मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वैज्ञानिक परीक्षणको कसीमा मन्त्रको शक्ति!!

नारायण घिमिरे

तपाई बाटोमा हिँड्दै जाँदा नयाँ कुरा देख्नु भयो भने सायद त्यसको फोटो वा भिडियो खिचेर अन्यलाई देखाउन सक्नु हुन्छ। नयाँ चिज वारेको जानकारी समाजमा ल्याउने पहिलो व्यक्ति बन्न सक्नुहुन्छ। तर तपाईँ  त्यो कुराको निर्माण कर्ता मानिनु हुन्न। किनकि तपाई त्यो बस्तु पहिलो पटक देख्ने मानिस हो। निर्माण कर्ता होइन। संयोगले तपाईँको नाम उक्त नयाँ चिजबारेको ज्ञान समाजमा पुर्‍याउने पहिलो व्यक्तिमा दर्ज हुन सक्छ। वैदिक मान्यता अनुरूप वेदको सवालमा ज्ञान मानव समुदाय सम्म ल्याउन सहयोग गर्ने ऋषिहरू लाई त्यही रूपमा ग्रहण गरिन्छ। स्थापित मान्यतामा ध्यान र तपस्यामा एकाग्र भएर लामो समय सम्म मेडिटेसनमा रहन सक्ने व्यक्ति आफू रहेको वातावरण वाट विभिन्न सूचनाहरू प्राप्त गर्ने र त्यसलाई गहिरो अर्थ दिनसक्ने मन्त्र रुपी श्लोकमा व्यक्त गर्न सक्षम बन्न सक्छ। विगतमा हाम्रा ऋषिहरूले त्यही मार्ग अवलम्बन गरी  दैविक ज्ञान प्राप्त गरी ती ज्ञानहरू लाई मन्त्रको रूपमा संश्लेषण गरी समाजमा पुर्‍याउन सफल बने।

 

हाम्रा चार वेदहरू हाम्रा ऋषिहरूले आफ्नो ध्यानको मध्यम वाट दिव्य शक्ति मार्फत महसुस गरे। त्यसैलाई अर्थपूर्ण मन्त्रको रूपमा परिवर्तन गरी एक सन्तति वाट अर्को सन्ततिमा हु-बहु पुर्‍याउन सफल बने। अक्षर र लेख्ने पद्दति विकास भएपछि लिपिबद्ध गरियो। त्यसैले हाम्रो मान्यतामा हाम्रा वेदहरूको कुनै सर्जक वा लेखक छैनन्। तसर्थ यसलाई श्रुति अन्तर्गत राखियो। जस जसले वेदको अध्ययन गरे र त्यसको आधारमा आफ्नो अवधारणा विकास गरी आफ्नो समेत विचार मिसाएर अन्य सहायक ग्रन्थहरू तैयार गरे त्यसलाई स्मृति भनियो। हाम्रो परम्परागत मान्यतामा तसर्थ ऋषिहरू तपस्या वा अन्य उपयुक्त साधना मार्फत दिव्य ज्ञान प्राप्त गरी, त्यसको उपादेयताको महसुस गरेर समाजमा आफूले भेटेको ब्रम्हज्ञान आफ्नो सन्तति लाई हस्तान्तरण गर्ने अलौकिक पात्र हुन्।

 

ऋषि जस्तै समाजमा प्रयोग हुने अर्को शब्द  छ “गुरु”। हाल हाम्रो समाजमा अध्यात्मिक अनुभव प्राप्त गरेका व्यक्तिको लागि गुरु शब्द प्रयोग गरिने गरेको भेटिन्छ। शाब्दिक रूपमा “गुरु”  शब्दको अर्थ ज्ञान प्राप्ति गर्न सहयोग गरी आफ्नो जीवनमा रहेको अज्ञानताको अँध्यारोलाई हटाउन सहयोग गर्ने व्यक्ति हो। जहाँ गुरु शब्दको “गु” ले ज्ञानमा रहेको अन्धकारपन लाई जनाउँदछ। “रु” शब्दले अन्धकार वाट छुटकारा दिलाउने वा मुक्ति भन्ने अर्थ दिन्छ। हाम्रो परम्परामा गुरु शब्द मात्र आध्यात्मिकमा सीमित नभएर आफ्नो जीवनमा रहेको कुनै पनि अध्यात्मिक वा व्यवहारिक पक्ष सँग सम्बन्धित अज्ञानता हटाएर ज्ञान दिलाउन सहयोग गर्न मुख्य भूमिकामा रहेको व्यक्ति लाई जनाउँदछ। आफ्नो जीवनको अन्धकार वाट उज्यालो तर्फको यात्रामा अघि बढ्न प्रभावकारी भूमिका खेल्ने मुख्य पात्र लाइ गुरु भावको आदर दिन सुझाइन्छ।

 

आफ्नो जीवन कालमा विज्ञानको गहिरो खोज र अनुशान्धनमा कहिल्यै नघुसेका, अर्काले लेखेको विज्ञानका सतही कुरो पढेको भरमा अवधारणा बनाएर व्यापक बुद्धि विलास गर्न सिपालु बनेको हाम्रो समाजको एउटा निकै ठुलो भुइफ़ुत्ता बुद्धिजीवी वर्ग वैदिक मन्त्रहरूमा निकै ठुलो शक्ति रहन्छ भन्यो भने अरिङ्गाले शैलीमा झम्टन आइपुग्दछन्। मन्त्रहरूले बिरामीका रोगहरू निको पार्ने, वर्षा नभई रहेको अवस्थामा बर्साद समेत गराउन सम्भव गराउने बनाउने भन्यो भने त त्यसो भन्नेहरूलाई अबैज्ञानिक र पागल करार गर्न साइबर भेडाहरूको समूहमै सक्रियता बढ्दछ।

अथर्व-वैदिक मन्त्रले टाउको तथा आँखाको दुखाइ, छालाको रोग, ज्वरो, कुष्ठरोग, क्षयरोग जस्ता माइक्रोबियल रोगहरू, स्नायु सम्बन्धी रोगहरू आदिलाई निको पार्न प्रभावकारी भूमिका खेल्दछ भन्ने मान्यतामा आफूलाई बौज्ञानिक विचारधाराको सामाजिक अभियन्ता बताउनेहरूको व्यापक तिरस्कारको विषय बनिरहँदा स्वयम विज्ञानको भने उनीहरू वाट व्यक्त विचारमा कुनै सहमति रहेको भेटिँदैन। एकातर्फ वेदका मन्त्रहरूको शक्ति र तिनीहरूको रोगको उपचारलाई प्रभावकारी बनाउने गुणलाई वेदमा उच्च प्रविधि युक्त पद्दति ठानिएको छ। आयुर्वेदले समेत यस्ता उपचार प्रणालीको सराहना गरेको धेरै प्रसङ्गहरू भेटिन्छ। अर्को तर्फ विज्ञानले समेत यसलाई गलत प्रमाणित गर्न सकेको छैन। उल्टो एक पछि अर्को गर्दै गरिएका वैज्ञानिक परीक्षणहरू मार्फत मन्त्रको अधभुत शक्ति हुने यथार्थ वैज्ञानिक रूपमै प्रमाणित हुने क्रम बढिरहेको देखिन्छ।

 

सन् १७८५ मा एन्टोइन लाभोइजरले आफ्नो खोजको आधारमा ल अफ कन्जर्वेसन अफ मास भन्दै एउटा वैज्ञानिक नियमको प्रतिपादन गरे। संक्षिप्त रूपमा यसले भन्छ: पदार्थ न त सिर्जना गरिएको कुरा हो न त नष्ट नै हुने। सन् १८४२ मा जूलियस रॉबर्ट मेयरले ल अफ इनर्जी कन्जर्वेसनको नाममा पहिलो ऊर्जा संरक्षणको सिद्धान्त पत्ता लगाए र संक्षिप्त रूपमा थर्मोडिनामिक्को अर्को नियम लेखे ‘ऊर्जा न त सिर्जना गरिएको हो, न त नष्ट नै हुने गर्दछ’।

 

सन् १९०५ तिर अल्बर्ट आइन्स्टाइनले जब E = mc2 समीकरणको घोषणा गरे, नतिजा स्वोरुप दुवै वैज्ञानिक सिद्धान्तहरूको मिलन गरी भनियो ‘ब्रह्माण्डमा पिण्ड (द्रव्यमान) र ऊर्जाको कुल मात्रा स्थिर रहन्छ’। त्यस पछि नै हालको वैज्ञानिक अवधारणा ‘शक्ति न त पैदा गर्न सकिन्छ न त नष्ट नै। सकिन्छ त मात्र एक रूप वाट अर्को रूपमा परिवर्तन गर्न‘ भन्ने सम्पूर्ण अवधारणा प्रस्ट गर्न सकियो। हाम्रा बुद्धि विलासी महा-बौद्धिक वर्गलाई माथि उल्लेखित विज्ञानका कथाहरू प्राय: कण्ठस्थ रहेको भेटिन्छ। उनीहरूको चुरो समस्या उनीहरूले थाहा पाएर पनि थाहा नपाएको जस्तो अभिनय गर्ने, सुनेर पनि नसुनेको जस्तो बहानामा स्विकार्न नचाहने दशौँ सताब्दिको आसपासका वेदको रूपमा संस्लेष्ण गरिएको वैज्ञानिक यथार्थता मात्र हो।

 

वेदका अनुसार ब्रह्माण्डमा पुगेका कुनै पनि कुराहरू हराउने गर्दैनन्। आज भन्दा लाखौँ वर्ष पहिले भएको कुराहरू नै किन नहोस् तिनीहरू अझै ब्रह्माण्डमा रहने हुँदा कुनै उपयुक्त तरिका वाट तिनीहरू बारे थाहा लाग्न सक्ने छ, किनभने तिनीहरूको आवाज अझै यही  ब्रह्माण्ड मानै छ। हामीले सुन्ने ध्वनि जुन कम्पन र तरङ्गहरूको शृङ्खला हो, त्यो विभिन्न तरिकाहरू वाट ब्रह्माण्डमा प्रसारित हुने गर्दछ। जस्तै: प्रकाशले आवाज बोक्न सक्छ। यसको इलेक्ट्रो – म्याग्नेटिक ऊर्जा रहन्छ। जुन आज आधुनिक विज्ञानले समेत प्रमाणित गरिसकेको छ।

 

वेद भन्छ तरङ्गित हावाको अणुहरूको घर्षण मार्फत उत्पन्न हुने ध्वनि मार्फत अर्को बस्तु, जनावर वा व्यक्ति वाट उत्पन्न भएको आवाज वा शब्द सामान्य अवस्थामा मानिसले महसुस गर्दछ। त्यसलाई आफ्नो अनुभवको आधारमा संस्लेष्ण गरी त्यो बारे आफ्नो मान्यता विकास गर्छ। जसमा आफ्नै प्रकारको कम्पन हुन्छ। प्रकाशको किरणको सन्दर्भमा भने प्रकाशको आफ्नो आफ्नै प्रकृतिको कम्पन हुन्छ। प्रकाशको ध्वनिको कम्पनको प्रकृति हाम्रो सामान्य कानले सुन्न सक्ने भन्दा सूक्ष्म र फरक ढङ्गको हुने गर्दछ। मानिस जब उक्त तरङ्गहरू सुन्न सक्ने गरी आफूलाई अभ्यस्त गराउन सक्दछ, तब उसले त्यहाँ रहेका सूक्ष्म आवाजहरूमा समेत पहुँच ब्रिद्दि गर्न सक्दछ। उक्त ध्वनि बारे आफूलाई अभ्यस्त गराउन सक्दा ध्वनिका आधारमा प्राप्त शब्द हरुलाई संस्लेष्ण गरी मानिसले त्यसमा रहेका विषय बस्तु बारे आफ्नो धारणा बनाउन मतलब सुन्न र बुझ्न सक्षम बनाउन सक्दछ। ब्रह्माण्डमा रहेका प्राय: सबै नै पदार्थले ध्वनि वा तरङ्ग उत्पन्न गर्ने हुँदा ध्यान र उपासना मार्फत उक्त आवाजहरू सुन्ने गरी आफ्नो क्षमता विकास गरेका तपस्वी हाम्रा पूर्वजले आफूलाई ऋषिको रूपमा आफ्नो इतिहास निर्माण गर्न सम्भव बनाएको देखिन्छ।

 

वेदको ब्रह्माण्डमा रहेका कुनै पनि कुराहरू हराउने गर्दैनन् भन्ने अवधारणा होस वा   प्रकाशको किरण सँगै विभिन्न ध्वोनीहरु हिँड्ने यथार्थ आधुनिक विज्ञानले वैज्ञानिक परीक्षण मार्फत पुष्टि गरी स्वीकारेका कुरा हुन्। तपाई तनहुँको बोके खोला वाट साइकलमा गुल्मीको मालिका गाउँ जमपोखरामा घुम्ती हाट बजार तिर लाग्नु भएको ५ घण्टा पछि यदि मैले भटभटे लिएर तपाइको पछि पछि आए भने तपाइलाई मैले कवि-लास गाविसको जुगेडी तिर भेट्न सम्भव हुन्छ। जसले मलाई तपाइको भौतिक शरीरको नजर गर्ने, तपाई सँग वात चित गर्ने मौका उपलब्ध हुन सक्छ। हाल सम्म सबै भन्दा तीव्र गतिमा हिँड्ने भौतीक पदार्थमा प्रकाशको किरण रहेको अनुमान गर्ने विज्ञानले यदि आफूले प्रकाशको किरण भन्दा तीव्र हिँड्ने तरिका पत्ता लगाउन सकियो भने ब्रह्माण्डमा प्रसारित भइरहेका ति ध्वनिहरू सुनेर हाम्रो इतिहासमा भएका घटना क्रम पत्ता लगाउन सकिने विश्वास गर्दछ। त्यही सिद्धान्तको आधारमा टाइम मिसिन बनाउन सकियो भने हामीले आफ्नो बुढो उमेरलाई तन्देरी उमेरको समयमा पुर्‍याउन सकिन्छ भन्ने आधारमा निकै धेरै गहिरो वैज्ञानिक अनुशन्धानहरु भइरहेका छन्।

 

३८० न्यानो मिटरको तरङ्ग हुने प्रकाशको अल्ट्राभायोलेट किरणको उज्यालो छर्की दिँदा डिएनएमा रहेको थाई-माइनको दुई अणुहरू बिचको सन्तुलन भत्काई दिएर बिग्रिएको डिएनएको पि-५३ नामक थुप्रो बनाइ दिएर कीटाणुको कोशिकाको नष्ट गरिदिने हुँदा आज खानामा रहेको हानिकारक ब्याक्टेरिया मार्न युभी-प्रविधिको व्यापक प्रयोग भएको छ। त्यस्तै माइक्रो वेब, लेजर प्रविधि आज भोलि व्यापक प्रयोगमा छ। यहाँ निर रमाइलो के छ भने विशेष प्रकृतिको ध्वनिको प्रयोग गरी आफ्नो खाना वाट विषाक्त जीवाणु माइक्रो वेब, लेजर प्रविधिले मार्दै ब्रेकफास्ट, लन्च र डिनर हसुर्ने हाम्रो बिद्धत वर्ग आफै भने वेदले ध्वनिले माइक्रोबियल रोगहरू निको पार्ने क्षमताको गहिरो अर्थ बुझ्न नसकी वेदका उक्त विचारधाराहरूको निन्दा गर्ने  पङ्क्तिका खडा भएको देख्न पाइन्छ।  लेजर प्रविधिको आँखाको उपचार लगायतको विभिन्न उपचार सम्भव बन्नुको पछाडिको पहिलो ज्ञानको श्रोत के थियो त्यसलाई मुक्त कण्ठले जस दिन सक्ने हैसियतमा आफूलाई उभ्याउन सकिरहेका छैनन्।

 

स्वस्थ मानिसको रगतमा नुनको मात्रा करिब ०.१५३ मोल प्रति लिटरको हाराहारीमा, चिनी १४० मिलिग्राम प्रति डेसीलिटर भन्दा कम अपेक्षा गरिन्छ। ३७ डिग्री सेल्सियसको सरिएको तापक्रम भएको मानिसको रगतको औसत अस्मोटिक प्रेसर ७.८ वारको हाराहारी रहने आशा गरिन्छ। हाम्रो वातावरणमा रहने धेरै जसो ई.कोली नामक ब्याक्टेरियाहरू  तुलनात्मक रूपमा खासै हानिकारक हुँदैनन्। कतिपयले कहिले काहीँ हल्का पखाला लगाउने गर्दछन्। ई.कोलीको ओ-१५७:एच-७ जातको स्ट्रेनले भने हामीमा गम्भीर पेट काट्ने, दिसामा रगतमा देखिने प्रकृतिको पखला लगाउने, बान्ता हुने रोग लगाउँदछ।

 

वेदका अनुसार हाम्रो ब्रह्माण्डमा हामीले पहिचान गर्न सक्ने र नसक्ने श्रव्य ध्वनिहरू व्यापक रूपमा अवस्थित छ।विज्ञानले आजको मिति सम्म श्रव्य ध्वनिको जैविक जीवाणुमा हुने प्रभाव बारे अत्यन्त न्यून जैविक अनुसन्धानहरू गरेको छ। तर पनि जीव र श्रव्य ध्वनिको बिचको सम्बन्ध बारे केही अध्ययनहरू भएका छन्।

 

२००९ को डिसेम्बरमा चाइनाको हेनान विश्वविद्यालय, झेजियांग विश्वविद्यालय र वुहान विश्वविद्यालयले श्रव्य ध्वनिले सामान्य अवस्था र वातावरणीय तनावको अवस्था अन्तर्गत ई.कोलीको कोशिकामा कस्तो प्रभाव पार्दछ भनी व्यापक अध्ययन अनुसन्धान गर्‍यो। अनुसन्धानको नतिजा अनुसार सामान्य स्थितिमा राखिएको ई.कोलीमा पुर्‍याइएको श्रव्य ध्वनिका कारण ई.कोलीको कोलोनी वा झुप्पाको वृद्धिमा उल्लेखनीय रूपमा वृद्धि भएको भेटियो।

 

जब तिनै ई.कोली ब्याक्टेरियालाई चिनी र नुन युक्त ओस्मोटिक तनावको वातावरणमा राखेर श्रव्य ध्वनि सुनाएर र सो बिना परीक्षण गरियो, तब ओस्मोटिक तनावको अवस्थामा भने श्रव्य ध्वनिले ई.कोलीको वृद्धिमा  अत्यन्त धेरै निषेधात्मक प्रभाव बढाएको पाइयो। सामान्य तय ३० ग्राम प्रति लिटरको नुनको मात्राले ई.कोली ब्याक्टेरियाको गतिविधि पूर्ण रूपमा निषेधित हुने गर्दछ। तर जब आवाजको तरङ्ग र ध्वनिको उपस्थिति रहयो त्यो समयमा २० ग्राम प्रतिलिटर नुन भएको वातावरणमा नै ई.कोली ब्याक्टेरियाको गतिविधि रोक्न सम्भव देखियो।

 

संसारमै प्रतिष्ठित विश्वविद्यालयको ध्वनिको रोग निम्ताउने परजीवीहरू नियन्त्रण गर्न सहयोग हुने २०१० मार्चमा एल्सेविएर साइन्स डिरेक्टमा प्रकाशित अनुसन्धानको विवरण निष्कर्ष सहित नेसनल लाइब्रेरी अफ मेडिसिन, नेसनल सेन्टर फर बायोटेक्नोलोजी इन्फरमेसनले सङ्ग्रहमा राख्यो।

 

अनुसन्धानको यो नतिजामा वेदमा उल्लेख भए अनुरूप मन्त्रको ध्वनि स्वतन्त्र रहदा मानव मात्र नभएर जीव जन्तुहरूको लागि समेत उत्थान गर्ने प्रकृतिको रहन्छ। जब उक्त जीव अर्को जीवमा हानि गर्ने उद्देश्यमा पुग्दछ, उसले प्रतिकुलता बेहोर्न पर्दछ। किनकि हानि गर्ने उद्देश्यमा एकापसमा तनावको अवस्था पैदा हुन्छ। तनावको अवस्थामा मन्त्रको ध्वनि तनावकारी पक्षको लागि प्रत्युत्पादक बनिदिन्छ। वैज्ञानिक परीक्षणको यो नतिजालाई वेदको अवधारणा पुष्टि गर्न सहयोग गर्ने नतिजाको रूपमा लिन सकिन्छ।

 

धार्मिक जप, मन्त्र, विभिन्न प्रकारका ध्यान आदिको मानिसको न्युरल सह-संबंधहरुका बारेमा थोरै भएता पनि केही अत्यन्त गुणस्तर युक्त र विस्तृत वैज्ञानिक अनुसन्धानहरू भएको बारे वैज्ञानिक समुदायहरू परिचित छ। मार्च २०१९ मा नेचरको साइन्टिफिकमा प्रकाशित  बहु-मोडल इलेक्ट्रोफिजिकल र न्यूरोइमिजिंग विधिहरूको प्रयोग गरेर गरिएको अनुसन्धानको रिपोर्टले जपका कारण मानिसको मस्तिष्कको पोस्टरियोर सिन्गुलेट कर्टेक्सको ईजिनभेक्टर सेन्ट्रालिटिमा ठुलो गिरावट हुने पुष्टि गरेको देखिन्छ। अनुसन्धान कर्ताहरूको अनुमानमा जपका कारण मस्तिष्क क्षेत्रमा हुन पुगेको आन्तरिक डेल्टा ओसिलेशन यसको लागि जिम्मेवार छ। समग्रमा यो अनुसन्धानले  अथर्व-वैदिक मन्त्रले एक प्रभावकारी मनोवैज्ञानिक थेरापीको काम गर्ने हुँदा दिमाग र शरीरको अन्तर सम्बन्धमा सुधार ल्याई भौतिक शरीर र ऊर्जाको व्यवस्थापन मार्फत सोचाई र गराई बिचको सामन्जस्यता पैदा गर्न र मानसिक स्वस्थको अभिवृद्धि गर्ने सहयोग पुर्‍याउने अवधारणाको पुष्टि गर्न बल पुर्याउदछ।

 

बर्सादको ध्वनि सामान्यतया शून्य देखि २० किलो हर्ज हुने गर्दछ। स्वोभाबिक प्राकृतिक क्रिया रहेको बर्सादको ध्वनिले झट्टै निराश हुने मानिसको मस्तिष्कमा सङ्गीतले  जस्तै आरामको महसुस गराउँदछ। बर्सादको बिचको मेघको गर्जनले भने मानिसमा तनाव उत्पन्न गर्दछ। किनकि गड्याङ्ग गुडुङ्गको आवाजले मानिसमा चिन्ता लगाउने हार्मोन कोर्टिसोलको मात्रा उच्च गरिदिन्छ। आरामको अवस्था भनेको मानिस अत्यन्तै कडा ध्यानमा केन्द्रित रहनु पर्ने वा विशेष कार्यमा संलग्न बनी रहन नपरीरहेको अवस्थालाई जनाउँदछ। उक्त अवस्थामा मानिसको दिमागले आठ देखि बाह्र हर्जको तरङ्गहरू उत्पादन गर्ने गर्दछ। तिनै तरङ्गका कारण मानिसले अपेक्षाकृत शान्त र आरामको महसुस गर्छ। जसलाई अल्फा तरङ्गको नाम दिइएको छ।

 

अध्ययनहरूले पत्ता लगाए अनुसार वर्षाको आवाज मानिसको दिमागमा प्रवेश गर्दै गर्दा दिमागले अन्जामै विश्राम लिने गर्दछ। फल स्वोरुप त्यहाँ अल्फा तरङ्गहरू उत्पादन हुन पुग्छ। जुन मानव निद्रामा पर्दा हुने दिमागको नजिकैको अवस्था हो। सामान्य भाषामा भन्दा बर्सादको टिक-टिकको आवाजलाई मस्तिष्कले अद्भुत लयबद्ध लोरीको रूपमा महसुस गर्ने हुँदा यसले मानिसलाई चाँडै निदाउन मद्दत गर्दछ।

 

तिब्बती सुख्खा पहाडी भूभागमा चीनको सिंघुवा विश्वविद्यालयको स्टेट कि लेबोरेटरी अफ हाइड्रो साइन्स एन्ड इन्जिनियरिङका प्राध्यापक वाङ गुआंगकियानको नेतृत्वमा सन् २०२० मा आवाजको प्रयोग मार्फत मौसमको हेरफेर गर्न सकिने – नसकिने विषयमा एक अनुसन्धान गरियो। अनुसन्धानकर्ताहरूले आकाश तर्फ विशाल लाउड-स्पीकर फर्काएर कम-फ्रीक्योयन्सिको ध्वनिको तरङ्ग छाड्दा फराकिलो तिब्बती सुख्खा पहाडी भूभागमा उनीहरूले १७ प्रतिशत सम्म वर्षा बढेको भेट्टाए। उनीहरू ध्वनि शक्तिले बादलको फिजिक्समा परिवर्तन ल्याउन संभव हुने निचोडमा पुगे। सफल अनुसन्धान पश्चात् सावधानी पूर्वक  पिएर- रिभियु समेत पुरा गरी प्रतिष्ठित जर्नल साइन्टिया सिनिका टेक्नोलोजीले जनवरी २०२१ मा  प्रकाशित गरेको उक्त अनुसन्धानको निचोडले कम फ्रीक्योयन्सिको ध्वनिको तरङ्गको प्रयोग गरी सुख्खा ग्रस्त क्षेत्रमा वर्षा गराउन सकिने भएको समाचार बिश्वभर पुर्यायो। बेजिङ स्थित सिंघुवा विश्वविद्यालयका अन्वेषकहरूले गरेको उक्त अध्ययनको नतिजाले वेदले उल्लेख गरेको मन्त्र मार्फत बर्साद गराउन सकिने विषयको वैज्ञानिक पुष्टि गरिदिएको छ।

(खाद्य तथा औषधि विज्ञ क्यानडा)

Share this:

WRITE COMMENTS FOR THIS ARTICLE