मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वेद र विज्ञानको नजरमा व्रतको फाइदा!

नारायण घिमिरे

तपाईँको आजको क्षमता तपाइले आज सम्म गर्नुभएको सम्पूर्ण सञ्चय, खोज र ज्ञानको समग्र नै क्षमता हो। वेद र उपनिषदहरूका अनुसार तपाइको कर्तव्य नै तपाइको धर्म वा धार्मिकताको मार्ग हो जसलाई नियमित गर्न निश्चित आचारसंहिताहरूको नियम तोकिएको  छ। परम्परागत रूपमा हाम्रा अग्रजहरूले गरेको आध्यात्मिक अभ्यासहरूले दिएको अनुभवमा आधारित रहेर धर्म वा धार्मिकताको मार्ग तोक्ने आचारसंहिताहरूको नियम  तोकिएको छ।

 

उक्त आचारसंहिताहरू अन्तर्गत मानिसले आफूमा अत्यधिक धैर्यता र सहनशीलताको विकास गर्न तथा आफू भित्री रूपमा स्वस्थ रहन समेत निश्चित समयको अन्तरालमा विशेष प्रकारको व्रत बस्नु पर्ने अवधारणा हाम्रो समाजमा अघि सारेको भेटिन्छ।

 

पूर्णिमा पछिको ११औँ दिन र नयाँ चन्द्रमा पछिको ११औँ दिनलाई हामी एकादशी भन्ने गर्दछौ। एकादशीको दिन, विभिन्न ग्रहहरु एक निश्चित सम-दुरीको अवस्थामा रहन्छ। एकादशीको दिन यदि तपाइले आफ्नो शरीरलाई भोकै रहेर हल्का पार्नु भयो र निश्चित कुराको ज्ञान लिनको लागि आफूलाई केन्द्रित गर्ने निश्चय गर्नु भयो भने अन्य समयमा भन्दा त्यो समयमा तपाइले आफ्नो चेतनामा फरक किसिमले आफूले ज्ञान प्राप्त गर्न चाहेको विषय बारे भित्री चेत मिलेको अनुभूति हुने परम्परागत आध्यात्मिक अनुभवको निचोड छ।

 

त्यो अनुभूति कसरी सम्भव भयो भन्ने जान्न हामी सँग मात्र वैज्ञानिक अस्त्र रहेकाले यसलाई विज्ञानको आधारमा हेर्न जरुरी हुन गएको हो।

 

आरिराधयिषु: कृष्णं महिष्या तुल्यशीलया |

युक्त: सांवत्सरं वीरो दधार द्वादशीव्रतम् || श्रीमद्भागवत ९.४.२९ ||

 

अनुभूतिको आधारमा आएको निचोड अनुरूप एकादशी व्रतको पालनाले तपाइमा आनन्दको अनुभूति दिने हर्मोन हरुको धेरै मात्रामा सेक्रेसन भएको देखिन्छ , वैदिक भाषामा यसलाई  परम पुरुष भगवान् लाई प्रसन्न तुल्याउने भनिन्छ। नियम अनुरूप निश्चित समयको अन्तरालमा गरिने एकादशी लगायतको व्रतले तपाईँमा तपाई सँग जे छ त्यसैलाई धन्य सम्झेर खुसी र सुखीको अनुभूति लिने प्रवृत्तिको विकास गरिदिन्छ। त्यसलाई शास्त्रले कृष्णभावनामृतको प्राप्ति भएको भन्दछ।

 

जब तपाईँ प्रसन्न र ब्लिस अर्थात् आनन्दको महसुस गर्नु हुन्छ तब तपाईँ सहजै आफ्नो कर्तव्य पुरा गर्न सक्नु हुन्छ। त्यसलाई एकादशीको व्रत तथा कृष्ण मन्त्रको जप मार्फत आफ्नो भौतिक र शारीरिक मागहरू कम गर्दै आफ्नो समय भगवान् को सेवामा लगाउन सकिन्छ भन्ने गर्दछ। जहाँ भगवान् को सेवा भन्नाले आफ्नो कर्तव्यको पालन गर्नु लाई जनाउने गर्दछ।

 

ब्रह्मवैवर्त पुराणमा भनिएको छ कि हरेक एकादशीको दिन व्रत गर्ने व्यक्तिको सबै प्रकारका पाप कर्मबाट मुक्त भएर पुण्य जीवन प्राप्ति मार्फत आफूलाई उन्नति उन्मुख गर्न सफल बन्दछ। यहाँ पापको अर्थ पहिले आफूलाई दुख दिने तत्त्व हो। पाचन प्रक्रियामा शरीरमा जम्मा हुने फोहर सजिलै शरीर बाहिर जना नसक्दा हुने शारीरिक प्रक्रियाको गडबडीले शरीर लाई दर्द दिन्छ। त्यसलाई पाप पूर्ण गतिविधि भनिएको छ।

 

जब शरीरको आन्तरिक तन्तु तन्तुमा दर्दको मात्रा अधिक हुन्छ त्यसको सामूहिक असरले मानसिक असरहरू पैदा गरी दिन्छ। जसले अन्ततः व्यभिचार, डाहा, प्रतिसोधको भावना आदि पैदा गर्ने देखि पाप कर्म गर्न मानिस लाई प्रेरित गर्ने भूमिका खेल्दछ।  त्यो सीमा समेत नागी दिँदा मानसिक सन्तुलन समेत गुम्ने र मानिस नियन्त्रण विहीन बन्न सक्दछ। ब्रह्मवैवर्त पुराणको आशय यथार्थमा नियमित व्रत गर्ने बानीले पाचन प्रक्रियामा शरीरमा जम्मा हुने फोहर सजिलै शरीर बाहिर फाल्न सहयोग पुर्‍याउने गर्दछ। माथिका सबै प्रकारका पाप कर्म पैदा गर्न सक्ने रुटकज अर्थात् चुरो कारकको निवारण गर्दछ भन्ने नै हो।

 

पद्म पुराणमा भनिएको छ कि कुनै व्यक्तिले अर्को लाई देखाउने नियतले मात्र को देखावटी एकादशी व्रतको पालना गर्दछ भने पनि उसले आफ्ना पापहरू (शरीरका भौतिक दर्दहरू) नष्ट हुँदै गएको र उसले सजिलै आफ्नो परम वैकुण्ठको निवास (दुख नदिने निरोगी शरीर) को लक्ष्य प्राप्ति गरेको अनुभूति गर्दछ। यो भनिनुको आशय  सुकै नियतले गरेको होस् जब मानिस निश्चित अवधिको बिचमा व्रत बस्ने बानी  विकास गर्दछ तब त्यसले शरीरको वायोकेमेस्ट्रीमा हुने असर र प्रगति दिने गर्दछ र उसको भौतिक शरीरको स्वस्थ सुधार हुने गर्दछ।

 

फरक फरक संस्कृति र समुदायमा उपवासको परिभाषा फरक फरक हुने गरेको देखिन्छ। तर पनि शरीरको वायोकेमिस्ट्री अन्तर्गत फरक फरक प्रकृतिको व्रत (उपवास) ले दिने वायोकेमिकल फाइदा तथा सुधारको चुरो प्रकृति एकै प्रकारको हुन्छ। शरीरको नियमित सञ्चालन प्रक्रियाको सञ्चालनको क्रममा पैदा हुने फोहर आदि सफा गरी यसको सहज कार्य गर्ने क्षमता र आयुको वृद्धि गर्ने। जुन फरक फरक प्रकारको व्रतमा फरक फरक हदमा प्रभावकारी हुने गर्दछ। जस अन्तर्गत निराहार (खानाविना),  फलाहार (फलफूल र दूध खाने अनुमति सहितको) र अल्प हारा (थोरै खाना खाने अनुमति रहेको) आदि पर्दछ।

 

विभिन्न तिथि मितिहरूमा हुने उपवास र भोजको वैदिक संस्कृतिले हाम्रो आफ्नै जीवनमा नियमित परिवर्तनको अनुभूति गराउन सहयोगी बनेको छ। वैदिक परम्पराको आधारमा स्थापित भएको विभिन्न संस्कृतिका पञ्चाङ्गमा (चन्द्र पात्रो) मिति, थिति र वार अनुरूप निकै धेरै व्यवहारिक महत्त्वका पूजा, ध्यान, व्रत र अन्य गतिविधिहरू पालन गर्न सल्लाह दिने गरिन्छ। तिनीहरू प्राय सबै परम्परागत आध्यात्मिक अनुभवको निचोडको आधारमा बनेको हुँदा तिनीहरूलाई महत्त्व दिने, निसंकोच विश्वास गर्दै समाजले पछ्याउने गरेको देखिन्छ। परम्परागत रूपमा मानिँदै आएर हाम्रो संस्कृतिको रूपमा  निर्विवाद स्थापित बनेका ती उत्सवहरू किन हाम्रो दैनिकीको मुख्य पाटो बन्न सक्यो भन्ने कुरा भने बल्ल आज आएर वैज्ञानिक रहस्य सहित बुझ्न हामी सफल भएका छौ।

 

जब व्यक्ति स्वस्थ हुन्छ, उसको पेट समेत भोको रहँदैन तब उसको शारीरिक र मनोवैज्ञानिक अवस्था सन्तुलित हुन्छ। सन्तुलित शारीरिक र मनोवैज्ञानिक अवस्थामा मानिसले आनन्दको अनुभूति गर्दछ। आनन्दको महसुस गर्ने अवसर मिलेको मानिसको कर्म र व्यवहार आफ्नो कर्तव्य पुरा गर्न दृढ बन्दछ। कर्तव्य पुरा गर्न दृढ मानसिकताले मानिसलाई  भौतिक, मानसिक र आध्यात्मिक सबलता दिन्छ। भौतिक, मानसिक र आध्यात्मिक सबलता प्राप्तिलाई नै बिचारमा आएको शुद्धता  भनेर बुझिन्छ ।

 

बिचारमा आएको शुद्धताले कर्तव्यनिष्ठ व्यवहार र कर्म सम्पन्न गर्ने बुद्धिमत्ताको विकास गर्दछ। कारण उक्त चरणमा पुगेको व्यक्तित्वको ध्वनिगत (राग) र इन्द्रियगत अनैतिक चाहनाहरू दृढतापूर्वक रोक्ने मनोवैज्ञानिक अस्त्र युक्त रहन्छ।कर्तव्य च्युत गर्ने प्रेरित गर्ने अहङ्कार, रति, लोभ, मोह, प्रेम, आकर्षण, घृणा, प्रतिशोध आदि लाई सहजै बुझ्ने र त्यसको प्रभावले नछुने संस्कारले भरिएको हुन्छ। जसलाई ब्रह्म प्राप्त भएको भनिन्छ।

 

ब्रह्म प्राप्त भएको व्यक्तिमा एकान्तको महत्त्व बुझ्ने, हल्का खानाको मूल्य महसुस गर्ने, शरीर, मन, यौन र वाणीलाई नियन्त्रणमा राख्ने, हरेक निर्णयमा चिन्तन (ध्यान) र मननको महत्त्व बुझ्ने र वैराग्यको अभ्यासको समेत महत्त्व बुझ्ने प्रवृत्ति विकसित बनेको हुन्छ।

 

बुद्ध्या विशुद्धया युक्तो धृत्यात्मानं नियम्य च |

शब्दादीन्विषयांस्त्यक्त्वा रागद्वेषौ व्युदस्य च || श्रीमद्भागवत १८-५१||

 

विविक्तसेवी लघ्वाशी यतवाक्कायमानस: |

 ध्यानयोगपरो नित्यं वैराग्यं समुपाश्रित: || श्रीमद्भागवत १८-५२||

 

अहङ्कारं बलं दर्पं कामं क्रोधं परिग्रहम् |

 विमुच्य निर्मम: शान्तो ब्रह्मभूयाय कल्पते || श्रीमद्भागवत १८-५३||

 

अहङ्कार, हिंसा, ईर्ष्या, वासना, यौन इच्छा, सम्पत्ति, स्वामित्व, स्वार्थ आदि जस्ता चाहना बाट आफूलाई मुक्त राख्न सक्दछ।  उक्त अवस्था प्राप्त गरेको व्यक्ति अर्थात् नियतगत रूपमा ब्रह्मसँग मिलेको व्यक्तिले जब उचित खान पिन (भोक, तिर्खा र अक्सिजनको प्राप्ति) र शारीरिक दर्द विहीन वातावरण (सहज भएर रहने स्थान) मा  शान्ति पूर्ण रूपमा जिउन पाउँछ त्यसलाई मुक्त अवस्था र जीवनमा ब्रह्म रूपको परम सत्य तथा आनन्दको अनुभूति गरेको व्यक्ति मानिन्छ। व्यक्तिले आफ्नो जीवनमा उक्त अवस्था प्राप्त गर्न वैज्ञानिक रूपमा समेत असम्भव देखिँदैन।

 

मानिसको जीवन नियमित सञ्चालन हुनको लागि  शरीरको कोशिकाको नियमित निर्माण र ध्वंसको जरुरत हुन्छ। कोशिका सञ्चालनको लागि नियमित ऊर्जा व्यवस्थाको जरुरत हुन्छ। ऊर्जा निर्माणको प्रक्रियामा निस्किएको फोहरको अवशेषले शरीरमा विषाक्तता पैदा गर्ने गर्दछ। कोशिका निर्माणमा जीर्ण संरचना हटाएर नयाँ निर्माण गर्ने क्रममा समेत फोहर र विषाक्तता पैदा हुन्छ।  शरीरको नियमित कार्य सञ्चालनको क्रममा कोशिका भित्र विषाक्त गह्रौँ  पानी समेत जम्मा हुन पुग्दछ। तिनै प्रकृतिको विषाक्तता शरीरको धेरै रोगको कारक हुने गर्दछ।

 

मानिसको खानाको मुख्य भाग पानी हुने गर्दछ। व्रत बस्दा पानी खाना नखाने वा कम खाने हुँदा शरीरमा पानीको कम आपूर्ति हुने गर्दछ। त्यसरी कम आपूर्ति भएको पानी शरीरले आफ्नो कोसीकामा ऊर्जा निर्माण गर्ने क्रममा हुने  रासायनिक प्रक्रियाबाट निस्कने पानी वाट पूर्ति गर्छ। जसले गर्दा शरीरको कोष भित्र कोष बाहिर भन्दा धेरै मात्रामा पानी रहने स्थिति पैदा हुन्छ।

 

नियमित रूपको कोष भित्र भन्दा कोष बाहिर पानी धेरै हुने अवस्थामा जमेका सबै प्रकारका फोहर र गह्रौँ  पानी समेत कोष भित्र कोष बाहिर भन्दा धेरै मात्रामा  पानी रहने स्थितिले कोष र तन्तु वाट मिर्गौला आदिमा पुर्‍याउन सहज पारिदिन्छ। फलतः व्रतको क्रममा विषाक्त पदार्थ शरीर वाट बाहिर फाल्न, तन्तु तथा विभिन्न अङ्ग हरुको पुनर्ताजकी गर्न र शरीर लाई पूर्ण तागतमा फर्काउन व्रतले सहयोग गर्दछ।

 

वैज्ञानिक परीक्षणहरू वाट उपवासले मानिसको शरीर र दिमागलाई पुनर्ताजकी गर्न सहयोग पुर्‍याएको देखिएको छ। उपवासले शरीरको भित्री विषाक्तता हटाउन सक्रिय रहने निश्चित प्रकारका इन्जाइमको उत्पादन बढाउन तथा त्यस्ता इन्जाइमहरूको गतिविधि सक्रिय पार्न मद्दत गरेको भेटिएको छ। व्रत बस्ने कार्य वाट खाना पचाउन संलग्न हुने पाचन इन्जाइमको उत्पादन क्षमतामा समेत वृद्धि भएको भेटिएको छ।

 

उपवासको क्रममा पाचन शक्ति तथा मांसपेशीको तन्दुरुस्ती र तागत बढाउन महत्त्वपूर्ण हुने मानव वृद्धि प्रतिरक्षा हार्मोनको उत्पादन बढेको भेटिएको छ। प्रोटिन निर्मित उक्त  हर्मोनले खाएको खाना पचाउन र फोक्से मांसपेशी लाई दरिलो कसिलो पार्न मद्दत गर्ने गर्दछ। उपवासले मानिसको रोग प्रतिरोधात्मक क्षमता र शरीरको तागत वृद्धि गर्न मद्दत गर्ने गरेको देखिएको छ। सायद त्यसैले होला जनावर बिमारी पर्दा प्राय: खाना खाने गर्दैन।

 

मानव वृद्धि प्रतिरक्षा हार्मोन धेरै हदसम्म स्वस्थ मांसपेशी वृद्धि का साथै शरीरमा शक्तिशाली बुडौली लाग्न नदिने  लाभ उपलब्ध गराउने क्षमता राख्ने हुँदा उपवासले मानिसको जीवन तन्देरी, तरुनो राख्न (कायकल्प) मद्दत पुर्‍याउने गर्दछ।

 

न्युरोन भित्रको गुजुल्टिएर बसिदिएको प्रोटिनको कारण मस्तिष्कमा स्नायु कोशिकाको मृत्यु हुने, न्युरोनका पुरानो जीर्ण कोषका भागहरू चुँडेर फाल्ने र पुनः न्युरोनको उपयोग गर्न सहज गर्ने प्रक्रिया निष्क्रिय हुने गर्दछ। उपवासको समयमा सञ्चालन हुने शारीरिक गतिविधिले न्युरोन भित्रको गुजुल्टिएर बसिदिएको प्रोटिन लाई सहजै हटाइ दिने देखिएको छ।

 

उपवासले मानव डिएनएको क्षति रोक्न, दीर्घ प्रकृतिको शरीरको दर्द कम गर्न र मानव जिनोममा देखिने अस्थिरता नियन्त्रणमा सहयोग पुर्‍याउने गरेको भेटिएको छ। मानिसलाई न्यूरोजेनेरेटिभ रोगहरूबाट बचाउन तथा मस्तिष्कको सुरक्षामा उपवासको प्रभावकारी भूमिका हुने पुष्टि भएको छ।

 

शरीरमा इनफ्लामेसन (सूजन) हुँदै गर्दा शरीरको भाग रातो, सुन्निएको, तातो, र अक्सर पीडादायी हुने गर्दछ। विशेष गरी चोट वा सङ्क्रमणको प्रतिक्रियाको रूपमा शरीरमा सूजन देखिन्छ। उपवासले शरीरमा सूजन कम गर्न तथा सूजनको स्तर कम गर्न त्यस्ता भाग वाट स्नायु लाई दर्दको सूचना दिने अणुहरू बाट छुटकारा दिलाउन सहयोग गर्दछ। यसरी उपवासले सूजनलाई नियन्त्रण गर्न भूमिका समेत खेल्ने गरेको देखिन्छ।

 

उपवासले कोशिकाको पुरानो जीर्ण माइटोकोन्ड्रिया हटाएर नयाँ र बलियो माइटोकोन्ड्रिया स्थापना गर्ने माइटोफ्यागी प्रक्रिया लाई तीव्र गतिमा पुरा गर्न सहयोग गर्ने जसले गर्दा शरीर लाई अधिक सेलुलर ऊर्जा उत्पादन गर्न सहज हुने र शरीरको ब्याट्री रिचार्जमा ठुलो सहयोग पुग्ने समेत पुष्टि भएको छ।

 

यसरी  वेद र विज्ञानको नजरले समग्रमा उपवास (व्रत) बस्ने कार्यले शरीरको ईनर इन्जीनियरिङ्गमा पुर्‍याएको प्रभाव  हेर्दा शरीरको कोशिका कोशिकाको स्तर वाट सूक्ष्म विषाक्तता हटाएर सफा गर्ने, तिनीहरूको नवीकरण गरी सबल सक्रियता पुनर्स्थापित गर्ने (Detox, Renew and Cleansing Whole Body) कार्य मार्फत सन्तुलित शारीरिक, मानसिक, मनोवैज्ञानिक र आध्यात्मिक सबलता प्राप्तिमा सहयोग गर्ने निचोड निस्कन्छ।

(लेखक घिमिरे खाद्य तथा औषधि विज्ञ हुन)।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: