मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वेद र विज्ञानको घाँटी कहाँ, कसरी जोडिएको छ भन्ने वारेको भिडियो।

क्वान्टम मेकानिक्स मार्फत कसरी प्रमाणित हुँदै छ चेतना, आत्मा र परमात्माको अस्तित्व ? अथर्ववेदाचार्य वैज्ञानिक नारायण घिमिरेको व्याख्या ।

 

क्वान्टम मेकानिक्स भौतिकशास्त्रको एक आधारभूत सिद्धान्त हो । यसले इलेक्ट्रोन, प्रोटोन र न्युट्रोनहरू परमाणुभित्र कसरी अन्तर्क्रिया गर्दछन् भनेर व्याख्या मात्र गर्दैन, हरेक भौतिक वस्तुको तरङ्ग रूप तथा कण रूपको द्वैधता हुने वैज्ञानिक पुष्टि दिन्छ । यसले ऊर्जा कति मात्रामा छ भन्ने परिमाणीकरण गर्न र कणहरूले के कस्तो व्यवहार देखाउने सम्भावना छ भन्ने पूर्वानुमान गर्ने अवधारणा पनि उपलब्ध गराउँछ ।

 

आणविक कक्षमा इलेक्ट्रोनहरू कसरी घुम्छन् ? इलेक्ट्रोन आफ्नो यात्राका क्रममा कसरी प्रकाशको फोटन रूपी ऊर्जा अवशोषण गरेर आफू घुम्दै गरेको घेराबाट भड्किएर बाहिरी घेरामा घुम्न पुग्दछ, केही आन्तरिक ट्रान्जिसनको समयपश्चात् आफूले सोसेर लिएको फोटन शक्ति कसरी फेरि फोटन ऊर्जाका रूपमा उत्सर्जन गरेर आफ्नो नियमित बाटोमा फर्कन्छ र कणहरूको स्थिरता पुनः कायम हुन्छ भन्ने व्याख्या गर्दछ ।

क्वान्टम मेकानिक्सको भौतिकीले भड्किएर आफ्नो नियमित घर छोडेर बाहिरिएको इलेक्ट्रोनका कारण कसरी उसको परिवाररूपी कण नै अशान्त बन्न पुग्छ ? आन्तरिक परिवर्तनको सङ्क्रमणका क्रममा त्यसले आफूलाई भड्काउने ऊर्जा त्यागेर आफ्नै घर फर्की परिवाररूपी कणमा पुनः शान्ति कायम गर्दछ भन्ने मात्र प्रस्ट गर्दैन, भड्किने क्रममा इलेक्ट्रोनले अवशोषण गर्दाको रूप शान्त हुने क्रममा उत्सर्जित ऊर्जामा कस्तो किसिमको रूपान्तर देखिन्छ र त्यसले कण वरपरको वातावरण कसरी फरक प्रभाव छोड्छ भन्ने बारेमा पनि स्पष्ट पारिदिन्छ ।

हाम्रो शरीरभित्रका जैविक प्रक्रियाहरू कसरी सञ्चालित भइरहेका छन् भन्ने व्याख्याका लागि समेत क्वान्टम मेकानिक्सकै भूमिका हुन्छ । अत्यन्त जटिल जैव–रासायनिक प्रतिक्रियाहरूमा इन्जाइमहरूले कसरी काम गर्छन् भन्ने बुझ्न यो महत्त्वपूर्ण छ । इन्जाइमहरू आफैँ जैविक अणुहरू हुन् । तिनीहरू शरीरको पाचनप्रक्रिया, डीएनएको प्रतिलिपि तयार गर्ने प्रक्रिया लगायत विभिन्न जैविक गतिविधिमा संलग्न हुने रासायनिक प्रतिक्रियाहरूको उत्प्रेरक शक्ति हुन् ।

क्वान्टम अवस्थामा इलेक्ट्रोनहरू सुपरपोजिसनमा रहन्छन् । क्वान्टम फिजिक्सको प्रकाशको साथ डबल–स्लिट परीक्षणको नतिजा अनुरूप अवलोकनकर्ताले अवलोकन गरिरहेका बेला प्रकाशले आफ्नो स्वरूपलाई  कणको रूपमा देखाउने गर्दछ भने अवलोकनकर्ताले अवलोकन नगरिरहेको बेला प्रकाशले आफ्नो स्वरूपलाई तरङ्गको रूपमा प्रदर्शन गर्दछ ।  वैज्ञानिक प्रयोगमार्फत् प्रमाणित भएको प्रकाश किरणको तरङ्ग स्वरूप र कण स्वरूपको द्वैधतालाई क्वान्टम कोहेरेन्स (स्वरूपमा द्वैधता) भनिन्छ ।

शरीरभित्र इन्जाइम ऊर्जाहरू जैव–रासायनिक प्रतिक्रिया सम्पन्न गर्न  नियमित रूपमा एक स्थानबाट अर्को स्थानमा पुग्नु जरुरी हुन्छ । यात्राका क्रममा बीचमा रहने विभिन्न सेल वाल वा झिल्ली जस्ता अवरोधहरूबीच कोहेरेन्स गुणको उपयोग गरी तिनीहरूले कणहरूको टनेलिङ (सुरुङयात्रा तय गर्ने विधि) मार्फत् यात्रा गर्ने र काम फत्ते गर्ने सटीक संयन्त्रहरू बनाउने गर्दछन् । यसले गर्दा त्यति जटिल प्रक्रिया समेत सहज रूपमा सम्पन्न हुन्छ ।

बिरुवाको पातमा प्रकाश संश्लेषणमार्फत् बन्ने ग्लुकोज होस् वा मानिसको कोषिकामा हुने श्वासप्रश्वास क्रियामा एडीपीबाट एटीपी निर्माण गरी ऊर्जा बनाउने कार्यमा चलिरहेको प्रक्रिया क्वान्टम मेकानिक्सको सिद्धान्तमार्फत् व्याख्या हुने गर्दछ । आनुवंशिक सूचना हस्तान्तरण गर्ने डीएनए अणुले आफूले आफँैलाई धेरै सङ्ख्यामा विभाजन गर्ने क्रममा हुने पोलिमरेज प्रतिकृतिको गतिविधिमा संलग्न हुने इन्जाइमहरूमा डीएनए बनाउन तयार भएको झिँक्रोमा न्युक्लियोटाइडहरू भर्न क्वान्टम टनेलिङ (आकाश आवृत्ति)को प्रयोग हुने गर्दछ । जीव तथा मानवको आनुवंशिक निष्ठाको सूचना पुस्तान्तरण गर्ने प्रक्रियाको सटीक व्याख्या समेत क्वान्टम मेकानिक्सबाट सम्भव भएको छ ।

क्वान्टम मेकानिक्सले प्रमाणित गरेको ‘पर्यवेक्षक प्रभाव’ अर्थात् अवलोकनकर्ताको मापनकार्य मानव चेतनासँग सम्बन्धित छ भन्ने अवधारणा विकास गर्न सहयोग गर्दछ । वेद जस्ता पौराणिक ज्ञान अनुरूप चेतनाले सांसारिक वास्तविकताको प्रभावलाई आकार दिन मौलिक भूमिका खेल्छ भन्ने अवधारणा नजिकैको यो व्याख्या हालको विज्ञानको क्षमता अनुरूप प्रयोगात्मकताको बेन्चमार्क अर्थात् दायरा बाहिरको रहे तापनि भौतिकशास्त्रीहरूलाई के क्वान्टम मेकानिक्स र आध्यात्मिकताबीचको वैध सम्बन्ध क्वान्टम मेकानिक्सले स्थापित गर्न सक्ला भन्नेतर्फ सोच्न र विज्ञानको प्रयोगात्मक क्षमता वृद्धि गर्न व्यावसायिक तथा नैतिक दबाब सिर्जना गरिदिएको छ ।

क्वान्टम मेकानिक्स अन्तर्गत प्रमाणित भएको अर्को अत्यन्त महत्त्वपूर्ण अवधारणा हो, क्वान्टम इनट्याङ्गलमेन्ट (उल्झन) ।  जहाँ इनट्याङ्गल गरिएका (भावनात्मक रूपमा जोडिएको नजिकको अर्थ दिने) दुई कण आपसमा विज्ञानले हालसम्म पहिचान गर्न सकेको कुनै पनि सम्पर्क माध्यमबिना जतिसुकै टाढाको दूरीमा लगे पनि आपसी रूपमा सहसम्बन्धित रहेर जोडिएको र तिनीहरूबीच प्रकाशको गतिभन्दा निकै तीव्र गतिमा सूचना आदानप्रदान हुने तथ्य विज्ञानबाट पुष्टि भएको छ ।

यसले वैज्ञानिकहरूमा वेदको मान्यता अनुरूप यो प्रभाव व्यक्तिको चेतना (आत्मा) र समग्र विश्वव्यापी चेतना (परमात्मा) बीच हुने अन्तरसम्बन्ध र  भावनात्मक सम्बन्धकै एउटा सफल प्रयोगको अंश त होइन भन्ने यकिन गर्न विज्ञानको परीक्षण क्षमतामा प्रभावशाली सुधारहरू गरिनुपर्ने दबाब समेत सिर्जना गरिदिएको छ ।

क्वान्टम मेकानिक्सको अर्को महत्त्वपूर्ण सिद्धान्त अनिश्चितताको सिद्धान्त हो जस अन्तर्गत कुनै पनि कणको निश्चित जोडी गुणहरू हुने गर्दछन् । उक्त कणको निश्चित स्थान (स्थिति वा लोकेसन) त हुन्छ नै, त्यही समय त्यसको निश्चित गति समेत हुने गर्दछ । त्यसो हुँदाहुँदै पनि ती दुवैलाई एकसाथ हाल उपलब्ध उपायबाट नाप्न वा जान्न सकिँदैन भन्ने तथ्य विज्ञानले नै स्थापना गरेको छ ।

जब तपाईं उक्त कणको वैज्ञानिक तरिकाबाट मापन गर्न खोज्नुहुन्छ, तब तपाईं कि त त्यसको लोकेसन भेट्नुहुन्छ, कि त्यसको गति । विज्ञानले देखाएको यो आश्चर्यपूर्ण अप्रत्याशितता मानिस आफ्नो कर्म छनौट गर्न स्वतन्त्र छ (फ्री विल) भन्ने वैदिक अवधारणा नजिकको वैज्ञानिक पुष्टि त होइन भन्ने अवस्था छ ।

विज्ञान परीक्षणले दिने नतिजासँग सम्पूर्ण रूपमा भर पर्दछ । वैदिक ज्ञान परीक्षणले दिने नतिजाको अन्तरसम्बन्धको विश्लेषणको निचोडमा अत्यधिक जोड दिन्छ । विज्ञानले के देखियो मात्र बताउने गर्दछ । के देखियो, त्यो के हो र त्यसको अर्थ के हुनुपर्दछ भन्ने क्षेत्रमा नीतिशास्त्र तथा वैदिक ज्ञानले काम गर्दछ । के देखियो र कुन परिस्थितिमा भएको परीक्षणमा त्यस्तो नतिजा आयो ? विज्ञानले त्यसबारे मात्र बोल्छ । के हुनुपर्दछ भन्ने विज्ञानको सरोकार रहँदैन ।

विज्ञानमा फरक–फरक परीक्षणको आधारमा पहिला सत्य मानिएका यथार्थ बिस्तारै विज्ञानकै परीक्षणबाट गलत साबित गर्दै नयाँ तथ्य स्थापित गर्दै जान्छ । वैदिक ज्ञान अन्तर्गत जे जे कुरालाई सत्य मानिएको हो, त्यो सबै परिस्थितिमा सदैव सत्य नै रहन्छ । यति लामो दिक्कलाग्दो भूमिकापछि यहाँनिर आएर बल्ल मैले प्रस्तुत पुस्तक लेखनको उद्देश्य पाठकलाई न्याय हुने गरी प्रस्ट गर्न सक्दछु भन्ने लाग्दछ ।

प्राचीन खगोल विज्ञानमा केन्द्रित रहेर वराहमिहिरले लेखेको विश्वकोषीय संस्कृत कृति वृहत् संहिताको अध्याय एक अनुसार धार्मिक तथा आध्यात्मिक परिवेशमा ‘कथा’ ऐतिहासिक घटनाहरूको उल्लेखनीय पक्षको सार हो । यस्ता कथाहरू मूलतः अहिंसा, नैतिक तथा दार्शनिक पक्ष आदि बारेको ज्ञान वा अवधारणा सम्प्रेषणका निम्ति उपयोग गरिन्छ ।

कथाको सबैभन्दा प्रसिद्ध नमुनामध्येको एक प्राचीन वैदिक कथा उपनिषद हो । कथा उपनिषदमा विभिन्न संवादरूपी कथाहरू भेटिन्छन् । त्यसमा उल्लिखित कथाहरू गहन आध्यात्मिक र दार्शनिक अवधारणाहरू अन्वेषणमा केन्द्रित देखिन्छन् । यसले प्राचीनकालमा कथा किन र के प्रयोजनमा उपयोग गरिन्थ्यो भन्ने पुष्टि गर्दछ । प्राचीन महायान बौद्ध सूत्रकथाको सङ्ग्रह महासाणिपाताको आठौँ अध्याय गगनगन्ज परिप्राचाका अनुसार कथा शब्दको अर्थ ‘सल्लाह’ हो ।

वैदिक ज्ञानको चुरो कुरा अन्तिम सत्यका पक्षहरूलाई अत्यन्त सङ्क्षिप्त रूपमा संस्कृत ऋचाहरूमा लेखिएका छन् । अत्यन्त गहन कुरालाई सटीक व्याख्या गर्न चाहिने प्रस्तुतिमा हुनुपर्ने प्रस्टता र गहिराइतर्फ ध्यान दिएर विभिन्न कथाका भूमिकामा राखिएका पात्रहरूको सहयोग लिइएको छ ।

हरेक सत्य जीवनका हरेक पक्षमा लागू हुने गर्दछ । सांसारिक दुनियाँका हरेक पक्षको अन्तर्य त्यसले छोएको हुन्छ । जसरी क्वान्टम मेकानिक्सको एउटै सिद्धान्त फरक–फरक परिवेशमा फरक–फरक परिस्थिति पैदा हुने गरी लागू भएका भेटिन्छन्, त्यस्तै वैदिक ऋचाले दिने सिद्धान्त समेत फरक–फरक परिवेशमा फरक–फरक किसिमबाट लागू भएको बुझ्न सकिन्छ ।

फरक–फरक परिस्थितिमा फरक–फरक परिवेश निम्त्याउने एउटै सिद्धान्त कुनै कथाको रूपमा बुझाउन सहजीकरण गर्ने क्रममा हामीलाई उपलब्ध प्रस्तुतिको सीमितताले एउटा पक्ष अलि धेरै प्रस्ट गर्ने इरादामा आएका व्याख्याले अर्को पक्षको सन्दर्भमा अनजानमा गलत छाप दिन सक्ने, थप कथा वा व्याख्या बनाउने एउटा अत्यन्त नाजुक कार्य निम्त्याउने गरेको देखिन्छ ।

हाम्रो व्यावहारिकता र लेखकको आफ्नै बुझाइको सीमा र प्रस्तुतिमा हुन गएको असमझदारी वा त्रुटि कतिपय कथा र व्याख्यामार्फत् न्यायोचित संयोजन गर्न असमर्थ बन्ने स्थिति समेत जन्माइदिन्छ । उक्त सीमितताले दिएको विडम्बनाबीच तार्किक, धार्मिक र ज्ञानका गहिरा पक्षबारे आफ्नो अनुभूति समाजमा प्रस्तुत नगर्नु अर्को असमझदारीपूर्ण कार्य हुने मलाई लाग्दछ ।

 

वेद र विज्ञानका रसहरू बुझ्न र स्मृतिको रूपमा काव्यात्मक बान्कीमा यसो भन्न सकिन्छ।

 

किरण त किरण नै हो नि

त्यो सूर्यको होस् वा आशाको

विश्वासको होस् वा भरोसाको

ज्ञानको होस् वा अनुभूतिको ।

 

जब त्यसले मनलाई छुन्छ,

त्यसको सुवास मनमा वास गर्दछ

एउटाले जीवनको अन्धकारलाई हटाउँछ

अर्कोले जीवन जिउने आधार निर्माण गर्छ ।

 

तिनै किरण जब बिस्तारै बिस्तारै

जीवनबाट बाहिर निस्कन थाल्छन्

मनलाई सुख्खा र निरस बनाउने गर्दछन्

जीवनप्रति नै विश्वास टुटाइदिन्छन् ।

 

मेरो मित्र, मेरा प्रियसी र अपरिचित गण;

यो नभुलौँ,

संसारको सबैभन्दा सुन्दर बिरुवा

विश्वासको हुन्छ, भरोसाको हुन्छ

त्यही विश्वासको चेतना नै

परमेश्वर हो

तपाईंको मन जित्ने वा बहलाउने आत्मा हो ।

 

त्यही चेतनाबाट

वेदले भने अनुरूप

विज्ञानले सङ्केत गरे अनुरूप

सम्पूर्ण अभौतिक र भौतिक वस्तु

निर्माण भएका छन् ।

 

जुन जमिनमा हुँदैन,

धन–सम्पत्तिमा हुँदैन,

न त रति–रागमा हुन्छ

न दुस्मनीमा नै भेटिन्छ ।

 

यो त केवल मनमा हुन्छ

विश्वासमा फुल्दछ

त्यही फल लाग्छ

अनि त्यही फसल दिन्छ ।

 

वेदको सन्देश त्यही हो

यसलाई कतै सीधै भनिएको छ

सूचनालाई ग्रहण गर्ने

व्यक्तिको चेतना अनुसार

कतै कथा रचेर खोलिएको छ ।

 

कथामा के लेखिएको छ,

के भनिएको छ

त्यो महत्त्वपूर्ण होइन ।

 

हुन सक्छ

कथा बनाउँदा

एउटा कुरा भन्न खोज्दा

अर्कोतिर मर्का परेको होस्

नबोलिएको गलत अर्थ लाग्ने

अर्थ दिने पनि बनेको होस् ।

 

उद्देश्य कथाले के भन्यो,

कथा कस्तो बन्यो भन्ने होइन

उद्देश्य कथाको

मर्म सम्झनु हो ।

 

असीमित ज्ञानलाई

सीमित कथामा समेट्न खोज्दा

हुने प्रायः त्यही हो ।

 

महान् अभौतिक सन्देशहरू,

भौतिकताको उदाहरणभित्र

कैद भएर

व्यक्त गर्नु पर्दा

हुने जोखिम त्यस्तै हुन्छ ।

 

समग्र कथाहरूलाई

मात्र सन्देशवाहकको रूपमा लिऊँ

ती सन्देशहरूलाई

कथाको नियत नसम्झौँ ।

 

हामीलाई उपलब्ध

सूचनाको सम्प्रेषण गर्ने भाषा,

स्रोत र साधनमा रहेको

सीमितताको

कमजोरीका रूपमा बुझौँ ।

 

त्यसैले त प्रकृतिले

हामीलाई विवेक दिएको छ

त्यसको उपयोग गरौँ ।

 

वेदका ज्ञानको चुरो सन्देश

लेखिएका, भनिएका र वाचन गरिएका

सामग्रीहरूबाट

ग्रहण गर्ने कोसिस गरौँ ।

 

समग्रमा कथाको

सार सन्देश

बुझ्ने कोसिस गरौँ ।

 

ज्ञानप्राप्ति गर्न पहिला

ध्यानी बनौँ, विवेकी बनौँ ।

 

– नारायण घिमिरे, अथर्ववेदाचार्य

टोरन्टो, क्यानडा

56Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: