा पृथ्वी तत्त्वहरू), सूर्य (सृष्टिकर्ता द्वारा रोपिएको बीउ अर्थात् सात रङ्गिन किरण मिश्रित सूर्यको सेतो किरण तथा औषधीय गुणको सार तत्त्व निर्माण गर्न चन्द्रमा मार्फत परावर्तित प्रकाशको किरण सोम), पितृ (हाम्रा अभिभावकले रोपेका बीउ-जेनेटिक तथा इभोलुसनरी आनुवंशिक गुण) तथा कर्मिक स्मरण (तत्कालीन जीवनको अनुभूतिको स्मरण) प्रतीकको रूपमा समेत लिने गरिन्छ।

 

 

जीवनको समग्र संरचनाको बारे हामीलाई सुसूचित गर्ने र मानव लगायतको सम्पूर्ण जगतको अस्तित्वको संरक्षणमा हाम्रा हरेक कार्यहरू प्रकृति मैत्री रहन किन जरुरी रहेको छ भन्ने नियमित अनुभूति गराउने नियत देखिन्छ।

 

 

त्यसै भएर जनै धारण गर्ने वेलामा भनिने तलको मन्त्रको अर्थ निकै पेचिलो हुने गरी बनाइएको छ।

 

ॐ यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात् ।

आयुष्यमग्र्यं प्रतिमुञ्चशुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः ।

नवभिस्तन्तुभिर्युक्तं त्रिगुणं देवतामयम् ।

उपवीतं मया दत्तं गृहाण गणनायक ॥

 

 

मन्त्रको शब्दार्थ नजिकको भावार्थ: प्रजनन मार्फत उत्पत्ति हुने र जीवनको बिस्तार गर्ने  सम्पूर्ण जीवहरूको वास्तुकार तथा जीवनको रक्षकको रूपमा रहनु भएको विष्णु शक्ति रुपी प्रजापतिले सूर्यको प्रकाश, चन्द्रमाको प्रकाश (सोम) र तेज ऊर्जा आदि मार्फत निर्मित जीवनको यथार्थ पक्षको प्रतिनिधित्व गर्ने गरी नौ धागोहरूको उपयोग गरी तिन डोरो वाट यो पवित्र यज्ञोपवीत (जनै) को निर्माण भएको छ। यसका तिन पयाले  तीन गुण (सत्त्व, रज र तम) र नौ धागोहरूले जीवनको निर्माण र सञ्चालन गर्न भूमिका खेल्ने नौ शक्तिहरूको प्रतिनिधित्व गर्दछ। सूर्यको सेतो किरणको प्रतीकको रूपको सेतो धागो निर्मित पवित्र जनैले मलाई सदैव आफ्नो कर्तव्य बोध गराउँदै धर्मको बाटोमा अधि बढ्न प्रेरित गरी राख्ने छ।

 

यथार्थमा राखीको प्रयोजनको सन्दर्भमा दाजु बैनी बिचको पवित्र प्यार र बलिदानको समेत स्मरण गराउने गरी डोरो बाँध्ने जनैको प्रतिस्थापन राखीको लागि उपयोग गरिने डोरोले गर्दछ। आफ्ना प्रिय दिदी-बैनीहरूले लगाइदिने राखिको डोरी बाँध्ने क्रममा दिदी बैनीको मनोभावको कामना वा आशीर्वादको रूपमा तलको मन्त्रले दिने अर्थलाई लिने गरिन्छ।

 

 

यदाबध्नन्दाक्षायणा हिरण्यं शतानीकाय सुमनस्यमानाः।

तत्ते बध्नाम्यायुषे वर्चसे बलाय दीर्घायुत्वाय शतशारदाय ॥

 

मन्त्रको शब्दार्थ नजिकको भावार्थ: जसरि राष्ट्रको शुभचिन्तक एक शूरवीर दूरदर्शी विद्वानले आफ्नो परिस्थिति जन्य उपयोगमा ल्याउन सकिने ज्ञान,  विज्ञान र उपलब्ध साधन श्रोतको सदुपयोग गर्दै आफ्नो सुरक्षा संयन्त्र मजबुत पार्दै राज्यको रक्षा गर्न र राष्ट्र लाइ संवृद्ध पार्न समेत सफल बन्दछ, ठिक त्यसै तवरले आफ्नो पहुँचको ज्ञान तथा विज्ञानको समयको माग अनुरूप सदुपयोग गर्न र आफूलाई उपलब्ध ऐश्वर्यको बुद्धिमत्ता पूर्ण सदुपयोग गर्दै आफ्नो कीर्ति, सद्भाव र करुणाको बलले आफ्नो उद्देश्य प्राप्त गर्न, पवित्र समाज सेवामा लाग्न तथा तिम्रो जीवनलाई सफल तुल्याउन सकोस् भनी कामना गर्दै यो राखी म तिम्रो कर्मठ पाखुरामा लगाइदिन्छु।

 

 

जनै पूर्णिमाको श्रावण नक्षत्रको पूर्णिमा भएकोले श्रावणी पूर्णिमा, त्यस दिन हुने स्नानलाई श्रावणी स्नान,  ऋषिहरुलाई गरिने पूजा र तर्पण ऋषि तर्पणीको दिन भनिएको हो। यो पूर्णिमामा लाई शास्त्रले जनै फेर्ने तिथि तोकिएकोले यसलाई जनै पूर्णिमा भनिएको हो। शास्त्रले नै सोही दिनलाई हरेक व्यक्तिले रक्षा सूत्रको प्रतीकको रूपमा हातमा डोरो वा राखी आदि ग्रहण गर्न उत्तम दिन भनी तोकिदिएकोले यसलाई रक्षा बन्धन समेत भन्ने गरियो।

 

स्मृति शास्त्र अनुसार तर्पण भनेर देवता, ऋषि र पितृ हरूको नाउँ लिएर कुश तिल सहित अँजुली वा अर्घ द्वारा जल दान गरी उनीहरूको देनको लागि उनीहरू प्रति आफ्नो धन्यता प्रस्तुत गर्नु हो। जब उक्त तर्पण ऋषि प्रति हुने गर्दछ त्यसलाई ऋषि तर्पणी भनिन्छ।

 

ऋषि तर्पणी कार्यको लागि पहिले आफूलाई श्रावणी महास्नान गरी शुद्ध गरिन्छ। श्रावणी महास्नानको लागि  बिहानै उठी पञ्च गव्य सेवन गरी विविध आयुर्वेदिक औषधी बन्ने जडीबुटी एवं पदार्थहरू जस्तै: कुश, दूबो, अपामार्ग (दतिवन), तिल, जौ, शुद्ध माटो, सप्तमृत्तिका (तबेला, हात्तीसार, गाई गोठ, तीर्थस्थल वा तालको किनार, राजद्वार वा न्यायालय द्वार, गुरु द्वार, नदीको सङ्गमको स्थान गरी सात स्थानको माटो), गाईको गोवर, खरानी र तिलक (भस्म) आदिले जलाशयमा गएर वैदिक मन्त्र उच्चारण गर्दै नुहाउने गरिन्छ।

 

देवताहरू लाई जस्तै ऋषिहरू लाई पनि देव तीर्थमा पुगी अञ्जलीमा जल दिने कार्यलाई ऋषि तर्पणी भनिएको छ। यथार्थमा प्राय: तर्पण दिइने ऋषिहरूमा व्यास, वसिष्ठ, याज्ञवल्क्य, कात्यायन, अत्रि, जमदग्नि, गौतम, विश्वामित्र, नारद, चरक, सुश्रुत, पाणिनी, दधीचि आदि पर्दछन्।

 

ऋषितर्पण ज्ञात अज्ञात ऋषिहरूले समाजमा ज्ञान प्राप्तिको लागि गरेको महान् कार्य प्रति श्रद्धा व्यक्त गर्दै त्यस वाट आफ्नो जीवनमा हुन गएको सहजता बापत उनीहरूलाई धन्यवाद ज्ञापन गर्ने र आफूले धन्यताको महसुस गर्ने शुभ अवसरको रूपमा ग्रहण गरिन्छ।

 

स्नान र तर्पणको वैदिक मन्त्र:

ॐ मरीच्यादि दशऋषयः आगच्छन्तु गृह्णन्तु एतान्जलाञ्जलीन्।

ॐ मरीचिस्तृप्याताम्। ॐ अत्रिस्तृप्यताम्। ॐ अंगिराः तृप्यताम्।

ॐ पुलस्त्यस्तृप्यताम्। ॐ वसिष्ठस्तृप्यताम्। ॐ क्रतुस्तृप्यताम्।

ॐ वसिष्ठस्तृप्यताम्। ॐ प्रचेतास्तृप्यताम्। ॐ भृगुस्तृप्यताम्।

ॐ नारदस्तृप्यताम्।

 

वैदिक स्नानले तन र मनको शुद्धि लाई जनाउने गर्दछ। तनको शुद्धि अन्तर्गत शरीरको फोहर फाल्ने कार्य पर्दछ। शरीर बाहिरको फोहर पानी र नुहाउने पदार्थहरूले केही सुद्ध गरिदिन्छ। शरीर भित्रको फोहर सफा गर्न जडीबुटीका सार तत्त्व, जप, साधना, आराधना, मेडिटेसन (ध्यान), सूर्य स्नान, वातावरणको सान्निध्य जाने आदि कार्य सहयोगी हुन्छ।

 

मानिसको दिमाग समेत भौतिक वस्तुनै रहेकाले दिमागमा वास गर्ने काम (काम वासना, यौनेच्छा वा आशक्ति),  क्रोध (रिस र आक्रोश), लोभ (प्राप्तिको चाहना), मोह (देह र सांसारिक वस्तुलाई नै सर्वस्व ठान्ने भ्रम वा लट्ठिने खालको प्रेम), मद (अहङ्कार) र मात्सर्य (ईर्ष्या) आदि जस्ता वास्तविक सुख प्राप्तिमा वाधक हुने प्रमुख फोहरहरू वाट मुक्ति लिने कार्य समेत स्नान नै हो।

 

जब तपाईँ भौतिक फोहरहरू वाट मुक्त बन्नु हुन्छ तब महास्नान अन्तर्गत स्नानमा तपाइको शरीरको रोग प्रतिरोधी क्षमता बढाउने शक्ति थप्ने कार्य तथा मन शुद्धिको चरण थपिने गरिन्छ। मन शुद्धि अन्तर्गत मानिसलाई मनोवैज्ञानिक रूपमा प्रकृतिमैत्री जीवन जिउन र प्रकृति नियमको सिद्धान्त अनुरूप आफ्ना कर्महरू सञ्चालन गर्न सङ्कल्पकृत गराइन्छ।

 

आफूले गरेको त्यस प्रकारको सङ्कल्प अनुरूप उसले आफ्ना गतिविधि सञ्चालन गर्नु लाई धर्म कार्य गरिएको र त्यसको विपरीत हुने गरि सञ्चालन हुने कर्मलाई अधर्मी कर्म ठानिन्छ। वैदिक मान्यताले प्रकृति नियमको सिद्धान्त अनुरूप आफ्ना कर्महरू सञ्चालन गर्ने सम्पूर्ण धार्मिक कार्यले मानिसलाई आफ्नो जीवनको उद्देश्य अर्थात् स्थायी चरम सुखको प्राप्तिको विन्दुमा पुग्न सहज गराउने गर्दछ।​

 

श्रावण नक्षत्रको पहिलो पूर्णिमा:

 

हाम्रा स्मृतिहरूले किन श्रावण नक्षत्रको पहिलो पूर्णिमालाई रक्षा सूत्रको प्रतीक ग्रहण गर्ने दिनको रूपमा तोके?  श्रुतिहरूमा उल्लेखित त्यस्ता सन्देश समाजमा सर्वसाधारणले समेत सहज बुझ्न सकिने बनोस् भन्ने नियतमा वैदिक परम्परा अनुरूपको व्यवहार अनुसरण गरेर समाजमा चर्चित बनेका पात्रहरूको जीवनका चर्चित घटनाहरू स्मृति रुपी महान् शास्त्रहरूमा चर्चा गरी समाजमा किन पुर्‍याउनु पर्‍यो भन्ने पक्षको ज्ञान राख्न सक्दा हामीलाई हाम्रा परम्पराहरूको वैज्ञानिक पक्षबारे केही मेसो पाउन सहज हुने छ।

 

 

ऋग्वेदका ऋचाहरूले विष्णुलाई एक परोपकारी देवताको रूपमा वर्णन गर्दछ जसले ब्रह्माण्डमा रहेका सबै चिजलाई तीन समयको चरणमा (तिन पाइलामा) परिभाषित गरे। वामनको विशालरूप लाई त्रि-विक्रम अर्थात् “तीन चरणहरू” भनिन्छ। ऋग्वेदको मन्त्र १.२२ र १.१५४ अनुसार ब्रह्माण्डलाई भूत (काम धातु-चाहना), वर्तमान (सूक्ष्म रूप – रूप धातु) र भविष्य (निराकार संसार – आरुप्य धातु) काल गरी  तीन समय -चरणमा विभक्त गरी त्यही समयको चक्रमा सबैलाई निरन्तर फनफनी घुमाउने योजना अन्तर्गत समावेश गरी सम्पूर्ण ब्रह्माण्डलाई नियमित सञ्चालनमा ल्याउने योजना भगवान् विष्णुको हो।

 

 

ऋग्वेद ऋचा १.१५४, ६.४९, ७.१०० र ८.२९ विष्णुले बनाएको उक्त तीन चरणहरू बारे थप व्याख्याहरू गर्दछ। जस अनुसार विष्णु एक परोपकारी देवता हुन्। उनी सबै प्रकारको दुष्टताको विरुद्ध रचनात्मक कार्यहरू मार्फत सम्पूर्ण प्रकारका उत्पीडित मुक्त गर्न र मानवताको रक्षा गर्न आफ्नो समय व्यतीत गर्ने गर्दछन्।

 

 

नक्षत्र भनेको आकाशमा रहेका ताराहरूको समूह हो। सूर्य र चन्द्रमाको गति अनुसार समयको निर्धारण गरिएको हुन्छ। चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्दा लाग्ने समयका आधारमा नक्षत्रको गणना गरिन्छ। श्रावण महिनाको प्रत्येक पूर्णिमाको दिनमा आकाशको सार्वभौमिकता श्रावण नक्षत्र अन्तर्गत पर्दछ। भगवान् विष्णुको जन्म भएको तारा श्रावण नक्षत्र हो। श्रावण महिनाको (जुलाई १४ देखि अगस्ट १४) समयमा ब्रह्माण्ड पार्वती तत्त्वहरू अर्थात् मनोवैज्ञानिक र आध्यात्मिक सबलता दिने चन्द्रमाको परावर्तित प्रकाशको ऊर्जा वाट सुपर चार्ज भएको हुन्छ। जसले मन, मस्तिष्क, इन्द्रिय, र शरीरलाई शुद्ध गर्न सहयोग गर्दछ।

 

 

गर्मी मौसमको जुलाईको पूर्णिमामा आकाशमा बारम्बारको आँधी आउने गड्याङ्ग-गुडुङ्ग हुने भएकोले नासाले जनै पूर्णिमालाई थन्डर मुन भन्ने गर्दछ। महिनाको एक पटक हुने पूर्णिमाको रात सूर्य, पृथ्वी र चन्द्रमा अदृश्य १८० डिग्रीको रेखामा पङ्क्तिबद्ध भएको हुन्छ। चन्द्रमाले सूर्यलाई परिक्रमा गर्ने अर्बिट र पृथ्वीले सूर्यलाई  परिक्रमा गर्ने अर्बिट बिचमा लगभग ५ डिग्री फरक हुने गर्दछ।

 

 

जसले गर्दा चन्द्रमा घुम्ने अर्बिट सामान्यतया पृथ्वीको छाया भन्दा कहिले अलि माथि त कहिले अलि तल रहने गर्दछ। जसले गर्दा सूर्यको किरणहरूले पृथ्वीको सूर्य तिर परेको भाग उज्यालो बनाउन सम्भव बन्छ। थन्डर मुनको समयमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको बिन्दुमा हुने हुँदा पूर्ण चन्द्रको सुपरमुनको रूपमा उदाउने, अन्य पूर्णिमामा भन्दा सामान्यतया अलि ठुलो र चम्किलो समेत देखिने गर्दछ। यो समयमा पृथ्वीमा चन्द्रमा वाट परावर्तित भएर आउने सुर्यको प्रकाशको किरणको (सोम) इन्टेनसिटि अन्य जुनेली रात भन्दा लगभग ४% ले धेरै हुने गर्दछ।

 

 

सूर्यबाट आउने सेतो लाइट जस्तै चन्द्रमाबाट आउने प्रकाश प्रिज्म बाट पास गर्दा सूर्यको प्रकाश जस्तै सातै वटा किरण त दिन्छ तर अलि इन्फ्रारेडतिर (1 µm to 3 µm ) सरेको भेटिन्छ। सूर्यबाट आउने भन्दा ४ लाख गुना मलिन, इन्फ्रारेड तिर सरेको प्रकाश बिरुवाको वृद्धि र मेटाबोलिजममा आश्चर्यजनक सकारात्मक भूमिका पुराउँछ।

 

 

चन्द्रमाको प्रकाश नपाएका (आधुनिकीकरण मार्फत जडान भएका प्रकाशका कारण निक्खर उज्यालो, अँधेरो भोग्न र चन्द्रमाको प्रकाश पाउन बाट वञ्चित बनेका) बिरुवाको फसलमा  रोगको प्रतिरोधात्मक शक्ति क्षीण हुने, घाउ निको पार्ने शक्ति नहुने, पोषण तत्विनै नहुने र फोटोसेन्थेसीस प्रक्रिया समेत बलियो नहुने गरेको भेटिएको छ।

 

आधुनिक रिसर्चका अनुसार पूर्ण चन्द्रको मन्द प्रकाशमा उम्रने हुर्कने बिरुवा र कन्दमूलले पानी र कार्बनडाईअक्साईड लिई ग्लुकोज बनाउने, ग्लुकोज लाई प्रोटिनमा परिवर्तन गर्ने, ग्लुकोज र प्रोटिन चिल्लोमा परिवर्तन गरी सञ्चय गर्ने आदि सबै गर्छ। सौर्यको प्रकाशमा बढेका सागसब्जीमा पोषण तत्त्वहरू रहने तथा चन्द्रमाको प्रकाश समेत भेटेका र हलक्क बढेका सागसब्जी, फलफूल र कन्दमूलहरूमा एन्टी-अक्सिडेन्ट युक्त फ्लेबोनोइडहरु समेतले भरपुर हुने भेटिएको छ।

 

 

हालै प्राप्त वैज्ञानिक प्रमाणहरूले सङ्केत गरेको छ कि बिरुवामा हुने फ्लेभोनोइड्स भनेर चिनिने यौगिकहरूको समूहले विशेष रूपमा स्तनधारी प्राणीहरूले ग्रहण गर्ने सकारात्मक अनुभूति अभिवृद्धिमा शक्तिशाली भूमिका खेल्दछ। त्यसले मानिसको स्मृति र नयाँ कुरो सिक्ने क्षमता बढाउने तथा उमेरका कारण स्वस्थमा देखिने भौतिक ऊर्जाको क्षतिलाई गिरावट हुन वाट उल्टाउने भूमिका खेल्दछ। वैज्ञानिक प्रमाणहरूको सुझाव अनुरूप त्यस्ता फ्लेभोनोइड्सले अल्जाइमर जस्तो  रोगको विकासमा ढिलाइ गरिदिने हुँदा डिमेन्सिया आदिका बिरामीको फ्लेभोनोइड्स युक्त आहार संलग्न गर्ने रणनीति बनाउन सुझाव दिन्छ।

 

मनोवैज्ञानिक र आध्यात्मिक सबलता दिने, मन, मस्तिष्क, इन्द्रिय, र शरीरलाई शुद्ध गर्न तथा स्वस्थ हिलिङ्ग खानपानको व्यवस्था विष्णुको जिम्मेवारी अन्तर्गत रहने भएकोले समेत उल्लेखित वैज्ञानिक कारणहरू वाट श्रावण नक्षत्रको पहिलो पूर्णिमा रक्षा सूत्रको प्रतीक ग्रहण गर्ने दिनको रूपमा तोकिएको यकिन गर्न सकिन्छ।

 

190Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE

%d bloggers like this: