मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वैज्ञानिक भावार्थमा ऋग्वेद – भाग ३

नारायण घिमिरे

जब तपाईँ वेदमा उल्लेखित अत्यन्त गहिरा कुराहरू बुझ्ने र महसुस गर्ने मौका पाउनु हुन्छ तब तपाइलाइ यकिन हुन्छ  कि  हाम्रा वेदहरू विज्ञानका हरेक हाइपोथेसिसका स्रोतहरू हुन्। यसका हरेक मन्त्र वैज्ञानिक अनुसन्धानको सिद्धान्तको रूपमा लिपिबद्ध गरिएका छन्। जसलाई वेद आफैले अध्ययनशील, दक्ष, योग्य, अनुभवी र अनुसन्धानमा गहिरो चाख राख्ने ज्ञानीहरू लाई उत्साह पूर्वक अन्वेषण र परीक्षणमा मार्फत व्यवहारमा लागु गरी सरा जगतको हितमा प्रयोग गर्न सल्लाह दिएको भेटिन्छ।

 

हाम्रो दुर्भाग्यको रूपमा  हिजो जति वेला विज्ञान सँग वेदमा लेखिएका यथार्थहरू परीक्षण गरी सत्य रहेको नरहेको यकिन गर्ने क्षमता थिएन त्यो बेला हाम्रा समाजका अत्यन्त बौद्धिक ठानिने हाम्रा आफ्नै भुईँफुट्टा विद्वान‎ वर्ग वेदका कुरा लाई सिउडो-साइन्स भन्दै गिल्ला गर्ने र समाजमा नकारात्मकता छर्न आफ्नो समय खर्चिए। आज विज्ञानको क्षमतामा एको विकासले वेदका निकै धेरै सिद्धान्तहरू प्रमाणित भएर त्यसको ज्ञान लाई व्यवहारिक ज्ञानमा परिवर्तन गरी हाम्रो जीवन शैलीमा निकै ठुलो प्रभाव दिने उपलब्धिहरू दिईरहेका छन्।

 

यो अवस्थामा पुग्दा समेत हाम्रा हिजोकै अत्यन्त बौद्धिक ठानिने हाम्रा आफ्नै भुईँफुट्टा विद्वान‎ वर्गको बाटो पकड्दै आजका हाम्रा केहि  नव-विद्वान‎ वर्गसमेत वेदको ज्ञान लाई पड्ने र सामान्य पुनरावलोकन समेत नगरी सीउड़ोसाइन्स मुकर्र गर्न आफ्नो न्वारन देखिको बल लगाई रहेका छन्। कुनै न कुनै सरकारी निकायमा पहुँच वाला पदमा रहेका हिजोका हाम्रा तिनै भुईँफुट्टा विद्वान‎ वर्ग वाट वरिष्ठ विज्ञको पगरी र पुरस्कारहरू बुझी रहेका छन्।

 

विज्ञानले प्रमाणित गरेका सिद्धान्तको हकमा वेदले हैन मेरो आधुनिक विज्ञानले पहिलो पटक प्रतिपादन र प्रमाणित गरेको भनी दुनियाँ हँसाउँदै  हिँडेका छन्। उनीहरूले भुली रहेका छन् कि उनीहरूको यो बहुलठ्ठी पन मुलुक पिछडिरहँदा सम्म मात्र खोक्रो बिद्वोत्वको रूपमा बिकिरहने छ। तर अन्तत सत्य नै बाहिर आउने छ। हाम्रो समाजले त्यो उक्त बहुलठ्ठी पनको पछि लाग्न छोड ने छ।

 

यहाँ उल्लेखित वेदका भावार्थहरू तिनै सन्दर्भमा जीव वैज्ञानिक दृष्टिकोण वाट व्याख्या गर्न प्रयास गरिएको छ।

 

लेख क्रियोल नेपाली भाषामा लेखिएको हुनाले यहाँ मात्र चुरो कुरा प्रस्टाउने तर्फ धेरै ध्यान दिइएको छ।

 

ऋग्वेद मन्त्र १.३८.११

मरुतो वीळुपाणिभिश चित्रा रोधस्वतीर अनु |

यातेम अखिद्रयामभिः||

 

भावार्थ: शक्तिशाली सूक्ष्म जीवहरू सङ्ख्यामा अनगिन्ती छन्। पानी जमिन, शरीर र खोला किनार आदिमा अत्यन्त सक्रिय रहन्छन।

 

ऋग्वेद मन्त्र १.३८.१२

सथिरा वः सन्तु नेमयो रथा अश्वास एषाम |

सुसंस्क्र्ता अभीशवः||

 

भावार्थ: सूक्ष्म जीवहरू अत्यन्त व्यवस्थित रूपमा सङ्गठित प्रणाली अन्तर्गत रहेर आफ्नो गतिविधिहरू सञ्चालन गर्दछन्।

 

ऋग्वेद मन्त्र १.३८.१३

अछा वदा तना गिरा जरायै बरह्मणस पतिम |

अग्निम मित्रं न दर्शतम ||

 

भावार्थ: सूक्ष्म जीवहरूको सङ्गठित, अनुशासित र  बहु-आयामिक कार्य सम्पन्न गर्ने पद्दति बारे ज्ञान प्राप्तिको लागि समग्र विषय बस्तुहरू समावेश हुन सक्ने दृष्टिकोण समाविष्ट रहेको गहिरो योजना बद्ध अध्ययन तथा अनुसन्धानको जरुरत पर्दछ।

 

ऋग्वेद मन्त्र १.३८.१४

मिमीहि शलोकम आस्यपर्जन्य इव ततनः|

गाय गायत्रम उक्थ्यम ||

 

भावार्थ: आकाशमा देखिने बादलहरू जस्तै गहिरो सोच र अनुभूति पश्चात् विकसित अवधारणा तथा ज्ञानहरू स्वतन्त्र रूपमा फैलन र विस्तार हुन दिनु आवश्यक हुन्छ। जसले गर्दा सम्बन्धित विषय बस्तु बारे झन् धेरै बुझ्न र ज्ञान प्राप्ति गर्नको लागि सहयोग पुग्दछ।

 

(नोट: यो मन्त्रको आशयले  ज्ञान जति बढ्यो त्यति बढ्ने कुरा तर्फ समेत सङ्केत गर्दछ)।

 

ऋग्वेद मन्त्र १.३८.१५

वन्दस्व मारुतं गणं तवेषम पनस्युम अर्किणम |

अस्मे वर्द्धा असन्न इह ||

 

भावार्थ: प्रकृतिका क्वान्टम पार्टिकल तथा न्यानो-टेक्नोलोजी समाविष्ट प्रविधि र पद्धतिहरूमा आधारित रहेर विकास गर्न सकिने प्रविधिहरू अनगिन्ती संख्याका हुने मात्र हैन पर्यावरणीय दृष्टिले समेत स्थायित्व दिने प्रविधिको रूपमा विकसित गर्न सकिने प्रकृतिका रहन्छन। उक्त प्रकारका उत्कृष्ट प्रविधिहरुको उपयोग वाट हानिकारक तथा प्रदूषणकारी वस्तुहरू लाई बिखालुपन निर्मलीकरण गरी सुक्खा, तटस्थ तथा गैर-विषाक्त रूपमा परिवर्तन गर्ने राज्यको शासक वर्ग, ज्ञानी-बुद्धिमानी विज्ञ वर्ग तथा आम सर्बसाधारण नागरिक संलग्न समावेशी प्रकृतिको योजना बनाउन र लागु गर्न सहयोग पुग्ने छ।

ऋग्वेद मन्त्र १.३९.१

पर यद इत्था परावतः शोचिर न मानम अस्यथ |

कस्य करत्वा मरुतः कस्य वर्पसा कं याथ कं ह धूतयः||

 

भावार्थ: सूक्ष्म-जीव शक्तिहरू (प्रकृतिक नियममा आधारित क्वान्टम पार्टिकल, न्यानो-टेक्नोलोजी तथा अन्य सूक्ष्म जीव समाविष्ट प्रविधि र पद्धतिहरू) प्रयोग गरी अत्यन्त टाढा बाट विघटन र विनाश लक्षित कार्यहरू सम्पन्न गर्न सकिन्छ। सूक्ष्म जीव शक्तिहरू लाई कसरी र कुन तरिकाले छनौट र उपयोग गरी अत्यन्त टाढा रहेरै लक्षित विघटन र विनाश कार्यहरू सम्भव बनाउन निर्देशित गर्न सकिन्छ भन्ने बारे गहिरो अन्वेषण तथा अनुसन्धानहरू वाट मात्र यकिन हुने छ।

 

(नोट: यो मन्त्रले आजको विज्ञानको एटम बम, रकेट, मिसाइल जस्ता प्रविधिले दिने ध्वंस तथा एन्थ्रेक्स, इन्फ़्लुएञ्जा, कोरोना आदिको जस्ता सङ्क्रमणलाई कसरि संसारको एक कुनामै बसेर अर्को कुनाको जीवन वा संरचना अस्त व्यस्त हुने गरी उपयोग वा दुरुपयोगमा ल्याउन सकिन्छ भन्ने बारे सङ्केत गरेको छ)।

 

ऋग्वेद मन्त्र १.३९.२  

सथिरा वः सन्त्व आयुधा पराणुदे वीळू उत परतिष्कभे |

युष्माकम अस्तु तविषी पनीयसी मा मर्त्यस्य मायिनः||

 

भावार्थ: सूक्ष्म-जीवहरूसँग अवरोधहरू सिर्जना गर्ने, नियन्त्रणमा लिने तथा जीवनमा सूक्ष्म रोगाणुहरुको सङ्क्रमणहरू तथा रोगहरू समेतलाई आश्चर्यजनक रुपमा नष्ट गर्ने अदभुत बहुमुखी क्षमता रहन्छ।

 

ऋग्वेद मन्त्र १.३९.३   

परा ह यत सथिरं हथ नरो वर्तयथा गुरु |

वि याथन वनिनः पर्थिव्या वय आशाः पर्वतानाम ||

 

भावार्थ: सूक्ष्म-जीवहरू दीर्घ रोगको कारकको रूपमा रहेको जटिल सङ्क्रमणहरूको मुख्य कारक (रुट-कज) लाई नष्ट गर्न सक्ने सामर्थ्य वान (पोटेन्ट) सारतत्व युक्त हुन्छन्। तिनीहरूले जटिल स्थानहरूमा रहेको सङ्क्रमणहरूको चुरोको रूपमा रहेका अवरोधहरू वरिपरि सम्म पुगेर अवरोध हटाउँदै दीर्घ रोगको मुख्य कारक नै नष्ट गर्ने कार्य सम्पन्न गर्दछन्।

 

(नोट: आज एन्टिबायोटिक जस्ता ओखतीहरूले समेत यस्तै प्रकृति वाट ब्याक्टेरियाहरूको नष्ट गरी ब्याक्टेरियाहरूको सङ्क्रमण वाट विकसित घाउहरू निको पार्ने काम गर्दछ।)।

 

ऋग्वेद मन्त्र १.३९.४   

नहि वः शत्रुर विविदे अधि दयवि न भूम्यां रिशादसः|

युष्माकम अस्तु तविषी तना युजा रुद्रासो नू चिद आध्र्षे ||

 

भावार्थ: पृथ्वी बाहिरका स्थानहरू पहिले देखिनै रोगाणु रहित शुद्ध रहेकोले जीवाणुहरूको बुद्धिमत्ता युक्त प्रयोगले पृथ्वीका हानिकारक रोगाणु तथा बिखालु तत्त्वहरू नष्ट गर्न सम्भव हुने छ।

 

(नोट: पृथ्वीको समुद्र सतह बाट १०० किलोमिटर माथि पुगे पछि अन्तरिक्ष वा बाहिरी तह सुरु भएको ठानिन्छ। पृथ्वीको उक्त बाहिरी तहमा पृथ्वीवाट लगिएका केही ब्याक्टेरिया लामो समयसम्म बाँच्न सकेको देखिन्छ।  भाइरसहरू लामो समयसम्म बाँच्न जीवित होस्ट नभएका कारण सकेको देखिँदैन। बाह्य अन्तरिक्षको अति चिसो, विकिरणले भरिएको वातावरणीय प्रतिकूलताको अवस्थामा रोगजनक रोगाणु तथा अन्य प्रकारको जीवनका लागि उपयुक्त देखिँदैन।)

 

ऋग्वेद मन्त्र १.३९.५   

पर वेपयन्ति पर्वतान वि विञ्चन्ति वनस्पतीन |

परो आरत मरुतो दुर्मदा इव देवासः सर्वया विशा ||

 

भावार्थ: अनुत्पादक झारलाई सम्पूर्ण रूपमा  निमित्याण्ड पार्न तथा खेर गइरहेको अनुत्पादक  वा फोहर फाल्न प्रयोग भएको डमपिङ्ग साइट रहेको जमिन लाई पुनः खेतीयोग्य वा उपयोग योग्य बनाउन सूक्ष्म जीवहरूको शक्तिको उपयोग गर्न सकिन्छ।

 

(नोट: खेर गएको अनुत्पादक वा फोहर फाल्न प्रयोग भएको भूमिको पुनः प्राप्तिको लागि भौतिक उपायहरु जस्तै: इञ्जिनियरिङ्ग, माटो विज्ञान, भूगर्भ विज्ञान र जीवविज्ञान तथा सामाजिक विज्ञानका विभिन्न विषयहरू सामेल हुने गर्दछ।)

 

ऋग्वेद मन्त्र १.३९.६    

उपो रथेषु पर्षतीर अयुग्ध्वम परष्टिर वहति रोहितः|

आ वो यामाय पर्थिवी चिद अश्रोद अबीभयन्त मानुषाः||

 

भावार्थ: अनुशासित र सङ्गठित रहेर समूहमा बहु-आयामिक कार्य सम्पन्न गर्ने सूक्ष्म-जीवहरू विभिन्न रूप, रङ्ग भएका बहुरङ्गी समूहको रुपमा रहन्छन। जमिन भित्रको पृथ्वीको कम्पन वा ध्वनिले सूक्ष्म जीवहरू लाई अत्यन्त संवेदनशील बनाउँदछ। जमिनको भित्री कम्पनका कारण सूक्ष्म जीवहरूले भूमिगत रूपमा समूहमा निकाल्ने आवाजले मानिसलाई डरलाग्दो अनुभूति गराउँदछ।

 

(नोट: पृथ्वीको सतह भित्र ५० मिटर देखि ३.२ किलोमिटर सम्म आश्चर्यजनक रूपमा  विविध माइक्रोबियल समुदायहरूको प्रचुर उपस्थिति देखिन्छ। मुख्यतया ब्याक्टेरिया र सिङ्गल सेल आर्कियल प्रजातिहरू अधिकतम देखिने उक्त सूक्ष्म जीवहरूको समुदायहरूले आफुलाई जरुरि ऊर्जा फलाम, सल्फर म्यग्नेज जस्ता अकार्बनिक सब्सट्रेटहरुको ऑक्सीकरण गरि प्राप्त गर्दछन्। अक्सिडेसन पश्चात् धातुका अक्सिडाइजरहरू माइक्रोबहरू सक्रिय रहने भूभाग भन्दा पनि तल जान सम्भव हुन्छ।

 

अत्यन्त प्रतिकुल वातावरणमा रहेका अत्यन्त कम पानी रहेको अधिक तातो (१२२ डिग्री सेल्सियस) वातावरणमा रहेको पानी वाट अनौठो र दुर्लभ हाइड्रोजन ऊर्जाको रूपमा निकाली प्रयोग गर्दै खनिजहरू टाँसिएर तिनै अणुको गति सँगै चलेर बाँचेको भेटिन्छ। अक्सिजन बिना बाँच्ने अन्य ब्याक्टेरियाहरुले तेलका भण्डारहरू अर्गानिक पदार्थहरू वाट समेत शक्ति निकाल्ने गर्दछन्। केही मेथानोट्रोप्सहरुले कार्बन र ऊर्जाको स्रोतको रूपमा मिथेन मेटाबोलिज गरेर समेत ऊर्जा प्राप्त गर्ने गर्दछन्। आफ्नो गतिविधि सञ्चालन गर्ने क्रममा सूक्ष्म-जीवहरूले पृथ्वीको भित्री तहमा विषाक्तताको निर्मलीकरण गर्ने र शुद्ध पार्ने काम गर्दछन।

 

कम गहिरो प्रकृतिको भूकम्पको समयमा  उच्च – फ्रिक्वेन्सीको श्रव्य आवाजहरू लगातार उत्पन्न हुने गर्दछ। पृथ्वीको सतहमा तरङ्गहरू उत्पन्न गर्ने उक्त आवाजको लागि पृथ्वीको भित्री सतहको सूक्ष्म जीवहरूको गतिविधि समेत जिम्मेवार ठानिन्छ। किनकि निकै गहिरो भूकम्पको बेला त्यस्तो प्रकृतिको आवाज सुनिने गर्दैन।)

 

ऋग्वेद मन्त्र १.३९.७

आ वो मक्षू तनाय कं रुद्रा अवो वर्णीमहे |

गन्ता नूनं नो ऽवसा यथा पुरेत्था कण्वाय बिभ्युषे ||

 

भावार्थ: पृथ्वीको गर्भवाट अनिष्ट हुने परिस्थितिको विकास हुँदा सूक्ष्म जीवहरूले दिने सङ्केतहरू बुझ्ने ज्ञान तथा प्रविधिको विकास गरी बुद्धिमान मानिसहरू पृथ्वीको भित्री तह वाट जीवनमा पुग्न सक्ने प्राकृतिक जोखिमका खतराहरूबाट जोगिन सम्भव हुन्छ।

 

ऋग्वेद मन्त्र १.३९.८

युष्मेषितो मरुतो मर्त्येषित आ यो नो अभ्व ईषते |

वि तं युयोत शवसा वय ओजसा वि युष्माकाभिर ऊतिभिः||

 

भावार्थ: समुदायका अबुझ सदस्यहरू जसले सामाजिक उत्तरदायित्वहरू नबुझेर वा अनदेखा गरी आफ्नो निजी स्वार्थ पूर्तिका खातिर जता-ततै फोहर फाल्ने,  वातावरण प्रदूषण गर्ने जस्ता अदूरदर्शी कार्यमा संलग्न भेटिन्छन तिनीहरू लाई समय अनुकूल उचित शिक्षा-दीक्षा दिनु अनिवार्य हुनेछ। जनचेतना अभिवृद्धिको साथ साथै प्रदूषण रहित सफा र शुद्ध वातावरण कायम राख्न प्राकृतिक बायोडिग्रेडेशन जस्ता नियन्त्रित सूक्ष्म-जीवीक्रिया जस्ता हस्तक्षेपकारी उपायहरुको अवलम्बन गर्नु उपयुक्त हुनेछ।

 

ऋग्वेद मन्त्र १.३९.९

असामि हि परयज्यवः कण्वं दद परचेतसः |

असामिभिर्मरुत आ न ऊतिभिर्गन्ता वर्ष्तिं न विद्युतः||

 

भावार्थ: सम्बन्धित विषयमा विज्ञता हासिल गरेका ज्ञानी पुरुषहरू सामाजिक हितका लागी प्रेरित हुँदै समुदायमा फैलने रोगको मूल कारक हटाउन वातावरणको प्रदूषण हटाउन सूक्ष्म-जीवी क्रिया जस्ता हस्तक्षेपकारी प्राकृतिक उपायहरूको अवलम्बन हुने गरी ठुला परियोजनाहरू स्थापनामा सहभागी हुनु पर्दछ। जसरी मौसम अनुसार हुने मेघ, चम्कने बिजुली र बर्साद द्वारा नियमित पर्यावरणको  शुद्धीकरण र  पुनर्संरचना कार्य सम्पन्न हुने गर्दछ त्यसरीनै गुणस्तरीय जीवनको प्रवर्धनका नियमित पर्यावरणको संरक्षण र शुद्धीकरण अभियान सञ्चालित रहनु अनिवार्य हुन्छ।

 

ऋग्वेद मन्त्र १.३९.१०

असाम्योजो बिभ्र्था सुदानवो.असामि धूतयः शवः|

रषिद्विषे मरुतः परिमन्यव इषुं न सर्जत दविषम ||

 

भावार्थ: सम्पूर्ण जगतको कल्याणको लागि सबै प्रकारका रोगहरूको कारकको रूपमा रहेको पर्यावरणीय प्रदूषणहरू हटाउन सम्भाव्य प्राकृतिक जैव प्रौद्योगिकीय (biotechnological) ज्ञान र क्षमतामा आधारित  प्रविधिहरूको उपयोग गरौँ।

 

ऋग्वेद मन्त्र १.६४.१ 

वर्ष्णे शर्धाय सुमखाय वेधसे नोधः सुव्र्क्तिं पर भरा मरुद्भ्यः|

अपो न धीरो मनसा सुहस्त्यो गिरः समञ्जे विदथेष्वाभुवः||

 

भावार्थ: सार्वजनिक सेवाका परियोजनाहरूमा पर्यावरणीय योजनाहरू सञ्चालनको लागि प्रशिक्षित, अत्यन्त अनुशासित तथा बहु-आयामिक क्षेत्रमा व्यवस्थित रूपमा काम गर्न सक्षम विज्ञ तथा प्राविधिज्ञहरुको (नोधः) सक्रिय सहभागिता गर्न सक्दा मात्र पर्यावरणीय सुरक्षा र शुद्धीकरणका परियोजनाहरूले समाजमा व्याप्त रोग र भोक जस्ता चुनौतीपूर्ण दीर्घकालीन सामाजिक समस्याहरू लाई पार लगाउन सक्दछ।

 

ऋग्वेद मन्त्र १.६४.२ 

ते जज्ञिरे दिव रष्वास उक्षणो रुद्रस्य मर्या असुरा अरेपसः|

पावकासः शुचयः सूर्या इव सत्वानो न दरप्सिनोघोरवर्पसः||

 

भावार्थ: प्रिबायोटिकहरू जस्ता लाभदायक पदार्थ र प्रोबायोटिकहरू जस्ता लाभकारी सूक्ष्म जीवहरू वा माइक्रोवायोमहरुको उत्पत्तिको श्रोत प्रकाश हो। प्रकाशको किरण मार्फत शुद्धीकरणको प्रक्रिया वाट गुज्रिएर आएका हुनाले तिनीहरू प्राय: पिडा युक्त रोग प्रदायक वा रोगजनक चरित्रहरु निर्माण गर्ने प्रवृति वाट मुक्त भेटिन्छन। प्रोबायोटिक माइक्रोवायोमहरुले सूर्यको किरणबाट वातावरण शुद्ध पार्ने स्वभाव तथा बर्सादको पानीको माध्यमबाट पृथ्वीमा रहेका जीवहरूको जीवनमा सकारात्मक तत्त्व र ऊर्जा निर्माण गर्ने भूमिका खेल्ने कर्मिक लक्षणहरू देखाउने चरित्र ग्रहण गरेका हुन्छन।

 

(नोट: प्रोबायोटिक्स भनेको मूलतः जिउँदो ब्याक्टेरिया वा मोर्चाको (ईष्ट) समूह हो जसले हाम्रो शरीरमा गुणकारी भूमिकाहरू खेलेर शरीरको स्वस्थ कायम तथा सुधार गर्न र पाचन प्रक्रिया सुदृढ पार्न मद्दत पुर्‍याउने गर्दछ। शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउन र मनोबैज्ञानिक स्वस्थ कायम गर्न प्रोबायोटिक वा गट माइक्रोवायोमहरुको अत्यन्त प्रभावकारी भूमिका रहने प्रमाणित भएको छ। उदाहरणको रूपमा ब्याक्टेरियाहरू बारे चर्चा गरौँ।

 

संसारमा अस्तित्वमा रहेका अत्यन्त धेरै सङ्ख्याका ब्याक्टेरियाहरू खराब प्रकृतिको हुँदैन। मानव शरीरमा अनुमानित १०० ट्रिलियन “राम्रो” ब्याक्टेरियाहरू भेटिन्छन जस मध्ये धेरै सङ्ख्या हाम्रो आन्द्रामा बस्दछन्। खाना बाट उनीहरूलाई हानिकारक हुने पदार्थ आन्द्रामा पुगेको बेला प्रतिकुल परिस्थिति वाट बच्न एपेंन्डीक्समा आश्रय लिएर लुक्छन् र आन्द्राको वातावरण अलि सहज बनेपछि पुन: आन्द्रामा फर्कन्छन्।

 

ब्याक्टेरियाहरू हाम्रा लागी केवल लाभदायक मात्र हैन हामी उक्त ब्याक्टेरियाहरू सँग मिलेर बाचिरहेका छौ। हाम्रो शरीरको विभिन्न आन्तरिक गतिविधिहरू उनीहरूको सहयोग र सहजीकरण बिना सम्भव छैन। यथार्थमा तिनीहरू बिना हामी जीवित समेत रहन नसक्ने हुन्छ त्यसैले हाम्रो अस्तित्वको लागि तिनीहरू अत्यन्त आवश्यक हुन्छन्।

 

त्यसो भन्दै गर्दा यो पनि नबिर्सौँ कि हामीलाई लाग्ने धेरै रोगहरूको पछाडि कतिपय ब्याक्टेरिया हरूकै कारण रहन्छ। जस्तै निमोनिया स्ट्रेप्टोकोकस ब्याक्टेरियाको कारण निमोनिया हुने गर्दछ। मेनिन्जाइटिस हेमोफिलस ब्याक्टेरियाको कारण इन्फ्लूएन्जा, घाँटी दुख्ने गला चिलचिलाउने रोग समूह ए को स्ट्रेप्टोकोकस ब्याक्टेरियाको कारण हुन्छ। खानालाई विषाक्त गर्ने काम एस्चेरिया कोली र साल्मोनेला जस्ता ब्याक्टेरियाहरूले गरिदिन्छ। अन्य धेरै प्रकारका  गम्भीर रोगहरूको पछाडि ब्याक्टेरिया सङ्क्रमण कारक हुने गरेको छ। यति हुँदा हुँदै पनि संसारमा अस्तित्वमा रहेका ब्याक्टेरियाहरूको प्रकारको तुलनामा तिनीहरूको सङ्ख्या नगण्य नै हुने देखिन्छ।

 

प्रोबायोटिकहरूमा लोकप्रिय बनास्पतीय  प्राकृतिक श्रोतको रूपमा  फर्मेंनटेसन गरिएको अन्न जस्तै तुम्बा, जाँड, अमिलो ड़ो, पाउरोटीको ड़ो,  फर्मेंनटेसन गरिएको फलफूल जस्तै भिनेगर, अमिलिएको फलफूल  आदि  वा फर्मेंनटेसन गरिएको सागपात तरकारी जस्तै गुन्द्रुक, किम्ची, गाडेको अचार आदि वाट आउने लेक्टोबेसिलस ब्याक्टेरियाका स्ट्रेनहरू (एल. ल्याक्टिस, एल. राम्नोसस, एल. प्लान्टारम, एल. सेसी, एल. एसिडोफिलस, एल. रीऊटेरी, आदि) र बिफिडोबक्टेरियाका स्ट्रेनहरू (बी. लङ्गगम, बी. ब्रेभी, बी. ल्याक्टिस आदि) लाई चिनिने गर्दछ।

 

औषधि पसलहरूमा उपलब्ध प्रोबायोटिक पूरक खानाहरूमा  मानव आन्द्राका कोषहरू  वा ब्यगौती दुध वा फर्मेंनटेसन गरिएको दहि, चिज, मोही आदि वाट निकालिएका प्राकृतिक ल्याक्टोबेसिली, बिफिडोबक्टेरिया, स्ट्रेप्टोकोकि र स्याक्रोमाइसेसीस जस्ता ब्याक्टेरियाका विभिन्न प्रकारका प्रजातिहरू समेत समावेश हुने  गर्दछ।

 

प्रिबायोटिकहरू भने आन्द्रामा सजिलै नपच्ने खानाका अवशेषहरू हुन् जुन प्रोबायोटिक सूक्ष्म जीवहरूको खाना हुने गर्दछ। तिनीहरूको शारीरिक विकास र नियमित गतिविधिहरू सञ्चालनमा सहयोग पुर्याऊदछ।

 

प्राणीको शरीरमा वा अन्यत्र फर्मेंनटेसनमा संलग्न हुने जीवमा हुने जीवन्त शक्तिको श्रोत सूर्यको किरण रहेको मान्यतामा उक्त प्रक्रियामा पैदा हुने प्रिबायोटिक वा प्रोबायोटिकहरूको मूल श्रोत सूर्यको प्रकाशलाई मानिएको हो। आन्द्रामा पाचनको क्रममा प्रिबायोटिकहरूले र नियन्त्रित फर्मेंनटेसनको क्रममा पैदाहुँदै गर्दा प्रोबायोटिक्सहरुले जीवको जिबनमा सकारात्मक तत्त्व र ऊर्जा निर्माण गर्ने चरित्र ग्रहण गर्ने बैदिक मान्यता छ।

 

सामान्य रूपमा बताउँदा वैज्ञानिक परीक्षणहरू वाट हानिकारक सूक्ष्म जीवहरू लाभदायक सूक्ष्म जीवहरू भन्दा तातो र प्रकाशको अल्ट्राभोइलेट किरण सँग बढी संवेदनशील रहने तिनीहरुको प्रभावमा छिट्टो छिट्टै निष्क्रिय हुने (अपवाद बाहेक) भेटिन्छ। लाभदायक सूक्ष्म जीवहरू तातो अवधि पछि समूहमा झन् धेरै सक्रिय रहेर फोहरलाई आदिलाई प्रभावकारी रूपमा बिखन्डन र निर्मलीकरण गरी कम्पोस्टमा परिवर्तन गरेको देखिन्छ।)

 

ऋग्वेद मन्त्र १.६४.३ 

युवानो रुद्रा अजरा अभोग्घनो ववक्षुरध्रिगावः पर्वता इव |

दर्ळ्हा चिद विश्वा भुवनानि पार्थिवा पर चयावयन्तिदिव्यानि मज्मना ||

 

भावार्थ: हरेक सूक्ष्म जीवहरू हर-समय ताजा जोसका साथ सक्रिय रहेर आफ्ना कार्यहरू सम्पन्न गरिरहेका हुन्छन्। प्रतिकुल वातावरणमा बाहेक बुढेसकाल लाग्ने जस्ता कारणहरूले निष्क्रिय वा ढिलो गतिमा कार्य गर्ने वा कम सक्रिय रहने उनीहरूको चरित्र हुँदैन। अत्यन्त उदार मनोवृत्ति  र शक्ति शाली क्षमतामा रहने अधिक सङ्ख्याका सूक्ष्म जीवहरू अवरोध,  दुःख, कष्ट र रोग निम्त्याउने नकारात्मक शक्तिहरू लाई छिन्न भिन्न पारि बिखन्डन गर्ने क्षमता राख्दछन।

 

ऋग्वेद मन्त्र १.६४.४ 

चित्रैरञ्जिभिर्वपुषे वयञ्जते वक्षस्सु रुक्मानधि येतिरे शुभे |

अंसेष्वेषां नि मिम्र्क्षुर रष्टयः साकं जज्ञिरे सवधया दिवो नरः||

 

भावार्थ: जीवनमा सकारात्मकता निम्त्याउने  तेजस्वी  सूक्ष्म जीवहरू सुनौला  गहना जस्ता देखिने  हतियार र पदकले सजावट गरिएका शक्ति शाली क्षमतामा सिपाहीहरूको रूपमा सबै जीवनमा जन्मँदैमा सँग सँगै आएका हुन्छन्।

 

(नोट: बच्चाको लागि जन्मने दिन माइक्रोबायोम प्राप्तिको अत्यन्त ठुलो र महत्त्वपूर्ण  दिन हो। किनकि गर्भ नली, जन्म दिँदै गरेको योनि आदि जीवाणुहरू वा  माइक्रोबायोमले भरिएको हुन्छ। जन्मको क्रममा आमाबाट पहिलो माइक्रोबायोम पाउने नवजात शिशुहरू जन्मको क्रममा पूर्ण रूपमा ब्याक्टेरियाहरूद्वारा ढाकिएर शिशुको जीवनको लागि नयाँ माइक्रोबायोमको पूर्ति गरिरहेको हुन्छ।

 

जस्तै मानिसले आफ्नो आमाबाबुबाट सबै मानव डिएनए गर्भमै विरासतमा पाउने गर्दछ। गर्भमै डिएनए जस्तै गरी विरासतमा भने माइक्रोबायोम पाइने गर्दैन। गर्भमा शिशुहरू रहदा देखि जन्मिने समय सम्म  शिशुले  कुनै सूक्ष्म जीवाणुको वा माइक्रोबायोमको सामना गर्ने गर्दैनन्। धेरै बच्चाहरूले आफ्नो जन्म हुँदै गर्दा माइक्रोबायोमको पहिलो ठुलो डोज प्राप्त गर्द छन्। गर्भको जन्म नलीमा यात्रा गर्दै गर्दा, त्यसपछि आमाले बुबाले लिएर खेलाउँदा, स्तनपान गर्दा अधिक माइक्रोबायोम बच्चाले पाउने गर्दछ।

 

सूक्ष्म-जीवाणुहरू (मोर्चा, फङ्गस, ब्याक्टेरिया, भाइरस, लेऊ, झ्याउ आदि) कोषहरूमा विभिन्न  रङ्ग का पदार्थ निर्मित हुने हुँदा विभिन्न रङ्गका देखिने गर्दछन्। कतिपय अत्यन्त आकर्षक रङ्गका समेत भेटिन्छन।  उदाहरणको लागि ब्याक्टेरियाले हरियो बोट बिरुवाहरूका क्लोरोफिल लगायत विभिन्न प्रकारहरू पिगमेन्टहरु प्रयोग गर्दछन्। विभिन्न पिगमेन्टहरुले फरक फरक रङ्गका प्रकाशका किरणहरू लाई अवशोषित गर्ने हुँदा परावर्तित किरणका कारण तिनीहरू बैजनी, गुलाबी, हरियो, पहेँलो, सुन्तला, खैरो, सुनौलो आदि रङ्गको देखिन्छन।

 

अर्कोतर्फ परमाणु भित्र रहने प्रोटोन र न्युट्रोनहरू बन्ने सूक्ष्म- क्वान्टम कण क्वार्क्सहरु रातो, निलो, र हरियो गरी तीन काल्पनिक रङ्गका हुने गर्दछन्। उक्त रङ्गका विपरीत,  माइनस-रातो, माइनस-नीलो र माइनस-हरियो रङ्गका एन्टिक्वार्क्स समेत क्वान्टम पार्टिकलको रूपमा रहने ठानिन्छ। आफ्नै विभिन्न चार्ज र तौलको (मास) संयोजन र केही बुज्न नसकिएको विशेष प्रकारका आन्तरिक गुणहरूका कारण हरेक क्वार्क आफ्नै प्रकृतिको स्वादमा अस्तित्वमा रहने गर्दछन। उदाहरणका लागि क्वार्क्स मूलतः छ स्वादहरूमा आउँछन्। ती हुन अप (माथि), डाउन (तल), टप (शीर्ष), बटम (पुछार), स्ट्रेन्ज (अनौठो) र चार्म (आकर्षक)। उक्त छ स्वादका  क्वार्कहरू लाई माथि र तल, आकर्षण र अनौठो तथा शीर्ष र पुछार गरी तीन जोडीमा समूहकृत गर्ने गरिन्छ।

 

क्वान्टम पार्टिकलको रूपमा समूहमा रहने अर्को सब एटमिक कण लेप्टोन समेत छ स्वादहरूमा भेटिन्छन। इलेकट्रोन, मुओन, टाऊ, इलेक्ट्रोन-न्युट्रिनो, मुओन-न्युट्रिनो र टाऊ-न्युट्रिनो। आन्तरिक कमसल ऊर्जा शक्तिले सूक्ष्म कणहरूमा विकास गर्ने संवेदनशीलता तिनीहरूको स्वाद (प्रवृत्ति) फरक पार्न सफल हुने गर्दछ। जसले गर्दा म्यूओन  इलेक्ट्रोनमा त्यस्तै दुई डाउन क्वार्क र एक अप क्वार्क युक्त न्युट्रन दुई अप क्वार्क र एक डाउन क्वार्क बाट बनेको प्रोटोनमा परिवर्तन हुने आदि जस्ता परिवर्तन देखिन्छ।)

 

ऋग्वेद मन्त्र १.६४.५ 

दुहन्त्यूधर्दिव्यानि धूतयो भूमिं पिन्वन्ति पयसापरिज्रयः||

ईशानक्र्तो धुनयो रिशादसो वातान विद्युतस्तविषीभिरक्रत

 

भावार्थ: ज्ञानी तथा अनुभवी वैज्ञानिक एवं अन्वेषकहरू लाई रोग र भोकमरीको विरुद्धको लडाइँको सफल नेतृत्व गर्न, मेघ उत्पन्न गरी बर्साद गराउन, प्राकृतिक उत्पादकत्व बढाउन तथा पर्यावरणको संरक्षण गर्न सूक्ष्म जीवाहरूले  सहयोग तथा सहजीकरण गर्ने छन्।

 

ऋग्वेद मन्त्र १.६४.६ 

पिन्वन्त्यपो मरुतः सुदानवः पयो घर्तवद विदथेष्वाभुवः|

अत्यं न मिहे वि नयन्ति वाजिनमुत्सं दुहन्ति सतनयन्तमक्षितम ||

 

भावार्थ: सूक्ष्म जीवाहरू परोपकारी सकारात्मक परिवर्तनका संवाहकहरू हुन। तिनीहरूको कारण वाट नै जीवन धान्ने पानी, मोटोपन कम गर्ने दूध, स्वास्थ्य वर्धक पौष्टिकता पूर्ण सारतत्व आदिको उपलब्धता सम्भव बन्छ। परोपकारी कार्यहरू पुरागर्न नियमित बर्साद, खोला तथा नदीहरूको बहाव आदि सम्भव तुल्याउने कार्य गर्दछन। बादलको उत्पत्ति र आवागमन व्यवस्थापनमा समेत सूक्ष्म जीवाहरूले भूमिका खेलिरहेका हुन्छन्।

 

(नोट: दूध प्रोटिनको एक उत्कृष्ट स्रोत हो। हरेक धावक वा खेलाडीहरुको आहारको चार्टको एक हिस्साको रूपमा दूधलाई समावेश गरिनुको मुख्य कारण यसले मांसपेशीको निर्माणमा सहयोग गर्ने, दूधको प्रोटिनले भोक कम गराउने र तृप्ति बढाउन मद्दत गर्दा पेटको बोसो समेत घटाउँदछ। चरनमा चरी घाँस खाने गाइको दूधमा राम्रो मात्रामा लिनोलिक एसिडका कन्जुगेटहरु, ओमेगा-३ जस्ता मोटोपना घटाउने, क्यान्सर, मधुमेह, र हृदय रोग जस्ता रोग प्रतिरोधी तत्त्वहरू रहने प्रमाणित भएको छ।)

 

ऋग्वेद मन्त्र १.६४.७ 

महिषासो मायिनश्चित्रभानवो गिरयो न सवतवसो रघुष्यदः|

मर्गा इव हस्तिनः खादथा वना यदारुणीषु तविषीरयुग्ध्वम ||

 

भावार्थ: आगोको जस्तो अथवा रातो पहेँलो रङ्गका सूक्ष्म जीवहरू अत्यन्त धेरै सक्रिय रहेर बृहत् लाभकारी गतिविधिहरूमा संलग्न हुने सूक्ष्म जीवहरू हुन्।

 

(नोट: सूक्ष्म जीवहरू प्राकृतिक रूपमा हुने पिगमेन्टहरूको सबैभन्दा व्यापक समूह रहेकाले क्यारोटीनोइडको पूर्ति गर्ने  स्रोतको रूपमा व्यापक रुपमा प्रयोग हुने गर्दछन।  संरचनात्मक रूपमा हाल सम्म ७५० भन्दा धेरै प्रकारका रातो पहेँलो वर्गमा पर्ने पहेँलो, सुन्तला र रातो रङ्गका युकरीयोट र प्रोकारियोट प्रकृतिका सूक्ष्म जीवहरू भेटिएका छन्। क्यारोटीनोइडहरूले  सूक्ष्म जीवहरूको कोशिकालाई प्रकाशको किरण वाट हुने फोटोअक्सिडेटिब ड्यामेज वा क्षति हुन वाट जोगाउँदछ। तिनीहरूको त्यही गुण पर्यावरण संरक्षण, खाना र पोषण, रोग नियन्त्रण, शक्तिशाली एन्टिमाइक्रोबियल एजेन्टहरूको रूपमा प्रयोग गर्न उपयोगमा आउने हुँदा यो अत्यन्त महत्त्वपूर्ण वा उपयोगी हुन गएको हो।)

 

ऋग्वेद मन्त्र १.६४.८ 

सिंहा इव नानदति परचेतसः पिशा इव सुपिशो विश्ववेदसः|

कषपो जिन्वन्तः पर्षतीभिर रष्टिभिः समित सबाधः शवसाहिमन्यवः||

 

भावार्थ: आगोको जस्तो अथवा रातो पहेँलो रङ्गका सूक्ष्म जीवहरू वातावरणमा रहेका विषाक्त जैविक पदार्थहरूको बिखन्डन गरि निर्मलीकरण गर्ने क्षमतावान राख्दछन। तिनीहरूले सक्रियताले वातावरणमा अत्यन्त प्रभावकारी जैविक सुरक्षाको स्थिति पैदा हुने गर्दछ। जीवहरूमा जीवन सञ्चालनका नियमित क्रियाहरूमा अवरोध पैदा हुदै गर्दा फोहोर जम्मा हुन जाने र त्यसै वाट सङ्क्रामक रोगको विकास गर्ने मूल कारकको रूपमा रहेको अवरोध लाई तिर लगाई दिएर रातो पहेँलो रङ्गका सूक्ष्म जीवहरूले बिरामीलाई निको पार्ने क्षमता प्रदर्शन गर्दछन।

 

ऋग्वेद मन्त्र १.६४.९  

रोदसी आ वदता गणश्रियो नर्षाचः शूराः शवसाहिमन्यवः|

आ वन्धुरेष्वमतिर्न दर्शता विद्युन न तस्थौ मरुतो रथेषु वः||

 

भावार्थ: अधिक सङ्ख्याको शक्ति, निरन्तरको सक्रिय क्रियाशीलता, लाभदायक कार्य उन्मुख गतिविधि आदिको कारण सकारात्मक जीव रुपी सूक्ष्म जीवहरू पुरा ब्रह्माण्डमा आधिपत्य जमाउन सफल रहेर सम्पूर्ण जीवनको सेवा गर्ने गर्दछन।

 

ऋग्वेद मन्त्र १.६४.१०   

विश्ववेदसो रयिभिः समोकसः सम्मिश्लासस्तविषीभिर्विरप्शिनः|

अस्तार इषुं दधिरे गभस्त्योरनन्तशुष्मा वर्षखादयो नरः||

 

भावार्थ: बृहत् कनसोर्टीयम बनाएर समूहमा कार्यरत रहने सूक्ष्म जीवहरू समूहमा रहेर गतिबिधिहरु सञ्चालन गर्ने क्रममा सङ्गीतमय आवाजहरू निकाल्न सक्दछन्। नियमित रुपमा सक्रिय र जोसिलो रहेर जीवनहरूमा सकारात्मकता ल्याउने, सुरक्षा प्रदान गर्ने गर्ने यी सूक्ष्म-जीवहरू समृद्ध समाजका कुशल स्वस्थ प्रदायक सदस्य हुन।

 

ऋग्वेद मन्त्र १.६४.११
हिरण्ययेभिः पविभिः पयोव्र्ध उज्जिघ्नन्त आपथ्यो न पर्वतान |

मखा अयासः सवस्र्तो धरुवच्युतो दुध्रक्र्तो मरुतो भराजद्र्ष्टयः||

 

भावार्थ: सूक्ष्म जीवहरूको अगाध वातावरणीय प्रेम, विश्वास, सृजनशीलता एवं प्रजनन र सन्तान वृद्धि जस्ता गतिविधिहरूमा दृढ कर्मनिष्ठताको स्वर्णिम रथ युक्त क्रियाशीलताले बादल सिर्जना गर्ने परिस्थितिको निर्माणको लागि सहजीकरण गर्दछ।

 

(नोट:पछिल्लो समयमा वातावरणमा उच्च स्थानमा बस्ने जीवाणुहरू बर्साद गराउनको लागि जिम्मेवार रहने वैज्ञानिक प्रमाणहरू भेटिएको छ। वैज्ञानिकहरूको अनुसन्धानमा ब्याक्टेरियाहरूले उनीहरूको वरिपरि बरफको गठनलाई बढवा दिन्छन् र वायुमण्डलमा उच्च आकारको बादल उत्पन्न गर्दछ। उच्च स्थानमा विकसित हुँदै गरेको अत्यधिक चार्जवाट ब्याक्टेरियामा आन्तरिक अस्तव्यस्तता पैदा हुन पुग्दा ब्याक्टेरियाका प्रोटिनहरू चार्ज हुन गई सक्रिय बन्दछ। जसरी डर लाग्दा मानिसको छालामा काँडाहरू उठ्ने गर्दछ त्यस्तै उक्त गतिविधिले ब्याक्टेरियामा समेत त्यसको प्रोटिन उत्प्रेरित भई काँडा जस्तो झुसको रूपमा बाहिर निस्कन्छ। उक्त झुसे प्रोटिन हरू सन्तुलित हुन हताश हताश आफ्ना वरिपरि रहेको पानीको बाफसँग टाँसिने र साझेदार प्रोटिनहरूमा फ्युज हुने वा मिल्ने कार्यहरू नियमित गर्दछ। उक्त क्रममा पानीको मलिकुल बिच विकसित हुने अन्तर्क्रिया उनीहरू एक आपसमा घुलनशील भएर पानीको ठुलो थोपा र बरफको रूपमा विकसित हुँदै बादल बन्ने हद सम्मको परिस्थितिको विकास हुन्छ।)

 

ऋग्वेद मन्त्र १.६४.१२

घर्षुं पावकं वनिनं विचर्षणिं रुद्रस्य सूनुं हवसा गर्णीमसि |

रजस्तुरं तवसं मारुतं गणं रजीषिणंव्र्षणं सश्चत शरिये ||

 

भावार्थ: रोगका मूल सूक्ष्म  कारकहरू विनाश गर्ने र खुसी ल्याउने संस्कार बोकेका प्रकृतिमा अस्तित्वमा रहेका हरेक जीवनको रक्षा कवच बनी रहेका सूक्ष्म जीवहरू ती जीवनहरू सँगै सङ्गीत र प्रार्थना जस्तै समानार्थी सह-अस्तित्वमा अस्तित्वमा छन।

 

(नोट:कलाका विभिन्न रूपहरूमा सङ्गीतलाई सबैभन्दा अमूर्त र अल्पकालीन कलाको रूप मानिन्छ। सङ्गीत लाई हामी देख्न सक्दैनौँ। आफ्नो हातले छुन वा समात्न पनि सक्दैनौँ। तर पनि यसले हामीलाई हामी भित्र र संसारभरि काम गरिरहेको महसुस दिलाउँदछ। एक ईश्वरीय उपस्थिति यदि संसारमा छ भने त्यस्तै रूपमा रहेको हुनुपर्दछ। त्यसैले त पूजाको समयको आराधना वा योगको समयको सङ्गीत एक शब्दहीन प्रार्थनाको रूपमा हाम्रा कल्पनाहरू लाई जीवनको ईश्वरीय शक्तिको स्रोत सँग जोड्न सहयोग गरिरहेको हुन्छ। हाम्रो परम्पराले सङ्गीतलाई प्रार्थनाको एक रूप ठान्दछ। पूजा (वा योग) र प्रार्थना (वा आराधना) हाम्रा आध्यात्मिक सिंहासनका सगसगै जोडिएर रहने दुई खुट्टाहरूका रूपमा हमेसा अस्तित्वमा रहे।  एकले  अर्कालाई परस्परमा सहयोग गर्दै सङ्गीत र प्रार्थना यथार्थमा समानार्थी एउटै विषय रहेको अनुभूति दिलाउन सफल बने।

 

हमेसा बृहत् कनसोर्टीयम बनाएर समूहमा कार्यरत रहने संसारमा अस्तित्वमा रहेका सूक्ष्म जीवहरूको गतिबिधिहरु लाई लिपि बद्ध गरी जोडेर हेर्दा तिनीहरूले समेत सङ्गीतको निश्चित मेलोडी दिने गरेको भेटिन्छ। हालै वैज्ञानिकहरू मानव माइक्रोवायोमहरु जम्मा गरी त्यसलाई एक मेलोडिको रूपमा सङ्गीत बद्ध गराएर प्रस्तुत गर्न सफल बने पछि भविष्यमा हाम्रो शरीर वाट आउने माइक्रोवायोमहरुको आवाजहरू मध्ये  हामीलाई लाभकारी हुने माइक्रोवायोमको मेलोडीवाट हानिगर्ने माइक्रोवायोमको मेलोडी छुट्टाएर शरीरको आवाज मात्र सुनेको भरमा कुन रोगाणुको सङ्क्रमण भएको हो भनी छुट्टाउन सकिने हुन सक्छ कि भनेर उत्साह पूर्वक अन्वेषण  र  परीक्षणमा लागिरहेका छन्। अर्को कुरा, विज्ञानले नै मिठास युक्त साङ्गीतिक वातावरणमा सूक्ष्म जीवहरूको वृद्धि र सक्रियता अत्यन्त प्रभावकारी रहने समेत प्रमाणित गरिसकेको छ।)

 

ऋग्वेद मन्त्र १.६४.१३

पर नू स मर्तः शवसा जनानति तस्थौ व ऊती मरुतो यमावत |

अर्वद्भिर्वजं भरते धना नर्भिराप्र्छ्यंक्रतुमा कषेति पुष्यति ||

 

भावार्थ: सूक्ष्म जीवहरूको समयोचित सदुपयोग गर्न सफल समाजले समग्र मानव तथा पशु कल्याण प्राप्ति मार्फत वैभव, समृद्धि र सम्मान प्राप्त गर्दछ।

 

ऋग्वेद मन्त्र १.६४.१४

चर्क्र्त्यं मरुतः पर्त्सु दुष्टरं दयुमन्तं शुष्मं मघवत्सु धत्तन |

धनस्प्र्तमुक्थ्यं विश्वचर्षणिं तोकं पुष्येम तनयं शतं हिमः||

 

भावार्थ: सूक्ष्म जीवहरूको समयोचित सदुपयोग गर्न सफल मानिसहरू जीवनका हरेक पक्षका लडाइँहरूमा अजेय बन्दछन। वैभव, समृद्धिका साथै दीर्घ आयु प्राप्त गर्न सक्दछन।

 

ऋग्वेद मन्त्र १.६४.१५

नू षठिरं मरुतो वीरवन्तं रतीषाहं रयिमस्मासु धत्त |

सहस्रिणं शतिनं शूशुवांसं परातर मक्षू धियावसुर जगम्यात ||

 

भावार्थ: टिकाऊ प्रकृतिको  साधन र श्रोतले भरपुर पर्यावरण तथा मानव संसाधनलाई अति प्रशंसा गर्न योग्य, बुद्धि, विद्या र पुरुषार्थ युक्त विद्वानको रूपमा वैभवशाली र समृद्धि बनाउन सूक्ष्म जीवहरूको महत्त्व, तागत र व्यवहारिक उपयोगिता वारेको ज्ञानको जरुरत पर्दछ।

 

(खाद्य तथा औषधि विज्ञ, क्यानडा।)

 

119Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: