मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वैदिक मान्यताका नव-अछुत बर्ग।

नारायण घिमिरे

वेद परम्परागत विज्ञान हो। यसले संसारको संरचना र अस्तित्व बारे प्राकृतिक सिद्धान्त बारे मात्र कुरा गर्दछ। त्यहाँ कुनै जात पात वा तल्लो माथिल्लो स्तरको मानव भनी न त भेद भाव छ। न त्यसलाई स्विकार्छ नै। न त यसमा नारी र लोग्ने मान्छे बिच कुनै भेदभाव गरेको भेटिन्छ। वेदको सारतत्व बारे अध्ययन गरे यो बारे प्रस्ट हुन्छ।

 

कुरै गर्ने हो भने पुरातन संस्कृत ऋग्वेदको पुरुष सुक्तम पदमा पहिलो पटक वर्णको उल्लेख भएको पाइन्छ। पुरुषको अर्थ आदिम प्राणी हो। आदिम प्राणी आफैमा केटा वा केटी के हो भनी नछुट्टिने तेश्रो लिङ्गी (दुवै शक्ति नेगेटिभ र पोजेटिभ – यथार्थमा न्युट्रल पनि) एक आदिम मानव (शिव शक्ति) लाई जनाउँदछ। वैदिक विज्ञानमा नृत्य रुपी कम्पन अथवा शिव शक्ति रुपी क्वान्टम पार्टिकल निर्माण हुने कम्पन शक्ति लाई ब्रह्म वा आत्माको नाम दिइएको छ। जस वाट सारा ब्रह्माण्डको निर्माण भएको छ। तेश्रो लिङ्गी आदिम मानवको आत्म बलिदान मार्फत नर वा छोरो मानिसको गुण अधिक भएको (जीवन्त शक्ति बीज युक्त) र नारि वा छोरी मान्छेको अधिक गुण भएको (ग्रहण र उत्पादन शील डिम्ब शक्ति युक्त) मानवको विकास भएको भन्न खोजेको छ।

 

अन्नमय कोष (भौतिक शरीर), प्राणमय कोष (जीवन्त शक्ति आत्मा), मनोमय कोष (वैचारिक वा मस्तिष्क), विञ्ञाणमय कोष (चेतनशीलता वा कन्ससनेस) र आनन्दमय कोष (धन्यपन वा ब्लिसफूल) गरी पाँच प्रकारको कोष निर्मित शरीरको अपरा र परा प्रकृतिको शक्ति बिचमा पुलको रूपमा रहेर  संयोजन गर्ने काम पुरुष शक्तिको हुने ठानिन्छ।

 

तेश्रो लिङ्गी, पुरुष वा नारी रुपी मानव संरचना अनगिन्ती कम्पनहरूको अनन्त नृत्य रुपी कम्पन निर्मित सूक्ष्म कण (क्वान्टम पार्टिकल) निर्मित भनेको छ। जसको अस्तित्वमा त्यसको स्थान र समयको अनिवार्य जरुरत हुन्छ। जसलाई थ्रीडाईमेन्सनलको रूपमा लिइएको छ। लिङ्गको पहिचान नहुने बाहेक आदिम प्राणी र महिला पुरुषको शरीरको सूक्ष्म कण निर्मित एटम सबैमा एकै प्रकृतिको हुने आशय त्यहाँ झल्कन्छ। उक्त कार्य पद्दति बारे बताउन समाजमा प्रस्ट रूपमा बुझाउने भावार्थमा चार वर्णको प्रसङ्ग झिकिएको छ। जस अनुरूप ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र वर्ण बारे सङ्केत गरिएको छ।

 

जस अनुसार ब्राह्मण वर्णको कार्य प्रवृत्तिगत रूपमा मुखको जस्तो (केन्द्रीय बिन्दु जुन खाली आकाश हो तर त्यसलाई केन्द्र मानेर त्यसकै निश्चित परिधिमा समग्र अणुका कार्यहरू सञ्चालित हुन्छ) भन्ने छ। क्षेत्रीय वर्णको कार्य प्रवृत्तिगत रूपमा पाखुरा जस्तो (पोजेटिभ चार्ज युक्त नियुक्लियसको प्रोटोनलाई सन्तुलनको हेतु बाँधेर राख्न सहयोग गर्ने निउट्रोंन) भनिएको छ। एक परमाणुमा यसले केन्द्रको नियुक्लियसको काम गर्दछ। वैश्य वर्णको कार्य प्रवृत्तिगत रूपमा साँप्राको जस्तो कार्य सम्पादनको दिशा निश्चित गर्ने (कुन बाटोमा घुम्ने हो त्यो बाटोको निश्चय गर्ने शक्ति अर्बिट) भन्ने उपमा दिइएको छ। जसले परमाणु परमाणु, समग्र अणु र पूर्ण पदार्थको सम्पूर्ण शक्तिको सन्तुलन हुने गरी नियमित घुम्ने ईलेक्ट्रोनहरु कुन बाटो कस्तो गतिमा हिँड्ने हो त्यसको यकिन गर्दछ।

 

शूद्र वर्णको कार्य प्रवृत्तिगत रूपमा खुट्टाहरू जस्तो (पहिलिएको बाटो अर्थात् विभिन्न अर्बिटमा परमाणु वाट अणु बन्ने क्रममा कार्य सम्पादन हेतु जरुरत अनुरूप घुम्ने ईलेक्ट्रोन) भनी प्रस्ट साङ्केतिक रूपमा बताइएको छ। आफू सम्बद्ध परमाणु सदैव सँग उत्तरदायी हुने गरी परमाणु आफ्नै र समूहमा समेत अस्तित्व कायम गर्न समग्र शक्तिको सन्तुलन हुने गरी तोकिएको बाटोमा घुम्ने र समग्रमा परमाणु संलग्न रहेको संरचना लाई नियमित रूपमा चलाउन नियमित सक्रिय रहने ईलेक्ट्रोनको रूपमा शूद्रको कार्यहरू सञ्चालित हुने गर्दछ। यसरी वैदिक अवधारणामा ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र गरी चारै वर्ण शरीरको संरचनाको सबै भन्दा सूक्ष्मतम परमाणुको प्रवृति र कार्य पद्दति बारे बताउन प्रयोग भएको विषय हो। सूक्ष्मतम परमाणुको संरचनाको रूपमा रहेको अति सूक्ष्मतम क्वान्टम पार्टिकलको संरचना बुझाउन भने संज्ञानात्मक रूपमा शिव शक्ति भन्दै आदिम मानव शब्द प्रयोग भएको छ।

 

प्रकृति सिर्जित संसारको एउटा अद्भुत सत्य वा मिराकल के छ भने तपाइको शरीरको संरचना जसरी चल्दछ तपाइको घर, समाज, राष्ट्र, समग्र विश्व र सम्पूर्ण ब्रह्माण्ड समेत त्यसरी नै चलिरहेको छ। जसमा तपाइको सचेत दृष्टिकोण को जरुरत छ। हाम्रो समाज पनि परम्परागत रूपमा त्यसरी नै चल्दै आयो। आज पनि चल्दै छ। मात्र समय परिस्थिति अनुरूप विभिन्न मानिसहरूले आफूमा समयले दिएको शक्तिको दुरुपयोग गरी सामाजिक मूल्य मान्यता लाई आफ्नो निजी र वर्गीय हितका खातिर  आफू अनुरूप ढाल्ने प्रयास हरू भए। प्रकृति नियम विरुद्धका ती प्रयास हरू कहिल्यै सफल भएनन्। तिनका बाछिटाहरूले गरिब र अनपढ समाजमा भने गाजी रहेको आजको सन्दर्भ हो।

हरेक समाजमा निजी वा सामूहिक कार्य सञ्चालनको लागि निश्चित निश्चित गतिविधिहरू सञ्चालन हुनु जरुरी छ। व्यक्तिको कुनै विशेष क्षेत्रको दक्खल, अनुभव, विज्ञता र विगतमा कुशल कार्य सम्पादन गरेको आधारमा विभिन्न पदहरू सिर्जना गरिन्छ। कुनै कार्य गर्नु भन्दा अगाडी उक्त कार्य बारे सोच विचार गर्ने, सैद्धान्तिक रूपमा परीक्षण गर्ने र विभिन्न सूचनाको आधारमा उक्त कार्यको सकारात्मक र नकारात्मक परिणामको यकिन गरिन्छ। समग्रतामा तौलिएर हेर्दा तुलनात्मक रूपमा हानि भन्दा लाभकारी कार्य योजना बनाउने काम योजना विद हरुको हुने गर्दछ। एक व्यक्ति जो सँग अनुसन्धान र विकास सम्बन्धमा अधिक चासो छ, नीतिगत अवधारणा र रणनीतिक योजना बन्न दक्ष बन्दथ्यो त्यो पद लाई ब्राह्मण वा बाहुन भनियो। तत्कालीन समयमा आज सैद्धान्तिक अनुसन्धान गर्ने वैज्ञानिक, दार्शनिक, समाजमा जनचेतना फैल्याउने गुरु वा शिक्षक, योजना विद तथा वेदका सैद्धान्तिक ज्ञानहरू समाजमा पुर्‍याउने समाज सुधारकहरूको पद हो ब्राह्मण।

 

आज जसरी एउटा डाक्टरको सन्तान भएकै भरमा आवश्यक डिग्री र अनुभव बिना एक जना डाक्टर हुन, वकिलको सन्तान वकिल हुन वा इन्जिनियरको सन्तान इन्जिनियर बन्दैन त्यस्तै  ब्राह्मण पद धरिका सन्तान त्यसै ब्राह्मण हुने व्यवस्था थिएन। आज पनि समाजमा कतिपय मानिसहरू वेद पछि मानव द्वारा आफ्नो विचार समावेश गरी लेखिएका ग्रन्थ नामक स्मृतिहरूको उदाहरण दिएर ब्राह्मण हुन ब्राह्मण परिवारमा जन्मिएको संस्कार हुनुपर्दछ भनी लेखिएको तर्क गर्छन।

 

जब योजनाहरू तय हुन्छन् उक्त योजना हरू कार्यान्वयन र सञ्चालनको लागि मार्ग निर्देशन गर्ने नेतृत्व तहको जरुरत पर्दछ। समाज वा व्यवसायमा संलग्न सम्पूर्ण मानव संसाधनहरू लाई लक्ष अनुरूपको कार्य सम्पन्न गर्न सहमत गराउन तथा संलग्न गर्न नेतृत्व प्रधान गर्ने पद वा वर्ण क्षेत्रीय थियो।उनीहरूको कार्य मानिसहरू बिच रहेको मतभेद आँट गर्ने, समूहमा निश्चित लक्ष प्राप्तिको लागि प्रेरणा र हौसला दिने, संरक्षण दिने आदि हुन्थ्यो। जसमा राष्ट्र प्रमुख, सेना, प्रहरी, कानुन कर्मी, न्याय सम्पादन कर्ता आदि जस्ता कामहरू पर्दथे। उक्त पदको लागि समेत व्यक्तिको निजी क्षमता, ज्ञान र उक्त पेसामा उसको सोख र लगन अनिवार्य हुन्थ्यो।अमुक परिवारमा जन्मिएको भरमा अमुक पद हुने कुराको कुनै अर्थ थिएन। न सन्दर्भ नै देखिन्थ्यो।

 

यथार्थमा त्यो कुरा कुनै व्यक्ति  ब्राह्मणको कोख वाट जन्मिएको भन्ने सन्दर्भ काहीँ कतै देखिँदैन। यदि कुनै व्यक्ति आफै वैज्ञानिक, दार्शनिक, डाक्टर, इन्जिनियर, विचारक, दर्शन शास्त्री आदि छ भने उसको समीपमा रहेर हुर्कने सन्तानमा यदि सन्तान त्यही प्रकृतिको पेसामा जान चाहँदा त्यो पेसा बारे उसमा धेरै कुरा जान्ने अवसर आफ्ना माता पिता र हुर्केको वातावारण वाट मिल्न अलि सहज बन्न सक्छ भन्ने मात्र हो। यो व्यवहारिक पक्षको सामान्य यथार्थता मात्र हो। त्यो अवस्थामा पनि जबसम्म व्यक्तिको निजी क्षमता, ज्ञान र उक्त पेसामा उसको सोख बिना उक्त पदको लागि लायक बन्न नसक्ने प्रस्ट छ।

 

राज्य सञ्चालनका कुरा हुन् वा कुनै पनि कार्य वा व्यवसायका गतिविधि सम्पन्न गर्ने कार्य तिनीहरूको नतिजा समग्रतामा तौलिएर तुलनात्मक रूपमा हिसाब किताब गर्दा हानि भन्दा लाभकारी हुन अनिवार्य ठानिन्थ्यो। त्यसको लागि बनेका रणनीतिक लक्षहरू कार्यगत तहमा पुग्दा हुबहु लागु हुने अवस्था रहन्थेन।  योजना विद हरूद्वारा योजना तर्जुमाको क्रममा निर्मित  रणनीतिक योजना अनुरूप कार्य सञ्चालनको सुरुवात गर्ने, हरेक तहको कार्य सम्पन्न हुँदै गर्दा प्राप्त नतिजाको अध्ययन गर्ने, उक्त नतिजा रणनीतिक योजनाको लक्ष प्राप्त गर्न सकारात्मक छ वा प्रतिकुल छ सो को  मूल्याङ्कन गरी निर्णय निकाल्न जरुरी हुन्थ्यो।

 

तात्कालिक परिस्थिति जन्य समयको आवश्यकता अनुरूप लक्षित उद्देश्य प्राप्तिमा प्राप्त निचोडको सहयोगमा समयको माग अनुरूप जरुरी हुने कार्यनीतिक योजना बनाउँदै कामहरू सुचारु गर्ने, सकारात्मक अवस्थामा लक्षित लाभ सुनिश्चित गर्ने र प्रतिकुल समयमा सम्भावित अधिक हानि हुन वाट बचाउने जिम्मा अर्को समूहले लिएको हुन्थ्यो। यसरी परिस्थिति जन्य कार्यनीतिक योजना बनाएर तत्कालीन समयमा के कस्तो गतिविधि कसरि सम्पन्न गर्ने भन्ने बाटो देखाउने र गन्तव्य तय गर्ने कामको पद वैश्य पद थियो।

 

नाफा-घाटाको मूल्याङ्कन गर्ने, नाफा हुने बाटो तर्फ गतिविधि लैजाने, धन-सम्पत्ति व्यवस्था गर्ने, सर-सापटी लिने-दिने, उद्योग धन्दा चलाउने र नाफा-घाटाको उचित वितरण गर्ने पेसामा संलग्न वर्ण थियो वैश्य वर्ण। अमुक वैश्य वर्णमा काम गरेको मान्छेको परिवारमा जन्मिएको भरमा अमुक वैश्य पद प्राप्त हुने कुनै प्रसङ्ग नै रहन्थेन।

 

साबिकका कार्य वा योजनाहरूमा कार्य क्षेत्रमा खटिएर काम गर्ने वर्ग जसलाई हाल कामदार वा फिल्डका कर्मचारी वर्ग भनिन्छ तिनीहरूको वर्ण शूद्र भनेर उल्लेख गरिएको छ। जसमा सैद्धान्तिक अनुसन्धानको आधारमा इनोभेसनमा संलग्न रहने प्रयोगात्मक अनुसन्धानका वैज्ञानिकहरू, विज्ञ, प्राविधिज्ञ, टेक्निसियन, डाक्टर, नर्स, प्राविधिक तथा अन्य क्षेत्रका कर्मचारी वा कामदारहरू पर्दछन।

 

वैदिक विज्ञानले पहिचान गरेको शरीरको सूक्ष्म संरचनाको शूद्र वर्णको कार्य प्रवृत्तिको नियोजित दुरुपयोग गरी जात पातको नाममा समाजमा हाल व्याप्त कथित जातको उपमा दिएर तपाई आज जसलाई विभेदकारी तल्लो जात भन्नु भएको छ वेदको अर्थमा त्यो वर्ण कहलिन तपाईँ सँग आज बौद्धिक रूपमा समाजको डाक्टर, इन्जिनियर, प्राविधिक, वैज्ञानिक, नर्सहरू जस्तो विशिष्टतम क्षमता र हातमा तिनीहरूकै जस्तो कार्य कुशलता हुन जरुरी छ।

 

त्यो कार्य कुशलता जसले तपाइको दिमागमा रहेको विचार लाई सामाजिक र भौतिक इञ्जिनियरिङ्ग गरी निश्चित उधम वा कार्य मार्फत कार्यमा परिवर्तन गरी इनोभेसन मार्फत समाज लाई संवृद्ध बनाउने खुबी राख्दछ। विचार लाई पैसामा परिवर्तन गर्ने दिगो सीप समाजलाई सिकाउँदछ। नाकमा सिँगान राख्दा अर्काले फोहरी भन्लान् भन्ने डरमा रुमाल बोकी नाकको सिँगान खल्तीमा हाल्ने भुईँफुट्टा वर्ग हैन फोहरले बिगार्ने वातावरणले समाज नै प्रदूषित पार्दछ भन्ने बुझेर त्यो फोहरलाई उचित कन्टेनरमा फाल्ने सिस्टम बनाउने जिम्मेवार  श्रमजीवी नागरिक पैदा गर्ने गर्दछ।

 

यो वर्गले समाजमा प्रदर्शन गर्ने उत्पादकत्व, सहनशीलता, खुबी, क्षमता, कार्यकुशलता एवं सेवाका भावहरू जो कोहीको बसको विषय भने हैन। कम्तीमा आज आफू ठुलो जातको हुँ भनी अर्कालाई छुवाछुत गर्ने एक पाखण्ड नरपशुको हैसियतको क्षमताको छैन। आफ्नो स्वार्थको लागि वेदमा हुँदै नभएको कुरा वेदका कुरा भनी लाद्न खोज्ने दुराशय युक्त शोषक निर्घिनी समूहको बसको विषय समेत हैन। यथार्थमा शूद्र वर्ण आफ्नो मेहनतको कमाइमा बाच्ने, सेवा नै धर्म हो भन्ने मूल मन्त्र बोकेको, अर्काको श्रमको कमाई खानु पर्दा आफैलाई धिक्कार्ने स्वावलम्बी  वर्ग हो।

 

वेदको सारले यदि कसैलाई पानि नचल्ने हदमा, अनुहार देख्दा पनि दुर्गति परिन्छ भनी ठानिनु पर्ने वर्ग मान्छ भने त्यो वर्ग सिंहदरबारको सुरक्षामा सित्तल निवास वाट आशीर्वाद प्राप्त मन्त्रालय र सरकारी कार्यालयमा रहेका जुका वर्णका बौद्धिकहरू तर्फ सङ्केत गरेको बुझ्नु पर्छ। प्रस्ट बताउँदा शक्ति स्वार्थ र अर्थमा लिप्त तपाई हाम्रा शासक, शासकका सल्लाहकार र विज्ञ बनेर उभिएको जन हितको उत्तर दायित्व च्युत वर्ग बुज्न जरुरी छ। मुलुक चुस्न तल्लीन, दुई चार अक्षर जानेको भरमा आफ्नो निजी स्वार्थको लागि मुलुकलाई रद्दीको टोकरीमा फाल्न व्यस्त जनताको प्रतिनिधि नामको छोटे राजाको रूपमा उदाएको शक्ति लाई सम्झनु पर्दछ।

 

यो बर्गलाई  खुबी, अनुभव र क्षमता प्रयोग गरी प्रमाणित कार्य सम्पन्नता प्रदर्शन गर्न जरुरि छैन। कुनै नेताको गुटको बन्यो, चाकरीले विज्ञ पद पड्कायो, जनताको रगत पिउँदै समय विपरीत मिति सकिएको सैद्धान्तिक गफ हाँक्यो, नियुक्ति दिने सिंहदरबारको सिफारिस वाट सित्तल निवासको आशीर्वादका रुपमा राज्यको तक्मा लिने र शासकको पक्षमा भजन गाउने बस्ने जिम्मेवारी तोकिएको छ। सित्तल निवासको आशीर्वादका रुपमा प्राप्त तक्मा र सिंहदरबार वाट मुलुक चुस्ने पाउने सर्तमा नजराना भेटी पाउमा टक्राएर प्राप्त नियुक्ति देखाउदै आफूले आफै लाई मुलुकको सरकारी विज्ञको फुली लगाएर विज्ञ करार गर्नु छ। मुलुकमा स्थापित नेताका हनुमान, मुलुक मारा जुका, सरकारको विज्ञ कहलिने प्रथा लाद्ने शासक रहेता पनि झुटको खेती गरी जनतामा तिनै विज्ञ मार्फत भ्रम छर्नु छ। आफ्ना कुरा बिके सम्म मुलुकमा विज्ञ, मन्त्री र आफ्ना कुरा मुलुक भित्र बिक्न छोडेपछि परदेशमा राजदूत पड्काएर समयमै धनाढ्य बन्नु छ। लुटको धनले फुपूको श्राद्ध गर्दै यश-आरामको जिन्दगी जिउनु छ।

(खाद्य तथा औषधि विज्ञ, क्यानडा।)

197Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE

%d bloggers like this: