मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वैदिक समय गणनाको सिद्धान्तको आधारमा चल्ने वैदिक घडी ।

वेद र विज्ञानको दृष्टिमा वैदिक घडी

नारायण घिमिरे

श्रीकृष्ण भगवानको वैदिक शिक्षा दीक्षा पुरा भएको  महर्षि सांदीपनीको आश्रम उज्जैनमा पर्दछ। भगवान् महाकालको सहरको नामले चिनिने भारतको मध्य प्रदेशको सहर उज्जैनमा विश्वको पहिलो ठानिएको वैदिक घडी स्थापना गर्न हालै शिलान्यास भएको छ।

 

उज्जैनमा स्थापना हुने वैदिक घडीले सूर्योदयको आधारमा समयको गणना गर्ने प्रविधि अवलम्बन गर्ने छ। वैदिक कालको घडीले सूर्योदयको आधारमा समयको गणना गर्ने प्रविधिमा काम गर्ने गर्दथ्यो।

 

संस्कृतमा चौबीस मिनेटको समय लाई एक घडी भनिन्छ। अठचालिस मिनेटको समय अर्थात् दुई घडीको एक मुहूर्त हुन्छ। एक दिनमा तिस मुहूर्तहरू हुने गर्छ। शुभ मुहूर्तको अर्थ भने शुभ घडी भन्ने लाग्दछ। जहाँ घडी भनेर मुहूर्तको आधा समय लाई सङ्केत गरेता पनि यसलाई शुभ समयको कामना गर्न प्रयोग गर्ने गरिन्छ।

 

समय सँग सम्बन्धित ब्रह्म मुहूर्त, राहु काल आदि मुहूर्तहरू र अन्य पक्षको गणनाको आधारमा  समयको यकिन गरिन्छ। निकट भविष्यमा यो वैदिक घडी इन्टरनेट र जिपिएसमा जोडिनेछ जसका कारण यसलाई तपाई हामीले जहाँ सुकै प्रयोग गर्न सम्भव हुँदै छ। यो घडीको बारेमा हरेक वैदिक जिज्ञासुहरूले सामान्य ज्ञान राख्न जरुरी छ जसले हामीलाई आफ्नो ज्ञानको चुरो पक्ष बुझाउन र पटक पटक सम्झाई रहन सहयोग पुग्ने छ।

 

प्रकृतिमा हाम्रो लागि उपलब्ध ऊर्जाको श्रोतहरू लाई वैदिक साहित्यमा देवता लेख्ने गरिन्छ। जुन तेत्तिस कोटी अर्थात् तेत्तिस वटा छन्। जसमा १२ आदित्यहरू, ८ बसुहरू, ११ रुद्रहरू,  इन्द्र र प्रजापति पर्दछ।

वैदिक घडीमा बाह्रको स्थानमा आदित्या: लेखिएको छ। जसको अर्थ बाह्र प्रकारका सूर्यको प्रकाश निर्मित शक्ति छन् भनिएको हो। एकको सट्टा ब्रह्म लेखिएको छ। ब्रह्म (आत्मा) एउटै हुनुहुन्छ। दुईको सट्टा अश्विनौ लेखिएको छ। अर्थ अश्विनीकुमार दुई छन्। प्रकाशको किरणलाई गति दिन सहयोगी हुने मनोवैज्ञानिक उपचारको चुरो सार रुपी विद्युतीय र चुम्बकीय शक्ति – नासत्य र द्रष्टा।

 

तीनको स्थानमा त्रिगुणा: लेखिएको छ। तिन गुण अर्थात् सत गुण, रज गुण र तम गुण। तम गुणले स्थिरता, रज गुणले तरलता र सत गुणको वायुको गुण अर्थात् ठोस, तरल र वाष्प अवस्थाका तीन गुणहरू बताउने गर्दछ। चारको स्थानमा चतुर्वेदा: लेखिएको छ। चार प्रकारका वेद ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद।

 

पाँचको सट्टा पञ्चप्राणा: लेखिएको छ। पञ्चप्राणा: पाँच प्रकारका प्राणहरू मूलतः प्राण, अपान, समान, उडान र व्यान वायुको कुरा गर्दछ।

 

हाम्रो शरीरमा दश प्रकारको वायु भेटिन्छ जसमा पाँच मुख्य छन्। मुख्य  पाँच वायुलाई महाप्राण र महाप्राणको भूमिका लाई सहज गर्ने भूमिकामा रहेको थप पाँच वायुलाई लघु प्राण भनिन्छ। प्राण वायुको काम श्वासप्रश्वासको गति दिनु हो। अपान वायुको काम पचेको मल उत्सर्जन गर्नु हो। समान वायुले शरीरमा आर्द्रता (जल वाष्प) र रस निर्माण गर्दछ। उडान वायुले शरीरको स्व-हिलिङ्ग प्रक्रियामा जरुरी हुने औषधीय तत्त्व उपचारको जरुरत रहेको स्थान सम्म पुर्‍याउनु हो। व्यान वायुको काम शरीरको झोलिलो पदार्थ वाट विषाक्त निकाली तिनीहरूको शुद्धीकरण गर्नु हो।

 

कारकाल वायुको काम खाना पचाउनु हो। ग्यास्ट्रिक ऊर्जा समेत हो। कूर्मवायुले आँखाको परेला खुल्ने र बन्द हुने प्रक्रिया सम्पन्न गर्दछ। नागवायुको कारण हामीलाई डकार आउँछ। आपत् कालमा हावा वा खाना कुबाटो (बान्ता, डकार) वाट फाल्नु नागवायुको काम हो। देवदत्तवायुले स्तनमा दूध उत्पादन गर्ने प्रक्रियामा सहयोग गर्दछ। धनञ्जय वायुले मृत्यु पश्चात् शरीर फुलाउने कार्य गर्दछ।

 

छको स्थानमा षड्रसा: लेखिएको छ। जसले छ प्रकारको स्वाद गुलियो, अमिलो, नुनिलो, तितो, पिरो र टर्रो स्वाद रसको कुरा गर्दछ। सातको स्थानमा सप्तर्षयः लेखिएको छ। सप्तर्षयः को अर्थ सात ऋषिहरू अर्थात् सप्त ऋषिहरू कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वसिष्ठ लाई जनाउने गर्दछ।

 

आठको स्थानमा अष्टसिद्धि लेखिएको छ। मानिसले प्राप्त गर्न सक्ने आठ प्रकारका सिद्धिहरू अणिमा, लाधिमा, महिमा, प्राप्ति, प्राकाम्य, वशित्व,  ईशित्व र यथाकामा बसायिता: (गरिमा) पर्दछ।

 

अणिमा भनेको अणु जस्तै सानो वा अदृश्य रहने क्षमता हो। जस्तै: मानव अस्तित्व बुझ्ने र त्यही अनुरूप व्यवहार गर्ने क्षमता। महिमाको अर्थ अद्भुत क्षमता। जस्तै: पहाड जस्तै विशाल रहेको जीवनको उद्देश्य।

 

लाधिमाको अर्थ कपासभन्दा पनि हलुङ्गो क्षमता हो। जस्तै: तुरुन्तै बिलाउने इच्छा चाहना आदि। प्राप्तिको अर्थ कुनै पनि वस्तु वा विषय पाउनु। जस्तै: चाहेको र पाउन प्रयास गरेको कुरा मिल्नु।

 

प्रकाम्य भनेको आफ्नो इच्छा शक्ति वाट आफू मुक्त हुन सक्ने क्षमता हो। जस्तै: धनी कायम रहने इच्छा हुँदा हुँदै दीन गरिबको कल्याणमा धन वा समय खर्चिने बानी। बशित्वको मतलब सबै जीवलाई आफ्नो बसमा लिने सक्नु वा बसीभूत गर्नु । जस्तै: घरमा खुसी सँग बस्ने मयुर।

 

इशित्वको मतलब सम्पूर्ण रूपमा भौतिक पदार्थमा अधिकार प्राप्त गर्नु। जस्तै: घर-जग्गाको लालपुर्जा आफ्नो नाममा गर्नु। त्यस्तै यथाकामा बसायिता: अर्थात् गरिमाले आफ्नो सम्पूर्ण सङ्कल्पको सिद्धि हुनु लाई जनाउने गर्दछ। जस्तै: विद्यावारिधि गरी साधु हुने मनको इच्छाको  प्राप्ति।

 

नौ को सट्टा नवद्रव्याणी लेखिएको छ। नवद्रव्याणीले निधि अर्थात् नौ प्रकारको धन जनाउने गर्दछ। नौ निधि अन्तर्गत पर्ने खजाना वा धनहरूमा पाण्डुका (गाँस: चामल र मकै, अन्न), नैसर्पा (वास: घरहरू, आवास),  महापद्म (कपास वा वस्त्रहरू), काल (समय तथा उमेर र जवानी), महाकाल (धातु र बहुमूल्य पत्थर लगायतका चिजहरूको खजाना वा खानी), सर्व रत्न (रत्नहरू), पिंगलाका (आभूषण), मानवक (हतियार तथा युद्ध सामग्री) र सङ्ख्य (काव्य, नाटक, सङ्गीत) आदि लाई जनाउने गर्दछ।

 

दशलाई दशदिश: लेखिएको छ। दशदिश: दश दिशाको बारेमा सङ्केत गर्दछ। जसमा पूर्व, पश्चिम, उत्तर, दक्षिण, उत्तर पूर्व, उत्तर पश्चिम, दक्षिण पूर्व, दक्षिण पश्चिम, माथि, तल पर्दछ।

 

एघारको स्थानमा रुद्र लेखिएको छ। रुद्र ११ प्रकारका छन्। जीवित तथा निर्जीव सबै पदार्थहरूको संरचनाको क्वान्टम रूप कम्पनको अवस्थामा रहेर नियमित गतिशीलतामा रहने गर्दछ। यसरी कहिल्यै नरोकिने सजीव कम्पनको रुपलाइन रुद्र-रूप भन्ने गरिन्छ।

 

नियमित कम्पनमा रहने पदार्थको क्वान्टम संरचनाले लिने प्राकृतिक रुद्ररूपको प्रकृतिको कुनै सीमित रूपमा कैद गर्न सम्भव रहँदैन। शास्त्रले बुझ्न, बुझाउन सहज होस् भन्नाका खातिर सामान्य रूपमा एघार प्रकारको कम्पनको प्रोटोटाइपको परिकल्पना गरी एघार रुद्रको नामकरण गरेको छ।

 

हरेक पदार्थहरूको संरचनामा रहेको फरक फरक अणुहरूको फरक फरक कम्पन रहने हुँदा तिनीहरूले समग्रतामा पैदा गर्ने कम्पनको प्रभाव लाई भगवान् शिव भन्ने गरिन्छ। यसैलाई शास्त्रमा एघार रुद्रहरूको सृष्टिकर्ता शिव भन्दै शिवलाई समेत रुद्रकै नाम दिने गरिएको हो।

 

सम्पूर्ण सृष्टिको श्रोतको रूपमा मानिएको सूर्यको सेतो प्रकाशको निर्मित हुने परमाणुको प्रोटोटाइप गरिएको एघार प्रकृतिको अविरल कम्पनलाई कपाली, पिङ्गल, भीम, विरूपाक्ष, विलोहित, अजेश (अजपाद), साशन, शास्ता, शम्भु, चण्ड र ध्रुवा (भव) नामको रुद्र भनी नामकरण दिइएको छ। सूर्य सिद्धान्तका अनुसार हरेक प्रकृतिको रुद्रको कम्पन हाम्रो शरीरका वैदिक अवधारणाका एघार प्रणालीहरूको सञ्चालनमा भूमिका खेल्ने गर्दछ।

 

मध्य प्रदेशको राज्य सरकारले उज्जैनको पुरानो वैभवलाई पुनर्स्थापना गर्ने नियतले वैदिक घडी स्थापना गर्ने कार्यलाई आफ्नो मेघा-प्रोजेक्टको रूपमा लिएर १ करोड ६२ लाख भारतीय रुपैयाँ विनियोजन गरेको घोषणा गरेको छ।

 

वैदिक समय गणनाको सिद्धान्तको आधारमा प्रस्तावित वैदिक घडी सञ्चालन हुने छ। संसारभरका मानिस हरूले आफ्नो स्मार्टफोन, कम्प्युटर, टिभी र अन्य इलेकट्रोनिक ग्याजेटहरू मार्फत वैदिक घडी सजिलै वास्तविक समयमा हेर्न सक्नेछन्। वैदिक घडीको पृष्ठभूमिमा ज्योतिर्लिङ्ग, नवग्रह आदि देखाइने गरी यसको प्रोटोटाइप तैयार भएको छ।

 

विश्वका विभिन्न देशहरू र स्थानहरूमा हुने फरक फरक सूर्योदय र सूर्यास्तले हुने समयको परिवर्तन लाई त्यही देशको समय अनुरूप एकरूपता हुने गरी यसको प्रयोग हुने स्थान अनुरूप यसको अनलाइन र एपमा समय देखिने व्यवस्था हुने छ।

 

संसारभरका वैदिक समुदायलाई आफू रहेको स्थान अनुरूप वैदिक पद्धतिका ​​ग्रह स्थिति, योग, भाद्र स्थिति, चन्द्र स्थिति, चाडपर्व, शुभ समय, नक्षत्र, जन्मोत्सव, व्रत, पर्व, चोघडिया, सूर्य ग्रहण, चन्द्र ग्रहण, आकाशीय ग्रहहरू, नक्षत्रहरू र धूम केतुहरू आदिको विक्रम पञ्चाङ्ग र विक्रम संवत् महिना अनुकूल जानकारी लिन वैदिक घडीको समय अत्यन्त उपयोगी बन्ने छ।

(खाद्य तथा औषधि विज्ञ, टोरन्टो, क्यानडा।)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE