मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वैदिक विशिष्ट दर्शन !!

नारायण घिमिरे

‘दर्शन’ को शाब्दिक अर्थ आफ्नो नीतिमा हुने प्रष्टता हो। ग्रीक सव्यताले नीतिको बुद्धि सँगको प्रेम अर्थात् बुद्धिमत्ता लाई दर्शन भन्ने गर्दछ। वैदिक अवधारणा अनुरूप हरेक समाजको नेतृत्वले अनिवार्य परिचित रहनु पर्ने आत्म ज्ञान सँग सम्बन्धित तर्क र दर्शनको क्षेत्रलाई आन्वीक्षिकी भन्दछ। वैदिक अवधारणा अनुरूप हरेक राज्यले अवलम्बन गरेको आन्वीक्षिकी  राज्यको संविधानले निश्चय गर्ने विशिष्ट दर्शनको मान्यताले निश्चय गर्दछ।  राज्यको संविधानले निश्चय गर्ने विशिष्ट दर्शन राज्यले अवलम्बन गरेको आधारभूत विचारधाराको सारले निर्दिष्ट  गरिदिन्छ।

प्राथमिक तहमा दर्शन लाई आस्तिक र नास्तिक गरी दुई आधारभूत बिचारधारामा वर्गीकरण गरिएको छ। संस्कृत शब्द आस्तिकको अर्थ विश्वास गर्नेहरू र नास्तिकको अर्थ विश्वास नगर्नेहरू भन्ने हुन्छ। परम्परागत रूपमै हाम्रो समाजमा आस्तिक र नास्तिक वेदको अवधारणाको सन्दर्भमा प्रयोग भएको देखिन्छ। तसर्थ हाम्रो सन्दर्भमा वेदको दर्शनमा विश्वास गर्ने विचारधारा लाई आस्तिक र वेदको दर्शनमा विश्वास नगर्ने बिचार धारालाई नास्तिक भन्ने गरिएको छ।

 

हाम्रो समाजमा आस्तिक दर्शन अन्तर्गत छ प्रकारका विचारधाराहरू तथा नास्तिक दर्शन अन्तर्गत तीन दार्शनिक विचार धाराहरू स्थापित छन्।हरेक तहको आफ्नै धेरै उप-तह रहेको आस्तिक विचारधारा अन्तर्गतमा छ स्थापित विचारधाराहरू तथा तिनीहरूको अवलम्बन गर्ने विषयवस्तुहरू संक्षेपमा निम्न अनुसार छ।

 

१) न्याय (अनुसन्धान विज्ञान):

न्याय अन्तर्गत मुख्यतया विचारधारा निर्माण गर्न प्रस्तुत तर्क मान्य रहेको नरहेको बारे यकिन गर्ने तीन पक्ष संलग्न हुन्छ।

क) प्रमेय अर्थात् तर्क मार्फत विषय बस्तुको ज्ञान प्राप्त गर्ने। जुन १२ प्रकारको हुन्छ।

ख) तर्कको वैधताको स्रोत पहिचान गर्ने। जुन मूलतः चार किसिमको हुने गर्दछन्।

ग) निग्रहस्थान जसले प्रस्तुत गरिएको तर्क माथि संशय अर्थात् शङ्का गर्दै (प्राप्त सूचनाको आधिकारिकता बारे गहिरो अनुसन्धान मार्फत प्राप्त प्रमाणको आधारमा प्रस्तुत तर्कको आधिकारिताको खण्डन गर्ने र मान्य रहेको सन्देह समाप्त गर्दछ) खारेजी गर्दछ।

तर्कको वैधता  यकिन गर्न त्यसलाई १४ वटा पक्षहरूको आधारमा केलाएर मूल्याङ्कन गरिन्छ। प्राप्त मूल्याङ्कनको आधारमा विश्वासिलो आधार उपलब्ध गराउन अक्षम तर्कहरू लाई अप्रमाणित मानी खारेजी गरिन्छ। खारेजीमा नपरेका तर्क सङ्गत  विश्वासिलो विषय बस्तुहरूले नै प्राय: राज्यको नीतिहरूको निर्माणको आधारको रूपमा ग्रहण गर्ने गरिन्छ। यसरी न्याय दर्शनमा प्रमेय, प्रमाण र निग्रहस्थानका १४ विधि गरी जम्मा १६ प्रक्रियाहरू समावेश हुने गर्दछ।

 

जस्तै: प्राप्त सूचना विश्वास योग्य नरहेको बारेको निग्रहस्थान (आधिकारिताको खारेजी गरिनुका मुख्य कारणहरू) निम्न हुन सक्दछन्। नबुझिने वा प्रस्ट नगरिएको (अविज्ञानार्थ), गैर-चतुरता (अप्रतिभ), मौन (अनानुभासन), अत्यन्त थोरै बोल्नु (न्युना), अति धेरै बकबक गर्नु वा बोल्नु (अधिका), अर्थहीन (निरर्थक), अनुपयुक्त (अप्रप्तकाल), असङ्गत (अपार्थक), न्यायको कसी लगाउने निर्णायक लाई मान हानी वा चोट पुर्‍याउने (प्रतिज्ञा हानी) उद्देश्य आदि।

२) वैशेषिक (कणाद) सिद्धान्त:

कणादले व्याख्या गरेको  वैशेषिक विचारधारा परमाणुको संरचनासँग सम्बन्धित छ। कणादले नाङ्गो आँखाले देख्न सक्ने सबैभन्दा सानो कणहरू धुलोका कणहरू हो जसलाई हामीले सूर्यको किरण झ्याल बाट कोठामा प्रवेश गर्दा देख्न सक्दछौ भन्ने मान्यता विकास गरे। वैशेषिक (कणाद) सिद्धान्तमा कणादले  प्रकृतिमा रहेको चिजहरूलाई सात वर्गमा विभाजन गरेर व्याख्या गरे। द्रव्य (substance), गुण (quality), कर्म (activity), सामान्य (generality), विशेष (particularity), समवाय (inherence) र अभाव (Absence )।

 

यो विचारधाराले ईश्वर अर्थात् प्रकृतिको चेतना अस्तित्वमा रहेको मान्दछ। वैशेषिक दर्शनको आधारभूत पक्षहरू निम्नानुसार छ। आत्माको नैतिक र अनैतिक गुणहरू हुन्छन्। आत्माको नैतिक र अनैतिक गुणहरूको आधारमा प्रकृतिको स्मरणले (ईश्वरले) परमाणु-अणुहरूको निर्माण गर्ने गर्दछ। तिनै परमाणु-अणुहरू मार्फत ५ भौतिक र ४ गैर-भौतिक प्रकृतिका ९ द्रव्यहरू निर्माण हुन्छ। निर्माण भएका ९ द्रव्यहरू २४ गुणहरू युक्त बन्दछन्।

 

यसरी निर्मित रहेका ९ द्रव्य र तिनका २४ गुणहरू समावेश भएर हाम्रो वरपर देखिने ब्रह्माण्डको सम्पूर्ण भौतिक परिवेशहरू सिर्जना भएको छ। यसरी सृजित परिवेशहरू भित्र हामी हाम्रा आधारभूत कार्यहरू (जस्तै: माथि उठाउने, तल राख्ने, सङ्कुचन हुने, विस्तार हुने, चलमल गर्ने आदि) सम्पन्न गर्ने गर्दछौ। त्यसै बिच हामी सुख वा पीडा आदिको अनुभव समेत गर्दछौ।

 

यसरी अस्तित्वमा रहेको सांसारिक परिवेशहरू वाट मोक्ष अर्थात् मुक्ति प्राप्त गर्ने एक मात्र उपाय छ। त्यो हो आफूले आफ्नो मनलाई एउटा यस्तो अवस्थामा पुर्‍याउने जहाँ आत्मा नैतिक र अनैतिक दुवै गुणहरू रहित बन्दछ। आत्माले न कुनै नैतिक न कुनै अनैतिक कर्महरू नै गरिरहेको हुन्छ।

३) साङ्ख्य (कपिल) सिद्धान्त:

संस्कृत बाट आएको शब्द ‘साङ्ख्य’ को अर्थ ‘सङ्ख्या’ हो। सङ्ख्याहरूको दर्शन हो। वैदिक मान्यतामा सङ्ख्याको अर्थ अति गहन हुन्छ। हरेक वस्तुको वास्तविक यथार्थ प्रकृति (nature of things) र देखिने स्वरूप वा प्रकृति (the apparent nature) बिच ठुलो खाडल रहने गर्दछ। वस्तु वा पदार्थको प्राकृतिक र आध्यात्मिक पक्ष बिच समेत नितान्त फरक यथार्थ भेटिने गर्दछ। साङ्ख्य सिद्धान्त अन्तर्गत त्यस बारे ज्ञान लिने गरिन्छ। त्यसैले हरेक बस्तुको देखिने पक्ष र यथार्थ पक्ष बिच फरक छुट्टाएर त्यस वारेको चुरो ज्ञान प्राप्त गर्न सहयोग गर्ने प्रणाली साङ्ख्य प्रणाली हो।

साङ्ख्य सिद्धान्तले ब्रह्माण्डका पच्चीस सिद्धान्तहरू प्रतिपादन गरेको छ। ती सिद्धान्तहरूले उल्लेख गरेका विधिहरू र त्यसको वर्णनहरूको ज्ञानको आधारमा हामीले हाम्रो सामु देखिने नदेखिने प्रकृति वारे जानकारी लिन र तिनीहरूको विश्लेषण गर्न सक्दछौ। प्राचीन कालका दार्शनिक कपिलाले व्यवस्थित रूपमा प्रस्तुत गरेका यी सिद्धान्त हरूलाई कपिल सिद्धान्त समेत भनिन्छ।

साङ्ख्य सिद्धान्तको विशिष्टता नै यसको नास्तिक स्वभाव हो। यो सिद्धान्त अन्तर्गत मुख्य तत्त्व प्रकृति र पुरुषलाई मानिन्छ। प्रकृतिको सत्त्व, राजसी र तामसिक गुणहरू हुन्छन्। सारमा पुरुष भनेको प्रकृतिको उत्पत्तिको कारक अर्थात् ब्रह्माण्ड चेतना हो। अव्यक्त ब्रह्माण्ड चेतनाको व्यक्त हुने चाहना नै पुरुष हो। अव्यक्त ब्रह्माण्ड चेतनाको व्यक्त हुने चाहनाले सांसारिक प्राकृतिक कुराहरू अर्थात् प्रकृतिको अस्तित्वको कारण हो। पुरुषलाई तसर्थ प्रकृतिको आत्मा वा सामूहिक समग्र चेतना (ब्रह्माण्ड चेतना) भनिन्छ। पुरुष लाइनै सम्पूर्ण संसारको सार एवं उत्पत्तिको कारण मानिन्छ।

(खाद्य तथा औषधि विज्ञ, क्यानडा।)

2Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: