मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

निर्माण हुँदै छ एलोपेथिक भन्दा छिटो रोग निको गर्ने आयुर्वेदिक दबाई?

नारायण घिमिरे।

वेद र फिजिक्सको दृष्टिकोण अनुरूप मिसाएर हेर्दा काली प्रकट शक्ति  अर्थात् अभिव्यक्त शक्ति (Visible Energy) हुन् भने महाकाली अव्यक्त शक्ति (Dark Energy) हुन्। संसार २०% काली (Visible Energy) अभिव्यक्त शक्ति र ८०% अव्यक्त महाकाली शक्ति  (Dark Energy) शक्ति निर्मित छ।

 

सूक्ष्म कण र ती कणहरू बिच हुने अन्तरक्रियाले हाम्रा सबै ज्ञात वास्तविकता हरुको निर्माण गरेको छ।§प्रकृतिमा रहेका हरेक कणहरूको आफ्नै विशिष्ट, अद्वितीय गुणहरू भेटिन्छ। तिनीहरूलाई तिनका थोरै मात्र गुणहरूको आधारमा परिभाषित गर्ने गरिन्छ। जस्तै तिनीहरूको द्रव्यमान (mass), विद्युतीय चार्ज (electric charge), रङ्ग चार्ज (Colour Charge), र कमजोर हाइपर चार्ज (weak hypercharge)। सूक्ष्म कणहरूले देखाउने गुणहरू पूर्ण रूपमा आज सम्म बुझ सकिएको छैन। ब्रह्माण्ड (Universe) निर्माणको आधारभूत पक्ष रहेका ती सूक्ष्म कणहरू पहिचान गर्न उपयोग गरिने स्थिर मानाङ्क (fundamental constant) को मानहरू (Values) हाल सम्म थाहा भएको कुनै पनि कुराबाट निकाल्न सकिने स्थिति छैन।

 

पुरातन समयदेखि, विज्ञानको अनुमान के थियो भने अति सानो अकाट्य अर्थात् त्यसलाई त्यो भन्दा सानो टुक्रामा विभाजन गर्न नसकिने कुनै न कुनै चिजको  टुक्रा वाट हरेक पदार्थ निर्माण भएको हुनुपर्दछ। जसको भौतिक अस्तित्वमा सबै कुराहरू निर्माण सम्भव बन्यो। यही वेला विज्ञानले भेटेको सबैभन्दा सूक्ष्म तत्त्वलाई  ग्रीक शब्द ἄτομος लेख्यो। त्यो  शब्द “याटम” थियो।

 

एटमको शाब्दिक अर्थ अविभाज्य अर्थात् त्यो भन्दा सानोमा टुक्राउन नसकिने टुक्रा। समय क्रममा एटमको अणुलाई प्रोटोन, न्यूट्रोन र इलेकट्रोनका परमाणुहरूमा थप विभाजन गर्न सम्भव बन्यो। जसमा हालसम्म इलेकट्रोनहरू वास्तवमै त्यो भन्दा सानो टुक्रामा काट्न नसकिने स्थितिमा छन्। प्रोटोन र न्युट्रोनहरू लाई भने थप विभाजन गरी क्वार्क र ग्लुऑनहरू टुक्राउन सकिएको छ। अब इलेकट्रोन, क्वार्क र ग्लुऑनहरू लाई त्यो भन्दा सानो टुक्रामा काट्न सकिने उपाय हामीलाई प्राप्त भएको छैन। आज विज्ञान त्यहाँ पुगेर अड्किएको छ। त्यस पछाडिको सांसारिक तथा जीवनका रहस्यहरू क्वान्टम मेकानिक्सको ज्ञानको आधारमा वेदका ज्ञानहरूको मिलान गर्दा प्राप्त गर्न सकिन्छ।

 

आयुर्वेद अथर्ववेदको उपवेद (उपभाग) हो। जसलाई पञ्चम वेद (पाँचौँ वेद) समेत भन्ने गरिएको छ। ऋषि सुश्रुत र ऋषि चरक लाई  प्राचीन वैदिक चिकित्सा विज्ञानको अग्रणी पात्र मानिन्छ। आयुर्वेदले शरीर, इन्द्रिय, मन र आत्माको मिलन वाट बन्ने जीवनको ज्ञान उपलब्ध गराउने गर्दछ। हाम्रो परम्परामा अनुरूप आफूले सद्भाव राख्ने हाम्रा, राम्रा र नजिकका प्रियजनहरू लाई मनै देखि दिइने आशिष् वा शुभ कामनामा ‘दीर्घायु भव’ हो।

 

दीर्घायु भवको वास्तविक मतलब तपाइको शरीर, इन्द्रिय, मन र आत्मा बिचको सहज सहकार्य अत्यन्त लामो समय सम्म सुचारु रहोस् भनिएको हो। तिनीहरू बिचको अत्यन्त लामो सहज सहकार्यले तपाइको आयु लम्मिने मात्र होइन तपाइको आयु लामो बनिरहँदा तपाइको जीवनको गुणस्तर समेत संवृद्ध बनिदिन्छ।

 

संवृद्ध गुणस्तरको अर्थ तपाईँ जहाँ जुन अवस्थामा हुनुहुन्छ त्यसको यथार्थ पक्षलाई स्विकारेर आफू सुखी खुसी रहने कलामा अभ्यस्त हुन तपाइको आत्मबललाई जरुरी हुने मूल आधारशिला (Substratum) उपलब्ध हुनु हो। त्यसो हुँदा तपाइले आफ्नो आचार बिचार लाइ स्वस्थ र सन्तुलित राख्न सक्दा तपाईँमा ब्लिस अर्थात् आनन्द विभोर रहेर जिउने कलामा अभ्यस्त हुन सक्ने क्षमताको विकास गर्ने सम्भव रहन्छ। आफ्नो आचार बिचार लाई स्वस्थ र सन्तुलित राखी अहङ्कार र ईर्ष्या त्यागी तपाईँ जिउँदै यही पृथ्वी तपाइको लागि स्वर्ग रहेको अनुभूति गर्न सक्नु हुन्छ।

 

यो कुरा सामान्य हो कि हामी राम्रो कार र घरलाई दाल भात तरकारी अचार आदि जलाएर शक्ति निकालेर दिने प्रयास गर्दैनौ। तिनै दाल, तरकारी, अचार, रोटी आदि खाना ठिक्क भुटेर जलाउन प्रयोग हुने घिउ वा तेल जस्तै प्रकृतिका तर फरक तेल वा इथानोल वाट हाम्रा सवारी साधनहरू चल्दछ। हामीले खाएको खाना अत्यन्त सानो सार तत्त्वमा पचेर परिवर्तन भई मिकोकोंड्रियामा पुगे पछि त्यहाँ अक्सिजनको उपस्थितिमा जलेर ऊर्जा निस्कन्छ।

 

मिकोकोंड्रियामा खानाको सार तत्त्व जलाउने क्रममा (अग्नि) को प्रयोग (ADP to ATP) अनि (NADP+ to NADPH) हुन्छ। जहाँ एउटा ग्लुकोज र छ वटा अक्सिजन प्रयोग भएर ६ वटा कार्बन डाइअक्साइड र छ वटा पानी बन्ने गर्दछ। उक्त प्रक्रियाको मलिकुलर लेबलमा कार्बन, हाइड्रोजन र अक्सिजन मात्र नभएर त्यस भित्रका इलेकट्रोन, प्रोटोन र न्युट्रोन आदि कुनै तत्त्वको पनि क्षति भएको हुँदैन। तिनीहरू बिच पुनर्संरचना भएर तिनीहरू समग्रमा एउटा रूप वाट अर्को रूपमा परिवर्तन भएका हुन्छन्।

 

यसरी पदार्थको सार तत्त्वमा चैँ कुनै परिवर्तन छैन मात्र तिनीहरूले दिने रूपमा मात्र भएको परिवर्तनको क्रममा हामीले शक्ति कहाँ वाट प्राप्त गरी रहेका छौ त? जब तपाईँले यसको उत्तर बुझ्नु हुन्छ-झ्याप्पै वेद बुझ्नु हुन्छ। आधुनिक विज्ञानले प्रमाणित गरेको तथ्य के हो भने हाम्रो शरीर दिनभर प्राप्त गर्ने ऊर्जाको आवश्यकताको दुई तिहाइ भागको लागि प्रकाशमा निर्भर रहन्छ।

 

बाँकी रहेको एक तिहाइ मात्र हामीले खाने खाना बाट आउँछ। खाना बाट आउने शक्तिमा पानी, खाना र अक्सिजनको भूमिका हुन्छ। जसमा तपाईँले पौष्टिक भन्नु भएको खानाको मात्र २% भूमिका रहन्छ। खानाले प्रकाश वाट सोसेर लिएको शक्ति हामीलाई दिन्छ। बाँकी भूमिका अक्सिजन र पानीको हुन्छ। अक्सिजन र पानीले प्रकाश वाट नै प्राप्त गरेको शक्ति हामीलाई उपलब्ध गराउने गर्दछ। रसायन शास्त्रमा अक्सिजनको परमाणुमा इलेकट्रोन थपी दिएर नेगेटिभ चार्जमा परिवर्तन गर्दा सोस्ने र त्यसपछि फेरी तटस्थ अवस्थामा फर्कन पर्दा उकाल्ने वा उत्सर्जन गर्ने ऊर्जाको मात्रा लाई अक्सिजनको परमाणुको इलेकट्रोनको ऎफ़िनिटि भनिन्छ।

 

जुन हरेक अक्सिजनको मलिकुलको १४१, हाइड्रोजनको ७२.८ र कार्बनको १५३.९ किलोजुल हुने गर्दछ। यहाँ इलेकट्रोन ऎफ़िनिटिले हैन यथार्थमा त्यो भन्दा गहिरो क्वान्टम पार्टिकल ऎफ़िनिटिले काम गरेको हुनु पर्छ।

 

आधुनिक विज्ञानको प्रमाणित तथ्य अनुरूप नै कुरा गर्दा समेत एउटा रूप वाट अर्को रूपमा परिवर्तन भएका पोषण दायक तत्त्व आफैले आफ्नो संरचनाको केही पनि कुरा गुमाएका हुँदैनन्। तिनीहरू प्रकाश वाट शक्ति निल्ने-ओकल्ने गरी सम्पूर्ण शक्तिको चक्रमा चलिदिएकाले हाम्रो जीवन आदि चलेको छ। त्यो वैदिक अवधारणाको चुरो सन्देश हो। हाम्रो सूर्य सिद्धान्तको चुरो कुरो हो। विज्ञान घुमी घुमी त्यतै टूपुल्किएको भेटिन्छ।

 

प्रकृतिमा रहेका धेरै बस्तुहरूमा हिलिङ्ग गुणका यौगिकहरू भेटिन्छ। हाम्रो स्थानीयतामा भेटिने निम्न बस्तुहरूमा रहने अद्भुत यौगिकहरू प्राणीले विभिन्न कारण वाट झेल्नु पर्ने दैनिक तनावसँग लड्न मद्दत गर्न लागि सजिलो होस भनी प्रकृतिले दैविक आश्चर्यको रूपमा सिर्जना गरेको भेटिन्छ। सम्पूर्ण प्रकृतिका मानव चिकित्साका उपचारका प्रयासहरूमा शरीर भित्रका एक निश्चित रिसेप्टरहरुमा निश्चित यौगिकको भूमिका सम्पन्न गर्ने र तत्कालको अल्पकालीन उपचार विधि अपनाउने गरिन्छ। जसको आफ्नै साइड ईफेक्ट हुने गर्दछ।

 

प्राकृतिक रूपमा हाम्रो वातावरणमा उपलब्ध एडापटोजेन्सहरू लाई हाम्रो खाना मार्फत रक्त सञ्चार हुँदै शरीर प्रवाहित गरी विभिन्न जटिल कोणका शरीरका प्रणालीहरूको समस्या समाधानमा शरीरलाई सहयोग गरी हामी स्वस्थ रहने उपाय अवलम्बन गर्न सक्दछौ। पेटमा एसिड उत्पादनको (हाइपोक्लोरहाइड्रिया) कमी भएर पाचन प्रक्रियामा समस्या हुने मानिसहरूका लागि हाइड्रोक्लोरिक एसिडको पूरक स्रोतको रूपमा केही डाक्टरहरूले बेटेन हाइड्रोक्लोराइड (Betaine hydrochloride) सिफारिस गर्ने गर्दछन्।

 

२० मिलिग्राम बेटेन हाइड्रोक्लोराइड लाई ४:१ गोजिबेरी (Wolfberry i.e. Lycium barbarum) फ्रुट एक्सट्रेक्ट पिएर प्रतिस्थापन गर्न सकिन्छ। बाथ रोग, जोर्नीको दुखाइ र मांसपेशीको क्षयको समस्या समाधान गर्न प्रयोग गरिने यौगिक सप्लिमेन्ट मिथायलसल्फोक्सीमिथेन (Methylsulfonylmethane, MSM) हो। जबकि  २० मिली ग्राम मिथायलसल्फोक्सीमिथेन लाई काउसोको (Velvet-bean i.e. Mucuna pruriens) जराको ४:१ एक्सट्रेक्ट ४० मिली ग्राम (अथवा पिनेको जरा १२० मिली ग्राम) वाट प्रतिस्थापन गर्न सकिन्छ।

 

अल्फा-लाइपोइक एसिडले ( DL-alpha-lipoic acid) रगतमा चिनीको मात्रा कम गर्न मद्दत गर्छ। कोशिकाहरूमा पैदा हुने फ्री-रेडिकलहरू नियन्त्रण गरी शरीरका संवेदनशील अङ्गहरूको सुरक्षा गर्न पर्दा, मधुमेहको र पेरिफेरल न्यूरोपैथीका कारण दुखाइ, जलन, चिलाउने र स्नायुको  क्षतिका कारण हात र खुट्टामा  झनझन हुने समस्या आदिमा डिएल अल्फा लिपोईक एसिड दिने गरिन्छ।

 

जिन्सिंगको नेपाली नाम चौताजारो हो। मका (Maca) अर्थात् पेरुवियन जिन्सिंग (Lepidium meyenii) को जराको ४:१ एक्सट्रेक्ट (१० मिलिग्राम) वा ४० मिलिग्राम ताजा एक्सट्रेक्ट खाएर अथवा अर्को विकल्पमा शिलाजीत (Shilajit) २० मिलिग्राम पानी वा पेयमा हाली पिएर १ मिलिग्राम डिएल अल्फा लिपोईक एसिड वाट गरिने उपचार पद्धति लाई  प्राकृतिक उपचार पद्धति वाट प्रतिस्थापन गर्न सकिन्छ।

 

कोशिकाहरूमा पैदा हुने फ्री-रेडिकलहरू नियन्त्रण गरी शरीरका संवेदनशील अङ्गहरूको सुरक्षा गर्न एन्टीअक्सिडेन्ट गुण भएको तागत वर्धक, उमेर तन्देरी राख्ने, मनोवैज्ञानिक सबलता दिने एवं यौन क्षमता समेत चुस्त राख्ने प्रकृतिका प्राकृतिक जडीबुटी यथार्थमा कायाकल्प कायम गर्ने प्राकृतिक एडापटोजिन्सहरू हुन्।

 

हाम्रो स्थानियातामा साइबेरियन जिन्सिंग (Eleutherococcus senticosus) जराको ४:१ एक्सट्रेक्ट २५ मिली ग्राम (अथवा पिनेको जरा १०० मिली ग्राम), अश्वगन्धा (Withania somnifera) जराको ४:१ एक्सट्रेक्ट ३० मिली ग्राम (अथवा पिनेको जरा १२० मिली ग्राम), संकु (Schisandra i.e. Schisandra chinensis) फ्रुट ४:१ एक्सट्रेक्ट २० मिली ग्राम (अथवा कच्चा रस ८० मिली ग्राम), गोखुर Tribulus (Tribulus terrestris) फ्रुट ४:१ एक्सट्रेक्ट २० मिली ग्राम (अथवा कच्चा रस ८० मिली ग्राम) तथा ब्राह्मी / घोडटाप्रे (Bacopa i.e. Bacopa monnieri) सम्पूर्ण बिरुवाको १५:१ एक्सट्रेक्ट २५ मिली ग्राम (अथवा कच्चा रस ३७५ मिली ग्राम), हर्रो  (Chebulic myrobalan – Terminalia chebula) फ्रुट ६:१ एक्सट्रेक्ट २५ मिली ग्राम (अथवा कच्चा रस १५० मिली ग्राम), हर्रो  सोलो अर्थात् रोधीओला (सञ्जीवनी) (Roseroot i.e. Rhodiola rosea) जराको एक्सट्रेक्ट ४:१  मिली ग्राम (अथवा कच्चा रस १२० मिली ग्राम), लालीगुराँस (Rhododendron chrysanthum) को पातको ५:१  एक्सट्रेक्ट (अर्क) २५ मिलिग्राम (अर्थात् पातको जुस १२५ मिलिग्राम) आदि हाम्रो प्रकृतिको अमूल्य उपहार रुपी हामीलाई उपलब्ध प्राकृतिक एडापटोजिन्सहरू हुन्।

 

सामान्यतया लालीगुराँसको चियाले पाचन दरिलो बनाउने, आन्द्राको स्वस्थ सुधार गर्ने, फोक्सोको विकारमा हटाउने गर्दछ।लालीगुराँसको फुलको रस डिसेन्ट्री, पखाला, डिटोक्सिफिकेशन, इन्फ्लामेसन, ज्वरो, कब्जियत, ब्रोन्काइटिस र दमको रोगहरूको रोकथाम र उपचारमा सहयोगी बन्छ। लालीगुराँसको पातको चियाका एन्टिअक्सिडेन्ट र एन्टिमाइक्रोबियल गुणहरू क्यान्सर प्रतिरोधी हुने, छालाको रोगको उपचारमा आउने, मिर्गौला र कलेजोको कार्य क्षमता सुधार गर्ने गर्दछ।

 

सय ग्राममा अमला भिटामिन सी २७.७ मिलिग्राम, नियासिन (बी-३) ०.३ मिलिग्राम, भिटामिन बी-२ (रिबोफ्लेभिन) ०.०३ मिलिग्राम, थायामिन (बी-१) ०.४ मिलिग्राम र जिङ्क ०.१२ मिलिग्रामको हाराहारीमा भेटिन्छ। नियासिनमाइड भिटामिन बी-३ एक रूप हो जसले  छालाको प्रोटिन निर्माण गर्न तथा छाला लाई हाइड्रेसन गरी मुलायमपन दिने गर्दछ। छालालाई वातावरणीय क्षतिबाट सुरक्षा प्रदान गर्न नियासिनमाइडको भूमिका रहन्छ।

 

अमला र अमिलो जातिका फलफूलमा हुने भिटामिन सीले शरीरमा गर्ने कार्यको हिसाबमा नियासिनमाइडकै समान कार्यहरू गरिरहेको हुन्छ। भिटामिन सीले छालाका जीर्ण कोशिका अर्थात् पत्र हटाएर नयाँ व्यवस्था गरी छाला चम्किलो बनाउनको लागि उत्तम हुन्छ। नियासिनमाइड भने छालालाई ओसिलो चम्किलो राख्न भिटामिन सी भन्दा उत्तम हुन्छ।

 

हामीले सप्लिमेन्ट वाट पूर्ति गर्ने ६ मिलिग्रामको भिटामिन बि-६ (पाइरिडोक्सिन हाइड्रोक्लोराइड), ५ मिलिग्रामको जिङ्क (जिङ्क अक्साइड), १ मिलिग्रामको भिटामिन बी- २ (रिबोफ्लेभिन) तथा  ३ मिलिग्रामको भिटामिन बी- १ थायामिन (थियामिन हाइड्रोक्लोराइड) आदि अमला वाट सहजै पूर्ति गर्न सकिन्छ।

 

अदुवामा (Zingiber officinale) रहेको जिंजरोल र शोगाओल जस्ता यौगिकहरूले मानिसको वाकवाकी, दुखाइ, इन्फ्लामेसन (सूजन) कम गर्न, मधुमेह र क्यान्सर जोखिम घटाउन तथा मुटुको स्वास्थ्य र मस्तिष्क स्वास्थ्य राख्ने भूमिका खेल्दछ। अदुवाले पाचन शक्ति लाई सहज बनाउँछ। गर्भावस्थाको सुरुको तथा डुङ्गा, कार, विमानमा यात्रा गर्दा हुने वाकवाकी घटाउन र उल्लेखित समस्यामा अदुवाको गानाको ४:१ एक्सट्रेक्ट ५ मिलिग्राम (अर्थात् जुस २० मिलिग्राम) उपयोगी बन्दछ। भिटामिन बि-१२ (cyanocobalamin) रातो रक्त कोशिका र डिएनए निर्माण गर्न जरुरी हुने भिटामिन हो।  मस्तिष्क र स्नायुको कोशिकाहरूको वृद्धि  विकास र कार्य सुचारु राख्नको लागि भिटामिन बि-१२ प्रमुख भूमिकामा रहन्छ।

 

मानिसले माछा मासुबाट प्राय प्राप्त गर्ने  भिटामिन बि-१२  (सायनोकोबालामिन) मासुको श्रोत बाहेक दूध, दूधको उत्पादन, अण्डा आदि वाट समेत पूर्ति गर्न सक्दछ। इस्ट र बि-१२ फोर्टीफाईड गरिएका पूरक खानाहरू मानिसहरूका लागि बि-१२ को मुख्य श्रोत हुने गर्दछ। शरीरमा  बि-१२ को आपूर्तिको लागि १२० एमसीजीको बि-१२  (सायनोकोबालामिन) ट्याब्लेट समेत खाने गरिन्छ। खानामा अदुवा र बेसारको उपस्थितिले भिटामिन बि-१२ को पाचन सहज बन्छ।

 

आजको औषधि विज्ञानको चुनौती के हो भने एलोपेथिक औषधि विज्ञानमा हरेक पदार्थमा हुने मलिकुलहरु सम्भव भए जति सुद्ध रूपमा लिएर तिनीहरूको गुणको पहिचान गरी त्यसको आधारमा मानिसमा विकसित भएका विभिन्न रोगहरूको उपचार गर्ने तरिका अपनाउने गरिन्छ। जसमा एक वा सो भन्दा धेरै शुद्ध मलिकुलहरु खान हुने पदार्थ अर्थात् एक्सिपिएन्ट सँगै मिलाएर उपयोग गरिन्छ। यो विधि रोगविरुद्ध तत्काल असर दिएर राहत दिन अति प्रभावकारी छ। तर यसको साइड इफेक्टको हद अलि चर्को हुने गर्दछ।

 

अर्को तर्फ आयुर्वेदिक, प्राचीन चाइनिज औषध, युनानी र सिद्ध जस्ता विधिहरूमा तिनै सारतत्व वा सारतत्वले दिने प्रभाव भएका सारतत्व दिने प्राकृतिक जडीबुटी लगायतका पदार्थहरू पन्च तत्त्वको कम्पोजिसन मैत्री हुने गरी (जस्तै वात, पित्त, कफ) उपचारमा प्रयोग हुन्छ। यसको प्रभाव भने एलोपेथिक ओखती जस्तो तत्काल नदेखिने तर साइड इफेक्टको हद न्यून भेटिन्छ।

 

एलोपेथिक औषधि विज्ञानमा भएको आज सम्मको अत्यन्त धेरै अनुसन्धानले प्राय सबै जसो रोगहरू निको गर्ने वा सहयोगी हुने मलिकुलहरु र तिनले काम गर्ने विधि तरिका वारेको ज्ञान दिने बृहत्तर अभिलेख उपलब्ध छ।

 

अर्को तर्फ आयुर्वेदिक, प्राचीन चाइनिज औषध, युनानी र सिद्ध जस्ता विधिमा प्रयोग हुने प्राकृतिक जडीबुटी लगायतका प्राकृतिक चिजहरू उनीहरूको काम गर्ने विधिहरू तथा सारतत्वले दिने प्रभाव वारेको अनुसन्धानको बृहत्तर अभिलेख (बिगडाटा) हामीलाई उपलब्ध हो।

 

यी दुई बृहत्तर अभिलेख हरुको बिचको निश्चित सम्बन्धहरू पहिचान गर्न सकिने अल्गो रिदम विकास गरी तुलना गर्न सक्दा निकट भविष्यमा आयुर्वेदिक पद्धतिले दिने न्यून साइड इफेक्ट र एलोपेथिक औषधिले दिने रोगविरुद्ध तत्काल दिने प्रभावकारी राहत युक्त लाखौँ लाख प्राकृतिक ओखतीको फर्मुलेसन सम्भव बन्ने छ। यसले भविष्यमा कसरी एलोपेथिक औषधि भन्दा पनि छिटो तत्काल राहत दिएर बिमारी निको गर्न सक्ने न्यून साइड इफेक्टको आयुर्वेदिक ओखती बन्ने चरणमा छ भन्ने प्रस्ट पर्दछ।

(खाद्य तथा औषधि विज्ञ, क्यानडा)

124Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: