मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपालमा गाँजा बहस – भ्रम र यथार्थता !!

गाँजा बहस 1.0

भ्रम वा पूर्ण सत्य नरहेको अबधारणा: गाँजा विकास र समृद्धि ल्याउने चिज नभई समाजलाई अधोगतितिर लाने वस्तु भएको ठहरसहित यसको खुला प्रयोगमा नेपाल सरकारले प्रतिबन्ध लगाएको।

 

यथार्थता: नेपाली गाँजाको रैथाने प्रजाति सेटिभा र इन्डिका उच्च गुणस्तरको हुने हुँदा उच्च गुणस्तरको चरेसका लागि नेपाल संसारका गाँजाका पारखी बीच प्रख्यात थियो। नेपालको गाँजा संसारकै उत्तम मध्ये पर्ने र यसको कपडा र निर्माण सामग्री वातावरण प्रदूषण नगर्ने र गुणस्तरीय हुने हुँदा राम्रो आयको राम्रो  श्रोत हुँदाहुँदै अमेरिकी सरकारको तीव्र दबाबका कारण नेपालले संयुक्त राष्ट्र सङ्घको ‘सिङ्गल कन्भेन्सन अन नार्कोटिक ड्रग, १९६१’ मा हस्ताक्षर गराएर ‘लागु औषध नियन्त्रण ऐन, २०३३’ जारी गरी प्रतिबन्ध गरिएको हो।

राष्ट्र सङ्घको ‘नार्कोटिक्स कन्ट्रोल बोर्ड’ ले गाँजालाई हेरोइनजस्तै उच्च जोखिमपूर्ण लागु औषधको दर्जामा राखेकोले नेपालको ‘लागु औषध नियन्त्रण ऐन, २०३३ ले पनि सोही मान्यता हुबहु मानिदिएकाले यो प्रतिबन्ध भएको हो। रक्सी र चुरोट भन्दा धेरै कम हानिकारक हुने हुँदा हुँदै पनि गाँजालाई त्यति बेला नेपालले प्रतिबन्ध लगायो।

प्रतिबन्धको लगतै अघोषित रूपमा दरबारले स्वतः सेयर र मुनाफा पाउने आन्तरिक व्यवस्था गरी विदेशी स्प्रिटमा आधारित रक्सीको एकाधिकार लिन नेपाली फलफूल तथा मौवा बाट बन्ने रक्सी र घरेलु रक्सी कारखाना बन्द गरी रक्सीका उद्योगहरुलाई बढवा दिइयो।

साथै दरबारको प्रत्यक्ष र अप्रक्ष मुनाफा पाउने आन्तरिक व्यवस्था गरी मुलत विदेशी सुर्तीमा आधारित  सुर्ती, चुरोट कारखानाको ठुलो रूपमा उत्पादन हुने गरी समेत बजार एकाधिकार हुने व्यवस्था गरियो।

गाँजा बहस 2.0

भ्रम वा पूर्ण सत्य नरहेको अबधारणा: गाँजाले हाम्रो शरीरलाई अल्पकालीन र दीर्घकालीन असर पु-याउँछ। अल्पकालीन असरअन्तर्गत जब मासिनले गाँजा प्रयोग गर्छ, तब त्यसमा हुने रसायन ‘टेट्राहाइड्रोक्यानाबिनोल’ तुरुन्तै फोक्सोमार्फत रगतमा मिसिन्छ। अनि रगतले यो रसायन तत्व दिमाग र शरीरका विभिन्न भागमा पु-याउँछ। गाँजा खाएको वा पिएको आधा वा एक घण्टापछि शरीरमा यो रसायन तत्वले असर देखाउन थाल्छ।

 

यथार्थता: गाँजाका हुने विभिन्न केमिकलको हाम्रो शरीरमा परस्पर विरोधी भूमिका हुने गर्छ । त्यो परस्पर बिरोधि भूमिकाको उपयोग गरेर यसलाई निकै गम्भीर रोग को ओखति बनाउन सकिएको हो। उदाहरणका लागि गाँजा सेवन गर्दा यसमा हुने सीबीडीले भोक घटाउन सघाउँछ भने टीएचसीले भोक जगाउँछ। यसलाई ओखतीका रुपमा प्रयोग गर्दा दुब्लाउनुपर्ने भए सीबिडी हालेर अनि मोटाउनुपर्ने भए टीएचसी राखेर सप्लिमेन्ट बनाउने गरिन्छ ।

आयुर्वेदका अनुसार गाँजा शरीरको दर्दनाशक अचुक उपाय हो । मानिसमा पाचन गडबडी र झाडापखाला ठीक पार्ने, डिप्रेसन, छारेरोग लगायत धेरै मनोवैज्ञानिक रोगको निदानमा यसले ओखतीको काम गर्छ । गाँजा सेवनले पुरुषमा शुक्रकिट बढाउने, बाँझोपनपीडित महिलामा गर्भधारण र महिला–पुरुष दुवैको सहवासको क्षमता वृद्धि गर्ने, तौल र रक्तचाप घटाउने, दिमागमा आनन्द दिने आदि अब्बल गुणका कारण कम्तीमा ८० वटा प्राचीन आयुर्वेदिक औषधीको सूत्रमा गाँजा अटाएको छ । कुनै समय सिंहदरबार वैद्यखानाले गाँजा प्रयोग गरेर १० प्रकारका औषधी बनाउने गरेको तथ्य समेत भेटिएको छ ।

गाँजामा दिमागको चेतनालाई परिवर्तन गर्ने खुबी रहेको मुख्य नशालु साइकोएक्टिभ केमिकल ‘डेल्टा–९ टेट्रा–हाइड्रो–क्याना–बिनोल’ हो । त्यसलाई छोटकरीमा ‘टीएचसी’ भन्ने गरिएको छ । गाँजामा अर्को महत्त्वपूर्ण केमिकल सीबीडी पनि पाइन्छ । सीबीडी नशालु र साइकोएक्टिभ प्रकृतिको केमिकल होइन । गाँजाले मानिसको दिमागलाई एकातर्र्फ छोटो समयका लागि लठ्ठाइदिने र अर्कोतर्फ अल्मेन्जर जस्ता रोगमा दिमागका तन्तुहरु छियाछिया हुदै सानोसानो हुदै जाने क्रमलाई रोकी दिमागको संरक्षण गरेको भेटिएपछि संसारको ध्यान गाँजातर्फ मोडिएको हो ।

गाँजा बहस 3.0

भ्रम वा पूर्ण सत्य नरहेको अबधारणा: दिमागमा हुने सेरेबेलम र बेसल ग्याङग्लियाले शरीर सञ्चालन गर्न र सन्तुलनमा राख्न मद्दत गर्छन्। तर गाँजामा भएको रसायनका कारण व्यक्ति चल्न र आफूलाई सन्तुलनमा राख्न असमर्थ हुने हुँदा गाडी चलाउनेहरू यसको प्रयोगले असुरक्षित हुन्छन्। गाँजाको बढी मात्रा प्रयोगले मानिस मतिभ्रष्ट हुनाका साथै उसमा नैराश्य, तनाव, चिन्ता र प्यानिक डिसअर्डरजस्ता लक्षण देखापर्छन्। गाँजाले विशेष गरेर केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्ने भए पनि यसले शारीरिक प्रणालीमा पनि असर पु¥याउँछ।

यथार्थता: दिमागसँग जोडिएर शरीरभरि फैलिएको मानिसको स्नायु प्रणालीमा शरीरको आन्तरिक वातावरणलाई स्वस्थ र सन्तुलित राख्ने क्यानाबिनोइड सिस्टम हुने गर्छ । त्यसलाई समग्रमा इन्डो–क्यानाबिनोइड सिस्टम (ईडीसी) भनिन्छ । इडीसीको काम मुड, स्मरणशक्ति, फिजियोलोजी, प्राप्त दर्दको चेतना, भोक र समग्र स्वास्थ्यको व्यवस्थापन गर्नु हो ।

ईडीसीमा क्यानाबिनोइड (सीबी)–१ र क्यानाबिनोइड–२ नामक दुई रिसेप्टर भेटिएका छन् । सीबी–१ दिमाग, स्नायु प्रणाली, फोक्सो, कलेजो र मिर्गौलामा भेटिन्छ । सीबी–२ भने प्रतिरक्षा प्रणाली, पित्तथैली र आन्द्रामा छ्याप्छ्याप्ती पाइन्छन् । दर्द घटाउने, वाकवाकी नियन्त्रण गर्ने, डिप्रेसन लगायतका दिमागसँग सम्बन्धित विकृति देखिँदा शरीर आफैँले एनान्डामाइड नामक ब्रेन केमिकल बनाएर सीबी–१ रिसेप्टरमार्फत उपचार गर्छ । त्यसलाई शरीरको सेल्फ हिलिङ प्रक्रिया भनिन्छ । गाँजामा पाइने टीएचसीको बनावट एनान्डामाइडसँग मिल्ने हुँदा टीएचसीले सीबी–१ रिसेप्टरलाई सक्रिय पारी एनान्डामाइडकै काम गरिदिन्छ ।

अति भोक लाग्ने, भतभत पोल्ने, सुन्निने, मर्किने, दुख्ने र रोगसँग जुध्ने प्रतिरोधात्मक शक्ति कमजोर हँुदा शरीरले आफैँ २–एजी नामक प्रोटिन उत्पादन गरी सीबी–२ रिसेप्टर सक्रिय पारी सेल्फ हिलिङ प्रक्रिया पूरा गर्छ। गाँजामा पाइने सीबीडीले सीबी–२ रिसेप्टरलाई सक्रिय पारी २–एजीको काम गरिदिन्छ ।

शारीरिक गतिविधि न्युरोट्रान्समिटर अथवा रासायनिक म्यासेन्जरको सहयोगमा सञ्चालन र नियन्त्रण हुने गर्छ । मुख्यतः दिमाग र आन्द्रामा बन्ने रासायनिक म्यासेन्जर सेरोटोनिन मानिसको मुड, वाकवाकी, भोक, हड्डीको स्वास्थ्य, निद्रा, इमोसन, क्रिडाकार्य आदि गतिविधि सञ्चालन र नियन्त्रणमा जिम्मेवार हुन्छ । सेरोटोनिनको न्युरोनमा केनाबिनोइड रिसेप्टर पाइन्छ । हामीले खाने चिज, रातो मासु र नटमा पाइने एमिनोएसिड त्रिप्टोफानलाई शरीरले त्रिप्टोफान हाइड्रोअक्सिलेजको सहयोगमा सेरोटोनिनमा परिवर्तन गर्छ ।

सेरोटोनिन न्युरोनको केनाबिनोइड रिसेप्टरमा सेरोटोनिनको कमी हुँदा मानिसमा एन्जाइटी, डिप्रेसन र मुड डिस्अर्डर आदि विकृतिको विकास हुन्छ । त्यसले हाम्रो दैनिकको मुड र इमोसनलाई प्रत्यक्ष नियन्त्रण गर्छ । गाँजामा पाइने केमिकल सीबीडी जब केनाबिनोइड रिसेप्टरमा पुग्छ, त्यसले त्रिप्टोफानकै तरिकाबाट सेरोटोनिन केमिकल पैदा गरिदिन्छ । त्यसैले एन्टी–एन्जाइटी, एन्टी–डिप्रेसन र एन्टी–मुड डिस्अर्डरको ओखती बनाउँदा गाँजाको केमिकल सीबीडी प्रयोग हुने गर्छ ।

सेरोटोनिनजस्तै डोपामिन नामक अर्को महत्त्वपूर्ण ब्रेन केमिकलले खाना खाँदा, नशालु पदार्थ लिँदा, सम्भोग गर्दा, जुवा खेल्दा, हितैषीसँग भेट्दा, टाँसिदा वा भलाकुसारी गर्दा लगायत प्रिय गतिविधिमा संलग्न भइरहँदा आनन्दित, पुरस्कृत, रोमाञ्चित, आत्मविभोर र धन्य महसुस गराउँछ । हाम्रो शरीरले दिमाग, आन्द्रा, मिर्गौला, एड्रिनल ग्लान्ड आदि भागमा रहेका रिसेप्टरमा उत्पादन गर्ने ब्रेन केमिकल डोपामिनले प्रत्येक पलपलमा धन्य र आनन्दित अनुभूति दिलाउँछ ।

गाँजा बहस 4.0

भ्रम वा पूर्ण सत्य नरहेको अबधारणा: यो रसायन तत्व दिमागको कोषको रिसेप्टरमा पुग्छ। र, जब त्यसले दिमागको कोषमा अधिक प्रभाव पार्न थाल्छ, तब प्रयोगकर्ताले आफू उडेको वा खुसी भएको अनुभूति गर्न थाल्छ। उसले रङहरू पनि अलि चहकिलो देख्न थाल्छ, साथै समय, सोच परिवर्तन भएको महसुस गर्न थाल्छ। शरीर चलाउन नसकेको, सोच्न र समस्या समाधान गर्न समस्या हुने तथा सम्झना शक्ति बिग्रिएको अवस्थामा ऊ पुग्छ। गाँजाको मात्रा बढी भएमा ऊ दिग्भ्रमित हुन्छ। दैनिक रूपमा गाँजा खाएको खण्डमा साइकोसिस पनि हुन सक्छ। गाँजाले हाम्रो शरीरको विशेष गरेर केन्द्रीय स्नायु प्रणालीमा असर गर्छ। माथि उल्लेख गरिएझैं गाँजाले दिमागको कोषको रिसेप्टरलाई अधिक सक्रिय गराउने हुँदा क्षणिक रूपमा शारीरिक कष्ट हटाई सुखको अनुभूति गराए पनि यसले केन्द्रीय स्नायु प्रणालीमा हानि पु¥याउँछ। गाँजामा हुने टेट्राहाइड्रोक्यानाबोनिल रसायनले दिमागमा धेरै डोपामाइन निकालेर व्यक्तिलाई क्षणिक आनन्दको महसुस गराउँछ। तर दिमागको हिमोक्याम्पस भन्ने भागमा गाँजामा हुने रसायनले असर गरेर व्यक्तिको विवेक गुम्न जान्छ। हिमोक्याम्पसले विशेषगरी सम्झने काम गर्छ, तर गाँजाको रसायनको असरले व्यक्तिले नयाँ सूचना वा नयाँ सम्झना गर्न कठिन भएको अनुभूति गराउँछ।

यथार्थता: डोपामिन न्युरोनमा केनाबिनोइड रिसेप्टर हुँदैनन् । तर, जीएबीए न्युरोनमा भने जीएबीएका साथै केनाबिनोइड रिसेप्टरसमेत हुन्छन्। जब मानिसले गाँजा सेवन गर्छ, तब गाँजाको केमिकल टीएचसीले जीएबीए न्युरोनको जीएबिए रिसेप्टरलाई छोटो अवधिका लागि निष्क्रिय पारिदिन्छ । शरीरले आन्तरिक रुपमा डोपामिन बनाउने कार्य सुचारु हुँदै जाँदा अलि धेरै नै गाँजा खाइएको अवस्थामा मानिस पूर्ण रुपमा झ्याप हुन पुग्छ ।

गाँजामा पाइने केमिकल टीएचसीले डोपामिन न्युरोनलाई अप्रत्यक्ष रुपमा उत्तेजित पारी शरीरमा इ–डोपा वा डोपामिन पैदा गराएर मानिसलाई आनन्दित र साइकोएक्टिभ बनाउने भए तापनि यसमा हुने सीबीडीले भने डोपामिन न्युरोनलाई उत्तेजित गरी डोपामिन पैदा गराउन कुनै भूमिका खेल्न सक्दैन । त्यसैले गाँजाको केमिकल टीएचसी मात्र मानिसमा अल्पकालीन चेतना र स्मरण इम्पेयरमेन्ट गर्ने साइकोएक्टिभ अम्मलका रुपमा प्रयोजनमा आउने गर्छ।

भटमास, चिज, नट, सिड, मासु, अन्डा, दूध, गेडागुडी आदिमा पाइने फिनाइल–एलानिन नामक एमिनोएसिडले हाम्रो शरीरको फिनाइलएलानिन हाइड्रोकसिलेज एन्जाइमको सहयोगमा टाइरोसिन, ए–डोपा हुँदै डोपामिन बनाउँछ । शरीरले आफूलाई चाहिने डोपामिन आफैँ बनाएर आन्तरिक रुपमा उपलब्ध गराउँछ । आफ्ना लागि आफैँले डोपामिन बनाउँदै गर्दा निकै धेरै डोपामिन उत्पादन हुँदा साइकोएक्टिभ नशालुपनको विकास हुने जोखिम पनि रहन्छ। उक्त जोखिम रोक्ने प्रयोजनका लागि शरीर आफैँले आवश्यकताभन्दा ज्यादा डोपामिन बन्न नदिन जीएबीए न्युरोनको सहयोग लिने गर्छ। जीएबीए न्युरोनले थप डोपामिन बन्ने प्रक्रियामा तत्काल हस्तक्षेप गरिदिन्छ ।

गाँजा बहस 5.0

भ्रम वा पूर्ण सत्य नरहेको अबधारणा: अहिले केही व्यक्तिले गाजा बाट धेरै मुनाफा हुने, गाँजाले विकास र समृद्धि ल्याउँछ भनेर भ्रम छरिरहेका छन्।धेरै मुनाफा हुन्छ भनी किड्नी बेच्ने ? देह ब्यपार गर्ने? भोलि त्यो प्रस्ताव नआउला भन्ने भएन। तसर्थ त्यस्तो भ्रम चिर्न हामी अत्यन्त चनाखो हुनुपर्ने बेला आएको छ।

 यथार्थता: हाल नेपालमा मुख्यतः दुई  मूल उद्देश्यले र दुई सहायक उद्देश्यले गाँजालाई वैध बनाउन अनुरोध गरिएको हो । मूल उद्देश्यमा पहिलो, गाँजाको बिक्रीमा भइरहेको आपराधिक संलग्नतालाई पुरै बन्द गर्ने । दोस्रो, किशोर किशोरीमा यसको उपलब्धता वा पहुँच घटाएर शून्य प्रायः बनाउने । अर्थात औषधिको प्रयोजनबाहेक मनोरञ्जन वा नसाका रूपमा युवा अवस्थाका किशोर किशोरीहरूको उपलब्धता वा पहुँच पूर्ण नियन्त्रण गर्ने।

दुई सहायक उद्देश्यमा पहिलो यसको नतिजामा समाजमा विकृति हटाउँदै कानुनी रूपमा नियन्त्रित कारोबार स्थापना मार्फत तस्करी वा कालो बजारियाको हात बाट व्यवसाय कानुनी दायरामा ल्याउने। र दोस्रो स्थानीयतामा गाँजाको खेती तथा प्रशोधन लगायतका गतिविधि चल्नुका कारणबाट ठुलो धनराशि कमाउने अवसरको समेत सदुपयोग गर्ने।

यो बाहेक यसका अरू फाइदाहरू छन्। जस्तै मुलुकलाई हर्बल र आयुर्वेदिक औषधि उत्पादनको केन्द्र बनाउन सकिने, परम्परागत रैथाने आयुर्वेदिक कुशलता लाई पुनारुथान गर्न सकिने र सामाजिक मान्यता लाई समय अनुकूल वैज्ञानिक बनाउँदै लान सहज तुल्याउने।

गाँजाका लगभग ४८० सारतत्त्वहरू संसारमै महँगो मानिने मेडिकल, यौनबर्द्धक, शक्तिबर्द्धक र मनोरञ्जनदायक पदार्थ उत्पादनमा खपत हुने गर्छन् । त्यसो भन्दैमा, गाँजा खेती र प्रशोधन गर्न पाउँदैमा नेपालले उच्चस्तरीय गाँजाको उत्पादनले दिनसक्ने विशाल फाइदा उठाउँछ भन्ने छैन । के चाहिँ हो भने, गाँजा खेती र प्रशोधन गर्न कानुनी स्वीकृति दिए संसारमा उत्पादन भएमध्ये यहाँको गाँजाको प्राविधिक र आर्थिक हैसियत अनुसारको लाभ नेपालले लिन सक्नेछ । गाँजाको कोपिला, पात, डाँठ, जरा र चोप तथा तिनको एक्सट्रेक, चूर्ण, लोक्ता, सिठा तथा तरल र ठोस उत्पादन बेच्न, कलमी गरेका वा हाइब्रिड बिरुवा र बीउ आदि बेच्न सक्नेछ ।

गाँजा बहस 6.0

भ्रम वा पूर्ण सत्य नरहेको अबधारणा: गाँजा प्रयोगले शरीरमा दीर्घकालीन असर पनि देखिन थाल्छ। विशेषगरी युवा÷किशोर अवस्थामा गाँजाको धेरै प्रयोग गर्ने गरेको पाइन्छ। युवावस्थादेखि गाँजा प्रयोग गर्ने मानिसमा सोच्ने शक्ति ह्रास हुने र सिक्ने प्रक्रिया तथा अन्य क्रियाकलापमा पनि असर पुग्नेजस्ता समस्या देखिन्छन्। युवावस्थामा गाँजा प्रयोग गरेका व्यक्तिले पछि यो बानी छाडे पनि उसको मानसिक क्षमता पहिलेजस्तै अवस्था फर्किन सक्दैन। यसको उदाहरण हाम्रा सहर वा गाउँमा पाइन्छ। ती युवा, जसले पहिले गाँजा प्रयोग गरे र पछि छाडे, उनीहरूले पछि चाहेर पनि पढ्न नकसेको र सामान्य जीवनयापन गर्न बाध्य भएको देखिन्छ। आमाबुबाले जतिसुकै राम्रा शिक्षककहाँ वा विद्यालयमा पठाए पनि त्यस्ता युवाले अध्ययन गर्न नसकेको थुप्रै उदाहरण भेटिन्छन्।

यथार्थता: संसारभर गरिएका अनुसन्धानको नतिजा र यस क्षेत्रका विज्ञ हरुको अनुभवमा गाँजा प्रतिबन्ध भएका कारण युवाहरूको हात हातमा कलिलै उमेरमा गाँजा पुग्ने गरेको यथार्थता बाहिरियो। उक्त अवस्थामा तस्करहरूमा कालो बजारी बाट आउने धेरै नाफाको लोभले यो अवस्थाले भयावह नतिजा निम्ताएको बुझियो। त्यसैले गाँजाको बिक्रीमा भइरहेको आपराधिक संलग्नतालाई पुरै बन्द गर्ने र किशोर किशोरीमा युवा अवस्थामा यसको उपलब्धता वा पहुँच घटाएर शून्य प्रायः बनाउन गाँजाको गैर अपराधीकरण बिना सम्भव छैन भनी संसारभर यो अभियान सफल बनेको हो।

जुन–जुन मुलुकले नाबालिगहरूका हातमा गाँजा तथा यसका उत्पादन पुग्न नदिने, तस्करका हातबाट कानुनी संयन्त्र हुँदै बजार पुर्‍याउने र नियन्त्रणका लागि प्रहरी, प्रशासन, अदालत, जेल परिचालन तथा सामाजिक पुनरुत्थानमा खेर गइरहेको अथाह धनराशि घटाउने नियतमा गाँजालाई गैरअपराधीकरण गरे, तिनको योजना सफल मात्र बनेन, मुलुककै आर्थिक समृद्धिमा उच्च योगदान हुन सक्यो । अहिले संसारभर ३.८ प्रतिशतभन्दा धेरैले, प्रतिबन्ध गरियोस् कि नगरियोस् भन्ने कुराको पूरै बेवास्ता गर्दै, गाँजाको नियमित वा पर्व र भेटघाटहरूमा सेवन गर्ने गरेको संयुक्त राष्ट्रसङ्गको तथ्याङ्क छ ।

झन् धर्म–संस्कृतिसँगै गाँजा सेवन जोडिएका नेपालजस्ता मुलुकमा जीवनमा कम्तीमा एक पटक यसलाई उपभोग गर्ने मानिसहरूको संख्या उल्लेख्य हुनु अचम्मको विषय रहेन । यही कारण नेपालमा गाँजा नियन्त्रणमा अथाह धनराशि खर्च हुने, गाँजाको कारोबारकै कारण प्रहरी र स्थानीय नेताहरू भ्रष्ट बन्ने तथा केवल व्यक्तिगत इबी साध्ने नियतले प्रहरी–प्रशासनले कसैलाई कानुनी रूपमा निषेधित लागूपदार्थ सेवन गरेको कसुरमा फसाएर अवस्था रहिरहेको छ । त्यसैले नेपालमा अभियन्ताहरू गाँजाखेती र प्रशोधनलाई गैरअपराधीकरण गर्न माग गरिरहेका हुन। बास्तबमा नेपालमा तुरुन्तै  गाँजालाई गैरअपराधीकरण नगर्नु नेपालको गम्भीर भूल हुनेछ ।

   

गाँजा बहस 7.0 

भ्रम वा पूर्ण सत्य नरहेको अबधारणा: गाँजा तान्नेहरूमा गाँजाको धुँवामा रहेका विषाक्त रसायन अमोनिया र हाइड्रोजन साइनाइडले श्वास नली र फोक्सोमा अवरोध गर्न थाल्छन्। लगातार गाँजा पिउनेहरूको फोक्सोबाट खराब आवाज आउने, खोकी लाग्ने र बढी खकार आउने गर्छ, जसका कारण उसको  फोक्सोमा ब्रोङकाइटिस र अरू संक्रमण हुन सक्छन्।

यथार्थता: नेपालमा गाँजा परम्परागत रुपमा चुरोटजस्तो सल्काएर धुँवाको सर्को लिने प्रचलन छ । तर, हाल यो इ–भ्यापका रुपमा, बिस्कुट, कुकिज, क्यान्डी आदि बनाउँदै गर्दा कच्चा पदार्थका रुपमा हाली बेकिङपछि खाने चलन छ । अन्य खानासँगै पकाएर, चिया, जुस आदिमा हाली पिउने क्रम पनि बढेको छ । गाँजाको तेल निकालेर वा अन्य तेल वा लोसन वा क्रिम आदिमा हाली छालाको मसाज गरेर पनि यसको उपयोग हुँदै आएको छ ।

प्रायः खाना, पेय र अन्य पदार्थबाट बनेका बियर वा रक्सीमा गाँजा मिसाएर खाने मानिस पनि प्रशस्त भेटिन्छन् । गाँजाको आफ्नै बियर, रक्सी समेत बन्न थालेको छ। गाँजाको बिरुवाबाट निकालिने रेजिनलाई चरेस (ह्यास÷ह्यासिस)ले दिमागमा तुरुन्तै प्रभावकारी आनन्दीपन दिने हुँदा यो हालसम्म चिलिममा हाली धुँवा नै तान्ने गरिन्छ। गाँजालाई ग्रास, पट, उइड आदि नाम पनि दिइएको छ ।

गाँजा बहस 8.0

भ्रम वा पूर्ण सत्य नरहेको अबधारणा: यसमा भएको रसायन तत्वले फोक्सोबाट रक्तसञ्चार माध्यम हुँदै मुटुमा पुगेर असर देखाउँछ। साधारण मुटुको चाल प्रतिमिनेट २० देखि ५० पटकसम्म ढुकढुक हुन्छ भने गाँजाको असरले त्यति चालका लागि ३ घण्टासम्म लाग्ने बनाउँछ। विशेष गरेर मुटुका रोगीले गाँजाको प्रयोग गरेका खण्डमा हृदयाघात हुने ठूलो सम्भावना हुन्छ। गाँजा प्रयोगकर्ताका आँखामा रक्तनली फैलिएर आँखा रातो पनि हुने गर्छ। गाँजा पिउनेले पिएको समयमा मुख पोलेको अनुभूति गर्छ, साथै उसलाई वाकवाकी लाग्ने तथा कलेजो खराब हुने समस्या पनि देखापर्छन्। मुख्यतया गाँजामा हुने टेट्राहाड्रोक्यानाबिनोल साइको सक्रिय पदार्थ हो, जसले प्रयोगकर्तामा नैराश्य, आत्महत्या गर्ने सोच ल्याउने, सम्झना शक्ति र सिक्ने क्षमतामा ह्रास, गर्भवती महिलाबाट जन्मेका बच्चाको दिमाग सानो हुने वा राम्रोसँग दिमाग विकास नहुने तथा प्रयोगकर्तालाई गाँजा छाड्न नसक्ने अवस्थामा पु-याउँछ। गाँजा प्रयोगले विवेक नै गुम्ने, यौन असर्मथता हुने, शरीरको रोग प्रतिरोधात्मक शक्ति नै घटाउने, क्यान्सर र विभिन्न संक्रमण हुने, युवामा साइकोसिसको समस्या आउने, गिजामा रोग लाग्ने, शिशुको दिमागको विकास नहुने, मानव कोषको डिएनए परिवर्तन गराएर क्यान्सर गराउन सक्ने र पुरुषको अण्डकोषमा क्यान्सर गराउन सक्ने अवस्था सिर्जना हुन सक्छन्। स्वस्थ हुनु भनेको शारीरिक, मानसिक तथा भावनात्मक कष्टबाट मुक्ति पाउनु हो र सन्तुलनमा रहनु हो।

यथार्थता: प्रयोगशालामा भएको दश हजार भन्दा धेरै अनुसन्धान बाट गाँजा ४८० भन्दा धेरै केमिकल पदार्थ बाट बनेको जसमा १०० भन्दा बढी त औषधीय क्यानाबिनोईडहरू रहने प्रमाणित भएको छ। गाँजामा भेटिएका त्यस्ता ४८० केमिकलहरू मध्ये मात्र छ ओटा उल्लेखनीय केमिकलको औषधीय गुण बारे आज संसारभर गरिएका दस हजार भन्दा धेरै अनुसन्धान बाट गाँजा बाट मानिसमा दर्द कम गर्ने र अनिन्द्रा जस्ता समस्या दिने दस समूहका रोगहरू, पाचन प्रणालीमा हुने अनियमितताले जन्माउने सात समूहका रोगहरू, मानिसको मुड र बानी बेहोरामा जन्मेको विकृत रोक्ने सात समूहका रोगहरू, स्नायु समस्या सम्बन्धका नौ समूहका रोगहरू  र अन्य समूह अन्तर्गत राखिएका जस्तै दम, क्यान्सर, एड्स जस्ता सात समूहका रोगहरू गरी कम्तिमा चालिस रोग समूहको प्रत्यक्ष निदान हुने यकिन गरिदिएको छ।

प्रत्येक रोग समूहमा आफ्नै अन्य उप समूहहरूपनि हुने हुँदा आज मानिसमा हुने अन्दाजी सात सय भन्दा धेरै स्वस्थ सम्बन्धको विकृतिमा गाँजा उपयोगी हुने देखिन्छ। यसरी हेर्दा आज संसारमा बन्ने हजारौँ हजार औषधि हरुमा गाँजाको उपयोग हुने अवस्था आएको छ। क्यानडा जस्ता मुलुकमा औषधि बाहेक ट्रपिकल जस्तै मालिस गर्ने क्रिम, तेलहरू, कष्मटिक लगायत मनोरञ्जनात्मक गैर-औषधिय पदार्थ धूम्रपान, भेप र खाना तथा पेय, रक्सीको विकल्पको ड्रिंकमा आदि समेतमा उपयोगमा आउन थालेको छ।

गाँजा बहस 9.0

भ्रम वा पूर्ण सत्य नरहेको अबधारणा: अहिले हाम्रो समाजको शान्त र सुन्दर वातावरण खलबल्याउने गरी भविष्यमा हुन सक्ने विषम परिस्थितिको विवेचना नगरी केही सांसदले गाँजालाई वैधता प्रदान गर्न भन्दै संसद्मा विधेयक प्रस्तुत गर्नु विडम्बना हो। यस विषयमा सरकारले फरेन्सिकसम्बन्धी ज्ञान वा तालिमप्राप्त विज्ञसहित प्रहरी, वकिल र मनोचिकित्सक सम्मिलित समिति बनाई विचार विमर्श गर्न÷गराउन जरुरी छ। किनभने गाँजाबाट हुने वास्तविक हानि र त्यसले निम्त्याउने भयावह अवस्थाबारे विज्ञले मात्र बताउन सक्छन्। र, गाँजाले फाइदा गर्छ भन्ने भ्रमलाई राम्रोसँग चिरफार गर्न सक्छन्। चुरोटले बढी मात्रामा शारीरिक स्वास्थ्यमा हानि पु-याउँछ भने रक्सीले शारीरिक साथै भावनात्मक अवस्थामा पनि असर गर्छ। तर गाँजाले शारीरिक खराबीका साथै भावनात्मक तथा मानसिक स्वास्थ्यमा पनि गम्भीर र कडा क्षति गराउँछ।

 

यथार्थता:  संसारमा गरिएका दश हजार भन्दा धेरै अनुशन्धानहरुको पुनरावलोकन पछि निस्किएको विज्ञहरूको निचोडले बताउँछ  वैज्ञानिक परीक्षणबाट रक्सी र सुर्ती सेवनभन्दा गाँजा सेवन धेरै सुरक्षित प्रमाणित बन्यो। सोही आधारमा  इजरायल, होलेन्ड, अमेरिका,  क्यानडा लगायत धेरै मुलुकले औषधिजन्य र मनोरञ्जनका लागि गाँजाको नियन्त्रित बिक्री वितरण गर्न पाइने कानुन बनाएर कारोबार सञ्चालन गरी रहेका छन्।

गाँजा कम्तीमा चालिस रोग समूहभित्र पर्ने सात सय हाराहारीको रोगको प्रत्यक्ष निदानमा सहयोगी हुन्छ । गाँजा हाली संसारभर हजारौँ हजार ड्रग वा औषधि बनिसकेको, मनोरञ्जनका हिसाबमा खाना, पेय, धूम्रपान, मद्यपान, इभेपका रूपमा समेत विकास भइसकेको अवस्था छ। नयाँ नयाँ उपलब्धिमूलक औषधि र रोग निको पार्ने क्रिम, पफ, पेय, खानाहरू बन्दै छन्।। यी सबै कारणबाट यहाँ गाँजाको गैर अपरधिकरण हुने माहौल संसार भर बनेको हो।

बिना वैज्ञानिक आधार र यसको समाजमा पर्ने सकारात्मक र नकारात्मक असर सबै अध्ययन  बिना हचुवामा संसारभर गाँजाको गैर अपरधिकरण हुने क्रम अघि बढेको भन्ने कुरा सही होइन।

नेपालले आफ्नो तर्फबाट पनि गाँजाबाट हुने वास्तविक लाभ  हानि र त्यसले निम्त्याउने भयावह अवस्थाबारे विज्ञ हरुको टोली नै बनाएर गाँजाको लाभ भन्दा धेरै फाइदा हुने यथार्थता राम्रोसँग चिरफार गरी जान सामु ल्याउनु वास्तवमै स्वागत योग्य हुनेछ।

(यो गाँजा बहसमा लेखको “भ्रम” भाग नेपालमा उठाइएका सवालहरू सङ्कलन गरी राखिएको हो। बहसको “यथार्थता” भाग नारायण घिमिरेले लेखेका हुन। जटिबुटी र हर्बल क्षेत्रमा उन्नत अनुसन्धानमा संलग्न हुँदै संसारभर उद्यमशीलताको लागि जरुरी ज्ञान, सिप र प्रविधिको हस्तान्तरणको नेतृत्व गर्दै आएका लेखक घिमिरे नेपाली मूलका क्यानडा निवासी खाद्य वैज्ञानिक तथा औषधि विज्ञ हुन।)

Check Research about cannabis:

https://www.cannabis-med.org/studies/study.php

https://www.leafly.ca/news/science-tech/most-impactful-marijuana-research-studies-of-all-time

 

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: